काठमाडाैं । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले वर्तमान सरकारले उद्योगी व्यवसायीहरुको मनोबल उच्च बनाउने निर्णय गरे तत्काल अर्थतन्त्र लयमा आउने बताएका छन् ।
पछिल्लो समय उद्योगी व्यवसायीहरुको मनोबल कमजोर भएकाले उद्योग व्यवसायमा संकुचन आएको भन्दै अध्यक्ष अग्रवालले वर्तमान सरकारले उद्योगी व्यवसायीहरुको मनोबल उच्च बनाउने गरी निर्णय गर्नुपर्ने बताएका हुन् ।
अध्यक्ष अग्रवालले सरकारले बैंकको ब्याजदर कम गर्ने, तरलता सहज ल्याउने र एलसी मार्जिन कम गर्ने निर्णय गरे व्यवसायीहरुको मनोबल सकारात्मक हुने बताए ।
अर्थतन्त्र लयमा आउँदा उच्च रुपमा गिरावट आएको माग बढ्ने र उद्योग व्यवसायमा लगानी पनि बढ्ने उनकाे भनाइ छ ।
‘नयाँ सरकार बनेसँगै सेयर बजारमा लगातार रुपमा वृद्धि भइरहेको छ । तर मुलुकको अर्थतन्त्रका केही प्यारामिटरहरु परिवर्तन भएका छैनन् । कुनै नयाँ निर्णय भएको छैन । जुन उच्च मनोबलका कारणले भएको छ । वर्तमान सरकारले उद्योगी व्यवसायीहरुको मनोबल बढाउने हिसावले कदमहरु चाल्यो भने संकटमा रहेको अर्थतन्त्र लयतमा तुरुन्तै जान्छ,’ उनले भने ।
पछिल्लो समय मागमा संकुचन हुनु आर्थिक वर्षको पाँच महिना गत वर्षको सोही अवधिको तुलनामा राजश्व संकलनमा २० प्रतिशत संंकुचन हुनु प्रमुख कारण भएको उनले बताए । सेयर बजार, घरजग्गाको कारोबार गिरावटको कारण सबै क्षेत्रको मागमा संकुचन आएको उनी बताउँछन् ।