विकासन्युज

प्राधिकरणद्वारा पोल भाडा तिर्न आग्रह

चितवन । जिल्लाको मुख्य सहरी क्षेत्रमा आफ्नो कार्य क्षेत्र बनाएर इन्टरनेट सेवा प्रदान गर्दै आएका १४ कम्पनीले पोल भाडा सम्झौतामा ढिलाइ गरेका छन् । आर्थिक वर्षको पहिलो तीन महिनाभित्र पोल भाडा सम्झौता गर्नुपर्नेमा कुनै पनि कम्पनी सम्झौताका लागि आएका छैनन् । विद्युत् प्राधिकरण वितरण केन्द्र भरतपुरका राजेन्द्र पौडेलका अनुसार यस केन्द्रमार्फत पोलभाडा सिफारिस लिएर प्राधिकरणसँग सम्झौता गर्नुपर्ने हुन्छ । अहिलेसम्म कुनै कम्पनी नआएको उनले बताए । उनले भने, ‘पोल भाडा सम्झौताका लागि अहिलेसम्म एउटा कम्पनी पनि आएको छैन ।’ प्राधिकरणले पालिकाअनुसार पोल भाडा कायम गरेको छ । यसअनुसार महानगरभित्र एक किलोमिटरका लागि नौ हजार रुपैयाँ र नगरपालिका एवं गाउँपालिकाका लागि सात हजार रुपैयाँ रहेको उनले जानकारी दिए । आर्थिक वर्षको पाँच महिना पूरा हुँदासमेत पोल भाडा सम्झौता गर्न इन्टरनेट प्रदायक संस्था नआएपछि केन्द्रले अभियान सञ्चालन गर्ने तयारीमा रहेको उनले बताए । निर्वाचन, चाडपर्वका कारण काम गर्न नपाएको बताउँदै उनले यही पुस १५ गतेदेखि पोल भाडा सम्झौताका लागि अभियान सञ्चालन गर्ने बताए । अभियानमा सुरुआती समयमा प्रदायक संस्थालाई बोलाएर सम्झौताका लागि आग्रह गर्ने र अटेर गरे सामान जफत गर्ने उनले बताए । अघिल्लो आर्थिक वर्षमा यहाँ रहेका इन्टरनेट प्रदायक संस्थाले एक करोड ८५ लाख रुपैयाँ पोल भाडाबापतको रकम बुझाएको भए पनि यस वर्ष सम्झौताका लागि नआएका हुन् । उनले भने, ‘यस वर्ष पोल भाडाबापतको रकम करिब दुई करोड रुपैयाँ उनीहरुले प्राधिकरणलाई बुझाउनुपर्ने हुन्छ ।’ यस वितरण केन्द्रअन्तर्गत भरतपुर महानगरपालिका–१ देखि १६ सम्म, यस्तै वडा नम्बर २२ र २९ पर्छन् । इच्छाकामना गाउँपालिकासमेत यसै केन्द्रअन्तर्गत पर्ने उनले जानकारी दिए । रासस

प्रिमियर इन्स्योरेन्सको लाभांश संशोधन, बढ्यो बोनस सेयर

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीको लाभांश संशोधन भएको छ । कम्पनीको कात्तिक २९ गते बसेको सञ्चालक समितिको बैठकले ५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । तर, नेपाल बीमा प्राधिकरणले बोनस सेयर बढी वितरण गर्न निर्देशन दिएपछि लाभांश संशोधन गरिएको कम्पनीले जनाएको छ । कम्पनीको पुस ७ गते बसेको सञ्चाक समितिले १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरुलाई वितरण गरिनेछ ।

आँधिखोला लघुवित्तले घोषणा गर्याे ३१.५८ प्रतिशत लाभांश

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । लघुवित्तको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट कायम चुक्ता पूँजीको ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५८ प्रतिशत नगद गरी कूल ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट बैंकबाछ स्वीकृति भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरुलाई वितरण गरिनेछ ।

