सभापति देउवालाई वरिष्ठ नेता पौडेलको समर्थन
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवालाई वरिष्ठ नेता रामचन्द्र पौडेलले समर्थन गरेका छन् । दलको नेताको निर्वाचनका लागि उम्मेदवारी दिएका सभापति देउवालाई समर्थन गर्ने नेता पाडैलले सञ्चारकर्मीलाई जानकारी दिए । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा सञ्चारकर्मीसँग कुराकानी गदै नेता पौडेलले भने, ‘अहिलेको परिस्थितिमा म सभापति देउवालाई समर्थन गर्छु, उनलाई निर्विरोध संसदीय दलको नेता बनाउनुपर्छ भन्ने मेरो धारणा हो ।’ कांग्रेस संसदीय दलको नेताका लागि सभापति देउवा र महामन्त्री थापाबीच प्रतिस्पर्धा हुने भएको छ । कांग्रेस संसदीय दलको उम्मेदवारी दरखास्त दिन आज दिउँसो २ बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ । कांग्रेस संसदीय दलको नेताको निर्वाचन पुस ६ गते बुधबार हुँदैछ । मतदान बुधबार बिहान ८ देखि १० बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय परिसर सिंहदरबारमा हुनेछ ।
जथाभावी पार्किङ र फुटपाथ अतिक्रमण हटाउँदै वीरगञ्ज महानगर
वीरगञ्ज । वीरगञ्जको बाइपास सडक छेउमा लामो समयदेखि पार्किङ गरेर छाडेको बेवारिसे ट्रक वीरगञ्ज महानगरपालिकाले हटाएको छ । महानगरले सडक पेटीमा राखेका निर्माण सामग्री तथा सवारी हटाउने अभियानका क्रममा बाइपास सडकमा लामो समयदेखी वेवारिसे रुपमा छाडेको ना ३ ख ९२९५ नम्वरको ट्रक हटाएको हो । वडा नम्वर १५ लक्ष्मनवा स्थित बाइपास सडक छेउमा पार्किङ गरेर राखेको वेवारिसे ट्रकलाई महानगरपालिकाले नियन्त्रणमा लिएर अहिले बालमन्दिरको चौरमा राखेको छ । यसैबीच अभियानकै क्रममा सडक पेटीमा राखिएका निर्माण सामग्री हटाउनुका साथै फुटपाथमा राखिएका ठेला तथा पसल हटाइएको वीरगञ्ज महानगरपालिकाका सरसफाई प्रमुख सरफुद्धिन मियाँले जानकारी दिए । सडक छेउ, फुटपाथ र नालामाथि जथाभावी निर्माण सामग्री तथा ठेला राखेर व्यवसाय गर्दा तथा सवारी पार्किङ गर्दा पैदल हिँड्न र सवारी दुर्घटनासमेत हुन सक्ने देखिएकाले महानगरले त्यसलाई हटाउन थालेको हो । मंगलबार फुटपाथ अतिक्रमण नियन्त्रण र पार्किङ कार्यान्वयनका लागि खटिएको अभियानमा वीरगञ्ज महानगरपालिकाका सरसफाई प्रमुख सरफुद्धिन मियाँ, नगरप्रहरी प्रमुख हरि भुषाल लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
त्रिवेणी-दुम्किबास सडक निर्माणमा निकुञ्ज बन्यो बाधक
नवलपरासी। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको त्रिवेणी दुम्किबास सडक निर्माणमा निकुञ्ज बाधक बनेको छ । छिमेकी मुलुकहरु भारत र चीन जोडने सडकका रुपमा रहेको त्रिवेणी(कोरोला सडकखण्डमा निकुञ्ज बाधक बन्दा समस्या परेको हो । गत शुक्रबार नेपाल पत्रकार महासङ्घ नवलपुर शाखाको दोस्रो साधारणसभाको कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशको गौरवको आयोजना अन्तर्गत रहेको त्रिवेणी दुम्किबास सडकको काम अघि बढ्न नसकिएको स्वीकार गरे । प्रदेश स्थापनासँगै गौरवको आयोजनाका रुपमा लिइएको त्रिवेणी(कोरला सडक अन्तर्गतको यो खण्डमा काम गर्न निकुञ्जका कारण समस्या भएको उनको भनाइ छ । युनेस्कोसँग समेत