नेपाली कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित, गगनले पाए २५ मत मात्रै
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् । महामन्त्री गगनकुमार थापालाई ३९ मतले पछाडि पार्दै देउवा दलको नेतामा निर्वाचित भएका हुन् । देउवाले ६४ मत पाउँदा गगनले २५ मत पाएका छन् । यस निर्वाचनका मतदाता पार्टीका प्रतिनिधिसभा सदस्य रहेका थिए । मतदानमा सबै ८९ सांसद सहभागी भएको समितिले जनाएको छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ सिटमा विजयी हासिल गरेको थियो ।
श्रीलङ्काले आयात प्रतिबन्ध हटायो, अर्थतन्त्र सुधारको संकेत
एजेन्सी । श्रीलङ्काले मङ्गलबारदेखि लागू हुने गरी १० वस्तुमा आयात प्रतिबन्ध हटाएको छ । अर्थ राज्यमन्त्री रञ्जित सियाम्बलापिटियाले १० वस्तुमध्ये इनर्जी ड्रिंक्स, फर्निचर उत्पादनमा प्रयोग हुने एमडीएफ बोर्ड, सीसीटीभी क्यामेरा र खेलकुदका सामाग्री रहेको जानकारी दिएका छन् । खेलकुद तथा युवा मामिला मन्त्रालयको अनुरोधका आधारमा खेलकुदका सामग्रीमा लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरिएको उनले बताए । श्रीलङ्का सरकारले गत अगस्टमा १,४६५ वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो तर हाल ७ सय ९५ वस्तुमा लगाइएको प्रतिबन्ध हटाएको छ। राज्यमन्त्रीले सन् २०२१ को लागि श्रीलङ्काको आयात बिल २०.६ बिलियन अमेरिकी डलर थियो । आयात प्रतिबन्धका कारण यो सङ्ख्या धेरै कम हने अपेक्षा गरिएको छ । उनले आर्थिक अवस्थालाई ध्यानमा राखी अन्य वस्तुमाथिको प्रतिबन्ध कहिले हटाउने भन्ने निर्णय सरकारले गर्ने पनि बताएका छन् ।
विश्व अर्थतन्त्रमा बर्चस्व कायम गरिरहने अमेरिकाको रणनीति, चीनका अधिकांश वस्तुमा प्रतिबन्ध
एजेन्सी । पछिल्लो एक शताब्दीमा विश्वमा निकै ठूला परिवर्तनहरू भए । कोभिड-१९ महामारीको दोहोरिरहेको प्रभावको सामना यतिबेला विश्वमा शान्ति र विकासको अगाडि एकपक्षीयता र संरक्षणबादका शक्तिहरु गम्भीर चुनौति बनेर खडा भएका छन् । विश्वव्यापी रुपमा आर्थिक रिकभरीको विषय निकै नै सुस्त गतिमा अगाडि बढिरहेको छ । दोस्रो विश्वयुद्ध पछाडि अन्तर्राष्ट्रिय रुपमा मान्यता प्राप्त बजारको नियम र बहुपक्षीय प्रणालीलाई आधिपत्य कायम राख्न चाहने र शुन्य सोच भएकाहरुबाट कमजोर पार्ने काम भइरहेको छ । विश्वव्यापी औद्योगिक श्रृंखला र आपूर्ति श्रृंखला क्षतिग्रस्त भएको छ भने मुद्रास्फीति र अन्य मुद्दाहरू जटिल र अन्तरसम्बन्धित रहेका छन् । विश्व कता जाँदैछ ? शान्ति वा युद्ध, वृद्धि वा मन्दी, खुलापन वा बन्द, सहयोग वा टकराव । यी प्रश्नहरु आजको दिनमा सबै देशको अगाडि खडा भएको