विकासन्युज

नेपालमा आजदेखि चरा गणना सुरु हुँदै

चितवन । नेपालमा आजदेखि चरा गणना सुरु भएको छ । राष्ट्रिय निकुञ्ज विभागको नेतृत्वमा हिमालयन नेचरले सबै राष्ट्रिय निकुञ्ज, सिमसार क्षेत्र र जलाशयमा चरा गणना गर्न सुरु गरेको हो । गणनामा तीन सय ५० जना चरा विज्ञ र संरक्षणकर्मीको सहभागिता रहेको चरा गणनाका राष्ट्रिय संयोजक डा. हेमसागर बरालले जानकारी दिए। उनका अनुसार तीन हप्ता चरा गणनाको काम हुनेछ । गणनाको क्षेत्र विस्तार हुँदै जाँदा पनि चराको सङ्ख्या बर्सेनि घट्दै जानु चिन्ताको विषय भएको उनले बताए। चराको गुणस्तर बासस्थानको अभाव, बासस्थान क्षेत्रमा भइरहेका विकास निर्माण, खेती बालीमा बढ्दो विषादीको प्रयोग र मानवीय क्रियाकलापले चराको सङ्ख्या बर्सेनि घट्दै गएको उनको भनाइ छ । हरेक क्षेत्रमा जस्तै जलवायु परिवर्तको प्रभाव पनि चराको बासस्थानमा परेको डा. बरालले बताए । चितवनमा भने भोलिदेखि चरा गणना सुरु हुने वर्ड एजुकेशन सोसाइटी सौराहाका पूर्वअध्यक्ष वासु बिडारीले जानकारी दिए। पूर्वी चितवनमा वर्ड एजुकेशन सोसाइटी सौराहाको नेतृत्वमा र पश्चिम चितवनमा वर्ड एजुकेशन सोसाइटी मेघौलीको नेतृत्वमा चरा गणना हुनेछ । पश्चिम सेक्टर अन्तर्गत लोथर पुलदेखि कसरा पुलसम्म चराको गणना हुनेछ । जसमा चराको मुख्य बासस्थान रहेको ढुङ्ग्री खोला, बूढीराप्ती खोला, लामी ताल, तमोर ताल, बरुण ताल, बिसहजारी ताल र राइनो तालमा चराको गणना गरिनेछ । यस्तै चितवन राष्ट्रिय निकुञ्जको नवलपुर क्षेत्रमा छुट्टै समूहमार्फत चरा गणना गरिनेछ । नेपालमा पछिल्लो तथ्याङ्कअनुसार आठ सय ९२ प्रजातिका चरा छन् । जसमा दुई सय चरा पानीमा आश्रित छन् । चितवनमा मात्रै छ सय ५२ प्रजातिका चरा छन् ।

