विकासन्युज

गरिमा बैंककाे १४.५० प्रतिशत लाभांश पारित

काठमाडौं । गरिमा विकास बैंकको लाभांश पारित भएको छ । बैंकको सोह्रौं वार्षिक साधारण सभाले प्रस्तावित १४.५० प्रतिशत लाभांश पारित गरेको हो । बैंकले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर र १.५० प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको हो । योसँगै बैंकको चुक्ता पूँजी पाँच अर्ब १८ करोड ७६ लाख रुपैयाँ भएको छ । सभाले बैंकका अध्यक्ष श्याम प्रसाद बस्यालले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । त्यस्तै, सभाले गत आर्थिक वर्षमा उत्कृष्ठ कार्यसम्पादन गर्ने शाखाहरुलाई सम्मान गरेको छ । बैकको आन्तरिक मुल्यांकन अनुसार उत्कृष्ठ कार्यसम्पादन गर्ने शाखाहरुमा प्रथम पूतलीबजार शाखा, दोस्रो ईमाडोल शाखा, तेस्रो बयरघारी शाखा र चौंथोमा हेम्जा शाखा भएका छन् ।

देशभरका २० स्थानमा औद्योगिक व्यापार मेला हुँदै, अर्थतन्त्र चलायमान हुने विश्वास

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतका जिल्ला नगर संघहरुले देशका विभिन्न ठाउँमा औद्योगिक व्यापार मेला आयोजना गर्ने तयारी गरेका छन् । कतिपय ठाउँहरुमा महोत्सव सम्पन्न भइसकेको छ भने कतिपय ठाउँमा गर्ने तयारी छ । कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन लगायत क्षेत्रको विस्तार विकास तथा प्रवद्र्धनका लागि विभिन्न नगर संघहरुले महोत्सब आयोजना गर्न लागेका हुन् । नेपाल उद्योग वाणिज्य महासंघका अनुसार देशभरका विभिन्न २० ठाउँमा औद्योगिक व्यापार मेला हुँदैछ । केही ठाउँहरुमा क्षेत्रीय व्यापार मेला सम्पन्न भइसकेका छन् भने केही ठाउँमा गर्ने तयारी भइरहेको महासंघको मेला सभापति नरेन्द्र खड्काले बताए । हालसम्म ११ वटा महोत्सव, एक्सपो तथा हस्तकला कार्यक्रम भइसकेको छ । केही महिना अगाडि मात्रै जुम्ला, काभ्रे, बझाङ, कैलाली, सिद्धार्थ, पोखरा, धादिङ, सिन्धुली, उद्योग वाणिज्य संघले क्षेत्रीय व्यापार मेला–२०७९ सम्पन्न गरी सकेका छन् । यस्तै, नेपाल हस्तकला महासंघ ‘हस्तकला’, सीआईएम मोरङले ‘विराट एक्सपो’, नेपाल विद्युत् उद्यमी महासंघले ‘नीक इलेक्ट्रोटेक’ कार्यक्रम आयोजना गरी सम्पन्न भइसकेको छ । अहिले महासंघ अन्तर्गतका जिल्ला/नगर संघहरुले देशका विभिन्न ठाउँमा औद्योगिक मेला आयोजना तयारीमा केन्द्रित भएका छन् । उद्योग वाणिज्य संघ चितवनले ‘१४ औं चितवन महोत्सव– २०७९’ को आयोजना गर्दैछ । सो महोत्सव पुस २५ गतेदेखि माघ ४ गतेसम्म सञ्चालन बताइएको छ । गोरखा उद्योग वाणिज्य संघले पनि ‘११औं गोरखा महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक व्यपार मेला–२०७९’ गर्ने तयारी गरिरहेको छ । सो महोत्सव पुस २७ गतेबाट सुरु गरी माघ ७ गतेसम्म सञ्चालन