छ । यतिबेला विश्व इतिहासको संक्रमणमा उभिएको छ । विश्वका शीर्ष दुई अर्थतन्त्रको रूपमा रहेका चीन र अमेरिकाले एक आपसमा विपरित विकल्पहरुलाई छनोट गरेका छन् । अमेरिका कुनै समय ‘खुलापन, समावेशीता र विश्वास’ को वकालत गर्ने, विश्वव्यापीकरणको प्रवर्द्धक र स्वतन्त्र व्यापार नियमहरूको वकालत गर्ने नेतृत्वको रुपमा रहेको थियो । चीनको सुधार र खुलापनको सुरुवातमा अमेरिकाले चीनलाई आफ्नो बजार खोल्न र अमेरिकाले तय गरेको अन्तर्राष्ट्रिय नियमअनुसार स्वतन्त्र व्यापार लागू गर्न आग्रह गरेको थियो। ४० वर्षभन्दा बढी समयदेखि चीन खुला सहयोग, पारस्परिक लाभ र द्विपक्षीय विजयको अवधारणाका साथ अन्तर्राष्ट्रिय समुदायमा जोडिँदै आएको छ । स्वतन्त्र र निष्पक्ष व्यापारको रक्षक, अन्तर्राष्ट्रिय निष्पक्षता र न्यायको संरक्षक बनेको छ। यद्यपि, अमेरिका भने एकपक्षीयता र संरक्षणवादमा संलग्न रहँदै आएको छ । व्यापार अवरोध र सीमा पर्खालहरू खडा गर्दै, प्रतिबन्धको डण्डा चलाउँदै, कृत्रिम रूपमा स्वतन्त्र व्यापार र प्रविधि आदानप्रदानको विरोध गर्ने कााम गरेको छ । अमेरिका आफैले वकालत गरेको विश्वव्यापीकरणको विनाशकारी बन्न पुगको छ । हालैका वर्षहरूमा अन्तर्राष्ट्रिय वैज्ञानिक र प्राविधिक प्रतिस्पर्धामा अमेरिकाले मान्यता प्राप्त अन्तर्राष्ट्रिय नियमहरूलाई बेवास्ता गर्दै संकीर्ण राष्ट्रवादी विचारधारामार्फत प्रस्तुत हुने गरेको छ । अमेरिका स्वस्थ प्रतिस्पर्धाबाट बिचलित हुँदै गएको छ । फाइभ जी क्षेत्रमा चीनले उठाउन सक्ने प्रतिस्पर्धात्मक लाभलाई रोक्नको लागि अमेरिकाले चिनियाँ कम्पनी हुवावेलाई दबाउनको लागि विभिन्न अभियोग लगाउने र पक्राउ गर्ने जस्ता घिनलाग्दो विधिको प्रयोग गर्यो । चीनको सैन्य उच्च-प्रविधिको विकासलाई रोक्नको लागि अमेरिकाले चीनको उच्च-प्रविधि उद्यमहरूलाई दबाउन बहानाको रूपमा ‘चिनियाँ सैन्य कम्पनीहरू’ र ‘सैन्य-नागरिक एकीकरणमा योगदानकर्ताहरू’ प्रयोग गरी विभिन्न नियन्त्रण उपायहरू र प्रतिबन्धहरूको सूची जारी गरेको छ। सूचना हाई-टेक उद्योगमा आफ्नो प्रतिस्पर्धात्मक लाभलाई निरन्तर कायम राख्न अमेरिकाले ‘चिप्स एण्ड साइन्स एक्ट २०२२’ ल्याएको छ । जसले नियतपूर्वक चिनियाँ प्रविधिलाई विश्वमा विस्तारको लागि प्रतिवन्ध सिर्जना गर्नेछ । गत अक्टोबरमा आफ्नै प्राविधिक आधिपत्य कायम राख्नको लागि अमेरिकाले फेरि एकपटक चीनलाई लक्षित गर्दै नयाँ सेमीकन्डक्टर निर्यात नियन्त्रण नियमहरू लागू गरेको छ । चीनद्वारा उत्पादित उन्नत चिप्स र औद्योगिक प्रविधिहरुमा प्रतिवन्ध लगाउने काम गरेको छ । ‘राष्ट्रिय सुरक्षा’को आडमा निष्पक्ष प्रतिस्पर्धाको