‘राष्ट्र बैंकको प्रभावकारी नियमनले बैंकिङ क्षेत्र पारदर्शी र स्थीर छ’
काठमाडौं । अर्थतन्त्रमा अहिले देखिएको जस्तो प्रतिकूल अवस्थामा उच्च अङ्कको आर्थिक वृद्धिदर हासिल गर्नका लागि संस्थागत सुशासन र सबल मानव पुँजी आवश्यक पर्ने बताइएको छ । मङ्गलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका प्रवक्ता डा.गुणाकर भट्टले अर्थतन्त्रलाई सही दिशा दिन संस्थागत सुशासनको सबैभन्दा ठूलो महत्व हुने बताए । विकासका लागि लगानीको आवश्यकता पर्ने र लगानीका लागि आन्तरिक वातावरण राम्रो हुनुपर्ने उनको भनाइ छ । ‘हामीले अपेक्षा गरेको आर्थिक वृद्धिदर हासिल गर्न पर्याप्त पुँजी, दक्ष श्रमशक्तिलगायत उत्पादनका तत्व आवश्यक पर्दछन्, त्यसका लागि संस्थागत सुशासन कायम गर्ने विषय सबैभन्दा महत्वपूर्ण हो,’ उनले भने । मानव पुँजी र संस्थागत क्षमता बलियो भएमा मात्र त्यसका सकारात्मक असर अर्थतन्त्रमा देखिने भट्टको भनाइ छ । खराब अवस्थामा पनि औसत आर्थिक वृद्धिदर हासिल भइरहेको दृष्टान्त दिँदै प्रवक्ता भट्टले उच्च वृद्धिदरका लागि यी क्षेत्रमा सुधार गरिनुपर्ने आवश्यकता औँल्याए । ‘सामान्य खालको वृद्धिदर स्वभाविकरुपमा देखिन्छ तर, उच्च आर्थिक वृद्धिदरका लागि हामीले के कति पहल गर्यौँ भन्ने कुरा महत्वपूर्ण हो,’ उनले भने । नेपालको बैंक तथा वित्तीय संस्थामा सुशासन कायम गर्न सकेकाले उनीहरूको प्रभावकारिता तुलनात्मक रुपमा बढी देखिएको पनि प्रवक्ता भट्टको भनाइ छ । ‘तुलनात्मक रुपमा बैंकिङ क्षेत्र पारदर्शी र स्थिर छ किनभने राष्ट्र बैंकको नियमन प्रभावकारी छ, बैंक तथा वित्तीय संस्थाले हरेक महिना तथ्याङ्क सार्वजनिक गर्छन् र ती तथ्याङ्क व्यवस्थापनका लागि विभिन्न मौद्रिक उपकरण पनि परिचालन गरिन्छन्,’ उनले भने । सरकारी संरचनाको आकार मात्रै ठूलो हुँदैमा नतिजा नदेखिने र त्यसका लागि संस्थागत सुशासन तथा जिम्मेवारीबोध आवश्यक पर्ने उनको भनाइ छ । पछिल्ला वर्षमा नेपालमा खाद्यान्न आयातको अवस्था अस्वभाविक देखिएको पनि भट्टको बुझाइ छ । कोभिड महामारीयताका वर्षहरुमा धान र चामलको अस्वभाविक आयात भएको उनको भनाइ छ ।
आहा ! रारा पोखरा गोल्डकपको तयारी पूरा, एक विदेशीसहित १० टोलीले प्रतिस्पर्धा गर्ने
काठमाडौं । सहारा क्लब पोखराको आयोजनामा यही पुस १४ देखि २३ गतेसम्म सञ्चालन हुने ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा गोल्डकप’ फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । ‘खेलकुद विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरका रुपमा स्थापित गरौँ’ भन्ने उद्देश्यका साथ क्लबको आयोजनामा २२ औँ संस्करणको सो फुटबल प्रतियोगिता पोखरा फुटबल रङ्गशालामा हुनेछ । प्रतियोगितामा एक विदेशीसहित १० टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने क्लबका अध्यक्ष हरिराम (सुरज) गुरुङले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लब र धरान एफसीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा साविक विजेता एपीएफ फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, धरान फुटबल क्लब, मनाङ मर्याङ्दी क्लब, मछिन्द्र फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, भुटनिज युथ स्पोट्र्स क्लब युएसए, नेपाल पुलिस क्लब, सङ्कटा क्लब र सहारा क्लब पोखराको सहभागिता हुनेछ । आयोजक सहाराले यस पटकको संस्करणमा पुरस्कार राशिमा वृद्धि गरेको छ । क्लबका महासचिव रामजीप्रसाद अधिकारीका अनुसार प्रतियोगिताको विजेताले १२ लाख रुपैयाँ र उपविजेताले ६ लाख रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान इलेक्ट्रिक स्कुटर तथा उत्कृष्ट, डिफेण्ड, गोलकिपर, फरवार्ड, मिडफिल्डर र प्रशिक्षकले जनही २५ हजारका दरले पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वाधिक गोलकर्ताले २५ हजार रुपैयाँ र हरेक खेलको ‘म्यान अफ द म्याच’ ले ८ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने महासचिव अधिकारीले बताए । प्रतियोगितामा बचत रकम क्लबबाट सञ्चालित सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिनेछ । हाल तेस्रो ब्याचको सो एकेडेमीमा १० जिल्लाका १३ बालकले आवासिय रुपमा फुटबल खेल्दै शिक्षा प्राप्त गरिरहेका छन् । सर्वोत्कृष्ट राष्ट्रिय खेलाडी पुरस्कार अनन्तलाई सहारा क्लबले विगतका वर्षहरूमा झैँ यस वर्ष पनि सर्वोत्कृष्ट राष्ट्रिय खेलाडी पुरस्कार प्रदान गर्ने भएको छ । यस वर्ष नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेण्डर अनन्त तामाङलाई सो पुरस्कार प्रदान गर्न लागिएको क्लबले जनाएको छ । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा नेपालको तर्फबाट सहभागी भएर देशका लागि उपाधिसहित राम्रो खेल प्रदर्शन गरेका आधारमा तामाङलाई पुरस्कार प्रदान गरिने क्लबका महासचिव अधिकारीले बताए । पुरस्कारको राशि ५० हजार ५ रुपैयाँ रहेको छ । गत वर्षका तुलनामा पुरस्कार राशिमा १५ हजार ५ रुपैयाँ थप गरिएको हो । यसअघि यस पुरस्कारबाट राष्ट्रिय फुटबल खेलाडीहरु भरत खवास, किरण चेम्जोङ, सुजल श्रेष्ठ, अभिषेक रिजाल र अन्जन विष्ट पुरस्कृत भइसक्नुभएको छ । प्रतियोगिताको उद्घाटन समारोहमा सो पुरस्कार प्रदान गरिने क्लबले जनाएको छ ।
पुस २७ गते ऐतिहासिक आँगनमा राष्ट्रनिर्माता सलामी अर्पण गरिने
गोरखा । गोरखा दरबार सङ्ग्रहालय परिसरमा रहेको ऐतिहासिक ‘ठूलो आँगन’ मा राष्ट्रिय एकता दिवसको अवसरमा झण्डोत्तोलन तथा बिगुलद्वारा विजय ध्वनिसहित राष्ट्रनिर्माता सलामी अर्पण थालनी गरिने भएको छ । गोरखा सदरमुकाम ठूलो आँगनमा नेपाल एकीकरणका अभियान्ता पृथ्वीनारायण शाहको सालिक, नेपालको राष्ट्रिय झण्डा र नक्सा राखेर राष्ट्र निर्माता सलामी अर्पण सुरु गरिने गोरखा नगरपालिका मेयर कृष्णबहादुर रानामगरले जानकारी दिए । सङ्ग्रहालय परिसरमा आज पत्रकार सम्मेलनको आयोजना गरी नगरप्रमुख रानामगरले पुस २७ गते राष्ट्रिय एकता दिवसको अवसरमा विजय ध्वनिसहित राष्ट्रनिर्माता सलामी अर्पणको