विकासन्युज

मेलम्ची खोलाको पानी काठमाडौं ल्याउँदा दिइने लेबी टुङ्ग्याउने तयारी

काठमाडौं । मेलम्ची नदीबाट खानेपानी ल्याएबापत त्यस क्षेत्रलाई तिरिने रकम (लेबी) टुङ्गाउन तयारी अघि बढाइएको छ । खानेपानी महसुल निर्धारण आयोग बन्न लागेको र लेबीको विषय पनि त्यसमै समेटिने खानेपानी मन्त्रालयका प्रवक्ता शोभाकान्त पौडेलले जानकारी दिए । उनका अनुसार खानेपानी महसुल निर्धारण ऐनमा आयोगको व्यवस्था रहेको र त्यसले नै लेबीको विषय टुङ्गो लाउने उनले बताए । प्रवक्ता पौडेलले भने, ‘मन्त्रालयले आवश्यक तयारी गरिरहेको छ । लेबी तत्काल आजको भोलि लागू गरिहाल्ने विषय नभएकाले पर्याप्त छलफल र तयारी गरेर मात्र कार्यान्वयन गराइनेछ ।’ राजस्वको विषयमा सरकारले स्थानीय तह, प्रदेश र सङ्घलाई कति र कसरी उपलब्ध गराउने भनी राष्ट्रिय प्रकृति स्रोत तथा वित्त आयोगसँग पनि छलफल गर्नुपर्ने उनको भनाइ थियो । राजस्व निर्धारण गर्ने विषय ऐनमा प्रष्ट उल्लेख भएकाले सोही आयोगले लागू गर्ने प्रवक्ता पौडेलले बताए । उनका अनुसार अहिले दैनिक १७ करोड रुपैयाँ लिटर पानी ल्याइएको र त्यसबापतको रकम सम्बन्धित पक्षले पाउनेछ । भविष्यमा दैनिक ५१ करोड लिटर पानी आएपछि त्यसको पनि भुक्तानी दिइने छ । दातृ निकायबाट सञ्चालित आयोजनामा लाभको केही भाग स्थानीयस्तरमा दिनुपर्छ भन्ने मान्यता रहँदै आएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए । खानेपानी आयोजना बन्दा स्थानीय क्षेत्रको पनि लाभ होस् र जलाधार क्षेत्रको पनि संरक्षणको मान्यता राखिएको र सोही आधारमा लेबी उपलब्ध गराइने उनले बताए । मेलम्ची खानेपानी आयोजनामा स्थानीयस्तरमा दिइने लेबीका लागि बनाइएको खाका स्वीकृतिको क्रममा रहेको उनले बताए । आयोजना सम्पन्न भएर पानी पूरै ५१ करोड लिटर आएपछि खुद नाफाबाट केही रकम दिइने प्रवक्ता पन्तले बताए । अझै आयोजना सम्पन्न भइनसकेर निर्माण काम भइरहेको छ । आयोजना सुरु भएपछि नै स्थानीय क्षेत्रका लागि विभिन्न काम भइरहेको जनाइएको छ । आयोजनाले सामाजिक विकास, भौतिक विकासलगायत क्षेत्रमा लगानी गरिरहेको छ । अहिले मेलम्ची नदीबाट मात्रै पानी ल्याइएकामा आयोजना सम्पन्न हुँदा लार्के र याङ्ग्री नदीबाटसमेत पानी काठमाडौँ ल्याइने भएको छ । आयोजनास्थल हेलम्बु गाउँपालिकामा पर्छ भने मेलम्ची खानेपानी विकास समितिको कार्यालय मेलम्चीमा रहेको छ । वर्षायाममा बन्द गरिएको उक्त आयोजनाको खानेपानी वितरण गत मङ्सिर २३ गतेदेखि पुनः सुरु भएको थियो ।अहिले आएको पानी झण्डै छ महिनासम्म वितरण गर्न सकिने आयोजनाले बताउँदै आएको छ । विसं २०७७ चैतमा पहिलोपटक मेलम्चीको पानी अस्थायी रुपमा काठमाडौँ उपत्यकामा वितरण गरिएको थियो । विसं २०७८ असार १ मा मेलम्ची खोलामा आएको बाढीका कारण त्यो वर्ष लामो समय पानी वितरण हुनसकेको थिएन । मर्मत गरेर पहिलो पटक वितरण गरिएको झण्डै एक वर्षपछि गतवर्ष चैतमा दोस्रोपटक पानी वितरण गरिएको थियो । वर्षा सुरु भएसँगै सुरुङमा क्षति नपुगोस् भनी बन्द गरिएकोमा वर्षा सकिएपछि अहिले पुनः वितरण भइरहेको छ । तटीय क्षेत्रमा सुधारका काम नगरेसम्म वर्षमा पानी ल्याउन सकिने अवस्था नभएको समितिले बताउँदै आएको छ । रासस

