नगरपालिका संघको अध्यक्षमा भीम ढुंगाना
काठमाडौं । नेपाल नगरपालिका संघको अध्यक्षमा धादिङको नीलकण्ठ नगरपालिकाका प्रमुख भीम ढुंगाना चयन भएका छन् । नेपाली कांग्रेसबाट निर्वाचित ढुंगाना संघको आठौं महाधिवेशनबाट ४३ सदस्यीय कार्यसमितिमा सर्वसम्मत अध्यक्ष चुनिएका हुन् । यस्तै, उपाध्यक्षमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित सिन्धुपाल्चोकको चौतारासाँगागढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटा चयन भएका छन् । यसैगरी, महासचिवमा नेकपा एमालेका तर्फबाट दाङको घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी र उपमहासचिवमा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल चयन भएका छन् । कोषाध्यक्षमा नेपाली कांग्रेसबाट खोटाङको हलेसी तुवाचुङ नगरपालिकाकी प्रमुख विमला राई र सहकोषाध्यक्षमा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख एकीकृत समाजवादीकी मीना लामा चयन भएकी छन् । देशभरिका २ सय ९३ नगरपालिकाका जननिर्वाचित प्रतिनिधिबाट ५ वर्षको लागि नयाँ कार्यसमिति चयन भएको हो ।
कुमारी र एनसीसीलाई मर्जर गर्न राष्ट्र बैंकले दियो अन्तिम स्वीकृति
काठमाडौं । नेपाल राष्ट्र बैंकले कुमारी र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकलाई मर्जर गर्न अन्तिम स्वीकृति प्रदान गरेको छ । दुवै बैंक मर्जरको अन्तिम स्वीकृतिका लागि गत साता नेपाल राष्ट्र बैंक पुगेका थिए । सोही अनुसार राष्ट्र बैंकले दुवै बैंकलाई मर्जर गर्न अन्तिम स्वीकृति प्रदान गरेको हो । एनसीसी बैंक र कुमारी बैंकबीच असोज १० गते प्रारम्भिक मर्जर सम्झौता भएको थियो । एनसीसी बैंकका मर्जर कमिटी संयोजक चन्द्र बाँस्तोला र कुमारी बैंकका मर्जर कमिटीका संयोजक कृष्णप्रसाद ज्ञवालीले मर्जर सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । यी दुवै बैंक मर्जर भएपश्चात् चुक्ता पूँजी २६ अर्वभन्दा बढी हुनेछ भने शाखा संख्या ३५५, एटीएम संख्या २४४, एक्स्टेन्सन काउन्टर ५१ वटा हुने बताइएको छ । बैंकको निक्षेप ३ खर्ब १ अर्व भन्दा बढी र कर्जा २ खर्ब ७८ अर्ब भन्दा बढी हुनेछ । दुवै बैंकले पुसको १७ गतेभित्रै एकीकृत कारोबार गर्ने गरी काम गरिरहेका छन् । मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृत एनसीसी बैंकका रमेशराज अर्याल बन्नेछन् । कुमारी बैंकका रामचन्द्र खनाल बरिष्ठ प्रमुख कार्यकारी अधिकृत हुने छन् । मर्जरपछि बैंकको नाम कुमारी बैंक हुने छ ।
प्रभु बैंकले टाटा मोटर्सको विद्युतीय सवारी किन्न सस्तोमा कर्जा दिने
काठमाडौं । प्रभु बैंक र सिप्रदी ट्रेडिङ्गबीच विद्युतीय सवारीसाधनमा लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतामा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेल र सिप्रदी ट्रेडिङ्गका तर्फबाट महाप्रबन्धक शावन्त जंग सिजापतिले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् । बैंक र ट्रेडिङ्गबीच सम्पन्न उक्त सम्झौता अनुसार सिप्रदी ट्रेडिङ्गबाट ग्राहकले टाटा मोटर्स अन्तर्गतका विद्युतिय सवारी खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्ने छ । यस सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारीसाधनलाई विद्युतीय सवारीसाधनले प्रतिस्थापन गरी वातावरणिय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने बैंकले विश्वास लिएको जनाएको छ । हाल प्रभु बैंकले देशभर रहेको २१७ शाखाबाट नै कर्जा सुबिधा उपलब्ध हुने बैंकले जनाएको छ ।
लालपूर्जा हुँदा समेत महानगरले घर भत्काएको धोबीखोलाका स्थानीयको आरोप