सिद्धान्तबाट विचलित भएर अन्तर्राष्ट्रिय आर्थिक र व्यापार नियमहरूको उल्लङ्घन गर्दै अमेरिकाले व्यापार र प्राविधिक बुलिङको अमेरिकी अभ्यास गरिरहेको छ । यसले चिनियाँ कम्पनीहरूको वैधानिक अधिकार र हितलाई मात्र हानी गर्दैन, अमेरिकी कम्पनीहरूको हितलाई पनि असर गर्छ। यस्तो अभ्यासले अन्तर्राष्ट्रिय वैज्ञानिक र प्राविधिक आदानप्रदान र आर्थिक र व्यापार सहयोगमा बाधा पुर्याउँछ । यसले विश्वव्यापी औद्योगिक र आपूर्ति श्रृंखलाको स्थिरता र विश्व अर्थतन्त्रको पुनस्थापनामा पनि प्रभाव पार्नेछ। द्विपक्षीय सम्बन्धमा चीनलाई नियन्त्रणमा राख्ने र दबाउनको अतिरिक्त अमेरिकाले आफ्नो राजनीतिक लक्ष्य प्राप्त गर्न अन्तर्राष्ट्रिय स्तरमा निर्यात नियन्त्रण एलाइन्स गर्दै ‘सानो सर्कल’ निर्माण गर्ने प्रयास गरिरहेको छ। अमेरिकाका यी सबै अभ्यासहरूमाथि अन्तर्राष्ट्रिय समुदायले व्यापक रूपमा प्रश्न उठाएका छन्। चीनले सधैं खुला र समावेशी मनोवृत्ति कायम राखेको छ र आपसी सम्मान, समान व्यवहार, पारस्परिक लाभ र द्विपक्षीय विजयको नतिजाको आधारमा सक्रिय रूपमा अन्तर्राष्ट्रिय वैज्ञानिक र प्राविधिक आदानप्रदान र सहयोग गरेको छ। आज चीनले विश्व-स्तरीय खुला आविष्कार इकोसिस्टम निर्माण गर्न विश्वव्यापी आविष्कार नेटवर्कमा सक्रिय रूपमा द्वीपक्षीय विजयको विषयलाई जोड्ने प्रयास गरिरहेको छ । उदाहरणका लागि जुनकाओ प्रविधि जसलाई चिनियाँ भाषामा जडीबुटीको बोटबिरुवासँगको फङ्गा प्रजनन भनिन्छ, जसलाई गरिबी न्यूनीकरण र रोजगारीलाई प्रभावकारी रूपमा प्रवर्द्धन गर्न चिनले १०० भन्दा बढी देश र क्षेत्रहरूमा प्रयोग गरेको छ । चीनद्वारा कोभिड भ्याक्सिनहरू विकसित गरेर प्रयोगमा आएपछि त्यसलाई विश्वव्यापी सार्वजनिक हितको रूपमा प्रयोग गर्न विकासोन्मुख देशहरूमा सहज पहुँच र किफायतीमा उपलब्ध गराउने काम गरेको छ । पूर्णतया स्वतन्त्र बौद्धिक सम्पत्ति अधिकार भएको प्रविधिहरूमध्ये चीनको उच्च(गतिको रेल युरोप, एसिया, अफ्रिका, ल्याटिन अमेरिका र अन्य क्षेत्रहरूमा प्रयोग गरिएको छ, जसले अन्तरसम्बन्धलाई सहज बनाउँदै स्थानीय समुदायहरूलाई फाइदा पुर्याएको छ। नोभेम्बर २०२१ र नोभेम्बर २०२२ मा संयुक्त राष्ट्र महासभाको पहिलो समितिले दुई पटक ‘अन्तर्राष्ट्रिय सुरक्षाको सन्दर्भमा शान्तिपूर्ण प्रयोगमा अन्तर्राष्ट्रिय सहयोग प्रवर्द्धन’ प्रस्ताव पारित गरेको थियो, जसलाई चिनले नेतृत्व गरेको थियो । त्यसले संयुक्त राष्ट्र संघको ढाँचाभित्र रहेर शान्तिपूर्ण प्रयोग र निर्यात नियन्त्रण जस्ता मुद्दाहरू अगाडि बढाएको थियो । संयुक्त राष्ट्र संघको संरचना। समावेशी छलफलको नयाँ प्रक्रियाले