कालिञ्चोक दर्शनले माघ ३ गतेदेखि आईपीओ बिक्री गर्दै
काठमाडौं । कालिञ्चोक दर्शनले माघ ३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पूँजी ६० करोड रुपैयाँको १८ प्रतिशत अर्थात् १० करोड ८० लाख रुपैयाँ बराबरको सेयर सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खला गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १० लाख ८० हजार कित्ता सेयर निष्काशन गर्ने भएको हो । जसमध्ये १० प्रतिशत अर्थात् १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई, ५ प्रतिशत अर्थात् ५४ हजार कित्ता सामूहिक लगानी कोषहरुलाई र २ प्रतिशत अर्थात् २१ हजार ६ सय कित्ता कर्मचारीहरुलाई छुट्याइएको छ । सर्वसाधारण लगानीकर्तालाई ८ लाख ९६ हजार ४ सय कित्ता सेयर छुट्याइएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि, सामूहिक लगानी कोषहरुका लागि र कर्मचारीहरुका लागि छुट्याइएको सेयर निष्काशन गरी बाँडफाँट गरिसकेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ४ हजार ९९० कित्ता सेयरसम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा माघ ६ गते र ढिलोमा माघ १७ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सकिनेछ । साथै मरो शेयर खाता मार्फत आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यस्तरको जोखिम रहेको संकेत गर्दछ ।
प्रहरीको क्षमता र व्यावसायिकताका आधारमा सरुवा र बढुवा हुन्छ : गृहमन्त्री लामिछाने
काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले प्रहरी कर्मचारीको सरुवा, बढुवालगायत कार्यहरू क्षमता, व्यावसायिकता, नैतिकता र ज्ञानमा आधारित हुने स्पष्ट पारेका छन्। सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकको निरीक्षण भ्रमणपछि आज यहाँ आयोजित समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछाने सेवामा रहँदा सरुवा र बढुवाको विषयले धेरैको मन अमिलो भएको हुनसक्ने उल्लेख गर्दै अब त्यस्तो नहुने पनि बताए । यसअघि नै गृहमन्त्री लामिछानेले प्रहरी कर्मचारीहरूलाई आफ्नो चाहना पूरा गर्न राजनीतिज्ञ तथा अन्य माथिल्लो निकायमा भनसुनका लागि गए कारबाही हुने स्पष्ट निर्देशन दिइसकेका छन्। सो समारोहमा गृहमन्त्री लामिछानेले सङ्गठनमा रहँदा नजिक र पराइ तथा भित्र र बाहिर भन्ने प्रवृत्तिलाई हटाइ प्राप्त जिम्मेवारीलाई कुशलताका साथ निभाउन पनि आग्रह गरे । उनले विगतमा भएका कमजोरीलाई सुधार गर्दै प्रशासनिक एवं व्यवस्थापकीय पक्षमा शून्य कमजोरीका साथ कार्यसम्पादन गर्न निर्देशन दिए। तराईको चर्को गर्मीदेखि हिमालको ओलाङ्गचुङगोला र छाङ्गरुको कठ्याङ्ग्रिँदो चिसोसँगै तैनाथ अधिकृत तथा जवानहरूको बसाइका लागि भौतिक पूर्वाधार कमजोर रहेको बताउनुहुँदै क्षमताले भ्याएसम्म पूर्वाधार विकासमा लाग्ने प्रतिबद्धता व्यक्त गरे। गृहमन्त्री लामिछानेले भने, ‘अधिकतम गर्मी वा चिसो ठाउँमा खटिएर अनवरत सेवा गर्नु, खबरदारी र ड्युटी गर्नु देशप्रतिको सेवा र राष्ट्रभक्ति हो ।’ उनले मनमा जहिले पनि हामी थोरै छौँ तर पनि विशेष छौँ त्यसैले त ‘बल’ हो भन्ने कुरालाई हरेक कर्मचारीले हृदयमा राखी सोहीअनुसार कार्यसम्पादन गर्न पनि सुझाव दिए। गृहमन्त्री लामिछानेले सुरक्षा फौजसँग साधारण नेपालीले आँखा जुधाएर कुरा गर्न सकोस् तर कानुनविपरीत क्रियाकलाप गर्ने सधैँ डराओस् र कहिल्यै शीर नउठाओस् भन्ने चाहना व्यक्त गरे। समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी कर्मचारीहरूले पेशागत प्रशिक्षणद्वारा व्यावसायिक, नैतिक र चरित्रवान बनाइ राज्यप्रदत्त जिम्मेवारी प्रभावकारीरूपमा निर्वाह गर्दै आइरहेको बताए। उनले सशस्त्र प्रहरी नागरिकको सेवा, सुरक्षा, सहयोग र विपद्मा परेकाहरूको उद्वार तथा सिमानाको सुरक्षार्थ दरिलो खम्बा बनेर अहोरात्र परिचालित रहँदै आएको उल्लेख गरे। आन्तरिक प्रशासनलाई प्रणालीगत गर्दै निश्चित पद्धतिमा सङ्गठनलाई चल्ने अवस्था सिर्जनाका लागि पारदर्शिता र जवाफदेहितासहितको पूर्वानुमानयोग्य सरुवा, बढुवा, कमाण्ड, तालिम, युएन मिसन तथा कल्याणकारी कार्यक्रम एवं विभिन्न अवसरहरूलाई न्यायसङ्गत वितरणको प्रक्रिया थालनी गरिएको पनि उनले जानकारी दिए। महानिरीक्षक अर्यालले सङ्ठनमा सुरुआत गरिएका नीतिगत, संस्थागत एवं संरचनागत सुधारका योजनाहरू गृहमन्त्रीसमक्ष प्रस्तुत गरेका थिए। उनले सशस्त्र प्रहरी निरीक्षकमा भर्ना भई १६ वर्षसम्म बढुवा हुन नसकेको र १९ वर्ष सेवाअवधि पुग्दासमेत सशस्त्र प्रहरी नायब उपरीक्षक पदमा नै रहनुपर्ने तथा जवान पदमा भर्ना भइ १३ वर्षसम्म एक तह पनि बढुवा हुन नसकेको अवस्था रहेको जानकारी पनि गराए। उनले वृत्तिविकासका साथै जुनियर अधिकृतको १८ वर्ष, जवानको १६ वर्ष पेन्सन अवधि निर्धारण गर्ने योजना कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। सो क्रममा गृहमन्त्री लामिछानेले सशस्त्र प्रहरीको केन्द्रीय आदेशकक्ष, अनुगम सेल, केन्द्रीय सङ्ग्राहलय, विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बल नेपालले प्रयोगमा ल्याएको विविध सामग्री अवलोकन तथा गोताखोर टोलीसँग उद्वारका विषयमा जानकारी लिएका थिए ।
नेपाल इको प्यानल भक्तपुरकै ब्राण्ड बन्दै
काठमाडौं । भक्तपुरबाट आजको दिनमा भक्तपुर बाहिर जाने कुनै सामान छ भने इको प्यानल भएको छ । सन् २०१४ मा इन्जिनियर कृष्णभक्त दुवालले सुरु गरेको इको प्यानल आज देशैभरि पुगेको छ । स्थायी तथा अस्थायी संरचनाको निर्माणमा भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने नयाँं निर्माण सामाग्री नै इको प्यानल हो । हलुका, भूकम्प प्रतिरोधी लगायतका कारण पछिल्ला वर्षहरुमा यसको लोकप्रियता निरन्तर बढ्दो छ । नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सिईओ) इन्जिनियर कृष्णभक्त दुवाल वातावरणमैत्री अनि उर्जा किफायती भएको कारण पनि जनताले इको प्यानललाई मन पराएको सुनाउँंछन् । नेपालमा मात्रै होइन, अहिले संसारभर नै वातावरण प्रदूषण ठूलो समस्यको रुपमा आइरहेको छ, उनले भने, त्यही कारण मानिसले वातावण विनाश नपुयाउने निर्माण सामाग्री मन पराइरहेका छन् । इको प्यानल उर्जा किफायती पनि छ । यसको उत्पादनमा उर्जाको बचत हुन्छ । अन्य अनेक विशेषताका साथै वातावरणमैत्री र उर्जा किफायती भएकै कारण पनि धेरै जनताले यसलाई रुचाइएको उनको दावी हो । नेपाल इको प्यानलको कर्पाेरेट अफिस भक्तपुरको सल्लाघारीमा रहेको छ । भक्तपुर नगरपालिका वडा नं १ सल्लाघारीस्थित डा इवामुरा अस्पताल सल्लाघारीको अपोजिट दिशामा यसको कर्पाेरेट कार्यालय रहेको छ । यसको कारखाना पनि जिल्लाकै चाँंगुनारायण नगरपालिका झौखेलमा रहेको छ ।
साझाको विद्युतीय बस चढेर राष्ट्रपति भण्डारी पाटनढोका पुगिन्