काठमाडाैं । धोबीखोला करिडोरका घरधनीहरुले काठमाडौं महानगरले घर जग्गाको लालपूर्जा हुँदा समेत ज्यादती गरेको बताएका छन् । बुधबार काठमाडौं महानगरपालिकाको नगरप्रहरीको टोलीले डोजर लगाएर अनामनगर धोबीखोला करिडोरको जग्गा मिचेर घर बनाएको भन्दै डोजर चलाएको हो । तर करिडोरका घरधनीहरुले भने महानगरले शक्तिको आडमा लालपूर्जा भएको घर समेत भत्काएर घरमा बस्नेहरुलाई बिचल्ली बनाएको गुनासो गरेका छन् । करिडोरमा घर हुने घरधनी प्रेमप्रसाद आचार्यले धोबीखोला करिडोरले करिडोर क्षेत्रभन्दा बाहिर घर रहेको बताए पनि महानगरले मनलाग्दी आएर घर भत्काइदिएको बताए । उनले इन्जिनियरले समेत नापी गर्दा करिडोरको जग्गा भित्र घर नपर्ने देखाए पनि महानगरले ज्यादती गरेर घर भत्काएको उनकाे आराेप छ । ‘महानगरले कुनै जानकारी बिना घर भत्काएर जनतालाई दुःख दिने काम गरेको छ, सरकारी जग्गा नभएको जानकारी दिँदा समेत निजी घर भत्काएर महानगरले आतंक फैल्यायाे,’ उनले भने । काठमाडौं महानगरपालिकाले अनामनगर धोबीखोला करिडोरको सरकारी जग्गामा बनाएका संरचना हटाउन सूचना जारी गर्दा समेत नमानेको भन्दै बुधवार डोजर प्रयोग गरी संरचनाहरु भत्काएको हो ।
ग्लोबल आइएमई बैंकले दुग्ध उत्पादक किसानलाई सहुलितयपूर्ण कर्जा दिने
काठमाडौं । ग्लोबल आइएमई बैंक र राजधानी डेरीबीच कृषि कर्जाको सहजीकरण सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र राजधानी डेरीका अध्यक्ष राजकुमार दाहालले हस्ताक्षर गरेका छन् । समझदारी अनुसार, ग्लोबल आइएमई बैंकले राजधानी डेरीको सिफारिसमा काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका तथा आसपासका दुग्ध उत्पादक किसानहरुलाई सहुलितयपूर्ण कर्जा उपलब्ध गराउनेछ । कृषि व्यवसाय गरिरहेका ग्रामिण क्षेत्रका कृषकहरुलाई उद्यमी बनाउन पूँजी लगायत प्राविधिक सीप विकास गर्न यसबाट सहयोग पुग्ने अपेक्षा गरिएको बैंकले जनाएको छ । ग्लोबल आइएमई बैंकले २९२ शाखा, २७० एटिएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी ८९० भन्दा बढी सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आएको छ ।
साढे दुई अर्बको आईपीओ ल्याउँदै एक दर्जन कम्पनी
काठमाडौं । एक दर्जन कम्पनीले करिब साढे २ अर्ब रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने भएका छन् । १२ वटा कम्पनीले प्राथमिक बजारमा २ अर्ब ४५ करोड ७ लाख रुपैयाँ बराबरको २ करोड ४५ लाख ७ हजार कित्ता सेयर निष्काशन गर्न लागेका हुन् । जसको लागि कम्पनीहरुले प्रकृया अघि बढाइसकेका छन् । १२ वटै कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएर सो मात्राको सेयर निष्काशन गर्ने प्रकृया अघि बढाएका हुन् । आईपीओ निष्काशनको पाइपलाइनमा रहेका १२ कम्पनीमध्ये अधिकांश कम्पनी हाइड्रो पावर समूहका छन् । जसमध्ये दुई लघुवित्त, अन्य समूह अन्तर्गतको एक कम्पनी र बाँकी रहेका सबै कम्पनी हाइड्रो समूहका छन् । लघुवित्त समूह अन्तर्गतको खप्तड लघुवित्त वित्तीय संस्था र श्रृजनशील लघुवित्त वित्तीय संस्था रहेका छन् । यी दुबै कम्पनीले क्रमशः १ करोड ३२ लाख र ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको सेयर निष्काशन गर्न लागेका हुन् । उक्त सेयर निष्काशनको लागि खप्तड लघुवित्तको बिक्री प्रबन्धकमा प्रभु र श्रृजनशीलको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल छ । त्यस्तै, अन्य समूहअन्तर्गतको कालिञ्चोक दर्शनले १२ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बार्डमा आवेदन दिएको छ । यता हाइड्रोपावर अन्तर्गतका इष्ट्रन हाइड्रोपावर, पिपुल्स हाइड्रोपावर कम्पनी, बाराही हाइड्रोपावर पब्लिक, एशियन हाइड्रोपवार, सुपरमाई हाइड्रोपावर, सुपर मादी हाइड्रोपावर, मायाखोला हाइड्रोपावर कम्पनी, शुभम् पावर र मौलुङ्ग हाइड्रोपावर कम्पनी आईपीओ निष्काशनको तयारीमा छन् । यी सबैले स्थानीय र सर्वसाधारणलाई सेयर निष्काशन गर्न लागेका हुन् । जसमध्ये इष्ट्रन हाइड्रोले १२ करोड ४० लाख रुपैयाँ बराबरको १२ लाख ४० हजार कित्ता सेयर निष्काशन गर्दै छ । जसको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । पिपुल्स हाइड्रोले ८० करोड रुपैयाँ बराबरको सेयर निष्काशन गर्न पाइपलाइनमा छ । कम्पनीले