नेप्सेमा ५ कम्पनीको सेयरमूल्य समायोजन, कुनको कति ?
काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न ५ कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेमा सिद्धार्थ बैंक, नेपाल एसबिआई बैंक, लुम्बिनी विकास बैंक, बिन्ध्यबासिनी हाइड्रोपावर र राधी विद्युत् कम्पनीको सेयरमूल्य समायोजन भएको हो । यी ५ कम्पनीले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ बुधबार बुक क्लोज गर्ने निर्णय गरेसँगै नेप्सेमा सेयर मूल्य समायोजन भएको हो । बिन्ध्यबासिनी हाइड्रोपावर कम्पनीको ५ प्रतिशत बोनस सेयर सेयर मूल्यमा समायोजन भएको छ । नेप्सेले प्रतिकित्ता ३६५.७१ रूपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको छ । मंगलबार कम्पनीको सेयर प्रतिकित्ता ३८४ रुपैयाँमा कारोबार भएको थियो । यस्तै, लुम्बिनी विकास बैंकको ३ प्रतिशत बोनस सेयर सेयर मूल्यमा समायोजन भएको छ । नेप्सेले बैंकको प्रतिकित्ता ३३६.८९ रूपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको हो । मंगलबार बैंकको सेयर प्रतिकित्ता ३४७ रुपैयाँमा कारोबार भएको थियो । यस्तै, राधी विद्युत कम्पनीको ४.७५ प्रतिशत बोनस सेयर सेयर मूल्यमा समायोजन भएको छ । नेप्सेले कम्पनीको प्रतिकित्ता २११.९३ रूपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको हो । मंगलबार कम्पनीको सेयर प्रतिकित्ता २२२ रुपैयाँमा कारोबार भएको थियो । यस्तै, नेपाल एसबिआई बैंकको ३ प्रतिशत बोनस सेयर सेयर मूल्यमा समायोजन भएको छ । नेप्सेले बैंकको प्रतिकित्ता २८७.७७ रूपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको हो । मंगलबार बैंकको सेयर प्रतिकित्ता २९६.४० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, सिद्धार्थ बैंकको १२.५० प्रतिशत बोनस सेयर सेयर मूल्यमा समायोजन भएको छ । नेप्सेले बैंकको प्रतिकित्ता ३०१.३३ रूपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको हो । मंगलबार बैंकको सेयर प्रतिकित्ता ३३९ रुपैयाँमा कारोबार भएको थियो ।
नेपालको लागि फेसबुकको आधिकारिक विक्रेता तोकियो
काठमाडाैं । मेटाले एचटिटि पूल बाइ एल्फलाई नेपालमा आधिकारिक विक्रेताको रूपमा नियुक्त गरेको छ । यस नियुक्तिसँगै एचटिटि पूल बाइ एल्फले नेपालकाे विज्ञापनकर्ता तथा एजेन्सीलाई आफ्नो व्यापार विस्तार, आन्तरिक सहायता, रणनीतिक निर्देशनका साथै मेटाका अन्य प्रोडक्टहरूमा विशेषज्ञता प्रदान गर्नेछ । विश्वभर मेटाको सेल्स टिमको रूपमा मेटाका आधिकारिक विक्रेताहरूले प्रतिनिधित्व गर्छन् । मेटाको आधिकारिक बिक्रेता बन्नको लागि गरिएको चयन र स्वीकृति प्रक्रियाले नेपालमा विज्ञापनकर्ता तथा एजेन्सीहरूको लागि विश्वस्तरको सहायता सुनिश्चित गर्दछ । एल्फ, एचटिटिपूल बाइ एल्फको होल्डिङ कम्पनी, सन् २०१८ देखि आधिकारिक बिक्रेताको रूपमा आवद्ध भई मेटाको विकासका साथै विज्ञापनमा एजेन्सी तथा विज्ञापनकर्ताहरू र साना-मध्यम व्यवसायहरुलाई डिजिटल मार्केटिङमा मद्दत पुर्याउँदै आइरहेको छ । एल्फले अफ्रिका, मध्य पूर्वी यूरोप र एशिया-प्रशान्त क्षेत्र सहित विश्वका धेरै क्षेत्रहरूमा स्थानीय टोलीहरूसँग सक्रिय रूपमा काम गरिरहेको छ । फेसबुक® मेटा इन्कद्वारा दर्ता गरिएको ट्रेडमार्क हो ।
नेशनल लाईफको गोसाईकुण्ड हेली टुर सम्पन्न
