विकासन्युज

इटहरीको जनता मावि जिल्लाकै उत्कृष्ट विद्यालय छनोट, सरकारबाट साढे १४ लाख पाउने

धरान । सुनसरीको इटहरी उपमहानगरपालिकामा रहेको जनता माविलाई प्रदेश–१ सरकारको सामाजिक विकास मन्त्रालयले उत्कष्ट विद्यालयका रुपमा छनोट गरेको छ । सुनसरी जिल्लामै उत्कृष्ट व्यवस्थापन भएको सामुदायिक विद्यालयका रुपमा उक्त विद्यालयलाई छनोट गरी अनुदानसमेत दिने घोषणा गरिएको छ । उक्त मन्त्रालयको प्रशासन तथा शैक्षिक योजना महाशाखाले उत्कृष्ट विद्यालयका रुपमा छनोटमा परेको जानकारीसहित प्रदेश सरकारले दिने सुविधा लिनका लागि प्रस्ताव पेस गर्न विद्यालयलाई पत्रचार गरेको छ । मन्त्रालयका उपसचिव कृष्णप्रसाद पोखरेलका अनुसार विद्यालयले प्रदेश सरकारबाट प्रोत्साहनस्वरुप १४ लाख ५० हजार पाउनेछ । बीस प्रतिशतसम्म प्रोत्साहन कार्यक्रम र ८० प्रतिशत विद्यालयको प्रस्तावका आधारमा कार्य गर्ने गरी योजना बनाएर पेस गर्न पत्रचार गरिएको थियो । मन्त्रालयले आव ०७९/०८० का लागि प्रत्येक जिल्लाबाट एक–एकवटा उत्कृष्ट व्यवस्थापन भएका सफल सामुदायिक माध्यमिक विद्यालयलाई प्रोत्साहन कार्य गर्ने कार्यक्रमअनुसार सुनसरीमा जनता माविलाई छनोट गरेको जनाएको छ । मन्त्रिस्तरीय बैठकबाट मङ्सिर २६ गते उक्त माविलाई उत्कृष्ट विद्यालय छनोट गरी प्रोत्साहन कार्यक्रम दिने निर्णय गरिएकोे थियो । यही पुस ९ गते एक साताको समय दिएर विद्यालयलाई प्रस्ताव पेस गर्न पत्रचार भएको छ । पछिल्लो चार वर्षमा उक्त विद्यालय नमुना विद्यालयका रुपमा दरिएको छ । यहाँ निजी विद्यालयहरुबाट अध्ययन गर्न विद्यार्थीहरु ल्याउने गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशिनाथ दङ्गालले जानकारी दिए । कक्षाकोठालाई स्मार्ट बनाउनेदेखि अङ्ग्रेजी माध्यमबाट पढाउने अनि इटहरीभरिकै उत्कृष्ट शिक्षकहरु नियुक्त गर्ने क्रम सुरु गरिएपछि विद्यालयमा विद्यार्थीको भीड नै लाग्न थालेको विद्यालयको जिकिर छ । उनले भने, ‘विद्यालयका शिक्षक, व्यवस्थापन समितिका बाँकी सदस्य, अविभावक र स्थानीय राजनीतिक दलका नेता सबैको साथ र सहयोगका कारण यो उपलब्धि पाइएको छ । यसको निरन्तरताका लागि हाम्रो प्रयास जारी रहनेछ ।’ विद्यालयलाई प्रदेशकै अब्बल बनाउने प्रयासमा आफूहरु रहेको अध्यक्ष दङ्गालले जानकारी दिए । पर्याप्त सरकारी सहयोग भएर पनि शैक्षिक सुधार गर्न नसकेका देशभरका सामुदायिक विद्यालयका लागि उक्त विद्यालय पछिल्लो समय गतिलो उदाहरण नै बन्न सफल भएको छ । इटहरी र आसपासका राम्रा शिक्षकहरुलाई नियुक्ति दिएर विद्यार्थीलाई गुणस्तरीय शिक्षा सुनिश्चित गरिएको विद्यालयका प्रधानाध्यापक पशुपति सिग्देलले जानकारी दिए । यस स्कुलले आउँदो शैक्षिक सत्रदेखि आम सञ्चार, कानुन र सिभिल इञ्जिनियरिङको पढाइ सुरु गर्ने तयारी रहेको पनि उनले जानकारी दिए ।

