विकासन्युज

चोरीको मोटरसाइकल सहित बौद्धबाट २ जना पक्राउ

काठमाडौं । चोरीको मोटरसाइकल सहित काठमाडौंको बौद्धबाट मंगलबार २ जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको झुरझुरे गाँउपालिका ४ घर भइ हाल काठमाडौंको जोरपाटी बस्दै आएका २३ वर्षीय करण बोम्जन र मकवानपुरको बागमती गाँउपालिका ४ घर भइ हाल काठमाडौं को गोठाटार बस्दै आएका २६ वर्षीय नविन लोप्चन रहेका छन् । वास्तविक नम्बर प्लेट प्रदेश ३-०२-००९ प ४९ ०९ लाई परिवर्तन गरी बागमती प्रदेश ०२-०२१ प ८३ ८८ नम्बर राखी चलाइरहेको अवस्थामा मोटरसाइकल सहित दुवैजनालाई आज ट्राफिक प्रहरीले पक्राउ गरेको हो । काठमाडौंको जोरपाटीबाट हराएको उक्त २०० सिसिको पल्सर मोटरसाइकल कमल श्रेष्ठको नाममा दर्ता रहेको अनुसन्धानबाट खुल्न आएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए । मोटरसाइकल सहित पक्राउ परेका दुवैजनालाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागी प्रहरी वृत्त बौद्ध पठाइएको छ । हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुदै आएको तर स्वयं सवारी धनी पनि बिशेष चनाखोका साथै सजक हुनुपर्ने र सवारी चालक थप जिम्मेवार बनि सुरक्षित स्थानमा मात्र पार्किङ गर्न, अतिरिक्त लक तथा सुरक्षाका उपायहरुको समेत प्रयोग गर्न प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले अनुरोध गरे । सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।

टाटाको मेगा सर्भिस क्याम्प सम्पन्न, हजार बढी ग्राहकको सहभागिता

काठमाडौं । टाटा मोटरसको सर्भिस क्याम्प सम्पन्न भएको छ । देशका विभिन्न १२ वटा ग्राहक सेवा केन्द्रहरुमा पुस १० देखि १२ सम्म सफलतापूर्वक क्याम्प सञ्चालन भएको कम्पनीले जनाएको हाे । काठमाडौं उपत्यकाका बागडोल, बालकुमारी र सोल्टीमोड सेवा केन्द्रमा क्याम्पस सञ्चालन भएको थियो भने उपत्यका बाहिरका ९  स्थानका सेवा केन्द्रहरुमा क्याम्प सञ्चालन भएको कम्पनीले जनाएको छ । काठमाडौं उपत्यकाबाहिर पोखरा, इटहरी, मेची, वीरगञ्ज , ढल्केबार, हेटौंडा, सर्रा, धनगढी र  नेपालगञ्जका सेवाकेन्द्रमा क्याम्प सञ्चालन भएको कम्पनीले जनाएको छ  । यस तीन दिने क्याम्पमा  टाटाका  ९५५ वटा  ‘पेसेन्जर’ श्रेणीका गाडीहरुको अत्यन्त प्रभावकारी ढंगले परीक्षण एवं मर्मत सम्भार गरिएको कम्पनीले जनाएको छ । यस क्रममा १ हजार ५३३ जना ग्राहकको सहभागिता रहेको थियो ।  गाडी परीक्षण गराउने ग्राहकहरुले विभिन्न आकर्षक छुट एवं अन्य सुविधाहरु प्राप्त गरेका थिए । म्याक लुब्रिकेन्ट, एक्साइड ब्याट्री र स्पेयर पार्ट्सको खरिदमा क्रमश:  १८, १५ र १८  प्रतिशत छुट लगायत टप वासिङ, कम्प्युटर डायग्नोसिस, सस्पेन्सन चेक-अप, ब्याट्री र इलेक्ट्रिकल चेक-अपको सुविधा पनि नि: शुल्क प्रदान गरिएको कम्पनीले जनाएको छ  । यसको अतिरिक्त यस क्याम्पमा संजीवनी इन्जिन प्याकेज अन्तर्गतको ४ हजार रुपैयाँ नगद फिर्ताको पनि व्यवस्था थियो । कम्पनीका अनुसार पछिल्लो समय नेपालमा टाटाका पेसेन्जर श्रेणीका गाडीहरु बजारमा द्रुत गतिमा विस्तार भइरहेको छ ।