बागलुङमा फोहर व्यवस्थापन नगर्दा बस्तीनै दुर्गन्धित

बागलुङ । बागलुङको जैमिनी नगरपालिकाले फोहर व्यवस्थापनमा ध्यान नदिँदा सिङ्गो बस्तीमै दुर्गन्ध फैलिएको छ । नगरपालिकाको व्यापारिक तथा प्रशासनिक केन्द्र कुश्मीसेराबाट निस्केको फोहर सडक छेउमै फाल्ने, प्लाष्टिक र बोटलसमेत जलाउने गर्दा जैमिनी –१ को टारलगायतको बस्ती दुर्गन्धित बन्दै गएको स्थानीयको भनाइ छ । कुश्मीसेरादेखि जैमिनीघाट जाने सडकको पोक्चे भन्ने स्थानमा सडक छेउमै फोहर फालिएको छ भने प्लाष्टिक र बोटल जलाउँदा त्यहाँदेखि माथि रहेका बस्तीका मानिस प्रदूषित धुँवाले हैरानी खेप्न बाध्य भएका छन् । प्लाष्टिक र बोटलबाट निस्कने धुवाँ मानिसको स्वास्थ्यको लागि निकै हानिकारक मानिन्छ । जैमिनी –१ कुश्मीसेराका स्थानीय शोभाखर शर्माले फोहर व्यवस्थापनको माग गर्दै नगरपालिकामा २३ बुँदे मागपत्र बुझाए पनि त्यसको सुनुवाइ नभएको बताए । उनले भने, ‘कुस्मीशेराको फोहर जति सबै जथाभावीरुपमा ठेउले खोलामा फालिएको छ, सडक छेउमा पनि सर्वत्र छरिएको छ, फोहर व्यवस्थापनमा तत्काल ध्यान नदिए यहाँ थप जटिलता निम्तिन सक्छ, नगरपालिका यसप्रति उदासिन बनेको छ ।’ साँघुरो बजारमा भए पनि जनघनत्व बढी हुँदा फोहर पनि बढीनै हुने गरे र फोहर व्यवस्थापनमा नगरपालिकाले खासै चासो नदिएको बजार व्यवस्थापन समितिका अध्यक्ष क्याप्टेन पदमबहादुर श्रीषले गुनासो गरे । उनले बजारवासीले फोहर व्यवस्थापनमा पटक–पटक आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको बताउँछन् । ‘बजारको फोहर अव्यवस्थित रुपमा अत्रतत्र छरिएर फालिएको छ, यसको गन्धले वरपर पुग्न पनि सकिँदैन, त्यो नजिकको बस्तीमा त बसी नसक्नुहुन्छ गन्हाएर, फोहर व्यवस्थापन गर्नतर्फ लाग्नुपर्ने हो, एउटा निश्चित स्थान बनाउनुपर्ने हो’, श्रीषले भने, ‘कुहिने र नकुहिने सबै एकै ठाउँ छ, सिसा पनि त्यहीँ, छ प्लास्टिक पनि एकै ठाउँ छ ।’ उनले फोहर व्यवस्थापनको विषय महत्वपूर्ण भएको उल्लेख गर्दै दीर्घकालीन समाधान खोजिनुपर्ने बताए । दिनदिनै बजारमा जनसङ्ख्या बढी रहेको फोहर पनि बढ्दै गइरहेको उनको भनाइ छ । प्लाष्टिक र बोटल जलाउँदा पर्यावरणमा समेत नराम्रो असर पर्ने स्वास्थ्यकर्मी बताउँछन् । जैमिनी नगर प्रमुख नरबहादुर पुनले सडक छेउमा नै स्थानीयले फोहर थुपार्दा दुर्गन्ध फैलिएको बताए । स्थानीयले सहीरुपमा फोहरको व्यवस्थापन नगरी जथाभावी फाल्दा बस्तीमै दुर्गन्ध फैलिन थालेको प्रमुख पुनले बताए । फोहर व्यवस्थापनका लागि हालसम्म कुनै पनि पहल नभएको उनी बताउँछन् । ‘बजार वरपरका केही ठाउँमा फोहर अस्तव्यस्तरुपमा फालिएको छ, हामीहरु मर्निङवाक जाँदा पनि देखेका छौँ, त्यसको व्यवस्थापनको लागि खासै छलफल भएको छैन, यस्तो समस्या देखियो, यसको सही व्यवस्थापनमा लागि सबैभन्दा पहिले जग्गा व्यवस्थापन गर्नुभयो, जग्गा व्यवस्थापन गरेर यहाँको फोहरलाई सो ठाउँमा फ्याक्ने व्यवस्था मिलाउने छौँ’, नगर प्रमुख पुनले भने । सडक छेउमा नै फोहर फालिँदा जैमिनीघाटदेखि कुश्मीसेरा आवतजावत गर्ने यात्रुसमेत दुर्गन्धबाट हैरानी खेप्न बाध्य छन् । जैमिनीको कुश्मीसेरा, दमेक, सर्कुवासम्मका मलामीसमेत हिँड्ने सडक छेउमा फोहर फालिँदा सरुवा रोगको प्रकोप बढ्न सक्ने भन्दै स्थानीय चिन्तित बनेका छन् । कुश्मीसेरामा हप्तामा एक पटक फोहर सङ्कलन गरिन्छ भने सङ्कलित फोहरलाई सडकको छेउमा फाल्ने र जलाइने गरिन्छ । फोहर सङ्कलन गर्ने र फाल्ने जिम्मा जैमिनी नगरपालिका–१ कुश्मीसेराका मिलन थापाले लिएका छन् । पालिकाको बोलपत्र आह्वान पश्चात् आफूहरुले हप्तामा एक पटक फोहर फाल्ने गरी पालिकासँग सम्झौता गरेको थापाले बताए । स्थानीयवासी थापाले फोहर फाल्ने ठाउँ व्यवस्थित बनाइदिन पालिकालाई आग्रह गरे पनि वास्ता नगरेको बताए । ‘बजारको फोहर उठाउने जिम्मा त लियौँ तर ठाउँ पाएनौँ, प्रशासकीय अधिकृतलाई फोहर फाल्ने ठाउँ व्यवस्थित गराइदिन भनेका थियौँ तर उहाँहरुले जग्गा व्यवस्थापन नगरिदिँदा फोहर बाटोको छेउमा नै फाल्नुपरेको छ’, उनीले भन्छन् । पालिकाले फोहर सङ्कलन गर्ने मेसिनसमेत मर्मत नगरिदिँदा आफूहरुलाई समस्या भएको उनको भनाइ छ ।

