लोसपाको संसदीय दलको नेतामा ठाकुर चयन
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलको नेतामा पार्टी अध्यक्ष महन्थ ठाकुर सर्वसम्मत चयन भएका छन् । लोसपाको आज बसेको संसदीय दलको बैठकबाट संसदीय दलको नेतामा अध्यक्ष ठाकुर सर्वसम्मत चयन भएको पार्टीका कार्यकारिणी सदस्य केशवकुमार झाले जानकारी दिए ।
द ब्रिटिस कलेजका विद्यार्थी र कर्मचारीलाई उपकेयरले स्वास्थ्य सेवा दिने
काठमाडौं । द ब्रिटिस कलेज र युकेको उपकेयर हेल्थ लिमिटेडबीच सम्झौता भएको छ । सम्झौता अनुसार अब उपकेयरले द ब्रिटिस कलेजमा अध्ययनरत विद्यार्थी र कार्यरत कर्मचारीहरुलाई प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराउनेछ । उपकेयर हेल्थकेयरकी सिइओ र सह–संस्थापक डा. सुमित्रा काफ्लेले ब्रिटिश कलेजसँग काम गर्न पाउँदा निकै उत्साहित भएको बताइन् । बेलायतमा रहेको उपकेयरले दक्षिण एसियामा प्राथमिक स्वास्थ्य सेवालाई रूपान्तरण गर्न क्रान्तिकारी डिजिटल प्लेटफर्म प्रयोग गर्दै आइरहेको छ । यो संस्था ब्रिटिस चिकित्सक र इन्जिनियरहरुले समतामूलक, पहुँचयोग्य र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि स्थापना गरेका हुन् । उपकेयरले बिरामी–केन्द्रित र व्यापक र आर्टिफिसियल इन्टेलिजेन्समार्फत संचालित डिजिटल स्वास्थ्य प्लेटफर्मको विकास गरेको छ । ।
आलुमा आत्मनिर्भर बन्दै नवलपरासी
काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) आलु उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ । जिल्लामा बर्सेनि आलु उत्पादन हुने यस क्षेत्रमा उत्पादन बढ्दै गएपछि आत्मनिर्भर बनेको हो । जिल्लामा यो वर्ष तीन हजार एक सय ७५ हेक्टर क्षेत्रफलमा आलु खेती भएको नवलपुरस्थित कृषि ज्ञान केन्द्रका प्रमुख गोपाल लामिछानेले बताए । ‘गत वर्ष तीन हजार एक सय १५ हेक्टर जमिनमा आलु खेती भएकामा यो वर्ष ६० हेक्टर जमिनमा विस्तार भएको छ, गत वर्ष जिल्लामा ५५ हजार दुई सय ४५ मेट्रिक टन आलु उत्पादन भएको थियो,’ उनले भने । जिल्लामा व्यावसायिकरुपले आलु खेती गर्ने किसानको संख्या प्रत्येक वर्ष बढेको तथ्याङ्कमा उल्लेख छ । ‘आलु उत्पादनका हिसाबले नवलपरासी (बर्दघाट सुस्तापूर्व) आत्मनिर्भर रहेको छ, यो वर्ष समय अनुकूल छ, आलु अत्पादन राम्रो हुने अनुमान गरेका छौं,’ उनले भने । यस्तै, मध्यविन्दु नगरपालिका क्षेत्रमा पनि आलु राम्रो उत्पादन हुने गरेको छ । सो क्षेत्रमा व्यावसायिक रुपमा आलु उत्पादन गर्ने कृषक र कृषि समूहको संख्या उल्लेख्य रहेको केन्द्रका सूचना अधिकारी शङ्कर पौडेलले बताए । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी, हुप्सेकोट, बौदिकाली गाउँपालिका, कावासोती, देवचुली र गैँडाकोट नगरपालिकामा व्यावसायिक रुपमा आलु खेती गर्ने गरिएको छ । सो ठाँउमा उत्पादन भएको आलु स्थानीय बजारका साथै काठमाडौं पनि जाने गरेको छ । उक्त केन्द्रले कृषि समूहमा आलु खेती प्रवद्र्धन कार्यक्रमलाई यो वर्ष पनि निरन्तरता दिएको थियो । रासस
