सिरहामा खाद्य कम्पनीले किसानको धान खरिद गर्ने
सिरहा । सिरहाका किसानले धान थन्क्याएको करिब एक महिनाभन्दा बढी समय बितिसकेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड लहानले धान खरिद प्रक्रिया अगाडि बढाउने भएको छ । कम्पनीले एक सार्वजनिक सूचना जारी गरी यही पुस १७ गतेदेखि किसानको धान खरिद गर्ने जनाएको हो । कम्पनीले धान खरिद प्रक्रिया ढिलाइ गरेपछि यहाँका किसानको गुनासो बढ्दै गएको थियो । कम्पनीका प्रमुख रबनकुमार यादव भन्छन्, ‘धान खरिदका लागि केन्द्रीय कार्यालयबाट परिपत्र आउन ढिलाइ भयो, विगतमा मङ्सिर पहिलो वा दोस्रो सातासम्म खरिद प्रक्रिया भइसक्थ्यो ।’ यादवका अनुसार यस वर्षका लागि मध्यम धान सोना मन्सुलीको खरिददर ३ हजार एक सय २८ रुपैयाँ प्रतिक्विन्टल र कतर्नी धानको रु तीन हजार आठ सय प्रतिक्विन्टल निर्धारण गरिएको छ । केन्द्रले तोकेको कोटाअनुसार यस कार्यालयले १५ हजार क्विन्टल किसानको धान खरिद गर्ने उनले बताए । यहाँ सिरहा, सप्तरी र उदयपुर गरी तीन जिल्लाका किसानले धान बिक्रीका लागि ल्याउने गर्दछन् । उत्पादन परिमाणको अनुपातमा सरकारले खरिद गर्ने धानको परिमाण एकदमै न्यून रहेको यहाँका किसानको गुनासो छ । खाद्य कम्पनीले सीमित परिमाणमा मात्र धान खरिद गर्ने भएको हुँदा यहाँका किसान सस्तोमा व्यापारीलाई धान बेच्न बाध्य छन् । धान बिक्री गर्ने किसानले लालपुर्जा, सम्बन्धित स्थानीय तहको सिफारिस र नागरिकताको प्रमाणपत्र अनिवार्य ल्याउनुपर्ने कार्यालय प्रमुख यादव बताउँछन् । ठूलो परिमाणमा किसानले धान बिक्रीमा ल्याउने तर कार्यालयले सीमित धान मात्र खरिद गर्ने हुँदा त्यसमा बिचौलियाको मात्र पहुँच पुग्ने व्यापक गुनासो बढेपछि खाद्य कम्पनी लहानले यस वर्ष प्रतिकिसान एकपटक वा पटक–पटक गरी ५० क्विन्टलसम्म मात्र धान खरिद गर्ने नीति लिएको यादवले बताए । धान बेचेर हिउँदे बाली लगाउन खर्चको जोहो गर्नुपर्ने भएका कारण किसान मर्कामा परेका छन् । ‘सरकारलाई उत्पादनको धान बेच्न चाहन्छौँ, तर समयमा सरकारले किन्दैन, व्यापारीलाई सस्तोमा धान बिक्री गर्यो, पैसा तुरुन्त पाइँदैन’, बरियारपट्टि गाउँपालिका–५ का कृषक देवनारायण यादव भन्छन् । उनले लागतअनुसार मूल्य नपाएको गुनासो पनि गरे । त्यस्तै बरियारपट्टि–४ का अर्का किसान वीरेन्द्रकुमार यादवका अनुसार खेतमा खनजोत, ज्याला तथा ट्र्याक्टर लगाउँदा लाग्ने लागतले लगानी धान्दैन । उनी भन्छन्, ‘समयमै मलखाद्य तथा कृषियन्त्र उपकरण सरकारले व्यहोरिदिने हो भने उत्पादन लागतमा कमी हुन गई वास्तविक किसानको उत्थान हुने थियो ।’ नजिकै नेपाल–भारत खुला सिमाना भएका कारण व्यापारीले भारतबाट सस्तोमा धान खरिद गरी ल्याउने र त्यही धान किसानको नामबाट यहाँ खाद्य कम्पनीलाई बेच्ने गरेको हूँदा वास्तविक किसान सधैँ मर्कामा पर्ने गरेको राष्ट्रिय कृषक समूह महासङ्घ नेपालका मधेस–प्रदेश प्रमुख मुक्तिनारायण यादव बताउँछन् ।
अब पोखरामा रात्रीकालिन उडान
