विकासन्युज

निर्वाचनको परिणाम अपेक्षाकृत थिएन, सरकारमा जाँदिन : गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आफू सरकारमा सहभागी नहुने बताएका छन् । बुधबार संसदीय दलको निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवासँग पराजित भएपछि महामन्त्री थापाले सञ्चारकर्मीमाझ यस्तो बताएका हुन् । थापाले पार्टीको महामन्त्री र सांसदको रुपमा आफू काम गर्ने पनि स्पष्ट पारे । उनले पार्टी संसदीय दलको नेता नयाँ पाउनुपर्छ भन्ने आफ्नो एजेण्डा रहेको र त्यसमा प्रयास जारी राख्ने बताए । ‘संसदीय दलको निर्वाचनको परिणाम अपेक्षाकृत थिएन, त्यसबाट म निराश हुँदिन,’ उनले भने । महामन्त्री थापाले सरकारको आलापालोको कुरा र राष्ट्रपतिलगायतका पदहरुको बाँडफाँटको विषयमा पार्टी र संसदीय दलभित्र खुला छलफलका साथ निर्णय नभए आफूहरुलाई मान्य नहुने पनि स्पष्ट पारे ‘पार्टीको संसदीय दल र पार्टीको सम्बन्धित कमिटीमा निर्णय गरेर मात्रै सरकारको आलोपालो, राष्ट्रपति लगायतका पदहरुको बाँडफाँटको विषयलाई पारदर्शी ढंगले टुंग्याउनु पर्छ, त्यस्ता निर्णयलाई व्यक्तिगत तवरले अघि बढाए मान्न सकिँदैन,’ उनले भने ।

‘नेपाल व्यवसाय शिखर सम्मेलन २०२३’ आयोजना हुने

काठमाडौं । नेपाल सरकार, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल र नेपाल बिजनेस इन्स्टिच्युटको संयुक्त आयोजना र संघीय सरकारका विभिन्न मन्त्रालयहरुको साझेदारीतामा नेपाल व्यवसाय शिखर सम्मेलन २०२३ आयोजना हुने भएको छ । ‘वर्तमान आर्थिक परिदृश्य र समृद्धिको मार्गचित्र’ भन्ने मूल नारासहित सातै प्रदेशमा बृहत नीति संवाद तथा प्रदर्शनी र संघीयस्तरमा अन्तर्राष्ट्रिय ढाँचामा आयोजना हुने शिखर सम्मेलनमा आर्थिक एवं बैंकिङ क्षेत्रमाथि केन्द्रित बृहत नीति संवाद क्रमशः आउँदो माघ मसान्तभित्र र संघीयस्तरको शिखर सम्मेलन फागुन मसान्तभित्र सम्पन्न गर्ने गरी सिबिफिन र एनबिआईबीच सम्झौता सम्पन्न भएको छ । सिबिफिनको कार्यालय सुन्धारामा आयोजित हस्ताक्षर कार्यक्रममा सिबिफिनकोतर्फबाट वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता भोजबहादुर शाह र एनबिआईकोतर्फबाट कार्यकारी अध्यक्ष विशाल गैरेले हस्ताक्षर गरी शिखर सम्मेलनको तयारी सुरु भएको हो । शिखर सम्मेलनले ठूला उद्योगको संरक्षण, साना, मझौला तथा स्टार्टअप उद्यमलाई प्रोत्साहन गर्ने, लगानीका नयाँ क्षेत्रको पहिचानसहित उत्पादनमूलक, रोजगारीमूलक, निर्यातमूलक क्षेत्रमा लगानी विस्तार गर्ने, उद्यमी/व्यवसायीले भोग्दै आएका नीतिगत र व्यवहारगत समस्याहरू समाधान गर्दै थप लगानी भित्र्याउने, निर्यात प्रवर्द्धन गर्ने र सो को लागि साझेदारी तथा लगानी गरी आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा टेवा पुर्‍याउने उद्देश्य राखेको छ । यस शिखर सम्मेलनबाट स्वदेशी उत्पादन वृद्धि, उपभोग तथा निर्यात प्रवर्द्धनमा सहयोग पुग्ने, रोजगारीका अवसरहरूको सृजना हुने, लगानीका सम्भावित क्षेत्रहरूको पहिचानसहित लगानी विस्तार हुने, युवा तथा महिलाहरू उद्यम/व्यवसायमा आकर्षित हुने, घरेलु, साना, मझौला उद्योगहरूको स्तरोन्नतिसहित नवप्रर्वतन क्षेत्रमा लगानी बढ्ने, बैंक तथा वित्तीय क्षेत्रको दिगो