विकासन्युज

पर्यटकीय गन्तव्य बन्यो बागलुङको तिलाचन ताल

बागलुङ । बागलुङको निसीखोला र रोल्पाको सुनछहारीको शिरमा छ तिलाचन ताल। चिसो मौसम, सिरसिर हावा र शान्त वातावरण यहाँको विषेशता हो। उच्च पहाडी क्षेत्र भए पन यहाँ समथर भू–भाग छ। तलतिर घना जङ्गल। यहाँबाट देखिने मनमोहक दृश्य साँच्चिकै मन लोभ्याउने छन्। दुई जिल्लाको सङ्गमस्थलमा रहेको तिलाचन ताल आधा दशक अगाडिसम्म ओझेलमा थियो। ताल उच्च पहाडको शिरमा हुँदा बागलुङ र रोल्पाका सीमा क्षेत्रका स्थानीयबाहेक बाहिरी मान्छे यहाँ पुग्न सकेका थिएनन्। खासगरी यो ठाउँलाई गोठालाको बसोबास गर्ने र चरन क्षेत्रका रूपमा लिइन्छ। तीन वर्ष अगाडि मध्यपहाडी लोकमार्ग कालोपत्र भएपछि मात्रै तिलाचन ताल चर्चामा आएको हो। तालमा बागलुङ, पूर्वीरुकुम र रोल्पाको सिमाना पातिहाल्नेबाट आधा घण्टाको पैदलयात्रामा पुग्न सकिने हुँदा पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षण बढेको हो। ताल रोल्पामा परे पनि बागलुङबाट नजिक पर्छ। ताल सुनछहारी गाउँपालिका–१ मा पर्छ तर त्यतापट्टितिरबाट सडक सञ्जालले नजोडिँदा रोल्पालाई अपायक पर्छ। तालसँग बागलुङको निसीखोला गाउँपालिका–६ जोडिएको छ। बागलुङतिरबाट राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग पुगेको हुँदा तालमा पुग्न सहज छ। लोकमार्गका कारण दैनिक पर्यटक निसीखोला हुँदै जाने हुँदा पातीहाल्नेमा व्यापार व्यवसायसमेत बढ्न थालेको छ। यस ताललाई पहिले गोठालाले ‘तिलाचन दह’ भन्ने गरेको निसीखोला गाउँपालिका–६ का भेडापालक टीकराम घर्तीमगरले बताए। उनले लोकमार्गको स्तरोन्नतिपछि यस ठाउँमा बाहिरी मान्छे आउन थालेको भन्दै पछिल्लो समय यहाँ आउनेको सङ्ख्या बढेको बताउँछन्। टीकाराम भन्छन्, ‘तिलाचन क्षेत्र भेडाबाख्रा चराउने ठाउँ हो, बर्खाको चार महिना पूरै यहीँ बिताउँथ्यौँ, अहिले पनि असार साउनतिर यतै बस्छौँ, हामी यही तालको पानी खान्छौँ।’ उनी सडकका कारण गोठालाको बसोबास गर्ने ठाउँ र पानी भर्ने दह पर्यटकीय गन्तव्य बन्दै गएको बताउँछन्। अहिले पनि यहाँ दुई जिल्लाका गोठालाले वस्तुभाउ चराउँदै आएको घर्तीमगरको भनाइ छ। उनले विकासले गति लिँदै गएपछि यस ठाउँले मुहार फेर्दै गएको बताए। अहिले गोठालाको दैनिकीसमेत फेरिँदै गएको घर्तीमगर बताउँछन्। ‘जमाना फेरिए, मोटर गाडी आउन थाले, पहिले हामी घरबाट खर्चपर्च लिएर तालसम्म आउन चार घण्टा पूरै लाग्यो, अहिले पातीहाल्नेसम्म आधा घण्टामा, त्यहाँबाट तालसम्म हिँडेर आधा घण्टा लाग्छ’, उनले भने, ‘ताललाई व्यवस्थित बनाइएको छ,  तालको छेउमा पहिले ढुङ्गा राखेर पूजा गर्थे, अहिले मन्दिर निर्माण गरिएको छ।’ स्थानीय देवीकुमारी बुढामगरले पछिल्लो तालमा आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएको बताइन्। बुढामगर बिदाको दिन अझ बढी मान्छे घुम्न आउने गरेको बताउँछिन्। केही दिनयता चिसो बढेका कारण आगन्तुक घटेको बुढामगरको भनाइ छ। चैतदेखि भदौसम्म पातीहाल्ने र तिलाचन तालमा आन्तरिक पर्यटकको भीडभाड हुने उनले बताइन्। ‘केही दिनभयो चिसो धेरै बढेको छ, त्यही भएर होला मान्छे कम भएको, पानी परेर हिउँ प¥यो भने तालसम्म त मान्छे पुग्न सक्दैनन्, पातीहाल्नेसम्म हिउँ खेल्न आउँछन्, बाटो सजिलो छ, अहिले त बर्खामा पनि धेरै मान्छे तालमा पुगे, ताल वरपर त्रिपाल लगाएर एक–दुई दिन बास पनि बस्ने गर्थे’, उनले भनिन्, ‘यहाँ त बाह्रै महिना मान्छे आउन थालेका छन्।’ तालको छेउमा तिलाचन ताल बरहा मन्दिर छ। यस मन्दिरमा पूजाआजा गर्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ। सुनछहारी गाउँपालिका रोल्पाका सूचना अधिकारी रमेश गिरीले तिलाचन ताललाई पर्यटकीय गन्तव्य बनाउन काम गरिरहेको बताए। अघिल्लो वर्ष लुम्बिनी प्रदेश सरकारले विनियोजन गरेको १० लाख रुपैयाँबाट ताल सरसफाई र मन्दिर निर्माण गरेको बताए। गाउँपालिकाले यो ताललाई पालिकाको मुख्य पर्यटकीय गन्तव्यका रूपमा राखेको गिरीको भनाइ छ। ‘तालको छेउमा अहिले मन्दिर निर्माण भएको छ, मन्दिर निर्माण र ताल संरक्षणका लागि गत वर्ष १० लाख रुपैयाँको काम भएको छ, पालिकाले यसको संरक्षणका लागि जुटिरहेको छ’, सूचना अधिकारी गिरीले भने, ‘ताल पहिलेदेखि नै चर्चित थियो, गाउँपालिकाले पनि प्रचार–प्रसार र प्रवद्र्धन गरिराखेको छ, यहाँ बागलुङबाट लोकमार्ग हुँदै धेरै पर्यटक आएको पाइएको छ।’ निसीखोला गाउँपालिका–६ का अध्यक्ष हेमबहादुर बुढामगरले तिलाचन तालमा जाने आगन्तुकलाई लोकमार्गले सहज बनाइदिएको बताए। उनले केही वर्ष अगाडिसम्म स्थानीयबाहेक बाहिरी मान्छे तिलाचन तालमा नपुगेको भन्दै प्रचार–प्रसारले गर्दा टाढा–टाढाबाट यहाँ घुम्न र फोटो खिच्न आउने गरेको बताए। अध्यक्ष बुढामगरले हिउँदमा हिउँ खेल्न र बर्खामा गर्मी छल्नमा लागि मान्छे घुम्न आउने गरेको बताउँछन्। उनी भन्छन्, ‘तिलाचन ताल निकै सुन्दर छ, अग्लो पहाडको टुप्पोमा यति राम्रो तालमा पुग्न जोकोही चाहन्छन्, पहिले त माथिल्लो गाउँबाहेक बाहिरी मान्छे त्यहाँ आउँदैनथे, पुग्ने सम्भावना पनि थिएन, अहिले प्रचारप्रसारले घुम्न आउनेको सङ्ख्या बढेको छ।’ ताल क्षेत्रबाट धौलागिरि, अन्नपूर्णलगायतका हिमशृङ्खालको सहजरूपमा अवलोकन गर्न सकिन्छ। यहँबाट बागलुङ, रोल्पा, पूर्वीरुकुम, प्युठान, गुल्मीलगायतका ठाउँ देखिन्छन्। तालमा पर्यटक बढे पनि यहाँसम्म पुग्ने पदमार्ग भने अव्यवस्थित छ। आगन्तु पशुचौपाया हिँड्ने साँघुरो गोरेटोमार्फत तालमा पुग्ने गरेका छन्।

धुलाबारी-भद्रपुर कालोपत्रे हुँदा विमानस्थल जान सजिलो

झापा । काँकडभिट्टादेखि चन्द्रगढी विमानस्थल पुग्ने सबैभन्दा छोटो दूरीको धुलाबारी भद्रपुर सडकको सात किलोमिटर खण्ड कालोपत्र भएको छ । भारत, भुटान तथा बङ्गलादेशबाट एसियन राजमार्ग हुँदै नेपाल आउने पर्यटकले यो सडक प्रयोग गर्दै आएका छन् । सडकको दूरी १७ किलोमिटर भए पनि भद्रपुर खण्डको तीन किलोमिटर र काँकडभिट्टाबाट धुलाबारीसम्मको पाँच किलोमिटर सडक यसअघि नै कालोपत्र भएको थियो । प्रदेश नं १ सरकारको गौरवको मुख्य परियोजनका रूपमा रहेको धुलाबारी-ज्यामिरगढी-चन्द्रगढी सडकको बाँकी दुई किलोमिटर खण्डमा कालोपत्र धमाधम भइरहेको छ भने दुईवटा कल्भर्ट निर्माणको अन्तिम चरणमा रहेको पूर्वाधार विकास कार्यालय झापाका प्रमुख रमेशकुमार श्रेष्ठले बताए । पूर्वीनाकाबाट नेपाल भित्रिने पर्यटकले विमानस्थल प्रयोग गर्नका लागि यसअघि काँकडभिट्टा-विर्तामोड-चन्द्रगढी सडकको ३० किलोमिटर वा काँकडभिट्टा-चारआली-चन्द्रगढी सडकको २४ किलोमिटर लामो बाटो प्रयोग गर्दै आएका थिए । ती दुई सडकको तुलनामा धेरै यो सडकखण्ड निकै छिटो पर्छ । मेचीनगर(१५ का दुर्गा बुढाथोकीले विगतमा पिछडिएको क्षेत्रका रूपमा हेरिने ज्यामिरगढी क्षेत्र यो सडक कालोपत्र भएसँगै सुविधाजनक