
काठमाडौं । सिटीजन लाइफ इन्स्योरेन्स कम्पनीको म्याग्दी शाखाले एक जना दिवङ्गत बिमितका परिवारलाई एक करोड मृत्यु दाबी रकम भुक्तानी गरेको छ। बिहीबार बेनीमा आयोजित बीमा सचेतना कार्यक्रममा अन्नपूर्ण गाउँपालिका–६ घारका दिवङ्गत कृष्ण बरुवालको परिवारलाई एक करोड ५० हजार रकम हस्तान्तरण गरिएको हो।
सिटिजन शुभारम्भ बीमा योजनाअन्तर्गत गत असार ३१ गते जीवन बीमा गरेका बरुवालको गत मंसिर २१ गते बेनीमा क्याम्पस भवन निर्माण योजनाको नापजाँचका क्रममा ढिस्काले पुरिएर मुत्यु भएको थियो । ५० लाखको बीमालेख पोलिसी खरिद गर्नुभएका बरुवालको घरपरिवारलाई बीमाङ्क रकम ५० लाख, दुर्घटना मृत्यु लाभवापतको रकम र ५० लाख र किरिया खर्चवापतको ५० हजार गरी एकमुष्ठ एक करोड ५० हजार रकम हस्तान्तरण गरिएको कम्पनीका म्याग्दी शाखा प्रमुख भावना पौडेल सुवेदीले जानकारी दिए ।
उनका अनुसार २० वर्षको पोलिसी खरिद गरेका बरुवालले प्रत्येक वर्ष दुई लाख ६५ हजार तीन सय ५७ प्रिमियम तिर्ने गरी बीमा गरेका थिए भने एक वर्षको मात्रै रकम उनले भुक्तानी गरेका थिए । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल र कम्पनीका ब्राण्ड एम्बेसडरद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले बरुवालका घरपरिवारलाई उक्त मृत्यु दाबी रकमको चेक हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा कलाकार श्रेष्ठ र आचार्यले जीवन बीमा भविष्यको बचत र आपत्को सहयोगी भएकाले यसको पहुँच हरेक नागरिकसम्म पुर्याउन जरुरी रहेकामा जोड दिए । आचार्यले हरेक नागरिकको जीवनमा आर्थिक जोखिमलाई कम गर्न बीमाले महत्वपूर्ण सारथीका रूपमा काम गरेको उल्लेख गर्दै समुन्नत समाजमा सरकारले नै नागरिकको जीवन बीमामा सहयोग र प्रेरित गर्ने बताए ।