नेपालका विश्वविद्यालयलाई अन्तर्राष्ट्रियस्तरकाे बनाउँन मन्त्री पौडेलको आग्रह
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपाली विश्वविद्यालयको शिक्षालाई अन्तर्राष्ट्रियस्तरसम्म विस्तार गर्न सरकारले आवश्यक सहजीकरण गर्ने बताएका छन् । काठमाडौं विश्वविद्यालयको अन्तर्राष्ट्रियकरण अभियानअन्तर्गत योगिक साइन्स, हेल्थ, म्यानेजमेन्ट, हस्पिटालिटी लगायतका कार्यक्रम भारतीय सहरमा सञ्चालन गर्ने सम्भाव्यताका लागि सहकार्य गर्ने गरी आन्ध्र प्रदेशको तिरुपतीस्थित विश्वेश्वरा योग रिसर्च इन्ष्टिच्युटससँग लेटर अफ आशयपत्रमा हस्ताक्षर गर्दै एक कार्यक्रममा मन्त्री पौडेलले उक्त प्रतिबद्धता जनाएका हुन् । मन्त्री पौडेल र विश्वविद्यालयका उपकुलपति डा.भोला थापाको उस्थितिमा तिरुपतिमा सहमतिपत्रमा हस्ताक्षर भएको हो । तामिलनाडू, आन्ध्र प्रदेश तथा तेलङनास्थित उच्च शिक्षामा कार्यरत शैक्षिक संस्थाको एकहप्ते भ्रमणमा रहेको टोलीले चेन्नईस्थित मद्रास डाईवेटिक रिसर्च सेन्टरसँग डाईवेटोलोटिमा सयुक्त विधावारीधि कार्यक्रम सञ्चालनको सम्भावनाबारे छलफल भएको थियो । आइआईटी हैदरावादमा पनि यस्तै कार्यक्रमका लागि छलफल गर्ने योजना रहेको बताइएको छ ।रासस
सामान्य अंकले बजार घट्दा ३ कम्पनीमा लाग्यो सर्किट
काठमाडौं । बुधबारको सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार बुधबार सेयर बजार ५.८९ अंकले घटेको हो । यसरी सामान्य अंकले बजार घट्दा तीन कम्पनीको सेयर मूल्य भने सर्किट लेभलमा कारोबार भएको छ । सर्किट लेभलमा कारोबार हुनेमा आँधिखोला लघुवित्त वित्तिय संस्था, सृजनशिल लघुवित्त वित्तीय संस्था र इस्टर्न हाइड्रोपावर लिमिटेड रहेको छ । नेप्सेको अनुसार आँधिखोला लघुवित्त वित्तिय संस्थाको सेयर आज १० प्रतिशतले बढेर १६५७.७० रुपैयाँ, सृजनशिल लघुवित्तको ९.९९ प्रतिशतले बढेर १०९६.२० रुपैयाँ र इस्टर्न हाइड्रोपावरको ९.८५ प्रतिशतले बढेर २९७.९० रुपैयाँ पुगेको छ । आज सबैभन्दा बढी कारोबार एनआईसी एसिया बैंकको भएको छ । यस्तै,आज २४ लाख कित्ता सेयर किनबेच हुँदा ८६ करोड रुपैयाँको कारोबार भएको छ ।
दि नेपाल डिस्टीलरिजले ल्यायाे ४० यूपीको ‘कर्दा ट्रिपल एक्स’ मदिरा