भएको बताए । यो सडकको धुलाबारीबाट भद्रपुर सीमासम्मको नौ किलोमिटर कालोपत्र निर्माणको ठेक्का विसं २०७५ कात्तिक ७ मा हिम्डुङ एण्ड थोकर सरोज जेभीले लिएको थियो । सो सडक २०७९ असार ३१ गते निर्माण सम्पन्न गर्ने गरी रु २५ करोड ३२ लाख ८४ हजारमा ठेक्का लिएको कम्पनीले कोभिड महामारीका कारण समयै निर्माण गर्न सकेको थिएन । प्रदेश नं १ सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेटमा निर्माण भएको सो सडक यही फागुनसम्ममा सरकारलाई हस्तान्तरण हुने श्रेष्ठले जानकारी दिए । ‘कल्भर्टमा काम भइरहेको छ’, उनले भने, ‘काम दु्रतगतिमा भइरहेको हुँदा अब दुई महिनाभित्रमा सडक पूर्णपमा निर्माण भइसक्छ ।’ रोङ जोड्ने सडक निर्माण सुस्त प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री आङ्बोले भद्रपुर–ज्यामिरगढी–धुलावारी–गोजाबस्ती–मागुरमाडी–शान्तिनगर–इरौटार सडकको विसं २०७५ मा शिलान्यास गरेका थिए । भद्रपुर नगरपालिकाबाट इलामको रोङ गाउँपालिकासम्मको ३५ किलोमिटर दुई लेनको सडकको दुईवटा अलग–अलग निर्माण कम्पनीले ठेक्का लिएका थिए । ठेक्का लिएका कम्पनीमध्ये हिम्डुङ एण्ड थोकर सरोज जेभीले धुलाबारी चोकबाट भद्रपुरसम्मको सडक निर्माणकार्य अन्तिम चरणमा पु¥याएको छ भने धुलाबारी मोडबाट उत्तर रोङ गाउँपालिकासम्मको २६ किलोमिटर सडकको निर्माण भने सुस्त गतिमा भइरहेको प्रमुख श्रेष्ठको भनाइ छ । इलामको रोङ जोड्ने सो सडक रु ४६ करोड २३ लाख ८२ हजार नौ सय ८३ मा सम्पन्न गर्ने गरी विर्तामोडको कनकाई झापाली जेभीले ठेक्का लिएको छ । सडक निर्माणसँगै यस क्षेत्रका जनताको आर्थिक जीवनस्तर उकाशिने प्रदेशका पूर्वसांसद श्रीप्रसाद मैनालीले बताए । उनले पूर्वीनाकाबाट नेपाल प्रवेश गरेर भद्रपुर विमानस्थल हुँदै देशका विभिन्न स्थानमा जाने विदेशी पर्यटकलाई समेत सहज भएको बताए । हँडियामा नयाँ पुलको खाँचो यस सडकको मेचीनगर र भद्रपुर सीमामा पर्ने हँडिया खोलामा नयाँ पुलको आवश्यकता देखिएको छ । एक दशकअघि निर्मित एक लेनको उक्त पुल जीर्ण र साँघुरो भइसकेको छ । पुलको रेलिङ भत्किएका छन् भने दक्षिणतर्फ पुलको मुखमा ठूलो भ्वाङ परेको छ । दुईवटा सवारीसाधन ओहोरदोहोर हुन नसक्ने साँघुरो पुलको मुखैमा भ्वाङ परेपछि कुनै पनि बेला त्यहाँ दुर्घटना निम्तिने जोखिम बढेको स्थानीय बताउँछन् । तर भ्वाङ टाल्नेतर्फ कसैको ध्यान जानसकेको छैन । दुई लेनको सडक कालोपत्र भइसकेको अवस्थामा हँडिया खोलाको पुल पनि दुई लेनको हुनुपर्ने भद्रपुर-९ का पूर्व जनप्रतिनिधि कम्पलाल राजवंशीले बताए ।

प्रभु र सेन्चुरीको बैंकको एकीकृत कारोबार पुस २६ गते, ४ दिन सेवा बन्द रहने

काठमाडौं । प्रभु र सेन्चुरी कमर्शियल बैंकको एकीकृत कारोबार मिति तय भएको  छ । प्रभु बैंकले शुक्रबार सूचना जारी गर्दै एकीकृत कारोबार मिति पुस २६ गते मंगलबार तय भएको जानकारी दिएको हो । यस्तै, बैंकले एकिकृत कारोबार हुनअघि डाटा माइग्रेसन प्रयोजनको लागि चार दिन पुस २२ राती १० बजेदेखि २६ गते बिहान १० बजेसम्म प्रभु र सेन्चुरीद्वारा आफ्ना विभिन्न शाखाहरुबाट प्रदान गर्दै आइरहेको सम्पुर्ण सेवाहरु बन्द रहने जानकारी दिएको छ । दुबै बैंकबीच १ः१ अनुपातको रेसियोमा मर्ज हुने भएका हुन् । मर्जर पश्चात् प्रभु बैंकको नामबाट एकीकृत कारोबार हुनेछ । मर्जरपछि बैंकको सीईओमा प्रभु बैंकका अशोक शेरचन र डेपुटी सीईओमा सेञ्चुरी बैंकका सीईओ मनोज न्यौपाने बन्नेछन् । प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकबीच गत साउन १५ गते मर्जर सम्झौता भएको थियो । सम्झौतामा प्रभु बैंकका तर्फबाट रमेशसिंह खड्का र सेञ्चुरी बैंकका तर्फबाट मनबहादुर राईले पत्रमा हस्ताक्षर गरेका थिए ।  

