२१ प्रतिशत लाभांश दिने डिप्रोक्स लघुवित्तको प्रस्ताव
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तिय संस्थाले गत वर्षको नाफाबाट सेयरधनीलाई दिने लाभांश प्रस्ताव गरेको छ । लघुवित्तको सोमबार बसेको संचालक समितिको बैठकले सेयरधनीलाई २१.०५२६३२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । लघुवित्तले हाल कायम चुक्ता पूँजी एक अर्ब ३८ करोड रुपैयाँको १० प्रतिशत बोनस सेयर र ११.०५२६३२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश लघुवित्तको साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
‘खोरका सबै बङ्गुर मरे, पुनः विदेशिनु पर्ने भो’
तनहुँ। भीमाद नगरपालिका–६ का सुरवीर थापाले १७ वर्ष वैदेशिक रोजगारीमा बिताए। ‘सधैँ विदेशमा पसिना बगाउनुभन्दा स्वदेशमै केही गरौँ र परिवारको साथमा बसौँ’ भन्ने भावना बोकेर उनी चार वर्षअघि घर फर्केका थिए। घर फर्किएपछि थापाका दम्पतीले बङ्गुर व्यवसाय थाले। फार्ममा रहेका आठ बङ्गुर अप्रिकन स्वाइन फिभरका कारण एकाएक मरेपछि उनका सपना सबै चकनाचुर बन्न पुगेको छ। करिब २० धार्नी बढी किलोग्रामका बङ्गुर मरेर खोर नै रित्तिएपछि पुनः विदेशिनुपर्ने अवस्था आएको कृषक थापाले बताए। जिल्लामा पहिलोपटक भीमाद नगरपालिकामा अफ्रिकन स्वाइन फिभर सङ्क्रमण देखापरेसँगै बङ्गुर मरेपछि बङ्गुरपालन कृषक चिन्तित भएको भेटेरेनरी तथा पशुविज्ञ केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिए। उक्त रोगविरुद्व अहिलेसम्म भ्याक्सिन बनेको छैन। उनले भने, ‘नेपालमा अफ्रिकन स्वाइन फिभर देखापरेसँगै जिल्लाका कृषकलाई बङ्गुर घटाउन भने पनि नमान्दो धेरै क्षति व्योहर्नुपर्ने अवस्था देखिएको छ।’ अफ्रिकन स्वाइन फिभर सङ्क्रमण हुँदा बङ्गुरमा उच्च ज्वरो आउने, खाना मन नगर्ने, झोक्राउने, पेट र कानमा रगतका धब्बा देखापर्ने, मृत्युदर सय प्रतिशत हुनेलगायतका लक्षण देखापर्ने केन्द्र प्रमुख डा श्रेष्ठले बताए। थापाको फार्ममा रहेका आठवटै बङ्गुर अचानक मरेपछि पोखरास्थित प्रयोगशालामा परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर देखिएको उनले जानकारी दिए। केन्द्रका पशु चिकित्सक र प्राविधिक टोलीले अहिले जिल्लाका बङ्गुर फार्ममा पुगेर अनुसन्धान गर्न थालेका छन्। केन्द्रका प्रमुख डा श्रेष्ठले भने, ‘यस रोगका कारण एक चरण बङ्गुर मरेर सकिन्छ होला भन्ने अनुमान गरेका छौँ।’ तनहुँको भीमाद र म्याग्दे गाउँपालिका– ५ मा गरी हालसम्म २२ बङ्गुर मरिसकेको सो केन्द्रले जनाएको छ। रासस
लुम्बिनी प्रदेशमा सरकार गठनका लागि आज दाबी पेस गरिँदै
लुम्बिनी । लुम्बिनी प्रदेशमा सरकार गठनका लागि गठबन्धन दलहरुले आज दाबी पेस गर्ने भएका छन् । प्रदेश प्रमुखले बहुमतीय सरकार गठनका लागि दिएको समयसीमाभन्दा एक दिनअघि नै दलहरूले दाबी पेस गर्न लागेका हुन् । प्रदेश प्रमुख अमिक शेरचनले पुस २७ गते ४ बजेसम्म सरकार गठनका लागि समय दिनुभएको थियो । प्रदेशको भागवण्डा टुङ्गिएपछि लुम्बिनीमा नेकपा ९एमाले०ले मुख्यमन्त्री पाउने सहमति भएको छ । लुम्बिनीमा एमाले संसदीय दलका नेता एवं पूर्वमन्त्री