विकासन्युज

नेपाल लाइफले दियो ८ सय भन्दा बढी अभिकर्तालाई अन्तराष्ट्रिय प्रशिक्षण

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अभिकर्ताहरुलाएै प्रशिक्षण गरेको छ । कम्पनीले देशभरिका ८ सयभन्दा बढी अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुलाई अन्तराष्ट्रिय प्रशिक्षकबाट प्रशिक्षण गराएको हो । कम्पनीले पुस २३ गते एक दिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रम प्रदान गरेको हो । नायब महाप्रबन्धक उमापति पोखे्रलले कम्पनीको आगामी रणनीतिको बारेमा प्रकाश पारेका थिए । सहभागीहरुलाई प्रशिक्षण दिनका लागि भारतको मुम्बइबाट जीवन बीमाका अन्तराष्ट्रिय प्रशिक्षक तथा सफल जीवन बीमा अभिकर्ता राजेश सतोष्कार उपस्थित थिए । कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अमित कयालले आगामी दिनमा समेत कम्पनीले अभिकर्ताहरुको सीप विकास तथा मनोवल अभिवृद्धि लागि विभिन्न कार्यक्रम संचालन गर्ने बताए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले अभिकर्ताहरुको सिकाईमा थप टेवा पुग्ने बताए । व्यक्तित्व विकासमा सहयोग पुर्याउनुका साथै व्यवसाय विस्तारका लागि समेत उपयोगी सीपहरु विकास गर्न सहज हुने उनको भनाइ छ । असोज मसान्त सम्ममा कम्पनीको लगानी १४९.७६ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष १४२ अर्ब ९ करोड रुपैयाँ रहेको छ । यस्तै, कम्पनीको सेयरधनी कोष ११ अर्ब ३ करोड रुपैयाँभन्दा बढी रहेको छ । कम्पनीमा २ लाख १२ हजार ३६२ भन्दाबढी प्रशिक्षित अभिकर्ता रहेका छन् । कम्पनीले १ सय ९७ कार्यालय सञ्जालहरू मार्फत् सेवा प्रदान गरिरहेको छ । कम्पनीले हालसम्म १९७.१८ अर्ब रुपैया बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले २१ वटा बीमा योजना अन्तर्गत ३१ लख १५ हजार ४२० बीमालेख जारी गरिएको छ ।

कृषि व्यवसाय प्रवर्द्धन गर्न मेगा बैंकले गर्याे किन्निहो प्रालिसँग सम्झौता

काठमाडौं । मेगा बैंकले साना किसानहरुको कृषि व्यवसाय प्रवर्द्धनका लागि डिजिटल बैंकिङमार्फत वित्तीय सहयोग प्रदान गर्ने उद्देश्यले किन्निहो प्राइभेटसँग सम्झौता गरेको छ । काठमाडौंको कमलादीस्थित मेगा बैंकको कर्पोरेट कार्यालयमा मेगा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत तुल्सीराम पोखरेल र किन्निहोका अध्यक्ष विज्ञान घिमिरेले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतापश्चात् विदेशबाट फर्केका आप्रवासी कामदार एवम् साना तथा मझौला कृषकहरुलाई व्यवसाय विस्तार गर्न वा नयाँ उद्यम–व्यवसाय गर्नका लागि किन्निहोको सिफारिसमा बैंकले कर्जा प्रदान गर्ने भएको हो । नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रही साना मझौला उद्यमीलाई सहुलियतपूर्ण कर्जा प्रदान गर्नेछ । बैंकका कामु प्रमुख कार्यकारी अधिकृत पोखरेलले लघु, घरेलु एवं साना तथा मझौला उद्यमीहरुलाई व्यवसाय विस्तार गर्न आवश्यक कर्जा प्रदान गर्ने गरेको बताए । बैंकको गण्डकी र लुम्बिनी प्रदेशका जिल्लामा रहेका शाखामार्फत छिटो छरितो ढंगले सेवा प्रदान गर्ने उनले प्रतिबद्धता ब्यक्त गरे । मेगा बैंकले प्रवर्द्धन गर्दै आएको डिजिटल बैंकिङ उपकरण ‘मेगा किसान कार्ड’मार्फत गण्डकी र लुम्बिनी प्रदेशका कृषकहरुलाई किसान कार्ड वितरण गर्ने लक्ष्य राखेको छ ।

