पुस १७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरिँदै
कास्की । देशकै प्रमुख पर्यटकीय सहर पोखरामा नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलको भव्य उद्घाटनको तयारी गरिएको छ । यही पुस १७ गते अङ्ग्रेजी नयाँवर्षको पहिलो दिनदेखि सो अन्तर्राष्ट्रिय विमानस्थलको विधिवत् सञ्चालनमा ल्याउन लागिएको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भव्य समारोहकाबीच विमानस्थलको उद्घाटन गर्नेछन् । शुभारम्भ समारोहमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु, उद्योगी तथा पर्यटन व्यवसायीको बृहत् सहभागिता रहने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक विक्रम गौतमले बताए । उनका अनुसार विमानस्थल उद्घाटनको सम्पूर्ण तयारीका काम अन्तिम चरणमा पुगेको छ । उनले भने, “सम्माननीय प्रधानमन्त्रीज्यूको प्रमुख आतिथ्यतामा विमानस्थल उद्घाटन कार्यक्रमको अन्तिम तयारीमा छौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण, प्रदेश सरकार, पोखरा महानगरपालिका, पोखरा पर्यटन परिषद्लगायत पर्यटन सङ्घ संस्थाको सहभागितामा उद्घाटन समारोह विशेष र भव्य हुनेछ ।” पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार विमानस्थल उद्घानका दिन बिहान पहिलो उडानबाट विमानस्थलमा अवतरण गर्ने जहाजका चालकदल तथा यात्रुलाई फूलमालाले स्वागत गरिने छ । त्यसैगरी बिहान ११ बजेपछि औपचारिक कार्यक्रम शुभारम्भ हुनेछ भने अपराह्न २ बजेपछि ‘सेलिब्रेसन’को कार्यक्रम छ । पोखरा महानगरपालिका र पोखरा पर्यटन परिषद्को समन्वयमा विभिन्न जातजातिका झाँकी, फेसन सोलगायतका कार्यक्रमका साथ उद्घाटन समारोहलाई भव्य बनाइने निर्देशक गौतमले बताए । अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन कार्यक्रमलाई थप व्यवस्थित बनाउन पोखरा महानगरपालिकाले पनि काम सुरु गरेको छ । महानगर समरोह भव्य बनाउने गरी जुटेको छ । उद्घाटन समारोहपछि उत्सवको जिम्मा महानगरको छ । महानगरले विमानस्थल उद्घाटन समारोहलाई भव्य बनाउन विभिन्न जातजातिका मौलिका झाँकी अभिनन्दन कार्यक्रम, विभिन्न सांस्कृतिक प्रस्तुति र सेलिब्रेसन गरिने जनाएको छ । विमानस्थलका परिकल्पनाकार शङ्करराज पाठकलगायतलाई रथारोहणसहित अभिनन्दन गरिनेछ । महानगरले उद्घाटनलाई लक्ष्य गरी यही पुस १३ गते लेक साइडदेखि कोत्रेसम्म राजमार्गमा बृहत् सरसफाइ कार्यक्रम गरेको थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पोखराका लागि गौरवको विषय भन्दै यसको उद्घाटन कार्यक्रमलाई व्यवस्थितरूपमा भव्य र सभ्य बनाउनुपर्ने आचार्यले बताए । यो दशकौँ लामो पोखरेलीको सपना मात्र नभए पश्चिम क्षेत्रकै ‘लाइफलाइन’का रूपमा रहेको विमानस्थल भन्दै यसको कुशल र व्यवस्थित सञ्चालन महत्वपूर्ण हुने बताए । उनले भने, “उद्घाटन समारोहलाई भव्य बनाउने गरी महानगरले काम गरिरहेको छ । यसका लागि विभिन्न उपसमिति गठन गरी काम गरेका छौँ । यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा समेत विमानस्थल कोसेढुङ्गा सावित हुने भएकाले भव्य उद्घाटनको सन्देश विश्वभर पु¥याउनु