विज्ञान र प्रविधिको शान्तिपूर्ण प्रयोगमा अन्तर्राष्ट्रिय समुदाय विशेषगरी विकासोन्मुख देशहरूको उचित माग र बलियो सहमतिलाई प्रतिबिम्बित गर्दछ, तर अमेरिकाले लिएको दृष्टिकोणको भने बिल्कुल विपरीत रहेको छ । रुस र युक्रेनबीचको द्वन्द्व जारी रहेको वर्तमान अवस्थामा युरोप र अमेरिकामा मुद्रास्फीति उच्च हुन पुगेको छ, विश्व आपूर्ति श्रृंखला समस्याग्रस्त बनेको छ भने विकासका अपेक्षाहरुमा ठेस लाग्न पुगेको छ । विश्व अर्थतन्त्रलाई ठूलो नोक्सान पु¥याउने उच्च प्रविधि क्षेत्रमा अमेरिकाले ‘दोहोरोपना’ लाई प्रवर्द्धन गर्ने प्रयास गरिरहेको छ । अमेरिका र यसका सहयोगीहरूले पनि यसको प्रभावकारिता र वैज्ञानिक प्रकृतिमाथि प्रश्न उठाएका छन्। रणनीतिक गलत गणनाका साथ चीनसँग अमेरिकाको प्रविधि प्रतिस्पर्धाको अभ्यास भइरहेको छ । अन्तर्राष्ट्रिय समुदायले स्पष्ट रूपमा बुझेको छ कि चीन र अमेरिकाको फरक छनोटको पछाडि दुई अवधारणाहरूमा भिन्नता रहेको छ । मानवजातिको साझा भविष्य भएको समुदायबाट सुरु गरेर चीनले आपसी हितका लागि मिलेर काम गर्न र द्वीपक्षीय विजयलाई सही विकलपको रुपमा जोड दिएको छ । त्यसैले चीन खुलापनको माध्यमबाट विश्वसँग पारस्परिक सफलता हासिल गर्न इच्छुक छ। तर, आजको विश्व व्यवस्थाको नेतृत्व भनी दाबी गर्ने अमेरिका अन्य देशको द्रुत विकासबाट चिन्तित हुने र डराउने काम गरेको छ । यदि सभ्यता लामो समयसम्म आत्म-संलग्न रह्यो भने यो अनिवार्य रूपमा पतन हुनेछ। इतिहासको पाठ र परिस्थितिको वास्तविकता वाशिंगटनका अभिजात वर्गहरूले गम्भीर प्रतिबिम्बत गरिरहेका छन् । विभाजनको ठाउँमा एकता, द्वन्द्वको ठाउँमा सहकार्य, बहिष्कारको ठाउँ सहिष्णुताले लिनुपर्छ । यसरी मात्रै हामी कठिनाइहरूलाई पार गर्न र एकसाथ राम्रो भविष्य सिर्जना गर्न सक्छौं। (वी जिन्हुयीले ग्लोबल टाइम्समा लेखेकाे आलेखबाट लिइएको । उनी चाइना आर्म्स कन्ट्रोल एण्ड निशस्त्रीकरण संघका रिसर्च फेलो हुन्।)
कांग्रेस संसदीय दलको निर्वाचन सम्पन्न, नतिजा केहीबेरमा आउने
काठमाडौं । सङ्घीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि भएको मतदान सम्पन्न भएको छ । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा केहीबर अघि मतदान सम्पन्न भएको हो । कांग्रेसको ‘संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समिति’ले आजै मतगणना र निर्वाचन परिणामको घोषणा हुने जनाएको छ । यस निर्वाचनका मतदाता पार्टीका प्रतिनिधिसभा सदस्य रहेका थिए । मतदानमा सबै ८९ सांसद सहभागी भएको समितिले जनाएको छ । संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र पार्टीका महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दिएका छन् । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ सिटमा विजयी हासिल गरेको थियो ।
