विकासन्युज

सहकारीहरुले बचतको रकम जग्गा र गाडीमा खन्याउँदा समस्या आयो : रजिष्ट्रार पण्डित

काठमाडौं । राष्ट्रिय सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले सहकारीहरुले अनुत्पादक क्षेत्रमा लगानी गर्दा अहिलेको समस्या देखिएको बताएका छन् । शुक्रबार नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को १२औं वार्षिक साधारणसभामा बोल्दै उनले सहकारीहरुले बचतको रकम जग्गा र गाडीमा लगानी गर्दा अहिलेको समस्या आएको बताएका हुन् । ‘अहिले अधिकांश सहकारीले बचतको रकम अनुत्पादक क्षेत्रमा लगानी गरेका छन्, त्यो सबै रकम गाडी र जग्गामा लगानी भएको छ, अभियानकर्मी समस्या मात्रै भयो भन्ने तर समाधान को उपाय नखोज्ने हुँदा झन समस्या बढ्दै गएको छ,’ उनले भने । यस्तै, उनले सहकारीका वेथितिका विषयमा सञ्चारकर्मीहरुले शसक्त रुपमा लागेर कलम चलाउनु पर्ने धारणा राखे । ‘सहकारी ऐन जारी नगर्ने प्रदेश कुन–कुन हुन्, अहिले धेरै सहकारीहरु अभियानमैत्री छैनन्, अनुसन्धानमुलक काम गरेर वेथितिहरु बाहिर ल्याउन आवश्यक छ,’ उनले भने । यस्तै, कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले बैंकहरुको ब्याजदर १८÷१९ प्रतिशत पगेको बताएका छन् । उनले बैंकहरुले कर्जाको ब्याजदर बढी भएपनि ऋण नै नपाइएको बताएका छन् । ‘अहिले ऋणको ब्याज ह्वात्तै बढेको छ, बैंकहरुले कर्जाको ब्याजदर १८÷१९ प्रतिशत पुर्याएका छन्, ब्याज बढी भएपनि कर्जा पाइँदैन, ऋण स्वीकृत भएपनि पैसा पाइँदैन,’ उनले भने । यस्तै, उनले सहकारीमा देखिएको समस्या सहकारीको कारण मात्र नभएको बताए । उनले सहकारीमा देखिएको समस्या समाधान गर्नका लागि सबै निकायहरु लाग्नु पर्ने धारणा राखे । सहकारीलाई यो अवस्थाबाट माथि उकास्नु पर्ने अहिलेको चुनौति रहेको उनको भनाइ छ ।

कोरोना रोकथाम गर्न वीरगञ्ज नाकामा कडाइ

वीरगञ्ज । भारतमा पछिल्लो पटक कोरोना भाइरसको सङ्क्रमण देखापरेपछि सोको रोकथामका लागि वीरगञ्ज नाकामा उच्च सतर्कता अनपाउन थालिएको छ । भारतमा कोभिड सङ्क्रमित दैनिक बढिरहेकाले त्यहाँबाट वीरगञ्ज प्रवेश गर्ने यात्रुलाई अनिवार्य जाँच गरेर मात्रै भित्र्याउन थालिएको हो । कोरोना भाइरसको सङ्क्रमण छिमेकी देशमा फैलिरहेको र त्यसलाई यहाँ भित्रिन नदिन उच्च सतर्कता अपनाउनुपर्ने देखिएकाले मुख्य नाकामा रहेको हेल्थ डेस्कको सेवा प्रवाह थालिएको छ । हेल्थ डेस्कमा आवश्यक स्वास्थ्य उपकरण, मास्क, स्यानिटाइजरलगायतका सामग्रीको कुनै कमी हुन नदिने गरी चुस्त राख्न वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले स्वास्थ्यकर्मीलाई निर्देशनसमेत दिए । कोभिड सङ्क्रमण फैलन नदिन सबैले सतर्कता अपनाउनुपर्ने देखिएकाले महानगरले आवश्यक आन्तरिक तयारी गर्न प्रवेशद्वारमा रहेको हेल्थ डेस्कको अनुगमन गरिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले बताए । अहिले दैनिक एक जनाको एन्टिजेन परीक्षण हुनाका साथै दुई सय जनाको स्क्रिनिङ गर्ने काम गरिरहेको हेल्थ डेस्कका चिकित्सक डा अनिसा साहले जानकारी दिए । नेपालीको तापक्रम स्क्रिनिङ गर्ने गरिएको र विदेशीलाई भने एन्टिजेन नै परीक्षण गरेर पठाउने गरिएको हेल्थ डा साहले बताए । हेल्थ डेस्कमा अहिले बिहान र बेलुकाको समयमा एन्टिजेन परीक्षण र शरीरको तापक्रम जाँच गर्ने गरिएको छ । हेल्थ डेस्कको सरसफाइ र मर्मतसम्भार गर्नुपर्ने कामलाई अघि बढाउन पनि कर्मचारीलाई निर्देशन दिएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए ।