दुबईमा प्रेम बसेको रोज ग्राण्डा र जंगबहादुरको जोडीको मोरङमा ‘फुड ट्रक’ व्यवसाय

काठमाडौं । मोरङको सुन्दरहरैंचाका नेपाली युवासँग वैवाहिक सम्बन्धमा बाँधिएर नेपाल आएकी फिलीपिनो महिला रोज ग्रान्डा समाजका लागि उदाहरण बनेका छन् । कोरोनाकालमा आर्थिक अभावका कारण वैदेशिक रोजगारीमा जान ठिक्क परेका आफ्ना पति जङ्गबहादुर विश्वकर्मालाई नेपालमै काम गर्नका लागि ग्रान्डाले प्रोत्साहित गरे । ती दम्पतीले अहिले ‘फुड ट्रक’ सञ्चालन गरी प्रशस्त आम्दानी गरिरहेका छन् । विश्वकर्मा र ग्रान्डाले फुड ट्रक सञ्चालन गरिरहेका छन् । फुड ट्रक भनेको ४ चक्के गाडीमा मांसाहारी र शाकाहारी खानाका विभिन्न परिकार पकाएर बिक्री गर्ने होटल हो । विराटनगर–४ को कञ्चनबारीको सडक छेउमा यी दम्पतीले दिनको ३ बजेदेखि बेलुकीको ७ बजेसम्म फुड ट्रक चलाउने गरेका छन् । विराटनगरमा यो एकमात्र फुड ट्रक हो । फुड ट्रकबाट दैनिक १५ देखि २० हजार रुपैयाँसम्मको व्यापार हुने गरेको छ । वि.सं २०५२ मा दुबईको स्पिनिस क्याटेरिङमा व्यवस्थापक पदमा काम गर्न विश्वकर्मा दुबई गएका थिए । त्यहीको अर्को कम्पनी केयरफोरमा काम गर्ने फिलिपिन्सकी महिला ग्रान्डासँग विश्वकर्माको प्रेम बस्यो । २०७५ मा दुवै स्वदेश फर्किएर अदालतमा आधिकारिक विवाह गरे । वि.सं २०७६ चैत ११ गतेदेखि देशमा कोरोनाका कारण लकडाउन लागेपछि विश्वकर्मा र ग्रान्डालाई पनि आर्थिक समस्या पर्यो । लकडाउन खुल्नेबित्तिकै विश्वकर्माले पुनः वैदेशिक रोजगारमा जाने तयारी गर्न थाले । तर, ग्रान्डाले नेपालमै प्रशस्त सम्भावना देखिन् । आफ्ना श्रीमानलाई नेपालमा नै व्यवसाय गर्न प्रेरित गरिन् । ४ चक्के गाडीमा विभिन्न खानेकुराको परिकार बनाएर घुम्ती होटलको व्यवसाय चलाउनु विदेशमा सामान्य हो । क्याटेरिङमा काम गरिरहेका विश्वकर्मालाई खाना बनाउने ज्ञान थियो । ग्रान्डाको सल्लाह र सुझावमा विश्वकर्माले गाडी किने र होटलको आकार दिए । यसमा उनको २२ लाख रुपैयाँ खर्च भयो । गाडीवाला होटलले हाल दैनिक २० हजार रुपैयाँसम्मको कारोबार गर्ने गरेको छ । शान्त र जति पनि अवसर रहेको नेपाल छाड्न मनै नलागेको ग्रान्डाले बताइन् । उनले वैदेशिक रोजगारीमा जाने युवायुवतीका लागि नेपालमै प्रशस्त अवसर रहेको जनाईन् । ३ महिनाअघि मात्र नेपाली नागरिकता पाएकी ग्रान्डा आफ्ना श्रीमान् विश्वकर्मासँग अङ्ग्रेजीमा वार्तालाप गर्छिन् भने ग्राहकसँग मज्जाले नेपालीमा कुराकानी गर्छिन् । विराटनगर–४ स्थित नोबेल मेडिकल कलेजका चिकित्सक डा.सूर्यप्रकाश सोनीले आफू फुड ट्रकको नियमित ग्राहक भएको बताए । उनले फिलिपिन्सकी महिलाको मेहेनत देखेर आफू दङ्ग हुने गरेको बताए । विराटनगर–२ की रेणुका श्रेष्ठले गाडीमा पकाएको खाना स्वादिष्ट हुने गरेको तर्क गरिन् । उनले फिलिपिन्सबाट आएकी ग्रान्डाबाट विदेश जान खोज्ने युवायुवतीले धेरै कुरा सिक्न सक्ने बताइन् । जाँगर भए नेपालमा प्रशस्त आम्दानी गर्न सकिने भन्ने उदाहरण ग्रान्डाले प्रस्तुत गरेको श्रेष्ठले बताइन् । रासस ।