काठमाडौं । पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै रात्रीकालिन उडान हुने भएको छ । यसअघि दिउँसोको ३ बजेपछि उडान बन्द हुने पोखरामा आगामी फेब्रुअरीदेखि रात्रीकालिन उडानको तयारी थालिएको हो । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले जनवरी १ तारिखदेखि पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल औैपचारिक रुपमा सञ्चालन गर्दैछ । औपचारिक रुपमा विमानस्थल सञ्चालन भएपछि रात्रीकालिन उडानका लागि केही समय लाग्ने कार्यालयले जनाएको छ । ‘हामी जनवरी १ देखि औपचारिक रुपमा विमानस्थल सञ्चालनमा आउँछ, रात्रीकालिन उडानका लागि आवश्यक प्रविधि जडान गर्न केही समय लाग्नेहुँदा फेब्रुअरी २३ देखि रात्रीकालिन उडान सुरु गछौँ’, क्यानका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले भने । क्यानले फेब्रुअरी २३ देखि रात्रीकालिन उडान गर्न पाउने व्यवस्था गरेसँगै आन्तरिक उडान गर्दै आएका वायुसेवा कम्पनीहरुले रात्रीकालिन उडानको तयारी थालिएको बताएका छन् । बुद्धले क्यानले तोकेकै दिन अर्थात फेब्रुअरी २३ देखि रात्रीकालिन उडान गर्ने जनाएको छ । बुद्धपछि यती, श्रीएयरलाइन्स तथा सौर्य एयरलाइन्सले समेत उडानको तयारी थालिएको जनाएका छन् । यस्तै, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक उडानका यात्रुले र्याम्प बस चढ्नुपर्ने भएको छ । यसअघि काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थलमा मात्रै यात्रुहरुका लागि ¥याम्प बस राखिएको थियो । पोखरा विमानस्थलको टर्मिनल भवनको दायाँ साइडलाई विमानस्थल कार्यालयले आन्तरिक उडानका यात्रुको आगमन तथा प्रस्थान क्षेत्र तोकेको छ । तर, जहाजहरु पार्किङ भने टर्मिनल भवनको बायाँ साइडमा रहने छन् । जसका कारण पैदल हिंड्न लामो समय लाग्छ । नयाँ विमानस्थल सञ्चालनमा आएसँगै जोमसोममा हुने उडान, अल्ट्रालाइट र हेलिकप्टर उडान मात्र पुरानो विमानस्थलबाट हुनेछ । अन्य सबै उडान नयाँ विमानस्थलमा सर्नेछन् । सोहीअनुसार तयारी गरिएको वायुसेवा कम्पनी र नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएका छन् ।
भैँसीपालनमा ३० लाख लगानी, मनग्य आम्दानी
तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका-४ का कृषक समीक्षा श्रेष्ठले भैँसीपालनबाट मनग्य आम्दानी गरेकी छिन् । ‘विदेश गएर पसिना बगाउनुभन्दा देशमै श्रम गर्दा आत्मसन्तुष्टि मिल्छ,’ उनले भनिन्, ‘विदेशमा जत्ति काम स्वदेशमै गर्न सके यहीँ मनग्य आम्दानी हुन्छ ।’ बैङ्कबाट ऋण काढेर भैँसीपालन सुरु गरेकी किसान श्रेष्ठले भैसीपालनबाट मनग्य आम्दानी हुन थालेपछि स्वदेशमै सन्तुष्ट रहेको बताइन् । असिम भैसीफार्मका सञ्चालक उनले मासिक ५० हजार रुपैयाँ बचत गर्दै आएकी छिन् । उनले आठ रोपनी जग्गा भाडामा लिएर भैँसी पालिरहेकी छिन् । प्रति भैसी २ लाख ५० हजार रुपैयाँका दरले ६ भैँसी खरिद गरेर व्यवसाय सुरु गरेका उनले भनिन्, ‘विदेशमा गएर श्रम गर्नुभन्दा घरपरिवारका साथ व्यवसाय सुरु गर्दा आनन्द आएको छ ।’ आखिर जहाँ गएपनि श्रम गर्नुपर्ने जनाउँदै उनले देशमै केही गरौं भन्ने मनसायबाट पशुपालनतर्फ लागेको बताइन् । ‘स्वदेशमा बसेर के गर्ने भन्ने सोचिरहेको थिएँ, पशुपालनमा राम्रो सम्भावना छ भन्ने सबैको सल्लाहपछि भैसीपालनलाई अगाडी बढाएको छु,’ उनले भनिन् । उनको भैँसीफार्ममा अहिले १३ वटा भैसी छन् । भैँसीका लागि आवश्यक घाँसका लागि उनले जग्गा भाडामा लिएकी छिन् । उनका अनुसार हालसम्म करिब ३० लाख रुपैयाँ लगानी भएको छ । भैँसी फार्मबाट दैनिक ४० लिटर दूध उत्पादन हुने गरेको छ । दूध विक्रीका लागि बजारको समस्या नरहेको किसान श्रेष्ठ बताउँछिन् । ‘दूधले राम्रो बजार पाइरहेको छ, बजार पाइएन भनेर कहिल्यै चिन्तित हुनपरेको छैन,’ उनी भन्छिन्, ‘स्थानीय थर्पु बजार तथा आसपासमा दूध विक्री भइरहेको छ ।’ बजार सानो भएपनि दूध विक्रीका लागि समस्या नहुँदा खुशी लागेको उनले बताइन् । मासिक ५० हजार रुपैयाँ बचतले घरपरिवार राम्रोसँग चलेको श्रेष्ठ बताउँछिन् । ‘सबै खर्च कटाएर मासिक ५० हजार रुपैयाँ कमाउँछु, यति रकमले घरखर्च चलाउन सहयोग पुगेको छ,’ उनले भनिन्, ‘व्यवसायलाई विस्तार गर्ने सोच बनाएको छु ।’ उनले हालसम्म कुनै पनि सङ्घसंस्थाबाट अनुदान लिएकी छैनन् । ‘म्याग्दे गाउँपालिकाले हालैमात्र पशुपालन गरिरहेका कृषकलाई लक्षित गरी सूचना जारी गरेको थियो, अनुदान उपलब्ध गराउने भन्ने बारेको सूचना प्रकाशित भएपछि गाउँपालिकामा निवेदन दिएको छु,’ उनले भनिन्, ‘अनुदानबापत प्राप्त हुने रकम भैसीपालनमै खर्चिन्छु ।’ पशुपालनका लागि स्थानीय सरकारले देखाएको चासोले थप प्रोत्साहन जागेको भन्दै किसान श्रेष्ठले यस्ता कार्यक्रमले व्यवसायमा टिकिराख्न सहयोग पुग्ने उल्लेख गरिन् । म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले युवाहरु विदेश नगई स्वदेशमै व्यवसाय गर्दा आत्मनिर्भर बन्न सहयोग पुग्ने बताइन् । ‘युवाहरु उत्पादनमा जोडिनुपर्छ, व्यवसाय प्रबद्र्धनका लागि पालिका सहयोग गर्न तयार छ,’ उनले भनिन् । अनुदान दिँदै गाउँपालिका म्याग्दे गाउँपालिकाले कृषकलाई पशुपालनतर्फ लाग्न प्रोत्साहन गर्न अनुदानको नीति अवलम्बन गरेको छ । पशुपालन गरिरहेका कृषकलाई प्रोत्साहन गर्न गाउँपालिकाले अनुदान वितरणको नीति अगाडी सारेको हो । गाउँपालिकाले व्यावसायिक कृषकका लागि चालु आर्थिक वर्षमा बोका वितरणका लागि ३ लाख ५० हजार रुपैयाँ, च्यापकटर वितरणका लागि १ लाख रुपैयाँ, गोठ खोर निर्माणका लागि ४ लाख, लोकल कुखुरा वितरणका लागि १ लाख बजेट विनियोजन गरेको उपाध्यक्ष बालकृष्ण घिमिरेले जानकारी दिए । ‘व्यावसायिक रुपमा पशुपालन गरिरहेका कृषकलाई पशुपालनमै टिकाइराख्न अनुदान नीति गाउँसभाबाट पारित भएर बजेट विनियोजन भइसकेको छ,’ उनले भने, ‘अनुदान लिन चाहने कृषकसँग निवेदन माग गरेका छौ ।’ उनका अनुसार कृषकहरुले गाउँपालिकामा निवेदन दिएकामा निवेदन दिएका कृषकहरुको फार्म अनुगमन सुरु गरिएको छ । नवदुर्गा कृषि फर्मका सञ्चालक युवराज शाहीले बैङ्कबाट ऋण लिएर व्यवसाय गरेपनि बजारको व्यवस्थापन नभएको गुनासो गरे । ‘व्यावसायिक रुपमा पशुपालन गरिरहेका कृषकले अनुदान पाइरहेका छैनन्, यसतर्फ पालिकाले ध्यान दिनुपर्छ,’ उनले भने । व्यावसायिक रुपमा पशुपालन गरिरहेका कृषक पहिचान गरी अनुदान उपलब्ध गराइने गाउँपालिकाका अध्यक्ष प्रसाद श्रेष्ठले बताए । ‘अनुदानका लागि धेरै जनाको आवेदन परेको हुँदा वास्तविक कृषकको पहिचानका लागि फर्म अनुगमन सुरु गरेका छौ,’ श्रेष्ठले भने । कृषकलाई सहज तनहुँको बन्दीपुर गाउँपालिकाको ग्रामीण वडामा पशु सेवा सम्पर्क कार्यालय स्थापना गरिएको छ । ग्रामीण भेगका जनतालाई नजिकबाटै पशु सम्बन्धी सेवा दिने उद्देश्य सहित गाउँपालिकाले वडा नम्बर ६ को धरमपानीमा सम्पर्क कार्यालय स्थापना गरेको हो । तत्कालिन पशु सेवा कार्यालयको अधिकृत बस्ने सेवा केन्द्रलाई पशु सेवा केन्द्रको रुपमा स्थापना गरिएको गाउँपालिकाका पशु शाखा प्रमुख मधु न्यौपानेले जानकारी दिए । ३/४ वर्षदेखि खाली रहेको उक्त भवनलाई गाउँपालिकाले पुनः प्रयोगमा ल्याएको उनले बताए । गाउँमै पशु सेवा शाखा स्थापनापछि कृषकलाई सहज भएको छ । यसले गर्दा पशुवस्तु बिरामी पर्दा उपचारका लागि बन्दीपुर बजारसम्म ल्याउनुपर्ने बाध्यताको अन्त्य भएको छ । सम्पर्क कार्यालयमा १ जना प्राविधिक राखिएको छ । कृषिको पनि सँगै कार्यालय खोलेर प्राविधिक राख्ने तयारी भइरहेको छ ।’गाउँमा पशु शाखा नहुँदा पशुवस्तु बिरामी हुँदा उपचारका लागि कृषक घण्टौ यात्रा गरेर बन्दीपुर आउनुपथ्र्यो, सम्पर्क कार्यालय खुलेपछि गाउँमै पशुवस्तुको उपचार सुरु भइसकेको छ,’ उनले भने । गाउँपालिकामा पशुपालन गर्ने कृषकको सङ्ख्या बढेसँगै नयाँ बाख्रा पकेट क्षेत्र समेत विस्तार भएको छ । वडा नम्बर १ र २ मा बाख्रा पकेट क्षेत्र लागु भएको छ । चालु आर्थिक वर्षमा वडा नम्बर ६ मा बाख्रा पकेट कार्यक्रम विस्तार गरिने न्यौपानेले बताए । त्यसका लागि १५ लाख बजेट विनियोजन गरिएको छ । ‘भौगोलिक रुपमा पिछडिएको धरमपानीमा बाख्रा र तरकारीको हब बनाउने लक्ष्य छ,’ उनले भने, ‘पशुपालन र तरकारीबाट कृषकलाई आत्मनिर्भर बनाउने गाउँपालिकाको सोच हो ।’ स्थानीय कृषक मिन गुरुङले गाउँमै पशु सेवाको सम्पर्क कार्यालय खुलेपछि कृषकलाई सहज भएको बताए । ‘एक/दुई घण्टा लगाएर पशुवस्तुको उपचार गर्न जानुपर्दा समस्या थियो, अहिले गाउँमै कृषकले सहज रुपमा सेवा पाएका छन्,’ उनले भने । गाउँपालिकाले वडा नम्बर १, ५ र ६ मा पशु प्राविधिक राखेर सेवा दिइरहेको छ । अब वडा नम्बर २ र ३ मा पनि प्राविधिक राख्ने तयारी भइरहेको जनाइएको छ । रासस
तालिबान सरकारलाई राष्ट्रसंघको आग्रह : महिलालाई शिक्षामा वञ्चित नगर्नु