प्रवर्द्धन हुने तीन तहकै सरकार, निजी क्षेत्र र कूटनीतिक नियोगबीच सम्बन्ध विस्तार भइ उच्चस्तरको नेटवर्किङ् हुने अपेक्षा समेत राखिएको छ । प्रदेशस्तरीय बृहत नीति संवाद तथा प्रदर्शनी कार्यक्रममा प्रदेश सरकारका उच्च पदस्थ अधिकारी, प्रमुख राजनीतिक दलका नेतृत्वगण, व्यावसायिक संस्थाका नेतृत्वगण, सम्पूर्ण पालिकाका प्रमुख/उपप्रमुख र विश्वविद्यालयका विद्यार्थीहरुको व्यापक सहभागिता गराइ बृहत बहसको कार्यक्रम हुने र स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्दै नेपाली उत्पादनको उपभोग र निर्यात प्रवर्द्धन गर्न सघाउ पुग्ने गरी प्रदर्शनी राखिने जनाइएको छ । त्यसैगरी समापन सत्रकोरुपमा संघीयस्तरमा आयोजना हुने शिखर सम्मेलनमा नेपाल सरकार र मातहतका निकायका उच्च अधिकारी, वरिष्ठ राजनीतिज्ञ, विज्ञ, र कुटनितिक नियोग तथा अन्तर्राष्ट्रिय दातृ संस्थाका उच्च अधिकारीहरूको व्यापक सहभागितामा बृहत नीति संवाद आयोजना गरिने छ । त्यसैगरी शिखर सम्मेलनकै अवसरमा देशभरका पत्रकारलाई लक्षित गरीे ‘आर्थिक एवं बैंकिङ क्षेत्रका चुनौती र सम्बृद्धिको मार्गचित्र’ विषयक राष्ट्रियस्तरको लेख लेखन प्रतियोगिता संचालन गरी उत्कृष्ट २५ वटा लेखहरुलाई र्याङ्किङ्गका आधारमा नगद पुरस्कार र प्रशंसा पत्रबाट पुरस्कृत गरिने छ भने सफल उद्यमी/व्यवसायी, करदाता र बैंक तथा वित्तीय संस्थाहरुलाई समेत अर्वाडमार्फत सम्मान गरिने छ । नीति संवाद तथा शिखर सम्मेलन समापन भएको ४५ दिनभित्रै नीति संवाद कार्यक्रमहरुबाट प्राप्त निष्कर्षहरुको संश्लेषण/विश्लेषण गरी कोभिड १९ पछिको आर्थिक एवं बैंकिङ क्षेत्रका प्रमुख चुनौती, अवसर र भावी रोडम्यापबारे भिजन डकुमेन्ट तयार गरी समाधानका लागि नेपाल सरकार र मातहतका निकायहरुसमक्ष पेस गर्ने र कार्यान्वयनका लागि संयुक्त पहल गरिने छ । सम्मेलनको चुस्त व्यवस्थापन गरी सफलतापूर्वक सम्पन्न गर्न विषयविज्ञसहित दुवै पक्षका उच्च नेतृत्व रहने गरी सम्मेलन सल्लाहकार समिति र  सम्मेलन मूल आयोजक समिति गठन गरिने छ । शिखर सम्मेलन आयोजनासम्वन्धी हस्ताक्षर समारोहमा सिबिफिनका उपाध्यक्ष राजेश उपाध्याय, महासचिव केशवबहादुर रायमाझी, महानिर्देशक डा. गोपालप्रसाद तिवारी र एनबिआईकातर्फबाट सल्लाहकारद्रय विनोद गुरागाई र नरेशप्रसाद श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।      

रवि लामिछानेले शपथ लिन पाउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको शपथ ग्रहण नरोकिने भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको नागरिकता विवादमा अन्त्य नहुँदासम्म शपथमा रोक लगाउन माग गरिएको अन्तरिम आदेश दिन अस्विकार गरेपछि उनको  शपथ ग्रहण नरोकिने भएको हो । सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको नागरिकता विवादमा दुबै पक्षलाई छलफलमा बोलाउने आदेश दिएको छ । लामिछानेले अमेरिकी नागरिकता लिएको र पछि उक्त नागरिकता त्याग गरेपछि नेपाली नागरिकता सक्रिय बनाउन सरकारी कार्यालयमा निवेदन नदिएका कारण हाल उनी नेपाली नागरिक नरेको जिकिर रिट निवेदकको छ ।

एनआईबिएल ग्रोथ फण्डले बिजनेस ग्रोथ हेरेर लगानी गर्छ, लगानीकर्तालाई डबल फिर्ता दिन्छ : डीसीईओ थापा

