द्रव्यलाभको लगानी १७ करोड ४२ लाख
काठमाडौं । द्रव्यलाभ बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक वर्ष २०७८र७९ मा चार करोड ७४ लाख ७२ हजार दुई सय रुपैयाँ सेयर पूँजी पुर्याएको छ । १२औँ वार्षिक साधारणसभामा अध्यक्ष भक्तबहादुर पराजुलीको पराजुलीले संस्थाले गत आवमा १६ करोड ७५ लाख छ सय ४८ रुपैयाँ बचत गरी १७ करोड ४२ लाख ३५ हजार ७३ रुपैयाँ ऋण लगानी गरेको जानकारी दिए । उनका अनुसार संस्थाले अघिल्लो वर्षको तुलनामा रु दुई करोड १३ लाख ७६ हजार तीन सय १० ले ऋण लगानी बढाएको छ । यसबाट संस्थाले तीन करोड १० लाख ३३ हजार ९६९ आम्दानी गर्न सफल भएको छ । सहकारीको कूल सम्पत्ति गत वर्षको तुलनामा रु एक करोड ८४ लाख ५१ हजार ७ सय ८१ ले बढेर रु २५ करोड ५७ लाख ७१ हजार ९५६ पुगेको छ । सहकारीका नौ सय दुई शेयर सदस्यमध्ये छ सय ५९ पुरुष र दुई सय ४३ महिला सदस्य रहेका छन् । सहकारीले आर्थिक वर्ष २०७८र७९ मा सरकारलाई रु छ लाख २६ हजार आठ सय ६८ कर बुझाएको छ । संस्थाको जगेडा कोषमा एक करोड दुई लाख ९५ हजार एक सय ९० जम्मा गरेको छ भने ऋण नोक्सानी कोषमा एक करोड १३ लाख १८ हजार तीन सय ७७ जम्मा गरेको जनाएको छ । संस्थाले सहकारी शिक्षा तथा तालिम कोष स्थापान गरी खुद नाफाको पाँच प्रतिशत रकम जम्मा गर्दै आएको छ । कार्यक्रममा कोषाध्यक्ष प्रेमबहादुर श्रेष्ठ, लेखा समिति संयोजक विष्णुप्रसाद आचार्य र ऋण उपसमितिका संयोजक गोविन्द श्रेष्ठले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए ।
शुक्लागण्डकीमा लागत साझेदारीमा सडक कालोपत्र
दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ घोर्मेस्थित नवीनटोल मार्गमा लागत साझेदारीमा सडक कालोपत्र गरिएको छ। स्थानीयवासी र नगरपालिकाको लागत साझेदारीमा उक्त मोटरमार्ग कालोपत्र गरिएको हो। आर्थिक वर्ष २०७८-७९ मा नगरस्तरीय साझेदारी योजनाअन्तर्गत शुक्लागण्डकी नगरपालिकाको ७० प्रतितश र स्थानीय उपभोक्ताको ३० प्रतिशत नगद योगदानबाट उपभोक्ता समितिमार्फत सडक कालोपत्र सम्पन्न भएको उपभोक्ता समितिकी अध्यक्ष घनकुमारी आलेले बताइन्। कुल ७० लाख तीन हजार तीन सय ५६ को लागतमा सम्पन्न सडक कालोपत्र योजनामा नगरपालिकाबाट ४९ लाख र स्थानीय उपभोक्ताबाट २१ लाख तीन हजार तीन सय ५६ को साझेदारी गरेका छन्। मोटरमार्गको एक किलोमिटर सडक कालोपत्र भएपछि स्थानीयवासीलाई सहज भएको अध्यक्ष आलेले बताइन्। ‘सडक कालोपत्र नहुँदा वर्षामा हिलो र हिउँदमा धुलोको समस्याबाट स्थानीयवासी पीडित थिए, सडक कालोपत्र भएपछि स्थानीयवासीलाई राहत महसुस भयो’, उनले भनिन्।
गरिबी निवारण गर्न कर्जा प्रदान गर्दै देव दर्शन