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुका लागि पुस ७ गते देखी ९ गते सम्म ‘गोसाईकुण्ड हेली टुर’ कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि कम्पनीले संचालन गरेको मासिक अभिकर्ता योजना अन्तर्गत लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुलाई कम्पनीले काठमाण्डौ बुढानिलकण्ठबाट हेलिकप्टरमा गोसाईकुण्डको भ्रमण गराएको हो । भ्रमणमा जानु पूर्व कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले अभिकर्ताहरुलाई सफल भ्रमणको शुभकामना दिदै यस प्रकारको भ्रमणले अभिकर्ताहरुको मनोवल वृद्धि भई कम्पनीको व्यवसाय समेत प्रवद्र्धन हुने विश्वास व्यक्त गरे । देशै भरीबाट उत्कृष्ठ व्यवसाय गरी योजनामा छनौट भई भ्रमण कार्यक्रममा सहभागि हुन सफल करिब २०० जनालाई अथक परिश्रम र मेहनतको कदर गर्दै प्रमुख कार्यकारी अधिकृतले सम्मान पनि गरेका थिए । कार्यक्रममा सहभागि अभिकर्ताहरुले कम्पनीले आयोजना गर्ने यस प्रकारको भ्रमणले आफूहरु उत्प्रेरित भएको र यसबाट आफ्नो वृत्ति विकासमा सकरात्मक योगदान पु¥याउने विश्वास व्यक्त गरेका थिए ।
नेपाल आइपुग्याे केरुङ-काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने चिनियाँ टोली
काठमाडाैं । केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययनका लागि चिनियाँ प्राविधिक टोली मंगलबार काठमाडौं आइपुगेको छ । चाइना रेलवे फस्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युट ग्रुपको ६ जना प्राविधिक टोली आएका हुन् । रेल विभागले चिनियाँ प्राविधिक टोलीसँग छलफल बुधबार छलफल हुने जनाएकाे छ । यसअघि गरिएको पूर्वसम्भाव्यता अध्ययनमा प्रारम्भिक विषय मात्र आएका र अब हुने सम्भाव्यता अध्ययनबाट रेलमार्गको वास्तविक दूरी, सुरुङ, पुलको उचाइ, स्टेसनलगायत विषय टुंगिने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।
बिओकेले सुरु गर्यो क्लियरिङ्गका चेक मेसिनबाट जम्मा गर्ने सेवा
काठमाडौं । बैंक अफ काठमाडौंद्वारा क्लियरिङ्गका चेक मेसिनबाट जम्मा गर्ने सेवाको शुभारभ्भ गरेको छ । बैंकले ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैंक तथा वित्तीय संस्थाबाट भुक्तानी हुनेगरी खिचिएको क्लियरिङ्ग चेकहरु कियोस्क मेसिन मार्फत जम्मा गर्न सकिने सेवाको शुभारभ्भ गरेको हो । यस नयाँ सेवा मार्फत ग्राहकले बिना कुनै झन्झट सजिलैसँग मेसिनमा चेक जम्मा गर्न सक्नेछन् । ग्राहकले भौतिक रुपमा कुनै भौचर नभरिकन केबल आफ्नो जम्मा गर्नुपर्ने क्लियरिङ्गका चेकहरु मेसिनबाट सोझै आफ्नो खातामा जम्मा गर्न मिल्ने ब्यवस्था रहेको छ । बैंकले ग्राहकहरुले चेक जम्मा गर्ने मेसिनमा जम्मा गर्नुपर्ने खाता नम्बर, रकम, चेक जारी भएको मिति, चेक जम्मा गर्न सम्पर्क नम्बर तथा क्लियरिङ्ग सेसन लगायतका विवरणहरु राखे पश्चात् जम्मा गर्ने चेक स्क्यान गरी चेक जम्मा गर्न सक्नेछन् । उक्त चेक जम्मा भए पश्चात् चेक जम्मा भएको प्रमाणिकरणको लागि मेसिनबाट जारी हुने भौचर प्राप्त गरनेछन् । बैंकले उक्त सेवा हालको लागि आफ्नो मुख्य शाखा कार्यालय कमलादीमा सञ्चालन गरेको र यस सेवालाई निकट भविष्यमा देशभरका सम्पूर्ण शाखा कार्यालयहरुमा समेत विस्तार गर्ने छ । कियोस्क मेसिन मार्फत क्लियरिङ्ग चेक जम्मा गर्ने सेवाले चेक जम्मा गर्नको लागि भौतिक रुपमा भौचर भरी बैंकको चेक जम्मा गर्ने काउन्टरमा लाइन बसी चेकहरु जम्मा गर्नुपर्ने अवस्थाबाट ग्राहकहरुलाई छुटकारा मिल्ने विश्वास बैंकले जनाएकाे छ । बैंकले हाल १०४ शाखा कार्यालयहरु, ९४ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।
अमेरिकामा हिमआँधीमा परी ४९ जनाको मृत्यु
