विकासन्युज

नेपाल फाईनान्स ३० औं वर्षमा, एक महिनासम्म टपअप सेवामा १० प्रतिशत छुट

काठमाडौं । नेपाल फाईनान्सको स्थापनाकाे ३० औं वर्षमा प्रवेश गरेकाे छ । फाइनान्स कम्पनीको रुपमा वि.सं. २०४९ साल पौष २२ गतेबाट स्थापना भएकाे नेपाल फाईनान्सले ३० औं वर्षमा प्रवेश गरेकाे हाे । यस अवसरमा कम्पनीले संस्थाको केन्द्रीय कार्यालयमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सोही अवसरमा संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वृद्ध आश्रमा खाद्यन्न सामाग्रीहरु वितरण गरेकाे थियाे । त्यसैगरी, संस्थाले विभिन्न विद्यालयहरुमा कपी, कलम, पेन्सिल लगाएतका शैक्षिक सामाग्रीहरु वितरण गरेको  छ । फाइनान्सले पुष २२ देखि १ महिनाको लागि संस्थाको मोबाइल बैकिङ्ग सेवा प्रयोग गरी पहिलो पटक टपअप सेवा उपयोग गर्ने ग्राहकलाई १० प्रतिशत नगद छुट र टपअप सेवा उपयोग गर्ने सम्पूर्ण ग्राहकलाई २ प्रतिशत नगद फिर्ता गर्ने जनाएकाे छ । साथै, १ महिनाको अवधिमा सबैभन्दा बढी रकमको टपअप गर्ने १ जना ग्राहकलाई स्मार्ट फोन प्रदान गर्ने फाइनान्सले जनाएकाे छ । फाइनान्सले पुष २२ देखि १ महिनाको अवधिमा संस्थाको नयाँ क्युआर स्ट्याण्डी लिने मर्चेन्टलाई क्युआर स्ट्याण्डी दर्ता शुल्कमा छुटका साथै सबैभन्दा बढी क्युआर स्ट्याण्डी दर्ता गराउने पहिलो ५ जना कर्मचारीलाई पुरस्कृत गर्ने योजना समेत सार्वजनिक गरेको छ । फाइनान्सले काठमाडौं उपत्यका लगाएत देशका विभिन्न स्थानहरु समेत गरी जम्मा १२ वटा शाखा कार्यालय र २ वटा एक्सेन्टशन काउण्टर मार्फत बैंकिङ्ग सेवाको साथै आफ्ना सेवाहरु प्रदान गरिरहेको छ ।

चन्द्रागिरि हिल्सको अध्यक्षमा हेमराज ढकाल नियुक्त

काठमाडौं । चन्द्रागिरि हिल्सको संचालक सदस्यमा ४ जना निर्वाचित भएका छन् । कम्पनीको पुस २१ गते सम्पन्न १३ औं वार्षिक साधारण सभाबाट संचालक सलस्यमा हेमराज ढकाल, उत्तम कुमार नेपाल, कल्याण गुरुङ्ग र दिलिप शेखर श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन् । उनीहरुको ४ वर्ष कार्यकालको लागि संचालक सदस्यमा नियुक्त भएका हुन् । साथै सोही दिनमा बसेको नव निर्वाचित संचालक समितिको बैठकले संचालक सदस्य हेमराज ढकाललाई अध्यक्षमा निर्विरोध चयन गरेको छ । ढकाल चन्द्रागिरि हिल्सका संस्थापक अध्यक्षसमेत हुन् ।  ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल, साहसिक खेल तथा पाँच तारे लक्जरी रिसोर्ट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