बैंकहरुको ब्याज १९ प्रतिशतसम्म पुग्दा सहकारीलाई सकस पर्यो : अध्यक्ष उप्रेती

काठमाडौं । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले बैंकहरुको ब्याजदर १८/१९ प्रतिशत पगेको बताएका छन् । शुक्रबार नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को १२औं वार्षिक साधारणसभामा बोल्दै उनले बैंकहरुले ऋणीबाट १८/१९ प्रतिशत ब्याज लिइरहेको बताएका हुन् । उनले बैंकहरुले कर्जाको ब्याजदर बढी भएपनि ऋण नै नपाइएको बताएका छन् । ‘अहिले ऋणको ब्याज ह्वात्तै बढेको छ, बैंकहरुले कर्जाको ब्याजदर १८/१९ प्रतिशत पुर्याएका छन्, ब्याज बढी भएपनि कर्जा पाइँदैन, ऋण स्वीकृत भएपनि पैसा पाइँदैन,’ उनले भने । यस्तै, उनले सहकारीमा देखिएको समस्या सहकारीको कारण मात्र नभएको बताए । उनले सहकारीमा देखिएको समस्या समाधान गर्नका लागि सबै निकायहरु लाग्नु पर्ने धारणा राखे । सहकारीलाई यो अवस्थाबाट माथि उकास्नु पर्ने अहिलेको चुनौति रहेको उनको भनाइ छ ।