दुई दिन उत्साहित भएको नेप्से बुधबार भने घट्यो, ६ कम्पनीमा लाग्यो सर्किट

काठमाडौ‌ । दुई दिन उत्साहित भएको सेयर बजार बुधबार भने घटेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)को अनुसार बुधबार सेयर बजार ११.८१ अंकले घटेको हो । यसरी सेयर बजार घट्दा नेप्से १९७२.१५ विन्दुमा पुगेको छ । यद्यपी बजार घटेपनि कारोबार रकम भने राम्रो नै देखिएको छ ।  बुधबार ६५ लाख कित्ता सेयर किनबेच हुँदा दुई अर्ब १५ करोड रुपैयाँको कारोबार भएको छ । यस्तै, पाँच वित्तिय कम्पनको सेयरमा सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीहरुमा क्रमश स् सेन्ट्रल फाइनान्स, प्रभु लाइफ इन्स्योरेन्स, धौलागिरी लघुवित्त, खपतड लघुवित्त, सृजनशिल लघुवित्त र विन नेपाल लघुवित्त रहेको छ । आज सबैभन्दा बढी कारोबार नबिल बै‌कको ८ करोड ८१ लाख रुपैयाँको भएको छ ।

गुजुल्टिएका तार हटाएर ठमेललाई सफा र सुन्दर बनाइँदै

काठमाडौं । पर्यटकीय क्षेत्र ठमेललाई सफा र सुन्दर बनाउन अव्यस्थित रुपमा तानिएका विद्युत, केबल टेलिभिजन, इन्नटरनेट, टेलिफोनका तार तथा उपकरणहरु व्यवस्थापन गर्न सुरु भएको छ । ठमेल पर्यटन विकास परिषदको सक्रियता, नेपाल विद्युत प्राधिकरण र केबल तथा इन्टरनेट सेवा प्रदायकहरुको सहभागितामा ठमेल क्षेत्रलाई सुन्दर बनाउन अव्यवस्थित रहेका तारहरुलाई हटाउने र व्यवस्थापन गर्ने काम अभियानकै रुपमा चलिरहेको छ । विद्युतीय पोल प्रयोग गरी अव्यवस्थित तरिकाले तानिएको र प्रयोगमा नरहेका अनावश्यक अप्टिकल फाइवर, केबल पोलमा जथाभावी झुण्डयाइएका उपकरणहरुका कारण पर्यटकीय क्षेत्र ठमेल कुरुप बनेको थियो । प्राधिकरणले गत कात्तिकमा आगलागी लगायत विद्युतीय दुर्घटना न्यूनीकरण गरी भरपर्दो विद्युत सेवा उपलब्ध गराउन र सहरी सुन्दरता समेत कायम राख्न दूरसञ्चार, केबल टिभि र इन्टरनेट सेवा प्रदायकहरुलाई आफ्नो संरचना निर्माण/व्यवस्थापन गर्न ४५ दिने समयसीमा दिएको थियो । सोही अन्तर्गत ठमेल क्षेत्रका अव्यवस्थित तार तथा उपकरणहरु हटाउन सुरु गरिएको हो । ठमेल क्षेत्रमा लाइन सफा गर्ने सिलसिलामा ४८ ट्रक अव्यवस्थित र काम नलाग्ने तार तथा उपकरणहरु निकालिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल, ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्मालगायत सम्मिलित उच्चस्तरीय टोलीले बुधबार ठमेल क्षेत्रमा तार व्यवस्थापनका लागि भइरहेको कामको अनुगमन गरेको छ । कार्यकारी निर्देशक घिसिङले विद्युतको तत्कालका लागि नाङ्गो तारलाई फेर्ने, बाङ्गो र मक्किएका पोलहरु हटाएर राम्रा राम्रो पोलहरु राखी पर्यटकीय क्षेत्र ठमेललाई सफा र सुन्दर बनाउने अभियानमा साथ दिइने बताए । ‘अव्यवस्थित तारको गुजुल्टोको कारण सहर कुरुप बनेको छ, आगलागी भई धनजनको क्षति भएको छ, हाम्रो सेवा प्रभाह प्रभावित भएको छ, सहरी सौन्दर्यता कायम गर्न विद्युतीय दुर्घटनालाई न्यूनिकरणका लागि हाम्रा संरचनामा राखिने विभिन्न सेवा प्रदायकका तार तथा उपकरणहरुका लागि मापदण्ड तयार गरी व्यवस्थापन गर्न लागिएको होे, मुख्य सहरी क्षेत्रको सौन्दर्यता कायम गर्न अव्यस्थित तारलाई व्यवस्थित बनाउने काम देशभरी नै सञ्चालन गरिरहेका छौं’, घिसिङले भने । उनले काठमाडौं उपत्यका, पोखरा र भरतपुरमा विद्युतीय संरचनालाई भूमिगत बनाउने काम भइरहेको बताउनुभयो । प्राधिकरणले विभिन्न सेवा प्रदायकका राउटर, अप्टिकल फाइबर वितरण बक्स जस्ता उपकरणहरु पोलको एउटै मात्र भागमा क्रमैसँग मिलाएर नझर्ने, नहल्लिने गरी जडान गरी र सफासँग क्लिप प्रयोग गरी वाइरिङ गर्नु पर्ने व्यवस्था गरेको छ । प्रयोगमा नरहेका तार र अन्य उपकरणहरु तत्काल हटाउनु पर्ने छ । पोलहरुमा लुप वनाएर राखिएका तार तत्काल हटाउने र नयाँ तारहरु तान्दा समेत अतिरिक्त लम्वाइका लुप बनाएर पोलमा झुण्डाउन नपाउने व्यवस्था गरिएको छ । सेवा प्रदायकहरुले निजहरुको तार सजिलोसँग छुट्टयाउन सक्ने गरी प्रत्येक पोलमा केबल ट्याग लगाउनु पर्ने छ । पोलमा जडित उपकरणहरुमा समेत मार्किङ गर्नु पर्ने छ । सम्भव भएसम्म धेरै कोर भएको केवल तानी बहुसंख्यक सेवा प्रदायकले सहप्रयोग गर्ने गरी सेवा विस्तार गर्नु पर्ने छ । तारहरुलाई सडक वारपार तान्न रोक लगाइएको छ भने तानिएका केवलहरु हटाउनु पर्ने छ ।