बाग्लुङको जैमिनीमा कक्षाकोठा अभावमा खुला आकाशमुनि पठनपाठन

  बाग्लुङ । भिरालो जमिन खारेर बनाइएको चौरको छेउमा काठले बारेको तीन कोठा अस्थायी टहरा । टहराको एउटा कोठामा कार्यालय र अर्का दुई कोठामा पठनपाठन । अन्य तीन कक्षा खुला आकाशमुनि । विद्यालयको प्राङ्गणमा कार्पेटमाथि चलिरहेको पठनपाठनको दृश्य बागलुङको जैमिनी नगरपालिकाभित्रको हो । दृश्यमा देखिएको जैमिनी नगरपालिका–१० राङ्खानी किटेनीस्थित जनता प्राथमिक विद्यालयका विद्यार्थीले घाम ताप्नका लागि प्राङ्गणमा पठनपाठन गराइएको भने हैन । कक्षाकोठा अभावका कारण जनता प्राथमिक विद्यालयका विद्यार्थीले खुला आकाशमुनि पठनपाठन गर्न बाध्य छन् । बाढी पहिरोका कारण केही पर काफ्ले भन्ने स्थानमा रहेको विद्यालय भवन भत्किएपछि दुई वर्षअघि सार्वजनिक चौरमा विद्यालय सारिएको थियो । दुई वर्षदेखि अस्थायी छाप्रोमा समस्याका बीच पठनपाठन भइरहेको विद्यालयको केही कक्षा खुला आकाशमुनि पठनपाठन भइरहेको विद्यालयका प्रधानाध्यापक कृष्णकुमारी श्रीसले जानकारी दिइन् । ‘तीन वर्षअघि भिरालो जग्गामा भएको विद्यालय पहिरोको जोखिममा प¥यो, विद्यालयको चार कोठे भवन भासिएर पढाउनै सकिएन, पहिरोको समस्याले दुई वर्षदेखि विद्यालय नजिकैको सार्वजनिक चौरमा अस्थायी छाप्रोसहित पठनपाठन गर्न थालिएको हो, साघुँरा टिनको छाप्रोमा पढाउन निकै समस्या छ’, प्रधानाध्यापक श्रीषले भनिन्, ‘अहिले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत दुई कोठे विद्यालय भवन बनाउन अस्थायी छाप्रोको केही भाग हटाएपछि तीन वटा कक्षाका विद्यार्थीलाई प्राङ्गणमै पठनपाठन गराइन्छ । दुई वटा कक्षाका विद्यार्थीलाई अस्थायी टहरामै पठनपाठन गराइन्छ ।’ विद्यालयमा १ देखि ५ कक्षासम्म ३१ विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा कक्षाकोठाको अभाव भएकाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत तत्कालका लागि दुई वटा पक्की कक्षा कोठा बनाइने र अर्को वर्ष थप दुई कक्षा कोठा माग गरिएको छ । कक्षाकोठा बन्न समय लाग्ने भएपछि अझै एक वर्ष विद्यालयमा विद्यार्थीलाई पठनपाठन गराउन समस्या भइरहने विद्यालयल व्यवस्थापन समितिका अध्यक्ष पदम छन्त्यालले बताए। ‘यो वर्ष दुई वटा कक्षा कोठा निर्माण हुन्छन्, थोरै विद्यार्थी भएकाले कक्षाकोठालाई बाँडेर पढाउन सकिन्छ तर त्यो असारसम्म बनिसक्नेछ । त्यसबेलासम्म पुन अस्थायी छाप्रोमा विद्यार्थीलाई राखिन्छ’, छन्त्यालले भने, ‘विद्यार्थीलाई खुला आकाशमुनि पढाउनु हाम्रो रहर हैन, तत्कालै अस्थायी छाप्रो सार्नका लागि प्राङ्गणमा पढाइएको हो, पक्की भवन बन्ने स्थान खाली भएपछि अस्थायी छाप्रो अन्यत्रै बनाइन्छ ।’ छन्त्यालका अनुसार विद्यालयको भौतिक अवस्था नाजुक हुँदै गएपछि विद्यार्थीको सङ्ख्यामा समेत क्रमशः कमी हुँदै आएको छ । विद्यालयमा पक्की शौचालय निर्माण भइसकेको र शुद्ध खानेपानीको व्यवस्थापन भइसकेको छ । जाडो याममा प्राङ्ग्रणमा घाम ताप्दै पठनपाठन गराउन सहज भए पनि बर्खाको समयमा समस्या भएको विद्यालयका शिक्षक थम्मन श्रीषले बताए। ठूलो पानी पर्दा अस्थायी टहरामै पानी पस्ने हुँदा पठनपाठन प्रभावित हुने गरेको छ । संयुक्त कक्षा सञ्चालन गर्न विद्यालय बाध्य भएको शिक्षक श्रीसले बताए। विद्यालयको समस्या समाधानका लागि पक्की भवन निर्माण गर्न राष्ट्रपति शैक्षिक सुधारमार्फत बजेट आएर काम थाल्न लागिएको बताउँदै जैमिनी नगरपालिकाका नगर उपप्रमुख हरिहर शर्माले भवन बनेपछि कक्षा कोठाको अभाव टर्ने बताए।