काठमाडौं । काठमाडौं उपत्यकाको पश्चिमी क्षेत्रमा सबैभन्दा वढी सेयर सदस्य रहेको देव दर्शन बचत तथा ऋण सहकारीले संस्थाले आर्थिक वर्ष २०७८/७९ मा मुनाफा आर्जन गर्न सफल भएको छ । विसं २०६६ असार ६ गतेदेखि कारोबार थालनी गरेको सो संस्थामा हाल ३ हजारभन्दा बढी सेयर सदस्य आबद्ध छन् भने कुल सम्पत्ति १ अर्ब १७ करोड ६५ लाखभन्दा माथि पुगेको छ । कोभिड सङ्क्रमणबाट उत्पन्न आर्थिक मन्दी, बैंक तथा वित्तीय संस्थाको सङ्ख्यात्मक वृद्धि, घरजग्गा व्यापारमा आएको मन्दी, तरलता र ब्याजदरलगायत कारण वित्तीय कारोबार गर्ने संस्थाले सन्तोषजनक उपलब्धि हासिल गर्न नसकिरहेको अवस्थामा पनि संस्थाले सो आवमा ९६ लाख २० हजार ८२८ मुनाफा कमाएको संस्थाको १४औँ वार्षिक प्रतिवेदनमा उल्लेख छ । संस्थाले सो आवमा आफ्नो कारोबार १ अर्ब १७ करोड ६५ लाख ७४ हजार ८६८ पु¥याएको थियो । आव २०७८/७९ मा सो संस्थाको निक्षेप सङ्कलन १ अर्ब छ करोड ५६ लाख २२ हजार र सेयर पुँजी ४ करोड २७ लाख ७ हजार पुगेको जनाइएको छ । प्रतिवेदनमा आव २०७९÷८० सेयर पूँजी ५ करोड पु¥याउने, निक्षेप सङ्कलन १ अर्ब २७ करोड र कर्जा लगानी २१ करोड पु¥याउने लक्ष्य लिएको उल्लेख छ । राष्ट्रिय सहकारी बैंक, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ, जिल्ला सहकारी सङ्घ काठमाडौँ तथा काठमाडौँ बचत तथा ऋण सहकारी सङ्घमा आबद्ध चन्द्रागिरि नगरपालिका–५ स्थित दाउराडिपोमा रहेको सो संस्थाले आफ्ना सेयर सदस्यतलाई ५ हजार सुत्केरी भत्तासमेत प्रदान गर्दै आएको छ । संस्थाका अध्यक्ष रामनारायण घिमिरेका अनुसार निक्षेप सङ्कलनतर्फ नियमित, देव दर्शन पेन्सन, बाल शैक्षिक, नारी उत्थान, किसान, साधारण, देव दर्शन विशेष, कल गोल्डेन, बोनसलगायत बचत सेवा सञ्चालित छन् । यसैगरी देव दर्शन पुलेसो, आवधिक, छोटो अवधि, व्यापारिक, घर, हायर पर्चेच, महिला उद्यमी, सेयर सदस्य सहुलियत, सामूहिक जमानी, कृषि, लघु, गरिबी निवारणलगायतका कर्जा तथा सापट योजना संस्थाले कार्यान्वयनमा ल्याइरहेको छ ।
ज्योति विकास बैंकको लाभांश घोषणा, बोनस सेयरभन्दा नगद बढी
काठमाडौं । ज्योति विकास बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंक सञ्चालक समितिको पुस २२ गते बसेको बैठकले गत वर्षको नाफाबाट ६.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस सेयर र ३.८० प्रतिशत नगद गरी कूल ६.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछन ।
नारायणगढ–मुग्लिन सडक : पुस ३० र माघ १ दिउँसो खुल्ला गरिने