लीला गिरी मुख्यमन्त्री बन्ने सम्भावना छ । सोमबार दाङको देउखुरीमा एमाले संसदीय दलका नेता गिरीसहित सत्तापक्षीय गठबन्धनका नेताहरूको बैठकले मङ्गलबार ४ बजे सरकार गठनका लागि बहुमतसहितको दाबी पेस गर्ने सहमति गरेका थिए । बैठकमा ४९ सदस्यको समर्थनसहित सरकार गठनका लागि दाबी पेस गर्ने सहमति भएको एमालेका प्रदेशसभा सदस्य भूमिश्वर ढकालले जानकारी दिए । लुम्बिनी प्रदेशमा एमालेका २९, नेकपा माओवादी केन्द्रका १०, राप्रपाका चार, जसपा र जनमतका तीन-तीन सदस्य छन् । कुल ८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सिट आवश्यक पर्छ । नागरिक उन्मुक्तिका चार र स्वतन्त्रबाट दुई सदस्य निर्वाचित छन् । कांग्रेसका २७, लोसपाका तीन र नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक-एक सदस्य छन् ।
साइन रेसुङ्गा डेभलपमेन्ट बैंककाे १४ प्रतिशत लाभांश पारित
काठमाडौं । साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको प्रस्तावित १४ प्रतिशत लाभांश पारित भएको छ । बैंकको सोमबार सम्पन्न १४ औं साधारण सभाले प्रस्तावित लाभांश पारित गरेको हो । बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस सेयर र ०.७० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो । यस्तै, सभाले २०७९/८० को लेखापरिक्षण गर्नको लागि लेखा परीक्षकमा एसआर एशोिपयट्सलाई नियुक्त गरेको छ ।
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?
काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला ४ सय रुपैयाँले घटेर १ लाख ३५ सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन सुन प्रतितोला १ लाख ३ हजार ९ सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ३ हजार रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन १ लाख ३४ सय रुपैयाँ थियो । त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला २५ रुपैयाँले घटेर १ हजार ३६५ रुपैयाँमा आएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।
७४ वर्षीय प्रेमबहादुरको सङ्घर्ष : छ दशकदेखि घुम्तीगोठमा गाईभैँसी पालन
बेनी । धवलागिरि गाउँपालिका–४ मुदीका प्रेमबहादुर घर्तीमगर उमेरले ७४ वर्ष पार गरे। उमेरले बुढ्यौली लागे पनि उनको दैनिकी भने घुम्ती गोठमै बित्ने गरेको छ। पुख्र्यौलीरूपमा गरिँदै आएको घुम्ती गोठ राखेर गाईभैँसीपालन गर्ने पेसालाई घर्तीमगरको परिवारले निरन्तरता दिएका छन्। छ बहिनी छोरी र दुई भाइ छोरासमेतको पारिवारिक जिम्मेवारीलाई घर्तीमगर र उनकी श्रीमती इनदेवीले घुम्ती गोठ राखेर जीविकोपार्जन गर्दै आएका छन्। हिउँदमा बेँसीका फाँटमा झरेका गाईभैँसीका गोठलाई घर्तीमगर दम्पतीले बर्खायाममा लेकका बुकीसम्मै पुर्याउने गर्छन्। घर्तीमगरको दम्पतीले यसरी गोठमै करिब छ दशक समय विताइसकेका छन्। उनीहरूको गोठमा अहिले ३२ भैँसी र २२ वटा गाई छन्। गोठमा रहेका गाइभैँसीमध्ये १२ वटा भैँसी र सातवटा गाई दुहुना छन्। गाईभैँसीको दूधबाट उत्पादन हुने घिउबाट आम्दानी हुने भए पनि गाईभैँसी नै बिक्री भने न्यून हुने गरेको प्रेमबहादुर बताउँछन्। गाईभैँसीको