ग्लोबल र बिओकेद्वारा सँयुक्त रुपमा देशव्यापी प्रभातफेरिको आयोजना
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडले सँयुक्त रुपमा देशव्यापीप्रभातफेरि कार्यक्रमको आयोजना गरेका छन् । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडको मर्जरको अवसरमा दुई बैंकले संयुक्त रुपमा काठमाडौँ उपत्यका सहित नेपालका मुख्य–मुख्य शहरहरुमा प्रभातफेरि कार्यक्रमको आयोजना गरेका हुन् । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेड यही पौष २५ गतेदेखि ग्लोबल आइएमई बैंकको नामबाट संयुक्त कारोबार सुरु गर्दैछन् । प्रभातफेरिमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, दुवै बैंकका सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृतहरुलगायत दुई बैंकका १ हजार भन्दा बढी कर्मचारीको उपस्थिति रहेको थियो । वित्तीय साक्षरता मूलकप्ले कार्ड तथा व्यानर सहित प्रभातफेरिमा उपस्थित कर्मचारीहरुले काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानबाट हिँड्दै शहरको मुख्य–मुख्य भागको परिक्रमा गरेका थिए भने काठमाडौँ उपत्यका बाहिर पनि मुख्य–मुख्य शहरमा परिक्रमा गरेका थिए । मर्जर पश्चात् बैंकको कूलपुँजी ५७ अर्ब, चुक्तापूँजी ३५.७७ अर्ब, कूल निक्षेप ४०० अर्बभन्दा बढि र कूलकर्जा ३७९ अर्ब भन्दा बढि पुग्नेछ । मर्जर पछि बन्ने नयाँ बैंक कूलपूँजी, चुक्तापुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक बन्नेछ । नयाँ बैंकको सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल सहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहनेछन् । त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य रहनेछन् । २१ वटा बैंक तथा वित्तीय संस्थाहरु गाभिएर बन्ने ग्लोबल आइएमई लिमिटेडमा ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित हुनेछन् । दुई बैंकहरुको मर्जर पश्चात् कूल ३६५ शाखा कार्यालय, ३६७ एटिएम, २८६ शाखा रहित बैंकिङ्ग सेवा, ६१ विस्तारित शाखा कार्यालयहरु, ३ वटा विदेश स्थित सम्पर्क कार्यालयहरु, ४० लाखभन्दा बढि ग्राहकहरु सहितअन्य धेरै वित्तीय परिसुचकहरुमा ग्लोबल आइएमई बैंक लिमिटेड मुलुकको सबैभन्दा ठुलो बैंक हुनेछ ।
सरकारलाई विश्वासको मत दिन समयमा संसदमा उपस्थित हुन सांसदहरुलाई अध्यक्ष ओलीको निर्देशन