यूएईमा तलब नपाएर नेपाल फर्केका श्रमिकको बाँकी रकम दिने

काठमाडौं । कोरोना महामारीका बेला यूएईमा काम गरेको तलव भत्ता नपाएका नेपाली श्रमिकले दाबी भुक्तानी गर्न आग्रह गरेको छ । नेपाली राजदूतावास यूएईका तर्फबाट र कम्पनीको व्यवस्थापन पक्षसँग छलफल हुँदा तलब भत्ता भुक्तानी लिन बाँकी रहेका नेपालीहरुले १५ दिन भित्र दाबी पेश गर्नुपर्नेछ । नेपाली राजदूतावास अबुधाबी, यूएईको कात्तिक ३० को पत्रबाट संयुक्त अरब इमिरेट्स स्थित आइएमजी एडभेञ्चर कम्पनीमा काम गरेका नेपाली श्रमिकले लिन बाँकी रहेको तलब भत्ता दिने भएको हो । ‘कोरोना महामारीका कारण तत्कालीन समयमा श्रमिक व्यवस्थापनमा समस्या भएको र सो समयमा कार्यरत श्रमिकहरू भिजा रद्द गराई नेपाल फर्किएको हुँदा तलब भत्ता भुक्तानी लिन बाँकी श्रमिकको विवरण उपलब्ध गराइदिन लेखी आएकाले उल्लेखित बमोजिमका कुनै श्रमिकले भुक्तानी लिन बाँकी भए भुक्तानी दाबी गर्नुपर्नेछ,’ वैदेशिक रोजगार विभागले जारी गरेको सूचनामा उल्लेछ । तलब भत्ता नपाएका श्रमीकले विभागको प्रशासन शास्त्रामा पेस गर्नुपर्नेछ ।

सिटिजन लाइफले डाक्यो साधारण सभा, प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले पाँचौ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको पुस २७ गते बसेको सञ्चालक समितिको बैठले माघ १५ गते, आइतबार अलोफ्ट, काठमाडौं छायाँ कम्पलेक्समा अपरान्ह ५ बजे बोलाएको हो । कम्पनीको सभाले संचालक समितिको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन सहितको सम्पूर्ण वित्तिय विवरणहरु, आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने छ । कम्पनीको सभाले प्रिमियम मूल्यमा सर्वसाधारण सेयर (आईपीओ) सार्वजनिक निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, सभाले सञ्चालक नियुक्त पनि गर्नेछ ।

स्वावलम्बन लघुवित्तले माग्यो ५० जना कर्मचारी, शैक्षिक योग्यता कति ?