यस कारण बढ्दैछ बीमा सरेन्डर
‘दुई अर्बको व्यापार र एक अर्बको सरेन्डर हैन हौ यी जीवन बीमाहरुले के व्यापार गर्छन् ।’ यो हो एक बीमा विज्ञको स्ट्याटस् । जुन समय सान्दर्भिक छ । उनको स्ट्याटसलाई प्रतिक्रिया दिँदै एक व्यक्तिले भनेका छन् ‘समय खराब छ, त्यसैले होला ।’ वास्तवमै भन्नु पर्दा अहिलेको अर्थतन्त्रको प्रतिबिम्ब बीमा क्षेत्रमा परेको प्रष्ट देखिन्छ । पछिल्लो समय जीवन बीमा क्षेत्रमा सरेन्डर अर्थात बीमा पोलिसी त्याग्नेको दर बढ्दो छ । नेपाल बीमा प्राधिकरणको तथ्यांक हेर्दा पछिल्लो एक महिनामै कूल एक अर्ब ११ करोड बढीको बीमा पोलिसी सरेन्डर भएका छन् । जुन अघिल्लो महिनाको तुलनामा ३४ करोड ६५ लाख रुपैयाँले बढी हो । असोजको तुलनामा कात्तिकमा मात्रै साढे ७ हजार बीमितले बीमा पोलिसी त्यागेका छन् । समीक्षा अवधिमा लाइफ इन्स्योरेन्स कर्पोरेशनको बीमा सरेन्डर उच्च छ । कम्पनीबाट एक महिनामै ३९ करोड ९ लाख रुपैयाँ बराबरको बीमा सरेन्डर भएका छन् । उक्त महिनामा कम्पनीले एक अर्ब २४ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ । त्यस्तै, कार्त्तिकमा सबैभन्दा बढी बीमाशुल्क संकलन गर्नेमा नेपाल लाइफ रहेको छ । जसले एक महिनामा २ अर्ब ८६ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । सो महिनामा कम्पनीबाट २८ करोड ८४ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर भएको छ । यी तथ्यांकले जीवन बीमा कम्पनीहरुले गर्ने बिजनेसमा प्रश्न उठेको छ । बजारमा नयाँ कम्पनीहरु आएसँगै पुरानालाई जसरी पनि आफूले बिजनेस गरेको देखाउनु पर्ने होडबाजी छ । जसले गर्दा अन्डरराइटिङ राम्रो नगरी, बुझ्दै नबुझी बीमा पोलिसी किनबेच भइरहेको जानकारहरु बताउँछन् । त्यसको फलस्वरुप बीमा सरेन्डर गर्नेहरु बढी रहेको जानकारको भनाई छ । नेपालमा जसले बढी बीमाशुल्क संकलन गर्यो त्यो कम्पनीलाई नम्बर वान भनिन्छ । यसले बीमा क्षेत्रमा विकृति ल्याउन सहयोग पुर्याएको छ । किनभने सर्वाधिक प्रिमियम संकलन गर्नेको होडबाजीमा कम्पनीहरुबीच अस्वस्थ प्रतिस्पर्धा हुने गरेको पाइन्छ । र, उनीहरुले अन्डर्राइटिङमा ध्यान दिन नदिँदा सरेन्डरदर बढ्न पुगेको जानकारहरु बताउँछन् । जुन बीमा प्राधिकरणको पछिल्लो तथ्याङ्कले नै पुष्टि गरेको छ । नेपाल बीमा प्राधिकरणले जति नै कडाइ गरेपनि बीमा पोलिसी सरेन्डर दर भने घट्न सकेको छैन । प्राधिकरणको नयाँ व्यवस्था अनुसार बीमितले बीमालेख खरिद गरेको मितिले कम्तीमा तीन