घिउ प्रतिमाना रु एक हजार २०० मा बिक्री हुने गरेको छ। ‘भूगोल टाढा छ, अनकन्टार जङ्गल, भिर, पहाडसम्मै पुगेर गोठ राख्छौँ, यहाँ गाईभैँसी नै किन्न आउनेको सङ्ख्या कम छ, थोरै मात्रामा राँगा र खेतबारी जोत्ने उद्देश्यले बहर गोरु बिक्री हुन्छन्, दुःखअनुसारको प्रतिफल नभए पनि हामीले गोठाला जीवनलाई निरन्तरता दिएका छौँ’, उनले भने। घर्तीमगरको पुर्खाहरूले समेत गोठ राखेर नै पशुपालन गर्दै आएका थिए। बुवा दलप्रसादले समेत पुर्खाहरूले गर्दै आएको भेडासहित गाईभैँसीपालन गरेका कारण आफूले पुर्खाको पेसालाई निरन्तरता दिएको प्रेमप्रसाद बताउँछन्। प्रेमप्रसादका छ भाइ दाजुभाइमध्ये चार परिवारले गाईभैँसी र भेडापालन गरेका थिए। अधिकांशले अहिले पनि घुम्ती गोठ राखेर गाईभैँसीपालन गर्दै आएका छन्। हिउँदयाममा लेकबाट मुदी फाँटमा झरेको घुम्ती गोठमा अहिले उनकी दुई छोरीले घर्तीमगरको दम्पतीलाई सारथि बनेर सहयोग गर्दै आएका छन्। यहाँका घुम्ती गोठलाई अर्चे, भारबाङ, धुलीबास, तिरिजा, लामठारा, सेतढुङ्गालगायतका ठाउँमा पुर्याउने गरिन्छ। भिर उक्लिएर बुकीसम्म पुग्नुपर्ने घर्तीमगर दम्पतीको दैनिकीमा उकाली–ओराली, अनकन्टार जङ्गलको बास, खोलानाला, बाढी, पहिरो, बर्खाको अविरल वर्षा र हिउँदको हिमपात जीवनमा दोहोरिरहने सङ्घर्षका पाटाहरू हुन्। छोराछोरीले गोठालो पेसा छाड्न अनुरोध गरे पनि उनीहरूको मन भने अझै गोठालो छाडेर घरमा बस्न मानेका छैन। ‘हामीले गोठमै जीवन फाल्यौँ, छोराछोरी हुर्कायौँ, पढायौँ, कोही विदेशसम्म पुगेका छन्, बाबुबाजेले पनि गोठ राखेर जीवन बिताए, हामीले पनि च्याट्ट छोड्न सकेका छैनौँ’, प्रेमबहादुरकी पत्नी इनदेवी घर्तीमगरले भनिन्। ‘मुदीको साहु’को नामले पारिवारिक विरासत बोकेका घर्तीमगरको परिवारले पुख्र्यौलीरूपमा गाईभैँसी र भेडापालनसँगै ठूलो मात्रामा खेतीबालीसमेत गर्ने गर्थे। आफूहरू सानो छँदा बुवाआमाले एक सय मुरीसम्म कोदो उत्पादन गरेको प्रेमबहादुर स्मरण गर्छन्। अहिले पनि पशुपालनसँगै परम्परागत खेतीका रूपमा कोदो, मकै, जौँ, गहुँलगायत खेतीलाई उनको परिवारले निरन्तरता दिएका छन्। अध्ययन र रोजगारको सिलसिलामा घर्तीमगर दम्पतीको जेठा छोरा र कान्छी छोरी जापान र कान्छा छोरा चीन पुगेका छन्। ठाइली छोरी जगदेवी स्वास्थ्यकर्मी र काइँली कमला शिक्षक छिन्। जेठी, माइली र साइली छोरीले गोठमा बस्नुपरेका कारण अध्ययनको उचित अवसर नभएकाले बुवाआमाकै गोठाला पेसामा आफूलाई समाहित गरेका छन्। बुवाआमाले गोठ नछाडेका कारण आफूहरू पनि उनीहरूकै दैनिकीमा लागेको साइली छोरी छानदेवी बताउँछिन्। ‘’घरमा गोठ भएपछि हामी पनि स्कुल नगएर गोठमै भुल्यौँ, पछि प्रौढ शिक्षामार्फत सामान्य लेखपढमात्रैमा सीमित भयौँ, अहिले बुवाआमासँगै गोठमै गाईभैँसीको स्याहारसुसार र रेखदेख गर्छौ’, उनले भनिन्। गाईभैँसीलाई चरनले मात्रै नपुग्ने भएकाले हिउँदयामका लागि खर, सुकेको घाँस र रुखको डाले घाँसको समेत बन्दोबस्त गर्नुपर्ने छानदेवीको भनाइ छ। तेह्र वर्षको उमेरदेखि नै गोठ बस्न थालेका घर्तीमगर हिजोआज भने गोठालो संस्कृति हराउँदै गएकामा चिन्तित छन्। उमेरका