काठमाडौं । ‘शताब्दी कै विनासकारी हिमआँधी’ भनिएको आँधीबाट अमेरिकाका विभिन्न राज्यमा मृत्यु हुनेको सङ्ख्या ४९ पुगेको सोमबार न्यूयोर्कका आपतकालीन कर्मचारीहरूले जानकारी गराएका छन् । प्रभावित बासिन्दाहरूलाई उद्धार गर्ने कोसिस भइरहेको स्थानीय प्रशासनले जनाएको छ । ‘उत्तरपूर्वी अमेरिकाका केही भागहरूमा हिमआँधीको अवस्था कायमै रहेको छ, यो खराब मौसमको विनाशकारी यात्रापछिको जोखिमयुक्त अवशेष हो, आँधीले देशलाई धेरै दिनसम्म चीसोको सामना गर्न बाध्य पारेको छ,’ न्यूयोर्कका गभर्नर क्याथी होचुलले भने । ‘हिमआँधीका कारण व्यापक रूपमा बिजुली कटौती भएको छ, हजारौँको बाटौमा अलपत्र परेका छन् र ९ राज्यहरूमा कम्तिमा ४९ जनाको मृत्यु भएको छ,’ न्यूयोर्क प्रशासनद्वारा सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ । न्युयोर्क राज्यमा अधिकारीहरूले विशेष गरी बफेलोमा घन्टौंसम्मको हिमबर्षापछि, सवारी साधनको अवरूद्धता र हिउँको किनारमा शवहरू फेला परेको र आपतकालीन कर्मचारीहरू जीवित व्यक्तिहरूको खोजीमा ‘कारदेखि कारसम्म’ मा जाने डरलाग्दो अवस्थाको वर्णन गरेका छन् । तीव्र हिमआँधी, हावाहुरी र शून्यभन्दा कम तापक्रमका कारण हालैका दिनहरूमा १५ हजारभन्दा बढी अमेरिकी उडानहरू रद्द गरिएको ट्र्याकिङ, फ्लाइटवेयर डट कमले जनाएको छ । अमेरिकामा खराब जाडो मौसमको लागि अपरिचित नमानिने एरी काउन्टीको प्रसिद्ध शहर बफेलो सङ्कटपूर्ण अवस्थाको केन्द्रबिन्दुमा रहेको छ । शहरका धेरै भागमा ठूलो मात्रा तीन फिटसम्म हिउँले जमिनलाई ढाकेको छ । न्यूयोर्कका गभर्नर होचुलले मङ्गलबार पत्रकारसँगको कुराकानीमा भने, ‘निश्चित रूपमा यो शताब्दीको विनाशकारी हिमआँधी हो, न्युयोर्कका केही शहरमा रातभर ३० देखि ४० इन्च (०.७५ देखि १ मिटर) सम्म हिउँ जमेको छ ।’ विनाशकारी हिमआँधीपछि ह्वाइट हाउसले विज्ञप्ति जारी गर्दै होचुलले राष्ट्रपति जो बाइडेनसँग कुरा गरेको जनाएको छ । साथै न्यूयोर्क राज्यलाई सहयोग गर्न आग्रह गरे । बाइडेनले प्रभावित राज्यका लागि आपतकालीन सहयोगको घोषणालाई पनि अनुमोदन गरेको ह्वाइट हाउसले जनाएको छ ।
संघीय संसद्को अधिवेशन पुस २५ गतेका लागि आह्वान
काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुस २५ गतेका लागि संघीय संसद् अधिवेशन आह्वान गरेकी छन् । पुस २५ गते सोमबार दिउँसो १ बजेका लागि संसद् भवनमा संघीय संसद्को अधिवेशन आह्वान गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । मंसिर ४ गते भएको निर्वाचनपछि प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक पहिलो पटक बस्न लागेको हो । यसपटक प्रतिनिधिसभामा १२ राजनीतिक दल र ४ स्वतन्त्र सांसदको प्रतिनिधित्व रहने छन् ।
सीमा क्षेत्रमा अवैध आयात र व्यापारमा कडाइ गर्न महासंघको आग्रह
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले मेला महोत्सवको आवश्यक सहयोगको व्यवस्था मिलाउन गृहमन्त्रीलाई आग्रह गरेको छ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई भेटेर नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी प्रतिनिधिमण्डलले जिल्लामा हुने औद्योगिक व्यापारिक मेला महोत्सवको आयोजना उद्योग वाणिज्य संघहरूले गर्नका लागि सहयोग गर्न आग्रह गरेको हो । महासंघका अध्यक्ष गोल्छाले मुुलुकको उद्योग व्यवसाय र अर्थतन्त्रका विविध पक्षमाथि व्रिफिङ गरेका थिए । ‘महासंघ तथा जिल्ला/नगर उद्योग वाणिज्य संघ, वस्तुुगत संघका पदाधिकारी एवं कार्य समितिका सदस्य उद्योगी व्यवसायीको मर्यादाक्रमको उचित प्रवन्धका लागि अनुरोध छ, सिमाक्षेत्रबाट हुने अवैध आयात/व्यापार नियन्त्रणमा कडाइ गर्न आग्रह छ, शान्ति सुरक्षा कायम गर्नु पर्याे,’ उनले भने । गृहमन्त्री लामिछानेले देशका लागि अर्थतन्त्र, उद्योग व्यवसायको महत्वलाई आफूले राम्रोसँग मनन गरेको बताएका छन् । महासंघले राखेका सुुझावलाई आफूले गम्भीरतापूर्वक अध्ययन गरी कार्यान्वयनमा ल्याउने उनले बताए ।