काठमाडौं । राष्ट्रिय सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले सहकारीहरुले अनुत्पादक क्षेत्रमा लगानी गर्दा अहिलेको समस्या देखिएको बताएका छन् । शुक्रबार नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को १२औं वार्षिक साधारणसभामा बोल्दै उनले सहकारीहरुले बचतको रकम जग्गा र गाडीमा लगानी गर्दा अहिलेको समस्या आएको बताएका हुन् ।
‘अहिले अधिकांश सहकारीले बचतको रकम अनुत्पादक क्षेत्रमा लगानी गरेका छन्, त्यो सबै रकम गाडी र जग्गामा लगानी भएको छ, अभियानकर्मी समस्या मात्रै भयो भन्ने तर समाधान को उपाय नखोज्ने हुँदा झन समस्या बढ्दै गएको छ,’ उनले भने ।
यस्तै, उनले सहकारीका वेथितिका विषयमा सञ्चारकर्मीहरुले शसक्त रुपमा लागेर कलम चलाउनु पर्ने धारणा राखे ।
‘सहकारी ऐन जारी नगर्ने प्रदेश कुन–कुन हुन्, अहिले धेरै सहकारीहरु अभियानमैत्री छैनन्, अनुसन्धानमुलक काम गरेर वेथितिहरु बाहिर ल्याउन आवश्यक छ,’ उनले भने ।
यस्तै, कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले बैंकहरुको ब्याजदर १८÷१९ प्रतिशत पगेको बताएका छन् । उनले बैंकहरुले कर्जाको ब्याजदर बढी भएपनि ऋण नै नपाइएको बताएका छन् । ‘अहिले ऋणको ब्याज ह्वात्तै बढेको छ, बैंकहरुले कर्जाको ब्याजदर १८÷१९ प्रतिशत पुर्याएका छन्, ब्याज बढी भएपनि कर्जा पाइँदैन, ऋण स्वीकृत भएपनि पैसा पाइँदैन,’ उनले भने ।
यस्तै, उनले सहकारीमा देखिएको समस्या सहकारीको कारण मात्र नभएको बताए । उनले सहकारीमा देखिएको समस्या समाधान गर्नका लागि सबै निकायहरु लाग्नु पर्ने धारणा राखे । सहकारीलाई यो अवस्थाबाट माथि उकास्नु पर्ने अहिलेको चुनौति रहेको उनको भनाइ छ ।