रसुवा र नुवाकोटमा उत्पादन हुने विद्युत् केन्द्रमा जोड्न प्रसारण लाइनको निर्माण तीव्र

रसुवा । रसुवा तथा नुवाकोट जिल्लामा उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारणको केन्द्रीय भण्डारणमा पुर्‍याउन प्रसारण लाइनको निर्माण तीव्र भइराखेको छ । सुस्त गतिमा निर्माण अगाडि बढिरहेको चिलिमे हवदेखि त्रिशूली हवसम्मको २७ किलोमिटर राष्ट्रिय प्रसारण लाइनका बाँकी निर्माण छिटो सम्पन्न गर्न नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्देशन दिएका छन् । उनले ती दुई जिल्लामा निर्माणाधीन राष्ट्रिय गौरवका जलविद्युत् आयोजनाको कार्य प्रगतिको आइतबार स्थलगत निरीक्षण एवं जानकारी लिँदै सो निर्देशन दिएका हुन् । रसुवागढी र साङ्जेन जलविद्युत् आयोजनाले आगामी वैशाख महिनाबाट परीक्षण उत्पादन गर्ने लक्ष्य लिइसकेको छ । ती दुवै आयोजनाका लागि चिलिमेको थाम्वुचेतमा एउटै हव बनाई गतलाङको बोम्जोडाँडा, ग्रे, हाकु, डाँडागाउँ, ठूलोगाउँ हुँदै नुवाकोटको सलाखु दोभानमा रहने विद्युत् सङ्कलन केन्द्रबाट राष्ट्रिय प्रसारणमा पठाउन आवश्यक संरचनाको निर्माण तीब्र अगाडि बढिरहेको प्राधिरकणले जनाएको छ । नुवाकोटको सलाखु खोला दोभान अक्करेमा निर्माण भइरहेको हवबाट तादी र त्रिशूली थ्रि बि, रसुवाको रसुवागढी तथा साञ्जेन फलाखुखोला, अपर त्रिशूली वान, लाङटाङ खोला, सुपर मैलुङ, अपर मैलुङ, लाङटाङ भोटेकोसीसमेतका स्थानबाट उत्पादन हुने करिब छ सय मेगावाट विद्युत् एकत्रित गरी राष्ट्रिय प्रसारणमा पठाइने प्राधिकरणले तयारी छ । प्राधिकरणले भविष्यमा उत्पादन हुने बिजुली समेत अक्करे हवबाटै एकीकृतरूपले राष्ट्रिय प्रसारणमा पठाइने जनाएको छ । पहिलो चरणमा भने उक्त हवबाट रसुवागढी तथा साञ्जेनको मात्र विद्युत् राष्ट्रिय प्रसारणमा जाने छ । निर्माणाधीन रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाको अधिकांश निर्माण सम्पन्न भई समग्रको उपकरण जडान कार्य ७५ प्रतिशतभन्दा माथि गइसकेको छ । अन्य विद्युत् आयोजना धमाधम निमाणाधीन अवस्थामा रहेका छन् । सन् २०१३ बाट निर्माण चरणमा अगाडि बढेको सो आयोजनामध्ये रसुवागढीले एक सय ११ मेगावाट, तल्लो माथिल्लो साञ्जेनले ४२ दशमलव पाँच एवं माथिल्लो साञ्जेनले १४ दशमलव आठ मेगावाट विद्युत् ऊर्जा उत्पादन दिने प्राविधिकले बताएका छन् । चिलिमे जलविद्युत् केन्द्रको भगेनी संस्थाको रूपमा रहेको रसुवागढी जलविद्युत् आयोजनाको पूरै संरचना भूमिगत र साङ्जेनको भने अर्धभूमिगत रहेको रसुवागढी जलविद्युत् आयोजनाका प्रमुख सत्यराम ज्याख्वले जानकारी दिए । चिलिमे कम्पनीले सुरूआत गराएको रसुवागढी, साञ्जेन तथा सिन्धुपाल्चोक जिल्लाका एक सय तीन मेगावाटमध्ये भोटेकोसी जलविद्युत् आयोजना सफलतापूर्वक आगाडि बढिरहेको चिलिमे जलविद्युत् केन्द्र स्याफ्रुबेंसीले जनाएको छ ।

