विकासन्युज

सुनको मूल्य प्रतितोला एक लाख १४ सय रुपैयाँ पुग्यो

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ।  सुनचाँदी व्यवसायी महासंघको अनुसार शुक्रबार सुनको मूल्य तोलाको ५०० रुपैयाँ बढेको हो । यसरी सुनको मूल्य बढ्दा छापावाल सुन तोलाको एक लाख १४ सय रुपैयाँ पुगेको छ भने तेजावी सुनको मूल्य तोलाको एक लाख ९०० रुपैयाँ पुगेको छ । महासंघको अनुसार मंगलबार १ हजार ३८० मा कारोबार भएको चाँदीको मूल्य पनि बढेर १ हजार ३९५ रुपैयाँ पुगेको छ ।

विदेशी मुद्रा विनिमय सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । गरिमा विकास बैंक र विदेशी मुद्रा विनिमय संघको नेपालको संयुक्त आयोजनामा विदेशी मुद्रा विनिमय सम्बन्धी एकदिने बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल राष्ट्र बैंकका विशिष्ट प्रतिनिधिहरु तथा विभिन्न विदेशी मुद्रा विनिमयका संचालक तथा कर्मचारीहरु गरि ११० जना भन्दा बढिको उपस्थितीमा ठमेलमा रहेको होटल मस्याङ्दीमा सम्पन्न भएको हो । उक्त कार्यक्रममा नेपालमा विदेशी मुद्रा विनिमय, एंटि मनी लण्डरिङ (गो एएमएल), सम्पती शुद्धिकरण लगायतका समसामयिक विषयहरुमा बृहत छलफल तथा प्रशिक्षण सम्पन्न भएको छ । गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले कार्यक्रमलाई सम्बोधन गर्दै देशको समग्र बैकिङ प्रणालीमा विदेशी मुद्रा विनिमयको स्थितीको बारेमा भनाई राखेका थिए । हाल, गरिमा विकास बैंकले लाजिम्पाट, ठमेल, माछापुच्छ्रे लगायत विभिन्न शाखाहरुबाट विदेशी मुद्रा सटहीको सरल व्यवस्था गर्दै आइरहेको छ ।

विदेशबाट ल्याईने फोनमा कडाई नगर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । विदेशबाट फर्केका नेपालीले ल्याउने मोबाइल फोनमा कडाई नगर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका छन् । शुक्रबारदेखि विदेशबाट फर्कनेले ल्याउने मोबाइल फोनमा सरकारले कडाई गरेपछि सवत्र विरोध भएको थियो । सवत्र विरोध भएपछि तत्काल उक्त निर्णय कार्यान्वयन नगर्न प्रधानमन्त्री दाहालले निर्देशन दिएका हुन । प्रधानमन्त्रीको निर्देशनपछि भने अब विदेशबाट फर्किंदा कुनै पनि व्यक्तिले आफूले चलाइरहेको बाहेक अर्को नयाँ सेटको भन्सार तिर्न नपर्ने भएको छ । प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले वर्षौँ विदेशमा पसिना बगाएर परिवारलाई उपहारको फोन र ल्यापटप ल्याउँदा भन्सार अनिवार्य गर्ने सरकारको निर्णय खारेज गर्न माग गरेको थियो । मञ्चका अध्यक्ष सञ्जय थापाद्वारा जारी प्रेस विज्ञप्तिमा सरकारको उक्त निर्णय अव्यवहारिकका साथै प्रवासी नेपालीको हितमा नभएकाले तत्काल खारेज गर्न सरकारसँग माग गरेको हुन् । यस्तै, आजदेखि नेपाल दूरसञ्चार प्राधिकरणले पनि विदेशबाट आजदेखि दर्ता नभएका मोबाइल फोन नचल्ने जनाएको छ ।

गमगढी–बालै सडक दुई महिनापछि सञ्चालनमा

मुगु । गमगढी–बालै सडक दुई महिनापछि सञ्चालनमा आएको छ । असोजको तेस्रो साता परेको वर्षासँगै विभिन्न ठाउँमा पहिरो खसेपछि उक्त सडक अवरुद्ध भएको थियो । छायाँनाथ रारा नगरपालिकाको पहलमा सडकमा खसेको पहिरो र ढुङ्गा पन्छाएपछि सडक सञ्चालनमा आएको हो । लामो समयसम्म सडक बन्द हुँदा छायाँनाथ रारा नगरपालिकाका स्थानीयवासीलाई दैनिक उपभोग्य वस्तु ढुवानी गर्न र विद्यालय आउजाउमा विद्यार्थीलाई कठिनाइ भएको थियो । छायाँनाथ रारा नगरपालिका–१ की रामछिता नेपालीले सडक सञ्चालनपछि स्थानीयवासीलाई सुविधा पुगेको बताए । सडक सञ्चालनसँगै गाउँमा उत्पादित कृषि उपज सदरमुकाम र जिल्ला बाहिर लैजान सहज भएको छ । स्थानीय रामकृष्ण भामले कोदो, सिमी, फापरलगायत उत्पादन खरिद गर्न जिल्ला बाहिरका व्यापारी आउन थालेको उनको भनाइ छ । सडक सञ्चालनपछि बालुवा, गिट्टी र ढुङ्गाको बिक्री बढेको छ । स्थानीयस्तरमा विकास निर्माणमा प्रयोग हुने सामग्री ढुवानी गर्न सहज भएको छायाँनाथ रारा पालिका–६ का हर्कबहादुर कुलालले बताए । गमगढी–बालै सडक खुलाउन छायाँनाथ रारा नगरपालिकाले पहल गरेको हो । नगरप्रमुख विष्णुकुमार भामले नगरपालिकाको सहकार्यमा भौतिक पूर्वाधार विकास कार्यालयसँग सहकार्य गरी सडक सञ्चालनमा आएको बताए । ‘सडक स्तरोन्नति गरी कालोपत्र गर्न प्रदेश र सङ्घीय सरकारसँग पहल भइरहेको छ’, उनले भने । रासस