काठमाडौं । तालिबान सरकारले यहाँका महिला तथा किशोरीहरुलाई विश्वविद्यालय जान प्रतिबन्ध गरेको विषयमा विश्वव्यापी रुपमा नै विरोध भइरहेका बेला संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले पनि आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले अफगानिस्तानको तालिबान सरकारको गरेको यो निर्णय तुरुन्त सच्याउनुपर्ने र उसका कारणले महिलाले अधिकार नपाउन अवस्थाको तत्कालै अन्त्य हुनुपर्ने बताएको छ । शिक्षामा महिलाको पनि समान अधिकार रहेकाले त्यसको सबैले सम्मान गर्नुपर्ने भन्दै सो परिषदले विज्ञप्ति प्रकाशन गरेर तालिबान सरकारले गरेका ती सबै निर्णयहरु फिर्ता गर्न भनेको छ । दुई हप्ता मात्र अघि तालिबान सरकारका शिक्षा मन्त्रीले तालिबान सरकारले सो निर्णय गरेको बताएका थिए । उनले अफगानिस्तानका किशोरी तथा महिलालाई विश्वविद्यालय जान नपाउने निर्णय सरकारले गरेको जानकारी दिएका थिए । अफगानिस्तानको तालिबान सरकारले प्रतिबिन्धत गरेको घटनाको सबैतिर विरोध भएको छ । गत हप्तामात्र पनि अफगानिस्तानका लागि संयुक्त राष्ट्रसंघीय विशेष प्रतिनिधि रोजा ओटुन्बोयाले विज्ञप्ति प्रकाशन गरेर यसको विरोध गरेका छन् । सुरक्षा परिषदको मंगलबारको विज्ञप्तिमा यस्तो निर्णय अफगानिस्तान देशको हितमा पनि नभएको र अहिलेको युगमा पनि महिलाले विश्वविद्यालय गएर अध्ययन गर्न नपाउनु भनेको निकै नै दुःखद भएकोले ती निर्णय सच्याएर यहाँ नारी अधिकारको सम्मानको अवस्था बनाउन आग्रह गरिएको छ । मंगलबार संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले प्रकाशन गरेको विज्ञप्तिमा महिलाका लागि बन्द गरिएका भनिएका सबै विद्यालय विश्वविद्यालय खोल्न र नारी अधिकारका पक्षमा काम गर्न आग्रह गरिएको छ । दुई वर्षअघि अफगानिस्तानमा तालिबानको शासन सुरु भएपछि यहाँका महिलाको अधिकार खोसिएको छ । उनीहरुलाई धेरै सार्वजनिक स्थल र कार्यमा प्रतिबन्ध लगाएको छ र अहिले पछिल्लो समयमा आएर उनीहरु विश्वविद्यालय पनि जान नपाउने गरी प्रतिबन्ध लगाइएको बताइएको छ । अफगानिस्तानको विकासका लागि त्यहाँका महिलाको पनि ठूलो योगदान रहेकाले यस्तो निर्णय तत्कालै सच्याएर यहाँका सबै नागरिकले उचित र न्यायपूर्ण रुपमा शिक्षा लिन पाउने अधिकारको रक्षा गर्न संयुक्त राष्ट्रसंघका विभिन्न पदाधिकारी तथा निकायले आग्रह गरिरहेका छन् । रासस
यी ६ बैंकको सेयर किन्दा अझै पाइन्छ लाभांश
काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले धमाधम लाभांश घोषणा गरिरहेका छन् । जसमध्ये कतिले गत वर्षको लाभांश वितरण गरिसकेका छन् भने कति कम्पनी भने वितरण गर्ने तयारीमा छन् । हालसम्म लाभांश घोषणा गरेका वाणिज्य बैंक तथा विकास बैंकमध्ये अझै ६ कम्पनीको लाभांश खान पाइने अवसर छ । जसमध्ये ४ वाणिज्य बैंक रहेका छन् भने बाँकी २ वटा विकास बैंक रहेका छन् । वाणिज्य बैंकहरुमा लाभांश खान पाइने बैकहरुमा नबिल, हिमालयन, राष्ट्रिय वाणिज्य र सिभिल बैंक रहेका छन् । त्यस्तै, विकास बैंकहरुमा महालक्ष्मी विकास बैंक र मुक्तिनाथ विकास बैंक रहेको छ । यि बैकहरुले बुक क्लोजको मिति भने तय गरिसकेका छन् । बुक क्लोज भइनसकेका कम्पनीहरुको लाभांश प्राप्त गर्नको लागि लगानीकर्ताले बुक क्लोजअघि नै सेयर खरिद गर्नुपर्ने हुन्छ । कम्पनीहरुले प्रदान