तेह्रथुम म्यालुङमा शीतभण्डार सञ्चालनपछि किसान हर्षित

तेह्रथुम । तेह्रथुमको सदरमुकाम म्याङ्लुङमा शीतभण्डार सञ्चालनमा आएको छ । कृषकले उत्पादन गरेका मौसमी फलफूल, तरकारी भण्डारण गरी बेमौसममा राम्रो मूल्यमा बिक्री गर्न सकुन् भन्ने उद्देश्यले शीतभण्डार सञ्चालनमा आएको हो । तेह्रथुममा शीतभण्डार नहुँदा बिक्री नभएका तरकारी तथा फलफूल खेर जाने गरेका थिए । म्याङ्लुङ नगरपालिका–९ साब्लामा एक हजार मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण भएसँगै किसान उत्साही बनेका छन् । यहाँका किसानले वर्षौंदेखि भोग्दै आएको समस्या समाधान गर्न प्रदेश सरकारको सहयोगमा कियाचु सहकारी संस्थाले जिल्लामै पहिलोपटक शीतभण्डार सञ्चालनमा ल्याएको हो । साब्लामा शीतभण्डार बनेपछि किसानलाई राहत मिलेको कियाचु सहकारी संस्थाका उपाध्यक्ष टङ्कमाया लिम्बुले बताए। उनी भन्छन्, ‘अहिले हामी नै किसानको घरघरमा गएर फलफूल किनेर ल्याएर स्टोर गरेका छौँ ।’ अरु किसानले पनि बिस्तारै कृषि उपज ल्याउन थालेका छन् । तेह्रथुमका छ पालिकामध्ये म्याङ्लुङ नगरपालिका र फेदाप गाउँपालिका किसानले सुन्तला बढी स्टोरमा ल्याउने गरेको टङ्कमाया लिम्बूले बताए । सहकारीले अहिले तेह्रथुमका सुन्तला खरिद गरी तराईका जिल्लामा निर्यात गरिरहेको छ । तेह्रथुममा शीतभण्डार बनेपछि यहाँका सुन्तला कुहिने र बिक्री नहुने समस्या समाधान भएको किसान होमबहादुर खापुङले बताए । कृषकका बारीमा नै गएर सहकारीले उचित मूल्यमा सुन्तला खरिद गरी एक मुष्ट पैसा पाउँदा खुसी लागेको अर्का किसान अम्बिका कार्कीले बताए । उनी भन्छन्, ‘पहिले पहिले सुन्तला डोकोमा बोकेर बजार लग्नु पर्थो, दिनभरमा एक डोको बेच्न गाह्रो पथ्र्यो तर अहिले घरमै बेच्न पाएका छौँ, समय र श्रमको बचत भएको छ । तेह्रथुममा छ सय १६ हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन हुँदै आएको छ । जिल्लाको छवटै गाउँपालिकाको ग्रामीण क्षेत्रमा किसानले सुन्तला उत्पादन गर्दै आएका छन् । तेह्रथुममा वार्षिक तीन हजार आठ सय ८० मेट्रिक टन सुन्तला उत्पादन हुने गरेको कृषि ज्ञानकेन्द्रले जनाएको छ । गत वर्षको तुलना यस वर्ष उत्पादन बढ्ने ज्ञानकेन्द्रको अनुमान छ । जिल्लामा उत्पादन हुने लाखौँको तरकारी र फलफूल खेर जाने तथा अन्य समयमा जिल्ला बाहिरबाट आयात हुने अवस्था थियो ।

जोरपाटीको अर्थोपेडिक अस्पतालको डाइरेक्टरमा डा. भण्डारी

काठमाडौं । गैरनाफामूलक च्यारिटीका रुपमा स्थापना भई नेपालमा हाडजोर्नीका बिरामीको सेवा गर्दै आएको जोरपाटीस्थित नेपाल अर्थोपेडिक अस्पतालको मेडिकल डाइरेक्टरमा डा. कैलाशकुमार भण्डारी नियुक्त भएका छन् । हाडजोर्नीसम्बन्धी रोगका विशेषज्ञ डा भण्डारी सोही अस्पतालमा २० वर्षदेखि कार्यरत छन् । डा. युवराज खरेलको कार्यकाल सकिएपछि डा. भण्डारी आगामी तीन वर्षका लागि सो पदमा शुक्रबार नियुक्त भएको अस्पतालले जानकारी दिएको छ । सन् १९९८ मा खगेन्द्र नवजीवन केन्द्रका नाममा स्थापना भएको यस अस्पताल सो केन्द्र र रोटरी इन्टरनेशनलले च्यारिटीका रुपमा स्थापना गरेका थिए । यस अस्प्तालले त्यसयता नेपालका हाडजोर्नीसम्बन्धी समस्याका बिरामीलाई सेवा प्रदान गर्दै आएको छ । गरिब, निम्न आय भएका तथा असहाय बिरामीलाई निःशुल्क तथा सहुलियत शुल्कमा उपचार सेवा प्रदान गर्दै आएको यो अस्पतालले ट्रमा र अर्थोसम्बन्धी विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ । एक सय शय्या रहेको यस अस्पतालमा हाल १९ जना विशेषज्ञ चिकित्सक रहेका छन् ।