कारण गोठमा बस्न सक्ने अवस्था कमजोर बन्दै गएपछि उनले कसैले गोठ किनेर चलाए हुन्थ्यो भन्ने आशामा थिए। ‘पहिले यहाँका हरेक घरबाट गोठमा गाईभैँसी र भेडाबाख्रा पाल्न गोठाला बस्ने चलन थियो, पछिल्लो समय यो प्रचलन हराउँदै गएको छ, अहिले हामी केही हातमा गन्न मिल्नेमात्रै गोठाला छौँ, कसैले गोठ राखेर गाईभैँसीपालन गर्न चाहेमा मैले बिक्री गर्ने योजना बनाएको छु’, घर्तीमगरले भने। एकै ठाउँमा मात्रै राखेर पालन नगरिने र घुम्तीरूपमा गोठ सारिरहनुपर्ने भएकाले पनि प्रेमबहादुरलाई गोठालो जीवन सास्तीपूर्ण बन्न थालेको छ। घरबाट गोठसम्म खाद्यान्नलगायतका खर्चको भारी ल्याउन जानसमेत कठिन हुन थालेको उनको अनुभव छ। पुर्ख्यौली पशुपालनलाई व्यावसायीकरण बनाउन नसकेको र परम्परागत र निर्वाहमुखी पशुपालनबाट जीविकोपार्जन हुन नसकेपछि पछिल्लो समय ग्रामीण भेगमा घुम्ती पशुपालनको प्रचलन हराएर जान थालेको छ।
सहकारीको समस्या एक महिनाभित्र समाधान गर्छौं : मन्त्री भण्डारी
काठमाडौं । सहकारी क्षेत्रमा रहेका समस्या १ महिनाभित्र समाधान गर्ने विना विभागीय मन्त्री दामोदर भण्डारीले बताएका छन् । राष्ट्रिय सहकारी महासंघको आयोजनमा आज काठमाडौंमा भएको राष्ट्रिय गोष्ठीमा बोल्दै मन्त्री भण्डारीले सो बताएका हुन् । मन्त्री भण्डारीले सहकारीलाई अर्थतन्त्रभन्दा बाहिर राख्न नसकिने बताउँदै सबलीकरण गर्नेतर्फ सरकार सजग रहेको बताए । ‘समस्याको चाङमा चुनौतिको घेरामा सरकार निर्माण भएको छ, सहकारीलाई अर्थतन्त्रभन्दा बाहिर राख्न सकिँदैन, कल्पना गर्न सकिँदैन, सहकारीलाई सवलीकरण गर्नेतर्फ सजग छौं’, उनले भने । गरिव दुःखीले गास काटेर बचत गरेको पैसालाई दुरुपयोग गर्न नहुने बताउँदै उनले सहकारीका समस्या १ महिनाभित्र सम्बोधन गर्ने समेत बताए । सरकार भएको अनुभूति चाँडै नै दिने बताउँदै उनले सरकार सहकार्य गर्न चाहेको र सुरुको अवस्थामा नीतिमा स्पष्ट हुन चाहेको बताए । साथै उनले सत्ता साझेदार दलहरुले ल्याएको कार्यक्रममा पनि सहकारीको विषय भएको बताए ।
शर्तसहित प्रधानमन्त्रीलाई विश्वासको मत दिने एकीकृत समाजवादीको निर्णय
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने भएको छ । मंगलबार बिहान पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । पार्टीले प्रधानमन्त्री दाहाललाई शर्तसहित विश्वासको मत दिन लागेको पार्टीका उपमहासचिव एवं पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले बताए । यद्यपि विश्वासको मत दिएपनि सरकारमा सहभागी भने नहुने उनले जानकारी दिए । ‘राष्ट्रियता, सुशासन देशको बिग्रिँदै गएको अर्थतन्त्र र सुधारका लागि उपयुक्त राष्ट्रिय स्वाभिमान, सार्वभौम सत्ता, आदिका विषयमा अथवा विभिन्न राष्ट्रिय संवेदनशील विषयहरुमा सरकारले आवश्यक काम गर्नुपर्ने शर्त रहेको छ, पार्टीले राखेका एजेण्डा पूरा नगरे कुनैपनि बेलामा समर्थन फिर्ता लिनेगरी विश्वासको मत दिन्छौं,’ उनले भने । प्रवक्ता खतिवडाले दलका नेता एवं पार्टी अध्यक्ष माधवकुमार नेपालले संसदमा राखेका धारणाका आधारमा पार्टीले आफ्नो धारणा बनाउने पनि बताएका छन् ।