काठमाडौं । दि नेपाल डिस्टीलरिजले ४० यूपीको नयाँ मदिरा बजारमा ल्याएको छ । लामो समयदेखि २५ यूपी र ३० यूपीको रम तथा मदिरा उत्पादन गर्दै आएको कम्पनीले ४० यूपीको नयाँ उत्पादन ‘कर्दा ट्रिपल एक्स’ बजारमा ल्याएको हो । दि नेपाल डिस्टीलरिजका महाप्रबन्धक सुवास लामिछानेले कर्दा ट्रिपल एक्स ४० यूपी सेगमेन्टमा नेपाली बजारमा उपलब्ध मध्येकै स्तरीय मदिरा रहेको बताए । ‘ग्राहकको यो सेगमेन्टका मदिराप्रति पछिल्लो समय बढेको आकर्षणलाई सम्बोधन गर्दै कर्दा ट्रिपल एक्स बजारमा ल्याएका हौं, यसमा अल्कोहलको मात्रा २५ र ३० यूपीको मदिरामा भन्दा कम हुन्छ,’ उनले भने । रम फ्लेबरको कर्दा ट्रिपल एक्स ७५० एमएल, ३७५ र १८० एमएलको प्याकेजिङमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
मुटुको कृत्रिम भल्व राख्न भारतभन्दा नेपालमा ४० लाख सस्ताे
काठमाडौं । नेपालमा नै मानिसको मुटुमा कृत्रिम भल्व राख्न थालेपछि विदेश उपचार गराउन जाने घटेका छन् । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले ‘ट्रान्सक्याथर इरोटिक भल्व इम्प्लामेन्टेशन (टाभी)’ विधिबाट मुटुमा कृत्रिम भल्व राख्ने गरेको छ । यसअघि उक्त कृत्रिम भल्व राख्न भारतलगायत बिरामी विदेश जाने गर्दथे । उपचार पनि सस्तो र सजिलो भएकाले बिरामीले कृत्रिम भल्व नेपालमा नै राख्ने गरेका छन् । हृदय केन्द्रका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीले अहिलेसम्म छ बिरामीको मुटुको कृत्रिम भल्व राखिएको जानकारी दिए । एक कृत्रिम भल्व ह्याम्स अस्पतालले पनि राखेको छ । उनले एक बिरामीको सफलतापूर्वक कृत्रिम भल्व राखेपछि आत्मविश्वासले अन्य बिरामीको पनि राख्न थालेको बताए । नेपालमा पहिलो पटक केन्द्रले नै गत वर्ष फागुनमा मानिसको मुटुको कृत्रिम भल्व राखेको हो । नेपालमा २५ देखि ३८ लाखसम्म र भारतमा ६० देखि ८० लाखसम्म खर्च हुने गरेको छ । उनका अनुसार एक हप्ताभित्र पुनः एक बिरामीको पनि मुटुको कृत्रिम भल्व राख्ने तयारी भइरहेको जानकारी दिए । ‘नेपालमा नै मुटुको भल्व राखिने भएपछि धेरै बिरामी हाम्रोमा नै आउने गरेका छन्’, उनले भने, ‘महिनामा एक–दुई जना कृत्रिम भल्व राख्न भारत जाने गर्दथ्ये, तर अहिले हामीले नै नेपालमा सुरु गरेदेखि बिरामी बाहिर गएका छैनन् ।’ उनका अनुसार मुटुको कृत्रिम भल्व राख्न वार्षिक करिब १२ बिरामी भारत जाने गरेका थिए । केन्द्रले नै मुटुको भल्व राख्न थालेपछि भने एक बिरामी मात्र भारत गएको आफूले जानकारी पाएको उनले बताए । मुटुको एओर्टिक भल्व साँघुरो र उमेरका कारणले छाती चिरेर शल्यक्रिया गर्न जोखिम भएपछि उक्त भल्वको स्थानमा नयाँ कृत्रिम भल्व राख्ने गरिन्छ । यस विधिअनुसार तिघ्राको धमनी फिमोरल आर्टरीबाट एक विशेष किसिमले निर्मित तार अर्थात् क्याथेटरद्वारा मानव निर्मित भल्व