‘किराना पसल झैं सहकारी खोल्दा व्यवस्थापनमा समस्या’

बुटवल । सदस्य नियन्त्रितजस्तो लोकतान्त्रिक मर्म बोकेको सहकारी संस्था किराना पसल खोले जसरी खोल्ने संयन्त्रको विकासले समस्या आउने गरेको छ । सहकारीको मूल्य, मान्यता र सिद्धान्त पनि लोकतान्त्रिक छ तर यसको अभ्यास सही रुपमा नहुँदा धेरै सहकारीमा समस्या आउन थालेको हो । सहकारीका साधारणसभालगायत फोरममा सहकारीमा हुनुपर्ने लोकतान्त्रिक अभ्यास कमैमा मात्र देखिन्छ । यो अभ्यासको अभावमा सहकारीमा समस्या आएकामा यस क्षेत्रका विज्ञ सहमत छन् । सहकारी व्यवस्थापन समितिको अध्यक्षसमेत रहनुभएका संविधानविद् काशीराज दाहाल किराना पसल खोलेजसरी सहकारी खोल्न नहुनेमा जोड दिन्छन् । सहकारीको सिद्धान्त राम्रो भए पनि व्यवहारमा यसको सही अभ्यास नहुँदा भएको समस्यालाई समाधानका लागि त्यसैअनुरुप काम गर्नुपर्ने उनको भनाइ छ । सहकारी व्यवस्थापन समितिको कार्यालय काठमाडौंले शुक्रबारदेखि बुटवलमा आयोजना गरेको ‘सुशासनको प्रवद्र्धनमा सहकारी संस्थाको सञ्चालन र व्यवस्थापन’ विषयक प्रदेशस्तरीय दुई दिने कार्यशाला गोष्ठीमा ‘संविधान, सङ्घीयता र सहकारी’ विषयक कार्यपत्र प्रस्तुत गर्दै उनले किराना पसल खोले जसरी सहकारी खोल्न दिँदा समस्याग्रस्त हुने गरेकाले यसमा स्थानीय तहले विशेष ध्यान दिनुपर्ने बताए । ‘समस्याग्रस्त सहकारीलाई व्यवस्थापन गर्न समितिले सरकार र सहकारीकाबीच सेतुका रुपमा काम गर्छ, सहकारीलाई समस्याग्रस्त हुन नदिन जागरणका लागि सातै प्रदेशमा सहकारीमा सुशासन प्रवद्र्धन गर्ने उद्देश्यले स्थानीय तह केन्द्रित कार्यक्रम गरेका हौँ, सहकारीमा सुशासन भयो भने यो गरिबी निवारणको माध्यम बन्न सक्छ’, केन्द्रीय सरकारअन्तर्गत भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको समितिका अध्यक्ष रहेका दाहालले भने। स्थानीय तहमा सहकारी हेर्ने शाखा र कर्मचारीलाई ‘डम्पिङ साइट’ नबन्ने व्यवस्था मिलाउन पनि उनले प्रदेशको सहकारी मन्त्रालय र स्थानीय तहका जनप्रतिनिधिसँग आग्रह गरे। सहकारीमा अनुगमन र नियमन नहुँदा समस्याग्रस्त हुने क्रम बढेकाले नियमितरुपमा कार्यतालिका बनाएर स्थानीय तहले अनुगमनको व्यवस्था मिलाउनुपर्नेमा अध्यक्ष दाहालको जोड छ । कार्यशालामा ‘प्रदेशमा सहकारीको अवस्था, नियमनमा मन्त्रालयको भूमिका’ विषयक कार्यपत्र प्रस्तुत गर्दै लुम्बिनी प्रदेशको अर्थ तथा सहकारी मन्त्रालयका सचिव नेत्रप्रसाद सुवेदीले कानुन, सिद्धान्त र मर्मविपरीत चलेका सहकारी समस्यामा पर्ने गरेको बताए। त्यसलाई नियमन गर्नुपर्ने निकायले पनि अनुगमन नगर्ने गरेकाले समस्या अझ बढेको उनको भनाइ थियो । सहकारीलाई यसका सिद्धान्तअनुसार सदस्य नियन्त्रित प्रणालीमा राख्न सके धेरै