बुस्टर खोप लगाएकालाई थप खोपको मात्रा दिने सरकारको तयारी

काठमाडौँ । नेपाल सरकारले बुस्टर खोप लगाएका आफ्ना नागरिकलाई थप खोपको मात्रा दिने तयारी गरेको छ । कोभिड–१९ सङ्क्रमणको जोखिम फेरि बढ्न सक्ने भन्दै बुस्टर डोज खोप लगाएकालाई थप खोपको मात्रा दिने तयारी गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पहिलो र दोस्रो पूर्ण खोप लगाई बुस्टर डोज लगाएकालाई थप डोज दिने तयारी रहेको छ । मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले कोरोना भाइरसको नयाँ भेरियन्ट बीएफ–७ को सङ्क्रमण छिमेकी देश भारत र चीनमा बढिरहेकाले नेपालमा उक्त सङ्क्रमण भित्रिन नदिन सबैलाई बुस्टर डोज लगाउन आग्रह गरेका छन् । । उनका अनुसार नेपालमा हालसम्म बीएफ–७ भेरियन्ट पुष्टि नभए पनि चीन र भारतमा बढ्दै गएकाले खुला सिमाना र आवतजावतका कारण जोखिम रहेको छ । मन्त्रालयले मापदण्ड तोकेका ५५ वर्षमाथिका वृद्धवृद्धा, दीर्घरोगीलगायतलाई प्राथमिकतामा राखेर यसअघि खोपको बुस्टर मात्रा लगाएकालाई थप मात्रा दिने तयारी गरिरहेको बताइएको छ । अहिले दुई मात्रा लगाएकालाई दिने बुस्टर मात्रा खोपका लागि १५ लाख डोज मगाइएको र अबको दुई हप्तापछि खोप आउने स्वास्थ्य मन्त्रालयले जनाएको छ । छिमेकी देशमा देखिएको बीएफ–७ नामक प्रजातिको नयाँ भेरियन्ट खुला सिमानाका कारणले नेपालमा भित्रिन सक्ने भएकाले सजगता अपनाउन गृहमन्त्रालयले समेत सबैमा आग्रह गरेको छ । यसैगरी कोभ्याक्स सुविधाअन्तर्गत सम्झौता गरिएको ९२ लाख मात्रा खोपमध्ये ३७ लाख मात्रा ल्याइसकिएको छ भने बाँकी रहेकामध्ये १५ लाख मात्रा खोप बुस्टर डोजका लागि ल्याउन थालिएको हो । सङ्क्रमणबाट जोगिन अनिवार्य मास्क प्रयोग गर्न, भौतिक दूरी कायम गर्न, साबुन पानीले हात धुन वा स्यानिटाइजर नियमित प्रयोग गर्नसमेत मन्त्रालयले सबैमा आग्रह गरेको छ ।