लाहुरेको सहर पोखरामा गुञ्जियो ‘नैनताल’

  गण्डकी । ‘नैन ताल घुमी आयो रेल आँखामा लाउने कालो गाजल बुलबुलेमा तेल…’ भनिन्छ, पोखरा ‘लाहुरेको सहर’ हो । मध्यसहरमा मङ्गलबार साँझ लाहुरेकै गीत गुञ्जियो, ‘नैनताल’ । जसले गोर्खाहरूको कथा भन्छ । गोर्खा सैनिकका दुःखवेदनाबाट जन्मेको गीतलाई नेपथ्यका गायक अमृत गुरुङले पोखरेलीमाझ सुनाए । प्रदर्शनी केन्द्रमा ठेलमठेल दर्शकबीच गुरुङले झण्डै तीन घण्टा गायकीको जादु चलाए । ‘मानवता लागि साङ्गीतिक यात्रा’मा निस्केको नेपथ्य टोलीले मानवसेवा आश्रमका लागि आफ्नो ‘लाइभ कन्सर्ट’ समर्पित गरेको थियो । सधैँझैँ जिन्सको पहिरनमा उस्तै उर्जा, शैली र हाउभाउमा प्रस्तुत भएका गायक गुरुङले अन्तिमसम्मै दर्शकलाई कन्सर्टमा रोक्न सफल भए । उनले गीत आफैँमात्र गाएनन्, दर्शकलाई पनि गला मिलाउन बाध्य तुल्याए । ताली र वाहीवाहीसँगै दर्शकले नाचेर पनि साथ दिए । मानवसेवा आश्रमको भवन निर्माण सहयोर्ग नेपथ्यलाई जोड्न पाएकामा गायक गुरुङले आफूहरूलाई धन्य ठाने । ‘सहयोगापेक्षी सडक मानवमुक्त नेपाल’ बनाउने अभियानमा सबैलाई हातेमालो गर्न उनले अनुनय गरे । “यस्तो सुन्दर ठाउँमा जन्मन पाएकामा आमा तिम्रो कोखलाई धन्यवाद’ भनेका गुरुङले हरेकले एकपटक देश दर्शनमा जानुपर्ने उल्लेख गरे । गीतको खोज र सङ्कलनकै क्रममा धवलागिरि क्षेत्रमा हिमाल–पहाड चहारेका उनले गीतबाटै दर्शकलाई पनि उतै लगे । ‘तकसेरा झरौँला, डम्चनमा बसौँला ढोरपाटनमा घरजम गरौँला शिरफूल शिरैमा, वनफूल वनैमा हिउँको फूल धौलाश्रीमा…’ तक्सेरा रुकुमपूर्व पर्छ भने र ढोरपाटन बागलुङमा । गीतमा उल्लेख ‘धौलाश्री…’ म्याग्दीको हिमाल हो । हिमाल, पहाड, तराई जहाँ गयो त्यहीँको ठाउँले आफूलाई लोभ्याउने गरेको सुनाएका गुरुङ गीतमार्फत् एकैछिनमा पूर्व पुगे । ‘कोसीको पानी यो जिन्दगानी सललल जाइजाने हौ हजुर आमाको कोखमा बासमात्रै लिएँ नि कुन देशको मरण हौ हजुर…’ एकातिर गीत र अर्कातिर बीचबीचमा सन्देशप्रद विचार राखेर गुरुङले दर्शकको मन जितिरहे । राजनीतिज्ञ र प्रशासकलाई उनले आग्रह गरे– ‘युवालाई विदेश पयालयन हुनबाट रोकौँ, रोजगार सिर्जना गरेर यहीँ काम दिऔँ ।’ गुरुङले कोही पनि नेपाली रोजरोटीका लागि विदेश जान नपरोस् भनेर काम गरे । गुरुङले नेपथ्यका चर्चित गीत ‘रेशम’ ‘तालको पानी’, ‘जोगले हुन्छ’, ‘जोमसोमे बजार’, मै ‘नाचे छम्छमी’लगायत गाए । उनलाई ड्रमसेटमा धु्रव लामा, किबोर्डमा सुरज थापा, गितारमा निरज गुरुङ, बेस गितारमा सुविन शाक्य र मादलमा शान्ति रायमाझीले साथ दिएका थिए । बत्तीस वर्षअघि जन्मेको नेपथ्य देश–विदेशमा प्रसिद्धि कमाएको लोक रक ब्याण्ड हो । ब्याण्डले यसपालि मानवसेवा आश्रमको आयोजनामा देशमा प्रमुख सहरमा लाइभ कन्सर्ट गरिरहेको छ । पोखरामा पनि आश्रमकै भवन निर्माणमा सहयोग जुटाउने उद्देश्यले कन्सर्ट राखिएको हो । पोखरा महानगरपालिका–२५ हेम्जामा आश्रमको भवन निर्माणाधीन अवस्थामा छ । रु १० करोड लाग्ने सो भवनका लागि बजेट अभाव भएपछि आश्रम व्यवस्थापनले नेपथ्यसँग मिलेर साङ्गीतिक अभियानको जुक्ति निकालेको थियो । त्यसकै लागि टिकट किनेर सयौँ दर्शकहरू कन्सर्टमा पुगेका थिए । मानवता प्रवद्र्धन महाअभियामा लागेको आश्रमले सरकारसँग मिलेर सडक मानवमुक्त देश घोषणा गर्ने लक्ष्य लिएको छ । सोही उद्देश्यका लागि विभिन्न जिल्लामा अहिले आश्रमका भवन बनिरहेका छन् । प्रदेश राजधानी पोखरासँगै बागलुङमा पनि आश्रमको भवन निर्माणाधीन अवस्थामा छ ।