काठमाडौं । सत्तारुढ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुस २६ गते सरकारलाई विश्वासको मत दिन तोकिएको समयमै संसदमा उपस्थित हुन पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् । नेपालीहरुको बलजफ्तीमा पुष्पकमल दाहाल नेतृत्वको सरकार बनाएको र त्यसलाई विश्वासको मत दिएर सफल बनाउनका लागि पार्टीका सांसदहरुले २६ गते एक मिनेट पनि ढिलाई नगरी संसदमा उपस्थित हुनुपर्नेतर्फ पनि पार्टीका सांसदहरुलाई उनले सचेत गराए । शनिबारबाट काठमाडौंमा सुरु भएको पार्टीका सांसदहरुको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले नेपालीहरुको बलजफ्तीबाट वर्तमान सरकार बनेको उल्लख गर्दै त्यसलाई सफल र प्रभावकारी बनाउन आफूले चाहेको पनि पटकपटक दोहो¥याए । अध्यक्ष ओलीले यो सरकार ढाल्नका लागि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अधिकतम प्रयास गरिरहेको उल्लेख गर्दै सफल हुन नदिने दृढता समेत व्यक्त गरे । उनले वर्तमान सरकारले सुशासन र मुलुकको विकासका निम्ति दृढतापूर्वक अघि बढोस भन्ने आफ्नो पार्टीको चाहना रहेको स्पष्ट पारे । अध्यक्ष ओलीले वर्तमान सरकारले विश्वासको मत नपाए प्रतिनिधिसभामा सबैभन्दा ठूलो दलका हैसियतले काँग्रेसले सरकार बनाउने भएकाले त्यसतर्फ सचेत रहनुपर्ने पनि बताए । उनले भने, ‘पहिलो कुरा त हामी २६ गते प्रधानमन्त्री माथि प्रतिनिधिसभा बहुमतको विश्वास छ भन्ने कुरा हामीले देखाउनु छ । २६ गते सबै साथीहरु कुनै बट, इफ हँुँदैन । त्यो एकदमै बुझ्न जरुरी छ । हरेक साथीहरु भनेको समयमा संसदमा कोहीकोही दिन यस्ता हुन्छन, जहाँ एक मिनेट ढिला गर्न हुन्न । २५ गते पहिलो दिन, २६ गते विश्वासको मत दिने यस्ता दिनहरुमा एक मिनेट पनि ढिला हुनुहुन्न ।’ विश्वासको मत दिने विषयमा नेपाली कांग्रेसले भूमिका खेल्न खोजेको भन्दै ओलीले भने, ‘अहिले असफल पार्ने प्रयास बेस्सरी भईरहेका छन । नेपाली काँग्रेसका सभापति माननीय शेरबहादुर देउवाजीले भन्नु भयो–वी वील कम ब्याक । संकेत उहाँहरुले २६ गते नै आउँछौं भनेको हो । उहाँहरुले यस्तो खुद्रा खेल खेलिरहनु भएको अहिले । पार्टीहरुमा बाडिरहनु भएको छ प्रधानमन्त्री । एउटा पार्टीको अध्यक्षलाई बोलायो, प्रधानमन्त्री तिमी हुने हो भनेको छ । यो संविधानको धारा ७६ (२)को सरकारले विश्वासको मत प्राप्त गरेन भने स्वतः यो सरकारले विश्वासको मत प्राप्त गरेन भने संविधानको धारा ७६ (३) अनुसार संसदमा सबै भन्दा ठूलो दलको नेताले प्रधानमन्त्रीको नियुक्त पाउँछ । यहाँ यो सरकारले विश्वासको मत नपाउने वित्तिकै वा ७६ (२)को सरकार नबन्ने वित्तिकै वा असफल हुने वित्तिकै त्यो पाउँछ ।
तनहुँको ऋषिङ गाउँपालिकाले गर्भवतीलाई स्वास्थ्य परीक्षण भत्ता दिने
