काँग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिँदैन, प्रतिपक्षमा बस्छ : महामन्त्री थापा

<p>काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने बताएका छन् । शनिवार पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै संसदका दोस्रो, तेस्रो लगायत अन्य दलहरुले गठबन्धन बनाएर साझा उम्मेदवार बनाएको अवस्थामा काँग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने स्पष्ट पारेका हुन् । उनले आफ्नो व्यक्तिगत धारणा भएपनि पार्टीको औपचारिक निर्णय [&hellip;]</p>

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने बताएका छन् । शनिवार पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै संसदका दोस्रो, तेस्रो लगायत अन्य दलहरुले गठबन्धन बनाएर साझा उम्मेदवार बनाएको अवस्थामा काँग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने स्पष्ट पारेका हुन् । उनले आफ्नो व्यक्तिगत धारणा भएपनि पार्टीको औपचारिक निर्णय भने पुस २६ गतेको बैठकले नै तय गर्ने बताए ।

उनले अन्य दलहरु मिलेर गठबन्धन बनाएर साझा उम्मेदवार उठाइरहेको बेलामा काँग्रेसले विश्वासको मत दिन्छ भन्ने सोचेर नबस्न आग्रह गरे । उनले नेपाली काँग्रेस प्रतिपक्षमा बसेर नै आफ्नो जिम्मेवारी पूरा गर्ने बताए ।

महामन्त्री थापाले भने, ‘२६ गते जुन दिन संसदमा प्रधानमन्त्रीले विश्वासको मतका लागि आफूलाई प्रस्तुत गर्दै हुनुहुन्छ, त्यही दिन बिहान ९ बजे हामी बैठक बस्छौँ । त्यो बैठकमा निर्णय गर्नेछौँ । नेपाली काँग्रेस पार्टीले यो बेलामा संसद भित्र दोस्रो, तेस्रो पार्टी मिलेर गठबन्धन बनाएर विश्वासको मत लिन उम्मेदवार प्रस्तुत गरेपछि त्यहाँ विश्वासको मत दिने कुरा सामान्य छलफलको विषय होइन, हामी प्रतिपक्षमा बसेर आफ्नो जिम्मेवारी निर्वाह गर्ने हो । नेपाली काँग्रेस अहिले विश्वासको मतको खिलाफमा उभिन्छ, प्रतिपक्षमा बस्छ भन्नेकुरा स्पष्ट छ ।’

महामन्त्री थापाले नेपाली काँग्रेसको केन्द्रिय समितिको बैठक पुस २८ गतेबाट बस्ने र बैठकले निर्वाचन, राजनीतिक घटनाक्रमको बारेमा विस्तृत छलफल गर्ने बताए । उनले गठबन्धन गरेकोदेखि गठबन्धनलाई टिकाउन नसकेको बारेमा पनि केन्द्रिय समितिको बैठकमा गहन, खुला र पारदर्शी छलफल हुनेपनि बताए ।
उनले भने, ‘नेपाली काँग्रेसको केन्द्रिय समितिको बैठक पुस २८ गतेबाट बस्दैछ । त्यो बैठकमा निर्वाचनको, राजनीतिक घटनाक्रमको निर्मम ढंगले समीक्षा गर्छौं, गठबन्धन गर्नेदेखि गठबन्धन टिकाउन नसक्नेसम्म खुला र पारदर्शी रुपमा छलफल गर्नेछौँ ।’

महामन्त्री थापाले नयाँ गठबन्धन बनाउन लागेको भन्ने भ्रमपूर्ण समाचार फैलाएर काँग्रेसको प्रतिष्ठामाथि आँच पु¥याउन खोजेको बताए । उनले जनता समाजवादी पार्टी, नेपाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्षहरुसँग पार्टी सभापति शेरबहाुरद देउवासँगको भेट शीर्ष नेताहरुबीचको सामान्य भेटघाट रहेको स्पष्ट पारे । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनलाई काँग्रेसले प्रधानमन्त्रीमा प्रस्ताव गर्ने भन्नेकुरा निराधार रहेको पनि बताए ।

‘अरु दलहरुका नेताहरु सभापतिसँग भेट्न उहाँहरु नै समय मागेर आउनुभएको हो, शीर्ष नेताहरुको बीचमा सामान्य छलफल हो, काँग्रेसले अरु पार्टीलाई प्रधानमन्त्रीको अफर गर्नेकुरा अफवाह हो, निराधार हो, कानूनले नै मिल्दैन’, उनले भने ।

महामन्त्री थापाले केन्द्रिय समितिको बैठकबाट नीति अधिवेशनको तिथि,मिति ठाउँ तय हुनेपनि बताए । उनले नीति अधिवेशन कसैलाई मागेको नभइ आफ्नो गर्ने कामको बारेमा जानकारी गराएको बताए । केही समयअघि पार्टी महामन्त्री थापा र विश्वप्रकाश शर्माले नीति अधिवेशनको माग गरेको भन्दै सञ्चारमाध्यममा समाचार प्रकाशित भएका थिए ।

Share News