वर्षसम्म सरेन्डर गर्न पाउने छैनन् । यसअघि भने बीमालेख खरिद गरेका बीमितले एक वर्षमै पोलिसी त्याग्न पाउने व्यवस्था थियो । ‘शुरुमा कतिपय मान्छेले बीमा भनेको के हो बुझेका हुँदैनन्, अभिकर्ताले जे भन्यो त्यहि पत्याइदिन्छन्, उनीहरुले बीमा भनेको जोखिम बहन गर्ने हो भन्ने हिसावले गरेका हुँदैनन्, त्यसपछि एक दुई वर्षपछि बीमा गर्ने बीमितले बल्ल बीमा के हो भन्ने बुझ्दै जान्छन्, पछिपछि बुझ्दै गएपछि उनीहरुले बीमा पहिले भनेको जस्तो होइन रहेछ भन्ने बल्ल थाहा पाउँछन्, १० लाखको पनि बीमा गर्न नसक्नेलाई करोडौंको बीमा गराइदिएको हुन्छ, जसको बीमाशुल्क तिर्न सक्दैनन्, अनि त्याग्न बाध्य हुन्छन्,’ एक बीमा जानकारले बताए । बीमा जानकारहरूको अनुसार सरेन्डर बढ्नुको मुख्य कारण अन्डरराइटिङ स्ट्याण्डर्ड नभएरै हो । कतिपयले मेडिकल डकुमेन्ट पनि नक्कली बनाएका हुन्छन् । पछिल्लो समय भने बैंकदर एकदमै हाई छ । अहिले बैंकहरुले मुद्दति निक्षेपमै १०/११ प्रतिशत दिइरहेका छन् । त्यसैले ५/६ वर्षमा त बैंकमै राखेको पैसा डबल हुने लोभमा बीमितहरु बैंकतिर लागेका हुन् की भन्ने अधिकांशको अनुमान छ । ‘बीमा भनेको जोखिम बहन हो, लगानी होइन’ भन्ने हिसावले गराएको बीमा भए लामो समयसम्म टिक्ने जानकारहरु बताउँछन् । तर बीमा भनेको पनि पैसा कमाउने हो, लगानी गरे फाइदा हुन्छ भन्ने हिसावले गराएको बीमामा पछि भनेजति फाइदा नहुने देखेपछि बीमितहरु पन्छिन थाल्ने बताउँदै अर्का जानकारले भने- ‘तोकिएको समयसम्म त प्रिमियम तिरेरै बस्छन्, त्यसपछि भने आफूले गरेको लगानी कमसेकम नडुबोस् भन्ने हिसावले बीमितहरु बाहिरिने गर्छन् ।’ पछिल्लो समय बीमा प्राधिकरणले नयाँ-नयाँ कम्पनी अर्थात लघुबीमालाई लाइसेन्स दिइरहेको छ । यी कम्पनीले ५ लाख रुपैयाँसम्मको बीमा गर्न पाउने व्यवस्था बन्दैछ । नयाँ कम्पनी आएसँगै पुराना कम्पनीलाई के हुन्छ कसो हुन्छ भन्नेमा अनिश्चितता बढेको छ । यसको पनि केही प्रभाव परेको बुझिन्छ । किन बढ्दैछ बीमा सरेन्डर ? बीमा गराउँदा नै राम्रोसँग बुझेर, अन्डरराइटिङ गर्दा ध्यान दिएर बीमा गराएका कम्पनीहरुमा सरेन्डरदर कम हुन्छ । तर जथाभावी अन्डरराइटिङ गर्ने कम्पनीमा सरेन्डर दर बढ्न पुग्छ । बीमितको सधैँ एउटै मानसिकता नहुने भएकाले पनि सरेन्डर बढेको ज्योति लाइफका सीईओ प्रकाश विक्रम खत्री बताउँछन् । ‘बीमालेख खरिद गर्दा एक मानसिकताले खरिद गर्ने र पछि उक्त मानसिकतामा परिवर्तन आउने भएपछि बीमितहरुले सरेन्डर गर्ने गरेको पाइन्छ,’ सीईओ खत्रीले बताए । वास्तविक रुपमा बीमाको काम नगर्दा यो क्षेत्रमा विकृति बढ्दो छ । अर्को, इन्भेष्टमेन्टको रिटर्नको हिसावले