जसपाले आज संसदीय दलको नेता चयन गर्ने
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज आफ्नो संसदीय दलको नेता चयन गर्ने भएको छ । जसपा संसदीय दलको नेता चयनका लागि निर्वाचन कार्यतालिकाअनुसार आज बिहान ११ देखि १२ बजेसम्म मनोनयन दर्ता हुने र अन्य प्रक्रिया पूरा गरेर अपराह्न २ देखि ३ः३० बजेसम्म मतदान हुने जसपा संसदीय दलको कार्यालयले जनाएको छ । मतदान सकिएलगत्तै परिणाम सार्वजनिक गर्ने जनाइएको छ । प्रतिनिधिसभामा जसपाका १२ सांसद रहेका छन् । अध्यक्ष उपेन्द्र यादव गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा चुनावमा पराजित भएपछि दलको नेताका रुपमा सङ्घीय परिषद् अध्यक्ष अशोक राई र राजकिशोर यादवको दाबी रहेको छ । जसपाले सरकारमा सहभागी हुने वा नहुने भन्नेबारे राजनीतिक समितिको बैठकपछि मात्र निर्णय गर्ने जनाएको छ । यही पुस १८ र १९ गते राजनीतिक समितिको बैठकपछि मात्रै सो विषयमा निर्णय हुने जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
नेपालमै पहिलो अन्तराष्ट्रिय गायन तथा नृत्य रियालिटी शो हुँदै, विजेताले एक करोड पाउने
काठमाडौं । नेपालमा पहिलो अन्तराष्ट्रिय रियालिटी शो मेरो भ्वाईस यूनिभर्स र मेरो डान्स यूनिभर्सको आयोजना हुने भएको छ । इन्ट्रा नेशनल एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा नेपालकै पहिलो अन्तराष्ट्रिय रियालिटी शो मेरो भ्वाईस यूनिभर्स र मेरो डान्स यूनिभर्सको आयोजना हुने भएको हाे । यो शोमा सहभागी हुन चाहने विश्वभरका नेपाली भाषीहरुले इन्ट्रा फाउनडेशनको एप डाउनलोड गरेर रजिष्टर गर्न सक्ने फाउनडेशनका अध्यक्ष डिल्ली अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार मेरो भ्वाईस यूनिभर्सको निर्णायक मण्डलमा सुरेश अधिकारी, शिव परिवार, अन्जु पन्त, सुजाता वर्मा, पुष्पन प्रधान, जस्ता वरिष्ठ गायकहरु समावेश छन् । त्यस्तै डान्स यूनिभर्सको निर्णायकमा मिथिला शर्मा, दिलीप रायमाझी, शंकर बि.सी, केकी अधिकारी, प्रियंका कार्की, र नरमन राई छन् । यि शोहरु एलिन श्रेष्ठले निर्देशन गर्ने भएका छन् । उनले यस अघि राष्ट्रिय तथा अन्तराष्ट्रिय रियालिटी शोहरु निर्देशन गरिसकेका छन् । जस्तै नेपाल आईडल, बूगी—बुगी नेपाल लोक स्टार, सारेगमपा लिल च्याम्पको निर्देशन गरिसकेका छन् । मेरो भ्वाईस यूनिभर्सका विजेताले एक करोड पाउनेछन् । क्रमश दोस्रो हुनेले ३० लाख तेस्रो हुनेले २० लाख पुरस्कार पाउनेछन् । डान्स तर्फ क्रमश एक करोड, ३० लाख, र २० लाख पाउनेछन् । फाउन्डेशनले नेपाल बाहेक म्यानमार, थाईल्याण्ड भुटान, भारत, अष्टेलिया, अमेरिका, क्यानडा, लगायत युरेपेली देशहरुबाट पनि नेपाली भाषीहरुको बृहत सहभागिताको अपेक्षा राखेका छन् । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका, संयुक्त राज्य अमेरिका र नेपालमा दर्ता भएको एक संस्था हो जस्ले नेपाली संस्कृतिलाई विश्वभर प्रवर्द्धन गर्ने काम गर्छ । फाउन्डेसनले नेपालका विभिन्न शरणार्थी शिविरमा रहेका भुटानी शरणार्थीहरूको जीवनशैलीलाई उकास्न सक्रिय रूपमा काम गरिरहेको छ । यी शिविरहरुमा फाउन्डेसनले ज्येष्ठ नागरिक भत्ता, शिक्षा, खानेपानी र खेलकुद जस्ता क्षेत्रहरुमा सहयोग गर्दै आएको छ ।