नयाँ सरकारले २ प्रतिशत ब्याजदर घटाए अर्थतन्त्र चलायमान हुन्छ : अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल उद्योग परिसंघ अध्यक्ष बिष्णु अग्रवालले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि बैंकको ब्याजदर घटाउनु पर्ने बताएका छन् । संकटमा रहेको अहिलेको अर्थतन्त्रलाई सुधारात्मक बाटोतर्फ अघि बढाउन सरकारले न्यूनतम २ प्रतिशत ब्याजदर घटाउन राष्ट्र बैंकसँग समन्वय गर्नु पर्ने अध्यक्ष अग्रवालले बताए । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) सँगको भेटमा परिसंघका अध्यक्ष बिष्णु अग्रवालले तरलता संकुचन हुँदै जाँदा अर्थतन्त्रका गतिविधिहरु रोकिन थालेको बताए । ‘तरलता संकुचन हुँदा बैंकिङ क्षेत्रले माग अनुसार कर्जा प्रवाह गर्न सकिरहेका छैनन्, ब्याजदर पनि उच्च छ, बैंकको ब्याजदर कारण नै अर्थतन्त्र चलायमान हुन सकेको छैन, नयाँ सरकारले २ प्रतिशत विन्दुले ब्याजदर घटाएर अर्थतन्त्र चलायमान हुन्छ,’ उनले भने । व्यवसाय धराशयी बन्दै गएको अवस्थामा र लगानी योग्य रकमको अभावका कारण अर्थतन्त्र खुम्चिरहेको उनले बताए । उनका अनुसार हाल बजारमा सबै किसिमका उत्पादनको समग्र माग घटेको छ । उद्योगहरुको माग ३० प्रतिशतले घटेको अध्यक्ष अग्रवालले बताए । त्यस्तै एफएमसीजी, पर्यटन र सूचना प्रविधि बाहेकका सबै क्षेत्रमा तरलता अभावका कारणले माग घटेसँगै व्यवसाय नै धराशय बनेको उनको भनाइ छ । उद्योगी र व्यापारीका लागि यो ठुलो समस्या र चिन्ताको विषय रहेको उनले बताए । यही कारण हाल मुलुकभरका कतिपय उद्योग कलकारखाना बन्द भईरहेका छन् । ‘त्यसकारण पनि अर्थतन्त्र चलायमान बनाउनका लागि व्याज घटाउनुपर्छ’ उनी भन्छन्, ‘यसका लागि परिसंघले सरकारसँग पहल गरिरहेको छ ।’ अध्यक्ष अग्रवालले पुनरकर्जावापतको ६० अर्ब हाराहारी रकम पुस मसान्तमा प्रणालीबाट बाहिरिन सक्नेतर्फ बताए । स्थानीय तहको बचतलाई निक्षेपमा गणना गर्न दिइएको अवधि पनि पुसमै सकिने भएकाले तरलता झनै असहज बन्न सक्नेमा परिसंघले चासो देखाएको छ । नयाँ ग्राहकलाई अहिलेको निर्देशिकाअनुसार अगाडि बढ्न र पुरानालाई समयसीमा दिएर क्रमश अघि बढाउँदै लैजानुपर्ने परिसंघको माग छ । पुराना ग्राहकका लागि चालु पुँजी कर्जा मार्ग निर्देशन २ वर्षका लागि स्थगन गर्नुपर्नेमा परिसंघले जोड दिएको छ ।

कोरियाबाट फर्केर कोइला भट्टीमा लगानी, मासिक ६० हजार आम्दानी

कास्की । पाँच वर्षको कोरिया बसाइलाई बिट मारेर आफ्नै देशमा फर्किएका कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ६ का धनबहादुर पुनले आफ्नै व्यवसाय चलाएका छन् । छयालिस वर्षीय उनले गाउँमै कोइला उद्योग चलाएका हुन् । लामो समयसम्म विदेशमा काम गरी कमाएको पैसा गाउँमा नै लगानी गरेर पुनले मनग्य आम्दानी गर्न सफल भएका छन् । कोरियामा सिकेको सीपलाई आधुनिक प्रविधि र साधन स्रोत प्रयोग गरी व्यावसायिक रुपमा उद्योग स्थापना गरिएको उनले बताए । ‘कोरियामा पनि कोइला उद्योगमै काम गरेको हुँ, विगत चार वर्षदेखि उद्योग स्थापना गरी कोइला पोल्न थालेको छु’, पुनले भने । विसं २०७५मा सुरु गरिएको अन्नपूर्ण कोइला उद्योगबाट लगानी उठाउने बेला कोरोनाले बिथोलेर भनेजस्तो व्यापार हुन सकेको थिएन । ‘जग्गा मेरै थियो त्यही दुईवटा भट्टी बनाएर काम सुरु गरे,’ उनले बताए, ‘बिस्तारै राम्रो हुँदै थियो त्यही बेला कोरोनाले समस्या बनायो ।’ गत वैशाखदेखि भने पुनको व्यवसायले गति लिन थालेको छ । कोरोनाकालमा पनि हरेस नखाई काम गरेको परिणाम अहिले देखिन थालेको उनले बताए । ‘कोरोना सुरु भएपछि व्यापार नै भएन । अब लगानी डुब्ने भयो भन्ने चिन्ता पनि लाग्यो,’ पुनले जोड दिए, ‘तर हिम्मत हारिन काम गर्दै गए सफल हुन्छु भन्ने थियो । गत वैशाखदेखि भने राम्रै भएको छ ।’ पछिल्लो समय उनले एक दिनमा दुई क्विन्टलसम्म कोइला उत्पादन गर्दै आएका छन् । पछिल्लो समय कोइला बेचेर मात्रै मासिक ६० हजार रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएको जानकारी दिँदै उनले अहिले तीन मजदुरलाई काम पनि दिएका छन् । ‘कमाउन त एक लाखभन्दा बढी कमाइन्छ तर काम किन्नुपर्ने अनि मजदुरलाई तलब दिँदा महिनामा ६० हजारभन्दा बढि बचत हुन्छ,’ पुनले भने । उनको मिहेनत, परिश्रम र विदेशमा सिकेको सीपको प्रयोगले गाउँले पनि खुसी छन् । विदेशबाट फर्केर गाउँमै उद्योग स्थापना गरी आम्दानी गर्नु गाउँका लागि गौरवको विषय भएको सिद्ध आधारभूत विद्यालयका शिक्षक सन्तोष सुवेदीले बताए । ‘गाउँमा उद्योग चल्नु गौरवको कुरा हो । जसले गर्दा स्थानीयवासीलाई रोजगारीको अवसर उपलब्ध गराउँछ,’ उनले भने, यस्तो कामले अरू युवालाई मातृभूमिमै बसेर काम गर्ने प्रेरणा प्रदान गर्छ ।’ गाउँलेको साथ सहयोग र आफ्नो मिहेनतले उद्योग राम्रो चलेको सञ्चालक पुनले बताए । दुईवटा भट्टीबाट उत्पादित कोइला पोखरा, काठमाडौंलगायत अन्य सहरमा निर्यात हुने गरेको उनले जानकारी दिए । ‘विभिन्न प्रयोजनका लागि कोइला प्रयोग हुने भएकाले उद्योगबाटै सबै बिक्री हुन्छ,’ पुनले भने, ‘बजारको कुनै समस्या छैन । पछिल्लो समय त माग धान्नै गाह्रो छ ।’ बजारको माग धान्नका लागि अझै तीनवटा भट्टी थप्ने उनको योजना छ । पाँचवटा भट्टीको कोइला बिक्रीबाट मासिक एक लाख रुपैयाँभन्दा बढी रकम बचत गर्ने उद्देश्य लिएका पुनले कोइलाको काम गर्न र उद्योग खोल्न चाहनेहरुलाई सिकाएर सीप हस्तान्तरण गर्न पनि तयार रहेको बताए ।

लाभांश : १३ बैंकको घट्यो, ७ बैंकको बढ्यो