३३ लाख अमेरिकी प्राकृतिक प्रकोपबाट विस्थापित

वासिङ्टन । ३३ लाख अमेरिकी वयस्क प्राकृतिक प्रकोपबाट विस्थापित भएका एक सर्वेक्षणले देखाएको छ । अमेरिकी जनगणना ब्यूरोका अनुसार देशको १.३ प्रतिशतभन्दा बढी वयस्क जनसङ्ख्या गत वर्ष प्राकृतिक प्रकोपबाट विस्थापित भएको थियोभने आधाभन्दा बढी स्थानान्तरण हुन बाध्य भएका थिए । बिहीबार सार्वजनिक भएको दुई वर्ष पुरानो अनलाइन सर्वेक्षणले ३३ लाख अमेरिकी वयस्क आँधी, बाढी, आगलागीलगायत प्राकृतिक प्रकोपबाट विस्थापित भएका देखाएको हो । प्राकृतिक प्रकोपबाट भएका विस्थापनबारे पहिलो पटक सर्वेक्षणमा प्रश्नावली समावेश गरिएको थियो । अमेरिकाका केही राज्य अरू भन्दा बढी प्रभावित भएका, सबैतिर एकै प्रकारको विपत्तिको सामना गर्नुनपरेको, फ्लोरिडामा करिब १० लाख प्रभावित भएका थिए । उक्त राज्यका हरेक १७ जनामा एक जना विस्थापित भएका थिए । सर्वेक्षणअनुसार निकाले तूफानले देशका विभिन्न भागमा चार लाख नौ हजारभन्दा बढीलाई सुरक्षित स्थानमा स्थानान्तरण हुन बाध्य पारेको थियो । प्राकृतिक प्रकोपबाट सबैभन्दा इन्डियाना, नर्थ डकोटा, ओहायो र ओक्लाहोमा प्रभावित रहे । विस्थापित भएका ३३ लाखमध्ये एक तिहाइभन्दा बढी एक साताभन्दा कम समयका लागि आफ्नो घरबाट बाहिर थिए भने हरेक छ जना मध्ये एक जना कहिल्यै आफ्नो घर फर्केनन् । रासस

एकिकृत कारोबार सुरु गर्न नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको सेवा दुई दिन बन्द हुने

काठमाडाैं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंककाे एकिकृत काराेबार पुस २७ गते हुने भएकाे छ । नेपाल इन्भेष्टमेन्ट बैंकले शुक्रबार सूचना जारी गर्दै एकीकृत कारोबार मिति पुस २७ गते बुधबार तय भएको जानकारी दिएको हो । यस्तै, बैंकले एकिकृत कारोबार हुनअघि डाटा माइग्रेसन प्रयोजनको लागि दुई दिन दिन पुस २५  र २६ गतेसम्म इन्भेस्टमेन्ट र मेगाद्वारा आफ्ना विभिन्न शाखाहरुबाट प्रदान गर्दै आइरहेको सम्पुर्ण सेवाहरु बन्द रहने जानकारी दिएको छ । दुवै बैंक १००ः९० को स्वाप रेसियोमा मर्ज हुने भएका हुन् । इन्भेष्टमेन्ट बैंकको १ कित्ता सेयर बराबर मेगा बैंकको ०.९० कित्ता हुनेछ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको अध्यक्षमा पृथ्वी बहादुर पाँडे बन्नेछन् । यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकबाट प्रजन्यराज भण्डारी र कवि टिव्रेवाला मर्जरपश्चात् सञ्चालक बन्नेछन् । त्यस्तै मेगा बैंकबाट गोपाल खनाल, मुक्तिराम पाण्डेय र मदन कुमार आचार्य मर्जरपश्चात् सञ्चालक बन्नेछन् । नेपाल इन्भेष्टमेन्ट बैंकले एक जना सञ्चालक भने टुंगो लगाउन बाँकी रहेको छ । मर्जरपश्चात् बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) भने ज्योतिप्रकाश पाण्डेय बन्नेछन् । साथै, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत भने मेगा बैंकले पाउने सहमति भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच गत जेष्ठ २७ गते मर्जर प्रारम्भिक सम्झौता भएको थियो । नेपाल इन्भेष्टमेन्ट बैंकको तर्फबाट अध्यक्ष पृथ्वी बहादुर पाँडे र मेगा बैंकको तर्फबाट अध्यक्ष भोज बहादुर शाहले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

जलवायु परिवर्तनका कारण विश्वबाट दुई तिहाई हिमनदी लोप हुँदै

एजेन्सी । विश्वका हिमनदीहरू वैज्ञानिकहरूले सोचेभन्दा चाँडो लोप हुने अवस्थामा पुगेका छन् । जलवायु परिवर्तनका कारण दुई तिहाइ हिमनदी यो शताब्दीको अन्त्यसम्ममा अस्तित्वबाटै विलिन हुने एउटा नयाँ अध्ययनले देखाएको छ । यदि विश्वले भविष्यको तापक्रमलाई एक डिग्रीको सेरोफेरोमा सीमित गर्न सकेमा हिमनदीलाई जोगाउँन सकिने छ तर अन्तर्राष्ट्रिय लक्ष्यहरू पूरा गर्न प्राविधिक रूपमा सम्भव भए पनि त्यो असम्भव हुने वैज्ञानिकहरूले बताएका छन् । तापक्रम वृद्धिका कारकलाई नियन्त्रण गर्न औद्योगिक राष्ट्र प्रतिबद्ध नभए अन्तर्राष्ट्रिय लक्ष्य हासिल गर्न असम्भव प्रायः छ । सम्म सन् २१०० सम्ममा विश्वका आधाभन्दा कम हिमनदी हराउने सोही अध्ययनका लेखकहरूले जनाएका छन् । अध्ययनअनुसार प्रायः साना तर प्रख्यात हिमनदी लोप हुँदै गएका छन् । सबैभन्दा विषम स्थितिमा विश्वका ८३ प्रतिशत हिमनदी सन् २१०० सम्ममा हराउने सम्भावना रहेको बिहीकार सार्वजनिक भएको ‘साइन्स जर्नल’मा उल्लेख छ । ग्रिनल्याण्ड र अन्टार्कटिका बाहेक भूमिमा आधारित विश्वका दुई लाख १५हजार हिमनदीमाथि विगतकोभन्दा गहन ढङ्गले गरिएको अध्ययनले ती नदी लोपको सँघारमा पुगेका देखाएको हो । हिमनदी पग्लिएसँगै समुद्रको सतहमा पनि वृद्धि हुनेछ ।