तनहुँ । तनहुँको ऋषिङ गाउँपालिकाले गर्भवतीलाई प्रत्येक पटक स्वास्थ्य परीक्षण गराउँदा भत्ता दिने व्यवस्था गरेको छ । गाउँपालिकाको १३औँ गाउँसभाले गर्भवतीलाई स्वास्थ्य जाँच गराउँदा प्रत्येक पटक पाँच सय दिने निर्णय गरेको हो । पालिकाभित्र गर्भवतीलाई स्वास्थ्य परीक्षण गराउन जाँदा लामो दूरीको अस्पताल पुग्नुपर्ने र आमा तथा बच्चाको स्वास्थ्य परीक्षण गर्न प्रोत्साहन गर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए । ‘गर्भवती अस्पतालसम्म पुग्न मान्दैनन्, आमा र बच्चा स्वस्थ जन्मिनुपर्छ, त्यसैले प्रोत्साहनका लागि प्रयास गरिएको हो’, उनले भने । गर्भवतीले स्वास्थ्य परीक्षण गराएबापत उक्त रकम तत्काल उपलब्ध गराइने अध्यक्ष श्रेष्ठले बताए। गर्भवतीले आवश्यक मात्रामा गर्भ परीक्षण नगराउँदा सुत्केरी हुने समयमा समस्या हुनसक्ने भएकाले जटिल समस्याबाट जोगाउन यस्तो निर्णय गरेर सहज बनाउने प्रयासमा रहेको उनले बताए । निर्णय सर्वसम्मत पारित भइसकेकाले अब तत्काल कार्यान्वयनमा लगिने उनले बताए। यसका साथै गर्भवतीलाई सुत्केरी हुने समयमा अस्पतालसम्म पुर्याउन र घरसम्म ल्याउन आवश्यक परेमा गाउँपालिकाले निःशुल्क एम्बुलेन्स उपलब्ध गराउने निर्णय पारित भएको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिए। चालु आर्थिक वर्षको बजेट ६० करोड रहेको गाउँपालिकाले जनाएको छ । त्यसमा आन्तरिक स्रोततर्फ एक करोड ६० लाख रहेको प्रवक्ता दरैले जानकारी दिए । उनका अनुसार गाउँसभामा पालिकाको कूल बजेट ६१ करोड ६० लाख रहेको छ ।
बीमा सेवाग्राहीमा भरतपुर अस्पताल पहिलो
चितवन । स्वास्थ्य बीमाबाट सेवा लिनेमा भरतपुर अस्पताल पहिलो बनेको छ । देशभरका अस्पतालमा सबैभन्दा बढी भरतपुर अस्पतालबाट सेवाग्राहीले बीमा सेवा लिएका हुन् । बीमा बोर्डको वेबसाइटमा उल्लेख भएअनुसार हालसम्म दुई करोड ५१ लाख ८१ हजार दुई सय ८९ बीमा दाबी गरिएको छ । त्यसमध्ये भरतपुर अस्पतालको ६३ लाख पाँच सय ६९ रहेको छ । दोस्रोमा नोवेल मेडिकल कलेजको ६१ लाख चार हजार ९४ र बिपी कोइराला इन्स्टिच्युट धरानको ५७ लाख नौ हजार ६१ रहेको छ । अन्यको दाबी सङ्ख्या कम छ । अस्पतालका बीमा विभाग प्रमुख लीलाधर पौडेलका अनुसार अस्पतालले बीमा बोर्डबाट हालसम्म ९७ करोड ६३ लाख ११ हजार आठ सय २७ प्राप्त गरिसकेको छ । १५ करोड हाराहारी दाबी गरी पठाइएको भुक्तानी हुन बाँकी छ । विसं २०७४ भदौ १ गतेदेखि यहाँ बीमा लागू भएको हो । चितवनसहित तनहुँ, गोरखा र नवलपरासीका नागरिकले प्रथम बिन्दुका रुपमा भरतपुर अस्पताललाई राखेका छन् । पौडेलका अनुसार ‘रिफर’ भएर आउने बिरामी २२ भन्दा बढी जिल्लाका छन् । अस्पतालमा आउने बिरामीमध्ये ७० प्रतिशत हाराहारी स्वास्थ्य बीमाका हुने गरेका छन् । पुस ११ गते एक दिनको तथ्याङ्क हेर्दा एक हजार चार सय ६५ बिरामी बहिरङ्ग सेवामा आएकामा एक हजार ७६ जना अर्थात् ७३ प्रतिशत बीमाका रहेका थिए । चितवनमा हाल स्वास्थ्य बीमा गर्नेको सङ्ख्या चार लाख १६ हजार आठ सय ५१ छ । स्वास्थ्य बीमामार्फत दाबी गर्ने औषधिमा ग्यास्ट्रिकका बढी छ । उपचारतर्फ सबैभन्दा बढी बहिरङ्ग सेवा लिनेछन् । रोग परीक्षणतर्फ उच्च रक्तचापका बिरामी बढी हुने गरेको पौडेलले जानकारी दिए । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलका अनुसार बीमा दाबीमा भरतपुर अस्पताल पहिलो हो । उनले भने, ‘हामीले दाबी गरेका फाइल न्यूनमात्रै अस्वीकृत हुने गरेका छन् ।’ दाबीमा पहिलो हुँदा पनि अस्वीकृत हुनेमा १०औँभित्र पनि भरतपुर अस्पताल पर्दैन । अस्पतालमा बीमा सेवामा तालिम प्राप्त कर्मचारीको टोली रहेकै कारण राम्रो सेवा र दाबी गर्न सकिएको पौडेलको भनाइ छ । सत्तरी प्रतिशतभन्दा बढी बिरामी बीमाका हुने भएकाले उनीहरुलाई लक्षित गरी सेवालाई चुस्त दुरुस्त बनाउनेमा अस्पताल प्रशासन लागेको पौडेल बताउँछन्। उनले भने, ‘हामीले बीमालाई नमुना बनाएका छौँ, बिरामीले पाउने सेवा सहज बनाउनेमा हाम्रो ध्यान छ ।’ न्यून जनशक्तिका कारण सोचेजस्तो सेवा अझै दिन नसकिएको स्वीकार्दै उनले श्ययाअनुसारको दरबन्दी स्वीकृत भएसँगै कुनै समस्या नहुने बताए। अस्पतालको ओएनएम सर्भे गरेर स्वास्थ्य मन्त्रालयमा फाइल पठाइसकिएको छ । बीमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले भरतपुर अस्पतालले बीमा दाबीमा धेरै राम्रो गरेको बताए । विगतको तुलनामा सुधार गरेर उत्कृष्ट काम गर्ने संस्थामध्येमा भरतपुर अस्पताल रहेको उनको भनाइ छ । बीमा बोर्डले विगत छ वर्षको अवधिमा हालसम्म करिब २५ अर्ब भुक्तानी गरिसकेको छ । उनका अनुसार अब तीन अर्ब भुक्तानी गर्न बाँकी छ । त्यसमध्ये एक अर्ब ५० करोड आउँदो हप्ताबाट भुक्तानी प्रक्रियामा जाँदैछ । बीमाबाट सेवा दिने देशभरका चार सय ५१ अस्पताल रहेका छन् । विपन्न कार्यक्रमको भुक्तानीसमेत बोर्डलाई दिनका लागि सरकारले दुई अर्ब ४७ करोड निकासा गरेको छ । ती कार्यक्रमको आवश्यक प्रक्रिया स्वास्थ्य मन्त्रालयको नर्सिङ महाशाखाले गर्ने भए पनि त्यहाँबाट प्रक्रिया पुगेर नआएकाले भुक्तानीमा ढिलाइ भएको उनले जानकारी दिए । बोर्ड रकम वितरणका लागि तयारी अवस्थामा रहेको उनको भनाइ छ ।
काँग्रेसको संसदीय दलको बैठक शुरु
काठमाडौं । नेपाली काँग्रेसको संसदीय दलको बैठक शुरु भएको छ । शनिवार नेपाली काँग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक शुरु भएको हो । काँग्रेसले नयाँ सरकार बनाउन नसकेपछि प्रतिपक्षमा रहेर आफ्नो भुमिकालाई कसरी अघि बढाउने भन्ने बारेमा रणनीति तयार पार्न बैठक बसेको हो । तत्कालीन गठबन्धनमा रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नयाँ प्रधानमन्त्रीमा पुस २६ गते विश्वासको मत लिँदै गर्दा काँग्रेस अब कसरी अघि बढ्ने भन्ने रणनीति बनाउन व्यस्त छ । प्रतिपक्षमा रहेर आफ्नो भुमिकालााई कसरी अघि बढाउने भन्ने निर्णय संसदीय दलको बैठकले गर्नेछ । प्रधानमन्त्री दाहालले नेपाली काँग्रेसलाई पनि आफू नेतृत्वको सरकारलाई विश्वासको मत दिन आग्रह गरेका छन् । नेपाली काँग्रेसका शीर्ष नेताहरुले भने राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्नेमा जोड दिएका छन् ।