सानिमा क्यापिटल मार्फत सो मात्राको सेयर निष्काशन गर्न लागेको हो । बाराही हाइड्रोले ७ लाख कित्ता अर्थात ७ करोड रुपैयाँ बराबरको सेयर जारी गर्दै छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ । त्यस्तै, नेपाल धितोपत्र बोर्डले अनुमति दिए एशियन हाइड्रोपावरले ११ करोड ८० लाख रुपेयाँ बराबरको सेयर निष्काशन गर्ने छ । जसको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ । यता सुपरमाई हाईड्रोले १० करोड र सुपर मादी हाइड्रोपावरले ३१ करोड ५० लाख रुपैयाँ बराबरको सेयर निष्काशन गर्न पाइपलाइनमा छन् । यी दुबै कम्पनीको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । त्यसैगरी, आईपीओ निष्काशनको पाइपलाइनमा रहेको माया खोला हाइड्रोले प्रभु क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । धितोपत्र बोर्डले अनुमति दिएमा कम्पनीले ३४ करोड रुपैयाँ बराबरको ३४ लाख कित्ता सेयर निष्काशन गर्ने छ । शुभम् पावर ५ करोड ८० लाख र मौलुङ्ग हाइड्रो ३५ लाख ३१ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने तयारीमा रहेका छन् । यी दुई कम्पनीको बिक्री प्रबन्धकमा क्रमशः मुक्तिनाथ क्यापिटल र सनराइज क्यापिटल रहेका छन् । यससँगै नेपाल धितोपत्र बोर्डले अनुमति दिएलगत्तै यी कम्पनीले प्राथमिक बजारमा सेयर निष्काशन गर्नेछन् ।
फागुनसम्म इम्बोस्ड नम्बर जडान नगरे २ हजार जरिवाना
काठमाडौं । यातायात व्यवस्था विभागले फागुन मसान्तसम्ममा इम्बोस्ड नम्बर जडान गर्न सरकारी सवारी साधनलाई निर्देशन दिएको छ । आगामी चैत महिनाबाट इम्बोस्ड नम्बर जडान नगेरका सरकारी सवारी साधन सडकमा देखिएमा ती गाडीलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार दुई हजार जरिवाना गरिने विभागले जनाएको छ । सरकारी गाडीहरुले १० वर्षसम्म पनि कर नतिरेपछि इम्बोस्ड नम्बर जडान गर्न निर्देशन दिइएको विभागका महानिर्देशक डा. टोकराज पाण्डेले बताए । उनले भने, ‘सरकारी गाडीको कर १० वर्षसम्म पनि नउठेपछि कर उठाउने माध्यमका रुपमा इम्बोस्ड नम्बर प्लेट जडानलाई लिएका छौँ, फागुन मसान्तसम्म सबै सरकारी गाडीले अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने छ, सेतो प्लेटले पनि कर नतिरी गाडी चलाउन पाउँदैनन् ।’ इम्बोस्ड नम्बर प्लेट जडान गर्ने समयमा अनिवार्य रुपमा कर क्लियर भएको हुनुपर्ने विभागले जनाएको छ । इम्बोस्ड जडान गर्नुपर्ने विभागको निर्देशनले सरकारको राजस्व उठ्ने र इम्बोस्ड जडानको प्रक्रिया पनि सहज हुने महानिर्देशक डा पाण्डेको दाबी छ । उनका अनुसार सरकारी गाडीले फागुन मसान्तसम्म इम्बोस्ड जडान नगरेको पाइएमा दुई हजार जरिवानासहित इम्बोस्ड नम्बर जडान गर्न लगाइनेछ । रासस
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य जबराद्वारा पदबहाली
काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले आज सिंहदरबारस्थित संसद् सचिवालयमा गई पदबहाली गरेका छन् । ज्येष्ठ सदस्य राणाले बिहीबार प्रतिनिधिसभामा नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउनुहुने कार्यक्रम छ । पदबहालीपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले देशको भलोका लागि सन्तुलित रुपमा निष्पक्ष भएर काम गर्ने बताए । बहुदलीय प्रजातान्त्रिक संसदीय शासन व्यवस्थालाई अघि बढाउन अभिभावकका रुपमा भूमिका निर्वाह गर्न लागिपर्ने ज्येष्ठ सदस्य राणाले जानकारी गराए । उनले आजै शीतल निवासस्थित राष्ट्रपति कार्यालय पुगेर शपथ ग्रहण गरेका थिए । प्रतिनिधिसभा बैठक सुरु भएर सभामुखको निर्वाचन नभएसम्म उनले सभाको कारबाही अघि बढाउने छन् । सभामुखको निर्वाचन भएपछि ज्येष्ठ सदस्यको अवधि समाप्त हुनेछ । ज्येष्ठ सदस्य राणाले बिहीबार अपराह्न १२ : ५ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाउन महासचिव भरत गौतमले तयार पारेकाे प्रस्तावमा स्वीकृति दिएर आजैदेखि कार्य आरम्भ गरेका छन् ।