सङ्कटमा प्रकृतिका कुचीकार–गिद्ध : पर्यावरणका लागि खतरा

लुम्बिनी । चौपायाको सिनो फाल्ने ठाउँमा झुण्डका झुण्ड देखिने गिद्ध अहिले हराएका छन् । दश–पन्ध्र वर्ष पहिलेसम्म अग्ला सिमलका रुख तथा गाउँघर नजिकै मृत चौपायाको सिनो फाल्ने ठाउँतिर प्रकृतिका कुचीकार उपनामले परिचित गिद्धको बास हुन्थ्यो । मानवीय सचेतनासँगै जथाभावी फालिने चौपायाको सिनोलाई गाड्ने तथा व्यवस्थितरूपमा राख्न थालिएपछि आहारा अपुग भई गिद्ध देखिन छाडेको लुम्बिनी सांस्कृतिक नगरपालिका–९ महिलवारका चराप्रेमी भोला गुप्ताले बताए । जैविक विविधता र पर्यावरणका लागि अत्यन्तै महत्वपूर्ण मानिने लोपोन्मुख पक्षी हो, गिद्ध । चुच्चो, नाङ्गो तथा लामो गर्धन देख्दा घिनलाग्दो र भद्दा जिउडाल रहे पनि यो पर्यावरणका लागि ठूलै भूमिका भएको पक्षी हो । यसको ठूलो धार्मिक महत्व पनि छ । गिद्धले जनावरको सिनो र फालेको मासुजन्य फोहर पदार्थ खाएर वातावरणलाई प्रदूषणमुक्त, दुर्गन्धमुक्त तथा रोगमुक्त बनाउन भूमिका खेलेको हुन्छ । गिद्ध आफैँले सिकार गर्दैन । यसले मरेका जनावरका मासु (सिनो) खाने गर्दछ । गिद्धले सिनो खाई हाम्रो वातावरण प्रदूषित, दुर्गन्धित र रोगमुक्त बनाउन मद्दत गर्छ । यो पर्यावरणीय चक्र, सनातन खाद्य शृङ्खलाको सन्तुलन र गतिशीलताको संवाहक पनि हो । ‘केही वर्ष पहिला गिद्ध सिनो फालेको आधा घण्टाभित्रै पुगी सफा गर्दथे’, गुप्ताले भने, ‘अचेल गिद्ध नआउँदा गाउँ नै दुर्गन्धित हुने गरेको छ ।’ सिनोलाई कुकुर–स्यालले चिथोर्ने गर्दा वातावरण झनै दुर्गन्धित हुने गरेको उनको भनाइ छ । समयमा सिनो सफा नभए कुकुर, काग, स्याल र मुसाको सङ्ख्यामा वृद्धि हुन्छ । फलस्वरुप मानिसमा हैजा, आउँ, झाडापखाला, रेविज, प्लेगजस्ता रोगका साथै चौपायामा एन्थ्रक्स, ब्रुसेलोसिस र टिबीजस्ता रोगको सङ्क्रमणले महामारीको रूप लिन सक्छ । पर्यावरणीय सुरक्षाका लागि उपयोगी गिद्धको सङ्ख्या कम हुनु चिन्ताको विषय भएको हिन्दू परिषद् नेपालका प्रवक्ता तथा लुम्बिनी सांस्कृतिक नगरपालिका–३ का पण्डित ओमकार पाण्डेले बताए । उनले भने, ‘गिद्धको सेवा र संरक्षण हाम्रो दायित्व हो । त्रेतायुगमा सीता हरण हुँदाको दुःखदायी समयमा जटायु र सम्पाती नामक गिद्धले भगवान रामलाई सहयोग गर्नुभएको थियो’, उनले भने, ‘गिद्ध पर्यावरणको शुद्धीका साथै प्राणीमात्रका लागि पूजनीय छ ।’ धार्मिक र सांस्कृतिक आस्थासँग पनि जोडिने गिद्धलाई शनिदेवताको वाहनका रूपमा पुजिन्छ । नेपालको माथिल्लो हिमाली क्षेत्रमा बस्ने लामा समुदायले गिद्धलाई मृतकको आत्मालाई स्वर्ग पुर्‍याउने दूतका रूपमा पुज्ने गर्छन् । नेपाल, भारत र पाकिस्तानमा गरिएको विस्तृत अनुसन्धानबाट गिद्धको सङ्ख्यामा ह्रास आउनुको मुख्य कारण नन्–स्टेरोइडल एन्टी–इन्फ्लेमेटरी औषधि डाइक्लोफेनेक भएको पशु चिकित्सक अशोक भण्डारीले बताए । ‘धेरै प्रकारका दुःखाइ र सुन्निने अवस्थामा औषधिको रूपमा मानिस र पशु दुवैमा डाइक्लोफेनेक औषधिको प्रयोग गरिन्छ’, उनले भने, ‘डाइक्लोफेनेक प्रयोग गरी उपचार गरिएका गाईवस्तुको सिनो गिद्धले खाँदा त्यसको असरका कारण मिर्गौलाले काम नगर्ने भई उनीहरू मर्ने गरेको पाइएको छ ।’ डा भण्डारीले भने, ‘पछिल्लो अनुसन्धानले फ्लुनिक्सिन, कारप्रोफेन, निमुसुलाइड, एसिक्लोफनेक, किटोप्रोफेन र फिनाइबुटाजोनलगायत औषधि गिद्धका लागि विषाक्त मानिएको छ ।’ यो औषधि गिद्धका लागि हितकर नभएको उनले बताए । त्यसको विकल्पमा गिद्ध, अरु चराचुरुङ्गी र वन्यजन्तुमा असर नगर्ने मेलोक्सिक्याम र पछिल्लो समयमा उत्पादन गरिएको टोल्फेनामिक एसिड सुरक्षित मानिएको डा भण्डारीले बताए । सरकारले २०६३ जेठ २३ गतेदेखि पशु उपचारमा डाइक्लोफेनेकको प्रयोग, उत्पादन, आयात र बिक्रीमा प्रतिबन्ध लगाएको छ । मानिसले अन्य जनावरलाई लक्षित गरी सिनोमा विष राख्दा तथा अवैज्ञानिक ढङ्गबाट विस्तार गरिएका विद्युतीय तार आदिले पनि सानो सङ्ख्यामा जीवित रहेका ठूलो कदका गिद्धलाई सङ्कटमा पारेको छ । पक्षीविद् भूपाल नेपालीले पर्यावरणीय सुरक्षाका लागि गिद्धको संरक्षण गर्न आवश्यक रहेकोे बताए । ‘हालसम्म विश्वमा २३ प्रजाति तथा दक्षिण एसियमा नौ प्रजातिका गिद्ध पाइन्छन् । ती सबै नौ प्रजातिका गिद्ध नेपालमै पाइन्छन्’, उनले भने । नेपाल पक्षी संरक्षण सङ्घका परियोजना अधिकृतसमेत रहनुभएका पक्षीविद् नेपालीका अनुसार, नौमध्ये छ प्रजातिका गिद्ध नेपालकै रैथाने हुन्, जसले नेपालमै गुँड बनाइ बच्चा कोरल्छन् । बाँकी तीन प्रजाति हिउँदे आगन्तुक र बटुवाका रूपमा नेपाल आउने गरेको उनले बताए । उनले भने, ‘नेपालमा नौ प्रजातिका गिद्धमध्ये डङ्गर, सानोखैरे, सुन र लामो ठुँडे प्रजातिका गिद्ध आइयुसिएनको सूचीमा अति सङ्कटापन तथा सेतो, हिमाली, राज र हडफोरगिद्ध सङ्कटापन्न तथा खैरो गिद्ध सामान्य अवस्थामा छन् ।’ पछिल्लो समयमा नेपालमा डङ्गर गिद्धको सङ्ख्यामा केही सुधार आएको नेपालीले बताए । उनले भने, ‘मरेका जनावरको सिनो तत्काल खाने भएकाले गिद्धले पारिस्थितिकीय प्रणालीमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछन् ।’ त्यतिमात्र नभई वन फडानी तथा औद्योगिक प्रदूषण र जलाधारको ह्रासका कारण गिद्धमात्रै नभई नेपालमा पाइने आठ सय ९० प्रजातिका चरामध्ये एक सय ४९ प्रजातिका चरा लोपोन्मुख पक्षीको सूचीमा परेकाले उनीहरु सबैको संरक्षण आवश्यक रहेको नेपालीको भनाइ छ । गिद्धको संरक्षण तथा प्रवद्र्धनका लागि २०६५ सालमा नेपाल पक्षी सङ्घ, प्राकृतिक संरक्षण कोष, चिनारीको प्राविधिक पक्ष र दातृ निकायको सहयोगमा सञ्चालित गिद्ध प्रजनन केन्द्र (कृत्रिम बच्चा कोरल्ने स्थान) चितवनको कसरामा स्थापित छ । यस केन्द्रमा हुर्काइएका गिद्धलाई सुरक्षित प्राकृतिक वातावरणमा पुनःबास गराउनु नै यस परियोजनाको प्रमुख उद्देश्य हो । यसका लागि वातावरणमा डाइक्लोफेनेक र अन्य हानिकारक औषधिको प्रयोग र सिनोमा यसको अवशेष शून्य हुनु जरुरी छ ।