भैँसीपालनबाट वार्षिक ३० करोडको आम्दानी

मेलम्ची । मेलम्ची नगरपालिका–११ का जीवन चालिसे दैनिक ८० लिटर दूध बिक्री गरी आम्दानी गरिरहेका छन् । उनी यस पेसाबाट आफू सन्तुष्ट रहेको बताउँछन् । उनका बिसमुरे फार्ममा १० भैँसी छन् । परिवारको साथले भैँसी पाल्न सहज रहेको उनी बताउँछन् । आफ्ना उमेरका अधिकांश विदेश गएका तर चालिसे अर्काको देशमा गएर काम गर्नुभन्दा आफ्नै गाउँमा भैँसीपालनमा गर्दा राम्रो आम्दानी हुने बताउँछन् । नगरपालिकाले बीमा लगायतमा सहयोग गरे पनि अझै किसानलाई सहयोग गर्नुपर्ने उनको माग छ । घाँसपातका लागि केही असहज भए पनि अन्य धेरै दुःख नरहेको उनको भनाइ छ । बिहान साढे ४ बजेदेखि राति अबेरसम्म काममा व्यस्त रहँदा आफ्नै घरमा परिवारसँग बसेर दूध, दही र मोही खान पाउँदा आफूलाई विदेश जानुभन्दा धेरै खुसी र आनन्द रहेको उनी बताउँछन् । पछिल्लो समय जिल्लाका युवाहरू व्यावसायिक कृषिमा जोडिइरहेका छन् । जिल्लामा पनि व्यावसायिक खेती गर्ने र पशुपालनमा जोडिने बढिरहेका छन् । यसका कारण नगरपालिका दूध उत्पादनमा आत्मनिर्भर बनेको छ । विगतमा उत्पादित दूधलाई स्थानीय बजारका चिया पसलमा बिक्री गर्दै आएका किसानले अब भने सहकारीमार्फत सञ्चालित केन्द्रमा दूध बिक्री गर्ने गरेका छन् । दुग्ध उत्पादनका लागि व्यावसायिक पशुपालनमा अहिले युवाको आकर्षण बढिरहेको छ । अर्काको देशमा गएर काम गर्नुभन्दा आफ्नै गाउँमा भैँसीपालनमा गर्दा आम्दानी हुने र पछिल्लो समय पशु तथा कृषि क्षेत्रमा सरकारी अनुदान बढ्नुले पनि व्यक्तिगत रुपमा गाईवस्तु पाल्ने तथा दूध उत्पादन गर्ने किसान बढ्दै गएका छन् । गाईभैँसीको व्यावसायिक पालनका लागि सरकारले प्रत्येक किसानका लागि अनुदान दिने गरेको छ । सरकारको प्रोत्साहनपछि यो क्षेत्रमा पशुपालन गर्ने बढेका छन् । किसानहरुले एउटै फार्ममा कम्तीमा १० देखि ८० सम्म उन्नत नस्लका गाईभैँसी पालेका छन् । डेढ वर्षदेखि व्यावसायिक रुपमा आम्दानी गरिरहेको र केहीलाई रोजगार पनि दिएको केउरानीका अर्का किसान बच्चुराम गिरीले बताए । नगरपालिका क्षेत्रबाट मात्रै दुग्ध चिस्यान केन्द्रमा मात्रै दैनिक सात हजार लिटरसम्म दूध सङ्कलन हुने गरेको छ । सङ्कलन भएको दूध काठमाडौँ निर्यात हुँदै आएको छ । दूध बिक्रीबाट मात्रै यस क्षेत्रका किसानले वार्षिक ३० रुपैयाँ करोडसम्मको आम्दानी लिने गरेको दुग्ध व्यवसायी शरण चालिसे बताउँछन् । उनी भन्छन्, ‘पशुपालन पेसा व्यावसायिक बन्दै गएको छ ।’ उनका अनुसार मेलम्ची क्षेत्रमा व्यावसायिक रुपमा पशुपालन गर्ने बढिरहेका छन् । उत्पादित दूधको उचित मूल्य निर्धारण हुनुपर्ने तथा प्राविधिक तालिमको व्यवस्था गर्नुपर्नेमा किसानको जोड छ ।

कम्बोडियाको होटलमा आगलागी हुँदा १९ को मृत्यु

कम्बोडिया । उत्तरी कम्बोडियाको ब्यान्टी मेनाची प्रान्तमा रहेको एक होटलमा आगलागी भएको छ । सो आगलागीमा परेर कम्तीमा पनि १९ जनाको ज्यान गएको छ । बिहीबार यहाँका सुरक्षा अधिकारीले सो कुराको जानकारी दिएका हुन् । ती अधिकारीले प्रारम्भिक प्रतिवेदनअनुुसार १९ जनाको ज्यान गएको र अरु केही घाइते भएका बताएका छन् । प्रहरीले त्यहाँ जलेर ज्यान जानेमा होटलका कर्मचारी र केही पाहुना रहेका जनाएको छ । सो प्रतिवेदनमा २३ जना जलेर गम्भीर रुपमा घाइते भएका र अरु ५० जना सामान्य घाइते रहेका छन् ।होटलको भवनमा आगो लागेपछि निभाउने प्रयास भएको तर आगोको लप्काले मानिसहरुलाई लागेपछि उनीहरुको जलेर मृत्यु भएको बताइएको छ । सो प्रान्तका प्रान्तीय प्रहरी प्रमुखले आगो लागेको होटलमा हराइरहेका केही व्यक्तिको खोजीमा प्रहरी लागेको तर उनीहरु कुनै कोठामा निसास्सिएर रहेको हुनसक्ने बताएको छ ।