जोडिएको विषय भएकाले काम गर्न झन्झटिलो भएको उनको भनाइ छ । तर सचिवस्तरी निर्णय भएकाले काम छिट्टै सुरु हुनेमा उनले विश्वास व्यक्त गरे । प्रदेश सरकारको पहिलो पाँच वर्षको कार्यकाल सकिएको छ तर प्रदेश स्थापनासँगै चर्चामा रहेको त्रिवेणी–कोरला सडक अन्तर्गतको त्रिवेणी –दुम्किबास सडक निर्माणको काम भने सुरु हुन नसकेको हो । दुम्किबासको बगुवनदेखि त्रिवेणीसम्मको करिब १९ किलोमिटर खण्डमा सडक निर्माण हुन नसकेको हो । सडकखण्डमा करिब आठ किलोमिटर चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्छ । विसं २०५९ अघि हुलाकी सडकका रुपमा सञ्चालनमा रहेको यस खण्डलाई गजेन्द्र मोक्ष जनतामार्ग नामाकरण गरी विसं २०६३ असोजमा यातायात सञ्चालन गरिएको थियो । विसं २०६४ जेठसम्म यातायात सञ्चालनमा रहेको यस सडकखण्ड चितवन राष्ट्रिय निकुञ्जले सञ्चालनमा रोक लगाएपछि बन्द भएको थियो । त्रिवेणी दुम्किबास सडकखण्ड निर्माण गरी सञ्चालनका लागि पहल अघि बढिरहेको विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीको दाबी छ । सडक निर्माणका लागि विभिन्न स्तरमा पहल भएकाले काम अघि बढ्ने उनको भनाइ छ । ‘हामीले विभिन्न तहमा पहल गरेका छौँ, यो पालिकाको सडक मात्रै रहेन दुई देश जोडेने महत्वकाक्षी सडक पनि हो’, अध्यक्ष गिरीले भने । त्रिवेणी-दुम्किबास-झ्यालबास-डेढगाँउ-भीमाद-खैरेनी हुँदै पोखर जोडिने यो सडक खण्ड अन्तर्गत नवलपुरको झ्यालबास–डेढगाउँ खण्डमा भने गण्डकी प्रदेश सरकारले बजेट विनियोजन गरी काम अघि बढाएको छ । रासस
लिटरेचर फेस्टिभल सांगीतिक कार्यक्रमको प्रायोजकमा ‘खुकुरी रम’
काठमाडौं । पुस ६ गतेदेखि पोखराको फेवाताल किनारमा सुरु हुने ‘१० औं नेपाल लिटरेचर फेस्टिभल’अन्तर्गत आयोजना हुने सांगीतिक कार्यक्रमहरुको प्रायोजन खुकुरी रमले गर्ने भएको छ । फेस्टिबलअन्तर्गत पुस ७ गते स्वर्गीय संगीतकार गोपाल योञ्जनको २५ औं स्मृति दिवसको अवसरमा विशेष सांगीतिक कार्यक्रम आयोजना हुनेछ । योञ्जनका गीतहरुको सँगालो ‘गोपालय’ पनि सोही अवसरमा विमोचन गरिनेछ । स्व. योञ्जनले पोखरामै लामो समयसम्म लोकसंगीतको अनुसन्धान र लेखनमा बिताएका थिए । वि.सं २००० मा जन्मिएका गोपाल योञ्जन नेपालका लोकप्रिय र प्रतिभाशाली संगीतकार हुन् । उनले सृजना गरेका गीतहरू सदाबहार थिए, जसले अझै पनि नेपाली संगीतको प्रतिनिधित्व गर्दछन् । लोकगीत, राष्ट्रिय गीत, आधुनिक गीत, भजन, फ्यूजन, बालगीत, चलचित्र गीत, खेल गीत लगायतका विभिन्न विधामा संगीत सृजना गरेका उनले ‘संगीताञ्जली’ र ‘गीतमञ्जरी’ नामका दुईवटा पुस्तक पनि लेखेका छन् भने करिब एक दर्जन चलचित्रमा संगीत भरेका छन् । ‘सुप्रबल गोर्खा दक्षिण बाहू’, ‘छिन्नलता गीत पुरस्कार’ लगायतबाट सम्मानित योञ्जनको जण्डिसको उपचारका क्रममा २०५३ साल जेठ ७ गते दिल्लीमा निधन भएको थियो । लिटरेचर फेस्टिबलमा यसबाहेक लोक–ब्याण्ड रैथाने र फ्यूजन गिटारवादक अनिल शाहीले पनि आफ्नो ब्याण्डसँगै विशेष प्रस्तुती दिनेछन् । यीलगायत सबै सांगीतिक कार्यक्रमहरुको प्रायोजन ‘खुकुरी रम’ले गरेको हो । ‘खुकुरी रम’ संगठित क्षेत्रमा स्थापना भएको देशकै पहिलो मदिरा उद्योग ‘दि नेपाल