चितवन । हिन्दूहरुको पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने माघे सङ्क्रान्ति मेलालाई लक्षित गरी नारायणगढ–मुग्लिन सडकखण्ड दुई दिन खुला रहने भएको छ। यही पुस ३० र आगामी माघ १ गते दुई दिन दिउँसोको समयमा पनि खुला गर्न लागिएको हो। प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार ती दुई दिन दिउँसोको चार घण्टा सडक रोकेर गरिँदै आएको काम स्थगन गरिने छ। तीर्थालुको चाप बढी हुने भएकाले सडक खुला राख्न लागिएको उनले जानकारी दिए। अहिले सो सडकखण्डमा बिहान ११ देखि दिउँसो ३ बजेसम्म सवारी रोकेर पुल निर्माणका लागि भित्तो काट्ने काम भइरहेको छ। देवघाटमा स्नान गर्न विदेशीसहित देशैभरबाट भक्तजन आउने गर्दछन्। देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री अधिकारीका अनुसार पाँच लाखभन्दा बढी भक्तजन आउने अपेक्षा गरिएको छ। गएका वर्षहरूमा कोभिडका कारण आउन नपाएकाहरू यस वर्ष आउने अनुमानका साथ तयारी गरिएको उनले बताए। देवघाटबाट त्रिशूली वारपार गर्ने झोलुङ्गे पुलको मर्मत गरिसकिएको छ। वेणीमा वारपार गर्न २२ वटा र्याफ्टिङको व्यवस्था गरिएको छ। दासढुङ्गामा पक्की पुल भएकाले देवघाटको वेणीमा स्नान र दर्शन गर्न चाहनेलाई सोही पुल प्रयोग गर्न आह्वान गरिएको छ। यसका कारण झोलुङ्गे पुल र डुङ्गाको चाप घट्ने अनुमान छ। समितिले एक सय ५१ सदस्यीय मूल समिति र उपसमिति निर्माण गरेर काम गरिरहेको छ। मुख्यरूपमा स्नान गर्न आउनेहरू पानीमा डुब्न सक्ने भएकाले नेपाली सेना, नेपाल प्रहरी र क्षेत्र विकास समितिले तयार गरेका उद्धार टोली तयारी अवस्थामा राखिँदै छ। विद्युत्, खानेपानी, यातायात, पार्किङ, शौचालयलगायतलाई व्यवस्थित गर्न विभिन्न उपसमिति बनेका छन्। सवारीको अत्यधिक चाप हुने भएकाले पुस ३० गते बेलुकादेखि माघ १ गते बेलुकासम्म देवघाट आवतजावतका लागि एकतर्फी बाटो तय गरिएको छ। देवघाट जानेहरूलाई रामनगर हुँदै जानुपर्ने छ भने फर्किँदा आँपटारीको बाटो प्रयोग गर्नुपर्ने छ। दासढुङ्गाको पुलतर्फबाट भने जाने आउने दुवै सुविधा रहने छ। पुस मसान्तको बिहान त्रिवेणीमा बाँसको लिङ्गो गाडी पूजा गरेर मकर सङ्क्रान्ति मेलाको शुभारम्भ गरिने छ। मकर मेलामा देवघाटमा स्नान गरेरमा पुण्य प्राप्ति हुने जनविश्वास रहिआएको छ।
मह बेचेर वर्षिक ३५ लाख आम्दानी गर्दै पर्वतका किसान
पर्वत । घर वरिपरि मौरीका घारैघार । घरअघि ठूलो सुन्तलाको बगैँचा छ । बिहानै उठेदेखि साँझ नपरुन्जेल तीनै मौरीका घारको हेरचाह गर्ने मोदी–२ देउपुरस्थित कोरुङ्गाका टीकाराम तिमिल्सिनाको दिनचर्या हो । परिश्रम र मेहेनत गर्ने हो भने गाउँमै बसेर पनि लाखौँ रुपैयाँ आम्दानी गर्न सकिन्छ भन्ने गतिलो उदाहरण उनले देखाएका छन् । विगत दुई दशकदेखि व्यावसायिकरूपमा मौरीपालन व्यावसाय गर्दै आएका कृषक तिमिल्सिनाले मह उत्पादन गरेर वार्षिक ३५ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । उनको घरमा अहिले एक सयभन्दा बढी मौरीका घार छन् भने ‘सिजन’मा यसको सङ्ख्या अझै थपिने गर्दछ । उनले ‘एपि सेरेना’ जातको मौरी पालनबाट मनग्य कमाइ गर्न सफल भएको बताए । सुरुका केही वर्ष चिसोका कारण ५० प्रतिशत घाटा व्यहोरेका किसान तिमिल्सिनाले पछिल्ला वर्ष सोचेजति नै आम्दानी हुने गरेको जानकारी दिए । उनले वर्षमा दुईपटक मह निकाल्ने गरेका छन् । विसं २०५७ बाट व्यावसायिक माहुरीपालन गर्न थालेका कृषक तिमिल्सिनाको मुख्य आम्दानी यही नै हो । उनले उत्पादन गरेको मह धेरै मात्रामा घरबाटै बिक्री हुने गरेको छ भने काठमाडौं, चितवन, बुटवललगायत बजारमा ब्रान्ड बनिसकेको छ । तिमिल्सिना जिल्लाकै नमूना मौरीपालक किसान हुन् । उनले गुणस्तरीय मह भएकाले अधिकांश मह घरबाटै बिक्री हुन्छ । उनले भने, ‘कुश्माबजार, बागलुङ, काठमाडौं, पोखरा र बुटवललगायतका क्षेत्रबाट पनि व्यवसायी घरमै आएर लैजाने गरेका छन् ।’ विभिन्न संस्थाको सहयोगमा तालिम लिएपछि तिमिल्सिना मौरीपालनमा हौसिएका थिए । उनले महमात्र बिक्री गर्दैन मौरीको घार र गोलासमेत बिक्री गर्ने गर्छन् । मौरीसहितको घार बिक्रीबाट बर्सेनि २० लाखभन्दा बढी आम्दानी हुन्छ उनले भने । उनको व्यवसायमा श्रीमती र छोराछोरीले समेत सहयोग गर्ने गरेका छन् । उनले वर्षमा तीन सय घारसम्म बिक्री गर्ने गरेका छन् । मौरीसहितका घार प्रतिगोटा रु नौ हजार र मह प्रतिकिलो रु एक हजारमा बिक्री गर्दै आएको उनले बताए । विभिन्न पालिकाले अनुदानमा वितरण गर्ने घार र मौरीको स्रोतसमेत तिमिल्सिनाको फार्म बनेको छ । उनले एक सिजनामा सात क्विन्टलभन्दा बढी मह काढ्दै आएको अनुभव सुनाए । सो जातको माहुरीको महभिर माहुरीकै जस्तै गुणस्तरीय हुने भएकाले राम्रो फाइदा हुने भनाइ कृषक तिमिल्सिनाको छ । अन्य जातको माहुरीको मह गुणस्तरीय नहुने भएकाले मूल्य कम पर्छ । त्यसमा पनि वनजङ्गलको जडीबुटी खाएका माहुरीको मह भएकाले गुणस्तर बढेको हो । मह राम्रो भएकाले बिक्रीका लागि समस्या नभएको तिमिल्सिना बताउँछन् । मौरीपालनमा अन्य पेसा व्यवसायजस्तो एकैपटकमा लाखौँ लगानी गर्न नपर्ने तर आम्दानी उल्लेख्य हुने यस व्यवसायमा लागेकाहरू बताउँछन् । तरकारी खेती, पशुपक्षी तथा कुखुरापालनमा जस्तो निरन्तर खट्नुपनि नपर्ने भएकाले मौरीपालनमा किसानको आकर्षण बढेको अर्का अगुवा कृषक उमाकान्त शर्माले बताए । उनका अनुसार अहिले जिल्लाका देउपुर, मल्लाज, भङ्गरा, कुर्घा, ठानामौला, पाङराङ, बाच्छा, लुङ्खुलगायत व्यावसायिक मौरीपालक किसानले बर्सेनि सय बढी मौरीसहितका घार उत्पादन गरेर बिक्री गर्दै आएका छन् । सोही अनुपातमा महसमेत उत्पादन भइरहेको छ ।
भेरी नदीमा अस्थायी पुल बनेसँगै डोल्पामा यातायात सेवा