मनकामना केबलकारले ४६ करोड लगानीमा सुविधा सम्पन्न होटल खोल्दै, दुई वर्षभित्र सञ्चालनमा आउने

काठमाडौं । मनकामना दर्शन प्रालिले मनकामना मन्दिरमै सुविधा सम्पन्न होटल खोल्ने भएको छ । मनकामना केबलकार सञ्चालन गरिरहेको कम्पनीले अब होटल खोल्ने तयारी गरेको हो । कम्पनीले ४६ करोड लगानीमा सुविधासम्पन्न ४० बेड क्षमताको होटल खाल्ने तयारी गरिरहेको कम्पनीका निर्देशक राजेशबाबु श्रेष्ठले बताए । ‘मनकामना मन्दिरहरु सुविधासम्पन्न होटलहरु नभएकै कारण भीआईपीहरु बसेनन् भन्ने गुनासो आएपछि हामी आफैले ४० बेड क्षमताको होटल निर्माण गर्दैछौं, जसको नाम रिसोर्ट बाई मनकामना केबलकार नाम राखेका छौं, यसमा स्विमिङ पुल, रेष्टुरेन्ट, कन्फ्रेन्स हल हुनेछ, केबलकारमा आउने कुल मान्छेको ३ प्रतिशत मान्छे होटलमा आए भने होटल राम्रैसँग चल्छ,’ श्रेष्ठले भने । होटलले आन्तरिकसँगै वाह्य पर्यटक भित्र्याउनका लागि पनि महत्पूर्ण भूमिका खेल्ने उनको भनाइ छ । अहिले मनकामना केबलकारमा यात्रा गर्नेहरुको पनि संख्या बढ्दै गएको छ । उनका अनुसार दैनिक ३ हजार ५ सय बढी मानिसले केबलबार यात्रा गर्ने गरेका छन् । उनका अनुसार २ वर्षभित्र निर्माण सकेर होटल सञ्चालन गर्ने तयारी छ । मनकामना दर्शन प्रालिले मनकामनामा केबलकार सञ्चालन गरेपछि स्थानीयहरुको जीवनस्तर सुध्रिएको छ । स्थानीय उत्पादनले बजार पाएको छ । अधिकांश मानिसहरु स्वरोजगार बनेका छन् । धेरैले रोजगारी पाएका छन् । आन्तरिक पयर्टकको घुइँचो छ । ‘आन्तरिक पर्यटक बढाउनमा हामीले धेरै सहयोग गरेका छौं, केबलकार सञ्चालनमा आएपछि राजमार्गमा पनि धेरै होटल÷रेष्टुराँहरु खुले, स्थानीय उत्पादनले बजार पाएको छ, कतिपयको उत्पादन मनकामना मन्दिरमै बिक्छ,’ राजेशबाबु भन्छन्, ‘अब हामीले मनकामना धार्मिकसँगै पर्यटकीय गन्तब्य पनि हो है भन्ने सन्देश दिन खोजेका छौं ।’ मनकामना दर्शन प्रालिले ४६ करोडको लगानीमा अब मनकामनामै सुविधा सम्पन्न होटल खोल्दैछ भने अर्को ठाउँमा पनि केबलकार निर्माण गर्ने जनाएको छ । नयाँ निर्माण हुुने केबलकारलाई पब्लिकमा लैजाने योजना रहेको पनि उनी सुनाउँछन् । मनकामनाको भने अहिले दोस्रो बजारमा सूचिकृत गराउने कुनै तयारी नभएको उनले बताए । अहिले मनकामना केबलकारको मर्मत सम्भार पनि भइरहेको छ । जसका लागि ८ करोड रुपैयाँ खर्च भइसकेको छ भने अझै ४० करोड मर्मतमा लाग्ने कम्पनीको भनाइ छ । कम्पनीले केवलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गरेको छ । केबलकारको अहिले चरणवद्ध रुपमा काम भइरहेकाके पनि निर्देशक श्रेष्ठले बताए । सुरुमा ६५ करोड रुपैयाँ लगानी लगाएर सुरु भएको मनकामना केबलकारले अहिले मासिक करोडौं कमाउँछ । गत आर्थिक वर्षमा पर्यटनतर्फ सबैभन्दा बढी कर तिर्ने कम्पनी मनकामना बनेको छ ।