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी साझा यातायातको विद्युतीय बसमा ललितपुरको पाटनढोका आइपुगेकी छन्। राष्ट्रपति भण्डारी शनिबार दिउँसो शीतल निवासबाट विद्युतीय बसमा पाटनढोका आइपुगेकी हुन् । हाकुपटासीमा सजिएर पाटन पुग्नुभएका राष्ट्रपति भण्डारीलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले पुष्पगुच्छाले स्वागत गरेका थिए। उनले पाटनढोकामा रहेको मदन पुरस्कार पुस्तकालयको समेत अवलोकन गरिन्। राष्ट्रपति भण्डारीले पुस्तकालयमा रहेको हस्तलिखित स्वस्थानी व्रतकथाको समेत अध्ययन गरेकी थिइन्। पुस्तकालयको अवलोकनपश्चात् राष्ट्रपति भण्डारी हिँडेर अवलोकनका लागि पिम्बहाः पुखु पुगेकी थिइन्। पिम्बहाः मा उनले नेवारी भजन ग्रहणसँगै पिम्बहाः पुखुको इतिहासका बारेमा जानकारी लिएकी थिइन् । काठमाडौँको रानीपोखरीभन्दा पुरानो पिम्बहाः पुखुको पुरानो नाम जगमदु पुखु हो । पुस्तकालय र पिम्बहाः पुखुको अवलोकनपश्चात् पुनः राष्ट्रपति भण्डारी साझाको विद्युतीय बसमा शीतल निवास फर्किएकी छन् ।
काँग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिँदैन, प्रतिपक्षमा बस्छ : महामन्त्री थापा
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने बताएका छन् । शनिवार पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै संसदका दोस्रो, तेस्रो लगायत अन्य दलहरुले गठबन्धन बनाएर साझा उम्मेदवार बनाएको अवस्थामा काँग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने स्पष्ट पारेका हुन् । उनले आफ्नो व्यक्तिगत धारणा भएपनि पार्टीको औपचारिक निर्णय भने पुस २६ गतेको बैठकले नै तय गर्ने बताए । उनले अन्य दलहरु मिलेर गठबन्धन बनाएर साझा उम्मेदवार उठाइरहेको बेलामा काँग्रेसले विश्वासको मत दिन्छ भन्ने सोचेर नबस्न आग्रह गरे । उनले नेपाली काँग्रेस प्रतिपक्षमा बसेर नै आफ्नो जिम्मेवारी पूरा गर्ने बताए । महामन्त्री थापाले भने, ‘२६ गते जुन दिन संसदमा प्रधानमन्त्रीले विश्वासको मतका लागि आफूलाई प्रस्तुत गर्दै हुनुहुन्छ, त्यही दिन बिहान ९ बजे हामी बैठक बस्छौँ । त्यो बैठकमा निर्णय गर्नेछौँ । नेपाली काँग्रेस पार्टीले यो बेलामा संसद भित्र दोस्रो, तेस्रो पार्टी मिलेर गठबन्धन बनाएर विश्वासको मत लिन उम्मेदवार प्रस्तुत गरेपछि त्यहाँ विश्वासको मत दिने कुरा सामान्य छलफलको विषय होइन, हामी प्रतिपक्षमा बसेर आफ्नो जिम्मेवारी निर्वाह गर्ने हो । नेपाली काँग्रेस अहिले विश्वासको मतको खिलाफमा उभिन्छ, प्रतिपक्षमा बस्छ भन्नेकुरा स्पष्ट छ ।’ महामन्त्री थापाले नेपाली काँग्रेसको केन्द्रिय समितिको बैठक पुस २८ गतेबाट बस्ने र बैठकले निर्वाचन, राजनीतिक घटनाक्रमको बारेमा विस्तृत छलफल गर्ने बताए । उनले गठबन्धन गरेकोदेखि गठबन्धनलाई टिकाउन नसकेको बारेमा पनि केन्द्रिय समितिको बैठकमा गहन, खुला र पारदर्शी छलफल हुनेपनि बताए । उनले भने, ‘नेपाली काँग्रेसको केन्द्रिय समितिको बैठक पुस २८ गतेबाट बस्दैछ । त्यो बैठकमा निर्वाचनको, राजनीतिक घटनाक्रमको निर्मम ढंगले समीक्षा गर्छौं, गठबन्धन गर्नेदेखि गठबन्धन टिकाउन नसक्नेसम्म खुला र पारदर्शी रुपमा छलफल गर्नेछौँ ।’ महामन्त्री थापाले नयाँ गठबन्धन बनाउन लागेको भन्ने भ्रमपूर्ण समाचार फैलाएर काँग्रेसको प्रतिष्ठामाथि आँच पु¥याउन खोजेको बताए । उनले जनता समाजवादी पार्टी, नेपाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्षहरुसँग पार्टी सभापति शेरबहाुरद देउवासँगको भेट शीर्ष नेताहरुबीचको सामान्य भेटघाट रहेको स्पष्ट पारे । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनलाई काँग्रेसले प्रधानमन्त्रीमा प्रस्ताव गर्ने भन्नेकुरा निराधार रहेको पनि बताए । ‘अरु दलहरुका नेताहरु सभापतिसँग भेट्न उहाँहरु नै समय मागेर आउनुभएको हो, शीर्ष नेताहरुको बीचमा सामान्य छलफल हो, काँग्रेसले अरु पार्टीलाई प्रधानमन्त्रीको अफर गर्नेकुरा अफवाह हो, निराधार हो, कानूनले नै मिल्दैन’, उनले भने । महामन्त्री थापाले केन्द्रिय समितिको बैठकबाट नीति अधिवेशनको तिथि,मिति ठाउँ तय हुनेपनि बताए । उनले नीति अधिवेशन कसैलाई मागेको नभइ आफ्नो गर्ने कामको बारेमा जानकारी गराएको बताए । केही समयअघि पार्टी महामन्त्री थापा र विश्वप्रकाश शर्माले नीति अधिवेशनको माग गरेको भन्दै सञ्चारमाध्यममा समाचार प्रकाशित भएका थिए ।
प्रतिनिधिसभामा दलको भूमिकालाई सशक्त बनाउने कांग्रेसको निर्णय
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सङ्घीय संसद्मा दलको भूमिका सशक्त र प्रभावकारी बनाउन एकताबद्ध भएर काम गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दलका नेता एवं पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले त्यसका लागि तयारी गर्न सांसदहरुलाई निर्देशन दिएको पार्टीका मुख्य सचेतक रमेश लेखकले जानकारी दिए । ‘सिङ्गो पार्टी एकताबद्ध र एकढिक्का भएर प्रतिनिधिसभामा सशक्त भूमिका निर्वाह गर्ने निर्णय भएको छ’, उनले भने । बैठकले नेपाली कांग्रेसलाई सबैभन्दा ठूलो दलका रुपमा प्रतिनिधिसभामा विजयी गराएकोमा मतदाताप्रति आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गरेको छ । बैठकले पार्टीका नेता तथा कार्यकर्ताले दललाई हालको भूमिकामा पु¥याउन योगदान दिएकामा पनि धन्यवाद दिएको छ । स्थानीय तहको निर्वाचनपछि प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न गरेकामा कांग्रेस नेतृत्वको निवर्तमान सरकारलाई आभार व्यक्त गरेको मुख्य सचेतक लेखकले जानकारी दिए। ‘निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न निर्वाचन आयोग, सुरक्षा निकाय, कर्मचारी, नागरिक समाज, बुद्धिजीवी, सञ्चारकर्मी र सञ्चारगृहप्रति उच्च सम्मान प्रकट गरेको छ’, उनले भने। बैठकले संविधानसभा सदस्य तथा पूर्वसांसद झुलबहादुर आले र मैयादेवी श्रेष्ठप्रति शोकप्रस्ताव पारित गरेको छ । कांग्रेसले प्रतिनिधिसभाको बैठक प्रारम्भ हुनुभन्दा पहिला केही महत्वपूर्ण जानकारी नवनिर्वाचित सांसदलाई दिनका लागि बैठक आयोजना गरेको हो । यही पुस २५ गते प्रतिनिधिसभाको बैठक बोलाइएको छ । पुस २६ गते प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मतका लागि प्रस्ताव पेस गर्दैछन् । त्यसको प्रक्रिया के हुन्छ र कसरी हुन्छ भन्नेबारेमा कांग्रेसले आफ्ना सांसदहरुलाई जानकारी गराएको हो । सङ्घीय संसद्मा कांग्रेसले निर्वाह गर्ने भूमिका र त्यसका लागि गर्नुपर्ने तयारीका बारेमा समेत बैठकमा जानकारी गराइएको मुख्य सचेतक लेखकले बताए । संसदीय दलको अर्को बैठक यही पुस २६ गते संसद् भवन बानेश्वरको ल्होत्से हलमा बस्नेछ । ‘विश्वासको मतको प्रस्तावका बारेमा त्यही बैठकबाट निर्णय हुनेछ’, मुख्य सचेतक लेखकले भने, ‘हामी कुनै नयाँ गठबन्धन बनाउने र अहिलेको भत्काउने कामका लागेका छैनौं ।’ बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, नेता डा शेखर कोइरालालगायत पदाधिकारी एवं सङ्घीय संसद्का सांसद सहभागी थिए। निर्वाचनबाट कांग्रेसले प्रतिनिधिसभामा ८९ सिट जितेर सबैभन्दा ठूलो दल बने पनि प्रतिपक्षमा बस्नुपर्ने अवस्था छ ।