डिस्टीलरिज’ले ६२ वर्षदेखि उत्पादन गर्दै आएको छ । कम्पनीका इभेन्ट म्यानेजर सुदिक्षा अधिकारीले कला, साहित्य र संगीतप्रेमीहरुको विशेष उत्सव ‘नेपाल लिटरेचर फेस्टिभल’सँग सहकार्य गर्न पाउँदा आफूहरुलाई गौरव महसुस भएको बताए । उनले भने–‘लामो समयदेखि ग्राहकको मनमा बस्न सफल ‘खुकुरी रम’ उत्पादन गर्दा हामीले मौलिकतालाई विशेष जोड दिने गरेका छौं । यहीकारण नेपाली मौलिकपनले ओतप्रोत लिटरेचर फेस्टिभलजस्ता कार्यक्रम हाम्रो रोजाईमा पर्ने गर्छन । लिटरेचर फेस्टिभलको आयोजक बुकवर्म फाउण्डेसनका निर्देशक निरज भारीले नेपालीहरुको पहिचानको रुपमा धेरै देशमा निर्यात हुने उत्पादनलाई लिटरेचर फेस्टिभलअन्तर्गतका सांगीतिक कार्यक्रमहरुसँग जोड्न पाउँदा आफूहरुलाई पनि खुशी लागेको बताए । पुस ११ गतेसम्म चल्ने शब्दहरुको उत्सवमा ५० भन्दा बढी सेसन, सांगीतिक साँझ र थप रोचक विमर्श हुनेछन् । फेस्टिभलमा सन् २०२२ का बुकर पुरस्कार विजेता श्रीलंकाली लेखक सेहान करुणातिलका, लेखक एवं पत्रकार अक्षय मुकुल, सह–प्राध्यापक एवं लेखक सुकेतु मेहता, लेखक एवम्फिल्म निर्माता सवा करिम खान, लेखक श्रेयना भट्टाचार्यलगायत अन्तर्राष्ट्रिय चर्चित व्यक्तिहरु पनि सहभागी हुनेछन् । नेपालका राजनीतिक दलका नेतादेखि सांगीतिक, कला, पत्रकारिता, लेखन तथा सामाजिक क्षेत्रमा चर्चित पात्रहरु समेत सहभागी हुनेछन् ।
कर्णाली प्रदेशकै नमुना सहकारी बन्दै चन्दननाथ, नाफा एक करोड बढी
जुम्ला । जुम्ला सदरमुकाम खलङ्गा बजारमा केन्द्रीय कार्यालय रहेको चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था पछिल्लो समयमा कर्णाली प्रदेशकै नमुना सहकारीको रुपमा स्थापित भएको छ । सहकारी विषेशगरी माथिल्लो कर्णालीका मुगु, कालिकोट र जुम्लाका ग्रामीण भेगमा गएर त्यहाँका महिलालाई आर्थिक स्रोतको वृद्धिदेखि उनीहरुको आत्मनिर्भरका सीपमुलक तालिममा केन्द्रित रहेको सहकारीका कार्यकारी व्यवस्थापक ऋषिराम पाण्डेले जानकारी दिए । हालसम्म सहकारीमा २० हजार सदस्य बनिसकेका छन् । सहकारीले कर्णालीसहित लुम्बिनी, गण्डकी र बगमति प्रदेशका ३८ जिल्लामा सेवा केन्द्र विस्तारका लागि स्वीकृति पाएकोे सहकारीका अध्यक्ष दुर्गा न्यौपानेले जानकारी दिइन् । सहकारीलाई यहाँसम्म पु¥याउन सहयोग गर्ने संस्थापकदेखि सबै टिमलाई धन्यवाद दिँदै सहकारीले महिला सहभागितालाई विशेष जोड दिएको अध्यक्ष न्यौपानेको भनाइ छ । संस्थाको आर्थिक गतिविधि संस्थाका सञ्चालक सदस्य गोकर्ण जिसीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्देै चन्दननाथ सहकारीले एक अर्ब ५८ करोड आठ लाख ७२ हजार छ सय कर्जा प्रवाह गरेको बताए । कर्जा असूली एक अर्ब २६ करोड ४६ लाख आठ सय ९२ रहेको र सहकारीका हालको आम्दानी नौ करोड ६५ लाख एक हजार छ सय ८७ रहेको उनको भनाइ छ । उनका अनुसार सहकारीको खुद नाफा एक करोड पाँच लाख ४० हजार तीन सय २४ छ । सिञ्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जुम्लामा स्थापना भएको सहकारी नेपालकै लागि गौरवको सहकारीका रुपमा स्थापित भएको बताए । ‘सेयर लगानी बढाउनुपर्छ भने सहकारी शिक्षामा पनि ध्यान दिनुपर्ने हुन्छ’, उनले भने, ‘यहाँका महिलालाई आर्थिकरुपमा परिपक्क बनाउन सहकारीले विशेष प्रकारका योजना ल्याउनु आवश्यक छ ।’ प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जिल्लामै एक अर्ब बढी कारोबार गर्ने सहकारीले आर्थिक र सामाजिक क्षेत्रमा राम्रो काम गरेको बताए । पातारासी गाउँपालिकाका पूर्वध्यक्ष लक्षिमन बोहराले सहकारीको समृद्धिका लागि सबै लाग्नुपर्ने भन्दै कुशल नेतृत्वमा जोड दिनुपर्ने बताए । तिला गाउँपालिका पूर्व उपाध्यक्ष विष्णुमाया बुढाले चन्दननाथ सहकारीमा महिला सहभागिता र बचत गर्ने सिकाइ निकै राम्रो भएको भन्दै अझै अगाडि बढाउन जोड दिनुपर्ने बताए । जिल्ला सदरमुकाममा विविध कार्यक्रम गरी सहकारीले आफ्नो १२औँ साधारणसभा सम्पन्न गरेको छ । रासस
सिटिजन्स बैंकको नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानमा विस्तारित काउण्टर सेवा सुरु
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नो तेस्रो विस्तारित काउण्टर सेवा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान रविभवनमा विस्तारित काउण्टर सेवा संचालनमा ल्याएको छ । यस अघिनै बैंकले मकवानपुर जिल्लामा रजैया विस्तारित काउण्टर र लमजुङ जिल्लामा राइनास विस्तारित काउण्टर सेवा संचालनमा ल्याई सकेको छ । बैकंका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानका कार्यकारी निर्देशक राजेश उप्रेतीको समुपस्थितिमा उक्त विस्तारित काउण्टर सेवा संचालनमा ल्याइएको छ । सुविधा सम्पन्न यस विस्तारित काउण्टर मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्ने लक्ष्य बैंकले जनाएको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, रेमिटेन्स सम्बन्धीको सेवाहरु लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८० वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १३३ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १५ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
डेढ वर्षअघि ओलीले उद्घाटन गरेकै धरहराको काम अलपत्र
काठमाडौं । २०७८ को बैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको धरहरा पुनःनिर्माणले गति लिन सकेको छैन् । उद्घाटन भएको डेढ वर्ष बितिसक्दा समेत धरहरा पुनःनिर्माणको काम सम्पन्न हुन नसकेको हो । धरहरा पुनःनिर्माणका क्रममा सुन्धारामा पानी पठाउने मूलधारा नष्ट हुनेगरी डोजर चलाइएको भन्दै काठमाडौँ महानगर र स्थानीयले गत मंसिर २६ गतेदेखि धरहरा पुनःनिर्माणको काम रोकेका हुन । कामपा वडा नं २२ का अध्यक्ष चिनीकाजी महर्जनले रोकिएको काम कसरी अघि बढाउने भनेर स्थानीयसँग छलफल भइरहेको तर निष्कर्षमा नपुगेकाले काम सुरु हुन नसकेको बताए । मौलिक कला, संस्कृतिको नमुनाका रुपमा रहेको ऐतिहासिक सुन्धाराको संरचना पुनःनिर्माणका नाममा भत्काउन नहुने उनको भनाई छ । उनले ऐतिहासिक सुन्धाराको संरचना जोगाउनकै लागि पहलकदमी अघि बढाएको समेत बताए । सुन्धारामा पानी पठाउने (काठको लामो पाइप) नष्ट गरी उक्त स्थानमा निर्माण कम्पनीले डोजर लगाएर एक लाख लिटर पानी अट्ने विशाल ट्याङ्की निर्माण गर्ने तयारी गरेपछि धरहरा पुनःनिर्माणको बाँकी काम