काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतका जिल्ला नगर संघहरुले देशका विभिन्न ठाउँमा औद्योगिक व्यापार मेला आयोजना गर्ने तयारी गरेका छन् । कतिपय ठाउँहरुमा महोत्सव सम्पन्न भइसकेको छ भने कतिपय ठाउँमा गर्ने तयारी छ । कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन लगायत क्षेत्रको विस्तार विकास तथा प्रवद्र्धनका लागि विभिन्न नगर संघहरुले महोत्सब आयोजना गर्न लागेका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघका अनुसार देशभरका विभिन्न २० ठाउँमा औद्योगिक व्यापार मेला हुँदैछ । केही ठाउँहरुमा क्षेत्रीय व्यापार मेला सम्पन्न भइसकेका छन् भने केही ठाउँमा गर्ने तयारी भइरहेको महासंघको मेला सभापति नरेन्द्र खड्काले बताए ।
हालसम्म ११ वटा महोत्सव, एक्सपो तथा हस्तकला कार्यक्रम भइसकेको छ । केही महिना अगाडि मात्रै जुम्ला, काभ्रे, बझाङ, कैलाली, सिद्धार्थ, पोखरा, धादिङ, सिन्धुली, उद्योग वाणिज्य संघले क्षेत्रीय व्यापार मेला–२०७९ सम्पन्न गरी सकेका छन् । यस्तै, नेपाल हस्तकला महासंघ ‘हस्तकला’, सीआईएम मोरङले ‘विराट एक्सपो’, नेपाल विद्युत् उद्यमी महासंघले ‘नीक इलेक्ट्रोटेक’ कार्यक्रम आयोजना गरी सम्पन्न भइसकेको छ ।
अहिले महासंघ अन्तर्गतका जिल्ला/नगर संघहरुले देशका विभिन्न ठाउँमा औद्योगिक मेला आयोजना तयारीमा केन्द्रित भएका छन् । उद्योग वाणिज्य संघ चितवनले ‘१४ औं चितवन महोत्सव– २०७९’ को आयोजना गर्दैछ । सो महोत्सव पुस २५ गतेदेखि माघ ४ गतेसम्म सञ्चालन बताइएको छ ।
गोरखा उद्योग वाणिज्य संघले पनि ‘११औं गोरखा महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक व्यपार मेला–२०७९’ गर्ने तयारी गरिरहेको छ । सो महोत्सव पुस २७ गतेबाट सुरु गरी माघ ७ गतेसम्म सञ्चालन गर्नेछ । ‘बागमती प्रदेश महोत्सव’ को तयारीमा खैरहनी उद्योग वाणिज्य संघ लागेको छ । संघका अनुसार उक्त महोत्सव पुसको २८ गतेबाट सुरु भई माघको ८ गतेसम्म सञ्चालन हुनेछ ।
यस्तै, म्याग्दी महोत्सवको आयोजना म्याग्दी उद्योग वाणिज्य संघ गर्ने बताएको छ । संघले उक्त महोत्सव पुसको २८ गते देखि १० गतेसम्म गर्ने योजना बनाएको छ । यसैगरी बर्दिया उद्योग वाणिज्य संघले पनि औद्योगिक मेलाको आयोजना गर्ने बताएको छ । संघले ‘माघी पर्व–२०७९’ को आयोजना पुसको २९ गतेबाट माघको १० गतेसम्म गर्ने तयारी गरिरहेको छ ।
टीकापुर उद्योग वाणिज्य संघले पनि माघ ४ गतेदेखि ‘टीकापुर महोत्सव’ आयोजना गर्ने योजना बनाएको छ । यस्तै, देवचुली उद्योग वाणिज्य संघले पनि १० दिने महोत्सव आयोजना गर्ने भएको छ । संघले ‘देव चुली महोत्सव’ माघको ५ गतेदेखि १५ गतेसम्म गर्ने बताएको छ । प्युठान उद्योग वाणिज्य संघ ‘कृषि मेला’ गर्ने भएको छ । संघले माघ ५ गतेदेखि १५ गतेसम्म मेला सञ्चालन गर्ने जनाएको छ ।
मकवानपुर उद्योग वाणिज्य संघले पनि ‘मकवानपुर महोत्सव’ गर्ने तयारी गरिरहरेको छ । संघले माघ ५ देखि १५ गतेसम्म महोत्सव आयोजना गर्दैछ । धनकुटा उद्योग वाणिज्य संघले पनि ‘प्रदेश १ व्यापार मेला’ सञ्चालन गर्ने भएको छ । सो मेला माघको ६ गतेबाट सुरु भई १६ गतेसम्म सञ्चालन हुने संघको भनाइ छ ।
पर्वत उद्योग वाणिज्य संघले माघको ११ बाट २१ सम्म ‘पर्वत महोत्सव’ गर्ने भएको छ । कञ्चनपुर उद्योग वाणिज्य संघले पनि फागुनको १ गतेबाट १० गतेसम्म कञ्चनपुर महोत्सव आयोजना गर्ने भएको छ । यस्तै, सुनसरी उद्योग वाणिज्य संघले ‘धरान एक्सपो’ गर्ने भएको छ । उक्त एक्सपो फागुनको ११ बाट सञ्चालन भई २० गते सम्पन्न हुनेछ । महासंघका अनुसार डडेल्धुरा उद्योग वाणिज्य संघले ‘डडेल्धुरा महोत्सव’ आयोजना गर्दैछ । उक्त कार्यक्रम फागुनको ४ देखि १४ गतेसम्म हुनेछ ।
यस्तै, उर्लाबारी उद्योग वाणिज्य संघ ‘उर्लाबारी महोत्सव’ फागुमा गर्न जानकारी दिएको छ । बिर्तामोड उद्योग वाणिज्य संघको ‘बिर्तामोड महोत्सव’ फागुनको ५ गतेबाट १५ गतेसम्म हुने भनिएको छ । सल्यान उद्योग वाणिज्य संघले ‘सल्यान कृषि मेला’ को आयोजना गर्दैछ । संघका अनुसार मेला फाल्गुनको पहिलो सातादेखि हुँदैछ ।
स्याङ्या उद्योग वाणिज्य संघले ‘स्याङ्या महोत्सव’ गर्ने योजना बनाएको छ । सो महोत्सव फागुनमा हुने भनिएको छ । ‘लमजुङ महोत्सव’ को आयोजना लमजुङ उद्योग वाणिज्य संघले चैत्र २५ गतेदेखि वैशाखको ४ गतेसम्म गर्ने जनाएको छ ।यी विभिन्न मेला महोत्सव सम्पन्न भए पश्चात् महासंघले अन्तर्राष्ट्रिय व्यापार मेला गर्ने योजना बनाएको छ ।
सम्बन्धित सामग्री : ‘वर्षमा ७० वटा प्रदर्शनी गर्न सके १४ अर्ब रुपैयाँको कारोबार हुन्छ, लाखौंले रोजगारी पाउँछन्’