आजको मौसम सामान्यतया सफा रहने

काठमाडौं । प्रदेश नं १ को पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुको प्रभावले प्रदेश नं १ को पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा भई प्रदेश नं १ कै हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । रातको समयमा पनि सोही मौसमी प्रणाली कायम हुने बताइएको छ । हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका भू–भागमा हुस्सु/कुहिरो लागेको छ भने बाँकी भू–भागमा मौसम सफा रहेको विभागले जनाएको छ । महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम तीन दशमलव आठ डिग्री र अधिकमत तापक्रम १८ दशमलव पाँच डिग्री सेल्सियस छ । त्यस्तै आज सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम माइनस एक दशमलव आठ डिग्री सेल्सियस र सबैभन्दा बढी जनकपुरको अधिकतम तापक्रम ३६ दशमलव चार डिग्री सेल्सियस छ ।

काकीको हत्या गरेको आरोपमा भतिज पक्राउ

धनुषा । आफ्नै काकीको हत्या आरोपमा धनुषा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको विदेह नगरपालिका–७ वेलापट्टि निवासी २० वर्षीय दिलीपकुमार साह रहेका छन् । सोमबार साँझ आफ्नै घरमा ३० वर्षीया कवितादेवी साहको शव भेटिएको थियो भने उनका १४ महिने छोरा घाइते अवस्थामा फेला परेका थिए । उक्त घटनाको अनुसन्धान गर्दै जाँदा दिलीपको संलग्नता रहेको खुलेपछि मङ्गलबार साँझ उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । मृतकको अनुहारमा गम्भीर चोट लागेको पाइएको प्रहरीले जनाएको छ । रक्ताम्य र अर्धनग्न अवस्थामा कवितादेवीको शव फेला परेको थियो । दिलीप शङ्कास्पद अवस्थामा भेटिएका थिए । उनको हातको बूढीऔँला तथा घाँटीमा घाउ रहेको प्रहरीको भनाइ छ । दिलीपसित कवितादेवीको मोबाइलसमेत फेला परेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