बीमालाई जोडेको भएर र बढ्दो बैंकदरले बीमामा सरेन्डर गर्नेको संख्या बढेको बीमा क्षेत्रका एक विज्ञले बताए । ‘नेपालमा बीमाका एजेन्सीलाई तालिम दिँदा नै गलत प्रविधिको तालिम दिइन्छ, बीमा भनेको जोखिम बहनको लागि हो भनेर बीमाको जानकारी दिनुभन्दा पनि बीमा गर्दा तिमीहरुलाई फाइदा हुन्छ, यति प्रतिशत कमिसन आउँछ, जसरी हुन्छ बिजनेस ल्याउ भन्ने हिसाबले बीमा गराइएको छ,’ विकासन्युजसँग बोल्दै उनै विज्ञले भने- ‘यो फ्यासिलिटेट गर्नलाई आम्दानी प्रुफ पनि नहेर्ने, मेडिकल स्टेटमेन्ट नक्कली होकी सक्कली केही नहेर्ने, अझ कतिपय कम्पनीका एजेन्टले डाक्टरको नम्बर भएको छाप बोकेर हिड्ने गरेको सुनिन्छ, यस्ता लापरवाही काम गरेपछि त सरेन्डर बढीहाल्छ ।’ बीमितलाई नै घाटा बीमामा हुन सरेन्डरले बीमा कम्पनी घाटामा पर्दैन । घाटा बीमितलाई नै हुन्छ । किनभने बीमितले बीमालेख खरिद गर्दा जति वर्षको लागि भनेर खरिद गरेको हो, त्योभन्दा अगाडि नै सरेन्डर गर्यो भने बीमा कम्पनीले उसलाई डिस्काउन्ट गरेर पैसा फिर्ता दिने व्यवस्था छ । कम्पनीले एजेन्टलाई दिने पैसा पनि बीमाको प्रिमियममै जोडेर लिने गर्छ । अनि जथाभावी खर्च गरेकोमा कम्पनीका लगानीकर्ताले नोक्सानी व्यहोर्नु पर्ने हुन्छ । अन्ततः यसको घाटा बीमितहरुलाई नै हो । ज्योति लाइफका सीईओ प्रकाश विक्रम खत्री पनि बीमा सरेन्डर गर्दा घाटा बीमितलाई नै हुने बताउँछन् । र, बीमा गरेको अवधि पुरा नभई बीचैमा छोड्दा आउने जति पनि लसहरु हुन्छन् त्यो बीमितले नै व्यहोर्नुपर्ने उनको भनाई छ । समाधान गर्ने होला त उपाय ? सरेन्डर भनेको बीमा कम्पनीको प्रडक्टको विशेषता नै हो । यो पोलिसीमा नै हुने गर्छ । तर पनि यसलाई रोक्न आवश्यक रहेको ज्योति लाइफका सीईओ खत्री बताउँछन् । त्यस्तै, बीमा क्षेत्रका सरोकारवालाहरुले चाहने हो भने बीमामा बढ्दो सरेन्डरको नियन्त्रण सजिलै गर्न सकिने प्राइम लाइफ इन्स्योरेन्सका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज भट्टाराई बताउँछन् । ‘कुनै पनि कम्पनीले गरेको बिजनेसलाई त्यो बिजनेसको आधार के ? केको आधारमा बिजनेसमा ग्रोथ आयो ? यस विषयमा कम्पनीले बेचेको पोलिसीहरुको विशेष अनुगमन गर्ने । वा बीमा प्राधिकरणले एडिटरलाई नै निर्देशन दिएर ५० लाखभन्दा बढीको बीमा भएको अवस्थामा त्यसको डकुमेन्टहरुको प्रमाणीकरण गरेर, अन्डर्राइटिङ स्ट्याण्डर्डहरुदेखि लिएर सबै प्रकृयाहरु ठीक छ या छैन चेक गराउने व्यवस्था भयो भने यो सजिलै नियन्त्रण हुन्छ,’ भट्टराईले बताए । बीमामा बढ्दो सरेन्डरकोको नियन्त्रण गर्ने नियामक निकाय पनि त्यत्तिकै इमान्दार हुनुपर्यो र कम्पनीका सीईओहरुले पनि बीमितको