
पोखरा । पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै लेखनाथवासीमा पनि खुसियाली छाएको छ । लेखनाथको खरानेफाँट निवासी कृष्ण तिमिल्सेनाले विमानस्थलको आइतबार उद्घाटनसँगै अब पोखराको मात्र हैन, लेखनाथको पर्यटनमा समेत सहयोग पुग्ने बताए । विमानस्थल कास्कीको मात्र नभई गण्डकी प्रदेशकै गहना भएको उनको भनाइ छ ।
पूर्वमन्त्री यज्ञबहादुर थापाले यस क्षेत्रको विकासमा अन्तर्राष्ट्रिय विमानस्थको भूूमिका महत्वपूर्ण रहने बताए । पोखरा मात्र हैन विमानस्थलबाट समदूरीमा पोखराको फेवा र लेखनाथको बेगनास ताल पनि पर्ने भएकाले लेखनाथको क्षेत्रको पर्यटन विकाले अब द्रुतगति लिनेमा विश्वास व्यक्त गरे ।
‘अब यहाँ आउने पर्यटक पोखराको लेकसाइडले मात्र थेग्न सक्दैन ती पर्यटक बेगनास र रुपा तालतर्फ पनि आउने छन्, कस्केलीको ४ दशक लामो प्रतीक्षाबाट निर्माण सम्पन्न भएको छ यो विमानस्थल सफल बनाउन कस्केली मात्र नभएर सिङ्गो गण्डकीवासी नै जुट्नुपर्छ, अब विदेशी पर्यटक सीधै पोखरा आउनसक्ने भए,’ उनले भने, ‘पोखरा र लेखनाथको मात्र हैन अब समग्र गण्डकी प्रदेशको विकास भएको छ, अब यहाँबाट पर्यटक चितवन, लुम्बिनीमा जानसमेत सक्ने भए ।’
उनले लेखनाथ र पोखरा अब एउटै उपत्यका भएको छ, विमानस्थल सञ्चालनमा आएपछि झनै नजिक बनाइदिएको बताए । अब यहाँका जनप्रतिनिधिले समृद्धि र यहाँका प्रकृतिक संरचनालाई संरक्षण गर्दै गुफा र तालको धनी सहर पोखराको पर्यटक विकासमा जुट्नुपर्ने उनको भनाइ छ । पोखरा–२६ लेखनाथका गणेश अधिकारीले क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले समग्र कास्की र वरपरका जिल्लाको पर्यटन विकासमा सहयोग पुर्याउने र यस क्षेत्रका मानिसको जीवनस्तरसमेत माथि उठ्ने विश्वास व्यक्त गरे ।
‘समग्र पोखराको पर्यटन विकासमा स्थानीय, प्रदेश र सङ्घका प्रतिनिधि जुट्नुपर्छ, विदेशी पर्यटक अब सीधै पोखरा आउने भएपछि पोखरालाई थप सुन्दर बनाउन विकासका योजना पर्याप्त मात्रामा ल्याउनुपर्छ,’ उनले भने । लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष एवं लेखनाथवासी छत्रधर आत्रेयले विमानस्थल सञ्चालन आएसँगै लेखनाथका सडक विस्तार गर्न आवश्यक भएको बताए । उनले साँघुरा सडक र कच्ची सडकले पर्यटक थेक्न सक्दैन, ट्राफिक जाम नहुने किसिमबाट सडकको विस्तार हुन जरुरी भएको बताए ।
यस क्षेत्रको पर्यटकीय बेगनास, रुपालगायत अन्य ५ तालको पनि विकास गर्न जरुरी रहेको जनाउँदै उनले लेखनाथका सातै ताललाई जोड्ने सडक निर्माण गर्न जरुरी भएको बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानास्थलको उद्घाटन गरे । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पोखरा विमानस्थलको भौतिक पूर्वाधार तथा प्राविधिक काम सम्पन्न भएको छ । करिब ३ हजार ९ सय रोपनी क्षेत्रफलमा फैलिएको यो विमानस्थलको लगानी २२ अर्ब रुपैयाँ रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
विमानस्थलको हाल २ हजार ५ सय मिटरको धावनमार्ग र ४५ मिटर चौडाइ तथा धावनमार्गको मोटाइ ३४ सेन्टिमिटर रहेको छ । विमानस्थलको क्षमता वार्षिक दश लाख यात्रुको रहेको छ । २४ सैँ घण्टा जहाज सञ्चालन गर्न सकिने सो अवसरमा जानकारी दिइएको छ ।