प्रदर्शनी भन्दै जुत्ताको बारम्बार सेल मेला, खुद्रा व्यापारीको बिचल्ली

<p>काठमाडौं । जुत्ता चप्पल प्रदर्शनी नाममा भृकुटीमण्डपमा वर्षभरी नै सेल मेला लाग्न थालेको छ । जुत्ता चप्पल उत्पादकहरुले बारम्बार सेल मेला चलाउँदा जुत्ता जप्पल व्यापार चक्र भत्किदै गएको छ । जुत्ता चप्पलको होलसेल तथा खुद्रा व्यापार गर्नेहरु व्यवसायबाट पलायन हुने अवस्था सिर्जना भएको व्यवसायीहरु बताउँछन् । प्रदर्शनी भनेको वस्तु तथा सेवाको प्रदर्शन हो । नयाँ [&hellip;]</p>

काठमाडौं । जुत्ता चप्पल प्रदर्शनी नाममा भृकुटीमण्डपमा वर्षभरी नै सेल मेला लाग्न थालेको छ । जुत्ता चप्पल उत्पादकहरुले बारम्बार सेल मेला चलाउँदा जुत्ता जप्पल व्यापार चक्र भत्किदै गएको छ । जुत्ता चप्पलको होलसेल तथा खुद्रा व्यापार गर्नेहरु व्यवसायबाट पलायन हुने अवस्था सिर्जना भएको व्यवसायीहरु बताउँछन् ।

प्रदर्शनी भनेको वस्तु तथा सेवाको प्रदर्शन हो । नयाँ उत्पादनहरु उपभोक्तालाई देखाउन, उनीहरुको रुची बुझ्न, मानिसहरुबाट पृष्ठपोषण लिन वस्तु तथा सेवाको प्रदर्शनी गर्ने अभ्यास संसारभर हुन्छ । तर, जुत्ता चप्पल उत्पादकहरुले प्रदर्शनी सेल मेला चलाउने काम गर्दै आएका छन् ।

मेलामा मात्र जुत्ता चप्पल बेच्छु भनेर उद्योग स्थापना गरेका उद्योगीहरुसँग अरु विकल्प नभएकाले उनीहरुले बाह्रै महिना मेला लगाउने गरेको जुत्ता उत्पादक संघ नेपालका अध्यक्ष नानिराज घिमिरेले बताए । यस्तो मेलाले ग्राहकलाई सस्तो सामान उपलब्ध हुने तर यसको नकारात्मक असर उपत्यका भित्रका रिटेल व्यवसायीहरुलाई परिरहेको घिमिरेले बताए ।

‘व्यापार मेलामा व्यापार राख्ने धेरै संघका पधादिकारीहरु छन्, उहाँहरू त्यही रमाउनु हुन्छ, त्यसैले केही भन्न सक्दैनौं’ अध्यक्ष घिमिरेले भने, ‘कुनै पनि व्यवसायलाई व्यापार गर्ने अधिकारबाट संघले कुण्ठित गर्न सक्दैन ।

जुत्ता चप्पल मेला सदाबहार रूपमा हुन थालेपछि त्यसलाई रोक्न संघको विधानमै वर्षमा दुई पटक मात्र संघ आफैले मेला गर्ने प्रावधान राखिएको तर त्यसको कार्यान्वनय नभएको जुत्ता उत्पादक संघ नेपालका उपाध्यक्ष सुरज बन्जाडेले बताए । भृकुटीमण्डपमा यस वर्ष मात्रै ७ पटक भन्दा बढी जुत्ताचप्पल प्रदर्शनी भइसकेको उनले बताए ।

‘उद्योगीले बाह्रै महिना भृकुटीमण्डपमा पसल नगरौैं भनेर हामीले भन्दै आएका छौं, ठूला उद्योगहरुले बाह्रै महिना मेला चलाएका पनि छैनन्, उत्पादन गरेर बजारमा पठाउन नसक्नेहरुले मेला चलाईरहेका छन्’ अध्यक्ष घिमिरेले भने । कुन-कुन उद्योग मिलेर कहिले व्यापार मेला चलाईरहेका छन् भन्ने जानकारी समेत संघलाई हुन छाडेको उनले बताए ।

मेलामा जुत्ता जप्पल प्रदर्शनीको नाममा धेरै बेथिति चलेको व्यवसायीहरु बताउँछन् । ‘प्रदर्शनी भनेको छ, ड्यामेज पिसहरु सेलमा राखिएको छ । फेसन आउट भएको, पसलमा लामो समय नबिकेर उद्योगमा फिर्ता आएका सामान सेलमा राखिएको छ । बिल बिजक पनि जारी गर्दैन । प्रदर्शनीमा नेपाली जुत्ता भनेर विदेशी जुत्ता बेचिरहेको पाइन्छ । ग्राहकले कुनै कैफियत देखेर हिजो किनेको सामान आज फिर्ता ल्यायो भने फिर्ता पनि गर्दैनन्’ मलाई त भृकुटीमण्डपमा हुने मेलामा भाग लिन र त्यहाँ गएर उभिन पनि लाज लाग्छ’ एक उद्योगीले आफ्नो पीडा सुनाए । ‘प्रदर्शनी स्थल भनेको उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष भेटघाट र कुराकानी हुने स्थल हो । तर हाम्रो एक्स्पोहरुमा उत्पादकहरु बस्नै चाहादैनन’ उनले भने ।