नेफाको २२ औं वाषिर्क साधारण सभा तथा निर्वाचन सम्पन्न

काठमाडाैं ।  नेपाली कार्गो व्यवसायीहरुको राष्ट्रिय संस्था नेपाल फ्रेट फरवार्रडस् एशोसिएसन (नेफा) को २२ औं वाषिर्क साधारण सभा तथा निर्वाचन सम्पन्न भएकाे छ । पुस ८ गते शुक्रबार सम्पन्न सभाबाट मनोज अधिकारीको अध्यक्षतामा २ वर्षे कार्यकालका लागि १५ सदसीय कार्यकारिणी समिति निर्विरोध निर्वािचत भएका हुन् । संघको नवनिर्वाचित कार्यकारिणी समितिमा अध्यक्ष मनोज अधिकारी, निवर्तमान अध्यक्ष प्रकाश सिंह कार्की, वरिष्ठ उपाध्यक्ष राजेन्द्र संग्रौला, उपाध्यक्ष नरेश कूमार अग्रवाल, महासचिव अशोक मान कपाली, कोषाध्यक्ष हरि प्रसाद काल, सचिव ईश्वर बहादूर गूरूङ, सहकोषाध्यक्ष सूजन कूमार न्यौपाने तथा कार्यकारिणी समिति सदस्यमा प्रनिल मान सिंह प्रधान, संजिव अयार्ल ,  सीता अधिकारी, सहदेव बञ्जारा, मनिष मान श्रेष्ठ,  गंगा राम पूडासैनी र  गंगा बहादूर राया निर्विरोध निर्वाचित भएका हुन् । कार्यक्रममा संघका अध्यक्ष मनोज अधिकारीले उपस्थित महानूभावहरुलाई स्वागत गर्दै नेपाली लोजिस्टिकको प्रवर्धन, काेभिडकाे आक्रान्त समयमा पनि नेपाली आयात निर्यातलाई चलायमान बनाउन संघ तथा संघका सदस्य फ्रेट फरवार्डरसहरुको भूमिका तथा यस व्यवसायमा टिडियसबाट परेको समस्या बारे जानकारी दिए । नेपालको निकासी पैठारी व्यापारमा सहजीकरण तथा नेपाली व्यवसाय विकासका लागि संघ तथा संघका सदस्यहरुबाट निर्वाह गरेको भुमिकालाई कदर गर्दै संघलाई नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स , नेपाल हस्तकला महासंघ, नेपाल निर्यात परिषद द्वारा बस्तुगत तर्फ उत्कृष्ट संघको अवार्डबाट बिभुषित गरेकाे उनले बताए । कार्यक्रममा संघका संस्थापक अध्यक्ष रविन्द्र मान सिंह प्रधान, निवर्तमान अध्यक्ष प्रकाश सिंह कार्की, वरिष्ठ उपाध्यक्ष राजेन्द्र संग्रौला ले मन्तव्य व्यक्त गरेका थिए । संघका महासचिव अशोक मान कपाली तथा कोषाध्यक्ष हरि प्रसाद (काल) ले क्रमश वार्षिक प्रतिवेदन तथा आर्थिक प्रतिवेदन सभामा प्रस्तूत गरेका थिए ।

विद्युत आपूर्तिमा समस्या भएपछि मनकामना केबलकार बन्द

काठमाडौं । मनकामना केबलकार अनिश्चित समयका लागि बन्द गरिएको छ । विद्युत् आपूर्तिमा भएको समस्याका कारण केबलकारको प्यानलमा क्षति पुगेकोले केबलकार बन्द गरिएको डेपुटी जनरल म्यानेजर उज्वल शेरचनले जानकारी दिए । ‘आइतबार साँझ ५ बजे विद्युत लोडसेडिङ हुँदा केबलकारको प्यानलमा फ्युजहरु जलेका छन्, प्यानलबाट नै समस्या आएको हो, कति क्षति भएको भन्ने अहिले नै आँकलन भएको छैन, प्राविधिक आएपछि मात्रै कति क्षति भएको भनेर एकिन क्षति निकाल्न सकिन्छ,’ उनले भने । अर्को सूचना जारी नभएसम्म केबलकार सेवा स्थगन गरिएको भएपनि अझै ५ दिन जति समय लाग्ने शेरचनले बताए । केबलकार मर्मतका लागि निर्माता कम्पनी अष्ट्रियाको डोपलमायरकै प्राविधिक आउनुपर्ने कम्पनीले जनाएको छ । ‘निर्माता कम्पनी अष्ट्रियाको डोपलमायरकै प्राविधिक नै आउनुपर्ने भएकोले अर्को सूचान नभएसम्म केबलकार सेवा स्थगन रहनेछ,’ कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ ।