काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आफू सरकारमा सहभागी नहुने बताएका छन् । बुधबार संसदीय दलको निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवासँग पराजित भएपछि महामन्त्री थापाले सञ्चारकर्मीमाझ यस्तो बताएका हुन् ।
थापाले पार्टीको महामन्त्री र सांसदको रुपमा आफू काम गर्ने पनि स्पष्ट पारे । उनले पार्टी संसदीय दलको नेता नयाँ पाउनुपर्छ भन्ने आफ्नो एजेण्डा रहेको र त्यसमा प्रयास जारी राख्ने बताए । ‘संसदीय दलको निर्वाचनको परिणाम अपेक्षाकृत थिएन, त्यसबाट म निराश हुँदिन,’ उनले भने ।
महामन्त्री थापाले सरकारको आलापालोको कुरा र राष्ट्रपतिलगायतका पदहरुको बाँडफाँटको विषयमा पार्टी र संसदीय दलभित्र खुला छलफलका साथ निर्णय नभए आफूहरुलाई मान्य नहुने पनि स्पष्ट पारे
‘पार्टीको संसदीय दल र पार्टीको सम्बन्धित कमिटीमा निर्णय गरेर मात्रै सरकारको आलोपालो, राष्ट्रपति लगायतका पदहरुको बाँडफाँटको विषयलाई पारदर्शी ढंगले टुंग्याउनु पर्छ, त्यस्ता निर्णयलाई व्यक्तिगत तवरले अघि बढाए मान्न सकिँदैन,’ उनले भने ।