नबिल एसएसईको पहिलो फेलोसिप कार्यक्रम सम्पन्न, १३ जना बने नयाँ उद्यमी
काठमाडौं । नबिल बैंकले सामाजिक उद्यमशीलता विकासका लागि अघि बढाइएको नबिल एसएसईको पहिलो चरणको फेलोसिप कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत नबिलले अघि बढाएको सामाजिक उद्यमशीलता कार्यक्रममा सहभागीलाई प्रमाणपत्र सहित बिदाइ गरेर पहिलो चरणको कार्यक्रम समापन गरेको जनाएको छ । बैंकले शुक्रबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा एक कार्यक्रमको आयोजना गर्दै फेलोसिप कार्यक्रममा सहभागी भएका पहिलो ब्याचका १८ जनालाई बिदाइ गरेको हो । सोही अवसरमा बैंकले उक्त कार्यक्रमको दोस्रो ब्याचका लागि छनौट भएका २० जनालाई पनि स्वागत गरेको छ । बैंकले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्य र स्कुल फोर सोसल आन्टरप्रेनर्स इन्डियाको प्राविधिक सहयोगमा समाजमा उद्यमशीलताका माध्यमबाट सामाजिक समस्याको दीर्घकालीन समाधान गर्ने उद्देश्यको साथ गत वर्षदेखि यो कार्यक्रम सञ्चलनमा ल्याएको हो । यो कार्यक्रमले १८ देखि ५० वर्ष भित्रका इच्छुक व्यक्तिलाई उद्यमको सुरुआत गर्न सक्षम बनाउने लक्ष्य राखेको छ । सोहीअनुसार बैंकले पहिलो ब्याचमा विभिन्न क्षेत्रमा नवीनतम सोच भएका २० जनालाई छनौट गरेको थियो । तर, १८ जनाले मात्रै उक्त कार्यक्रमलाई पूर्णता दिएका थिए । जसमध्ये १३ जनाले आफ्नो व्यवसायलाई सञ्चालन गरी सेवा र सामाग्री बजारमा प्रवेश गरिसकेका छन् । कार्यक्रममा सहभागीहरूले आफ्ना प्रडक्टहरूको स्टलमा प्रदर्शनी गरेका थिए । कार्यक्रममा नबिल बैंकका डेपुटी सिईओ मनोज ज्ञवालीले सहभागीहरूको प्रडक्ट र सेवाहरू देख्दा धेरै खुसी लागेको बताए । बैंकको उद्यमी बनाउने उद्देश्यमा १८ जना सहभागीहरूले उद्यमशीलताको दियोको रूपमा काम गर्ने उनले बताए । ‘यो नै नबिलले समाजमा ल्याएको सकारात्मक परिवर्तनको सुरुवात हो,’ उनले भने । त्रिभुवन विश्व विद्यालय व्यवस्थापन संकायका प्रा.डा. डिन डिल्लीराज शर्माले कार्यक्रममा बोल्दै नबिल एसएसईमा सहभागीहरु समाज परिवर्तनका एजेन्ट रहेको बताए । पहिले आफू सामाजिक अभियन्ता मात्र भएको र नबिलको कार्यक्रममा जोडिएपछि आफूले उद्यमीको संज्ञा पाएको फेलोसिप कार्यक्रममा सहभागी भएकी दीक्षा पौडेलले बताइन् । धेरै कुरा सिक्ने अवसर पाएको बताउँदै उनले भनिन्, ‘मलाई उद्यमशीलताको बारेमा केही थाहा थिएन र म बिजनेस ब्याकग्राउन्डको विद्यार्थी पनि होइन । तर अहिले मलाई यो कार्यक्रमले आफ्नो प्रडक्ट लन्च गर्ने स्टेजमा पुर्याएको छ, र अहिले ब्रान्डिङमा काम हुँदैछ ।’ नबिलको यो कार्यक्रम धेरै नै प्रभावकारी रहेको छ र म नबिल प्रति आभारी छु’, उनले भनिन् । यस्तै इलामका यमबहादुर कार्की बैंकको फेलोसिप कार्यक्रमले आफूलाई अहिले उद्यमीको पहिचान दिएको महसुस गरेको बताउँछन् । ‘हाम्रो समाजमा धेरै समस्या छन्, युवा पुस्ता दिनदिनै बिदेसिनु परिरहेको छ । गाउँमै कफी खेतीका माध्यमबाट गाउँमा रोजगारी सिर्जना गरी आर्थिक गतिविधि बढाउने निर्णय गरेँ,’ कार्कीले भने । उनले भने, ‘मेरो यो सपनालाई पुरा गर्न नबिलको कार्यक्रमले सहयोग गरेको छ । अहिले उत्पादित वस्तु बजारमा ब्राण्ड नेमका साथ आइसकेको छ र मैले रोजगारी सृजना गरिरहेको छु ।’ नबिल एसएसईले उद्यमी मात्रै नभएर उद्योगी बनाएरै छाड्ने कार्कीको भनाइ छ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाले उद्यमी पैदा गर्ने आफूहरूको उद्देश्य रहेकाले यो अभियानलाई साकार पार्न आफूहरू प्रतिबद्ध रहेको बताए । उनले यस्ता तालिमले नेपालीयुवालाई उद्यमीको पथदर्शन गराउने र लाखौँको संख्यामा बाहिरिँदै गरेका नेपाली युवालाई नेपालमा रहेका सम्भावना र अवसरको जानकारी दिने बताए । सोही अवसरमा दोस्रो चरणको फेलोसिप कार्यक्रम सञ्चालनका लागि नबिल बैंक र त्रिवि बिच फेरि सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट सिइओ ज्ञानेन्द्र ढुंगाना र उपाध्यक्ष निर्वाण चौधरी तथा त्रिविका तर्फबाट उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटा र प्रा.डा. डिन डिल्लीराज शर्माले हस्ताक्षर गरेका छन् । कार्यक्रममा बैंकका उपाध्यक्ष चौधरीले नबिल बैंक उद्यम र उद्यमी बन्न चाहनेहरुको लागि सहयोग गर्न तत्पर रहेको बताए । उनले भने, ‘उद्यमी बन्न सजिलो त छैन तर नबिलले तपाइँहरुलाई उद्यमी बन्न हरेक तवरले सहयोग गर्नेछ ।’ कार्यक्रममा पहिलो चरणमा सहभागी भएकाहरूलाई उपाध्यक्ष चौधरी र प्रा.डा. बास्कोटाले प्रमाणपत्र र मायाको चिनो प्रदान गरेका थिए ।
छिमेक लघुवित्त वित्तीय संस्थाको एपबाट क्यूआर भुक्तानी गर्न सकिने
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले मोबाइल बैंकिङ एपमार्फत डिजिटल कारोबार सुरु गरेको छ । लघुवित्तले शुक्रबारदेखि यस सेवा सुरु गरेको हो । मोबाइलको बढ्दो प्रयोगसँगै लघुवित्त क्षेत्रमा पनि यसको प्रयोगबाट कारोबारहरुलाई क्यासलेस गर्न सकिने विश्वास लघुवित्तले लिएको छ । यस एपअन्तर्गत कनेक्ट आइपीएस र फोनपे सर्भिसमार्फत नेटवर्कभित्र रहेका बैंक तथा वित्तीय संस्थाहरुमा सजिलै फण्ड ट्रान्सफर गर्न र युटिलिटी पेमेन्टको सुविधा प्रयोग गर्न सकिन्छ । लघुवित्तमा आवद्ध सदस्यहरुले एपबाट आफ्नो इकाई (केन्द्र) बैंठकको बारेमा जानकारी लिन र आफ्नो कारोबारको सफलताको बारेमा एपमार्फत जानकारी प्राप्त गर्न सक्नेछन् । ०७७ फागुन देखि इसेवा मार्फत आफ्ना ग्राहकहरुलाई किस्ता तिर्ने सुविधा प्रदान गरेको लघुवित्तले आगामी ३ वर्षमा आफ्ना ४० प्रतिशत ग्राहक सदस्यहरुलाई मोबाइल बैंकिङ सेवा पुर्याउने लक्ष्य लिएको छ ।