आवश्यक छ । अन्तर्राष्ट्रिय सहरसँग हुने पोखराको सीधा सम्पर्कले पोखरा प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास लिएका छौँ ।” विमानस्थलको उद्घाटनका दिनदेखिनै सबै आन्तरिक उडान सोही विमानस्थलबाट हुनेछन् । निजी विमान कम्पनीले नयाँ विमानस्थलबाट उडान सुरु गर्नका लागि कार्यालय व्यवस्थापन लगायत तयारी सकेका छन् । बुद्ध, यति र सौर्य एयरले परीक्षण उडानसमेत सम्पन्न गरेका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि पोखरेलीले झण्डै पाँच दशकअघि सपना देखेका थिए । लामो प्रतीक्षापछि विमानस्थल निर्माण भएर सञ्चालनको अवस्थामा आउँदा पोखेरेली हर्षित छन् । यसबाट पोखराको समृद्धिको ढोका खुल्ने अपेक्षा यहाँका नागरिकको छ । पोखरा देशकै प्रमुख पर्यटकीय गन्तव्य भएको र विमानस्थल सञ्चालनसँगै पर्यटन क्षेत्रले बढी लाभ लिने भएकाले समेत पर्यटन व्यवसायी उत्साहित भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए । विमानस्थल सञ्चालनमा आउने भएपछि आफूहरु हर्षित र उत्साहित भएको उनले बताए । कोरोनापछि प्रभावित पर्यटन क्षेत्रलाई विमानस्थल सञ्चालनसँगै पर्यटक आगमन बढेर राहत मिल्ने विश्वास रहेको बताउँदै श्रेष्ठले भने, “विमानस्थल सञ्चालनमा आउने भएपछि हामी व्यवसायी, लगानीकर्ता सबै हर्षित भएका छौँ । पर्यटन क्षेत्रलाई ठूलो राहत मिल्ने विश्वास छ । अन्तर्राष्ट्रिय विमानस्थलसँगै पोखराको प्रवद्र्धन विश्वभर फैलाउने र धेरै पर्यटक भित्र्याउने योजना बनाउने छौँ ।” पोखरा विमानस्थल चिनियाँ निर्माण कम्पनी सीएएमसीइले निर्माण गरेको हो । यसअघि गत वर्ष चैतमा चीनका विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणकै अवसरमा विमानस्थल नेपाललाई हस्तान्तरण गरिएको थियो । त्यसबेला विमानस्थलको केही काम सम्पन्न हुन बाँकी थियो । चीनको एक्जिम बैंकको २२ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण र अनुदान सहयोगमा विमानस्थल निर्माण गरिएको हो । विसं २०३२ मा जमिन अधिग्रहण गरिए पनि चार दशकपछि बल्ल विसं २०७३ मा विमानस्थलको शिलान्यास गरिएकामा विसं २०७४ देखि निर्माण सुरु भएको हो ।
जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज प्रिमियम ह्वीस्की ब्राण्ड ‘काला पथर’ बजारमा
काठमाडौं । जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजले नयाँ उत्पादन बजारमा ल्याएको छ । नेपालमा हार्ड ड्रिङ्क्स र बियर उत्पादन गर्दै आएको यस कम्पनीले प्रिमियम ह्वीस्की ब्राण्ड ‘काला पथर’ बजारमा ल्याएको हो । कम्पनीले विज्ञप्ती जारी गर्दै बजारमा प्रिमियम क्याटोगोरीमा प्रिमियम ह्वीस्की ल्याएको जानकारी दिएको छ । ‘काला पथर एउटा ब्लेन्डेड रिसर्व व्हिस्क्य हो, जुन हिमालयको प्राचिन हिमनदीको पानीका साथ स्कटल्याण्डबाट दुई फरक शेरी र ओक कास्कमा तयार पारिएको छ,’ विज्ञप्तीमा भनिएको छ । वाल्र्ड अर्चर्ड फ्रुट र टफिको क्रीमी स्वीटनेस, सिटरस पिल, भेनिला र जाडोमा न्यानो दिने मसलाहरुको सन्तुलित मिश्रणले यसलाई शानदार स्वाद दिने कम्पनीको भनाइ छ । काला पथर घुमाएर सजिलै खोल्न मिल्ने क्याप भएको क्लीयर प्रिमियम बोटलमा ७५० एमएल, १८० एमएल र ९० एमएलमा बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । काला पथर घुमाएर सजिलै खोल्न मिल्ने क्याप भएको क्लीयर प्रिमियम बोटलमा ७५० एमएल, १८० एमएल र ९० एमएलमा बजारमा उपलब्ध छ ।
