बैंक तथा वित्तीय संस्थाको सम्पत्तिमा उल्लेख्य वृद्धि, नागरिक लगानीलाई सासु कोषले टक्कर दिँदै
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको कूल सम्पत्ति तथा दायित्व उल्लेख्य रुपमा बढेको छ । बैंक तथा वित्तीय संस्थाहरुको यस्तो सम्पत्ति प्रत्येक वर्ष बढ्दो रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार बैंक तथा वित्तीय संस्थाहरुको कूल सम्पत्ति तथा दायित्व बढेको देखाएको हाे । आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्ममा वाणिज्य बैंकको १०.५ प्रतिशत, विकास बैंकका १५.७ प्रतिशत, वित्त कम्पनीको २०.४ प्रतिशत र लघुवित्त वित्तीय संस्थाको १६.६ प्रतिशतले कूल सम्पत्ति तथा दायित्व बढेको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ । यस्तै, पुर्वाधार विकास बैंकको ५.७ प्रतिशत, बीमा कम्पनीको, १५ प्रतिशत, कर्मचारी सञ्चय कोषको ३.७ प्रतिशत, नागरिक लगानी कोषको २६ प्रतिशत र सामाजिक सुरक्षा कोषको ४१.४ प्रतिशतले कूल सम्पत्ति तथा दायित्व वृद्धि भएको हो । वाणिज्य बैंकहरुको १०.५ प्रतिशत अर्थात् ५ खर्ब ६३ अर्ब ५५ करोड रुपैयाँ बढेर ५९ खर्ब ५६ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकहरूको कूल सम्पत्ति तथा दायित्व २३.४ प्रतिशत अर्थात् १० खर्ब २२ अर्ब ९४ करोड रुपैयाँ बढेर ५३ खर्ब ९२ अर्ब ५३ करोड रुपैयाँ रहेको थियो । राष्ट्र बैंकको तथ्याङ्क अनुसार विकास बैंकहरूको कूल सम्पत्ति तथा दायित्व १५.७ प्रतिशत अर्थात् ८१ अर्ब १८ करोड रुपैयाँ बढेर ५ खर्ब ९९ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विकास बैंकहरुको यस्तो सम्पत्ति २५.८ प्रतिशत बढेर ५ खर्ब १८ अर्ब ३४ करोड रुपैयाँ थियो । यस्तै, फाइनान्स वा वित्त कम्पनीहरूको २०.४ प्रतिशत अर्थात् २५ अर्ब ७७ करोड रुपैयाँ बढेर १ खर्ब ५१ अर्ब ७९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही १ खर्ब २६ अर्ब २ करोड रुपैयाँ कूल सम्पत्ति तथा दायित्व थियो । यस्तैगरी, असार मसान्तसम्म लघुवित्त संस्थाहरूको कूल सम्पत्ति तथा दायित्व १६.६ प्रतिशत बढेर ५ खर्ब १९ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्तहरुको कूल सम्पत्ति तथा दायित्व ४ खर्ब ४५ अर्ब ५० करोड रुपैयाँ थियो । नेपाल पूर्वाधार बैंकको सम्पत्ति तथा दायित्व ५.७ प्रतिशत बढेर २५ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ । बीमा कम्पनीहरूको कूल सम्पत्ति तथा दायित्व २०७८ असार मसान्तसम्म ५ खर्ब ४२ अर्ब ६५ करोड रहेको थियो । गत असार मसान्तसम्म १५ प्रतिशत बढेर ६ खर्ब २४ अर्ब १३ करोड रुपैयाँ पुगेको तथ्याङ्कमा उल्लेख छ । कर्मचारी सञ्चय कोषको ३.७ प्रतिशत बढेर ४ खर्ब ५९ अर्ब ४२ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा कोषको उक्त ४ खर्ब ४२ अर्ब ८४ करोड रुपैयाँ रहेको थियो । नागरिक लगानी कोषको सम्पत्ति तथा दायित्व २६ प्रतिशत वृद्धि भई २ खर्ब ४७ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा १ खर्ब ९६ अर्ब ४० करोड रुपैयाँ रहेको थियो । सामाजिक सुरक्षा कोष (सासु) को ४१.४ प्रतिशत बढेर ५४ अर्ब ७० करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा ३८ अर्ब ६८ करोड रुपैयाँ रहेको थियो ।