नवजीवन सहकारीले पायो ‘कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कार २०७९’
काठमाडौं । कैलालीको धनगढीमा रहेको नवजीवन सहकारी संस्थालाई ‘कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कार २०७९’ प्रदान गरिएको छ । सहकारीको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याए वापत २०७९ सालको कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कार नवजीवन सहकारी संस्थालाई प्रदान गरिएको हो । नवजीवन सहकारीले प्राप्त गरेको उक्त पुरस्कारको राशी ५० हजार रुपैयाँ रहेको छ । कमलमणि स्मृति साझा सेवा सहकारीको ३८ औं साधारण सभाको अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले नवजीवन सहकारीका अध्यक्ष देब बहादुर बमलाई नगदसहित सम्मानपत्र हस्तान्तरण गरेका हुन् । सहकारीको माध्यमबाट सुदूरपश्चिम लगायत राष्ट्रिय अर्थतन्त्रमा समेत योगादन गरे वापत नवजीजन सहकारी संस्थालाई नगद पुरस्कार सहित सम्मान गरेको नवजीवन सहकारी संस्थाका अध्यक्ष बमले बताए । सहकारी विभाग र राष्ट्रिय सहकारी महासंघको सिफारिसमा उक्त पुरस्कार नवजीवनले प्राप्त गरेको उनको भनाइ छ । अब अन्तर्राष्ट्रिय स्तरमा जानको लागि समेत बाटो खुला भएको अध्यक्ष बमले बताए । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले साझा सेवाले पुरस्कारको माध्यमबाट सहकारीको प्रवर्द्धनमा ठूलो भूमिका निर्वाह गरेको बताए । साथै उक्त पुरस्कारले सहकारीहरुको उत्थान र विकासमा थप टेवा पुग्ने समेत उनको भनाइ छ । कमलमणि स्मृति साझा सेवा सहकारी संस्थाले वि.सं.२०७५ सालदेखि सहकारीका माध्यमबाट अर्थतन्त्रमा योगादन पुर्याए वापत सहकारी संस्थाहरुलाई पुरस्कार प्रदान गर्दै आएको संस्थाका अध्यक्ष शङ्करप्रसाद पाण्डे जानकारी दिए । स्व. कमलमणि दीक्षितले संस्थाका लागि गरेको योगदानमा उक्त पुरस्कारको स्थापना गरिएको हो । नवजीवन सहकारी संस्थाको चुक्ता पूँजी ६ अर्ब ७० करोड रुपैयाँ रहेको छ । सहकारीले सुदूरश्चिम र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा १० वटा शाखा कार्यालय मार्फत् सेवा प्रदान गरिरहेको छ । उक्त सहकारी संस्थामा ३१ हजार भन्दा बढी ग्राहक सदस्य रहेका छन् । सहकारीले काठमाडौंमा पनि शाखा कार्यालय सञ्चालन गर्न अनुमति प्राप्त गरिसकेको छ । ६ महिनाभित्र काठमाडौंमा पनि शाखा विस्तार गर्ने अध्यक्ष बमले जानकारी दिए ।
इकोनोमिक मिडिया सोसाइटीको अध्यक्षमा श्रेष्ठ
काठमाडौं । आर्थिक मिडिया सञ्चालकहरुको संस्था इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्शन)को अध्यक्षमा बिजखबर डटकमका रामराजा श्रेष्ठ निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न संस्थाको पाँचौं बार्षिक साधारणसभाले श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा बिजशाला डटकमका सोमनाथ बास्तोला र बिजपाटी डटकमका सञ्चालक लोचन खतिवडा निर्वाचित भएका छन् । महासचिवमा सिंहदरबार डटकमका नारायण पौडेल, सचिवमा टक्सार म्यागाजिनका हिम विष्ट, सहसचिवमा अर्थपथ डटकमका बिष्णु जम्कट्टेल र कोषाध्यक्षमा इन्स्योरेन्स खबर डटकमका केशव भण्डारी निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा अर्थसरोकार डटकमका सुरज प्याकुरेल, अर्थसंसार डटकमका मिलन खड्का, आर्थिकआवाज डटकमका सुरेन्द्र पौडेल र अर्थतन्त्र डटकमकी सुवद्रा थापा सर्वसम्मत रुपमा चयन भएका छन् ।