संसदमा पार्टीको भुमिकालाई सशक्त बनाउँछु : रामसहायप्रसाद यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका नवनिर्वाचित संसदीय दलका नेता रामसहायप्रसाद यादवले संसदमा पार्टीको भुमिकालाई सशक्त बनाउने बताएका छन् । बुधबार पार्टीको संसदीय दलको नेतामा निर्बिरोध निर्वाचित भएसँगै सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता यादवले पार्टीको एजेण्डा, दृष्टिकोण र विचारलाई संसदमा सशक्त ढंगले उठाउने बताएका हुन् । उनले पार्टी सरकारमा गएको अवस्थामा अथवा प्रतिपक्षी भएको अवस्थामा पनि पार्टीको भुमिकालाई सशक्त रुपले निर्वाह गर्ने बताए । उनले जसपा वर्तमान परिवर्तन र संघीयताको बाहक भएको भन्दै आफूहरुले उत्पीडित समुदायको माग र मुद्दालाई उठाउने बताए । उनले मधेसी, आदिवासी, जनजाति, दलित, मुस्लिम, थारु, खस र महिला लगायतका समस्याहरुको सम्बोधन गर्न प्रयास गर्ने पनि उल्लेख गरे । उनले भने, ‘भविष्यमा सरकारमा जाने अवस्था आयो भने त्यहाँ, सडकको अवस्था आयो भने त्यहाँ पनि । प्रतिपक्षमा आयो भने त्यहाँ हाम्रो भुमिका सशक्त रुपले निर्वाह गर्नेछौँ । यसका लागि सम्पूर्ण जाति, समुदाय, वर्ग, क्षेत्र, लिङ्ग सबैलाई मिलाएर पार्टीको खासगरी मधेसी, आदिवासी, जनजाति, दलित, मुस्लिम, थारु, खस, महिला लगायतका समस्याहरुलाई हामीले सम्बोधन गराउनका लागि हरेक ठाउँमा हाम्रो प्रयास रहनेछ ।’ उनले संसदीय दलको नेताको रुपमा पार्टीको विधान र पार्टीको निर्देशन अनुरुप संसदमा भुमिका खेल्ने बताए । उनले आफुले इमान्दारिता र निष्ठाको साथ काम गर्ने पनि बताए । उनले भने, ‘संसदीय दलको नेताको जिम्मेवारी थप भएको छ । पहिलेदेखि पार्टीको जिम्मेवारी जे थियो त्यसमा थपिएको छ । यो जिम्मेवारीलाई पार्टीको विधान, पार्टीको निर्देशन, नीति, सिद्धान्त र जे एजेण्डा छ त्यसलाई प्रभावकारी रुपले इमान्दारिता साथ, निष्ठाका साथ सदनमा म भुमिका निर्वाह गर्ने प्रयास गर्नेछु ।’ नेता यादवले पार्टी सरकारमा जाने, नजाने भन्ने विषयमा पार्टीको कार्यकारिणी समिति र राजनीतिक समितिको बैठकले निर्धारण गर्ने स्पष्ट पारे । बारा–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित यादव बुधवार पार्टीको संसदीय दलको नेतामा निर्वाचित भएका हुन् । एउटा मात्रै उम्मेदवारी दर्ता भएपछि दलको नेतामा उहाँलाई निर्बिरोध निर्वाचित भएको घोषणा गरिएको हो ।