प्रदर्शनी भन्दै जुत्ताको बारम्बार सेल मेला, खुद्रा व्यापारीको बिचल्ली

काठमाडौं । जुत्ता चप्पल प्रदर्शनी नाममा भृकुटीमण्डपमा वर्षभरी नै सेल मेला लाग्न थालेको छ । जुत्ता चप्पल उत्पादकहरुले बारम्बार सेल मेला चलाउँदा जुत्ता जप्पल व्यापार चक्र भत्किदै गएको छ । जुत्ता चप्पलको होलसेल तथा खुद्रा व्यापार गर्नेहरु व्यवसायबाट पलायन हुने अवस्था सिर्जना भएको व्यवसायीहरु बताउँछन् । प्रदर्शनी भनेको वस्तु तथा सेवाको प्रदर्शन हो । नयाँ उत्पादनहरु उपभोक्तालाई देखाउन, उनीहरुको रुची बुझ्न, मानिसहरुबाट पृष्ठपोषण लिन वस्तु तथा सेवाको प्रदर्शनी गर्ने अभ्यास संसारभर हुन्छ । तर, जुत्ता चप्पल उत्पादकहरुले प्रदर्शनी सेल मेला चलाउने काम गर्दै आएका छन् । मेलामा मात्र जुत्ता चप्पल बेच्छु भनेर उद्योग स्थापना गरेका उद्योगीहरुसँग अरु विकल्प नभएकाले उनीहरुले बाह्रै महिना मेला लगाउने गरेको जुत्ता उत्पादक संघ नेपालका अध्यक्ष नानिराज घिमिरेले बताए । यस्तो मेलाले ग्राहकलाई सस्तो सामान उपलब्ध हुने तर यसको नकारात्मक असर उपत्यका भित्रका रिटेल व्यवसायीहरुलाई परिरहेको घिमिरेले बताए । ‘व्यापार मेलामा व्यापार राख्ने धेरै संघका पधादिकारीहरु छन्, उहाँहरू त्यही रमाउनु हुन्छ, त्यसैले केही भन्न सक्दैनौं’ अध्यक्ष घिमिरेले भने, ‘कुनै पनि व्यवसायलाई व्यापार गर्ने अधिकारबाट संघले कुण्ठित गर्न सक्दैन । जुत्ता चप्पल मेला सदाबहार रूपमा हुन थालेपछि त्यसलाई रोक्न संघको विधानमै वर्षमा दुई पटक मात्र संघ आफैले मेला गर्ने प्रावधान राखिएको तर त्यसको कार्यान्वनय नभएको जुत्ता उत्पादक संघ नेपालका उपाध्यक्ष सुरज बन्जाडेले बताए । भृकुटीमण्डपमा यस वर्ष मात्रै ७ पटक भन्दा बढी जुत्ताचप्पल प्रदर्शनी भइसकेको उनले बताए । ‘उद्योगीले बाह्रै महिना भृकुटीमण्डपमा पसल नगरौैं भनेर हामीले भन्दै आएका छौं, ठूला उद्योगहरुले बाह्रै महिना मेला चलाएका पनि छैनन्, उत्पादन गरेर बजारमा पठाउन नसक्नेहरुले मेला चलाईरहेका छन्’ अध्यक्ष घिमिरेले भने । कुन-कुन उद्योग मिलेर कहिले व्यापार मेला चलाईरहेका छन् भन्ने जानकारी समेत संघलाई हुन छाडेको उनले बताए । मेलामा जुत्ता जप्पल प्रदर्शनीको नाममा धेरै बेथिति चलेको व्यवसायीहरु बताउँछन् । ‘प्रदर्शनी भनेको छ, ड्यामेज पिसहरु सेलमा राखिएको छ । फेसन आउट भएको, पसलमा लामो समय नबिकेर उद्योगमा फिर्ता आएका सामान सेलमा राखिएको छ । बिल बिजक पनि जारी गर्दैन । प्रदर्शनीमा नेपाली जुत्ता भनेर विदेशी जुत्ता बेचिरहेको पाइन्छ । ग्राहकले कुनै कैफियत देखेर हिजो किनेको सामान आज फिर्ता ल्यायो भने फिर्ता पनि गर्दैनन्’ मलाई त भृकुटीमण्डपमा हुने मेलामा भाग लिन र त्यहाँ गएर उभिन पनि लाज लाग्छ’ एक उद्योगीले आफ्नो पीडा सुनाए । ‘प्रदर्शनी स्थल भनेको उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष भेटघाट र कुराकानी हुने स्थल हो । तर हाम्रो एक्स्पोहरुमा उत्पादकहरु बस्नै चाहादैनन’ उनले भने । मेला कुन उद्देश्यले लागेका छन् । कस्तो