२० वर्षका दिलबहादुर सुनार कपाल काटेरै मासिक ४५ हजार कमाउँछन्

सुर्खेत । स्थानीय बराहाताल गाउँपालिका–५ दिलबहादुर सुनार २० वर्ष नलाग्दै । पढ्नुपर्ने युवावस्थामा काम गर्नुपर्ने बाध्यताले सतायो । परिवारको आर्थिक अवस्था नाजुक भएका कारण दिलबहादुरले ८ कक्षा पढ्दापढ्दै पढाइ छोड्नुपर्यो । परिवारले खेती किसानी गर्दै आए पनि पर्याप्त जग्गा नहुँदा अरुको जग्गा अधिया गरेर खानुपर्ने बाध्यता थियो । बुबाले छ महिनासम्म भारतको कालापहाड गएर कमाएको रकमले शिक्षादीक्षाको त कुरै छोडौँ खाना लाउनसमेत परिवारलाई धौ धौ हुन्थ्यो । आर्थिक अवस्था नाजुक भएकै कारण दिलबहादुरले आफ्नो पढाइ बीचमै छोड्नुपरे पनि भाइबहिनीको पढाइ नरोकियोस् भन्ने उद्देश्यले आफैँ कमाइ गरेर योजना योजना बनाए तर न पढाइ छ नत कुनै ज्ञानको अभावमा कतै पनि काम गर्ने अवसर भने मिलेन । अन्ततः उही कालापहाड गएर कमाउने उद्देश्यले उनी भारतको सिम्लातर्फ गए। त्यहाँ गएर अनेक दुःख पाएर छ महिनापछि फर्किएका दिलबहादुरको घरको अवस्था उस्तै दयनीय थियो । आफूसँगैका साथीहरु कापीकिताब बोकेर विद्यालय गइरहेका हुन्थे तर उनलाई पढ्ने इच्छा भए पनि घरको जिम्मेवारी काँधमा आइसकेकले जीवनदेखि हार खाइसकेका थिए । एकदिन गाउँमा उद्यमशीलतासम्बन्धी तालिम सञ्चालन हुँदैछ भन्ने सुनेर दिलबहादुरले आवेदन दिएकामा वडा कार्यालयले पनि उनको नाम सिफारिस गरेर पठाएछ । गाउँपालिकासँगको समन्वय र सेभ द चिल्ड्रेनले साझेदारीमा समाज जागरण केन्द्र स्याक नेपालले सञ्चालन गरेको पावर परियोजनामार्फत १८ वर्षदेखि २४ वर्षसम्मका युवालाई उद्यमशिल बनाउने तालिम सञ्चालन गरेको थियो । तीन महिनासम्म कपाल काट्ने सीप सिकेपछि केही गर्न सक्छु भन्ने आँट आएकाले दिलबहादुरले भने, ‘बराहाताल गाउँपालिका र स्याक नेपालले मलाई कपाल काट्नेसम्बन्धी सीप सिकायो, त्यसपछि मलाई अब केही गर्न सक्छु भन्ने लागेकाले कपाल काट्ने व्यवसाय सञ्चालन गर्ने योजना बनाएँ । कपाल काट्ने योजना त बनाएँ तर मसँग एक रुपैयाँ पनि थिएन,’ उनले भने, ‘पावर परियोजनाबाट मलाई २८ हजार रुपैयाँ रकम व्यवसाय सञ्चालन गर्न सहयोग मिल्यो, त्यही पैसाले गाउँपालिकाको बड्डीचौर बजारमा कपाल काट्ने व्यवसाय सञ्चालन गरेँ ।’ व्यवसाय सुरु गर्दा सुरुमा त खासै चलेन तर केहीसमय पछि सोचेको भन्दा धेरै आम्दानी हुन थाल्यो । उनले भने, ‘यहाँ कपाल काट्न पाइन्छ रे भन्ने थाहा पाएपछि अहिले मेरो सैलुनबाट दैनिक १५ सय जति कमाइ हुन्छ ।’ सीप सिकाउने र व्यवसाय सञ्चालनमा बाटो देखाउने संस्थाप्रति आभार प्रकट गर्दै दिलबहादुरले यही खर्चबाट भाइबहिनी पढाउनेदेखि घरखर्च धान्न सहज भएकाले सीप सिकाउने संस्थाप्रति आभार व्यक्त गरे। सरकारले आफूजस्तै युवालाई सीप सिकाएर स्वदेशमै रोजगारी सिर्जना गराउनसके विदेश जानुपर्ने बाध्यता हट्ने उनको सुझाव छ । दिलबहादुर मात्रै होइन, उक्त गाउँपालिकाकै भोजराज ठाडाको परिवारको आर्थिक अवस्था पनि उस्तै थियो । उनी बोल्न पनि सक्दैनन् । एकातिर आर्थिक अवस्था नाजुक थियो भने अर्कोतिर सुस्त श्रवण भएका छोरा हुँदा भोजराजको बुबालाई साह्रै चिन्ता परेको थियो । पावर परियोजनामार्फत नै कपाल काट्ने सीप सिक्ने अवसर पाएपछि उनले पनि बड्डीचौरमै कपाल काट्ने पसल खोले । भोजराजलाई पनि परियोजनाले व्यवसाय सञ्चालन गर्न २८ हजार रुपैयाँ सहयोग गरेको थियो । अहिले उनले मासिक ३० हजार रुपैयाँ रकम कमाइ गर्दै आएको भोजराजका बुबाले जानकारी दिए । मलाई छोराको धेरै चिन्ता थियो, ती बुबाले भने, ‘छोराले सीप सिकेर सजिलै पैसा कमाइरहेकाले अहिले म धेरै खुसी छु ।’ पैसा कमाउने भएपछि छोरो पनि जिम्मेवार बन्दै गएको अनुभूति हुन थालेको उनको भनाइ थियो । दिलबहादुर र भोजराजजस्तै गरिबीको रेखामुनि रहेका र आर्थिक अभावकै कारण पढाइ छोडेका व्यक्तिलाई स्थानीय सरकारसँग मिलेर उद्यमशीलतासम्बन्धी विभिन्न सीप सिकाएर उद्यमशील बनाइएको पावर परियोजनाका संयोजक तेज सोनामले जानकारी दिए । अहिले सुर्खेतको बराहाताल र वीरेन्द्रनगरमा यो कार्यक्रम लागू छ । बराहातालका ६५ र वीरेन्द्रनगरका ५५ जना गरी एक सय २० युवायुवतीलाई कपाल काट्ने, ब्युटीपार्लर, कुखुरापालन, बाख्रापालनलगायत सीप सिकाएर उद्यमी बनाइएको उनको भनाइ थियो । तालिम लिएका सबै प्रशिक्षार्थीलाई व्यवसाय सञ्चालन गर्न २८ हजार रुपैयाँका दरले रकमसमेत सहयोग गरिएको र यसबाट स्वरोजगार बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । स्वरोजगारमूलक कार्यक्रममा स्थानीय सरकारको पनि सहयोग र साझेदारी रहने जनप्रतिनिधिले बताएका छन् । गाउँमै रोजगारी दिने सवालमा स्थानीय सरकारले पनि योजना बनाएको भन्दै सबै मिलेर युवालाई स्वरोजगार बनाउनुपर्ने सहभागी प्रशिक्षार्थीको भनाइ थियो । गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीकुमारी पुनमगरले कार्यक्रमको प्रभावकारिता राम्रो देखिएको भन्दै आगामी दिनमा पनि सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाए । स्थानीय सरकारसँग पनि उद्यमशीलतासम्बन्धी कार्यक्रम छन्, उनले भने, ‘एउटै खालका कार्यक्रमलाई सँगसँगै लिएर ठूलो सङ्ख्यामा युवालाई सीप सिकाएर स्वरोजगार बनाउन हातेमालो गर्छौँ ।’