डोल्पा । भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डको तल्लुबगरस्थित भेरी नदीमा अस्थायीरूपमा पुल बनाएपछि डोल्पामा सिधा यातायात सेवा सञ्चालनमा आएको छ। मजदुरले ज्याला नपाएको जनाउँदै पुल तर्न अवरोध गरेपछि डोल्पा जाने सवारीसाधन रोकिएका थिए। सो समस्या समाधान भएपछि आजबाट डोल्पा सिधा यातायात सेवा सञ्चालन भएको हो। सडक डिभिजन चौहरजहारीसँग समन्वय गरेर नेपालगञ्जबाट सिधा विकास निर्माण सामग्री ढुवानी गर्न बनाइएको उक्त पुलमा स्थानीय कामदार र जग्गाधनी मिलेर डोल्पा आउने मालवाहक गाडीलगायतका सवारीसाधन रोक लगाएका थिए। आजका दिनदेखि डोल्पा जाने सवारीसाधनलाई कुनै पनि रोकावट नभएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी अन्जन न्यौपानेले बताए। स्थानीय कामदार र जग्गाधनीले अवरोध गर्न खोज्दा समस्या भए पनि अब कुनै रोकावट नहुने र काठमाडौँ–नेपालगञ्जलगायतका अन्य जिल्लाबाट सिधैँ सवारीसाधन डोल्पा पुग्ने व्यवस्था मिलाइएको उनले बताए। ‘रुकुमपश्चिम र जाजरकोटले पुलका दुवैतिर प्रहरी गस्ती खटाएको छ, अब यायायात तथा ढुवानी व्यवसायीले ढुक्कसँग गाडी लैजाँदा हुन्छ । यदि त्यहाँ प्रहरीले पनि सहजीकरण गरेन भने सिधा मलाई फोन गर्नु’, प्रजिअ न्यौपानेले भने। दुवै जिल्लाका प्रहरीको टोलीले पुलको दुवैतिर लगाएको तारजाली र ताला हिजो नै हटाएको नलगाड नगरपालिका–१२ का वडासचिव रामप्रसाद शर्माले जानकारी दिए। दुवै जिल्लाका प्रहरीले गस्ती गरिरहेको र सवारीसाधन पुलबाटै आवत जावत भइरहेको उनले जानकारी दिए। अब नेपालगञ्जबाट सिधैँ डोल्पा गाडी आउँदा यात्रु तथा ढुवानी भाडादरसमेत घट्ने भएको छ। यही ठाउँमा नयाँ पुल निर्माणको कामसमेत चलिरहेको छ। अघिल्लो वर्ष निर्माण भइसक्नुपर्ने पुल यस वर्ष मात्र निर्माण सुरु गरिएको छ। अबको दुई महिनाभित्र पुल निर्माण सम्पन्न हुने निर्माण व्यवसायी बुद्धीबहादुर खत्रीले बताए। रासस
आजको मौसम : केही स्थानमा आंशिक बदली
काठमाडौं । देशको केही स्थानमा आंशिक बदली रही मौसम सामान्यतया सफा रहने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नं १, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । बिहानीपख तराईका धेरै भू–भागहरूमा हुस्सु–कुहिरो लाग्ने सम्भावना छ । राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरूको मौसम सामान्यतया रहने बताइएको छ । हाल देशका पहाडी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ भने तराईका धेरै भू–भागहरूमा हुस्सु–कुहिरो लागिरहेको अवस्था छ । महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम दुई दशमलव पाँच डिग्री र अधिकमत तापक्रम २० दशमलव दुई डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम माइन एक दशमलव पाँच डिग्री सेल्सियस र सबैभन्दा बढी दिपायलको अधिकतम तापक्रम २३ दशमलव छ डिग्री सेल्सियस रहेको छ ।