जाडो छल्न नेपालमा आइपुगे विदेशबाट चरा
त्रिवेणी। जाडो छल्नका लागि विभिन्न देशका चरा यतिबेला नारायणी नदी आसपासका क्षेत्रमा आइपुगेका छन् । जाडो मौसम लागेसँगै विभिन्न देशका चरा जाडो छल्न नारायणी नदी आसपासको क्षेत्रमा आइपुगेको जलपक्षी गणनाका चितवन पश्चिम सेक्टर संयोजक डिबी चौधरीले बताए । नवलपरासीपूर्व नवलपुरको नारायणी नदीसहित देशका विभिन्न भागमा अहिले विभिन्न देशका चरा जाडो छल्न आइपुगेको उनले बताए । विभिन्न देशका चरा जाडो छल्ने यहाँ आइपुगेपछि अहिले नारायणी नदी आसपासका क्षेत्रमा चराको सङ्ख्या धेरै देख्न सकिने संयोजक चौधरीले बताए । यसले गर्दा नारायणी नदी क्षेत्रको वातावरण रमाइलो बनेको उनले बताए । हाँस प्रजातिका जलपक्षी अहिले नारायणी नदी क्षेत्र ढाकिएको उनले बताए । यसले यस क्षेत्र रमणीय बनेको संयोजक चौधरीले बताए । ‘अहिले धेरैजसो विभिन्न देशका चरा जाडो छल्न यस क्षेत्रमा आइसकेका छन्, नदी आसपासका क्षेत्रमा जलपक्षी प्रजातिका चराले रमणीय बनाएको छ’, चौधरीले भने । विशेषगरी पानीमा रहने चरा यहाँ बसाइँसराइ गरी आउने गरेका छन् । साइबेरिया, चीन, बर्मा, मङ्गोलिया, रुस, कोरिया, थाइल्याण्डलगायतका देशबाट आगन्तुक चरा यतिबेला यस क्षेत्रमा आइपुगेको उनले बताए । यहाँ आउने चरामा हाँस प्रजातिका चरा, जलेवालगायत विभिन्न प्रजातिका चरा हुने गरेका छन् । आन्तरिकरूपमा समेत देशका विभिन्न स्थानबाट बसाइँसराइ गरी चरा यस क्षेत्रमा आउने गरेको संयोजक चौधरीले बताए । चिसो धेरै बढेपछि जाडो छल्न र आहारका लागि विभिन्न देशबाट चरा यस क्षेत्रमा आउने गरेको उनले बताए । ‘चिसो अत्यधिक बढेपछि क्रमशः यस क्षेत्रमा बसाइँसराइ गरी चरा आउने गर्छन्, जाडो छल्न र आहाराको खोजीका लागि चराहरूले लामो दूरी पार गरी नेपाल आउने गरेका छन्’, चौधरीले भने । नारायणी नदी, नवलपुरसहित चितवन राष्ट्रिय निकुञ्जका सिमसार क्षेत्रमा अहिले आगन्तुक चरा सहजै देख्न सकिने उनले बताए । सेप्टेम्बर महिनादेखि डिसेम्बरसम्म चरा आउने क्रम रहने संयोजक चौधरीले बताए । जाडो मौसमभरि यहाँ रहने चरा फेब्रुअरीदेखि गर्मी बढ्न थालेपछि आफ्नो पुरानो बासस्थानमा फर्किन सुरु गर्ने उनले बताए । अप्रिलसम्ममा जाडोमा आएका सबै चरा पुनः जहाँबाट आएको हो त्यही देश फर्किने उनले बताए । जाडो मौसममा यहाँ विभिन्न प्रजातिका चराको उपस्थिति बाक्लो हुने गरेकाले चरा गणनाको कार्यक्रमसमेत गर्ने गरिएको छ । नारायणी नदी र आसपासका क्षेत्रमा जलपक्षी गणनाको कार्यक्रम अबको केही दिनपछि गरिने उनले बताए । गत वर्ष यसै समयमा गरिएको चरा गणनामा नवलपुरको नारायणी नदी र यसको छेउछाउका क्षेत्रमा ३८ प्रजातिका जलपक्षी फेला परेको उनले बताए। प्रदूषण, कोलाहल, संरक्षणका ठोस योजना र प्रयास नहुँदा यस क्षेत्रमा चराको सङ्ख्या र प्रजाति भने कमी हुँदै गएको उनको भनाइ छ । रासस