गल्फ लुब्रिकेन्टको स्वराज ट्रयाक्टर सर्भिस क्याम्प सम्पन्न

काठमाडौं । नेपाल ल्युब आयलको स्वराज ट्रयाक्टर सर्भिस क्याम्प सम्पन्न भएको छ । उक्त सर्भिस क्याम्प पुस ९ गते १३ गतेसम्म भारदह, राजविराज, बरियारपट्टी, सिराहा र कल्याणपुरमा सम्पन्न भएको थियो । स्वराज ट्रयाक्टरका ग्राहकहरुलाई लक्षित क्याम्पमा निःशुल्क सर्भिसिङ र इन्जिन आयल चेन्ज प्रदान गरेको थियो । ट्रयाक्टर धनी तथा ड्राइभरको स्वास्थ्य अवस्थालाई पनि प्राथमिकता दिई निःशुल्क बडी चेकअप र रक्तचाप जाँच पनि गरिएको थियो । सो क्याम्पमा सहभागी सबै ट्रयाक्टर धनी तथा ड्राइभरलाई उपहार स्वरूप गल्फको टिशर्ट, किरिङ्ग र पेन प्रदान गरिएको थियो । क्याम्प नेपाल ल्युब आयल र नेपाल ल्युब आयलको आधिकारीक ओइएम सेल्स पार्टनर राजेश ट्रेडर्स एण्ड सप्लायर्सको संयुक्त आयोजनामा भएको हो । नेपालमा गल्फ लुब्रिकेन्ट उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त कम्पनी हो नेपाल ल्युब आयल ।