मास्क र सेनिटाइजर प्रयोग गर्न त्रिविको आग्रह

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसको सङ्क्रमण जोखिम बढिरहेकाले जनस्वास्थ्यको मापदण्ड अपनाउन आग्रह गरेको छ । त्रिवि कोभिड रेस्पोन्स समितिका सदस्य सचिव योगेन्द्रप्रसाद दाहालले छिमेकी मुलुक चीन र भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएकाले त्रिविअन्तर्गतका विभिन्न निकायमा जनस्वास्थ्यका मापदण्ड प्रयोग गर्न निर्देशन दिएको बताए । उनका अनुसार त्रिविका विभिन्न निकायमा मास्क तथा सेनिटाइजरको प्रयोग गर्न, भौतिक दूरी कायम राख्न तथा व्यक्तिगत सरसफाइमा ध्यान दिन आग्रह गरिएको छ । नेपालमा कोभिड–१९ को सङ्क्रमण कम हुँदै गएको छ । तर विश्वव्यापीरुपमा छिमेकीलगायत केही देशमा उक्त रोगको नयाँ भेरियन्ट विएफ ७ देखा परेको छ । त्यसैले नेपालमा सचेतना अपनाउनुपर्ने भएकाले त्रिविअन्तर्गतका निकायमा भीडभाड नगर्न र जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरिएको त्रिविले जनाएको छ । नेपालमा नयाँ भेरियन्टको पुष्टि भएको छैन । छिमेकी मुलुक भारत र चीनमा नयाँ भेरियन्ट देखिएकाले नेपाल उच्च जोखिममा रहेको छ ।

भाटभटेनीलाई साढे दुई लाख जरिवाना

काठमाडौं । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडामा सञ्चालनमा रहेको भाटभटेनी सुपरमार्केटले उपभोक्तालाई बिलबिजकमा गलत विवरण समावेश गरको आरोपमा दुई लाख ५० हजार रुपैयाँ जरिवाना गरेको आज जनाएको छ । कार्यालयका अनुसार सो सुपर मार्केटले बिलबिजकमा गलत विवरण समावेश गरी उपभोक्ता ठगी गरेको, उत्पादन तथा उपभोग्य मूल्य र मिति उल्लेख नगरेको एवं चिनी तथा नुन पुनःप्याकिङ गरेको पाइएपछि कारवाही गरिएको बताइएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी हरिदत्त कँडेलको नेतृत्वमा खटिएको टोलीले उक्त सुपर मार्केटको एक्कासी अनुगमनमा गर्दा उक्त तथ्य फेला परेपछि सो जरिवाना गरेको हो । अनुगमन टोलीले भाटभटेनी सुपर मार्केटबाट बरामद गरेको खाद्यवस्तु बिक्रीवितरणमा रोक लगाएको सहायक प्रजिअ कँडेलले बताए ।

नेपालसँग मिलेर काम गर्न तयार छौँ : भारत

काठमाडाैं । नेपालमा हालै गठन भएको सरकारसँग मिलेर काम गर्न तयार रहेको भारत सरकारले स्पष्ट पारेको छ । भारतको विदेश मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता अरिन्दम बाग्चीले दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउँदै नयाँ सरकारसँग मिलेर काम गर्न उत्सुक रहेको बताएका हुन् । गत मङ्सिर ४ गते भएको निर्वाचनपछि यही पुस १० गते नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा नयाँ सरकार गठन भएको छ । नेपालमा निर्वाचनपछि गठन भएको सरकार र राजनीतिक परिस्थितिका बारेमा एक सञ्चारकर्मीको जिज्ञासाको जवाफमा प्रवक्ता बाग्चीले भने, ‘पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुनेबित्तिकै हाम्रा प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिए । नेपालका प्रधानमन्त्रीले हाम्रा प्रधानमन्त्रीलाई जवाफ दिइसकेका छन् ।’ दुई देश बीचमा गहिरो सम्बन्ध बनाउन चाहेको उहाँले जानकारी दिए । नेपालको नयाँ सरकारसँग द्विपक्षीय सम्बन्धलाई बलियो बनाउने पक्षमा रहेको उल्लेख गर्दै उनले भने, ‘दुई देशका बीचमा रहेको अद्वितीय एवं सांस्कृतिक सम्बन्धलाई बढावा दिँदै मिलेर काम गर्ने आशा राखेका छौँ । द्विपक्षीय सम्बन्धलाई बढाउने कुरामा हामी कुनै कमी हुन दिँदैनौँ ।’ प्रवक्ता बाग्चीले यसअघि नै नेपालको नयाँ सरकारसँग मिलेर काम गर्न तत्पर रहेको बताएको दोहोर्याउनुभयो । नयाँ सरकारलाई बधाई दिने क्रममा नै यो सन्देश दिइसकेको उनको भनाइ छ ।