अङ्ग्रेजी नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
काठमाडौं । अङ्ग्रेजी नयाँ वर्ष २०२३ को अवसर पारेर राजधानीको प्रमुख पर्यटकीय नगरी ठमेलमा सडक महोत्सव गरिने भएको छ । ठमेल पर्यटन विकास परिषद्को आयोजनामा कोभिडबाट थला परेको ठमेल क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि यही पुस १६ गते साँझ ठमेलमा सडक महोत्सव हुन लागेको हो । परिषद्ले आज बिहान स्काई लाइन होटल ठमेलमा आयोजना गरेको पत्रकार सम्मेलनमा परिषद्का अध्यक्ष भविश्वर शर्माले कोेरोनाले थलिएको ठमेलको पर्यटन पुनरुत्थान गर्न अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर सञ्चयकोष अगाडिको मुख्य सडकमा ठमेल सडक महोत्सव आयोजना गर्न लागेको जानकारी दिए । ‘ठमेलमा जाऔँ, ठमेलमै बसौँ, ठमेलमै घुमौँ, ठमेलमै रमाऔँ’ भन्ने मूल नाराका साथ सडक महोत्सव तथा बृहत सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागेका छौँ’, उनले भने । ठमेलमा आयोजना हुन लागेको सडक महोत्सवमा एक लाख व्यक्तिको सहभागिता रहने परिषद्ले जनाएको छ । ठमेल सडक महोत्सवलाई सम्पन्न गर्न नेपाल प्रहरीसँग सुरक्षा व्यवस्थापन र ट्राफिक प्रहरीसँग ट्राफिक व्यवस्थापका बारेमा छलफल भइसकेको अध्यक्ष शर्माले बताए। सो सडक महोत्सवमार्फत ठमेललाई विशेष पर्यटकीय क्षेत्र घोषणा गर्नसमेत माग गरिने अध्यक्ष शर्माले बताए । ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष सहदेव धमलाले ठमेल सडक महोत्सवले ठमेलभित्रका व्यवसायीले आफ्ना वस्तु तथा सेवाको प्रवद्र्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यतामा हुने उक्त कार्यक्रम पुस १६ गते साँझ ५ः३० बजे सुरु भई सांस्कृतिक कार्यक्रम रातको १२ः३० सम्म चल्ने उपाध्यक्ष धमलाले बताए । पछिल्लो समय ठमेल पर्यटन विकास परिषद्ले विभिन्न इन्टरनेट कम्पनीको सहकार्यमा ठमेलभित्रको अव्यवस्थित तारसमेत व्यवस्थापन गरिसकेको छ । अङ्ग्रेजी नयाँ वर्षलाई लक्षित गरी गर्न लागिएको सडक महोत्सव सम्पन्न गर्न २५ लाख रुपैयाँ हाराहारीमा खर्च हुने परिषद्का महासचिव राजिव पाण्डेले जानकारी दिए । उक्त सडक महोत्सवले व्यवस्थित ठमेल निर्माणमा सहयोग पुग्ने विश्वास आयोजकले लिएको छ ।
एमडीएमएस सिष्टम तत्काल लागू नहुने, पछि हट्यो सरकार
काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) तत्काल लागु नहुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले तत्काललाई एमडीएमएस लागू नगर्न निर्देशन दिएपछि रोकिएको हो । नेपाल दूूरसञ्चार प्राधिकरणले शुक्रबारदेखि एमडीएमएस लागु गर्दै दर्ता बीनाका फोन सञ्चालनमा रोक लगाएको थियो । प्रधानमन्त्रीले नै तत्काल एमडीएमएस प्रणाली लागु नगरौ भनेपछि तत्कालका लागि रोकिएको प्राधिकारणका अध्यक्ष पुरुषोतम खनालले जानकारी दिए । प्रधानमन्त्रीको निर्देशन पछि एमडीएमएस अनिश्चीत बनेको हो । मोबाइल दर्ता गर्नुपर्ने व्यवस्थाले विदेशबाट फर्कने नागरिकले थप सास्ती पाउने भन्दै यसको चर्को आलोचना भएको थियो । सर्वत्र आलोचना भएपछि प्रधानमन्त्रीले निर्देशन दिएका हुन । ‘हामीलाई