३४ करोडमा तनहुँ र चितवन जोड्ने बुद्वसिं मार्गमा कालोपत्र हुने
तनहुँ । तनहुँ र चितवन जोड्ने बुद्वसिं मार्गमा कालोपत्र सुरु गरिएको छ । कूल ३४ किलोमिटर दूरीमध्ये पहिलो चरणमा दश किलोमिटर मार्गमा कालोपत्र गर्न लागिएको हो । दमौलीको बसपार्कदेखि सुडेको पुलसम्म कालोपत्र गर्नको लागि ठेक्का सम्झौता भई काम अघि बढेको पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी एवं इञ्जिनीयर धनमाया मिश्रले जानकारी दिए । ठेक्काको जिम्मा मैनाचुली सफल जेभी काठमाडौँले पाएको छ । विसं २०७९ भदौ २७ गते सम्झौता गरेको हो । सडक सात मिटर दुई लेनको हुनेछ । दमौलीबाट पृथ्वीराजमार्ग हुँदै चितवन जानुभन्दा बुद्वसिं मार्ग भएर जाँदा करिब २२ किलोमिटर दुरी छोटो पर्ने इञ्जिनीयर मिश्रले बताए । तेत्तीस महिनाभित्र सम्पन्न गर्ने सम्झौता भएको छ । उनले भने,“यस कार्यालयबाट चालु आवमा भ्याटसहित ३४ करोड २७ लाख, ५४ हजार पाँच सय ६१ लाखको लागतमा सम्पन्न हुनेछ । उक्त मार्गमा करिब चार साना ठूला पुल निर्माण गर्नुपर्ने देखिएको छ ।” कार्यालयले गतवर्ष मन्त्रालयमा विवरण पठाइसकेको उनले बताए । उक्त मार्गको करिब आठ किलोमिटर दूरी तल्लो सेती परियोजनाले डुवानमा पर्ने भएकोले नयाँ ट्र्याक खोल्नुपर्ने अवस्था रहेको कार्यालयका प्रमुख दिनेश कुमार घिमिरेले जानकारी दिए । यसअघि सडक चौडाइ र नाला निर्माणकार्य गरिएको थियो । गत वर्षातको समयमा पहिराले पुरिएका नाला पन्छाउँदै नाला नभएको स्थानमा नाला निर्माण गरेर दुवै कामसँगै अघि बढाइने योजना रहेको सो कार्यालयले जनाएको छ ।
सांसदले पाउँछन् तलबसहित यस्तो सुविधा, घरभाडा मात्रै मासिक १८ हजार
काठमाडौं । निर्वाचन सकिएसँगै नयाँ सरकार गठन भएको छ । निर्वाचनमा ठूलो बनेको दल नेपाली काँग्रेसलाई प्रतिपक्षमा राखेर नेकपा एमालेको नेतृत्वमा नेकपा (माओवादी केन्द्र) ले सरकारको नेतृत्व गरेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएका छन् । साथै प्रथम चरणमा ८ सदस्यीय मन्त्रीमण्डल गठन भएको छ । पुसको २५ गते दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्नेछ । अहिले प्रतिनिधि सभामा युवा सांसदहरुको उपस्थिति पनि बाक्लो छ । नयाँ दल नयाँ सांसदका कारण संसदमा कस्तो रौनकता छाउला भन्ने कौतुहलता आम मानिसमा बढेको नै छ । यससँगै आम सर्वसाधारण नागरिकमा अर्को चासको विषय बनेको सांसदहरुको तलव भत्ता । सांसदहरुले के के सेवा, सुविधा पाउँछन् ? कस्तो सेवा, सुविधा हुन्छ, तलव बाहेक पनि अन्य सेवा सुविधा के पाउलान् भन्ने सबैको चासो छ । यस सम्बन्धी आम सर्वसाधारणको चासोलाई मेटाउने प्रयास गरेको छ । प्रतिनिधि सभा सदस्यको पारिश्रमीक र भत्ता प्रतिनिधि सभा सदस्यले मासिक पारिश्रमीकको रुपमा ६६ हजार ७० रुपैयाँ पाउँछन् । त्यस्तै मासिक रुपमा विशेष भत्ता बापत १ हजार रुपैयाँ, सञ्चार सुविधा बापत ३ हजार रुपैयाँ र धारा, पानीको नाममा २ हजार रुपैयाँ गरी मासिक रुपमा