समस्याको समाधान हुने भनाइ पनि उनको छ । प्रदेशमा सात सय ६८ सहकारी रहेका छन् । यीमध्ये सबै सहकारी सक्रिय छैनन् । लुम्बिनी प्रदेशका सहकारीमध्ये चार सय ४२ ले सहकारी र गरिबी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) मा दर्ताका लागि पासवर्ड लिएका छन् । पासवर्ड लिएकामध्ये चार सय २४ कोपोमिसमा दर्ता भएको प्रदेश मन्त्रालयले जनाएको छ । प्रदेश सचिव सुवेदी सहकारीका राम्रा कामको बजारीकरण हुन नसक्दा पनि नराम्रो काम गर्ने सहकारीको बढी चर्चा भएकाले यसलाई चिर्नुपर्ने बताउँछन् । तीनै तहका सरकारबीच समन्वय गरी लुम्बिनी प्रदेशका सहकारीलाई सुशासनयुक्त बनाउन काम गर्ने उनको प्रतिबद्धता छ । सो अवसरमा बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले ‘पालिकास्तरमा सहकारीको अवस्था, नियमन र सुशासन’ विषयक कार्यपत्र प्रस्तुत गर्दै संविधानमा सहकारीलाई तीनै तहको कार्यक्षेत्रमा राखिँदा काममा समस्या हुने गरेको अनुभव सुनाए। यस्तो व्यवस्थाले सहकारीलाई पेण्डुलम बनाउन खोजेजस्तो लाग्ने पनि उनको भनाइ थियो । उपमहानगरपालिकामा एक सय ३६ सहकारी दर्ता रहेको उल्लेख गर्दै पन्थीले त्यसमध्ये नौ वटा सहकारी निस्क्रिय रहेको जानकारी दिए । एक सय १२ सहकारी कोपोमिसमा दर्ता भइसकेका छन् । सञ्चालक र लेखा समितिका गरी ४९ प्रतिशतभन्दा बढीले ऋण लिने सहकारीलाई नगरपालिकाले १५ दिनभित्र त्यसको व्यवस्थापन गर्न पत्राचार गरेको जनाएको छ । कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड (नेफ्स्कुन) का महासचिव दामोदर अधिकारीले ‘वित्तीय सहकारीमा सुशासनका प्रयासहरु’ विषयक कार्यपत्र प्रस्तुत गर्दै वित्तीय सहकारी हेर्ने छुट्टै ऐनको आवश्यकता रहेको बताए । सहकारीका अध्यक्षले यसलाई व्यवसायका रुपमा सम्झँदा पनि समस्या आउने गरेको अनुभव कार्यक्रममा उनले सुनाए। नेफ्स्कुनले २९ स्थानीय तहमा आधारशीला साझेदारी कार्यक्रम सुरु गरेको छ । यो कार्यक्रम सञ्चालन गर्न चाहने सबै स्थानीय तहमा विस्तार गरिने लक्ष्य रहेको जनाइएको छ । सहकारी स्थिरिकरण कोषको कार्यविधिमा अन्योलता रहेकाले त्यसलाई स्पष्ट पार्न पनि महासचिव अधिकारीले माग गरेका छन् । कार्यक्रममा लुम्बिनी प्रदेशका नवलपरासी सुस्ता पश्चिम, रुपन्देही, कपिलवस्तु, पाल्पा, गुल्मी र अर्घाखाँची गरी छ जिल्लाका ३४ स्थानीय तहको सहभागिता रहेको समितिका सदस्य सचिव केशवप्रसाद पौडेलले बताए। कार्यक्रमममा स्थानीय तहका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत र सहकारी शाखा हेर्ने प्रमुख एवं कर्मचारीको सहभागिता रहेको छ । कार्यक्रम आजसम्म सञ्चालन हुनेछ । दोस्रो दिन चार वटा कार्यपत्र प्रस्तुतिसहित त्यसमाथि छलफल हुने जनाइएको छ । रासस ।

