काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका छन् ।
प्रचण्डले बिहीबार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा उद्योग, वाणिज्य तथा आपूर्ति सचिवलाई आम जनतालाई राहतको अनुभूति हुने गरी मूल्य घटाउन निर्देशन दिएका हुन् ।
प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोहीबमाजिक मूल्य समायोजन गरी मूल्य कटौती गर्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
पछिल्लो समय नेपाल आयल निगमले इण्डीयन आयल कर्पाेरेशन (आईओसी) बाट पेट्रोलियम पदार्थको मूल्य घटेर आउँदा समेत नेपालमा मूल्य समायोजन गरेको थिएन । निगम नोक्सानमा गएको र आईओसीलाई बक्यौता रकम भुक्तानीमा समस्या भएको भन्दै निगमले मूल्य समायोजन गरेको थिएन ।
नेपाल आयल निगमले यसअघि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँका दरले घटाएको थियो । अहिले पेट्रोल १७८ रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर१७५ रुपैयाँ पर्छ ।
निगमको पछिल्लो विवरण अनुसार १५ दिनमा रु ९९ करोड नाफा हुने देखिएको छ । निगमले रु १८ अर्ब बराबरको रकम तिर्नुपर्ने दायित्व रहेको भन्दै मूल्य घटाउन तयार भएको छैन । चौतर्फी रुपमा मूल्य घटाउन निगमलाई दबाब परेपनि अस्वीकार गर्दै आएको छ । लगातार अन्तर्राष्ट्रिय बजारमा मूल्य ओरालो लागे पनि दायित्व बाँकी रहेको भन्दै मूल्य घटाउन निगम तयार नभएपछि प्रधानमन्त्रीले नै निर्देशन दिनुपरेको हो ।