काठमाडौं । वाणिज्य बैंकहरुको लाभांशदर घटेको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष बैंकहरुको लाभांश दर घटेको हो । गत वर्षको नाफाबाट बैंकहरुले सेयरधनीहरुलाई औषतमा १० प्रतिशत मात्रै लाभांश वितरण गरेका छन् । २६ वटा वाणिज्य बैंकहरुको लाभांश औषतमा ४.११ प्रतिशत घटेको छ । गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट सेयरधनीहरुलाई वाणिज्य बैंकहरुले औषतमा १०.२६ प्रतिशत मात्रै लाभांश वितरण गरेका छन् । जसमा औषत ४ प्रतिशत बोनस सेयर वितरण गरेका छन् भने औषत ५.९३ प्रतिशत नगद लाभांश वितरण गरेका हुन् । अघिल्लो वर्षको तुलनामा १३ वटा बैंकको लाभांश घटेको छ । जसमा नबिल बैंक, हिमालयन, सिद्धार्थ बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सानिमा बैंक, सिटिजन्स बैंक, प्राइम बैंक, एनएमबि बैंक, प्रभु बैंक, मेगा बैंक र सेञ्चुरी गरी १३ बैंकले अघिल्लो वर्षको तुलनामा लाभांश घटाएका हुने । यस्तै, गत वर्षको नाफाबाट ७ वटा बैंकले लाभांश बढाएका छन् । बैंक अफ काठमाण्डू, एभरेष्ट बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, ग्लोबल आइएमई बैंक, कुमारी बैंक, एनसीसी बैंक र नेपाल एसबिआई बैंकले अघिल्लो वर्ष भन्दा धेरै लाभांश दिएका हुन् । सिभिल बैंकले भने अघिल्लो वर्ष वितरण गरे बराबर नै लाभांश वितरण गर्ने निर्णय गरेको हो । बैंकको लाभांश स्थिर रहेको छ । विभिन्न ४ वटा वाणिज्य बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरिसकेका छन् भने एक बैंकले बाँकी नै रहेको छ । माछापुच्छ्रे बैंक, सनराइज बैंक, लक्ष्मी बैंक र एनआईसी एशिया बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेका हुन् भने कृषि विकास बैंकले लाभांश घोषणा गर्न बाँकी रहेको छ । एनआईसी एशिया बैंकले लगातार २ आर्थिक वर्ष सेयरधनीहरुलाई लाभांश वितरण गरेको छैन । यस वर्ष सनराइज, लक्ष्मी र माछापुच्छ्रे बैंक पनि थपिएका छन् । हालसम्म १० वटा वाणिज्य बैंकको लाभांश वार्षिक साधारण सभाले पािरत गरिसकेको छ भने ११ वटा बैंकको लाभांश पारित हुन बाँकी रहेको छ । १० बैंकको लाभांश साधारण सभाबाट पारित ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको १०.६ प्रतिशत नगद लाभांश र ३ प्रतिशत बोनस सेयर गरी कूूल १३.६ प्रतिशत लाभांश वितरण गरेको हो । बैंक अफ काठमाण्डुले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चूक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित १४.९५ प्रतिशत नगद गरी कूल २०.९५ प्रतिशत लाभांश वितरण गरेको हो । एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर र ७.६८ प्रतिशत नगद गरी कूल २०.६८ प्रतिशत लाभांश वितरण गरेको हो । स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १६.५१ प्रतिशत नगद लाभांश वितरण गरेको हो । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) ले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ३.३६६३ प्रतिशत बोनस सेयर र ७.६३३७ प्रतिशत नगद गरी कूल १०.९९ प्रतिशत लाभांश वितरण गरेको हो । कुमारी बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १२.५० प्रतिशत नगद लाभांश वितरण गरेको हो । नेपाल इन्भेष्टमेन्ट बैंकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद गरी कूल ११ प्रतिशत लाभांश वितरण गरेको हो । मेगा बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस सेयर र ३.