रुकुममा बजार नभएपछि सुन्तलाको जुस बनाइँदै

रुकुम । रुकुम पूर्वको सिस्ने गाउँपालिका– ७ र ८ सँगै पुथा उत्तरगङ्गा गाउँपालिकाको –८ नम्बर वडामा प्रशस्त मात्रामा सुन्तला उत्पादन हुन्छ । यी क्षेत्रलाई सुन्तलाको पकेट क्षेत्र घोषणा गरिएको छ । यहाँ मौसममा सुन्तला प्रशस्त पाइएपनि बजार नहुँदा किसान समस्यामा पर्ने गरेका छन् । जिल्लामा शीत भण्डारको व्यवस्था नहुँदा किसानले उत्पादन गरेको सुन्तला, स्याउ लगायतका फलफूल कुहिएर खेर जाने गरेका छ । यतिबेला सो क्षेत्रका किसानको बारीमा लटरम्म सुन्तला देखिन्छन् । ती सुन्तला टिपेर राख्न शीत भण्डार छैन् । यत्तिकै राख्दा कुहिने डर र बजारमा पनि बिक्री नहुँदा रुखमै छन् । मेहनत गरेर लगाएको सुन्तलाको बोटमा लोभलाग्दो तरिकाले दाना लाग्दा पनि खपत हुने बजार नपाउँदा विगतदेखि नै यहाँका किसान मर्कामा छन् । लुम्बिनी प्रदेशको एक मात्र अर्गानिक जिल्ला घोषणा भएको रुकुम९पूर्व० मा उत्पादित सुन्तलालाई खेर जान नदिन स्थानीयस्तरमै जुस बनाउन थालिएको छ । बाहिरबाट प्रशिक्षक ल्याएर सुन्तला उत्पादन गरिरहेका किसानलाई जुस बनाउने तालिम प्रदान गरेपछि किसानले खेर जाने सुन्तलाबाट जुस उत्पादन गरिरहेका छन् । एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालय रुकुम पूर्वले किसानलाई तीन दिनसम्म जुस बनाउने तालिम प्रदान गरेको थियो । तालिमका प्रशिक्षक खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय वीरेन्द्रनगर सुर्खेतका वरिष्ठ खाद्य संक्षण अधिकृत भेषबहादुर थापाले तीन प्रकारको जुस बनाउन सिकाइएको बताए । उनका अनुसार किसानलाई ‘नेक्टर जुस’ बनाउन सिकाइएको छ । यसमा केमिकल केही नमिसाएको र शुद्ध भएकाले धेरै राख्न नमिल्ने भन्दै जुस तयार पारेको एक दिनभित्रै प्रयोग गरिसक्नुपर्ने बताए । अर्को ‘स्क्वास जुस’ बनाउन सिकाइएको छ । यो जुस एक लिटरमा तीन लिटर पानी मिसाएर खान सकिने वरिष्ठ खाद्य संक्षण अधिकृत थापाले बताए । अर्को सामान्य जुस बनाउन सिकाइएको छ । यसमा चिनी, पानी, खाद्य रङलगायत प्रयोग गरिएको उनको भनाइ छ । उनले भने, ‘स्क्वास र जुसलाई नौ महिनाको लेबलिङ गरिएको छ । जुसको २५ र स्क्वासको एक सय ८० रुपैयाँ बोतल मूल्य पर्छ ।’ तालिमले सुन्तलाको जुस निर्माणमा किसानको उत्साह देखिए पनि भौगोलिक विकटता र आवश्यक स्रोतसाधनको अभावले चुनौती भने रहेको उनको भनाइ छ । तालिम पाएपछि सुन्तला किसान गणेश रावलले ठूला दाना बजारमा लगेर बिक्री गर्ने र सानो खालको दानाको जुस तयार पारेर बजारमा बिक्री गर्ने बताए । यसअघि मसिनो दाना र बजारमा बिक्री नभएको सुन्तला चाम्रिएर, कुहिएर खेर जाने गरेको बताउँदै अब हातमा सीप भएकाले खेर जाने सुन्तलाको जुस बनाइ त्यसबाट आम्दानी गर्न सकिने उनले बताए । किसान रेखा