प्रधानमन्त्री ज्यूले नै तत्काल लागु नगँरौ भन्नुभयो, उहाँले भन्नेपछि हामीले आजदेखि स्थगित गर्र्याे, उहाँलाई हामीले डेटा उपलब्ध गराउँछौँ, उहाँको निर्देशन अनुसार थप निर्णय हुन्छ’, उनले भने । भन्सार विभागले विदेशबाट स्वदेश फर्कने नेपालीले मोबाइल फोन तथा ल्यापटक ल्याउँदा थप १८ प्रतिशत भन्सार शुल्क भुक्तानी गर्नुपर्ने शर्त राखेको थियो । आजदेखि विदेशबाट आउनेहरुले आफ्नो प्रयोगमा रहेको एउटा मोबाइल स्वघोषणा गरेर निःशुल्क प्रज्ञापनपत्र लिने र दोस्रो मोबाइलको भन्सार शुल्क तिरेर मात्रै प्रज्ञापनपत्र लिने व्यवस्था कार्यान्वयन नभएको भन्सार विभागले जनाएको छ । सरकारले एमडीएमएस लागु गरेपछि विदेशबाट आउने मोबाइल दर्ता गर्नका लागि भन्सारमा प्रज्ञापनपत्र दिने व्यवस्था गरेको थियो । तर तत्काल एमडीएमएस लागु नभएपछि भन्सारमा पुरानै नियम लागु हुने भन्सार विभागले जनाएको छ । पुरानै व्यवस्था लागु भएपछि अब विदेशबाट ल्याईएका २ भन्दा बढी मोबाइल मात्रै भन्सारले जफत गर्नेछ ।
भरतपुरमा बाबा र आमाको सेवा गर्न सिकाउँदै स्कुल
भरतपुर । ‘आमा मलाई हुर्काउनु भो, पढाउनु भो, माया दिनुभयो । अब म हजुरको सधैँ सेवा गर्छु है’ भन्दै नारायणी नमूना मावि भरतपुरमा कक्षा ८ मा अध्ययनरत विद्यार्थी निश्चल अधिकारी आफ्नी आमाको गाला मुसार्दै थिए । उनले विद्यालयमा आयोजित कार्यक्रममा सबैका सामु आफ्नी आमालाई सधैँ माया गर्ने प्रतिबद्धता जनाए । निश्चलजस्तै अन्य विद्यार्थीले पनि आफ्ना बा–आमाप्रति माया र स्नेह जगाउँदै थिए । चितवनमै पहिलोपटक गरिएको कार्यक्रममा अभिभावकसहित विद्यार्थीको आँखाबाट भावुकतासँगै आँशु छल्किएको थियो । केही अभिभावक आफ्नो छोराछोरी, नाता–नातिनीले गरेको बाचाले भक्कानिँदै आँशु लुकाउन प्रयासरत देखिन्थे । यो सबै विद्यालयको कार्यक्रममा देखिएको दृश्य हो । भरतपुर महानगरपालिका–१० स्थित विद्यालयको हीरक महोत्सव समारोहमा विद्यार्थीलाई अभिभावकप्रतिको माया र दायित्ववोध गराउन ‘अभिभावक स्याहार–सुसार’ कार्यक्रम आयोजना गरेको हो । आँशुले टिलपिल भएको आँखा पुच्दै अभिभावक प्रियङ्का शाहले भनिन्, ‘सधैँ यस्तै व्यवहार छोराछोरीले गरुन् भन्ने आश छ । घरमा पनि मलाई सहयोग गर्छन् तर आज स्कुलले सिकाएजस्तै सधैँ गरिदिए हुन्थ्यो भन्ने लाग्छ ।’ शाहले छोराछोरीको माया स्कुलको कार्यक्रममार्फत् महसुस गर्न पाउँदा खुसी लागेको अनुभव सुनाइन्। शाहकी छोरी ४ कक्षामा अध्यनरत छिन् । शारीरिकरूपमा दृष्टिविहीन अभिभावक डोलकुमारी ढकालले व्यवहारिक शिक्षा सबैभन्दा महत्वपूर्ण रहेको बताइन् । उनका छोरा सोही विद्यालयमा कक्षा १२ मा अध्ययनरत छन् । ढकालले विद्यालयबाटै पारिवारिक शिक्षा दिन सके खुसी परिवार निर्माण गर्न सकिने विचार राखिन् । सानै उमेरदेखि बच्चालाई काम गर्न, असल ज्ञान दिन जरुरी रहेको उनको भनाइ छ । उनका छोरा सागर ढकालले अरुका लागि नौलो कुरा भए पनि आफ्ना लागि भने दैनिकीजस्तै लागेको बताए । ‘मेरो ममीले सानैदेखि मलाई काम गर्न सिकाएकी छिन् । ममीको स्याहारसुसार पनि गर्दै आएको छु’, सागरले भने । अभिभावक रुपक लामिछानेले यस्ता खालका अभियान र कार्यक्रमले मात्रै अभिभावकलाई वृद्धाश्रम जानबाट रोक्न सक्ने बताए । उनले भने, ‘अहिलेका छोराछोरी दायित्व भुलेर मात्र आमाबुवालाई आश्रम छाडेका छैनन् । हात–मुख जोड्न विदेश जानुपर्ने बाध्यताले पनि राखेका छन्, यो दुवै समस्याको अन्त्य हुनुपर्छ ।’ कार्यक्रमका संयोजक तथा विद्यालयका शिक्षक विशाल अधिकारीले छोराछोरीले बिर्सिएको नेपाली संस्कार संस्कृति र जिम्मेवारी बुझाउनका लागि अभिभावक स्याहारसुसार कार्यक्रम आयोजना गरिएको बताए । विद्यालयले नेपालमा नै पहिलोपटक यस्तो कार्यक्रम आयोजना गरेको उनले बताए । वृद्धाश्रमलाई घटाउने र आफ्नै घरमा भएको मीठो–मसिनो खाएर अभिभावकलाई सम्मानपूर्वक खुवाउने र स्यारसुसार गर्ने बनाउन स्कुलमा यो कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ । ‘कलिलो दिमागमा नै यो सन्देश पसोस् भन्ने हाम्रो उद्देश्य हो’, उनले भने, ‘विद्यालयमा सिकेको कुरा भविष्यसम्म उनीहरुमा छाप बस्छ ।’ शिक्षकले जे कुरा सिकायो विद्यार्थीले त्यही कुरा सिक्ने हुँदा विद्यालयस्तरबाट यसलाई सामाजिकस्तरसम्म लैजानुपर्ने उनको भनाइ छ । सानै उमेरमा आमाबुवा र हजुरबुवा गुमाएका अधिकारीले समय परिस्थिति अनुकूल कार्यक्रम ल्याएको जानकारी दिन्छन् । हजुरआमाले कष्ट गरेर शिक्षकसम्म बनाएको सम्झँदै उनले आफ्नोजस्तो हजुरआमा, बुवा वृद्धाश्रममा देख्दा असैह्य हुने बताए । यसलाई जरैदेखि निको पार्न विद्यालयदेखि नै विद्यार्थीलाई सिकाउन आवश्यक रहेको उनको भनाइ छ । विद्यालयका प्राचार्य पूर्णप्रसाद दबाडीले एकले अर्कालाई हेप्ने होइन सम्मान गर्ने बानीको विकास हुनुपर्ने भन्दै यो संस्कार सबैलाई सिकाउनुपर्ने बताए । विद्यालयले गरेको कार्यक्रमले सबैलाई सकरात्मक सन्देश दिएको उनको भनाइ छ । ‘सबैतिर सकारात्मक सन्देश प्रवाह भएको छ, म धेरै खुसी भएको छु’, उनले भने । विद्यार्थीले बनावटीमात्रै नभएर दिल खोलेर आफ्ना अभिभावकसँग प्रतिबद्धता जनाएको उनले बताए । सामाजिक सञ्जाल र अन्य कारणले आफ्नो घरपरिवार र आफन्तसँगको सम्बन्ध पनि टाढा बनाएको भन्दै त्यसको अन्त्य स्कुलबाट मात्रै सम्भव भएको प्राचार्य दबाडीले बताए ।
संरक्षण हुन नसक्दा दुई सय वर्ष पुरानो रानीतलाउ जीर्ण बन्दै
खजुरा । निकै तामझामका साथ नेपालगञ्जको ऐतिहासिक पर्यटकीय ताल रानीतलाउलाई सञ्चालनमा ल्याइए पनि अहिले संरक्षणको अभावमा पुनः जीर्ण हुन थालेको छ । करिब पाँच वर्षअघि निर्वाचित नेपालगञ्जका नगरप्रमुख डा. धवलशम्सेर राणाको पहलमा पुनः सञ्चालनमा ल्याइएको ताललाई हाल आएर संरक्षणको अभावमा पुनः पहिलाको जस्तै भएको छ । धेरै वर्षपछि रु ३५ लाख खर्च गरेर दोस्रोपटक सञ्चालनमा ल्याइएको रानीतलाउको सौन्दर्यको धेरै चर्चा भयो । नेपालगञ्जको पर्यटकीयस्थलका रूपमा परिचित रानीतलाउ अब झकिझकाउ भयो भन्ने धेरैलाई लाग्यो । दुर्भाग्य डेढ वर्षपछि रानीतलाउ फेरि उस्तै बाटोमा फर्किसकेको छ । बोटिङ बन्द भएको छ । सरसरफाइमा कमी छ । पर्यटकको घुइँचो हुने रानीतलाउ सुनसान भएको स्थानीय कृष्णमुरारीप्रसाद भट्टले बताए । उनी भन्छन, ‘नेपालगञ्जको ऐतिहासिक पर्यटकीय क्षेत्र मानिएको रानीतलाउ फेरि उस्तै गतिमा जाने थालेको छ, बहुत् दुःख लागेको छ, नेपालगञ्ज सहरको आकर्षण र पुरानो गहनाको रूपमा रहेको यो तालको दुर्दशा हेर्दा लज्जित महसुस गरेको छु ।’ सौन्दर्यकरण गर्नका लागि रानीतलाउमा धेरै पैसा लगानी गरियो । पैसा खन्याएर मात्रै हुँदोरहेनछ भन्ने देखिँदै आएको छ । रानीतलाउलाई झकिझकाउ बनाएर वार्षिक १८ लाखमा ठेक्का दिइएको थियो । ठेकेदारले छोड्दा चारवटा डुङ्गा कामै नलाग्ने अवस्थामा रहेका छन् । नेपालगञ्जको इतिहास बोकेको दुई सय वर्ष पुरानो रानीतलाउमा संक्षणको अभावमा अहिले पर्यटकको सङ्ख्या घटेको छ । रानीतलाउको जीर्णोद्धारपछि सुरुआतको वर्षमा अन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ रहने तलाउ अहिले पुनः जीर्ण बन्दै गएपछि तलाउमा पर्यटकको सङ्ख्या घटेको छ । फुर्सदको समयमा बालबालिका भुलाउने ठाउँका रूपमा परिचत रानीतलाउ पुनः जीर्ण बन्दै गएपछि तालाउ घुम्न आउने पर्यटकको सङ्ख्या घटेको छ । बालबालिका खेल्नका लागि तलाउमा परिसरमा राखिएको झुला, चिप्लेटीलगायतका सामग्री बिग्रिएका छन् भने संरक्षणको अभावमा फूलबारी पनि जीर्ण बनेको छ । तलाउ परिसरमा भेटिनुभएका नेपालगञ्जका नवीन रोकायले संरक्षणका अभावमा जीर्ण बन्दै गएकाले संरक्षण गर्नुपर्ने बताउँछन् । राज्य पुनःसंरचनापछि स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले तलाउलाई जीर्णोद्वार गरेका थिए । निरन्तर मर्मतसम्भार तथा संरक्षणको अभावका कारण अहिले पुनःतलाउ जीर्ण बन्दै गएको छ । सरसफाइको अभावका कारण तलाउको पानी एकदमै फोहर भएकाले सरसफाई गरी संरक्षण गर्नुपर्ने स्थानीय गिरवरप्रसाद अग्रवाल बताउँछन् । विसं २०७६ असार १५ गते सौन्दर्यीकरण भएपछि रानीतलाउको उद्घाटन गरियो, त्यसपछि वडा नं ८ ले करिब चार महिना रानीतलाउ सञ्चालन गर्यो । वडा कार्यालयका अनुुसार सो अवधिमा रु छ लाख कमाइ भयो । सुरुआतमा मान्छेको भीड नै लाग्यो । लामो समयपछि बोटिङ सञ्चालनमा आएपछि मान्छे ओइरिए । करिब चार महिनामा छ लाख आम्दानी भएको देखेका ठेकेदारले बढाबढ गरेर बोले । १० लाखबाट सुरु भएको ठेक्का कबोल १८ लाखमा गएर अडियो । त्यो बीचमा चैतदेखि कोरोना कहर सुरु भएपछि ठेकेदारले छोडेर गएपछि तलाउ बन्द गरिएको थियो । कोरोनापछि माघ ४ गतेदेखि उपमहानगरपालिका र वडाबाट एक–एक जना कर्मचारी खटिएर रानीतलाउ खोलिएको छ । बोटिङ गर्ने सुविधा नरहेकाले पर्यटकको बाक्लो उपस्थिति देखिएको नदेखिएको कर्मचारी सुदेश केसीलेबताए । सुरुआती चरणमा करिब दुई वर्षमात्रै तलाउ राम्रै सञ्चालनमा आए पनि कोरोना महामारीका कारण तलाउ बन्द भएको थियो । कोरोनापश्चात तलाउ जीर्ण बन्दै गएपछि पुरानै लयमा फर्किन सकेन । तलाउ मर्मतसम्भार गरेर पुनः पहिलेकै जस्तै बनाउने योजना रहेको नेपालगञ्जका उपप्रमुख कमरुद्दिन राईले बताए । रानीतालउमा सरसफाइको कमी, तालको फोहर पानी, जीर्ण बन्दै गएको र बालबालिका खेल्ने सामग्री तथा पर्यटन प्रवद्र्धनको कमीका कारण पर्यटकको सङ्ख्या घट्दै गएको देखिन्छ । सरोकारवाला निकायले थप अकर्षण र मनोरञ्जन गर्ने सामग्री जडान गरी नियामित मर्मतसम्भार गरी सञ्चालन गर्न स्थानीयवासीले माग गरेका छन् । रासस