२ वटा माउ बाख्राबाट सुरु भएको व्यवसाय, नाफा मात्रै ५ लाख

रामपुर । ‘बाख्रा पाल्छु राम्रै छ बजार, दुईवटा बोका बेच्यो कि ३० हजार चिन्ता छैन केही !!!’  गायक पशुपति शर्माको यो गीत नारायण भण्डारीको जीवनमा पनि मेल खान पुगेको छ । एउटै खसी ३२ किलोसम्म उत्पादन गरी बजारमा बिक्री गरेपछि उनको खुसीको सीमा छैन । छोटो समयमै बाख्रापालन व्यावसायबाट अहिले मनग्य कमाई हुन थालेपछि भण्डारी यस व्यवसायमा उत्साहित हुँदै लागेका छन् । निर्मल पशुपक्षी कृषि फार्म दर्ता गरी रामपुर नगरपालिका–५ स्थित राङभाङमा १ वर्षअघिदेखि व्यावसायिक तवरबाट उनले बाख्रापालन गरिरहेका छन् । विभिन्न क्षेत्रको अनुभव बटुलेका भण्डारीले परिवारको आयआर्जनको दरिलो स्रोतका रूपमा बाख्रापालन व्यवसायलाई अँगालेका छन् । उनको फार्ममा हाल ५९ बाख्रामध्ये २७ माउ र अन्य साना पाठापाठी छन् । १ वर्ष पूरा नहुँदै बाख्रापालनबाट मनग्य कमाइ हुन थालेपछि व्यवसायलाई बर्सेनि विस्तार गर्दै लैजाने भण्डारी बताउँछन् । ‘बाख्रापालनबाट राम्रै कमाइ गर्न सकिने रहेछ, ९ महिनामै ९ वटा पाठा बिक्री गरी २ लाख ५० हजार रुपैयाँ कमाउन सफल भएको छु, परिवारसँग बसेर स्वतन्त्ररूपमा व्यवसाय गर्न पाइएको छ, बाहिरको तनाव छैन, यसमै खुसी छु,’ उनले भने । भण्डारीको २ वटा माउ बाख्राबाट सुरु भएको व्यवसाय अहिले यस क्षेत्रकै नमूना बाख्रापालन व्यवसायका रूपमा चिनिन पुगेको छ । स्थानीय वयर क्रस, जनुनापारी, खरी जातका बाख्रा फार्ममा छन् । बीउ उत्पादनका लागि बोयर जातका २ वटा बोका पालेका छन् । ४ किलो २ सय ग्रामसम्मको पाठापाठी जन्मिने गरेको भण्डारीले बताए । आफ्नै एक रोपनी जग्गामा पक्की खोर र घाँसपात खाने संरचना तयार पारिएको छ । करिब १२० बाख्रा अट्ने क्षमताको खोर तयार पारिएको छ । माउ, पाठापाठी र भर्खरै ब्याएका बाख्रालाई फरक–फरक खोरमा राख्ने गरिन्छ । राम्रो स्याहारसुसार घाँसपास खुवाएमा १ वर्षमा ४५ किलोसम्मको खसीबाख्रा उत्पादन हुने उनको अनुभव छ । खोर निर्माणमा २५ लाख रुपैयाँ र बाख्रा खरिदमा १० लाखरुपैयाँ गरी करिब ३५ लाख रुपैयाँको लगानीमा भण्डारीले व्यावसाय सञ्चालन गरेका हुन् । घाँसपातको आपूर्ति व्यवस्थापन गर्न १३ रोपनी जग्गा भाडामा लिएर सुपरनेपिएर, वर्षिमलगायत जातका उनले उन्नत घाँस लगाएका छन् । अहिले फार्ममा ७ पाठा बिक्रीका लागि तयार भएका छन् । बाख्राको स्याहारसुसार र रेखदेखमै दिन बित्ने गरेको भण्डारीले बताए । ‘अहिले बजारमा मागअनुसार खसी पुर्याउन सकिएको छैन, बजार मूल्य