विकासन्युज

रवि लामिछानेको एक्सन : नियम विपरीत राखिएका निजी सुरक्षाकर्मी २ दिनभित्र फिर्ता गर्नु

काठमाडाैं । गृह मन्त्रालयले विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ विपरीत निजी सुरक्षामा खटिएका सुरक्षाकर्मी ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन दिएको छ । मंगलबार मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलले एक विज्ञप्ति जारी गर्दै यस्ताे निर्देशन दिएका हुन् । विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापनलाई प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउन उक्त कार्यविधि जारी गरी कार्यान्वयन गरिएको मन्त्रालयले जनाएको छ ।  

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मिति तोक्ने तयारी, यस्तो छ निर्वाचन प्रक्रिया

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको तयारी सुरू गरेको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ बमोजिम राष्ट्रपतिको पदावधि सकिनुभन्दा कम्तीमा एक महिना अघि निर्वाचन हुनेगरी निर्वाचनको मिति तोक्नुपर्ने भएकाले आन्तरिक छलफल सुरु भएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । निर्वाचनको मिति तोकी नेपाल सरकारलाई दिनुपर्ने व्यवस्था छ । वर्तमान राष्ट्रपतिको कार्यकाल आगामी फागुन २९ मा सकिने भएकाले आयोगले माघ २८ गतेभित्र निर्वाचन गराउने तयारी गरेको हो । नेपालको संविधानको धारा ६३ मा राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल निर्वाचित भएको मितिले पाँच वर्ष तोकिएको छ । संविधानको धारा ७० बमोजिम राष्ट्रपति र उपराष्ट्रपतिमा फरक लिङ्ग वा समुदायबाट प्रतिनिधित्व हुनुपर्ने भएकाले दुवै पदको एकै पटक नभइ फरक–फरक मितिमा निर्वाचन हुनेछ । यस निर्वाचनमा सङ्घीय संसद् ३३४ र प्रदेशसभाका सदस्य ५५० मतदाता हुनेछन् । मुलुकको विद्यमान जनसङ्ख्या अनुसार यी पदको निर्वाचनका लागि सङ्घीय संसद्काप्रति सदस्यको मतभार ७९ र प्रदेशसभाका प्रतिसदस्यको मतभार ४८ हुनेछ । आयोगले गत मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन गत मङ्सिर २९ गते प्रतिवेदन बुझाएको थियो । राष्ट्रपतिको आह्वान बमोजिम दुईभन्दा बढी दलको समर्थनमा यही पुस १० गते नयाँ सरकार गठन भइसकेको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा सम्पादन गर्नुपर्ने कामका लागि आयोगले न्याय परिषद्को परामर्शमा उच्च अदालतको न्यायाधीशलाई निर्वाचन अधिकृत नियुक्त गर्नेछ । निर्वाचनमा उम्मेदवार हुन सङ्घीय संसद्को सदस्यका लागि हुनुपर्ने योग्यताका साथै कम्तीमा ४५ वर्ष उमेर पूरा भएको हुनुपर्ने तथा कुनै कानुनले अयोग्य नभएको व्यक्ति हुनुपर्नेछ । निर्वाचनमा मनोनयनका लागि मतदाता नामावलीमा नाम समावेश भएका पाँच जना प्रस्तावक र पाँच जना समर्थक आवश्यक पर्ने कानुनी व्यवस्था छ ।