एनआईबिएल एस क्यापिटलले पुस ७ गते बिहीबारदेखि हालसम्मकै ठूलो म्युचुअल फण्ड निष्काशन गर्ने भएको छ । क्यापिटलले एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एनआईबिएल ग्रोथ फण्ड नामक म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको हो । लगानीकर्ताहरुले यो फण्डमा छिटोमा पुस १२ गते र ढिलोमा पुस २१ गतेसम्म आवेदन दिन सक्नेछन् । एनआईबिएल एस क्यापिटलले ल्याउन लागेको ग्रोथ फण्ड कस्तो हो, के छ योजना, लगानीकर्तालाई कति प्रतिफल दिने लक्ष्य राखेको छ ? यिनै विषयमा केन्द्रित भएर एनआईबिएल एस क्यापिटलका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मेख बहादुर थापासँग विकासन्युजका सीआर भण्डारीले कुराकानी गरेका छन् । एनआईबिएल ग्रोथ फण्ड ल्याउँदै हुनुहुन्छ । यो कस्तो प्रकारको फण्ड हो ? एनआईबिएल ग्रोथ फण्ड बन्दमूखी प्रकारको फण्ड हो । यसकोआकार १ अर्ब ६० करोड रुपैयाँको हो । ओभर सब्स्क्राइब भयो भने वा बढी आवेदन पर्याे भने २५ प्रतिशतसम्म बढाउन पाउने व्यवस्था छ । ओभर सब्स्क्राइब्ड भयो भने २ अर्बसम्मको आकार हुन सक्छ । यसैले यसलाई हालसम्म कै ठूलो योजना भनिएको हो । एनआईबिएल ग्रोथ फण्ड अन्य फण्डको नेचरमा कुनै फरक छैन । एनआईबिएल एस क्यापिटलले एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत एनआईबिएल समृद्धि फण्ड-१ (परिपक्व), एनआईबिएल प्रगति फण्ड (अर्काे वर्ष परिपक्व हुने), एनआईबिएल समृद्धि फण्ड-२ र एनआईबिएल सहभागिता फण्ड निष्काशन गरिसकेको छ । ग्रोथ फण्डले मुख्य लगानी इक्विटीमा गर्ने हो । ग्रोथ फण्ड भएकाले पनि यसको ग्रोथ गर्नुपर्छ । फण्डको डिभिडेण्ड पे आउट पनि बजारको माग अनुसार नै वितरण गर्ने हो । ग्रोथ फण्डमा धेरै लाभांश वितरण नगर्ने निती लिएको हुन्छ । लगानीकर्ताहरुले ऋणपत्र, मुद्दती निक्षेपमा लगानीमा रकम होल्ड गरिरहेका हुन्छन् । एनआईबिएल ग्रोथ फण्डका विशेषता के-के हुन् ? एनआईबिएल ग्रोथ फण्ड बजारमा आइरहेका फण्ड जस्तै हो । यसको साइज ठूलो भएको हुँदा फ्लेक्जिबिलिटी हुन्छ । ग्रोथ फण्ड भएको हुँदा सकेसम्म इक्विटीहरु छनोट गर्दा दीर्घकालमा राम्रो ग्रोथ गर्न सक्ने कम्पनी, रेभिन्यू गर्न सक्ने, बिजनेश ग्रोथ राम्रो भएको इक्विटीलाई विशेष प्राथमिकतामा राखिएको छ । जसले गर्दा अल्पकालमा कम पर्फमेन्स गरेर दीर्घकालमा राम्रो ग्रोथ गर्ने यो फण्डको उद्देश्य हुन्छ । ठूलो साइजको भएको हुनाले पनि धेरै नाफा उठाउन सजिलो हुन्छ । एभरेजिङ गर्नुपर्याे भनेपनि बजारको उतारचढावमा प्ले गर्न सकिन्छ । सेयर बजार घटेर तल्लो तहमा पुगेको छ । म्युचुअल फण्डमा पनि आकर्षण कम देखिन्छ । लगानीकर्ताको मनोबल पनि घट्दो छ, यो बेला फण्ड बिक्री हुन सक्छ अहिले बजारमा लो लागेको छ । लो लागेको लामो समय भइसकेको छ । बजार वियरिस ट्रेण्डिङमा छ । कम्पनीहरुको सेयर मूल्य दयनीय छ । बैंकहरुको सेयर मूल्य डेढदुई सयको हाराहारीमा झरेको छ । बीमा लगायत अन्य सेक्टरको पनि धेरै कम मूल्यमा कारोबार भइरहेको छ । सेयर बजारको स्थिति हेर्ने हो भने म्युचुअल फण्ड किन्ने अवसर उपयुक्त समय हो । किनभने बजारको सुन्दरता भनेको हाई पछि लो आउनु र लो पछि हाई हुनु हो । अहिले हेर्दा यहि नै उपयुक्त समय हो । लगानी