राम्रो भएपछि व्यवसायीलाई बाख्रापालनमा भ्याइनभ्याइ छ, दिनमा २÷४ घण्टा खटेर वर्षमा लाखौँ कमाउन सकिन्छ,’ उनले भने । अहिले यहाँको बजारमा खसीको मासु प्रतिकिलो ५५० रुपैयाँमा बिक्री भइरहेको छ । लामो समयसम्म टिकाउ रहने खालको बलियो संरचना तयार पारेर व्यवसायमा लागेका उनले १ सय माउ बाख्रा पाल्ने लक्ष्य राखेका छन् । यस व्यवसायबाट वार्षिक रूपमा खर्च कटाएर ५ लाख रुपैयाँ बराबरको कमाइ गर्ने भण्डारीको लक्ष्य छ । अहिलेसम्म अनुदान कार्यक्रम कहीँकतैबाट प्राप्त गरेका छैनन् । अनुदानका लागि भने लुम्बिनी प्रदेश सरकारसँग कुरा भइरहेको भण्डारीको भनाइ छ । रोजगारका लागि विभिन्न क्षेत्रमा पुगेका भण्डारीले जीवनमा धेरै दुःख भोगाइपश्चात अन्ततः गाउँमै बसेर अहिले बाख्रापालनमा जोड दिएका छन् । साउदी अरबमा २ वर्ष र भारतमा १३ वर्ष काम गरेर फर्केका भण्डारीले स्वदेशमै केही गरे हुन्छ कि भन्ने मनसाय बोकेर ६ वर्षसम्म रामपुर तानसेन क्षेत्रमा सवारीचालक भएर पनि काम गरे । उनले धेरै क्षेत्रको अनुभवले दिगो र भरपर्दो आम्दानीका लागि बाख्रापालनको थालनी गरे । बाख्रा उत्पादन बढ्दै जाँदा उनलाई एकछिन पनि व्यवसाय छोड्न मन छैन । बाख्रापालन थालनी गरेपछि आनन्दसँग परिवारका साथ जीवन ब्यतित भइरहेको उनी बताउँछन् । भण्डारीलाई यस व्यवसायमा श्रीमती भगवतीको राम्रो साथ छ । हिजो कमाइ नहँुदा टाढिएका आफन्त, परिवार, छरछिमेक, साथीभाइ अहिले बाख्रापालनबाट राम्रो हुन थालेपछि नजिकिन थालेको भगवतीले अनुभव सुनाईन् । ‘परिवारको आयस्रोत नहुँदा गाउँमा सबैबाट हेपिनु पर्याे, अहिले आफैँले कमाउन सक्ने भइयो, कमाउन सकियो भने सबै नजिकका हुने रहेछन् भन्ने अनुभूति भएको छ, ५÷७ महिना पालेपछि पाठा बिक्री गर्न लायकका हुन्छन्, बाख्रापालनमा दिन बितेको पत्तो हुनै छाड्यो,’ भगवतीले भनिन् । बाख्रापालनबाट भण्डारीको परिवारलाई खुसी दिलाएको छ । बाख्रापालन क्षेत्रमा भण्डारी दम्पती यतिबेला समाजमा उदाहरणीय पात्रका रूपमा कहलिएका छन् । बाख्राको आहार व्यवस्थापनलाई मध्यनजर गर्दै घरमै राइस मिलसमेत सञ्चालन गरिरहेका छन् । पाल्पामा पछिल्लो समय व्यावसायिक बाख्रापालनमा युवाको मोह बढ्दो छ । गाउँमा रहेका खाली जग्गा सदुपयोग गर्दै विदेशबाट गाउँ फर्केका युवा यस व्यवसायमा संलग्न हुँदै गएका छन् । दिगोरूपमा व्यवसाय गर्ने सोंचका साथका उन्नत जातका बाख्रापालनलाई युवाले जोड दिएका छन् । बजारमा खसीबोकाको माग र मूल्य अत्यधिक हुँदा व्यवसायीमा बाख्रापालनले उत्साह थपिदिएको छ ।