सगरमाथा इन्स्योरेन्सकी संचालक शोभा श्रेष्ठले दिइन् राजीनामा
काठमाडाैं । सगरमाथा इन्स्योरेन्सकी संचालक समिति सदस्य शाेभा श्रेष्ठले राजीनामा दिएकी छिन् । स्वतन्त्र संचालक रहेकी श्रेष्ठले व्यक्तिगत कारण देखाई संचालक समिति सदस्यबाट राजीनामा दिएकी हुन् । कम्पनीकाे पुस ५ गते बसेकाे बैठकले श्रेष्ठकाे राजिनामा पुस ६ गतेदेखि लागु हुने गरी स्वीकृत गरेकाे छ ।
एनआईबिएल ग्रोथ फण्डमा आकर्षण बढ्दो, ५०% भन्दा बढीको लागि पर्यो आवेदन
काठमाडौं । एनआईबिएल ग्रोथ फण्डमा आकर्षण बढ्दो देखिएको छ । चौथो दिनमा नै कुल निष्कानशको ५० प्रतिशतभन्दा बढी इकाईको लागि आवेदन परेको हाे । ‘एनआईबिएल म्युचुअल फण्ड’ अन्तर्गत संचालन हुने पाँचौ योजना ‘एनआईबिएल ग्रोथ फण्ड’ पुस ७ गते बाट सार्वजनिक निश्काशनमा रहेको छ । योजनाको सार्वजनिक निष्काशन पुस २१ गतेसम्म रहनेछ । यस अघि निष्काशित अन्य समुहिक लगानी कोष योजनाहरुको तुलनामा यस योजनामा लगानीकर्ताहरु उत्साहपूर्वक सहभागिता बढ्दै गईरहेको र शेयर बजारमा आएको सिथिलताको बाबजुद सार्वजनिक निष्काशनको चौथो कार्यदिन दिन सम्ममा यस योजनाको कुल १६ करोड इकाई मध्ये ५० प्रतिशत भन्दा बढी, ८.६३ करोड इकाईको लगी आवेदन प्राप्त भईसकेको जनाएको छ । यस योजनामा लगानीकर्ताहरूले न्यूनतम १०० र अधिकतम १ करोड ६० लाख इकाईको लागि आवेदन दिन सक्नेछन् । ईच्छुक लगानीकर्ताहरुले (व्यक्ति तथा संस्था) यस योजनामा न्यूनतम १ हजार देखि अधिकतम १६ करोड सम्म लगानी गर्न सक्नेछन् । लगानीकर्ताहरुले आफ्नो सी–आश्वा खाता रहेको बैंक वा मेरो शेयरमा लगईन गरी अनलाईन आवेदन दिन सक्नेछन् । यस योजनाको समयावधि १० वर्षको रहेको छ । यो हाल सम्मकै सबैभन्दा ठुलो म्युचुअल फण्ड योजनाको सार्वजनिक निष्काशन समेत रहेको छ । योजनाको अवधि भर यस योजनाले बार्षिक प्रतिफलको रुपमा २०.२५ प्रतिशत प्रतिफल आफ्ना इकाईधनीहरुलाई दिन सक्ने प्रक्षेपण समेत गरेको छ ।
चलचित्र ‘ह्रस्य दीर्घ’बाट पुनरागमन गर्दै नायिका विपना थापा
काठमाडौं । भारतको मथुरामा घरजम गरेर उतै व्यस्त रहेकी अभिनेत्री विपना थापाले नेपाली चलचित्रमा पुनरागमन गर्ने भएकी छिन् । अभिनेत्री नीता ढुङ्गानाले निर्माण गर्ने चलचित्र ‘ह्स्व दीर्घ’मा उनले अभिनय गर्ने तय भएको छ । चलचित्र निर्माण टोलीले अभिनेत्री थापालाई चलचित्रसँग पुनः जोड्न पाउँदा खुसी लागेको जनाएको छ । ‘हामीले प्रस्ताव गर्दा नायिका थापा चलचित्रमा अभिनय गर्न तयार भएकी छिन् । कथाको काम सकिएसँगै छिट्टै छायाङ्कन थाल्छौँ’, निर्मात्री ढुङ्गानाले भनिन् । चलचित्र ‘अपहरण’बाट अभिनय थालेकी नायिका थापा ‘जन्मभूमि’ मार्फत स्थापित भएकी थिइन् । झण्डै ७० वटा चलचित्रमा अभिनय गरेकी नायिका