गर्ने भनेर घोषणा गरेको लाभांश सो कम्पनीको बुक क्लोज हुनुअघि कायम रहेका सेयरधनीले मात्रै पाउँछन् । त्यसैकारण बुक क्लोज भइसकेपछि सेयर खरिद गर्ने सेयरधनीले लाभांश खानको लागि अर्को वर्षसम्म कुर्नुपर्ने व्यवस्था छ । पुस १८ गते एकैदिन ५ बैंकको बुक क्लोज हुने भएको छ । नबिल, हिमालयन, महालक्ष्मी विकास र राष्ट्रिय वाणिज्य बैंकले लाभांश वितरण तथा साधारण सभामा जानको लागि सो दिन बुक क्लोज गर्ने निर्णय गरेका हुन् । यससँगै पुस १७ गतेभित्रमा यी कम्पनीको सेयर किन्ने तथा होल्ड गर्नेले गत वर्षको प्रस्तावित लाभांश पाउने छन् । नबिलले ३० प्रतिशत, हिमालयनले १९.११ प्रतिशत, मुक्तिनाथ विकासले १४.२१ प्रतिशत, महालक्ष्मी विकासले १०.४७ र राष्ट्रिय वाणिज्य बैंकले १२.५० प्रतिशत लाभांश प्रस्ताव गरेका छन् । त्यस्तै, सिभिल बैंकले पुस १९ गते बुक क्लोज गर्दै छ । बैंकले ५.२६ प्रतिशत लाभांशको लागि उक्त एक दिन बुक क्लोज गर्ने निर्णय गरेको हो । यससँगै पुस १८ गतेसम्म सिभिलको सेयर किन्नेले प्रस्तावित उक्त लाभांश पाउनेछन् ।
पोखराको नयाँ विमानस्थबाट उडान गर्दै बुद्ध एयर
काठमाडौं । आगामी जनवरी १ देखि बुद्ध एयरले सबै उडान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्ने भएकोे छ । जनवरी १ तारिखदेखि सम्पूर्ण उडान नयाँ विमानस्थबाट हुनेभन्दै बुद्धले यात्रुलाई निश्चित समयमानै चेक इनका लागि अनुरोध गरेको छ । नेपाल नागरिक उडड्यन प्राधिकरणले नवनिमित क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल आगामी १ तारिखदेखि औैपचारिक रुपमा सञ्चालन गर्दैछ । नयाँ विमानस्थलमा कम भिजिविलिटीमा समेत उडान गर्नमिल्ने आइएफआर प्रविधि जडान गरिएका भन्दै कम भिजिविलिटीमा समेत उडान गर्न मिल्ने बुद्धले जनाएको छ । बुद्धल आफ्ना सबै उडान नयाँ विमानस्थलबाट सञ्चालनका लागि सम्पूर्ण तयारी भएको जनाएको छ । बुद्धले विमानस्थलमा यात्रुलाई टर्मिनल भवनबाट जहाजसम्म ल्याउन पु¥याउन ¥याम्प बस राखेको छ । यात्रुहरु जहाज र टर्मिनल भवन आउजाउ गर्न ¥याम्प बसको प्रयोग गर्नुपर्ने हुन्छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरका लागि चेक–इन काउण्टर नं. ३, ४ र ५ तोकिएको छ । लगेजको तौल तथा सुरक्षा चेकजाँचमा समय लाग्ने हुँदा समयमै यात्रुलाई चेक–इन गर्न एयर अनुरोध गरेको छ । नयाँ विमानस्थलमा अभ्यस्त हुन केही समय लाग्ने हुँदा पोखराबाट यात्रा गर्ने यात्रुहरु टिकटमा उल्लेख गरिएको समयभन्दा २ घण्टा अगवौ विमानस्थल पुगि चेक–इन गर्न बुद्ध एयरले विशेष आग्रह गरेको छ । अन्तर्राष्ट्रियतर्फ अनुमति पाए लगत्तै बुद्धले पोखराबाट भारतको वाराणसी पनि उडान भर्नेछ । बुद्धसँग ११ वटा एटीआर–७२, ३ वटा एटीआर–४२ जहाज रहेको छ । निकट भविष्यम बुद्धले थप ३ वटा एटीआर–७२ भित्र्याउन लागेको छ ।
सन् २०२३ मा विश्व अर्थतन्त्र थप पीडाबाट गुज्रँदै, दोस्रो विश्वयुद्धपछिकै जटिल अवस्था