दरबार हाई स्कुलमा विद्यार्थीको सङ्ख्या बढ्दै

काठमाडौं । कुनै समय विद्यार्थीको अभावमा जेनतेन सञ्चालित ऐतिहासिक धरोहरको दरबार हाई स्कुल भानु माध्यमिक विद्यालयमा अहिले विद्यार्थीको चाप बढेको छ । भूकम्प जानुअघि उक्त विद्यालयमा ७१ विद्यार्थी अध्ययनरत रहेकामा अहिले बढेर पाँच सय ९१ पुगेको छ । अझै पनि आफ्ना छोराछोरीलाई यसै विद्यालयमा भर्ना गराउन आग्रह गर्दै अभिभावक विद्यालय आउने क्रम रोकिएको छैन । हरेक वर्ष कक्षा सुरु हुने बेलामा मात्र भर्ना लिन सकिने र सबै कक्षामा विद्यार्थी सङ्ख्या पूर्ण रहेकाले तत्काल नयाँ विद्यार्थी भर्ना लिन सक्ने अवस्था भने छैन । गोर्खा भूकम्पकले पूर्णरुपमा क्षति भएकोे यस विद्यालयमा नयाँ भवन निर्माणसँगै विद्यार्थी आउने क्रम रोकिएको छैन । राजधानीको मुटुमा रहेको यस विद्यालयको अहिले सबै कक्षामा विद्यार्थी भरिभराउ छ । विद्यार्थीको सङ्ख्या अत्यधिक रहेकाले कक्षा ७, ८ र ९ लाई विभाजन गरेर सेक्सन बनाएर सञ्चालन गर्नुपरेको विद्यालयका प्रधानाध्यापक शारदा पौडेलले बताइन् । यहाँ ३० शिक्षक कार्यरत छन् । कुनै कक्षामा पनि विद्यार्थीको कमी छैन । विद्यार्थीको सङ्ख्या बढिरहेकाले ३६ सिट क्षमता भएको एउटा कक्षामा हामीले ४९ जनासम्म विद्यार्थी राखेर पढाइरेहका छौँ प्रधानाध्यापक पौडेलले भनिन् ।’नयाँ भवन, सुविधायुक्त प्रयोशाला, सफा खाजा घर तथा अङ्ग्रेजी माध्यममा पढाइ हुने यो सामुदायिक विद्यालयमा हरेक दिन विद्यार्थी बढिरहेका छन् । अब नयाँ भर्ना हुन आउने विद्यार्थीका लागि स्थान छैन’, उनले भनिन् । आगामी आर्थिक वर्षका लागि अहिले नै आउँछन् यस विद्यालयमा अहिलेका लागि मात्रै होइन आगामी शैक्षिक सत्रका लागि पनि सिट सुनिश्चित गर्नुपर्यो भन्दै अभिभावक आउने गरेका छन् । अहिले सबै कक्षा भरिभराउ भएको र तत्काल भर्ना गर्न नसकिने कुरा विद्यालयले भनेपछि आगामी वर्षका लागि सिट रोक्नका लागि अभिभावकबाट अहिले नै अनुरोध हुने गरेको छ । ऐतिहासिक र पुरानो विद्यालय भएकाले सुरुको समयमा सम्पन्न परिवारका छोराछोरीले मात्र अध्ययन गर्ने गरेका थिए । कुनै समय श्रमिकका छोराछोरी मात्र पढ्ने गरेको यस विद्यालयमा अहिले सरकारी कर्मचारी, स्थानीयवासीका छोराछोरी बढी छन् । हाल शिशु कक्षादेखि कक्षा १० सम्म पठनपाठन हुँदै आएको यस विद्यालयमा आगामी वर्षदेखि १२ कक्षासम्म पढाउने गरी तयारी भएको कामपाले जनाएको छ । विद्यालय भवन ठूलो रहेको हुँदा सहयोगी कर्मचारी एकजना मात्रले सरसफाइको काम गर्न भने समस्या भएको बताइएको छ । त्यसैगरी विद्यार्थीको सङ्ख्याका आधारमा सम्बन्धित विषय शिक्षकको पनि अभाव रहेको प्रध्यानाध्यापक पौडेलले बताइन् । निकट भविष्यमै ललितकला क्याम्पससँग सहकार्य गरेर आर्ट कक्षा सञ्चालन गर्नेतर्फ छलफल भइरहेको पनि उनले सुनाइन् । नमुना विद्यालय दरबार हाई स्कुल हाल कामपामा ८९ वटा सामुदायिक विद्यालय सञ्चालित रहेकामा नमुना विद्यालयका रुपमा दरबार हाई स्कुलसहित अन्य दुई विद्यालय परेका छन् । ती विद्यालयलाई अन्यभन्दा थप व्यवस्थित रुपमा सञ्चालन गर्न चालू आर्थिक वर्षमा रु एक करोड बजेट विनियोजन गरिएको कामपा शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले बताए । यस विद्यालयमा हरेक दिन विद्यार्थीको सङ्ख्या बढिरहेकाले कामपाले आवश्यकअनुसार दरबन्दी थप गर्ने विषयमा पनि छलफल गरिरहेको उनले जानकारी दिए। प्रमुख सुवेदीले भने,  ‘नमुना विद्यालय भएसँगै उक्त विद्यालय अन्यभन्दा फरक र गुणस्तरीय हुन जरुरी छ त्यसका लागि कामपा लागिरहेको छ ।’ नौ रोपनी जमिनमा निर्माण गरिएको चार तले सो विद्यालय भवनमा ४० कक्षाकोठा छ ।  