सुरु गर्नका लागि ज्यादै नै उपयुक्त समय छ । ठूलो फण्ड भएको हुनाले फर्दर बजार घटेपनि एभरेज गर्दै किन्न सक्ने यो फण्डको क्षमता हुन्छ । भोलिका दिनमा बढ्यो भने फाइदा लिन अवश्य नै सकिन्छ । यो फण्डबाट छानि छानि सेयर किन्ने मौका हुन्छ । मज्जाले विश्लेषण गरेर हरेक सेक्टरको कुन राम्रो सेयर हो, कति मूल्यमा किन्ने हो र अझै नेगोसेसन गरेरै किन्न सक्ने क्षमता छ । अर्काे साइटमा हेर्दा लगानीकर्तामा नैराश्यता छ । सेयर बजार घटेर मात्रै होइन समग्र आर्थिक अवस्थाले गर्दा निराशजनक स्थिति देखिन्छ । अलिकति फण्ड उठाउन गाह्रो हुन्छ की भन्ने लागेको छ । तर, आईपीओको ट्रेण्ड हेर्ने हो भने १२/१३ लाखभन्दा बढी नै आवेदन परेको छ । फण्डमा यति धेरै आउँदैन तरपनि अहिले फण्ड जारी गर्दा विदेशमा पनि रिचआउट गर्ने कोशिस भइरहेको छ । सर्वसाधारणमा सहभागिता कसरी बढाउने भनेर जोड दिइरहेको छौं । साथै, सर्वसाधारणलाई म्युचुअल फण्ड कस्तो लगानीको माध्यम हो भनेर बुझाउन सचेतनामुलक काम पनि भइरहेको छ । बजारको यस्तो स्थिति भएपनि सर्वसाधारणको सहभागीता उल्लेख्य हुन्छ भन्ने अपेक्षा छ । कतिपय संस्थाहरुसँग कुरा पनि भइसकेको छ । संस्थाहरुले दीर्घकाल फण्ड हो भनेर बुझेका छन् । लगानी गर्न राम्रो मौका भएकाले फण्ड बिक्री हुन्छ । म्युचुअल फण्डको सेयर मूल्य घटेको बेला असर गर्छ की ? यसले पनि प्रभाव पार्छ । यसले सर्टटर्म ट्रेडरलाई प्रभाव पार्ने हो । जसले लङ्टर्म होल्ड गर्छु भनेर मनस्थिति बनाएर खरिद गर्नुभएको हुन्छ उहाँहरुलाई यसले ठूलो असर पार्दैन । बजारमा रिफ्लेक्ट हुन्छ । मेरो लगानीको मूल्य घट्छ की वा वर्थ नै घट्छ की भन्ने महशुस हुन्छ । तर, बजार यहाँभन्दा धेरै तल झर्ने ठाउँ छैन । राष्ट्र बैंकको पछिल्लो तथ्याङ्क हेर्ने हो भने अर्थतन्त्र सुधारोन्मुख छ । विस्तारै सुधार हुँदै जाँदा सेयर बजार पनि सुधार हुँदै जाने देखिन्छ । जसलाई तत्काल पैसा चाहिएको छ उसलाई मात्रै सेयर मूल्यले असर गर्ने हो । दीर्घकाल लगानी गर्नेलाई केही फरक पर्दैन । कसैले बढेको बेला म्युचुअल फण्ड खरिद गर्ने भन्नुहुन्छ भने कसैले घटेको बेला । यसले लगानीकर्तामा दुविधा पार्दैन ? म्युचुअल फण्ड दीर्घकाल इन्स्ट्रुमेन्ट हो । म्युचुअल फण्ड खरिद गर्न सधैं उपयुक्त समय हो । घटेको बेला पनि किन्ने हो । बढेको बेला पनि किन्दा उपयुक्त हुन्छ । म्युचुअल फण्ड खरिद गरेर दीर्घकालका लागि होल्ड गर्याे भने जहिले पनि किन्दा पनि हुन्छ । घटेको बेला होस् वा बढेको होस् । किनभने म्युचुअल फण्डले आ-आफ्नो रणनीति बनाएको हुन्छ । जहिले पनि बजार घट्दा म्युचुअल फण्ड बजारभन्दा कम घट्छ । बढ्दा खेरि पनि बजारभन्दा कम बढ्छ । म्युचुअल फण्ड जोखिम कम गर्ने किसिमको लगानी हो । बैंकको मुद्दती निक्षेपमा जोखिम हुँदैन । त्यसमा पनि अलिअलि रिस्क त हुन्छ । कुनै-कुनै बैंक डुबेको देखिएकै छ । तर, सामान्यतया बैंकहरुको मुद्दतीमा जोखिम हुँदैन । सर्टेन ब्याजदर पाइन्छ, त्यो फिक्स हो । जस्तो, अहिले मुद्दती निक्षेपमा १२ प्रतिशत ब्याजदर पाइन्छ । जस्तोसुकै संकट आएपनि १२ प्रतिशत नै पाइने हो । घटेर १० प्रतिशत वा बढेको बेला १५ प्रतिशत पनि पाइँदैन । बचतबाट माथि उक्लिएर लगानी गर्ने हो भने