नवलपुरको लोकाहा औद्योगिक क्षेत्र निर्माण चर्चामा मात्र सीमित
त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको लोकाहामा औद्योगिक क्षेत्र निर्माणको चर्चा सुरु भएको करिब चार वर्ष बितिसकेको छ । कावासोती नगरपालिका-१ र देवचुली नगरपालिका वडा नं ९, १० र १५ लाई छुने गरी निर्माण हुने भनिएको उक्त औद्योगिक क्षेत्र निर्माणको कामले हालसम्म ठोस काम भने हुनसकेको छैन । लोकाहामा रहेको करिब एक सय ८० बिघा क्षेत्रफलमा प्रादेशिक औद्योगिक क्षेत्र निर्माण गर्ने योजना छ । गण्डकी प्रदेश सरकारले समेत यहाँ औद्योगिक क्षेत्र निर्माणका लागि पहल गरेको लामो समय भइसकेको छ । कावासोती–१ का वडाध्यक्ष तबारक अहमद मियाँले चर्चा चलेको धेरै भए पनि काम भने अघि बढ्न नसकेको बताउँदै औद्योगिक क्षेत्र निर्माण भए यस क्षेत्रको आर्थिक विकासमा सहयोग पुग्ने बताए । लोकाहामा औद्योगिक क्षेत्र निर्माणका लागि स्थानीयस्तरबाट आफूहरूको सहयोग र समन्वय रहने उनको भनाइ छ । ‘हाम्रो वडाभित्र पर्ने भएकाले हामीले यसलाई सकारात्मकरूपमा लिएका छौँ, तर काम भने छिटो सुरु गर्नुपर्छ भन्ने हाम्रो माग हो’, उनले भने । लोकाहामा औद्योगिक क्षेत्र निर्माणको चर्चा सुरु भएयता गण्डकी प्रदेशदेखि सङ्घका विभिन्न मन्त्रीहरूले स्थलगत अवलोकन गरिसकेका छन् । औद्योगिक क्षेत्र निर्माण भए यस क्षेत्रको विकासमा सहयोग पुग्ने नवलपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष वैकुण्ठ अर्यालले बताए । सरकारले औद्योगिक क्षेत्र निर्माण गरी उद्योग स्थापनाको वातावरण बनाए यहाँ उद्योगीहरू धेरै आउने उनको भनाइ छ । पूर्व–पश्चिम राजमार्गको मध्यभाग भएकाले उत्पादित सामग्री बजारीकरण र भारतीय सीमा नजिक रहेकाले आवश्यक कच्चा पदार्थ ल्याउन सहज हुने भएकाले लोकाहामा बन्ने औद्योगिक क्षेत्रमा उद्योगी आकर्षित हुने उनको तर्क छ । गण्डकी प्रदेशको प्रादेशिक औद्योगिक क्षेत्रका रूपमा यसलाई अगाडि बढाउँदै जाँदा जिल्लामा रोजगार, उद्यमशीलता थप बढ्ने र नवलपुरसहित गण्डकी प्रदेशकै आर्थिक विकासमा टेवा पुग्ने अध्यक्ष अर्यालको भनाइ छ । नवलपुरको लोकाहामा प्रादेशिक औद्योगिक क्षेत्र निर्माणका लागि प्रारम्भिक चरणको काम सुरु भएको पर्यटन तथा उद्योग कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरका प्रमुख सागर खनालले बताए । लोकाहामा प्रादेशिक औद्योगिक क्षेत्र निर्माणका लागि जग्गा नापीको काम सम्पन्न भएको उनले जानकारी दिए । ‘औद्योगिक क्षेत्रका लागि जग्गा नापी तथा सरकारको नापमा मालपोत श्रेस्ता कायम गर्ने काम सकिएको छ र प्रदेश मन्त्रिपरिषद्मा पेस गर्न सबै प्रक्रिया पूरा भएको छ’, कार्यालय प्रमुख खनालले भने । प्रादेशिक औद्योगिक क्षेत्र निर्माणको योजनाअनुसार अब डिपिआर तयार गर्ने, वातावरणीय प्रभाव मूल्याङ्कनलगायतका कामपछि उद्योग स्थापनाको काम अघि बढ्ने उनको भनाइ छ । ‘अब मन्त्रिपरिषद्को निर्णयसँगै डिपिआर बनाउनेदेखिका अन्य काम अघि बढ्छ, त्यसपछि उद्योग स्थापनाको चरण सुरु हुन्छ’, कार्यालय प्रमुख खनालले भने । रासस