संघीय शिक्षा ऐन मेरो प्राथमिकतामा छ : प्रधानमन्त्री ‘प्रचण्ड’
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सरकारले संघीय शिक्षा ऐन जारी गर्ने विषय आफ्नो प्राथमिकतामा राखेको बताएका छन् । शनिबार बिहान काठमाडौंको महेन्द्र माविमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले संघीय शिक्षा ऐन जारी गर्ने विषयमा सरकार गम्भीर रहेको बताए । प्रधानमन्त्रीले भने, ‘‘अघिल्लो सरकारको कार्यकालमा पनि संघीय शिक्षा ऐनका केही काम भएका छन् । तर, ऐन जारी भएन। यसपटक संघीय शिक्षा ऐन ल्याउने कुरा सरकारको प्राथमिकतामा छ। यो ऐन जारी गरेपछि शिक्षा क्षेत्र र शिक्षकहरूसँग सम्बन्धित अधिकांश समस्या सम्वोधन हुन्छन् ।’ ‘‘शिक्षक अस्पताल हाम्रै पहलमा अगाडि आएको छ’, प्रधानमन्त्रीले भने, ‘‘यसलाई सफल कार्यान्वयन गर्ने जिम्मेवारी पनि हाम्रै हो। यसका साथै शिक्षकहरूको सम्मानित जीवनका निम्ति हामीले केही न केही पहल लिनैपर्छ। त्यसतर्फ पनि सरकारले सोचिरहेको छ।’ देशको राजनीतिक परिवर्तन र सामाजिक रुपान्तरणमा शिक्षकहरूको अहम् भूमिका भएकोमा प्रधानमन्त्रीले जोड दिए । उनले भने, ‘‘सामाजिक चेतनाका निम्ति, राजनीतिक जागरण र राजनीतिक एवं सामाजिक उत्तराधिकारी निर्माणमा शिक्षकहरूको महत्वपूर्ण योगदान रहँदै आएको छ। यसमा हामी गर्व गर्नुपर्छ।’ एउटा पनि नराम्रो काम गर्दिनँ, गर्न दिन्नँ बैठकलाई सम्वोधन गर्दै प्रधानमन्त्रीले आफ्नो तेस्रो कार्यकाललाई चुनौतीपूर्ण अवसरका रूपमा चित्रित गरे । उनले भने, ‘‘तेस्रो कार्यकाल मेरा निम्ति चुनौतीपूर्ण अवसर हो । यसलाई हामीले पूराका पूरा सदुपयोग गर्न सक्नुपर्छ । म एउटा पनि नराम्रो काम नगर्ने र गर्न नदिनेमा सचेत छु। सिंगो देशले हामीलाई आशाको नजरले हेरिरहेको छ। जनताको त्यो आशालाई सम्वोधन गर्न तपाई हामी सबै गम्भीर र जिम्मेवार हुनुपर्छ।’ प्रधानमन्त्रीले भने, ‘‘मेरो पहिलो कार्यकालमा नयाँ नेपालको मार्गचित्र प्रस्तुत गरियो। विकास र समृद्धिको बिजारोषण गरियो। किसान लगायत जनताको ऋण मिनाहा गर्न, सामाजिक न्याय स्थापित गर्न जोड रह्यो। दोस्रो कार्यकालमा संविधान कार्यान्वयन, आर्थिक समृद्धि, संघीयताको जग बसाल्ने कामका लागि राम्रो पहल गरियो। तेस्रो कार्यकाल त्यसभन्दा नमुना बनाउनुपर्ने छ। त्यसैले सरकार सामाजिक न्याय, सुशासन र समृद्धिलाई केन्द्रमा राखेर काम गर्नेछ ।