७९ प्रतिशत नगद लाभांश गरी कूल ७.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । सानिमा बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र ०.९८ प्रतिशत नगद गरी कूल १०.९८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । सिटिजन्स बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट चुक्ता पुँजीको ९ प्रतिशतका दरले हुन आउने १ अर्ब २७ करोड ८० लाख बराबरको नगद लाभांश वितरण गरेको हो । ११ बैंकको लाभांश पारित हुन बाँकी नबिल बैंकले गत वर्षको नाफाबाट सबैभन्दा धेरै लाभांश वितरण गर्ने बैंक बनेको छ । गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चूक्ता पूँजीको १८.५० प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ११.५ प्रतिशत नगद गरी कूल ३० प्रतिशत लाभांश वितरण गर्ने भएको हो । हिमालयन बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत अर्थात् बोनस सेयर र कर प्रयोजनका लागि ११.११ प्रतिशत नगद गरी कूल १९.११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सिद्धार्थ बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायमु चुक्ता पूँजीको १२.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६६ प्रतिशत नगद गरी कूल १३.१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक बर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद गरी कुल १२.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । नेपाल बैंक बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको २ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १० प्रतिशत नगद लाभांश गरी कूल १२ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । नेपाल एसबिआई बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस सेयर र ७.५३ प्रतिशत नगद गरी कूल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस सेयर र ४.९५ प्रतिशत नगद गरी कूल ८.९५ प्रतिशत लाभांश वितरण गर्नेछ । एनएमबि बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई ८.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रभु बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ६.५० प्रतिशत बोनस सेयर र १.५० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्नेछ । सेञ्चुरी कमर्सियल बैंकले गत आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट सेयरधनीहरुलाई चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद गरी कूल ५ प्रतिशत लाभांस वितरण गर्ने भएको हो । सिभिल बैंकले गत आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट सेयरधनीहरुलाई चुक्ता पूँजीको ५. प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद गरी कूल ५.२६ प्रतिशत लाभांस वितरण गर्ने भएको हो ।