थालनी गरिने बताए । समग्र गोरखाको पर्यटन प्रवद्र्धनका लागि ठूलो आँगनमा दैनिक बिहानको सूर्योदय र बेलुकीको सूर्योस्तको समयमा पृथ्वीनारायण शाह पालाका नेपाली सेनाको पेसाकमा सेनाको परेड खेल्ने र सलामी अर्पण गर्ने उनले बताए । ‘ठूलो आँगनमा पृथ्वीनारायण शाहको पालाका समयमा पनि तत्कालीन सेनाले हतियार प्रदर्शनसहित सेनाको परेड खेलाउने ठाउँको रुपमा ऐतिहासिक महत्व भएको ठाउँ हो,’ उनले भने, ‘सोही इतिहासको जर्गेना गर्न अबदेखि दैनिकरुपमा तत्कालीन सेनाको पोसाकमा नेपाली सेनाले विजय ध्वनिसहित राष्ट्र निर्माता सलामी अर्पण गर्नेछ ।’ उनले यसबाट राष्ट्र निर्माता सलामी हेर्नका लागिसमेत पर्यटक गोरखा आउने वातावरणको सिर्जना हुने बताए । बिहान आउने पर्यटक बेलुकीको सलामी हेर्न बास बस्न सक्ने र बेलुकी आउने पर्यटक बिहानको सलामी हेर्न सदरमुकाममा एकरात बस्ने अवस्थाको सिर्जना भएको उनको भनाइ छ । नगरप्रमुख रानामगरले यसबाट गोरखाको इतिहासको जर्गेना मात्र नभइ पर्यटनको प्रवद्र्धनसमेत हुने बताए । गोरखा नगरपालिकाको प्रस्तावमा नेपाली सेनाले गोरखाको इतिहासको जर्गेना गर्न राष्ट्र निर्माता सलामी अर्पणको थालनी गर्न लागेको उनले बताए । ‘ठूलो आँगनमा राखिने सालिक र त्यसले गर्ने पर्यटन प्रवद्र्धनले सिङ्गो गोरखाले फाइदा लिनसक्छ,’ उनले भने, ‘यसबाट गोरखाको समग्र पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने निश्चित छ ।’ उनले गोरखा नगरपालिकामा नै नेपाली सेनाबाट राष्ट्रिय निर्माता सलामीको थालनी गर्न पाउनु जिल्लाको लागि सौभाग्य भएको बताए । ‘अहिलेको सेना होइन ऐतिहासिक सेनाको पोसाक पनि ऐतिहासिक सेना हुने हो,’ उनले भने, ‘यसले गोरखाको इतिहासलाई विश्वास पु¥याएर गोरखाको पर्यटन क्षेत्रको विकास गर्न सकिन्छ ।’ नेपाल एकीकरणको इतिहासमा गोरखाको छुट्टै पहिचान रहेको भन्दै नगरप्रमुख रानामगरले इतिहासलाई जोगाउँदै त्यसको प्रचारप्रसार गरेर जिल्लाले फाइदा लिन सक्नुपर्ने बताए । ‘गोरखा इतिहासलाई पनि जगेर्ना गर्नुपर्नेछ,’ उनले भने, ‘ठूलो आँगनमा पृथ्वीनारायण शाहको सालिक राख्ने, झण्डा राखेर दैनिकरुपमा सलामी दिइन्छ ।’ पुस २७ गते राष्ट्रिय एकता दिवसको दिन देशभर हरेक वर्ष राष्ट्र निर्माता सलामी दिइन्छ । नेपाली सेना रिपुमद्र्धन गणका गणपति हेमराज विष्टले गोरखा झन ऐतिहासिक जिल्ला भएकाले नेपाल एकीकरणको उद्गमस्थलमा दैनिकरुपमा सलामी दिँदा झन् यसको छुट्टै महत्व हुने उनले बताए ।
धुलाबारी मावि बन्यो झापा जिल्लाकै उत्कृट विद्यालय
झापा । धुलाबारी माध्यमिक विद्यालयलाई प्रदेश नम्बर १ को सामाजिक विकास मन्त्रालयले झापाकै उत्कृष्ट विद्यालयको रुपमा छनोट गरेको छ । प्रदेशका १४ जिल्लाबाट एक/एक उत्कृष्ट विद्यालय छनोट गर्दा झापाको सो विद्यालय परेको हो । मन्त्रालयको मूल्याङ्कनका आधारमा धुलाबारी माविलाई उत्कृष्ट व्यवस्थापन भएको सामुदायिक विद्यालयको रुपमा छनोट गरी अनुदान दिने घोषणा गरिएको हो । मन्त्रालयको प्रशासन तथा शैक्षिक योजना