गर्नेछ । ‘बागमती प्रदेश महोत्सव’ को तयारीमा खैरहनी उद्योग वाणिज्य संघ लागेको छ । संघका अनुसार उक्त महोत्सव पुसको २८ गतेबाट सुरु भई माघको ८ गतेसम्म सञ्चालन हुनेछ । यस्तै, म्याग्दी महोत्सवको आयोजना म्याग्दी उद्योग वाणिज्य संघ गर्ने बताएको छ । संघले उक्त महोत्सव पुसको २८ गते देखि १० गतेसम्म गर्ने योजना बनाएको छ । यसैगरी बर्दिया उद्योग वाणिज्य संघले पनि औद्योगिक मेलाको आयोजना गर्ने बताएको छ । संघले ‘माघी पर्व–२०७९’ को आयोजना पुसको २९ गतेबाट माघको १० गतेसम्म गर्ने तयारी गरिरहेको छ । टीकापुर उद्योग वाणिज्य संघले पनि माघ ४ गतेदेखि ‘टीकापुर महोत्सव’ आयोजना गर्ने योजना बनाएको छ । यस्तै, देवचुली उद्योग वाणिज्य संघले पनि १० दिने महोत्सव आयोजना गर्ने भएको छ । संघले ‘देव चुली महोत्सव’ माघको ५ गतेदेखि १५ गतेसम्म गर्ने बताएको छ । प्युठान उद्योग वाणिज्य संघ ‘कृषि मेला’ गर्ने भएको छ । संघले माघ ५ गतेदेखि १५ गतेसम्म मेला सञ्चालन गर्ने जनाएको छ । मकवानपुर उद्योग वाणिज्य संघले पनि ‘मकवानपुर महोत्सव’ गर्ने तयारी गरिरहरेको छ । संघले माघ ५ देखि १५ गतेसम्म महोत्सव आयोजना गर्दैछ । धनकुटा उद्योग वाणिज्य संघले पनि ‘प्रदेश १ व्यापार मेला’ सञ्चालन गर्ने भएको छ । सो मेला माघको ६ गतेबाट सुरु भई १६ गतेसम्म सञ्चालन हुने संघको भनाइ छ । पर्वत उद्योग वाणिज्य संघले माघको ११ बाट २१ सम्म ‘पर्वत महोत्सव’ गर्ने भएको छ । कञ्चनपुर उद्योग वाणिज्य संघले पनि फागुनको १ गतेबाट १० गतेसम्म कञ्चनपुर महोत्सव आयोजना गर्ने भएको छ । यस्तै, सुनसरी उद्योग वाणिज्य संघले ‘धरान एक्सपो’ गर्ने भएको छ । उक्त एक्सपो फागुनको ११ बाट सञ्चालन भई २० गते सम्पन्न हुनेछ । महासंघका अनुसार डडेल्धुरा उद्योग वाणिज्य संघले ‘डडेल्धुरा महोत्सव’ आयोजना गर्दैछ । उक्त कार्यक्रम फागुनको ४ देखि १४ गतेसम्म हुनेछ । यस्तै, उर्लाबारी उद्योग वाणिज्य संघ ‘उर्लाबारी महोत्सव’ फागुमा गर्न जानकारी दिएको छ । बिर्तामोड उद्योग वाणिज्य संघको ‘बिर्तामोड महोत्सव’ फागुनको ५ गतेबाट १५ गतेसम्म हुने भनिएको छ । सल्यान उद्योग वाणिज्य संघले ‘सल्यान कृषि मेला’ को आयोजना गर्दैछ । संघका अनुसार मेला फाल्गुनको पहिलो सातादेखि हुँदैछ । स्याङ्या उद्योग वाणिज्य संघले ‘स्याङ्या महोत्सव’ गर्ने योजना बनाएको छ । सो महोत्सव फागुनमा हुने भनिएको छ । ‘लमजुङ महोत्सव’ को आयोजना लमजुङ उद्योग वाणिज्य संघले चैत्र २५ गतेदेखि वैशाखको ४ गतेसम्म गर्ने जनाएको छ ।यी विभिन्न मेला महोत्सव सम्पन्न भए पश्चात् महासंघले अन्तर्राष्ट्रिय व्यापार मेला गर्ने योजना बनाएको छ । सम्बन्धित सामग्री : ‘वर्षमा ७० वटा प्रदर्शनी गर्न सके १४ अर्ब रुपैयाँको कारोबार हुन्छ, लाखौंले रोजगारी पाउँछन्’