सामान बिक्री भइरहेको छ, बिल छ कि छैन, नेपाली भनेर विदेशी बस्तु बिक्री गर्न पाइन्छ कि पाइदैन, उपभोक्ताको अधिकार खोसिएको छ कि छैन भनेर सरकारी निकायले हेर्नुपर्ने उपाध्यक्ष बन्जाडेले बताए । मारमा खुद्रा बिक्रेता उत्पादकले होलसेलर र खुद्रा बिक्रेतालाई ३० देखि ४० प्रतिशत कमिशन दिएर जुत्ता चप्पल बजारमा पठाउने गरेका हुन्छन् । तर उद्योगीले उपभोक्तालाई २०/२५ प्रतिशत छुट दिएर तिनै जुत्ता चप्पल व्यापार मेलामा राखेका हुन्छन् । मूल्यको हिसावले उपभोक्तालाई पसलमा किन्नु भन्दा व्यापार मेलामा किन्दा पाइदा हुन्छ । त्यसैले मूल्यमा बढी ध्यानदिने उपभोक्ताहरु जुत्ता चप्पल व्यापार मेलामा गएर जुत्ता जप्पल किन्ने गर्दछन् । काठमाडौं उपत्यकाबासीको लागि व्यापार सामान्य दोकान जस्तै भएको छ । राजधानीबाहिरबाट काठमाडौं आईरहने उपभोक्ता पनि व्यापार मेलाबाट पुग्ने गर्दछन् । जुत्ता मेलाले राजधानीको खुद्रा व्यापार चौपट भएको र राजधानी बाहिरका बिक्रेतालाई पनि असर परेको बिक्रेताहरु बताउँछन् । प्रदर्शनी भन्दै उद्योगहरुले स्टकका जुता चप्पल बेच्न राखेकोले पसलमा हुने जुत्ता चप्पल व्यापार खत्तम भएको बागबजारको जुत्ता व्यापारी व्यापारी मोहन संग्रौलाले बताए । ‘उत्पादकले नै जुत्ताको व्यापार गरिदिन्छ, उनीहरूले उत्पादन गरेका सामान नै हाम्रा पसलमा छन्, त्यहाँ राख्दा सामान बिक्री हुँदैन, त्यसै व्यापार घट्ने नै भयो, सस्तोमा जुत्ता त्यहाँ पाउने भएकाले हाम्रो सामान बिक्री पनि हुन छाड्यो,’ उनले भने । जुत्ता उत्पादकहरुले भृकुटीभण्डममा ७ दिन वा १५ दिनको लागि भनेर प्रदर्शनी कार्यक्रम राख्छन् । तर गोदाम खाली नभएसम्म यस्तो प्रदर्शनीहरु लम्व्याउने गरेका छन् । ‘७ दिन प्रदर्शनी भनेर कार्यक्रम राख्छन् । गोदाम खाली भएन भने उपभोक्ताको माग छ, अवलोकनकर्ताको भीड छ भनेर एक महिनासम्म पनि मेला आयोजना गर्दछन्’ मोहनले भने । यहाँ समय लम्ब्याउँदै स्टकका सामान बचेको जुत्ता व्यापारीरुको आरोप छ । भृकुटीमण्डपको प्रदर्शनी समय लामो र महिनैपिच्छे हुन थालेपछि सस्तो बजारका जुत्ता व्यापारीहरुले उजुरी समेत गरेका थिए । तर, त्यसको सुनुवाई नभएको व्यवसायीहरु बताउँछन् । बाह्रै महिनाको प्रदर्शनीले उपत्यकाको रिटेल पसलेको व्यापार उद्योगीले खाने खोजेकै जस्तो देखिएको जुत्ता व्यापारी नारायण प्रसाद भट्टराई बताउँछन् । ‘पसलमा जुत्ता बिक्न छाड्यो, अहिले अनलाइनबाट जुत्ता बेच्न सुरु गरेका छौं, पसल गोदाम जस्तो भएको छ ।’ स्टकका सामान कटाउनको लागि जुत्ताहरू चल्तीको नभई पहिलाको राखेको पनि भट्टराईले बताए ।

सिटीजन लाइफ इन्स्योरेन्सद्वारा १ करोड मृत्यु दाबी भुक्तानी

  काठमाडौं । सिटीजन लाइफ इन्स्योरेन्स कम्पनीको म्याग्दी शाखाले एक जना दिवङ्गत बिमितका परिवारलाई एक करोड मृत्यु दाबी रकम भुक्तानी गरेको छ। बिहीबार बेनीमा आयोजित बीमा सचेतना कार्यक्रममा अन्नपूर्ण गाउँपालिका–६ घारका दिवङ्गत कृष्ण बरुवालको परिवारलाई एक करोड ५० हजार रकम हस्तान्तरण गरिएको हो। सिटिजन शुभारम्भ बीमा योजनाअन्तर्गत गत असार ३१ गते जीवन बीमा गरेका बरुवालको गत मंसिर २१ गते बेनीमा क्याम्पस भवन निर्माण योजनाको नापजाँचका क्रममा ढिस्काले पुरिएर मुत्यु भएको थियो । ५० लाखको बीमालेख पोलिसी खरिद गर्नुभएका बरुवालको घरपरिवारलाई बीमाङ्क रकम ५० लाख, दुर्घटना मृत्यु लाभवापतको रकम र ५० लाख र किरिया खर्चवापतको ५० हजार गरी एकमुष्ठ एक करोड ५० हजार रकम हस्तान्तरण गरिएको कम्पनीका म्याग्दी शाखा प्रमुख भावना पौडेल सुवेदीले जानकारी दिए । उनका अनुसार २० वर्षको पोलिसी खरिद गरेका बरुवालले प्रत्येक वर्ष  दुई लाख ६५ हजार तीन सय ५७ प्रिमियम तिर्ने गरी बीमा गरेका थिए भने एक वर्षको मात्रै रकम उनले भुक्तानी गरेका थिए । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल र कम्पनीका ब्राण्ड एम्बेसडरद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले बरुवालका घरपरिवारलाई उक्त मृत्यु दाबी रकमको चेक हस्तान्तरण गरेका थिए । कार्यक्रममा कलाकार श्रेष्ठ र आचार्यले जीवन बीमा भविष्यको बचत र आपत्को सहयोगी भएकाले यसको पहुँच हरेक नागरिकसम्म पुर्‍याउन जरुरी रहेकामा जोड दिए । आचार्यले हरेक नागरिकको जीवनमा आर्थिक जोखिमलाई कम गर्न बीमाले महत्वपूर्ण सारथीका रूपमा काम गरेको उल्लेख गर्दै समुन्नत समाजमा सरकारले नै नागरिकको जीवन बीमामा सहयोग र प्रेरित गर्ने बताए ।

प्रतितोला ८ सयले घट्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको छ । आज छापावाला सुन तोलामा ८ सय रुपैयाँले घटेर प्रति तोला १ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज तेजावी सुन प्रति तोला १ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । साथै आज चाँदी तोलामा २० रुपैयाँले घटेर प्रति तोला १ हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

४० मेगावाटको राहुघाट जलविद्युत् आयोजनाले गति लिँदै

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सुरुङ निर्माणको कामले गति लिएको छ । ठेकेदार कम्पनीको ढिलासुस्तीले अन्योलमा रहेको आयोजनामा पछिल्लो समय जनशक्ति, उपकरण र स्रोतसाधन परिचालनमा जोड दिएपछि निर्माणले गति लिएको हो । प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवद्र्धक रहेको आयोजनाले करीब ६० प्रतिशत सुरुङ निर्माण सकिएको जनाएको छ । राहुघाट जलविद्युत्मा कूल ६ हजार २७० मिटर सुरुङमार्ग निर्माण गर्नुपर्नेमा हालसम्म ३ हजार ७०० मिटर निर्माण सकिएको आयोजनाका योजना प्रबन्धक राजबहादुर विष्टले जानकारी दिए । मासिक १८० मिटर सुरुङ निर्माण गर्ने योजनाअनुसार कामलाई गति दिएको उनको भनाइ छ । आयोजनाको आगामी १ वर्षभित्र सुरुङको ‘ब्रेक थ्रू’ गर्ने लक्ष्य छ । अहिलेसम्म ४० प्रतिशत भौतिक र ५० प्रतिशत वित्तीय प्रगति भएको आयोजनामा सुरुङ मार्गसँगै बाँध र विद्युत् गृहतर्फको पूर्वाधार निर्माण धमाधम भइरहेको छ । रघुगङ्गा गाउँपालिका–४ दग्नाम र ५ झिँको सिमानामा बाँध रहने आयोजनाको पानी बग्ने ठाउँ, पानी थिग्राउने स्थल, पावर इन्टेक, मुख्य सुरुङमार्ग लगायत पूर्वाधार निर्माण भइरहेको विष्टले बताए । वडा नम्बर ३ पिप्लेको तिल्केनी चौरमा विद्युत् गृह रहने क्षेत्रमा पूर्वाधार निर्माण जारी छ । दैनिक झण्डै ३०० मजदुर परिचालन गरिएको छ । भारतीय आयात–निर्यात (एक्जिम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण भइरहेको आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एशोसिएट्स (जेपी) सँग २०७४ मंसिरमा ठेक्का सम्झौता भएको थियो । ठेक्का अवधि सन् २०२२ फेब्रुअरीमा सकिएपछि सन् २०२३ अगस्तसम्मका लागि पुनः म्याद थप भएको छ । अर्धजलाशययुक्त बाँध रहने यस आयोजनाले