मेला कुन उद्देश्यले लागेका छन् । कस्तो सामान बिक्री भइरहेको छ, बिल छ कि छैन, नेपाली भनेर विदेशी बस्तु बिक्री गर्न पाइन्छ कि पाइदैन, उपभोक्ताको अधिकार खोसिएको छ कि छैन भनेर सरकारी निकायले हेर्नुपर्ने उपाध्यक्ष बन्जाडेले बताए ।

मारमा खुद्रा बिक्रेता

उत्पादकले होलसेलर र खुद्रा बिक्रेतालाई ३० देखि ४० प्रतिशत कमिशन दिएर जुत्ता चप्पल बजारमा पठाउने गरेका हुन्छन् । तर उद्योगीले उपभोक्तालाई २०/२५ प्रतिशत छुट दिएर तिनै जुत्ता चप्पल व्यापार मेलामा राखेका हुन्छन् ।

मूल्यको हिसावले उपभोक्तालाई पसलमा किन्नु भन्दा व्यापार मेलामा किन्दा पाइदा हुन्छ । त्यसैले मूल्यमा बढी ध्यानदिने उपभोक्ताहरु जुत्ता चप्पल व्यापार मेलामा गएर जुत्ता जप्पल किन्ने गर्दछन् । काठमाडौं उपत्यकाबासीको लागि व्यापार सामान्य दोकान जस्तै भएको छ । राजधानीबाहिरबाट काठमाडौं आईरहने उपभोक्ता पनि व्यापार मेलाबाट पुग्ने गर्दछन् ।

जुत्ता मेलाले राजधानीको खुद्रा व्यापार चौपट भएको र राजधानी बाहिरका बिक्रेतालाई पनि असर परेको बिक्रेताहरु बताउँछन् । प्रदर्शनी भन्दै उद्योगहरुले स्टकका जुता चप्पल बेच्न राखेकोले पसलमा हुने जुत्ता चप्पल व्यापार खत्तम भएको बागबजारको जुत्ता व्यापारी व्यापारी मोहन संग्रौलाले बताए ।

‘उत्पादकले नै जुत्ताको व्यापार गरिदिन्छ, उनीहरूले उत्पादन गरेका सामान नै हाम्रा पसलमा छन्, त्यहाँ राख्दा सामान बिक्री हुँदैन, त्यसै व्यापार घट्ने नै भयो, सस्तोमा जुत्ता त्यहाँ पाउने भएकाले हाम्रो सामान बिक्री पनि हुन छाड्यो,’ उनले भने ।

जुत्ता उत्पादकहरुले भृकुटीभण्डममा ७ दिन वा १५ दिनको लागि भनेर प्रदर्शनी कार्यक्रम राख्छन् । तर गोदाम खाली नभएसम्म यस्तो प्रदर्शनीहरु लम्व्याउने गरेका छन् । ‘७ दिन प्रदर्शनी भनेर कार्यक्रम राख्छन् । गोदाम खाली भएन भने उपभोक्ताको माग छ, अवलोकनकर्ताको भीड छ भनेर एक महिनासम्म पनि मेला आयोजना गर्दछन्’ मोहनले भने । यहाँ समय लम्ब्याउँदै स्टकका सामान बचेको जुत्ता व्यापारीरुको आरोप छ ।

भृकुटीमण्डपको प्रदर्शनी समय लामो र महिनैपिच्छे हुन थालेपछि सस्तो बजारका जुत्ता व्यापारीहरुले उजुरी समेत गरेका थिए । तर, त्यसको सुनुवाई नभएको व्यवसायीहरु बताउँछन् । बाह्रै महिनाको प्रदर्शनीले उपत्यकाको रिटेल पसलेको व्यापार उद्योगीले खाने खोजेकै जस्तो देखिएको जुत्ता व्यापारी नारायण प्रसाद भट्टराई बताउँछन् । ‘पसलमा जुत्ता बिक्न छाड्यो, अहिले अनलाइनबाट जुत्ता बेच्न सुरु गरेका छौं, पसल गोदाम जस्तो भएको छ ।’ स्टकका सामान कटाउनको लागि जुत्ताहरू चल्तीको नभई पहिलाको राखेको पनि भट्टराईले बताए ।

Share News