गिरीले स्थानीयस्तरमा उत्पादन गरेको जुस निकै राम्रो रहेको र यसको माग धेरै रहेको बताए । तालिमकै क्रममा तयार पारेको जुस गाउँघरमा धेरै गएको उनको भनाइ छ । अब भने गाउँघरमा खेर जाने सुन्तला सङ्कलन गरेर जुस बनाइ आम्दानी बढाउन सकिने उनको भनाइ छ । जुस उत्पादन तालिम निकै प्रभावकारी हुने एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालयका प्रमुख पिताम्बर बस्नेतले बताए । रुकुम पूर्वको एक सय ५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती भइरहेको कार्यालयका कृषि अधिकृत थलराज बस्नेतले जानकारी दिए । उनका अनुसार अहिले ८२ हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाले फल दिइरहेको छ । यसवर्ष जिल्लाभर नौ सय ७५ मेट्रिक टन सुुन्तला उत्पादन भएको कार्यालयले बताएको छ ।

नयाँ पाइपलाइनबाट मेलम्चीको खानेपानी वितरण 

काठमाडौं । आयोजना कार्यान्वयन निर्देशनालयबाट मेलम्चीको खानेपानी वितरणका लागि काठमाडौं उपत्यकाभित्र बिच्छ्याइएका खानेपानीका नयाँ पाइलाइनबाट मेलम्चीको खानेपानी वितरण गर्दा चुहावट नभएको पाइएको छ । काठमाडौंका अनामनगर, थापाथली लगायतका क्षेत्रमा नियमितरूपमा र परीक्षण सम्पन्न भएका अन्य स्थानमा तालिकामा समावेश नगरी खानेपानी वितरण गर्दा चुहावटको समस्या नदेखिएको हो । खानेपानी चुहावट भएको भनी यस निर्देशनालयमा उपभोक्ताहरूबाट विभिन्न मितिमा आएका जानकारीका आधारमा मर्मतका लागि प्राविधिक टोली पठाउँदा नयाँ पाइपलाइनबाट नभई अधिकाङ्श पुराना पाइपलाइनबाट खानेपानी चुहावट भएको पाइएको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा तेस्रो पक्ष लगायतबाट सडक तथा ढल निर्माण/मर्मत, विद्युतलाइन र टेलिफोनका तार भूमिगत गर्ने लगायतका कार्य हुँदा क्षतिपुगेका खानेपानी वितरण प्रणालीका ठूला पाइपलाइन र खानेपानी वितरण सञ्जालका पाइपलाइनमध्ये अधिकाङ्शको मर्मत कार्य सम्पन्न भइसकेको छ । तर, तेस्रो पक्ष लगायतबाट विभिन्न कारणले खानेपानीका पाइपलाइनमा क्षति हुन नछाडेकाले खानेपानीका पाइपलाइनमा क्षति पुग्नेगरी कुनै काम नगर्न/नगराउन सम्बन्धित सबै निकायहरूको ध्यानाकर्षण गराउँछ । यस निर्देशनालयबाट काठमाडौं उपत्यकाका विभिन्न स्थानमा पहिलो चरणमा बिच्छ्याइएका १ हजार १० किलोमिटर खानेपानीका नयाँ पाइपलाइनमध्ये करिव ५५० किलोमिटर पाइपलाइनको परीक्षण गर्ने कार्य सम्पन्न भएको छ । हाल काठमाडौंका सिनामङ्गल, कोटेश्वर, नरेफाँट, पुरानो बानेश्वर, बत्तीसपुतली, रातोपुल, ज्ञानेश्वर, हाँडीगाऊँ लगायतका क्षेत्र र ललितपुरका ग्वार्को, मङ्गलबजार, बालकुमारी, सुन्धारा, बगलामुखी, कृष्णमन्दिर, कुपण्डोल, पुल्चोक, मानभवन, लगनखेल लगायत अन्य क्षेत्रमा खानेपानीका नयाँ पाइपलाइनको परीक्षण गर्ने कार्यलाई तीब्रता दिइएको छ ।