एएफपी । कोभिड–१९ को महामारीपछि विश्व अर्थतन्त्रका लागि यो पुनरागमनको वर्ष हुने अपेक्षा गरिएको थियो । सन् २०२२ मा नयाँ युद्ध, उच्च मुद्रास्फीति र जलवायुसँग सम्बन्धित विपत्तिहरू आए । कोलम्बिया विश्वविद्यालयका प्राध्यापक तथा इतिहासकार एडम टुजले यो बर्षको सङ्कटलाई एक ‘पोलिक्राइसिस’ का रूपमा बर्णन गरेका छन् । सन् २०२३ मा थप निराशाको लागि तयार हुनुपर्ने आर्थिक विश्लेषकहरूले बताएका छन् । युनिभर्सिटी अफ एम्स्टर्डमका म्याक्रोइकोनोमिक्सका प्राध्यापक रोएल बीट्स्माले भने, “शताब्दीको सुरुदेखि नै सङ्कटको दायरा बढेको छ । ‘दोस्रो विश्वयुद्धपछि हामीले यस्तो जटिल अवस्था कहिल्यै देखेका थिएनौं,’ उनले एएफपीसँग भने । सन् २०२० को कोभिड–१९ का कारण उत्पन्न आर्थिक सङ्कटपछि सन् २०२१ मा देशहरू लकडाउन र अन्य प्रतिबन्धबाट मुक्त भए । उपभोक्ता मूल्य वृद्धि हुन थाल्यो । केन्द्रीय बैङ्करहरूले अर्थतन्त्र सामान्य अवस्थामा फर्केपछि उच्च मुद्रास्फीति अस्थायी मात्र हुने बताएका थिए । तर फेब्रुअरीको अन्त्यमा रूसले युक्रेनमाथि गरेको आक्रमणले ऊर्जा र खाद्यान्नको मूल्य बढेको थियो । धेरै देशहरू अहिले जीवनयापनको लागतको सङ्कटसँग जुधिरहेका छन् । ज्यालाले मुद्रास्फीतिलाई कायम राख्न सकेको छैन, जसले गर्दा घरपरिवारहरू आफ्नो खर्चमा कठिन छनौट गर्न बाध्य छन् । केन्द्रीय बैङ्कहरूले छिटोछिटो ब्याजदर परिवर्तन र बैङ्कका नीति हेरफेर गरिरहेका छन् । उच्च ऋण लागतको अर्थ आर्थिक गतिविधि सुस्त हुनु हो भन्ने कारण देशहरूलाई गहिरो मन्दीमा धकेल्ने जोखिमका बीच उनीहरूले सन् २०२२ मा बढ्दो मुद्रास्फीतिलाई नियन्त्रण गर्ने प्रयासमा ब्याज दर बढाउन थाले । संयुक्त राज्य अमेरिका र युरा क्षेत्रमा मुद्रास्फीति अन्ततः कम हुन थालेको छ । सावधानीपूर्वक खर्च विकसित र उदीयमान राष्ट्रहरूको समूह जी–ट्वेन्टीमा उपभोक्ता मूल्य चौथो त्रैमासिकमा आठ प्रतिशत पुग्ने र अर्को वर्ष ५।५ प्रतिशतमा झर्ने अनुमान जी–ट्वेन्टीको आर्थिक सहयोग र विकासमामिला सङ्गठन ओईसीडीले जनाएको छ । ओईसीडीले सरकारहरूलाई घरपरिवारमा राहत ल्याउन सहायता प्रदान गर्न प्रोत्साहित गरिरहेको छ । ब्रुगेल थिङ्क ट्याङ्कका अनुसार २७ राष्ट्रसम्मिलित युरोपेली संघ ९ईयूमा०मा उपभोक्तालाई उच्च ऊर्जा मूल्यबाट जोगाउन अहिलेसम्म ६७४ अर्ब युरो करिब ७०४ अर्ब अमेरिकी डलर छुट्याइएको छ । युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र र रूसको ऊर्जा आपूर्तिमा सबैभन्दा बढी निर्भर जर्मनीले कुल २६४ अर्ब युरो ओगटेको छ । अन्स्र्ट एन्ड योङ्ग ग्लोबल लिमिटेड ईवाई नामक कन्सल्टेन्सीले गरेको एक सर्वेक्षणअनुसार दुईमध्ये एक जना जर्मनले अहिले अत्यावश्यक वस्तुमा मात्र खर्च गर्ने गरेको बताएका छन् । बढ्दो ब्याजदरले उपभोक्ता र व्यवसायलाई समेत असर गरेको छ । अमेरिकी फेडरल रिजर्भ र युरोपियन सेन्ट्रल बैंक दुवैले डिसेम्बरमा आफ्नो दर वृद्धिको गतिलाई सुस्त बनाउन थालेका छन् । तर उनीहरूले मुद्रास्फीतिमा पकड प्राप्त गर्न अझै उच्च जान आवश्यक रहेको सङ्केत दिएका छन् । अर्थशास्त्रीहरूले जर्मनी र युरोजोनको अर्को ठूलो अर्थतन्त्र इटाली मन्दीको चपेटामा पर्ने अनुमान गरेका छन् । बेलायतको अर्थतन्त्र खुम्चिँदै गएको छ । रेटिङ एजेन्सी एस एन्ड पी ग्लोबलले सन् २०२३ मा युरो क्षेत्रमा स्थिरता आउने प्रक्षेपण गरेको छ । तर अन्तर्राष्ट्रिय मुद्रा कोषले भने सन् २०२३ मा विश्वअर्थतन्त्र २।७ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ । ओईसीडीले २।२ प्रतिशतको आर्थिक वृद्धिहुने प्रक्षेपण गरेको छ । चीनमा कोभिड–१९ नियन्त्रणका प्रतिबन्धहरू खुकुलो पारिनुले विश्वको दोस्रो ठूलो अर्थतन्त्र र विश्वव्यापी वृद्धिको प्रमुख चालकको पुनरुत्थानको आशा जगाएको छ । यी प्रतिबन्धहरूले चीनको अर्थतन्त्रलाई तहसनहस पारेको थियो र देशव्यापी विरोध प्रदर्शनहरू निम्तिएका थिए । चीनले यसै हप्ता जनवरी ८ देखि विदेशी नागरिकका लागि कोभिड–१९ सँग सम्बीन्धत ‘क्वारेण्टाइन’ अन्त्य गर्ने घोषणा गर्दै विश्वका पर्यटकका लागि चीनलाई खुला गर्ने सङ्केत दिएको थियो । जलवायु लागत तर अर्थशास्त्री बीट्स्माको विचारमा अहिलेको विश्वको सबैभन्दा ठूलो सङ्कट जलवायु परिवर्तन हो, जुन ‘सुस्त गतिमा’ तर निरन्तर चलिरहेको छ । प्राकृतिक तथा मानव सिर्जित विपत्तिका कारण सन् २०२२ मा हालसम्म २६८ अर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति भएको पुनर्बीमा कम्पनी स्वीस रि हरिकेन इयानले मात्र ५० देखि ६५ अर्ब अमेरिकी डलर बराबरको अनुमानित क्षति व्यहोरेको छ । पाकिस्तानमा आएको बाढीका कारण यस वर्ष ३० अर्ब अमेरिकी डलरको आर्थिक क्षति तथा व्यापक मानवीय क्षति भएको छ । गत नोभेम्बरमा इजिप्टमा भएको संयुक्त राष्ट्रसङ्घीय जलवायु वार्ता ९कोप–२७० मा सरकारहरूले प्राकृतिक प्रकोपबाट तहसनहस भएका कमजोर विकासशील देशहरूले व्यहोर्नुपरेको क्षतिलाई पूर्ति गर्न कोष खडा गर्न सहमत भएपनि हरितगृह ग्याँस उत्सर्जन घटाउन र विश्वव्यापी तापमान वृद्धिलाई कम गर्न आवश्यक भए तापनि जीवाश्म ईन्धनको प्रयोगलाई चरणबद्ध रूपमा अन्त्य गर्ने नयाँ प्रतिबद्धताबिना कोप–२७ शिखर सम्मेलन समाप्त भएको थियो । ‘यो गम्भीर सङ्कट होइन, तर दीर्घकालीन सङ्कट हो,’ बीट्स्माले भने । उनले थपे, ‘यदि हामीले पर्याप्त काम गर्न सकेनौं भने यसले हामीलाई अभूतपूर्व स्तरमा प्रहार गर्नेछ ।’ रासस
प्रचण्ड निवास खुमलटारमा ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहालको निजी निवास खुमलटार पुगेका छन् । मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालयको बाँडफाँट, प्रदेशका मुख्यमन्त्री र मन्त्रीको टुंगो लगाउने विषयबारे छलफल गर्न अध्यक्ष ओली प्रधानमन्त्री दाहालको निजी निवास खुमलटार पुगेकाे बताइएकाे छ । यसअघि आजै बिहान प्रधानमन्त्री दाहालले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका थिए । दाहाल नेकपा (एमाले)लगायत विभिन्न सात राजनीतिक दल तथा स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थियो ।