‘सरकारले व्यवसायीको मनोबल उच्च बनाउने निर्णय गरे तत्काल अर्थतन्त्र लयमा आउँछ’

काठमाडाैं । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले वर्तमान सरकारले उद्योगी व्यवसायीहरुको मनोबल उच्च बनाउने निर्णय गरे तत्काल अर्थतन्त्र लयमा आउने बताएका छन् । पछिल्लो समय उद्योगी व्यवसायीहरुको मनोबल कमजोर भएकाले उद्योग व्यवसायमा संकुचन आएको भन्दै अध्यक्ष अग्रवालले वर्तमान सरकारले उद्योगी व्यवसायीहरुको मनोबल उच्च बनाउने गरी निर्णय गर्नुपर्ने बताएका हुन् । अध्यक्ष अग्रवालले सरकारले बैंकको ब्याजदर कम गर्ने, तरलता सहज ल्याउने र एलसी मार्जिन कम गर्ने निर्णय गरे व्यवसायीहरुको मनोबल सकारात्मक हुने बताए । अर्थतन्त्र लयमा आउँदा उच्च रुपमा गिरावट आएको माग बढ्ने र उद्योग व्यवसायमा लगानी पनि बढ्ने उनकाे भनाइ छ । ‘नयाँ सरकार बनेसँगै सेयर बजारमा लगातार रुपमा वृद्धि भइरहेको छ । तर मुलुकको अर्थतन्त्रका केही प्यारामिटरहरु परिवर्तन भएका छैनन् । कुनै नयाँ निर्णय भएको छैन । जुन उच्च मनोबलका कारणले भएको छ । वर्तमान सरकारले उद्योगी व्यवसायीहरुको मनोबल बढाउने हिसावले कदमहरु चाल्यो भने संकटमा रहेको अर्थतन्त्र लयतमा तुरुन्तै जान्छ,’ उनले भने । पछिल्लो समय मागमा संकुचन हुनु आर्थिक वर्षको पाँच महिना गत वर्षको सोही अवधिको तुलनामा राजश्व संकलनमा २० प्रतिशत संंकुचन हुनु प्रमुख कारण भएको उनले बताए । सेयर बजार, घरजग्गाको कारोबार गिरावटको कारण सबै क्षेत्रको मागमा संकुचन आएको उनी बताउँछन् ।

नेपाल फाईनान्स ३० औं वर्षमा, एक महिनासम्म टपअप सेवामा १० प्रतिशत छुट

काठमाडौं । नेपाल फाईनान्सको स्थापनाकाे ३० औं वर्षमा प्रवेश गरेकाे छ । फाइनान्स कम्पनीको रुपमा वि.सं. २०४९ साल पौष २२ गतेबाट स्थापना भएकाे नेपाल फाईनान्सले ३० औं वर्षमा प्रवेश गरेकाे हाे । यस अवसरमा कम्पनीले संस्थाको केन्द्रीय कार्यालयमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सोही अवसरमा संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वृद्ध आश्रमा खाद्यन्न सामाग्रीहरु वितरण गरेकाे थियाे । त्यसैगरी, संस्थाले विभिन्न विद्यालयहरुमा कपी, कलम, पेन्सिल लगाएतका शैक्षिक सामाग्रीहरु वितरण गरेको  छ । फाइनान्सले पुष २२ देखि १ महिनाको लागि संस्थाको मोबाइल बैकिङ्ग सेवा प्रयोग गरी पहिलो पटक टपअप सेवा उपयोग गर्ने ग्राहकलाई १० प्रतिशत नगद छुट र टपअप सेवा उपयोग गर्ने सम्पूर्ण ग्राहकलाई २ प्रतिशत नगद फिर्ता गर्ने जनाएकाे छ । साथै, १ महिनाको अवधिमा सबैभन्दा बढी रकमको टपअप गर्ने १ जना ग्राहकलाई स्मार्ट फोन प्रदान गर्ने फाइनान्सले जनाएकाे छ । फाइनान्सले पुष २२ देखि १ महिनाको अवधिमा संस्थाको नयाँ क्युआर स्ट्याण्डी लिने मर्चेन्टलाई क्युआर स्ट्याण्डी दर्ता शुल्कमा छुटका साथै सबैभन्दा बढी क्युआर स्ट्याण्डी दर्ता गराउने पहिलो ५ जना कर्मचारीलाई पुरस्कृत गर्ने योजना समेत सार्वजनिक गरेको छ । फाइनान्सले काठमाडौं उपत्यका लगाएत देशका विभिन्न स्थानहरु समेत गरी जम्मा १२ वटा शाखा कार्यालय र २ वटा एक्सेन्टशन काउण्टर मार्फत बैंकिङ्ग सेवाको साथै आफ्ना सेवाहरु प्रदान गरिरहेको छ ।