एकमुष्ट ७२ हजार ७० रुपैयाँ पाउँछन् । त्यस्तै आवास सुविधा भनेर काठमाडौं उपत्यकामा घर नहुने सांसदहरुले मासिक १८ हजार रुपैयाँ पाउनेछन् भने काठमाडौं उपत्यकामा घर हुनेहरुले ९ हजार रुपैयाँ मात्र पाउँछन् । सांसद निर्वाचित भएर आइसकेपछि एकपटक फर्निचरका लागि एकमुस्ट १५ हजार रुपैयाँ दिइन्छ । सांसदहरुले समिति र सभाको बैठकमा उपस्थिति भएपछि बैठक भत्ता बापत १ हजार रुपैयाँ र सभा तथा बैठकमा आवतजावतको लागि भनि थप १ हजार रुपैयाँ पाउनेछन् । थप सुविधाको रुपमा सांसदको दैनिक कामकाजमा सघाउने हेतुले सचिवालयमा राजपत्रांकित तृतिय श्रेणी सरहको स्वकिय सचिव नियुक्त गर्न दिनेछ । स्वकिय सचिवको सेवा सुविधा स्वयं स्वकियको नै खातामा हालिदिने गरिएको छ । सांसदहरुले स्वदेशभित्र कुनै भ्रमण गर्नुपरेमा दैनिक भ्रमणभत्ता बापत २ हजार ५०० पाउनेछन् भने विदेश भ्रमण गर्नुपरेमा प्रतिदिन २२५ डलर पाउनेछन् । त्यसैगरी देशको प्रतिनिधित्व गर्दै अथवा संसदको कामको सिलसिलामा विदेश जानुपरेमा संसद सचिवालयको सिफारिसमा राहदानी विभागले कुटनीतिक राहदानी उपलब्ध गराउने छ । त्यस्तै सांसदहरुले उपचार खर्च पनि पाउने गरेका छन् । कुनै रोगको सम्बन्धमा परामर्श लिनुपरेमा संघीय संसद सचिवालयमा वरिष्ठ चिकित्सकले निःशुल्क परामर्श दिने व्यवस्था गरिएको सहायक छ । त्यस्तै अस्पताल भर्ना हुनुपरेको अवस्थामा सरकारी अस्पतालमा भर्ना भएमा बिल अनुसारको सबै रकम उपलब्ध गराउने र निजी अस्पतालमा भर्ना भएको भए बिलको आधा रकम पाउने गरेका छन् । सांसदहरुले पेश्की लिन चाहेमा कारण जनाएर पारिश्रमिक र आवास भत्ता बापतको रकम बढीमा ३ महिना सम्मको लिन सकिने व्यवस्था रहेको छ । विशेष परिस्थितिवश विदेशी अस्पतालमा उपचार गराउनुपर्ने अवस्था आएमा प्रतिनिधि सभा सदस्यलाई सभामुखको र राष्ट्रिय सभा सदस्यलाई सभाका अध्यक्षको स्वीकृतिमा बढीमा १ वर्ष सम्मको पारिश्रमिक र आवास भत्ताबापतको रकम पेस्की पाउने व्यवस्था छ ।
वीरगन्ज महानगरपालिकाले पोलका तार व्यवस्थित गर्दै
वीरगन्ज । वीरगन्ज महानगरपालिकाले घण्टाघर क्षेत्रमा अव्यवस्थित रुपमा रहेको तार व्यवस्थापन गरेको छ । नगरभित्रका अव्यवस्थित तार व्यवस्थापन गर्ने अभियानअनुरुप महानगरले विद्युत् तथा टेलिकमको पोलमा गुजुल्ट्याएर राखिएका तार हटाएको हो । महानगरमा सेवा प्रवाह गर्दै आएका इन्टरनेट तथा केवल टिभीका प्रतिनिधिसहित महानगरको टोलीले घण्टाघर चोकदेखि जिल्ला प्रहरी कार्यालय अगाडिसम्म बायाँतर्फको पोलमा रहेको अव्यवस्थित तार हटाएको छ । जथाभावी टाँगिएका तारका कारण नगरको सौन्दर्य बिगार्नाका साथै दुर्घटनाको जोखिमसमेत देखिएकाले तर व्यवस्थित गर्न महानगरले सेवा प्रदायकको सहमतिमै काम थालिएको हो । यसअघि टोलीले आदर्शनगर क्षेत्रका पोलमा टाँगिएका तार काटेर हटाएको थियो । महानगर प्रमुख राजेशमान सिंहले नगर क्षेत्रका अव्यवस्थित तार हटाउन निर्देशन दिएसँगै तार व्यवस्थान गर्ने अभियानले गति लिएको छ । इन्टरनेट सेवा प्रदायका प्रतिनिधिको उपस्थितिमा नै तार काटेर हटाइएको महानगरको सूचना प्रविधि शाखाका वृजेश प्रधानले जानकारी दिए । महानगरले अहिले अभियान चलाएर तार व्यवस्थित गर्ने काम गरिरहेको र आउँदा दिनमा तार तान्दा तोकिएअनुसार मात्रै गर्न सूचना जारी गरेको छ ।