३ करोडमा काभ्रेको बेथानचोकमा केबुलकार निर्माण हुने

काभ्रे । काभ्रेको बेथानचोक गाउँपालिकास्थित बेथानचोक नारायणटारमा केबुलकार निर्माण हुने भएको छ । गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले काभ्रेको पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउने उद्देश्यले गाउँपालिकाले ‘ड्रिम प्रोजेक्ट’का रुपमा केबुलकार निर्माणको योजना अघि सारेको बताए । केबुलकार निर्माणका लागि सम्भाव्यता अध्ययन पूरा भएको उनको भनाइ छ । गाउँपालिकाको कार्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष अधिकारीले बेथानचोकलगायतका पर्यटकीय गन्तव्यमा पर्यटक आकर्षित गर्नका लागि केबुलकार निर्माण गर्न लागिएको बताए । उनले केबुलकार प्रोजेक्ट समग्र पालिकावासीको साझा सम्पत्तिका रुपमा निर्माण हुन लागेको उल्लेख गरे । आयोजना निर्माण समूहमा आबद्ध इञ्जिनियर ज्ञान तिमिल्सेनाका अनुसार केबुलकारका लागि नौवटा टावरहरु रहने छन् । केबुलकारको लम्बाइ तीन किलोमिटरको हुनेछ भनेसम्भाव्यता अध्ययनको सिलसिलामा करिब तीन करोड लागत लाग्ने अनुमान गरिएको छ । कार्यक्रमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी वडा नं १ का अध्यक्ष मधुसूदन तिमिलसेना, वडा नं ३ का अध्यक्ष कुवेर ढकाल, वडा नं ४ का अध्यक्ष कृष्णबहादुर पाख्रिन, वडा नं ५ का अध्यक्ष राजकुमार वाइवालगायत वडा तथा पालिका सदस्यका साथै स्थानीयको उपस्थिति थियो ।

काठमाडौंमा यो वर्षकै बढी चिसो, न्यूनतम तापक्रम ३.८ डिग्री सेल्सियस मापन

काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ । उपत्यकाको न्यूनतम तापक्रम ३.८ डिग्री सेल्सियसमा झरेको छ । काठमाडौं उपत्यकाको यस वर्ष मापन गरिएको यो सबैभन्दा कम तापक्रम हो । सोमबार उपत्यकाको तापक्रम पाँच दशमलव पाँच डिग्री सेल्सियस थियो । मौसमविद् विनु महर्जनका अनुसार तापक्रम निरन्तर घट्ने क्रममा छ । उनले पछिल्लो केही दिनयता न्यूनतम तापक्रम क्रमशः घटिरहेको र अब अधिकम तापक्रम पनि घट्ने क्रममा रहेको बताए । मौसम पूर्वानुमान महाशाखाले देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने तथा तराईका केही भू–भागमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेकाले दैनिक जीवन र सडक तथा हवाई यातायातमा पनि सामान्य असर पर्नसक्ने हुँदा आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ । महाशाखाले आज बिहान ९ बजे गरेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम तीन दशमलव आठ डिग्री र अधिकमत तापक्रम १८ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस छ दशमलव पाँच डिग्री सेल्सियस र सबैभन्दा बढी जनकपुरको अधिकतम तापक्रम ३६ दशमलव चार डिग्री सेल्सियस रहेको छ ।

कुमारीसँग मर्जरमा रहेको एनसीसी बैंकका सेयरधनी धमाधम सेयर बिक्री गर्दै, प्रतिकित्ता १ सय रुपैयाँ

काठमाडौं । नेपाल क्रेडिट कमर्स (एनसीसी) बैंकका संस्थापक सेयरधनीहरु धमाधम सेयर बिक्री गरिरहेका छन् । एनसीसी बैंकका संस्थापक सेयरधनीहरुले संस्थापक समूहको १० लाख ३९ हजार कित्ता सेयर बिक्री गरेर बाहिरिने भएका हुन् । बैंकका ७ जना संस्थापक सेयरधनीहरुले आफ्ना नाममा रहेको सेयर बिक्रीमा राखेका छन् । बैंकका संस्थापक ठाकुर प्रसाद गौतमले १९ हजार १४७ कित्ता, नरेन्द्रलाल जोशीले ६२ हजार ८८० कित्ता, दिपक रत्न शाक्यले ३ लाख १५ हजार १३ कित्ता, खेमनाथ डल्लाकोटीले १ लाख ८९ हजार ६९८ कित्ता, कोष राज वन्तले ४ लाख २६ हजार ९६२ कित्ता, सुदिप पौडेलले ५ हजार ४७० कित्ता र देव बहादुर खत्रीले २० हजार ३३४ कित्ता सेयर बिक्री गर्ने भएका हुन् । बैंकले बिक्रीमा राखेको उक्त सेयरको मूल्य प्रतिकित्ता १ सय रुपैयाँ तोकिएको छ । बैंकको उक्त सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले माघ १६ गतेभित्र आवेदन दिनुपर्नेछ । यदि तोकिएको अवधिभित्र उक्त सेयर संस्थापक सेयरधनीहरुले खरिद नगरे अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने बैंकले जनाएको छ । कुमारी बैंकसँग मर्जर प्रक्रियामा रहेको एनसीसी बैंकका सेयरधनीहरु भने बाहिरिने भएका हुन् । कुमारी बैंक र एनसीसी बैंकबीच पुस १७ गते एकीकृत कारोबारको मिति तय भएको छ ।