चन्द्रागिरि हिल्सको अध्यक्षमा हेमराज ढकाल नियुक्त

काठमाडौं । चन्द्रागिरि हिल्सको संचालक सदस्यमा ४ जना निर्वाचित भएका छन् । कम्पनीको पुस २१ गते सम्पन्न १३ औं वार्षिक साधारण सभाबाट संचालक सलस्यमा हेमराज ढकाल, उत्तम कुमार नेपाल, कल्याण गुरुङ्ग र दिलिप शेखर श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन् । उनीहरुको ४ वर्ष कार्यकालको लागि संचालक सदस्यमा नियुक्त भएका हुन् । साथै सोही दिनमा बसेको नव निर्वाचित संचालक समितिको बैठकले संचालक सदस्य हेमराज ढकाललाई अध्यक्षमा निर्विरोध चयन गरेको छ । ढकाल चन्द्रागिरि हिल्सका संस्थापक अध्यक्षसमेत हुन् ।  ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल, साहसिक खेल तथा पाँच तारे लक्जरी रिसोर्ट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

३३ लाख अमेरिकी प्राकृतिक प्रकोपबाट विस्थापित

वासिङ्टन । ३३ लाख अमेरिकी वयस्क प्राकृतिक प्रकोपबाट विस्थापित भएका एक सर्वेक्षणले देखाएको छ । अमेरिकी जनगणना ब्यूरोका अनुसार देशको १.३ प्रतिशतभन्दा बढी वयस्क जनसङ्ख्या गत वर्ष प्राकृतिक प्रकोपबाट विस्थापित भएको थियोभने आधाभन्दा बढी स्थानान्तरण हुन बाध्य भएका थिए । बिहीबार सार्वजनिक भएको दुई वर्ष पुरानो अनलाइन सर्वेक्षणले ३३ लाख अमेरिकी वयस्क आँधी, बाढी, आगलागीलगायत प्राकृतिक प्रकोपबाट विस्थापित भएका देखाएको हो । प्राकृतिक प्रकोपबाट भएका विस्थापनबारे पहिलो पटक सर्वेक्षणमा प्रश्नावली समावेश गरिएको थियो । अमेरिकाका केही राज्य अरू भन्दा बढी प्रभावित भएका, सबैतिर एकै प्रकारको विपत्तिको सामना गर्नुनपरेको, फ्लोरिडामा करिब १० लाख प्रभावित भएका थिए । उक्त राज्यका हरेक १७ जनामा एक जना विस्थापित भएका थिए । सर्वेक्षणअनुसार निकाले तूफानले देशका विभिन्न भागमा चार लाख नौ हजारभन्दा बढीलाई सुरक्षित स्थानमा स्थानान्तरण हुन बाध्य पारेको थियो । प्राकृतिक प्रकोपबाट सबैभन्दा इन्डियाना, नर्थ डकोटा, ओहायो र ओक्लाहोमा प्रभावित रहे । विस्थापित भएका ३३ लाखमध्ये एक तिहाइभन्दा बढी एक साताभन्दा कम समयका लागि आफ्नो घरबाट बाहिर थिए भने हरेक छ जना मध्ये एक जना कहिल्यै आफ्नो घर फर्केनन् । रासस

एकिकृत कारोबार सुरु गर्न नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको सेवा दुई दिन बन्द हुने