चिसो बढेसँगै आगोको सहारामा तराइका सर्वसाधारण
वीरगञ्ज । विगत एक हप्तादेखि तराईमा बढेको शीतलहरसँगै कठ्याङ्ग्रिदो चिसोको कारण सर्वसाधाणको दैनिक जीवन कष्टकर बन्दै गएको छ । दिनभरि बाक्लो हुस्सुसँगै शीतलहर पर्ने गरेका कारण दैनिक ज्यालादारीमा काम गर्नेहरु बढी सताइएका छन् । दिनभरि काम गरी एक छाक टार्ने गरिब र निमुखा परिवार अहिले आगोको भरमा दिन बिताउन बाध्य छन् । बिहानदेखि बेलुकासम्म कठ्याङ्ग्रिदो चिसो हुने गरेकाले दिनभरि पराल एवं दाउराको आगोको सहाराले दिन बिताउने गरेको उनीहरुको भनाइ छ । दिन प्रतिदिन बढ्दै गएको चिसोका कारण छाप्रोमा बस्ने स–साना बालबालिका तथा वृद्धवृद्धालाई बढी सताएको छ । चिसो बढेसँगै न्यानो कपडाको अभावका कारण आगोको भरमै दिर्न बिताउने गरे पनि रातिको समयमा परालले बनाएको चटाईको भरमा रात बिताउने गरिएको पीडितहरुको भनाइ छ । रातिको समयमा बाक्लो हुस्सुसँगै शीतलहर पर्न थालेपछि शीतलहरको पानी ओछ्यानसम्म आउने गरेकोले सुत्न पनि समस्या हुन थालेको छ तर हालसम्म सम्बन्धित निकायबाट कुनै किसिमको सहयोग नआएको स्थानीयवासीको भनाइ छ । चिसो बढेपछि धनुषासहित मधेसका जनजीवनमा असर धनुषासहित मधेस प्रदेशमा सोमबारदेखि चिसो बढेको छ । शीतलहर र बाक्लो हुस्सुका कारण चिसो बढेको हो । बिहानैदेखि शीतलहरसँगै पश्चिमबाट चिसो बतास चलिरहेको छ । हुस्सुका कारण मधेस प्रदेशको राजधानी जनकपुरधामलगायत क्षेत्रमा घाम नलाग्दा तापक्रम अझै घट्दै गएको छ । चिसोबाट जोगिन आगो बालेको ठाउँमा मानिसको भिड लाग्ने गरेको छ । चिसो बढेपछि बालबच्चालाई विद्यालय जान समस्या भएको जनकपुरधाम उपमहानगरपालिका–१४ की रञ्जना झाले बताए । ‘चिसोले साना बालबच्चासहित विद्यार्थीलाई समस्या छ’, उनले भने,’न्यानो कपडा नहुने बच्चालाई धेरै समस्या हुने भो ।’ चिसोले बालबच्चा मात्रै होइन ज्येष्ठ नागरिक पनि समस्यामा छन् । जाडोले मानिसको दिनचर्यामा पनि असर पारेको छ । एक्कासि जाडो बढेपछि मुक्त विपन्न दलित, सीमान्तकृत समुदायका मानिस समस्यामा परेका छन् । काम गरेर दुई छाक टार्ने मजदूर र किसानलाई काम गर्न समस्या भइरहेको धनुषाको क्षीरेश्वरनाथ नगरपालिका– ५ महेन्द्रनगरमा नाली बनाउने काम गरिरहेका मजदूर राम सनेही सदाले बताए । ‘जाडोमा सिमेन्ट, गिट्टी, बालुवाको काम गर्न समस्या हुने गर्दछ’, उनले भने । यसैगरी, गहुँबालीमा सिँचाइ गरिरहेका किसान पनि जाडोका कारण सकिनसकी काम गर्न बाध्य छन् । क्षीरेश्वरनाथ नगरपालिका– ४ हरैयाका दिपो यादवले भने, ‘सिँचाइ नगरिए उत्पादन राम्रो हुँदैन, त्यसैले यस्तो चिसोमा पनि सिँचाईका लागि दमकल चलाउन खेत आएको छु।’ चिसोले गर्दा काममा जान नसकेको मिथिला नगरपालिका वडा नम्वर ८ का पशुपति लामाको गुनासो थियो। उनले भने, ‘दाउरा नबेचे साँझ बिहानको चुलो बल्दैन। जाँडोले धेरै समस्या पारेको छ। घरमा ओड्ने कम्बल पनि छैनन्। आगो बालेर दिनरात बिताउनु पर्ने अवस्था छ।’ चिसोले गर्दा विभिन्न स्वास्थ्य समस्या बल्झने भएकाले चिसोबाट जोगिन स्वास्थ्यकर्मीले सुझाए । चिसोका कारण खास गरेर निमोनिया, विभिन्न भाइरल रोग लाग्न सक्ने प्रादेशिक अस्पतालका प्रशासन प्रमुख डा। केडी दासले बताए । उनले चिसोमा भाइरसका कारण बच्चालाई भाइरल डायरिया हुन सक्ने उल्लेख गरे । चिसोबाट जोगिन न्यानो कपडा लगाउन, बाहिर ननिस्कन, तातो पानी तथा तातो झोलिलो पदार्थ प्रयोग गर्न उनको सुझाब थिए । अत्यधिक जाडोका कारण बाक्लो कपडाको ब्यापार बढेको छ। जाडोले गर्दा बाक्लो कपडा किन्ने मानिसहरु दिनहुँ बढेको जनकपुरधाम शिव चोक स्थित गुप्ता जनरल स्टोरका प्रोपराइटर रमेशप्रसाद गुप्ताले बताए। जाडोमा हाइनेक, स्विटर, ज्याकेट, टाउजर, सल, टोपीलगायत कपडाहरु बढी खपत हुने गरेको छ।
सिरहामा खाद्य कम्पनीले किसानको धान खरिद गर्ने
सिरहा । सिरहाका किसानले धान थन्क्याएको करिब एक महिनाभन्दा बढी समय बितिसकेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड लहानले धान खरिद प्रक्रिया अगाडि बढाउने भएको छ । कम्पनीले एक सार्वजनिक सूचना जारी गरी यही पुस १७ गतेदेखि किसानको धान खरिद गर्ने जनाएको हो । कम्पनीले धान खरिद प्रक्रिया ढिलाइ गरेपछि यहाँका किसानको गुनासो बढ्दै गएको थियो । कम्पनीका प्रमुख रबनकुमार यादव भन्छन्, ‘धान खरिदका लागि केन्द्रीय कार्यालयबाट परिपत्र आउन ढिलाइ भयो, विगतमा मङ्सिर पहिलो वा दोस्रो सातासम्म खरिद प्रक्रिया भइसक्थ्यो ।’ यादवका अनुसार यस वर्षका लागि मध्यम धान सोना मन्सुलीको खरिददर ३ हजार एक सय २८ रुपैयाँ प्रतिक्विन्टल र कतर्नी धानको रु तीन हजार आठ सय प्रतिक्विन्टल निर्धारण गरिएको छ । केन्द्रले तोकेको कोटाअनुसार यस कार्यालयले १५ हजार क्विन्टल किसानको धान खरिद गर्ने उनले बताए । यहाँ सिरहा, सप्तरी र उदयपुर गरी तीन जिल्लाका किसानले धान बिक्रीका लागि ल्याउने गर्दछन् । उत्पादन परिमाणको अनुपातमा सरकारले खरिद गर्ने धानको परिमाण एकदमै न्यून रहेको यहाँका किसानको गुनासो छ । खाद्य कम्पनीले सीमित परिमाणमा मात्र धान खरिद गर्ने भएको हुँदा यहाँका किसान सस्तोमा व्यापारीलाई धान बेच्न बाध्य छन् । धान बिक्री गर्ने किसानले लालपुर्जा, सम्बन्धित स्थानीय तहको सिफारिस र नागरिकताको प्रमाणपत्र अनिवार्य ल्याउनुपर्ने कार्यालय प्रमुख यादव बताउँछन् । ठूलो परिमाणमा किसानले धान बिक्रीमा ल्याउने तर कार्यालयले सीमित धान मात्र खरिद गर्ने हुँदा त्यसमा बिचौलियाको मात्र पहुँच पुग्ने व्यापक गुनासो बढेपछि खाद्य कम्पनी लहानले यस वर्ष प्रतिकिसान एकपटक वा पटक–पटक गरी ५० क्विन्टलसम्म मात्र धान खरिद गर्ने नीति लिएको यादवले बताए । धान बेचेर हिउँदे बाली लगाउन खर्चको जोहो गर्नुपर्ने भएका कारण किसान मर्कामा परेका छन् । ‘सरकारलाई उत्पादनको धान बेच्न चाहन्छौँ, तर समयमा सरकारले किन्दैन, व्यापारीलाई सस्तोमा धान बिक्री गर्यो, पैसा तुरुन्त पाइँदैन’, बरियारपट्टि गाउँपालिका–५ का कृषक देवनारायण यादव भन्छन् । उनले लागतअनुसार मूल्य नपाएको गुनासो पनि गरे । त्यस्तै बरियारपट्टि–४ का अर्का किसान वीरेन्द्रकुमार यादवका अनुसार खेतमा खनजोत, ज्याला तथा ट्र्याक्टर लगाउँदा लाग्ने लागतले लगानी धान्दैन । उनी भन्छन्, ‘समयमै मलखाद्य तथा कृषियन्त्र उपकरण सरकारले व्यहोरिदिने हो भने उत्पादन लागतमा कमी हुन गई वास्तविक किसानको उत्थान हुने थियो ।’ नजिकै नेपाल–भारत खुला सिमाना भएका कारण व्यापारीले भारतबाट सस्तोमा धान खरिद गरी ल्याउने र त्यही धान किसानको नामबाट यहाँ खाद्य कम्पनीलाई बेच्ने गरेको हूँदा वास्तविक किसान सधैँ मर्कामा पर्ने गरेको राष्ट्रिय कृषक समूह महासङ्घ नेपालका मधेस–प्रदेश प्रमुख मुक्तिनारायण यादव बताउँछन् ।
अब पोखरामा रात्रीकालिन उडान
काठमाडौं । पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै रात्रीकालिन उडान हुने भएको छ । यसअघि दिउँसोको ३ बजेपछि उडान बन्द हुने पोखरामा आगामी फेब्रुअरीदेखि रात्रीकालिन उडानको तयारी थालिएको हो । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले जनवरी १ तारिखदेखि पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल औैपचारिक रुपमा सञ्चालन गर्दैछ । औपचारिक रुपमा विमानस्थल सञ्चालन भएपछि रात्रीकालिन उडानका लागि केही समय लाग्ने कार्यालयले जनाएको छ । ‘हामी जनवरी १ देखि औपचारिक रुपमा विमानस्थल सञ्चालनमा आउँछ, रात्रीकालिन उडानका लागि आवश्यक प्रविधि जडान गर्न केही समय लाग्नेहुँदा फेब्रुअरी २३ देखि रात्रीकालिन उडान सुरु गछौँ’, क्यानका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले भने । क्यानले फेब्रुअरी २३ देखि रात्रीकालिन उडान गर्न पाउने व्यवस्था गरेसँगै आन्तरिक उडान गर्दै आएका वायुसेवा कम्पनीहरुले रात्रीकालिन उडानको तयारी थालिएको बताएका छन् । बुद्धले क्यानले तोकेकै दिन अर्थात फेब्रुअरी २३ देखि रात्रीकालिन उडान गर्ने जनाएको छ । बुद्धपछि यती, श्रीएयरलाइन्स तथा सौर्य एयरलाइन्सले समेत उडानको तयारी थालिएको जनाएका छन् । यस्तै, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक उडानका यात्रुले र्याम्प बस चढ्नुपर्ने भएको छ । यसअघि काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थलमा मात्रै यात्रुहरुका लागि ¥याम्प बस राखिएको थियो । पोखरा विमानस्थलको टर्मिनल भवनको दायाँ साइडलाई विमानस्थल कार्यालयले आन्तरिक उडानका यात्रुको आगमन तथा प्रस्थान क्षेत्र तोकेको छ । तर, जहाजहरु पार्किङ भने टर्मिनल भवनको बायाँ साइडमा रहने छन् । जसका कारण पैदल हिंड्न लामो समय लाग्छ । नयाँ विमानस्थल सञ्चालनमा आएसँगै जोमसोममा हुने उडान, अल्ट्रालाइट र हेलिकप्टर उडान मात्र पुरानो विमानस्थलबाट हुनेछ । अन्य सबै उडान नयाँ विमानस्थलमा सर्नेछन् । सोहीअनुसार तयारी गरिएको वायुसेवा कम्पनी र नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएका छन् ।
भैँसीपालनमा ३० लाख लगानी, मनग्य आम्दानी
तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका-४ का कृषक समीक्षा श्रेष्ठले भैँसीपालनबाट मनग्य आम्दानी गरेकी छिन् । ‘विदेश गएर पसिना बगाउनुभन्दा देशमै श्रम गर्दा आत्मसन्तुष्टि मिल्छ,’ उनले भनिन्, ‘विदेशमा जत्ति काम स्वदेशमै गर्न सके यहीँ मनग्य आम्दानी हुन्छ ।’ बैङ्कबाट ऋण काढेर भैँसीपालन सुरु गरेकी किसान श्रेष्ठले भैसीपालनबाट मनग्य आम्दानी हुन थालेपछि स्वदेशमै सन्तुष्ट रहेको बताइन् । असिम भैसीफार्मका सञ्चालक उनले मासिक ५० हजार रुपैयाँ बचत गर्दै आएकी छिन् । उनले आठ रोपनी जग्गा भाडामा लिएर भैँसी पालिरहेकी छिन् । प्रति भैसी २ लाख ५० हजार रुपैयाँका दरले ६ भैँसी खरिद गरेर व्यवसाय सुरु गरेका उनले भनिन्, ‘विदेशमा गएर श्रम गर्नुभन्दा घरपरिवारका साथ व्यवसाय सुरु गर्दा आनन्द आएको छ ।’ आखिर जहाँ गएपनि श्रम गर्नुपर्ने जनाउँदै उनले देशमै केही गरौं भन्ने मनसायबाट पशुपालनतर्फ लागेको बताइन् । ‘स्वदेशमा बसेर के गर्ने भन्ने सोचिरहेको थिएँ, पशुपालनमा राम्रो सम्भावना छ भन्ने सबैको सल्लाहपछि भैसीपालनलाई अगाडी बढाएको छु,’ उनले भनिन् । उनको भैँसीफार्ममा अहिले १३ वटा भैसी छन् । भैँसीका लागि आवश्यक घाँसका लागि उनले जग्गा भाडामा लिएकी छिन् । उनका अनुसार हालसम्म करिब ३० लाख रुपैयाँ लगानी भएको छ । भैँसी फार्मबाट दैनिक ४० लिटर दूध उत्पादन हुने गरेको छ । दूध विक्रीका लागि बजारको समस्या नरहेको किसान श्रेष्ठ बताउँछिन् । ‘दूधले राम्रो बजार पाइरहेको छ, बजार पाइएन भनेर कहिल्यै चिन्तित हुनपरेको छैन,’ उनी भन्छिन्, ‘स्थानीय थर्पु बजार तथा आसपासमा दूध विक्री भइरहेको छ ।’ बजार सानो भएपनि दूध विक्रीका लागि समस्या नहुँदा खुशी लागेको उनले बताइन् । मासिक ५० हजार रुपैयाँ बचतले घरपरिवार राम्रोसँग चलेको श्रेष्ठ बताउँछिन् । ‘सबै खर्च कटाएर मासिक ५० हजार रुपैयाँ कमाउँछु, यति रकमले घरखर्च चलाउन सहयोग पुगेको छ,’ उनले भनिन्, ‘व्यवसायलाई विस्तार गर्ने सोच बनाएको छु ।’ उनले हालसम्म कुनै पनि सङ्घसंस्थाबाट अनुदान लिएकी छैनन् । ‘म्याग्दे गाउँपालिकाले हालैमात्र पशुपालन गरिरहेका कृषकलाई लक्षित गरी सूचना जारी गरेको थियो, अनुदान उपलब्ध गराउने भन्ने बारेको सूचना प्रकाशित भएपछि गाउँपालिकामा निवेदन दिएको छु,’ उनले भनिन्, ‘अनुदानबापत प्राप्त हुने रकम भैसीपालनमै खर्चिन्छु ।’ पशुपालनका लागि स्थानीय सरकारले देखाएको चासोले थप प्रोत्साहन जागेको भन्दै किसान श्रेष्ठले यस्ता कार्यक्रमले व्यवसायमा टिकिराख्न सहयोग पुग्ने उल्लेख गरिन् । म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले युवाहरु विदेश नगई स्वदेशमै व्यवसाय गर्दा आत्मनिर्भर बन्न सहयोग पुग्ने बताइन् । ‘युवाहरु उत्पादनमा जोडिनुपर्छ, व्यवसाय प्रबद्र्धनका लागि पालिका सहयोग गर्न तयार छ,’ उनले भनिन् । अनुदान दिँदै गाउँपालिका म्याग्दे गाउँपालिकाले कृषकलाई पशुपालनतर्फ लाग्न प्रोत्साहन गर्न अनुदानको नीति अवलम्बन गरेको छ । पशुपालन गरिरहेका कृषकलाई प्रोत्साहन गर्न गाउँपालिकाले अनुदान वितरणको नीति अगाडी सारेको हो । गाउँपालिकाले व्यावसायिक कृषकका लागि चालु आर्थिक वर्षमा बोका वितरणका लागि ३ लाख ५० हजार रुपैयाँ, च्यापकटर वितरणका लागि १ लाख रुपैयाँ, गोठ खोर निर्माणका लागि ४ लाख, लोकल कुखुरा वितरणका लागि १ लाख बजेट विनियोजन गरेको उपाध्यक्ष बालकृष्ण घिमिरेले जानकारी दिए । ‘व्यावसायिक रुपमा पशुपालन गरिरहेका कृषकलाई पशुपालनमै टिकाइराख्न अनुदान नीति गाउँसभाबाट पारित भएर बजेट विनियोजन भइसकेको छ,’ उनले भने, ‘अनुदान लिन चाहने कृषकसँग निवेदन माग गरेका छौ ।’ उनका अनुसार कृषकहरुले गाउँपालिकामा निवेदन दिएकामा निवेदन दिएका कृषकहरुको फार्म अनुगमन सुरु गरिएको छ । नवदुर्गा कृषि फर्मका सञ्चालक युवराज शाहीले बैङ्कबाट ऋण लिएर व्यवसाय गरेपनि बजारको व्यवस्थापन नभएको गुनासो गरे । ‘व्यावसायिक रुपमा पशुपालन गरिरहेका कृषकले अनुदान पाइरहेका छैनन्, यसतर्फ पालिकाले ध्यान दिनुपर्छ,’ उनले भने । व्यावसायिक रुपमा पशुपालन गरिरहेका कृषक पहिचान गरी अनुदान उपलब्ध गराइने गाउँपालिकाका अध्यक्ष प्रसाद श्रेष्ठले बताए । ‘अनुदानका लागि धेरै जनाको आवेदन परेको हुँदा वास्तविक कृषकको पहिचानका लागि फर्म अनुगमन सुरु गरेका छौ,’ श्रेष्ठले भने । कृषकलाई सहज तनहुँको बन्दीपुर गाउँपालिकाको ग्रामीण वडामा पशु सेवा सम्पर्क कार्यालय स्थापना गरिएको छ । ग्रामीण भेगका जनतालाई नजिकबाटै पशु सम्बन्धी सेवा दिने उद्देश्य सहित गाउँपालिकाले वडा नम्बर ६ को धरमपानीमा सम्पर्क कार्यालय स्थापना गरेको हो । तत्कालिन पशु सेवा कार्यालयको अधिकृत बस्ने सेवा केन्द्रलाई पशु सेवा केन्द्रको रुपमा स्थापना गरिएको गाउँपालिकाका पशु शाखा प्रमुख मधु न्यौपानेले जानकारी दिए । ३/४ वर्षदेखि खाली रहेको उक्त भवनलाई गाउँपालिकाले पुनः प्रयोगमा ल्याएको उनले बताए । गाउँमै पशु सेवा शाखा स्थापनापछि कृषकलाई सहज भएको छ । यसले गर्दा पशुवस्तु बिरामी पर्दा उपचारका लागि बन्दीपुर बजारसम्म ल्याउनुपर्ने बाध्यताको अन्त्य भएको छ । सम्पर्क कार्यालयमा १ जना प्राविधिक राखिएको छ । कृषिको पनि सँगै कार्यालय खोलेर प्राविधिक राख्ने तयारी भइरहेको छ ।’गाउँमा पशु शाखा नहुँदा पशुवस्तु बिरामी हुँदा उपचारका लागि कृषक घण्टौ यात्रा गरेर बन्दीपुर आउनुपथ्र्यो, सम्पर्क कार्यालय खुलेपछि गाउँमै पशुवस्तुको उपचार सुरु भइसकेको छ,’ उनले भने । गाउँपालिकामा पशुपालन गर्ने कृषकको सङ्ख्या बढेसँगै नयाँ बाख्रा पकेट क्षेत्र समेत विस्तार भएको छ । वडा नम्बर १ र २ मा बाख्रा पकेट क्षेत्र लागु भएको छ । चालु आर्थिक वर्षमा वडा नम्बर ६ मा बाख्रा पकेट कार्यक्रम विस्तार गरिने न्यौपानेले बताए । त्यसका लागि १५ लाख बजेट विनियोजन गरिएको छ । ‘भौगोलिक रुपमा पिछडिएको धरमपानीमा बाख्रा र तरकारीको हब बनाउने लक्ष्य छ,’ उनले भने, ‘पशुपालन र तरकारीबाट कृषकलाई आत्मनिर्भर बनाउने गाउँपालिकाको सोच हो ।’ स्थानीय कृषक मिन गुरुङले गाउँमै पशु सेवाको सम्पर्क कार्यालय खुलेपछि कृषकलाई सहज भएको बताए । ‘एक/दुई घण्टा लगाएर पशुवस्तुको उपचार गर्न जानुपर्दा समस्या थियो, अहिले गाउँमै कृषकले सहज रुपमा सेवा पाएका छन्,’ उनले भने । गाउँपालिकाले वडा नम्बर १, ५ र ६ मा पशु प्राविधिक राखेर सेवा दिइरहेको छ । अब वडा नम्बर २ र ३ मा पनि प्राविधिक राख्ने तयारी भइरहेको जनाइएको छ । रासस