वार्षिक २४ करोड ५ लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) गरेको थियो । प्राधिकरणले सन् १९९८ मा सम्भाव्यता अध्ययन गरेको आयोजनालाई २०७० मा नै सम्पन्न गर्ने गरी भारतीय ठेकेदार कम्पनी आईभीआरसीएल प्रोजेक्ट्स लिमिटेडले ठेक्का लिएको थियो । आईभीआरसीएल कमजोर आर्थिक अवस्थाका कारण ४ वर्षमा १० प्रतिशत पनि काम नगरी पन्छिएको थियो । यसअघि ३२ मेगावाट मात्र उत्पादन गर्ने गरी अघि बढाएको आयोजनाको क्षमता ८ मेगावाट बढाएर अहिले ४० मेगावाट पुर्‍याइएको छ ।

मर्जरमा रहेका बैंकहरु धमाधम एकीकृत कारोबार गर्दै, कुन बैंकको कहिले ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई मर्जरमा दिने सुविधालाई चालू आर्थिक वर्षको मौद्रिक नीतिले पनि निरन्तरता दियो । सोही सुविधा प्राप्त गर्नका लागि झण्डै एक दर्जन बैंकहरुले मर्जर सम्झौता गरेका थिए । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक, ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू (बिओके), हिमालयन बैंक र सिभिल बैंक, प्रभु बैंक र सेञ्चुरी बैंक र कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक मर्जर सम्झौता गरेका थिए । जसमध्ये कुमारी बैंक र एनसीसी बैंकले गत साता एकीकृत कारोबार सम्पन्न भइसकेको छ । अब बाँकी नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक, ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू (बिओके), हिमालयन बैंक र सिभिल बैंक, प्रभु बैंक र सेञ्चुरी बैंकले पनि एकीकृत कारोबारका लागि मिति तय गरेका छन् । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको एकीकृत कारोबार पुस २५ गते सोमबार गर्ने गरी मिति तय भएको ग्लोलब आइएमई बैंकका कम्पनी सचिव विष्णु बास्कोटाले जानकारी दिए । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू १ः१ को स्वाप रेसियोमा मर्ज हुन लागेका हुन् । अर्थात् बैंक अफ काठमाण्डूको १ सय कित्ता सेयर भएका सेयरधनीले मर्जरपश्चात् ग्लोबल आइएमई बैंकको १ सय कित्ता सेयर प्राप्त गर्नेछन् । दुवै बैंकले एकिकृत कारोबार हुनअघि डाटा माइग्रेसन प्रयोजनको लागि ३ दिन अर्थात पुस २२, २३ र २४ गते सेवाहरु बन्द रहने भएका छन् । मर्जर पश्चात् ‘ग्लोबल आईएमई बैंक’को नामबाट एकीकृत कारोबार हुनेछ । मर्जरपश्चात् बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा ग्लोबल आइएमई बैंकका सीईओ रत्नराज बज्राचार्य बन्ने छन् । साथै, मर्जर पश्चात् बैंक अफ काठमाण्डूका सीईओ श्रवण लाल मास्के वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) बन्नेछन् । मर्जरपश्चात् सञ्चालक समितिको अध्यक्षमा चन्द्र ढकाल बन्ने छन् । ग्लोबल आइएमई बैंकबाट सञ्चालकहरुमा कृष्ण प्रसाद शर्मा, देवेन्द्र प्रताप शाह, क्याविनेट श्रेठ र राम बहादुर भण्डारी नियुक्त हुने सहमति भएको छ । यस्तै बैंक अफ काठमाण्डूबाट राधेश पन्त र मदन लाल जोशीलाई सञ्चालक बनाउने सहमति भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको एकीकृत कारोबार पुस २७ गतेका दिन हुने भएको छ । दुवै बैंक १००ः९० को स्वाप रेसियोमा मर्ज हुने भएका हुन् । इन्भेष्टमेन्ट बैंकको १ कित्ता सेयर बराबर मेगा बैंकको ०.