सांग्रिला डेभलपमेन्ट बैंकमा आकर्षक रोजगारीको अवसर

काठमाडौं । बैंकका जागिर खोज्नेहरुको लागि खुशीको खवर छ । सांग्रिला डेभलपमेन्ट बैंकले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै रिलेशनसिप म्यानेजर पदको लागि केही संख्यामा कर्मचारी माग गरेको हो । उक्त पदमा आवेदन दिनको लागि आवेदकले कम्तिमा स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो । ईच्छुक तथा योग्यता पुगेकाले माघ ६ गते बैंकिङ समयभित्र आवेदन दिनुपर्नेछ ।    

सडक सञ्जालमा जोडिए दैलेख र कालीकोट

कालीकोट । कालीकोट र दैलेख एकापसमा सडक सञ्जालले जोडिएका छन् । कालीकोटको महावै गाउँपालिका र दैलेखको महावु गाउँपालिका सडक सञ्जालले जोडिएका हुन् । दैलेखको सदरमुकाम नारायण नगरपालिका, महावु गाउँपालिका हुँदै कालीकोटको महावै गाउँपालिकाको केन्द्र नजिकै ओदासम्म सडक सञ्जालले जोडिएका छन् । नेपाल सरकारले प्राथमिकतामा राखेको त्रिदेशीय सडकखण्डरुपमा लिइएको यो सडक नेपालगञ्ज, सुर्खेत, दैलेख सदरमुकाम, महाबु, कालीकोट, जुम्ला, हुम्ला, डोल्पा हुँदै चीनको नाग्चेनाम्लासँग सहज यातायात जोड्ने सडकका रुपमा लिइएको कालीकोटको महावै गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले बताए । ‘यो सडक कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट जुम्ला छोटो मार्ग हो’, उनले भने, ‘पहिलो पटक ट्र्याक खुलेको छ, स्तरोन्नतिको कामका लागि प्रदेश र सङ्घ सरकारले बजेट विनियोजन गरेका छन् ।’ अब केही दिनमै सडक गाउँपालिका केन्द्र पादमघाट पुग्ने गाउँमा अध्यक्ष सिंहले जानकारी दिए । ‘यसअघि मान्मदेखि सेरावाडा हुँदै भैँसेगौँडाको पुल भएर चिल्खाया हुँदै गाउँपालिका केन्द्र गाडी पुगेका थिए’, उनले भने, ‘वर्षात्ले भैँसेगौँडा पुल बगेपछि सडक सञ्जालबाट सम्बन्धबिच्छेद भएको थियो ।’ महावै लेकको रक्साडको चट्टान फोडेर यातायातका साधन दैलेखदेखि महावु हुँदै कालीकोटको महावै गाउँपालिका केन्द्र नजिकैको ओदा गाउँ पुगेको नेकपा (एकीकृत समाजवादी)का जिल्ला सचिव चित्रसिंह गाउँलेले जानकारी दिए । ‘ओदा गाउँमा ट्र्याक्टर र बोलेरो गाडी पुगेर गाउँमा उत्साह छाएको छ’, उनले भने, ‘यो मार्ग निर्माण भएर सडक सञ्जालले नछोएको महावैमा पहिलो पटक पटक गाडी पुगेको हो ।’ रासस