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तिय संस्थाले विभिन्न पदका लागि ठूलो संख्यामा कर्मचारी मागेको छ । लघुवित्तले कनिष्ठ सहायक प्रशिक्षार्थी पदका लागि ५० जना कर्मचारी मागेको हो । मान्यता प्राप्त शिक्षण संस्थाबाट न्युनतम एसईई वा सो सरह उत्तीर्ण भएको शैक्षिक योग्यता हुनपर्नेछ । साथै एसईईमा न्यूनतम १.६ ल्याएको हुनुपर्नेछ । साथै, कम्तिमा ३ महिना आधारभूत कम्प्युटर तालिम लिएको प्रमाणपत्र प्राप्त गरेको हुनुपर्नेछ । लघुवित्त संस्थाहरुमा काम गरेको अनुभव भएका तथा मोटरसाईकल तथा स्कूटरको चालक अनुमतिपत्र प्राप्त गरेका व्यक्तिहरुलाई प्राथमिकता दिइनेछ । ईच्छुक नेपाली नागरिकले १५ दिन भित्र आवेदन दिनुपर्नेछ ।

७ वर्षपछि प्रचण्ड-बाबुराम मिलनको तयारी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहा ९प्रचण्ड० र नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईबीच पार्टी एकताको तयारी भएको छ । प्रचण्ड र डा.भट्टराई ७ वर्षपछि फेरि एउटै पार्टीमा हुने तयारीमा जुटेका हुन् । शनिवार प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेसपाका अध्यक्ष भट्टराईबीच बालुवाटारमा भेट भएको थियो । त्यो भेटमा दुई पार्टीको एकता छिटो टुंग्याउने र समाजवादी कार्यक्रम मान्ने पार्टीहरू सहकार्य गर्न लुज फोरम बनाउने सहमति भएको छलफलमा सहभागी नेताहरूले बताएका छन् । यो भेटलगत्तै बसेको माओवादी केन्द्रीय कार्यालयको बैठकले बृहत् वाम एकताको पहलका लागि भन्दै उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा वार्ता टोली बनाएको छ । पाँच सदस्यीय वार्ता टोलीमा महासचिव देव गुरुङ र उपमहासचिवहरू गिरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्ति बस्नेत सदस्य छन्। नेसपाले भने भोलि राजनीतिक समितिको बैठक बोलाएको छ । यो बैठकले पार्टी एकतासम्बन्धी वार्ताका लागि टोली बनाउनेछ । नेसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठले भने, ‘दुवै पार्टीको वार्ता टोलीले पार्टी एकताका सबै विषयमा छलफल गरेर टुंगो लगाउँछ ।’ नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

प्राइम लाइफको साधारणसभा आज, १३.६८ प्रतिशत लाभांश र मर्जर प्रस्ताव पारित गर्ने

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको १५ औं वार्षिक साधारण सभा आज हुने भएको छ । कम्पनीको वार्षिक साधारण सभा आज पुस २४ गते, आइतबार अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा दिउँसो २ बजे हुने भएको हो । कम्पनीको सभाले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६८४२ प्रतिशत नगद गरी कूल १३.६८४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । कम्पनीको हालको चुक्ता पूँजी २ अर्ब ७७ करोड ९६ लाख १५ हजार रुपैयाँ रहेको छ । कम्पनीको सभाले संचालक समितिको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन सहितको सम्पूर्ण वित्तिय विवरणहरु, आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने छ । सभाले बोनस सेयर वितरण पश्चात् हदसम्म जारी तथा चुक्तापुँजी वृद्धि गर्न स्वीकृति प्रदान गर्नेछ । कम्पनीमा हाल कायम संस्थापक र सर्वसाधारण समूहको सेयर लगानी अनुपात क्रमशः ६०ः४० रहेकोमा परिवर्तन गरी ५१ः४९ कायम गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ । सभाले प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ एक आपसमा मर्जर गर्ने सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । कम्पनीले लाभांश वितरण तथा साधारणसभा प्रयोजनका लागि पुस ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले नेप्सेमा पुस ७ गतेसम्म कारोबार भई कायम सेयरधनीले मात्रै लाभांश प्राप्त गर्न सक्ने र सभामा भाग लिन सक्नेछन् ।