किसानलाई धान बिक्री गर्न सकस

काठमाडौं । ढिलो गरी सरकारले खरिद गर्न थाले पनि पर्सा र बाराका किसानले सहजरूपमा धान बिक्री गर्न पाएका छैनन् । सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यमा पर्सामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सहकारीमार्फत र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सिधैँ किसानको धान खरिद गर्न सुरु गरेपनि किसानले गोदामसम्म पुर्याउन अनेकन कष्ट व्यहोर्नुपरेको छ । वीरगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिद गर्न थालेको छ । एक हप्ताअघिदेखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सहकारीमार्फत धान खरिद गर्न थालेको हो । सहकारीमार्फत बिक्री गर्न परियोजना कार्यालयले तोकेको क्षेत्रभन्दा बाहिरका किसानले बिक्री गर्न पाएका छैनन् भने खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत धान बिक्री गर्ने किसानलाई गोदामसम्म ल्याउँदा बाटोमा सुरक्षाकर्मीले दुःख दिने गरेको उनीहरुको गुनासो छ । खाद्यले धान खरिद गर्न थालेपछि गोदाम परिसरमा धानसहितको ट्र्याक्टरको लाइन लागेको छ । सरकारले सोना मन्सुली धानको न्यूनतम समर्थन मूल्य ३ हजार १२८ रुपैयाँ तथा जिरामसिनो धान ३ हजार २५० रुपैयाँ खरिद गर्ने गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी वीरगञ्जका प्रमुख विकास कटुवालले जानकारी दिए । उनका अनुसार २५ क्विन्टलसम्म धान बिक्री गर्न आउने किसानले स्थानीय तहको कृषि शाखाले दिने सिफारिस, नेपाली नागरिकताको प्रमाणपत्र, जग्गाधनी प्रमाणपुर्जालगायत कागजात पेस गर्नुपर्ने छ । एउटा किसानको ६० क्विन्टलसम्म मात्रै धान खरिद गर्ने र कार्यालयले खरिद गरेको धानको भुक्तानी आवश्यकतानुसार २५ क्विन्टलसम्म नगद वा चेक तथा सोभन्दा माथि अनिवार्य चेकमार्फत गर्ने प्रमुख कटुवालले बताए । धानको समर्थन मूल्य निर्धारण गरेको लामो समयसम्म सरकारले खरिदको व्यवस्था नगर्दा कतिपय किसान सस्तोमै व्यापारीलाई धान बिक्री गर्न बाध्य थिए । अहिले सरकारले धान किन्न थालेपछि गोदामसम्म ल्याउनलाई किसानलाई कष्टकर हुने गरेको छ । गोदाममा पालो पाउनका लागि राति नै धान लिएर घरबाट आउँदा बाटोमा प्रहरीले जाँच गर्ने बहानामा दुःख दिने गरेको किसानको गुनासो छ । बाटोमा सास्ती खेप्दै गोदामसम्म पुर्याउँदा पनि पालो पाउन सडकमै सुत्नुपर्ने बाध्यता छ । पर्सामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सोना मन्सुली धान १० हजार मेट्रिक टन तथा जिरामसिनो धान २ हजार मेट्रिक टन खरिद गर्ने अनुमति पाएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालयले सहकारी संस्थामार्फत धान खरिद गरेको हो । पर्सामा २ सहकारी संस्थाले धान खरिदका लागि अनुमति पाएका छन् । परियोजना कार्यालयका प्रमुख गणेशप्रसाद यादवका अनुसार अटल कृषि सहकारी संस्था महुवन र ग्रामीण समाज विकास सुधार सहकारी संस्था छिपहरमाईले धान खरिदको अनुमति पाएका छन् । दुवैले सोमबारसम्म ९ हजार क्विन्टल धान खरिद गरिसकेका छन् । परियोजना कार्यालयले पर्सामा ५ हजार मेट्रिक टन धान खरिद गर्ने अनुमति प्राप्त गरेको छ ।