हितमा काम गर्ने सोचका साथ अघि बढ्नुपर्ने पूर्वसीईओ भट्टराईको भनाई छ । ‘गर्नेले गर्छ र गराउनेले गर्छ भन्ने हिसावले लागियो भने जे गर्दा पनि नियन्त्रण हुँदैन । तर यो गलत भयो, नेपाली कम्पनीहरुबाटै नेपाली नै ठगिनु हुँदैन, दुःख पाउनु हुँदैन भन्ने मान्यता राखेर केही गरौं भन्ने हिसावले लागियो भने नियन्त्रण गर्नको लागि प्रशस्त उपायहरु छन्, होइन भने जस्तो बिउँ रोप्यो त्यस्तै फल फल्छ भनेजस्तै हो,’ उनले थपे । के भन्छ नियामक ? नियामक निकाय नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल भने पछिल्लो समय मान्छेसँग पैसाको कमी भएकाले बीमा पोलिसी त्याग्नेको संख्या बढेको बताउँछन् । साथै, अहिलेको सरेन्डर तत्काल बीमा गर्नेहरुले नभई पुराना बीमितहरुले गरेको उनको भनाई छ । ‘बीमा गरेपछि सरेन्डर गर्न पाउनुपर्छ तर एक ठाउँमा बीमा गरेर कमिसन खायो अनि कमिसनको लागि नै अर्को ठाउँमा बीमा गर्ने विकृतिलाई भने रोक्नुपर्छ,’ विकासन्युजसँग बोल्दै पौडेलले भने- ‘यसको लागि प्राधिकरणले तीन वर्षसम्म बीमा पोलिसी त्याग्न नपाउने व्यवस्था गरिसकेको छ ।’
एनआईसी एशिया बैंकले लाभांश नदिने
काठमाडौं । एनआईसी एशिया बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ । बैंकको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीहरुलाई चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गरेको थियो । त्यसयता बैंकले लाभांश वितरण गरेको छैन । बैंकको मंगलबारको बैठकले गत वर्षको असार मसान्तसम्मको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ ।
मेरो माइक्रोफाइनान्स लघुवित्तको लाभांश घोषणा, बोनस र नगद बराबर
काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । फाइनान्सलले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तलले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भइ आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।
सगरमाथा इन्स्योरेन्सको १३.१५ प्रतिशत लाभांश घोषणा
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । इन्स्योरेन्सको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई ७.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । सगरमाथा इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १२.५ प्रतिशत बोनस सेयर र ०.६५७९ प्रतिशत नगद गरी कूल १३.१५७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । सगरमाथा इन्स्योरेन्सले प्रस्ताव गरेको उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृति भइ आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।