कैलालीमा जरिवाना तिर्दै निर्माण कम्पनी

कैलाली । कैलालीमा सञ्चालन भएर पटक–पटक म्याद थप भएर पनि काम सम्पन्न हुननसकेका निर्माण कम्पनीलाई टीकापुर नगरपालिकाले कारबाही सुरु गरेको छ । गत आर्थिक वर्षसम्म आयोजनाको सम्झौता भएर चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म काम सम्पन्न गर्न नसकेका आयोजनाको काम नसकेका निर्माण कम्पनीलाई जरिवाना लाग्ने गरी कारबाही प्रक्रिया अगाडि बढाएको हो । कार्यपालिकाको निर्णयबाट आयोजनाको म्याद थप नहुने निर्णय गरेपछि काम सम्पन्न हुननसकेका आयोजनाको म्याद थप नहुने र नियमानुसारको जरिवाना तिरेर काम गर्न बाध्य भएका छन् । नगरपालिकामा समयमा काम सम्पन्न गर्न नसकेका जरिवानामा परेका नौवटा आयोजनाको काम गरिरहेका छ निर्माण कम्पनीले जरिवाना तिर्न थालेका हुन् । समयमा काम गर्न नसकेका राजन निर्माण सेवा टीकापुर, सन्तोष विल्डर्स अछाम, रसुन निर्माण सेवा, भट्टराई कन्स्ट्रक्सन प्रालि, युकि विल्डर्स टीकापुर, सन्तोष विल्डर्स टीकापुर रहेका छन् । जरिवाना परेका निर्माण कम्पनीले आयोजनाको सम्झौता लागतको शून्य दशमलव शून्य पाँच प्रतिशत रकम दैनिक तिर्नुपरेको छ । त्यति गर्दा पनि काम सकिएन तर आयोजनाको सम्झौता भन्दा दश प्रतिशत रकम जरिवाना बापत भुक्तानी हुने अवस्था देखिएमा सम्झौता नै तोड्नुपर्ने प्रावधान रहेको नगरपालिकाका इन्जिनियर नवराज जोशीले बताए । नगर उपप्रमुख तथा अनुगमन समितिका संयोजन खडकबहादुर शाहले वर्षौदेखि काम लिने तर समयमा काम गर्न नसकेका नगरपालिकाबाट सञ्चालन भएका आयोजनाहरुको म्याद थप नभएको बताएका छन् । उनले पौष एक गतेदेखि काम नसकिएका आयोजनाले जरिवाना तिर्ने बताए । ‘जुन निर्णय भएको छ त्यहीँअनुसारको कारबाही काम सम्पन्न गर्न नसकेका निर्माण कम्पनीले भोग्नुपर्ने छ ।’ उनले भने,’हामीले पहिलेदेखि नै भन्दै पनि आएका थियौँ, म्याद थप हुँदैन भनेर भन्दाभन्दै पनि काम सम्पन्न नभएका निर्माण कम्पनीले जरिवाना तिर्छन् ।’ रासस