सबैभन्दा पहिलो खुड्किलो म्युचुअल फण्ड हो । ३२ सय अंकमाथि गएको बजार अहिले १८ सय अंकको हाराहारीमा छ । झण्डै १४ सय त गुमाइसकेको छ । लगानीकर्ताले ४० प्रतिशत लगानी गुमाइसकेका छन् । तर म्युचुअल फण्ड धेरै घटेको छैन । १०/१५ प्रतिशत मात्रै घटेको छ । योभन्दा धेरै घटेको छैन । म्युचुअल फण्डमा लगानी गर्दा केही हदसम्म जोखिम कम हुन्छ । त्यसैले म्युचुअल फण्डले बजारको घटबढलाई व्यवस्थापन गरेर कसरी जोखिम गरेर रिटर्न बढी जेनेरेट गर्ने हो । म्युचुअल फण्ड दीर्घकालका लागि जहिले किने पनि राम्रो हो तर सर्टटर्म ट्रेड गर्ने हो भने बियरिस बजारमा गाह्रो हुन्छ । म्युचुअल फण्ड किन्ने नै हो भने लो लागेको बेला हो । अहिले किन्नुभयो भने घट्ने ठाउँ छैन, अब बढ्ने हो । पुरानो म्युचुअल फण्ड वा आईपीओ नै किने पनि अहिलेको समय उचित हो । अहिले किन्दा सस्तो मूल्यमा सेयर पाइन्छ । एनआईबिएल ग्रोथ फण्डले कुन-कुन क्षेत्रमा लगानी गर्छ ? इक्विटीमा ६५/७० प्रतिशत लगानी गर्ने योजना छ । हरेक सेक्टरमा ग्रोथ फ्याक्टर भएको, विजनेश ग्रोथ राम्रो भएका, भविष्यमा राम्रो गर्न सक्ने इक्विटीमा बढी लगानी गर्ने योजना छ । बैंकिङ्ग क्षेत्रमा राम्रोसँग अध्ययन गरेर लगानी गर्ने हो । नाम नै ग्रोथ फण्ड भएकाले विजनेश ग्रोथ बढी गर्न सक्ने कम्पनीलाई बढी प्राथमिकता दिइनेछ । फण्डले कमाएको नाफाबाट इकाईधनीहरुलाई कतिसम्म प्रतिफल दिन सक्छ ? हरेक वर्ष प्रतिफल दिने प्रक्षेपण छ । फण्डको वर्थ बढाएर मध्यम लाभांशमा जाने योजना छ । मुद्दती निक्षेपको हाराहारीमा रिटर्न (१२÷१५ प्रतिशत) रिटर्न दिने प्रक्षेपण गरिएको छ । कम्तिमा पनि मुद्दती निक्षेपको रिटर्न बिड गर्नुपर्ने अन्तर्राष्ट्रिय अभ्यास छ । किनकी इकाईधनीहरुले स्ट्याण्डर्ड फिक्स्ड छोडेर आएका हुन्छन् । सकेसम्म ग्रोथ मै न्याभ बढाएर एकैचोटी दिने प्रक्षेपण छ । न्याभ अन्तिममा २० रुपैयाँ फर्काउने छ । शतप्रतिशत रिटर्न अन्तिममा दिने हाम्रो प्रक्षेपण हो । १० रुपैयाँ लगानी गरेर २० रुपैयाँ फिर्ता दिने प्रक्षेपण गरिएको छ । यसअघि जारी गरेका म्युचुअल फण्डबाट कस्तो अनुभव छ ? यसअघिका म्युचुअल फण्डबाट राम्रो अनुभव छ । एनआईबिएल एस क्यापिटलले पहिलोपटक एनआईबिएल समृद्धि वान फण्ड जारी गरेको थियो । ७ वर्षे अवधिमा एभरेज वार्षिक १८ प्रतिशत प्रतिफल दिन सफल भएका छौं । यसले राम्रो अनुभव भएको छ । एनआईबिएल प्रगति फण्डका इकाईधनीहरुलाई भने सुरुका वर्षहरुमा प्रतिफल दिन सकिएन । तर, पछिल्लो समय भने इकाईधनीहरुलाई राम्रो प्रतिफल बाँडको छौं । ओपन इण्डेड सहभागीता फण्डका इकाईधनीहरुलाई ३ वर्षमा ६४ प्रतिशत रिटर्न दिइसकेका छौं । एफडीलाई बिड गर्ने हाम्रो सिद्धान्त हो । अहिलेका जस्तो खराब समय आएन भने एनआईबिएल ग्रोथ फण्डका इकाईधनीहरुलाई एभरेजमा १५/२० प्रतिशत रिटर्न दिन सकिन्छ । म्युचुअल फण्डको लाभांशदर घटेको छ, कुनै वर्ष ह्वात्तै लाभांश बढाउने कुनै वर्ष स्वाट्टै किन घटाउनु हुन्छ ? म्युचुअल फण्डको लाभांश दर घटेको छ । डिभिडेण्ड पोलीसी (लाभांश नीति) मेन्टेन गर्ने अभ्यास छैन । भएको बेला झ्याप्पै दिने नहुँदा चुप लागेर बस्ने प्रवृत्ति छ । हरेक वर्ष यति डिभिडेण्ड मेन्टेन गर्छु भन्ने परिपाटि छैन । म्युचुअल फण्डको लाभांश दर एउटै रेसियोमा देखिँदैन । बजारमा हेर्ने हो भने कुनै वर्ष ५० प्रतिशत दिएको छ भने कुनै वर्ष ५/७ प्रतिशतमा पनि झरेका छन् । म्युचुअल फण्डले ठ्याक्कै डिभिडेण्ड पोलीसी फ्लो गर्न सकेका छैनन् । एनआईबिएलले जारी गरेका फण्डको पनि एकनाश छैन । कुनै-कुनै स्थापित कम्पनीले फ्लो गरेको भएपनि अन्य सेक्टरमा नी डिभिडेण्ड पोलीसी पर्पल्ली फ्लो गरेको देखिँदैन । म्युचुअल फण्डमा एकनाश दिन पनि गाह्रो हुन्छ । म्युचुअल फण्डको लगानी बजारमा हुन्छ । बजार राम्रो भएको बेलामा डिभिडेण्ड दिनुपर्छ भन्ने हुन्छ । फण्डको नाफा आफैसँग राखिराख्यो भने बजार घटेको बेला डबल असर पार्ने होकी भन्ने हुन्छ । म्युचुअल फण्डहरुले डिभिडेण्ड पोलिसी अनुसार मेन्टेन गर्ने की नगर्ने विषयमा बहस हुन जरुरी छ । नेपाली बजारमा के गर्दा उपयुक्त हुन्छ भन्ने कुरामा छलफल गर्न आवश्यक छ । स्थिर अर्थतन्त्रमा स्थिर लाभांश स्वभाविक हो । नेपालमा फ्लेक्च्युसन धेरै हुने भएकाले स्थिर राख्न गाह्रो भएको हुन सक्छ । म्युचुअल फण्डको प्रकृतिमा पनि भर पर्छ । लाभांशमा ग्रोथ फण्डको प्रकृति फरक हुन्छ । ब्यालेन्सड फण्ड र इनकम फण्डको सिद्धान्त एउटा रेञ्जमा दिनु पर्छ भन्ने हुन्छ । तर, ग्रोथ फण्डको अन्तर्राष्ट्रिय अभ्यास डिभिडेण्ड नै नदिने हुन्छ । ग्रोथ फण्डले भ्याल्यू बढाएर अन्तिममा एकैचोटी दिने अभ्यास छ । एनआईबिएल ग्रोथ फण्ड ४ दिनमा सबै बिक्री होला ? कस्तो प्रतिक्रिया आएको छ ? ४ दिनमा बिक्री गर्ने कोशिस गर्ने हो । गाह्रो पनि हुन सक्छ । अहिलेसम्म प्रतिक्रिया राम्रो आएको छ । हाम्रो फण्ड नआएको धेरै ग्याप भएको छ । जसले गर्दा त्यति धेरै गाह्रो हुँदैन की भन्ने छ । इकाईधनीहरुले ४ दिनमा नै सबै फण्ड खरिद गर्नुहुन्छ भन्ने अपेक्षा छ । यसअघिका फण्डबाट पनि उहाँहरु उत्साहित हुनु भएको छ । यसअघिका म्युचुअल फण्डको अवस्था के छ ? सबै फण्डको राम्रो छ । विभिन्न कारणले समृद्धि मुचुअल फण्ड २ मा राम्रो गर्न सकिएन । त्यो फण्ड बजार माथि जाने बेला ल्याएका थियौं । हामीले खरिद गर्दा गर्दै बजार घट्यो । त्यसमा राम्रो गर्न नसकेर लाभांश पनि दिन सकिएको छैन । हुन त २ वर्ष मात्र भयो । बजार घटेदेखि नै स्टक अकुमेलेट भइरहेको छ । अब बजार बढेपछि उक्त फण्डका इकाईधनीहरुलाई राम्रो लाभांश दिन्छौं । ग्रोथ फण्डका इकाईधनीहरुलाई कति प्रतिशत सन्तुष्टि बनाउनु हुन्छ ? इकाईधनीहरुलाई शतप्रतिशत सन्तुष्ट बनाउने प्रयास हामी गर्छाैं । विगतका फण्डहरुमा त्यो गरेर पनि देखाउन सफल भएका छौं । हामीसँग स्थापित टिम छ । हाम्रोमा मुभमेन्ट पनि त्यति धेरै छैन । फण्ड स्पोन्सरका रुपमा प्यारेन्ट कम्पनी एनआईबिएल पनि छ । पर्फमिङ फण्डको हिसावमा शतप्रतिशत नै सन्तुष्ट बनाउने लक्ष्य छ । म्युचुअल फण्डमा आईपीओमा जस्तो आकर्षण हुँदैन नि, किन ? नेपाल मात्रै यस्तो देश हो, जहाँ १ सय रुपैयाँ वा पार भ्यालुमा आईपीओ पाइन्छ । अन्य मुलुकमा हेर्ने हो भने आईपीओको मूल्य १० रुपैयाँ भइसकेको छ । अझै कुनै देशमा १ रुपैयाँ भइसकेको छ । कतिपय देशमा सेयर स्प्लिट पनि भएका छन् । अमेरिकातिर सेन्टमा आईपीओ पाइन्छ । पार भ्यालु वा जतिको त्यतिमा इस्यू हुने नेपालमा मात्रै हो । यसकारण १ सय रुपैयाँ सूचीकृत हुँदा जस्तो कम्पनी पनि २र३ सय रुपैयाँ हुन्छ । त्यो आकर्षण छ । आईपीओ पर्याे भने २/३ गुणा त फाइदा हुन्छ भन्ने हिसावले आकर्षण बढेको हो । यदि भोलिका दिनमा प्रिमियम मूल्यमा इस्यू भयो आकर्षण घट्छ । १ सय रुपैयाँमा पाइने भएर आकर्षण बढेको हो । म्युचुअल फण्डलाई त्यो सुविधा छैन । म्युचुअल फण्ड त फ्रेस हो । कसैले कम्पनी स्थापना गर्याे भने आईपीओ जारी गर्नका लागि ३ वर्ष कुर्नु पर्ने हुन्छ । त्यसमा समय खर्च भएको छ, लगानी बढेको छ, कामहरु धेरै भएर एउटा भ्यालु आइसकेको हुन्छ । त्यो भ्यालु कम्पनीले १ सय रुपैयाँमा दिएको हुन्छ । यसकारण मात्रै त्यसको आकर्षण बढेको हो । भोलिका दिनमा १५० रुपैयाँभन्दा बढी मूल्यमा बिक्री हुने हो भने आकर्षण अटोमेटिक घट्छ । म्युचुअल फण्डको भविष्य कस्तो छ ? म्युचुअल फण्ड अझै आउँछन् । म्युचुअल फण्ड सुरु भएको १० वर्ष पुरा भयो । म आफै नेपाल धितोपत्र बोर्ड छोडेर सिद्धार्थमा जाँदा इन्भेष्टमेन्ट ग्रोथ स्किम वान भनेर पहिलो फण्ड ल्याएको थिए । म्युचुअल फण्डको इण्डष्ट्रि ११ औं वर्षमा प्रवेश भएको छ । ११ वर्षमा म्युचुअल फण्ड के हो, कस्तो लगानी हो भन्ने सचेतना सर्वसाधारणमा पुगेको छ । हाल म्युचुअल फण्डमा २८/३० अर्ब लगानी छ । पहिलो म्युचुअल फण्ड ल्याउँदा ५० करोड आकार थियो । बजारमा म्युचुअल फण्डको पुगेको छ । १० वर्षअघि म्युचुअल फण्डका बारेमा कर कार्यालय, नेपाल राष्ट्र बैंक, बीमा समितिलाई पनि थाहा थिएन । प्रोभिजनको व्यवस्था थिएन । हामीले सबै ठाउँमा गएर लबिङ गर्याै । बीमा समितिमा म आफैले प्रस्तुती गरेको थिए । राष्ट्र बैंक, कर लगायतसँग पनि धेरै बहस भयो । अहिले एउटा फेजमा म्युचुअल फण्ड आइपुगेको छ । अहिले ओपन इण्डेड म्युचुअल फण्ड पनि आइसकेको छ । हामीले नै पहिलो पटक ल्याएको हो । त्यो पनि २० करोडबाट सुरु गरेको हो । अहिले १ अर्ब पुगेको छ । त्यसलाई बढाएर २ अर्ब पुर्याउने योजना छ । लगानीकर्तामा फण्डका बारेमा ज्ञान बढ्दै गएकाले म्युचुअल फण्डको आकार अझै बढ्छ । अझै पनि गर्व गर्न लायकको आकारमा पुगेको छैन । ४/५ वर्ष अघिको तथ्याङ हेरेको थिए, भारतमा म्युचुअल फण्डको आकारा १० लाख करोड थियो । तर, नेपालमा ३० अर्ब मात्रै छ । हाम्रो जस्तो देशमा अझै पनि म्युचुअल फण्डको स्कोप छ । म्युचुअल फण्डमा सहुलियतको व्यवस्था हुनु पर्छ । भारतमा म्युचुअल फण्डमा कर योग्य आयबाट घटाउन पाउने सुविधा छ । नेपालमा त्यो सुविधा छैन । त्यो लबिङ गरेको थुप्रै वर्ष भइसक्यो । क्लोजिङमा त्यो व्यवस्था नभएपनि ओपनिङमा दिनुपर्छ भनेर माग गरेको वर्षाै भइसक्यो अहिलेसम्म हुन सकेको छैन । लाइफ इन्स्योरेन्सको प्रिमियम, कर्मचारी सञ्चाय कोष र नागरिक लगानी कोषलाई छुट दिन्छ । म्युचुअल फण्डमा छुटको व्यवस्था गर्याे भने इण्डष्ट्रि अझै ठूलो हुन्थ्यो । नियामकले पनि विस्तार गर्ने उद्देश्यले सोचेको छैन । इण्डष्ट्रि ठूलो होस् भन्दा पनि अल्झाइराख्ने प्रवृत्ति नियामक निकायको छ । यस्तो मनस्थिति हटेर सहजीकरण गर्याे भने मुचुअल फण्डको विकास हुन्छ ।