कुमारी र एनसीसीको एकिकृत कारोबार पुस १७ गतेदेखि, दुई दिन सबै सेवा बन्द रहने

काठमाडौं । कुमारी र नेपाल क्रेडिट एण्ड कमर्श बैंकको एकिकृत कारोबार मिति तय भएको  छ । कुमारी बैंकले मंगलबार सूचना जारी गर्दै एकिकृत कारोबार मिति पुस १७ गते आइतबार तय भएको जानकारी दिएको हो । नेपाल राष्ट्र बैंकले पुस ६ दुवै बैंकलाई मर्जर हुने अन्तिम स्विकृती दिएको थियो ।  मर्जरपछि बैंकको नाम कुमारी बैंक हुने छ । यस्तै, बैंकले एकिकृत कारोबार हुनअघि डाटा माइग्रेसन प्रयोजनको लागि दुई दिन पुस १५ र १६ गते सार्वजनिक विदाको दिनका कुमारी र एनसिसिद्वारा आफ्ना विभिन्न शाखाहरुबाट प्रदान गर्दै आइरहेको सेवाहरु बन्द रहने जानकारी दिएको छ । यी दुवै बैंक मर्जर भएपश्चात् चुक्ता पूँजी २६ अर्बभन्दा बढी हुनेछ भने शाखा संख्या ३५५, एटीएम संख्या २४४, एक्स्टेन्सन काउन्टर ५१ वटा हुने बताइएको छ । बैंकको निक्षेप ३ खर्ब १ अर्बभन्दा बढी र कर्जा २ खर्ब ७८ अर्बभन्दा बढी हुनेछ । मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृत एनसीसी बैंकका रमेशराज अर्याल बन्नेछन् । कुमारी बैंकका रामचन्द्र खनाल वरिष्ठ प्रमुख कार्यकारी अधिकृत हुने छन् ।

बढ्दो चिसोमा किसानलाई कामको चटारो

महोत्तरी। मध्य पुसमा महोत्तरीमा अत्यधिक चिसो छ । चिसोबाट बच्न अनेकन उपाय खोजीरहँदा यहाँका किसानलाई भने कामको चटारो छ । यो गहुँबाली लगाउने, गोभी, खुर्सानीलगायत तरकारी बजार पुर्याउनु पर्ने र उखुक्रसिङको समय भएकाले किसानलाई खेतीपातीको काममा भ्याइनभ्याइको अवस्था छ । अर्को सिजनका लागि तरकारी खेतीका लागि खनजोतको काम यसैबेला गर्नुपर्ने भएपछि किसानलाई एकपछि अर्को कामको चटारोले छोपेको हो । समय घर्कंदा बित्ने यी कामसँगै आउनै लागेको तिलासक्रायत (माघेसङ्क्रान्ति) पर्वको जोहोमा पनि लाग्नुपर्ने बाध्यता छ । यहाँका किसानहरु मध्य पुसको थरथरी कमाउने चिसोबीच आराम गर्न पाएका छैनन् । ‘खेतीपातीको कामलाई जाडो र गर्मीको छुट दिँदैन, समयमै गर्न परिहाल्छ, असरल्ल काम छ’, भङ्गाहा–४ रामनगरका किसान अरुण गिरीले, ‘गोभी टिपेर आजै बजार लगिएन भने भोलिसम्म फुल फक्रेर कक्रक्क पर्छ, तर चिसोले अलिक गाह्रो बनाएको छ ।’ उनि यतिबेला उखु काट्ने, मुठा पार्ने र ट्र्याक्टरमा लोड गर्ने काममा पनि व्यस्त छन् । खेतीपातीका यी कामसँगै अहिले मधेस प्रदेशका प्राचीन मिथिला क्षेत्रका किसानलाई तिलासक्रायत पर्वको चटारोले पनि छोपेको छ । तिलासक्रायतका लागि चिउरा/मुरी बनाउन धान भिजाउने, उसिन्ने, कुट्ने काममा घरघरका गृहिणी लागेका छन् । त्यसैगरी तिल खेती गरेका किसान तिल झाँट्ने, निफन्ने काममा व्यस्त देखिन्छन् । पर्वमा चिउरा, मुरी र तिलका ‘लाई’ (लड्डु) बनाउन चाहिने सख्खरको जोहोका लागि कतिपय किसान आफैँ धमाधम उखु पेलेर सक्खर