नारायणी नदीमा मोटरबोट चढ्न दैनिक १ हजार पर्यटक आउने

काठमाडौं । छोटो समय लिएर घुम्न आउने आन्तरिक पर्यटकको लागि चितवनको नारायणी नदी किनार आन्तरिक पर्यटकका लागि बन्दै गइरहेको छ । नदी वरपरको रमणीय वातावरण तथा नदीमा सञ्चालित मोटरबोटका कारण यहाँ आन्तरिक पर्यटक आकर्षित बनेका हुन् । नारायणगढ बजार नजिकै रहेको नदी किनारमा मोटरबोटको मज्जा लिनेदेखि घाम ताप्ने र फुर्सदको समयमा घुम्न आउने मानिसको सङ्ख्या बढ्दै गइरहेको छ । कालिका नगरपालिका– ५ बाट आएकी बालिका कँडेल मोटरबोट चढ्नकै लागि नदी किनारमा आएको बताइन् । उनले मोटरबोट चढेर यहाँको दृश्य अवलोकन गर्न पाउँदा निकै रामइलो लागको अनुभव सुनाइन् । खाली समयको सदुपयोग गर्नमात्रै नभएर विशेष दिनमासमेत रमाइलो गर्नका लागि पनि नदी किनार आउनेको सङ्ख्या उत्तिकै छ । नारायणी नदीमा सञ्चालन भएको मोटरबोट चढ्न आउने आन्तरिक पर्यटकको भीड बढ्दै गएको व्यवसायी बताउँछन् । चितवन भएर यात्रा गर्नेहरु नारायणी नदीमा मोटरबोटको मज्जा लिएर जाने गरेका छन् । नदी किनारमा मोटरबोट चढ्नका लागि सामान्य दिनको तुलनामा बिदाको दिनमा आन्तरिक पर्यटकहरु धेरै आउने गरेमने रङ्गमहल रिभरल्याण्ड प्रालिका क्याप्टेन विजय तामाङले बताए। नारायणी किनारमा बिहानको समयमा मर्निङ वाक र योग गर्नेको चाप हुन्छ । दिउँसो भने सबै उमेर समूहका मानिस यहाँ आउने गरेका छन् । मुलुककै तेस्रो पर्यटकीय गन्तव्यको रुपमा रहेको चितवनमा नारायणी नदीको मोटरबोटले छुट्टै आकर्षण थपेको उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले बताए । उनले मोटरबोट चढ्न आउने आन्तरिक पर्यटकको वृद्धि भएसँगै व्यवसायीले मोटरबोटमा करोडौँको लगानी गरेको जानकारी दिए । नारायणी नदी किनारमा सञ्चालित मोटरबोट चितवनको नयाँ मनोरञ्जन केन्द्रको रुपमा स्थापित हुँदै गएको युवा उद्यमी मञ्च चितवनका अध्यक्ष सूर्यभक्त अधिकारी बताउँछन् । नारायणी नदीमा मोटरबोट चढ्न दैनिक एक हजारको हाराहारीमा आन्तरिक पर्यटक आउने गरेको नारायणी मोटरबोट व्यवसायी सङ्घका अध्यक्ष अशेष मल्लले बताए । मोटरबोट चढ्न दैनिक एक हजारको हाराहारीमा पर्यटक आउने गरेको उनले जानकारी दिए । शनिबारको दिन भने बढी आउने गरेका छन् । भरतपुर महानगरपालिका–१ का वडासदस्य मनोज घिमिरेले मोटरबोट र नदी किनार व्यवस्थित गराउने काम गरिएको बताए । उनले किनारमा व्यापार व्यवसाय गर्ने र घुम्ने ठाउँलाई निश्चित क्षेत्र तोकेर काम गरिएको जानकारी दिए । केन्द्र सरकार र महानगरपालिकाले बजेट विनियोजन गरेर नदी किनारलाई आकर्षक बनाउने काम भइरहेको उनले बताए । नारायणी नदीमा हाल विभिन्न कम्पनीका २३ मोटरबोट सञ्चालनमा रहेका छन् । ऐतिहासिक नगरवन क्षेत्र, नारायणी नदी, विभिन्न मठमन्दिरलगायत रहेकाले पनि यो क्षेत्र पर्यटकका लागि आर्कषक रहेको छ । रासस