रुकुम (पूर्व) मा ३५ प्रतिशतले बढ्यो सुन्तला उत्पादन

रुकुम (पूर्व) । रुकुम (पूर्व) मा यस वर्ष सुन्तला उत्पादन बढेको छ । विगतका केही वर्षमा क्रमिकरुपले घट्दै गएको सुन्तला उत्पादन यस वर्ष भने बढेको हो । गत वर्षको तुलना गर्ने हो भने जिल्लाभर यस वर्ष ३५ प्रतिशतले सुन्तला उत्पादन बढेको छ । एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय रुकुम(पूर्व) का अनुसार गत वर्ष ६३३ दशमलव ७५ मेट्रिक टन सुन्तला उत्पादन भएकोमा यस वर्ष नौ सय ७५ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । असोजमा लगातार एक साता परेको वर्षाले अन्य बालीनालीको उत्पादनममा असर परेपनि सुन्तलामा भने फाइदा हुँदा उत्पादन बढेको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका प्रमुख पिताम्बर बस्नेतले बताए । उनका अनुसार विगतमा सुन्तलामा रोग, किरा, जलवायु परिवर्तनको असरलगायतका कारण जिल्लामा सुन्तलाको उत्पादनमा कमी आइरहेको थियो । यस वर्ष गत वर्षको भन्दा करिब तीन सय मेट्रिक टनले बढी उत्पादन भएको छ । जिल्लाभर किसानले एक सय पाँच हेक्टरमा सुन्तला खेती गर्दै आइरहेका छन् तर यस वर्ष ८२ हेक्टर क्षेत्रफलमा लगाइएको बोटले फल दिएका छन् । त्यस्तै गत वर्ष ८५ हेक्टर क्षेत्रफल सुन्तला उत्पादनको क्षेत्र रहे तापनि ७८ हेक्टर क्षेत्रफल मात्र उत्पादनशील क्षेत्र रहेको थियो । उत्पादन वृद्धि भएपछि गत वर्ष प्रतिकेजी ६०/६५ मा बिक्री गरेका किसानले यो वर्ष ४० देखि ५०/५५ मा बिक्री गरिरहेका छन् । सुन्तला उत्पादन धेरै भए पनि बजार नहुँदा भने किसान समस्यामा पर्ने गर्छन् । उत्पादनलाई जोड दिँदै जाने तर त्यसको व्यवस्थापन र बजारीकरणको योजना नहुँदा बर्सेनि यहाँको उत्पादनलाई लिएर किसान मर्कामा पर्ने गरेका छन् । यस वर्ष जिल्लामा सुन्तला उत्पादन बढेको र बजारमा खपत हुने अवस्था नभएपछि एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयले सुन्तलाको जुस बनाउने तालिम सञ्चालन गरेको थियो । अहिले सिस्ने ७ र ८ का किसानले बजारमा बिक्री नभएको सुन्तलाबाट स्थानीयस्तरमै जुस बनाएर बिक्री गरिरहेको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका प्रमुख बस्नेतले बताए । जिल्लाको सबै पालिकामा सुन्तला उत्पादन हुने गरे तापनि विशेष गरी सिस्ने गाउँपालिकाको वडा नम्बर ७ र ८ सँगै पुथा उत्तरगङ्गा गाउँपालिकाको ८ नम्बर वडामा व्यावसायिकरुपमा किसानले सुन्तला खेती गर्दै आएका छन् ।

उत्तर प्रदेशमा शीतलहरका कारण भएको हृदयाघातले एकै दिन २२ जनाको मृत्यु

नयाँ दिल्ली । भारतको उत्तर प्रदेशमा शीतलहरबाट सृजित चिसोले एकै दिन हृदयाघातका कारण कम्तीमा २२ जनाको मृत्यु भएको छ । मृतकहरू उत्तर प्रदेशको राजधानी लखनउबाट ८८ किलोमिटर पश्चिमस्थित कानपुरका बासिन्दा भएको बताइएको छ । लक्ष्मीपत सिंघानिया इन्स्टिच्युट अफ कार्डियोलोजी एन्ड कार्डियाक सर्जरी (एलपीएस इन्स्टिच्युट अफ कार्डियोलोजी) कानपुरले जारी गरेको तथ्याङ्कअनुसार बिहीबार अस्पतालको आकस्मिक तथा बहिरङ्ग विभाग (ओपीडी)मा ७२३ जना मुटुका बिरामी आएका थिए । तीमध्ये अस्पतालमा सात जनाको उपचारकै क्रममा मृत्यु भएको र १५ जना अस्पताल नआइपुग्दै मृत घोषणा गरिएको थियो। अस्पतालका डाक्टरहरूले कानपुरमा फैलिएको शीतलहरका कारण रक्तचापमा अचानक वृद्धि भएको र त्यसले हृदयाघात निम्त्याएको बताइएको छ । कानपुरमा व्यापक शीतलहर बढेको छ जसका कारण हृदय रोगबाट पीडित मानिसहरूको सङ्ख्या ह्वात्तै बढेको छ ,’ एलपीएस इन्स्टिच्युट अफ कार्डियोलोजीका निर्देशक विनय कृष्णले बताएका छन् । कानपुरका स्वास्थ्य विज्ञहरूले सबैलाई न्यानोमा रहन र घरभित्रै बस्न सल्लाह दिएका छन्। उत्तर भारत विगत केही दिनदेखि शीतलहरको चपेटामा परेको छ । उत्तरी राज्यहरूमा तापक्रममा उल्लेख्य गिरावट आएको छ । रासस/एजेन्सी

विश्वबाट दुई तिहाई हिमनदी लोप हुँदै

न्युयोर्क । विश्वका हिमनदीहरू वैज्ञानिकहरूले सोचेभन्दा चाँडो लोप हुने अवस्थामा पुगेका छन् । जलवायु परिवर्तनका कारण दुई तिहाइ हिमनदी यो शताब्दीको अन्त्यसम्ममा अस्तित्वबाटै विलिन हुने एउटा नयाँ अध्ययनले देखाएको छ । यदि विश्वले भविष्यको तापक्रमलाई एक डिग्रीको सेरोफेरोमा सीमित गर्न सकेमा हिमनदीलाई जोगाउँन सकिने छ तर अन्तर्राष्ट्रिय लक्ष्यहरू पूरा गर्न प्राविधिक रूपमा सम्भव भए पनि त्यो असम्भव हुने वैज्ञानिकहरूले बताएका छन् । तापक्रम वृद्धिका कारकलाई नियन्त्रण गर्न औद्योगिक राष्ट्र प्रतिबद्ध नभए अन्तर्राष्ट्रिय लक्ष्य हासिल गर्न असम्भव प्रायः छ । सम्म सन् २१०० सम्ममा विश्वका आधाभन्दा कम हिमनदी हराउने सोही अध्ययनका लेखकहरूले जनाएका छन् । अध्ययनअनुसार प्रायः साना तर प्रख्यात हिमनदी लोप हुँदै गएका छन् । सबैभन्दा विषम स्थितिमा विश्वका ८३ प्रतिशत हिमनदी सन् २१०० सम्ममा हराउने सम्भावना रहेको बिहीकार सार्वजनिक भएको ‘साइन्स जर्नल’मा उल्लेख छ । ग्रिनल्याण्ड र अन्टार्कटिका बाहेक भूमिमा आधारित विश्वका दुई लाख १५हजार हिमनदीमाथि विगतकोभन्दा गहन ढङ्गले गरिएको अध्ययनले ती नदी लोपको सँघारमा पुगेका देखाएको हो । हिमनदी पग्लिएसँगै समुद्रको सतहमा पनि वृद्धि हुनेछ । रासस/ एपी