थापाले पछिल्लो पटक २०६७ सालमा चलचित्र ‘सङ्घर्ष जिन्दगीको’ मा अभिनय गरेकी थिइन् । चन्द्र पन्तको निर्देशन रहने चलचित्र ‘ह्स्व दीर्घ’मा कलाकार ब्रह्मानन्दम, प्रदीपरामसिंह रावत, सुनिल कुमारलगायतको समेत अभिनय रहनेछ । ‘विश्वभर प्रदर्शन गर्न लायक बनाउन हामीले केही भारतीय र नेपाली कलाकारलाई साथमा लिएर चलचित्र बनाउँदै छौँ । यसमा भारतीय प्राविधिकसमेत रहनेछन्’, निर्देशक पन्तले भने । रासस
तोलामा ४ सयले बढ्यो सुनको मूल्य
काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला ४ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला १ लाख ११ सय रुपैयाँ तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ६ सय रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन १ लाख २ सय रुपैयाँ थियो । त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय रुपैयाँ कायम रहेकोे महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार आठ सय ११ दशमलव छ अमेरिकन डलर आसपासमा कारोबार भइरहेको जनाइएको छ ।
पुस १९ गतेसम्म शिवम् सिमेन्टको सेयर किन्नेले १०.५३ लाभांश पाउने
काठमाडौ । शिवम् सिमेन्टले वार्षिक साधारण सभाको लागि बुक क्लोज मिति तोकेको छ । कम्पनीले सातौ वार्षिक साधारण सभाको लागि पुस २० गते एकदिनको बुक क्लोज मिति तोकको छ । यसको अर्थ पुस १९ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा शिवम्को सेयरधनीको रुपमा रहेकाले मात्र कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनुको साथै साधारण सभामा भाग लिन पाउनेछन् । कम्पनीले आर्थिक वरष २०७८/७९ को नाफाबाट सेयरधनीलाई १०.५३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
संसद अधिवेशनका लागि तयार छौँ : संसद सचिवालय
काठमाडौं । संघीय संसद सचिवालयले संसदको अधिवेशनका लागि आफू तयार रहेको बताएको छ । संघीय संसद सचिवालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी दशरथ धमलाले सबै दलको संसदीय दलको कार्यालय व्यवस्थापन भइसकेको र सबै तयारी समेत पूरा भइसकेको बताएका हुन् । सहायक प्रवक्ता धमलाले सभा सञ्चालनका लागि आवश्यक प्राविधिक, व्यवस्थापकीय, प्रशासनिक कुराहरु सकिएको बताए । सरकारले पुस २५ गते दिउँसो १ बजे संसद अधिवेशन आह्वान गरेको छ । उनले संसदका पदाधिकारीहरुलाई दिइने सवारी साधनको भने अभाव रहेको बताए । सचिवालयसँग स्रोत नभएको भन्दै उनले अर्थ मन्त्रालयसँग पटक–पटक स्रोत माग्दापनि उपलब्ध हुन नसकेको गुनासो गरे । उनले भने, ‘अधिवेशन आह्वान हुन्छ भन्नेमा तयारी अवस्थामा छौँ । संसदीय दलका कार्यालयको व्यवस्थापन भइसकेको छ । सभा सञ्चालनका लागि आवश्यक प्राविधिक, व्यवस्थापकिय, प्रशासनिक दृष्टिकोणले हेर्ने सम्पूर्ण कुराहरु सकिएको छ । गर्नुपर्ने तयारी प्रायः सकिसकेका छौँ ।’ सहायक प्रवक्ता धमलाले संघीय संसद सचिवालयमा स्रोतको अभाव हुँदापनि सरकार र अर्थ मन्त्रालय नजरअन्दाज गरेर बसेको आरोप लगाए ।