काठमाडाैं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंककाे एकिकृत काराेबार पुस २७ गते हुने भएकाे छ । नेपाल इन्भेष्टमेन्ट बैंकले शुक्रबार सूचना जारी गर्दै एकीकृत कारोबार मिति पुस २७ गते बुधबार तय भएको जानकारी दिएको हो । यस्तै, बैंकले एकिकृत कारोबार हुनअघि डाटा माइग्रेसन प्रयोजनको लागि दुई दिन दिन पुस २५  र २६ गतेसम्म इन्भेस्टमेन्ट र मेगाद्वारा आफ्ना विभिन्न शाखाहरुबाट प्रदान गर्दै आइरहेको सम्पुर्ण सेवाहरु बन्द रहने जानकारी दिएको छ । दुवै बैंक १००ः९० को स्वाप रेसियोमा मर्ज हुने भएका हुन् । इन्भेष्टमेन्ट बैंकको १ कित्ता सेयर बराबर मेगा बैंकको ०.९० कित्ता हुनेछ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको अध्यक्षमा पृथ्वी बहादुर पाँडे बन्नेछन् । यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकबाट प्रजन्यराज भण्डारी र कवि टिव्रेवाला मर्जरपश्चात् सञ्चालक बन्नेछन् । त्यस्तै मेगा बैंकबाट गोपाल खनाल, मुक्तिराम पाण्डेय र मदन कुमार आचार्य मर्जरपश्चात् सञ्चालक बन्नेछन् । नेपाल इन्भेष्टमेन्ट बैंकले एक जना सञ्चालक भने टुंगो लगाउन बाँकी रहेको छ । मर्जरपश्चात् बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) भने ज्योतिप्रकाश पाण्डेय बन्नेछन् । साथै, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत भने मेगा बैंकले पाउने सहमति भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच गत जेष्ठ २७ गते मर्जर प्रारम्भिक सम्झौता भएको थियो । नेपाल इन्भेष्टमेन्ट बैंकको तर्फबाट अध्यक्ष पृथ्वी बहादुर पाँडे र मेगा बैंकको तर्फबाट अध्यक्ष भोज बहादुर शाहले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

जलवायु परिवर्तनका कारण विश्वबाट दुई तिहाई हिमनदी लोप हुँदै

एजेन्सी । विश्वका हिमनदीहरू वैज्ञानिकहरूले सोचेभन्दा चाँडो लोप हुने अवस्थामा पुगेका छन् । जलवायु परिवर्तनका कारण दुई तिहाइ हिमनदी यो शताब्दीको अन्त्यसम्ममा अस्तित्वबाटै विलिन हुने एउटा नयाँ अध्ययनले देखाएको छ । यदि विश्वले भविष्यको तापक्रमलाई एक डिग्रीको सेरोफेरोमा सीमित गर्न सकेमा हिमनदीलाई जोगाउँन सकिने छ तर अन्तर्राष्ट्रिय लक्ष्यहरू पूरा गर्न प्राविधिक रूपमा सम्भव भए पनि त्यो असम्भव हुने वैज्ञानिकहरूले बताएका छन् । तापक्रम वृद्धिका कारकलाई नियन्त्रण गर्न औद्योगिक राष्ट्र प्रतिबद्ध नभए अन्तर्राष्ट्रिय लक्ष्य हासिल गर्न असम्भव प्रायः छ । सम्म सन् २१०० सम्ममा विश्वका आधाभन्दा कम हिमनदी हराउने सोही अध्ययनका लेखकहरूले जनाएका छन् । अध्ययनअनुसार प्रायः साना तर प्रख्यात हिमनदी लोप हुँदै गएका छन् । सबैभन्दा विषम स्थितिमा विश्वका ८३ प्रतिशत हिमनदी सन् २१०० सम्ममा हराउने सम्भावना रहेको बिहीकार सार्वजनिक भएको ‘साइन्स जर्नल’मा उल्लेख छ । ग्रिनल्याण्ड र अन्टार्कटिका बाहेक भूमिमा आधारित विश्वका दुई लाख १५हजार हिमनदीमाथि विगतकोभन्दा गहन ढङ्गले गरिएको अध्ययनले ती नदी लोपको सँघारमा पुगेका देखाएको हो । हिमनदी पग्लिएसँगै समुद्रको सतहमा पनि वृद्धि हुनेछ ।