महाशाखाले धुलाबारी माविलाई पत्रचार गरी अनुदानका लागि आवश्यक कागजात पेश गर्न आग्रह गरेको विद्यालयका प्रधानाध्यापक महेन्द्रविलास लुइँटेलले जानकारी दिए । उनका अनुसार विद्यालयले १४ लाख ५० हजार अनुदान प्राप्त गर्नेछ । अनुदानबापतको २० प्रतिशत रकम प्रोत्साहन कार्यक्रम र बाँकी ८० प्रतिशत रकम विद्यालयको प्रस्तावका आधारमा कार्य गर्ने गरी योजना तयार पार्न मन्त्रालयले निर्देशन दिएको उनको भनाइ छ । आगामी पुस १७ गतेभित्र पेश गर्नुपर्ने प्रस्तावनामा विद्यालयको विगत र वर्तमान अवस्था प्रष्ट हुने कागजात, विद्यालयको भौतिक अवस्था, कक्षागत विद्यार्थी तथा शिक्षकको विवरण, सम्झौताअनुसार निर्धारित समयमा काम सम्पन्न गर्ने विद्यालय व्यवस्थापन समितिको निर्णयको प्रतिलिपि लगायतका छन् । धुलाबारी मावि झापाकै पुराना विद्यालय हो । हाल यहाँ प्राविधिक शिक्षासँगै कक्षा १ देखि १२ सम्म अङ्ग्रेजी माध्यममा पढाइसमेत हुने गरेको छ । ‘हामीले गरेको कामको प्रदेश सरकारले सही मूल्याङ्कन गरेको छ’, प्रधानाध्यापक लुइँटेलले खुसी हुँदै भने, ‘अनुदान पाएको रकमलाई सही सदुपयोग गरेर अझ विद्यालय सुन्दर र व्यवस्थित बनाउनेछौँ ।’ रासस
चीनले ३१ महिनापछि खोल्यो रसुवागढी नाका
काठमाडौं । नेपाली वस्तु निर्यातको लागि चीनले ३१ महिनापछि रसुवागढी नाका खोलेको छ । लामो समयदेखि बन्द रहेको नाका चीनले मंगलबारदेखि खुला गरेको रसुवा भन्सार कार्यालयले जनाएको छ । चैत २०७६ मा नेपाल सरकारले कोभिड(१९ महामारीलाई मध्यनजर गर्दै नेपाल भित्रिने सबै नाका सिल गरेयता सो नाकाबाट नेपाली वस्तु निर्यात ठप्प थियो । यता सिन्धुपाल्चोकको तातोपानी नाका भने नेपाली वस्तु निर्यातका लागि अझै बन्द अवस्थामा छ ।
चीनमा कोरोना महामारी फेरि फैलिँदै
काठमाडौं । चीनको सिचुआन प्रान्तमा कोभिड–१९ का बिरामी बढेका छन् । सिचुआनमा गरिएको सर्वेक्षणमा ६० प्रतिशतभन्दा बढीले कोभिड–१९ को परीक्षण गराउँदा सकारात्मक परिणाम आएको बताएका छन् । सरकारी अधिकारीहरूले गरेको अनलाइन सर्वेक्षणमा १ लाख ५८ हजार ५ सयले भाग लिएका र भाग लिएका र ६३ प्रतिशतले आफ्नो परीक्षणको नतिजा सकारात्मक आएको बताए छन् । सिचुवान प्रान्तको जनसङ्ख्या ८३ लाख छ । यसैबीच, सिचुआन सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले कोभिडको परीक्षण नगरेका करिब ३० प्रतिशतले आफूलाई ज्वरो आएको र खोकी लागेको बताएकाले वास्तविक सङ्क्रमितको प्रतिशत बढी रहेको बताएको छ । यसै महिनाको प्रारम्भमा कोरोनाभाइरस नियन्त्रणमा सरकारले लचिलो नीति अपनाएपछि बिरामीको सङ्ख्या बढेको हो । कोभिडका बिरामी बढेसँगै ज्वरोको औषधि र ‘एन्टिजेन’ परीक्षण ‘किट’ पाउन कठिन भएको शानडोङ र युनान प्रान्तका केही भागमा तिको मूल्य बढेको छ । केही स्थानमा औषधिको अभाव भएको छ । साथै कोरोनाले चीनमा पुनः राष्ट्रव्यापी प्रकोपको रुप लिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
नेप्सेमा ५ कम्पनीको सेयरमूल्य समायोजन, कुनको कति ?
काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न ५ कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेमा सिद्धार्थ बैंक, नेपाल एसबिआई बैंक, लुम्बिनी विकास बैंक, बिन्ध्यबासिनी हाइड्रोपावर र राधी विद्युत् कम्पनीको सेयरमूल्य समायोजन भएको हो । यी ५ कम्पनीले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ बुधबार बुक क्लोज गर्ने निर्णय गरेसँगै नेप्सेमा सेयर मूल्य समायोजन भएको हो । बिन्ध्यबासिनी हाइड्रोपावर कम्पनीको ५ प्रतिशत बोनस सेयर सेयर मूल्यमा समायोजन भएको छ । नेप्सेले प्रतिकित्ता ३६५.७१ रूपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको छ । मंगलबार कम्पनीको सेयर प्रतिकित्ता ३८४ रुपैयाँमा कारोबार भएको थियो । यस्तै, लुम्बिनी विकास बैंकको ३ प्रतिशत बोनस सेयर सेयर मूल्यमा समायोजन भएको छ । नेप्सेले बैंकको प्रतिकित्ता ३३६.८९ रूपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको हो । मंगलबार बैंकको सेयर प्रतिकित्ता ३४७ रुपैयाँमा कारोबार भएको थियो । यस्तै, राधी विद्युत कम्पनीको ४.७५ प्रतिशत बोनस सेयर सेयर मूल्यमा समायोजन भएको छ । नेप्सेले कम्पनीको प्रतिकित्ता २११.९३ रूपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको हो । मंगलबार कम्पनीको सेयर प्रतिकित्ता २२२ रुपैयाँमा कारोबार भएको थियो । यस्तै, नेपाल एसबिआई बैंकको ३ प्रतिशत बोनस सेयर सेयर मूल्यमा समायोजन भएको छ । नेप्सेले बैंकको प्रतिकित्ता २८७.७७ रूपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको हो । मंगलबार बैंकको सेयर प्रतिकित्ता २९६.४० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, सिद्धार्थ बैंकको १२.५० प्रतिशत बोनस सेयर सेयर मूल्यमा समायोजन भएको छ । नेप्सेले बैंकको प्रतिकित्ता ३०१.३३ रूपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको हो । मंगलबार बैंकको सेयर प्रतिकित्ता ३३९ रुपैयाँमा कारोबार भएको थियो ।
नेपालको लागि फेसबुकको आधिकारिक विक्रेता तोकियो
काठमाडाैं । मेटाले एचटिटि पूल बाइ एल्फलाई नेपालमा आधिकारिक विक्रेताको रूपमा नियुक्त गरेको छ । यस नियुक्तिसँगै एचटिटि पूल बाइ एल्फले नेपालकाे विज्ञापनकर्ता तथा एजेन्सीलाई आफ्नो व्यापार विस्तार, आन्तरिक सहायता, रणनीतिक निर्देशनका साथै मेटाका अन्य प्रोडक्टहरूमा विशेषज्ञता प्रदान गर्नेछ । विश्वभर मेटाको सेल्स टिमको रूपमा मेटाका आधिकारिक विक्रेताहरूले प्रतिनिधित्व गर्छन् । मेटाको आधिकारिक बिक्रेता बन्नको लागि गरिएको चयन र स्वीकृति प्रक्रियाले नेपालमा विज्ञापनकर्ता तथा एजेन्सीहरूको लागि विश्वस्तरको सहायता सुनिश्चित गर्दछ । एल्फ, एचटिटिपूल बाइ एल्फको होल्डिङ कम्पनी, सन् २०१८ देखि आधिकारिक बिक्रेताको रूपमा आवद्ध भई मेटाको विकासका साथै विज्ञापनमा एजेन्सी तथा विज्ञापनकर्ताहरू र साना-मध्यम व्यवसायहरुलाई डिजिटल मार्केटिङमा मद्दत पुर्याउँदै आइरहेको छ । एल्फले अफ्रिका, मध्य पूर्वी यूरोप र एशिया-प्रशान्त क्षेत्र सहित विश्वका धेरै क्षेत्रहरूमा स्थानीय टोलीहरूसँग सक्रिय रूपमा काम गरिरहेको छ । फेसबुक® मेटा इन्कद्वारा दर्ता गरिएको ट्रेडमार्क हो ।