नारायणी नदीमा लामो समयपछि फेरि देखिन थाल्यो डल्फिन

नवलपुर । यही पुस १३ गते संरक्षणकर्मी एवं नेचर गाइड टेक महतोले नवलपुरको अमलटारी घाटस्थित नारायणी नदीमा डल्फिन फेला पारे । यसअघि मङ्सिर १४ गतेसमेत सोही स्थानमा उनले डल्फिन देखेका थिए । गत वर्ष नारायणी नदीको भेलौजी भन्ने स्थानमा समेत डल्फिन फेला पारेका उनी यतिबेला उत्साहित छन् । लामो समयदेखि नारायणी नदीमा डल्फिन देखिन छाडेकामा विगतको वर्षदेखि क्रमशः यस क्षेत्रमा डल्फिन फेला पार्दा आफू उत्साहित भएको उनले बताए । ‘नारायणी नदीमा लामो समयपछि फेरि डल्फिन देखिन थालेको छ, यसले यस क्षेत्रका संरक्षणकर्मीलाई उत्साहित बनाएको छ’, उनले भने । नवलपरासी पूर्वनवलपुरको अमलटारीघाटदेखि नारायणी नदीको त्रिवेणीसम्म विभिन्न स्थानमा विभिन्न समयमा डल्फिन देखिन थालेको छ । धेरैजसो नारायणी नदीको अमलटारी घाट र भेलौजी भन्ने स्थानमा डल्फिन देखिने गरेको छ । यी स्थानमा नदीको सतह गहिरो र शान्त रहेकाले डल्फिन यस क्षेत्रमा देखिएको हुनसक्ने संरक्षणकर्मी महतोले बताए । लामो समयको अन्तरालपछि क्रमश : डल्फिन देखिनु आफैँमा खुसीको कुरा भएको उनले बताए । यस क्षेत्रमा दुई वटा डल्फिन देखिने गरेको महतोले बताए । गत मङ्सिर १४ गते डल्फिनको फोटोसमेत खिच्न भ्याएका थिए । संरक्षणकर्मी डिबी चौधरीलेसमेत हालैमात्र नारायणीमा डल्फिन फेला पारेको बताए । पहिला नारायणी नदीमा धेरैजसो डल्फिन देखिने गरेकामा हराउँदै गएकामा फेरि अहिले डल्फिन देखिन थालेको उनको भनाइ छ । त्रिवेणीस्थित नेपाल भारत सीमामा रहेको बाधका कारण धेरैजसो डल्फिन बाँधबाट तल गएपछि माथि आउन नसक्दा यो क्षेत्रमा डल्फिन देखिन छाडेको उनको भनाइ छ । ‘अमलटारीदेखि त्रिवेणीसम्म डल्फिनका लागि राम्रो वातावरण छ, पानीको गहिराइ, आहाराका लागि माछा सबै छ तर डल्फिन तलमाथि नदीमा डुलिरहन्छ, त्रिवेणीमा रहेको ब्यारेजका कारण डल्फिन एकपटक तल गएपछि फर्किन मुस्किल हुन्छ’, उनले भने ‘पहिला धेरै देखिने ठाउँ हो पछि विस्तारै हराउँदै गयो, विगतको वर्षयता देखिन थालेको छ, यो खुसीको कुरा हो ।’ नारायणी नदीमा डल्फिन देखिनु पर्यटकीय दृष्टिकोणलेसमेत फाइदाजनक भएको उनको भनाइ छ । नदीमा डल्फिन देखिँदा आन्तरिक तथा बाह्य पर्यटक डल्फिन हेर्नकै लागि आउने हुँदा यसले पर्यटकीय गतिविधिलाई बढाउने संरक्षणकर्मी चौधरीले बताए । ‘यस क्षेत्रमा डल्फिन हेर्न पाइन्छ भनेर आउने पर्यटक बढ्छन्, यो पर्यटकलाई आकर्षण गर्ने एउटा माध्यम बन्नसक्छ, जसले गर्दा समग्र जिल्लाकै पर्यटन प्रवद्र्धन हुन्छ’, उनले भने । डल्फिन एक स्तनधारी जलचर जीव हो । नेपालको नारायणी नदीसहितका विभिन्न नदीमा डल्फिन देखिए पनि संरक्षणमा ठोस पहल भने नभएको संरक्षणकर्मी चौधरीले बताए । नारायणी नदीमा डल्फिन देखिएपछि यसको संरक्षणमा काम गर्न आवश्यक रहेको उनको भनाइ छ । नदीमा हुने प्रदूषण नियन्त्रण, डल्फिन रहेको क्षेत्रमा त्यसलाई अवरोध हुने गतिविधि नियन्त्रण, तिहारी जालबाट माछा मार्न नियन्त्रण गर्नुपर्ने उनको भनाइ छ । ‘नदीमा प्रदूषण बढ्दो छ, यसको नियन्त्रण गर्ने, तिहारी जाल थापेर, करेन्ट लगाएर माछा मार्ने काम रोक्नेलगायतका काम गरे डल्फिन जोगाउन सकिन्छ’, उनले भने, ‘यसबाहेक वरपरका समुदायलाई समेत यसको महत्व बुझाएर संरक्षणमा लगाउन आवश्यक छ ।’ नारायणी नदीमा नियमितरुपमा डल्फिन देखिँदा यसलाई हेर्न पर्यटकको आगमन बढ्ने र यसले जिल्लामा पर्यटनका माध्यमबाट आर्थिक विकासमा समेत सहयोग पुग्ने विश्वास लिइएको नवलपुर होटल व्यवसायी सङ्घका अध्यक्ष सन्तोष रानाले बताए । ‘हाम्रा लागि पनि खुसीको कुरा हो, डल्फिन हेर्नकै लागि पर्यटक आए, यसले आर्थिक क्रियाकलाप बढाउँछ, पर्यटनलाई जीविकोपार्जनको माध्यम बनाउनेका लागि थप लाभ मिल्नेछ’, उनले भने ।