मुटुभित्र छिराएर एओर्टिक भल्वको स्थानमा प्रत्यारोपण गरिन्छ । प्रत्यारोपण भएको भल्वले तुरुन्तै काम सुरू गर्ने हुँदा बिरामीलाई चाँडै नै आराम महसुस हुने गर्दछ । मुटुको एओर्टिक भल्व साँघुरो भएपछि मानिसमा छाती दुख्ने, बेहोस हुने र रिंगटा लाग्ने गर्दछ । उनका अनुसार उक्त एओर्टिक भल्वको वयस्क मानिसमा शल्यक्रियाद्वारा उपचार गर्न सकिन्छ भने वृद्धाअवस्थामा शल्यक्रिया गर्न असहज हुने हुँदा भल्व नै प्रत्यारोपण गर्नुपर्ने हुन्छ । मुटुबाट निस्कने मुख्य धमनीमा रहेको एओर्टिक भल्व साघुरिने रोगलाई ‘एओर्टिक स्टेनोसिस’ भनिन्छ । यस रोगको प्रचलित उपचार भनेको शल्यक्रियामार्फत छाती तथा मुटु चिरेर भल्व प्रत्यारोपण गरिने विधि हो । वृद्धावृद्धामा यस रोगका शल्यक्रिया गरेर उपचार गर्दा जोखिम हुने भएकाले ‘टाभी’ विधिबाट मात्र सम्भव हुने उनले बताए । केन्द्रले कृत्रिम मुटुको भल्व भारत, नेदरल्याण्डलगायत मुलुकबाट ल्याउने गरेको छ । बिरामीको मुटुमा २३ एमएम, २६ एमएम, २९ एमएम र ३१ एमएमका कृत्रिम भल्व राख्ने गरिन्छ । रासस
झण्डै ७ लाखले चालक अनुमतिपत्र पाउन बाँकी
काठमाडौं । सवारी चालक अनुमतिपत्रका लागि आवेदन दिएका झण्डै सात लाख सेवाग्राहीले अनुमतिपत्र पाएका छैनन् । काठमाडौँ उपत्यकाका कार्यालयबाट आवेदन दिएका सेवाग्राहीले झण्डै १० महिना देखि चालक अनुमतिपत्र पाउन सकेका छैनन् । अनुमतिपत्रको माग र आपूर्तिबीचमा धेरै अन्तर भएकाले यस्तो अवस्था आएको यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले बताए । अहिले विभागसँग भएको ‘मास प्रिन्टर’को छपाई गर्ने क्षमता दैनिक साढे चार हजार छ भने माग सात हजार हाराहारीमा रहेको छ । उनले भने, ‘एउटा मात्रै प्रिन्टरले माग धान्न नसकेका कारण यो समस्या आइरहेको छ ।’ गत वर्षमा कार्ड अभावका कारण पनि अनुमतिपत्र छाप्न नसकिएकाले विभागले अहिले कार्ड बाँकी रहँदैमा नयाँ खरिदका लागि प्रक्रिया अघि बढाएको उनले बताए । उनका अनुसार कार्ड खरिदका लागि सूचना निकालिएको र सरकारी खरिद प्रक्रियाअनुसार चारपाँच महिना प्रक्रियामा लाग्नसक्छ । उनले भने, ‘अहिले हामीसँग भएको कार्ड प्रयोग भइसक्दासम्म नयाँ कार्ड आउनेछ ।’ कार्यालयको चापअनुसार देशभरका यातायात व्यवस्था कार्यालयका अनुमतिपत्र छाप्न बाँकी सङ्ख्या फरक–फरक रहेको छ । काठमाडौँ उपत्यकाका यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीको चाप बढी भएकाले धेरै छापिन बाँकी छ । काठमाडौं उपत्यका कार्यालयका अनुमतिपत्र मार्चसम्मको छापिएर पठाइएको छ भने थोरै सङ्ख्यामा हुने कार्यालयको गत महिनासम्मको पनि छापेर पठाइसकिएको उनले बताए । उनले चालु आर्थिक बर्षमा नयाँ छपाइ उपकरण गर्न लागिएको समेत जानकारी दिए । अहिले विभागसँग तीन वर्ष पहिले खरिद भएको एउटा मात्रै ‘मास प्रिन्टर’ रहेको छ । एउटा उपकरणले दैनिक १६ घण्टा छापिरहेको उनले बताए । उनले भने, ‘त्यही एउटा उपकरणबाट पनि सक्दो बढी काम लिइएको छ ।’ तत्काल आवश्यक पर्ने सेवाग्राहीलाई तुरुन्त चालक अनुमतिपत्र दिइने व्यवस्था गरिएको विभागले जनाएको छ । विदेश जाने नागरिकले आवेदन भरेर तीन दिनमा अनुमतिपत्र पाउने प्रवक्ता पनेरुले बताए । त्यसका लागि सेवाग्राहीले पासपोेर्ट, भिसा र टिकट राखेर निवेदन दिने व्यवस्था गरिएको छ । उपत्यकाका चार कार्यालयपछि सेवाग्राहीको चाप पोखरा, बुटवल र नेपालगञ्जका यातायात कार्यालयमा रहेको छ । उनले भने, ‘यी बाहेकका अरु कार्यालयमा छापिनुपर्ने अनुमतिपत्र अति न्यून मात्रै रहेको छ ।’ अनुमतिपत्रसम्बन्धी सबै अधिकार प्रदेश सरकारले गर्ने व्यवस्था भए पनि प्रदेश सरकारहरुले नसक्दासम्म सङ्घीय सरकारले छापिरहेको प्रवक्ता पनेरुले बताए । प्रदेशहरुले आफैँ छाप्नुपर्ने भए पनि अहिलेसम्म कुनैले पनि सुरु गरेका छैनन् । प्रदेश स्रोतसाधन सम्पन्न नहुँदा मात्रै विभागले गरेको र पछि प्रदेश आफैँले गर्नुपर्ने उनको भनाइ छ । उनले भने, ‘कार्यक्षेत्र प्रदेशको हो । अहिले विभागले सहजीकरण मात्र गरेको हो ।’ नेपालमा विसं २०७२ पुसमा ‘स्मार्ट’ चालक अनुमतिपत्र एकान्तकुनास्थित कार्यालयबाट सुरु भएको थियो । एशियाली विकास बैंकको सूचना र सञ्चार प्रविधि (आइसिटी) परियोजनअन्तर्गत भएको सम्झौताका आधारमा चार छपाइ उपकरण (प्रिन्टर) र तीन लाख ५० हजार कार्ड खरिद गरिएको थियो । त्यसपछिका वर्षमा उपत्यकामा रहेका अन्य यातायात कार्यालयमा पनि उक्त प्रणाली विस्तार गरिएको थियो । आव २०७३/७४ मा ठेक्कामार्फत नै सात लाख ५० हजार कार्ड र चार थान छपाइ उपकरण खरिद गरिएको थियो । तर उक्त उपकरणले प्रतिघण्टा ६० थान कार्ड मात्र छाप्ने क्षमता कारण विभागले विसं २०७६ मा धेरै सङ्ख्यामा एकै पटक कार्ड छाप्न सक्ने उपकरण खरिद गरेको थियो । विभागमा हाल सञ्चालनमा रहेको उपकरणको छपाइ क्षमता प्रतिघण्टा चार सय ५० रहेको प्रवक्ता पनेरुले जानकारी दिए । देशभरका सबै कार्यालयमा ‘स्मार्ट’ कार्ड लागू भएपछि छाप्न झण्डै आठ लाख कार्ड २०७६ चैतदेखि सरकारले बन्दाबन्दीमा छपाइ सकिएको थियो । अनुमतिपत्र छाप्न समय लाग्ने मात्रै होइन लामो समय कुरेर पाएका कार्डको छपाइको गुणस्तरीय नभएको सेवाग्राही बताउँने गरेका छन् । केही वर्षयता यातायात कार्यालयमा सेवाग्राहीको भीड हुने गरेको छ । सेवाग्राहीको भीड व्यवस्थापनका लागि कार्यालयले टोकन प्रणाली लागू गरेको भए पनि भीडभाड कम नभएको देख्न सकिन्छ । रासस