रोकिएको हो । २०७५ पौष १२ गते प्रधानमन्त्री ओलीले निर्माणको औपचारिक उद्घाटन गर्दै निर्माणको शुभारम्भ गरेको २२ तले धरहरा टावरको निर्माण सम्पन्न भएको भन्दै उद्घाटन गरेका थिए । २२ तलाको टावरको निर्माण अन्तिम चरणमा पुगेपनि अन्य काम आधाभन्दा बढी बाँकी रहदा उनले उद्घाटन गरेका थिए । ४२ रोपनी क्षेत्रफलमा तीन अर्व ८० करोडको लागतमा निर्माण गरिएको धरहरा भित्र २२ तलाको र उचाइ ७२ मिटर र ४८ फिटको बेस रहनेछ । १८८२ सालमा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले महारानी त्रिपुरासुन्दरीदेवीको सम्झनामा धरहरा बनाउन लगाएका थिए । ११ तले धरहरा १९९० सालको भूकम्पले पनि भत्किएको थियो । दुई वर्षपछि तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेर जङ्गबहादुर राणाले ११ तले धरहरालाई नौ तलामा कायम गरी पुनर्निर्माण गरेका थिए ।
राप्रपा नेता जबराले प्रतिनिधिसभाका सांसदहरुको सपथ गराउने
काठमाडौं । प्रतिनिधिसभाका निर्वाचित सांसदहरुलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शमशेर जबराले सपथ ग्रहण गराउने भएका छन् । संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले ऐन, कानुन र संवैधानिक व्यवस्था अनुसार नेता जबराले प्रतिनिधिसभाको ज्येष्ठ सदस्यको हैसियतले नव निर्वाचित सांसदहरुलाई सपथ ग्रहण गराउने कार्यक्रम तय गरिएको बताएका हुन् । त्यसका लागि पुस ७ गते बिहीबार अपरान्ह १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सपथग्रहण कार्यक्रम तय गरिएको छ । प्रवक्ता पाण्डेका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ सदस्य जबरालाई सपथ ग्रहण गराएपछि मात्रै उनले अन्य सांसदहरुलाई सपथ गराउनुपर्ने हुन्छ । त्यसका लागि पुस ६ गते बुधबारको कार्यक्रम तय गरिएको पनि प्रवक्ता पाण्डेले जानकारी दिए । नागरिकतामा उल्लेख भए अनुसार ८१ वर्ष हुनु भएका जबराको विक्रम संवत १९९८ मंसीर २४ गते जन्म भएको थियो । सर्लाही क्षेत्र नम्बर २ बाट निर्वाचित नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादव नागरिकतामा ८५ वर्ष पुग्नु भएपनि नागरिकतामा आफ्नो जन्ममितिमा त्रुटि भएको उल्लेख गर्दै २०७४ सालमा पनि नवनिर्वाचित सांसदहरुलाई सपथ ग्रहण गराउने कार्यक्रममा अनुपस्थित भएका थिए । उनले अहिले पनि नआउने भएपछि नेता जबराबाट नै ज्येष्ठ सदस्यको रुपमा सपथ ग्रहण गराउने कार्यक्रम तय गरिएको पनि संघीय संसद सचिवालयले स्पष्ट पारेको छ । संसद सचिवालयले मातृभाषामा सपथ लिने व्यवस्था पनि गरेको छ । मातृ भाषामा सपथ लिन चाहने सांसदहरुलाई सपथ ग्रहणको ढाँचा विवरण अनुसार त्यसलाई मातृभाषामा उल्था गर्न पत्राचार गरिएको छ । सपथ ग्रहण गराउनु ३ दिन अघि नै सो उल्था गरिएको सपथग्रहणको कपी संसद सचिवालयमा सांसदहरुले पेश गर्नुपर्ने हुन्छ । प्रवक्ता पाण्डेले अहिले मातृभाषामा सपथ लिन चाहनु हुने सांसदहरुको विवरण संकलनको काम भईरहेको बताए । समानुपातिकतर्फ ११० जना गरी २७५ जना सांसदहरु निर्वाचित हुनु भएको छ । उहाँहरुलाई सपथ ग्रहण गराएपछि मात्रै संसदीय गतिविधि अघि बढाउनुपर्ने व्यवस्था रहेको पनि संघीय संसद सचिवालयले जनाएको छ ।