आत्मनिर्भरतर्फ अग्रसर ‘फुटवेयर’ उद्योग

काठमाडौं । आयातमा आश्रित अर्थतन्त्र भएको नेपालमा पछिल्लो समय ‘फुटवेयर’ अर्थात् जुत्ता चप्पलमा भने आत्मनिर्भर बन्दै गएको छ । पछिल्ला केही वर्षयता नेपाली उत्पादनको स्वदेश र विदेशमा समेत माग र खपत बढ्न थालेपछि मुलुक जुत्ता चप्पल उद्योगमा आत्मनिर्भरतर्फ अग्रसर भएको हो । जुत्ता उत्पादक सङ्घ नेपालका अध्यक्ष नानीराज घिमिरेका अनुसार नेपाली उद्योगबाट वार्षिक पाँच करोड ६५ लाख जोर जुत्ता उत्पादन भइरहेका छन् । एक जना नेपालीले वर्षमा तीन जोर जुत्ता प्रयोग गर्ने औसत तथ्याङ्कका आधारमा सङ्घले आगामी पाँच वर्षमा स्वदेशी उत्पादनको हिस्सा ९० प्रतिशत पु¥याउने लक्ष्य लिएको छ । नेपाली उद्योगबाट २०७४ सालमा वार्षिक तीन करोड ३९ लाख जोर जुत्ता उत्पादन भएकामा त्यसयताको पाँच वर्षमा ६६ दशमलव ६६ प्रतिशतले उत्पादन बढिसकेको छ । सङ्घका अनुसार नेपालमा वार्षिक नौ करोड जोर जुत्ता चप्पलको माग छ । ‘नेपाली उद्योगसँग वार्षिक १६ करोड जोर जुत्ता उत्पादनको क्षमता भए पनि अहिले भइरहेको उत्पादनले ६५ प्रतिशत माग धानिरहेको छ’, उनले भने, ‘अब हामीले स्वदेशी उत्पादनको खपत र निर्यात बढाउँदै जानुपर्छ ।’ सङ्घले आगामी तीन वर्षमा जुत्ता चप्पलमा प्रयोग हुने ८० देखि ९० प्रतिशत कच्चा पदार्थ स्वदेशमै उत्पादन गर्ने गरी काम गरिरहेको छ । दक्ष जनशक्तिको अभाव र जुत्ताको अनियन्त्रित आयात, न्यून विजकीकरण र चोरी पैठारीका कारण स्वदेशी उद्योगलाई प्रभाव पारेको छ । हाल नेपालमा साना, ठूला र मझौला गरी एक हजार पाँच सयभन्दा बढी उद्योग सञ्चालनमा छन् । यसमा ठूला र मझौला गरी दुई सय २९, परम्परागत शिल्पीमा आधारित एक हजार ७२ र हस्तकलामा आधारित दुई सय उद्योग छन् । यस क्षेत्रमा भएको कुल ३० अर्ब रुपैयाँभन्दा बढीको लगानीमध्ये चार अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाको ऋण रहेको छ । सङ्घका अनुसार धेरैजसो ठूला र मझौला उद्योगहरु काठमाडौँ, विराटनगर, वीरगञ्ज, बुटवल र भैरहवामा सञ्चालित छन् भने २०७४ सालपछि उद्योग स्थापना हुने क्रम बढेको छ । नेपालमा २०२२ जेठ २० मा चिनियाँ सहयोगमा बाँसबारी छाला जुत्ता कारखाना स्थापना भएपछि व्यावसायिकरुपमा छालाजन्य वस्तु र जुत्ता चप्पल उत्पादन सुरु भएको थियो । त्यसअघि परम्परागत रुपमा भइरहेको उत्पादनले उपभोक्ताको आंशिक मागलाई मात्रै धानेको अवस्था थियो । विसं २०४६ पछि सुरु भएको औद्योगीकरणमा निजी क्षेत्रको प्रवेशसँगै यसले व्यावसायिकता हासिल गरेको थियो । अध्यक्ष घिमिरेले भने, ‘राज्यले सामान्य सहयोग गर्ने हो भने तीन वर्षमा फुटवेयर उद्योगले ८० प्रतिशत ‘भ्यालु एड’ गर्न सक्षम हुनेछ ।’ उनले जुत्ता चप्पलमा प्रयोग हुने कच्चा पदार्थ आयातमा पूर्ण कच्चा पदार्थको हकमा पाँच प्रतिशत, दोस्रो तहको कच्चा पदार्थमा १५ प्रतिशत र पूर्ण तयारी अपरलाई ३० प्रतिशत कर लगाउनुपर्ने बताए । ‘एक दशकअघिसम्म पाँचदेखि १० प्रतिशत मात्रै कच्चा पदार्थ प्रयोग हुने गरेकामा त्यो बढेर अहिले ५० प्रतिशतभन्दा बढी स्वदेशी कच्चा पदार्थ प्रयोग भइरहेको सङ्घले जनाएको छ । सङ्घका अनुसार जुत्तामा ३६ प्रकारका कच्चा पदार्थ प्रयोग हुने र कुल ६० प्रतिशत कच्चा पदार्थ विदेशबाट आयात हुने गरेको छ ।’ सङ्घका प्रवक्ता त्रिलोक श्रेष्ठले पछिल्लो समय विश्व बजारमा अत्याधुनिक मानिएका प्रविधि भित्र्याउन थालिएपछि नेपाल उत्पादनको लागत अन्य मुलुकको भन्दा सस्तो पर्न गएको बताउनुभयो । जुत्ता चप्पल उद्योगमा हाल संलग्न ५५ हजारमध्ये ५० प्रतिशत स्वदेशी र ५० प्रतिशत विदेशी कामदार कार्यरत रहेको सङ्घको भनाइ छ । कूल कामदारमध्ये एक तिहाइ महिला कामदार रहेको सङ्घको भनाइ छ । सङ्घका अनुसार हाल नेपालमा उत्पादित जुत्ता १८ वटा मुलुकमा निर्यात भइरहेको छ । मुख्यतया नेपाली उत्पादनको माग भारत, मलेसिया, युरोपेली राष्ट्रमा बढ्दै गएको छ भने अमेरिकामा समेत निर्यात भइरहेको उनको भनाइ छ । ‘सरकारले पछिल्लो समय निर्यातमा अनुदान दिन थालेपछि उद्योगलाई प्रोत्साहन मिल्नुका साथै आर्थिक रुपमा पनि केही राहतको महसुस भएको छ’, उनले भने, ‘सरकारी नीतिअनुसार कुनै एक उद्योगीले वार्षिक ५० करोड भन्दा बढीको निर्यात गरेमा आठ प्रतिशत अनुदान प्राप्त हुनेछ ।’ सङ्घका निवर्तमान अध्यक्ष कृष्णकुमार फुँयालले नेपाल जुत्ता चप्पल उत्पादनमा आत्मनिर्भर हुन समय नलाग्ने भन्दै कच्चा पदार्थ र विदेशबाट आयात हुने जुत्तामा लगाइने भन्सार करमा धेरै भिन्नता नहुँदा विदेशी जुत्तासँग प्रतिस्पर्धा गर्न गाह्रो भएको बताए । सङ्घले जुत्ता चप्पलमा भइरहेको चोरी पैठारीलाई निरुत्साहित गर्नसके जुत्ता चप्पल उत्पादनमा मुलुक आत्मनिर्भरतर्फ अग्रसर हुने भन्दै यसका लागि राज्यले सहयोग गर्नुपर्ने माग गरेको छ । सङ्घका उपाध्यक्ष सुरज बञ्जाडे हाल भइरहेको जुत्ता चप्पल निर्यातलाई दोब्बर बनाउने लक्ष्यका साथ काम भइरहेको बताउँछन् । सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत स्वदेशी उत्पादन निर्यातमा आठ प्रतिशत नगद अनुदानको दिने घोषणा गरेको थियो । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले स्वदेशी उत्पादनको निर्यात सुधारका लागि सिमेन्ट, क्लिङ्कर, स्टील, प्रशोधित पानी, सूचना प्रविधिमा आधारित व्यवसायलगायतमा आठ प्रतिशत नगद अनुदानको व्यवस्था गरेको थियो । सङ्घका अनुसार आर्थिक वर्ष २०७७र७८ मा चार करोड ११ लाख ४६ हजार एक सय ११ जोर जुत्ता आयात भएको थियो भने सो वर्ष २७ लाख ६४ हजार छ सय ४३ जोर निर्यात भएको थियो । त्यस्तै आव २०७६र७७ मा दुई करोड २० लाख ८८ हजार ७६२ जोर जुत्ता आयात भएको थियो । सङ्घका संस्थापक अध्यक्ष सुरेन्द्र दाहालका अनुसार वार्षिक १६ करोड जोर उत्पादन क्षमता भए पनि माग भने वार्षिक नौ करोड जोर जुत्ताको रहेको छ । ‘कूल ३६ प्रकारका कच्चा पदार्थको सम्मिश्रणबाट जुत्ता तयार हुन्छ भने यसले सहायक उद्योगहरु समेत स्थापना गर्न सकिन्छ’, उनले भने । छालाजन्य उद्योगको समग्र विकासका लागि आवश्यक प्रविधि, तालिम निर्यात प्रवर्द्धनसँग सम्बन्धित कार्यक्रम सञ्चालन आवश्यक रहेको उनको भनाइ छ ।