पकाउन थालेका छन् । आफ्नो घरको पर्व सामग्रीको जोहो पनि हुने र यी सामग्रीले अहिले राम्रो भाउ पाउने भएपछि किसान जाडो नभनी काममा जुटेका हुन् । मिथिलामा माघ सङ्क्रान्तिका दिन तिलासक्रायत पर्व मनाउने परम्परा छ । ‘पवनी (पर्व)ले छोपी सक्यो, खेतीपातीका काम असरल्ल छन्, अहिले सख्खरका लागि उखु पेल्ने, मुरी/चिउराका लागि धान उसिन्ने र तिल झाँट्ने र बजार लाने काम छन्, लगत्तै अब १० दिनपछि अलुवा (सखरखण्ड, सुठुनी), पिँडालु र तरुल खन्ने काम सुरु हुन्छ’, रामनगर बस्तीकै ४५ वर्षीय किसान चन्देश्वर राय दनुवारले भने, ‘अहिले बजार पुर्याउन नसकिएको तिलको भाउ सङ्क्रान्तिपछि घट्छ ।’ मिथिलामा तिलासक्रायत पर्वमा अलुवा, तरुल र पिँडालुजस्ता कन्दमूल उसिनेर खाने/ख्वाउने स्थापित परम्पराले माघे सङ्क्रान्तिअघि यी उत्पादनले राम्रो बजार पाउने गरेका छन् । मात्र एक कट्ठा क्षेत्रफलमा लगाइएको अलुवाबाट सङ्क्रान्तिअघि बजार पुर्याउनसके १० हजार हाराहारी आम्दानी गर्न सकिने दनुवारको भनाइ छ । कन्दमूल खन्ने र बजार पुर्याउने काम भने पुस चौथो साता लागेपछि थालिने दनुवारले बताए । पर्वमा सख्खरको खुँदोमा मिसाएर बनाइने तिल, चिउरा, मुरी र जुनेलोको लाई (लड्डु) खाने/ख्वाइने चलन छ । त्यसैगरी गोभी, भाण्टा, हरियो केरा, आलु, परवल र लौकीको तरुवा खाने प्रचलनले यी वस्तुले राम्रो भाउ पाउँछन् । पर्वका लागि आफ्नै घरको तयारी र पर्वअघि नै यी फसल बजार पुर्याउनै पर्ने र नियमित खेतीपातीका कामले अहिले फुर्सद पनि नभएको बलवा नगरपालिका–१० धमौराका किसान वासुदेव पासवानको भनाइ छ । पर्वकै तुक पारेर उखु किसान धमाधम उखु पेल्ने र खुँदो पकाएर मिठ्ठा (सख्खर) बनाउने काममा तल्लीन देखिएका छन् । ‘अहिले जाँगर नचलाए आम्दानी हुँदैन’, मिठ्ठा बनाउन ठूलो चुलोमा खुदो उमाल्न व्यस्त बर्दिबास–६ प्रेमनगरका किसान रामकृपाल महतोले भने, ‘उखुबाट हुने आम्दानीले वर्षभरिलाई पुग्ने अन्न जोहो गर्नुपर्छ ।’ मिथिलामा सबै जातजाति र समुदायले तिलासक्रायत पर्व मन खोेलेर मनाउने गर्छन् । यहाँका थारू समुदायको त यो मुख्य पर्व नै हुँदा एक महिना पहिलेदेखि नै तयारी थालिन्छ । थारू समुदायमा पर्वविशेषमा मासु अनिवार्य परिकारमा पर्ने हुँदा यसको जोहो गर्न केही पहिलेदेखि नै थारूहरुको व्यस्तता बढ्ने गरेको छ । तिलासक्रायत पर्वपछि यसको सनेस (कोसेली) पठाउने मिथिलामा आम चलन छ । विवाह भएका छोरी/चेली (फुपू, दिदीबहिनी र छोरीभतिजी) मित/मितिनी र नजिकी इष्टमित्रकहाँ पर्वविशेषका परिकार पुर्याइने परम्परा छ । रासस

किसानका सूचना अब ‘कृषि फर्म’ एपमा

