
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेतामा संस्थापनइतर समूहबाट महामन्त्री गगन थापा नै उम्मेदवार बन्ने भएका छन् ।
मंगलबार बिहान बसेको बैठकले कोइराला समूहबाट संसदीय दलको नेतामा महामन्त्री थापालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । नेता कोइराला थापाको प्रस्तावक बस्ने भएका छन् भने धनराज गुरुङ समर्थक बन्ने भएका छन् ।
अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि संसदीय दल नेताको उम्मेदवारका लागि गगन थापालाई समर्थन गर्ने घोषणा गरिसकेका छन् ।
संस्थापन पक्षबाट भने सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा दलको नेतामा उम्मेदवार बन्ने तयारीमा छन् ।अब संसदीय दल नेताका लागि देउवा र महामन्त्री थापाबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
कांग्रेसका प्रतिनिधि सभामा रहेका ८९ जना सांसदले बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा मतदान गरेर संसदीय दल नेता चयन गर्नेछन् ।