९० कित्ता हुनेछ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको अध्यक्षमा पृथ्वी बहादुर पाँडे बन्नेछन् । यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकबाट प्रजन्यराज भण्डारी र कवि टिव्रेवाला मर्जरपश्चात् सञ्चालक बन्नेछन् । त्यस्तै मेगा बैंकबाट गोपाल खनाल, मुक्तिराम पाण्डेय र मदन कुमार आचार्य मर्जरपश्चात् सञ्चालक बन्नेछन् । नेपाल इन्भेष्टमेन्ट बैंकले एक जना सञ्चालक भने टुंगो लगाउन बाँकी रहेको छ । मर्जरपश्चात् बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) भने ज्योतिप्रकाश पाण्डेय बन्नेछन् । साथै, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत भने मेगा बैंकले पाउने सहमति भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच गत जेष्ठ २७ गते मर्जर प्रारम्भिक सम्झौता भएको थियो । नेपाल इन्भेष्टमेन्ट बैंकको तर्फबाट अध्यक्ष पृथ्वी बहादुर पाँडे र मेगा बैंकको तर्फबाट अध्यक्ष भोज बहादुर शाहले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार माघ १८ गते हुने भएको छ । वार्षिक साधारणसभा सम्पन्न भएको ३ साताभित्र एकीकृत कारोबार गर्ने तयारी बैंकको छ । सिभिल बैंकका सञ्चालक अम्बिर बोगटीका अनुसार हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार माघको १८ गते गर्ने तयारी छ । ‘दुवै बैंकले मर्जर प्रस्ताव पारित गर्न पुस २८ गते वार्षिक साधारणसभा बोलाएका छन्, वार्षिक साधारणसभाले पारित गरेको ३ साता भित्र अर्थात् माघ १८ गते एकीकृत कारोबार गर्ने लक्ष्य लिएका छौं, यदि राष्ट्र बैंकबाट अन्तिम स्वीकृति आउन ढिला र दोस्रो त्रैमासको दबाव भयो भने एक हप्ता ढिला हुन सक्छ, अन्ततः हामीले २५ गतेभित्र जसरी पनि एकीकृत कारोबार हुन्छ,’ उनले भने । हिमालयन बैंक र सिभिल बैंक १००ः८०.२८ को स्वाप रेसियोमा मर्ज हुने भएका हुन् । अर्थात् सिभिल बैंकको १०० कित्ता सेयर हुने सेयरधनीले हिमालयन बैंकमा ८०.२८ कित्ता सेयर हुनेछ । मर्जरपश्चात् बन्ने हिमालयन बैंकको सञ्चालक समितिको अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठलाई बनाउने सहमति भएको छ । साथै फैशल एन लाल्टिन, सुनिल बहादुर थापा, जितेन्द्र धिताल, आशिष शर्मा, विजय बहादुर श्रेष्ठ र राधाकृष्ण पोटे सञ्चालक बन्नेछन् । मर्जर पश्चात् हिमालयन बैंकको सञ्चालक समिति नै यथावत रहने भएको हो । मर्जर पश्चात् बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा हिमालयन बैंकका अशोक राणा रहनेछन् । सिभिल बैंकका सीईओ सुनिल पोख्रेल मर्जरपश्चात् बैंकको वरिष्ठ प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) बन्नेछन् । प्रभु बैंक र सेन्चुरी कमर्सियल बैंकको एकीकृत कारोबार पुस २६ गते मंगलबार हुने भएको छ । दुबै बैंकबीच १ः१ अनुपातको रेसियोमा मर्ज हुने भएका हुन् । मर्जर पश्चात् प्रभु बैंकको नामबाट एकीकृत कारोबार हुनेछ । मर्जरपछि बैंकको सीईओमा प्रभु बैंकका अशोक शेरचन र डेपुटी सीईओमा सेञ्चुरी बैंकका सीईओ मनोज न्यौपाने बन्नेछन् । एकिकृत कारोबार प्रयोजनका लागि डाटा माईग्रेसन गर्न पुस २२ गते शुक्रबार राति १२ बजेदेखि पुस २६ गते बिहान पौने १० बजेसम्म दुवै बैंकको सम्पूर्ण सेवा बन्द रहने छ । प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकबीच गत साउन १५ गते मर्जर सम्झौता भएको थियो । सम्झौतामा प्रभु बैंकका तर्फबाट रमेशसिंह खड्का र सेञ्चुरी बैंकका तर्फबाट मनबहादुर राईले पत्रमा हस्ताक्षर गरेका थिए ।