बलेवा । किसानमा आवश्यक सूचनाको सहज पहुँच उपलब्ध गराउन काठेखोला गाउँपालिकाले ‘कृषि फर्म’ मोबाइल एप सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले तयार गरेको ‘कृषि फर्म’ एप मोबाइलमा डाउनलोड गरेपछि अब काठेखोलाका किसान आफ्नै लागि आवश्यक सूचना र सन्देशबाट वञ्चित हुने छैनन् । मोबाइल एप निर्माण, व्यवस्थापन र सञ्चालनको विधि तथा आर्थिक सहयोग विवाइसी बागलुङको व्यवस्थापनमा सञ्चालित हेफर इन्टरनेसनल परियोजनाले गरेको हो । उक्त सेवा निःशुल्क हुने हेफरइन्टरनेसनलका कार्यक्रम संयोजक तारा पन्थीले बताए। परियोजनाले किसानमा कृषि सूचनाको पहुँच पु-याउने उद्देश्यले मोबाइल एप सहयोग गरेको हो । परियोजनाले गाउँपालिकाको पशु तथा कृषि शाखामा रहने ‘किस्का मेसिन’ हस्तान्तरण गरेको छ । उक्त मेसिनमा कृषि फर्म मोबाइल एप जडान गरिएको छ । किसानले एपमार्फत् कृषि विज्ञ तथा गाउँपालिकाको विषयगत शाखासँग समन्वय गरी सूचना प्राप्त गर्न सक्छन् । एपबाट खेतीपाती गर्ने तरिका, रोग तथा किराबारे जानकारी पाउन तथा मौसम अनुसारको खेतीपाती गर्नु सहज बनाउने हेफर इन्टरनेसनलका कार्यक्रम संयोजक तारा पन्थीको भनाइ छ । उक्त सेवाबाट किसानहरुले घरमै बसेर मौसम र कृषिसम्बन्धी जानकारी पाउनेछन् भने किसान कृषि उत्पादनको सूचनासँग सहजै जोडिन सक्नेछन् । बाली लगाउने सही समय, मल व्यवस्थापन, सिँचाइ बाली बिरुवाको शत्रु तथा तिनको रोकथाम जस्ता जानकारी एपमार्फत् लिन सकिनेछ । गाउँपालिकाले सञ्चालन गरेको एपमा काठेखोलाका चार सय ६९ जना कृषक जोडिएका छन् । कृषकहरुको व्यक्तिगत तथा खेतीबालीको विवरण एप्समा समावेश गरिएको विवाइसी बागलुङका अध्यक्ष मणिभद्र शर्माले बताए । किसानले आफ्नो मोबाइल एपमार्फत् विज्ञ केन्द्र वा स्थानीय तहको पालिका केन्द्रमा घरबाटै आफ्नो अन्नबालीमा लागेका रोग, किरा तथा पशुमा लागेको रोगबारे जानकारी दिएर आवश्यक विज्ञ सुझाव सल्लाह प्राप्त गर्नेछन् । प्राविधिकहरुले कुन क्षेत्रमा कस्ता बाली लगाउने, कति मल छर्ने, कस्तो बालीमा कस्तो खालको रोग किरा लाग्छ र कसरी रोकथाम गर्ने लगायतका सन्देश कृषकको मोबाइलमा एपमार्फत पुग्नेछ । पढ्न र लेख्न नसक्ने किसानका लागि भिडियो र अडियो सेवा व्यवस्थापन गरिएको छ । कृषि सूचना प्रणालीमा कृषकलाई जोड्ने गरी अभियान सञ्चालन गर्ने गाउँपालिकाका अध्यक्ष राजु थापाले बताए । ‘कृषकको समय र पैसाको बचत गर्ने विषयमा गाउँपालिका सचेत छ’, उनले भने, ‘घरमै बसेर समस्या समाधान गर्न सक्नेगरी पहल गर्छौं ।’

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला दुई सय रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला एक लाख पाँच सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख सात सय रुपैयाँ तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख दुई सय रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन एक लाख रुपैयाँ थियो । त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार तीन सय ९० रुपैयाँ कायम रहेकोे महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार आठ सय तीन दशमलव ६९ डलर आसपासमा कारोबार भइरहेको छ ।