जापानमा तीन महिनामा चार मन्त्री फेरबदल

टोकियो । जापानका पुनर्निर्माण मन्त्रीले आर्थिक अनियमितताको आरोप लागेपछि मङ्गलबार राजीनामा दिएका छन् । प्रधानमन्त्री फुमियो किशिदाको मन्त्रिमण्डलबाट तीन महिनामा राजीनामा दिने चौथो मन्त्री बनेका छन् । आफ्ना सहयोगी, श्रीमती र आमालाई गैरकानुनी राजनीतिक भुक्तानी गरेको आरोपमा आलोचना खेपिरहेका पुनर्निर्माणमन्त्री केन्या अकिबाले पत्रकारहरूसँग भने, ‘मलाई विश्वास छ कि मेरो कार्यको सन्दर्भमा कुनै अवैधता छैन ।’ उनले भने, ‘तर बजेट र अन्य विधायिकी कार्यसूचीको काम कारबाही रोकियोस् भन्ने मेरो चाहना नरहेकोले पदबाट राजिनामा दिएको छु ।’ किशिदाले आफ्नो कार्यकालको सबैभन्दा कम अनुमोदन रेटिङको सामना गरिरहेका बेला उनको मन्त्रीमण्डलका चौथो व्यक्तिको राजीनामा आएको हो । सांसदहरू र एकिकृत चर्च सम्प्रदायबीचको सम्बन्धको बारेमा एकपछि अर्को घोटाला र खुलासापछि नागरिकको क्याबिनेटबाट बढ्दो रूपमा मोहभङ्ग भएको हो । गत महिना आन्तरिक मामिला मन्त्रीले चुनावी अभियानको आर्थिक अनियमितताको आरोपमा राजीनामा दिएका थिए । उनको ‘लो प्रोफाइल’ कामले मृत्युदण्डको सजाय स्वीकृत गर्दा सञ्चारमाध्यममा कभरेज मात्र सिर्जना गरेको भन्दै न्यायमन्त्रीले राजीनामा दिएका थिए । अक्टोबरमा, आर्थिक पुनरुत्थानमामिला मन्त्रीले एकिकृत चर्चसँग सम्बन्ध रहेको आरोपपछि राजीनामा दिएका थिए । पूर्व प्रधानमन्त्री शिन्जो आबेको हत्याको आरोप लागेका व्यक्तिले आफ्नी आमाले प्रधानमन्त्री पूर्व प्रधानमन्त्री आबेसमेतको सम्लग्नता रहेको चर्चले आफ्नो परिवारलाई आर्थिकरूपमा निकै कमजोर बनाएको भन्दै सङ्गठनप्रति आक्रोश व्यक्त गरेको समाचार सार्वजनिक भएपछि यो सम्प्रदाय चर्चामा आएको थियो । आधिकारिक रूपमा विश्व शान्ति र एकीकरणका लागि पारिवारिक महासङ्घको रूपमा चिनिने चर्चले कुनै पनि गलत काम गरेको अस्वीकार गरेको छ । किशिदाको क्याबिनेटको अनुमोदन रेटिंग ३० प्रतिशतको तथाकथित ‘खतराको स्तर’ को नजिक रहेको छ, र जनवरीमा संसदको अर्को सत्र सुरु हुनुअघि उनले आफ्नो मन्त्रीमण्डल पुनर्गठन गर्न सक्ने अनुमान गरिएको छ । रासस  

पुस २२ गते गृहमन्त्री लामिछानेको संसद् सदस्य योग्यताबारे सर्वोच्चमा सुनुवाइ हुने

काठमाडाैं । गृहमन्त्री रवि लामिछानेको सांसदको योग्यताबारे पुस २२ गते सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । अधिवक्ता रविराज बसौलालगायले रविविरुद्ध रिट दायर गरेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेलाई सांसदको शपथ लिन रोक लगाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट दर्ता भएको थियो । अमेरिकी नागरिकता लिएपछि निष्क्रिय भएको नेपाली नागरिकता प्रयोग गरेको भन्दै उनको सभापति पदसमेत खारेज गर्न माग गरिएको छ  ।