महानगरले धोवीखोला किनारमा चलायो डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले धोबीखोला किनारमा आज डोजर चलाएको छ । काठमाडौं महानगरको वडा नं. १० देवीनगरमा अतिक्रमित संरचना हटाउन डोजर चलाएको हो । सार्वजनिक जग्गामा निर्माण भएको संरचनामा महानगरले डोजर लगाउन थालेको लामो समय भइसकेको छ । तर, अतिक्रमित बनेका संरचनाहरु नहटाएसम्म डोजर चलाइ रहने महानगरले बताएको छ । महानगर सार्वजनिक जग्गामा बनेको घर टहरा, मापदण्ड विपरीतको होर्डिङ बोर्ड, नक्सा विपरीतको वेसमेन्ट प्रयोग र फुटपाथ व्यवसाय हटाउँदै आएको छ ।

सलाम एयरले टिकट बिक्री गर्ने उत्कृष्ट १० ट्राभल्स एजेन्टहरुलाई गर्यो सम्मान

काठमाडौं । सलाम एयरलाईन्सले नेपालस्थित आफ्ना टिकट बिक्री गर्ने ट्राभल्स एजेन्सीहरुलाई सम्मान गरेको छ । सन २०२२ भित्र टिकट बिक्री गर्ने उत्कृष्ट १० ट्राभल्स एजेन्टहरुलाई सम्मान गरेको हो । विभिन्न विद्या अन्तर्गत टप रेभिन्यु पर्फर्मेन्स अवार्डबाट बेस्ट वे ट्राभल्स एन्ड टुर्स प्रालि, एक्सल ट्राभल्स एन्ड टुर्स प्रालि, हार्वेस्ट मून ट्राभल्स एन्ड टुर्स प्रालि, वोपन अवे ट्राभल्स एन्ड टुर्स प्रालि, प्रयास ट्राभल्स एन्ड टुर्स प्रालि, रस्विता ट्राभल्स एन्ड टुर्स प्रालि र सी लिन्क ट्राभल्स एन्ड टुर्स प्रालि सम्मानित भएकाे छ । त्यस्तै, मस्ट इम्प्रुभ्ड रेभिन्यु कन्ट्रीब्यूटर अवार्डबाट मर्स्याङ्दी ट्राभल्स एन्ड टुर्स प्रालि सम्मानित भएको छ भने हाइएस्ट एन्सिलरी रेभिन्यु कन्ट्रीब्यूटर अवार्डबाट जिओलोजी ट्राभल्स एन्ड टुर्स प्रालि सम्मानित भएको छ । त्यसैगरी, राइजिङ्ग स्टार अन्तर्गत कम्पनीले मार्वलस ट्राभल्स एन्ड टुर्स प्रालिलाई सम्मान गरेको छ । सोही अवसरमा सलाम एयर लाईन्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौंमा सन्चालित मानसिक सन्तुलन गुमाएका सडक बालबालिका तथा नागरिकहरुको लागि काम गरिरहेको संस्था नेपाल स्नेही काख नेपाललाई खाध्य सामाग्री तथा लत्ता कपडा बितरण पनि गरेकाे थियाे । सन् २०१८ देखि नियमित उडान गरिरहेको सलामले हाल विभिन्न ३५ वटा गन्तब्यमा नियमित तथा केही अन्य गन्तब्यहरुमा सिजनल सेवा पुयाउँदै आएको छ । कम्पनीले नेपालमा छिट्टै दैनिक उडान भर्ने जनाएको छ ।  

बुधबार ८०० रुपैयाँले बढ्याे सुनकाे मूल्य

काठमाडौं । बुधबार सुनको मूल्य तोलाको बढेको छ । सुनचाँदी व्यवसायी महासंघको अनुसार बुधबार सुनको मूल्य तोलाको ८०० रुपैयाँ बढेको हो । यसरी सुनको मूल्य बढ्दा छापावाल सुन तोलाको एक लाख १२ सय रुपैयाँ पुगेको छ भने तेजावी सुनको मूल्य तोलाको एक लाख ७०० रुपैयाँ पुगेको छ । महासंघको अनुसार मंगलबार १ हजार ३७५ मा कारोबार भएको चाँदीको मूल्य पनि बढेर १४ सय रुपैयाँ पुगेको छ ।

सेन्ट्रल फाइनान्सले ५ प्रतिशत लाभांश दिने

काठमाडौं । सेन्ट्रल फाइनान्सले गत वर्षको लाभांशबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ । फाइनान्सले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई ५ वर्ष नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीको पुस ३ गते आइतबार बसेको बैठकले संस्थाको हाल कायम चुक्तापूँजी ९४ करोड ८८ लाखको पाँच प्रतिशत हुने ४ करोड ७४ लाख लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश सेयरधनीको २६ औं वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।