विकासन्युज

प्रतिपक्षविहिन बन्दै ‘प्रचण्ड’ नेतृत्वको सरकार

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार प्रतिपक्षबिहिन बन्ने भएको छ । सत्ता समिकरणमा सहभागी नभएको ठूलो राजनीतिक दल नेपाली कांग्रेसले पनि प्रधानमन्त्री पदमा समर्थन जनाउने निर्णय गरेपछि सरकार झण्डै प्रतिपक्ष बिहिन बन्ने भएको छ । प्रचण्ड नेकपा(एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीको समर्थनमा नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । त्यसरी नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सोही अनुसार आज उनले संसदबाट प्रधानमन्त्री पदको लागी समर्थन जुटाउँदै छन् । सत्ता साझेदारमा नरहेका नेपाली कांग्रेस, नेकपा(एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीले पनि प्रधानमन्त्री पदमा प्रचण्डलाई समर्थन गर्ने निर्णय भएपछि उनको नेतृत्वको सरकार झिनो संख्या बाहेक राष्ट्रिय समर्थनको सरकार बन्ने भएको छ । बहुमतको सरकार बनाउन संसदको संख्याअनुसार १ सय ३८ जना सांसदको समर्थन चाहिनेमा सरकार निर्माणको प्रकृयामा नै प्रचण्डले १ सय ६९ जना सांसदको समर्थन जुटाइसकेका छन भने कांग्रेस, समाजवादी र लोसपाले पनि समर्थन गरेपछि अब उनले २ सय ७२ जना सांसदको समर्थन पाउने भएका छन् । नेपाली कांग्रेसको मंगलबार बिहान बसेको संसदीय दलको बैठकले अचानक प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्ने निर्णय गरेपछि राजनीतिक रुपमा भने यसलाई शंकापूर्ण ढंगले हेरिएको छ ।

जुम्लामा रैथाने कागुनोको माग बढ्दो, विदेशी पर्यटकले कागुनोको चामल लैजाने

जुम्ला। जुम्लामा पछिल्लो समयमा कागुनोको माग बढ्न थालेको छ । यहाँका आठवटै स्थानीय तहमा उत्पादन हुने रैथाने बालीमध्ये कागुनो पनि हो । जिल्लाका किसानले विस्तारै सो खेती गर्न छाडेको तिला गाउँपालिका किसान बिमला नेपालीले बताइन् । कागुनोको उत्पादन कम भए पनि माग बढेको जुम्ला सदरमुकाम खलङ्गामा रहेको रारालिही अर्ग्यानिक पसलका सञ्चालक अर्जुन बुढाले बताए । किसानले ल्याएको कागुनोको चामल अत्यधिक बिक्री हुने गरेको छ । कागुनोको चामलको माग पूरा गर्न नसकिएको यहाँका अर्ग्यानिक पसलका सञ्चालक बताउँछन् । ‘गतवर्ष पनि माग राम्रपनि माग हुने गरेको थियो तर यो वर्ष व्यवसायीहरु किसानका घरमै पुगेर खरिद गरी बिक्री गरिरहेका छन्’, उनले भने । कर्णाली राजमार्ग हुँदै रारा घुम्न आउने पर्यटकले कागुनोको चामल खोजीखोजी लिने गरेको चन्दननाथ अर्गानिक पसलका कर्मचारी लक्ष्मी कुमाइले बताइन् । विदेशी पर्यटकले समेत कागुनोको चामल लैजाने गरेका छन् । चन्दननाथ बहुद्देश्यीय सहकारी संस्थाका प्रबन्धक ऋषिराम पाण्डेले भने, ‘कागुनो कुट्ने मेसिन उपलब्ध नहुँदा किसानले समस्या हुने गरेको छ । बाहिरी जिल्लाबाट आन्तरिक पर्यटनको प्रमुख रोजाइँ कागुनो चामल छ ।’ कागुनोको भात, यसलाई पिसेर पिठो बनाइ रोटी तथा ढिँडो बनाइ खान मिल्ने चन्दनाथ सहकारीका प्रबन्धक पाण्डेले जानकारी दिए । कागुनो समुद्री सहतदेखि दुई हजार मिटरमाथिको उचाइसम्म उत्पादन हुन्छ । उन्नत जातको कागुनोको विकास गर्न स्थानीय कागुनोका जातहरु सङ्कलन गरी उत्कृष्ट जातको पहिचान गर्न अनुसन्धान भइरहेको कृषि अनुसन्धान केन्द्र विजयनगर जुम्लाले जनाएको छ । कागुनो प्रायः फागुनमा मकैसँगै छरिने र छिटो पाक्ने अन्नमा पर्छ । जुम्लामा १५ हेक्टरमा कागुनो खेती हुने गरेको जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीले जानकारी दिए । जिल्लाका स्थानीय तहले पनि कागुनो खेतीलाई संरक्षण गर्नेका लागि कुनै कार्यक्रम लागू नगरेको यहाँका किसान बताउँछन् । रासस

गगनगौँडा फाँटमा उत्पादन बढ्दै, जमिन घट्दै

गण्डकी।  “यै माटो यही धर्तीमा लडिबुडी खेलेर हुक्र्यो तन जस्को अन्न र पानी खाई दिनुहँ जो पूर्ण भो जीवन त्यै धर्ती टुहुरो गराइ कसरी बस्छौँ युवा बाहिर यिन्लाई यसरी चटक्क भुलदा लाग्दैन कि क्यै पीर ?” (कुन्तीदेवी भट्टराईको ‘धरतीको पुकार’ नामक कवितामा भनेजस्तै पछिल्लो समयमा रोजगारीको खोजीमा युवा बाहिरिने क्रमसँगै खेतीयोग्य जमिन बाँझो हुँदै गएका छन् । पछिल्लो समयमा सिँचाइसँगै कृषिमा भित्रिएका आधुनिक प्रविधिले उत्पादन बढ्दै गए पनि जनशक्तिको अभावमा जग्गा बाँझै बसेका छन् भने कतिपय उब्जाउयोग्य जमिन पनि प्लटिङ गर्दै बस्तीमा परिणत हुँदै आएको छ । कृषिप्रति अनिच्छा बढिरहेको अवस्थामा पोखरा महानगरपालिका–३२ को गगनगौँडा क्षेत्रको फाँट भने यतिखेर तोरीबारीले पहेँलै बनाएको छ । तोरीसँगै झपक्क फुलेको फापर र लहलहाएको आलुबारी निकै मनमोहक देखिन्छ छ । यहाँ कृषिप्रति आकर्षण बढीरहेपनि बढ्दो बस्ती विकासका कारण बर्सेनि खेतीयोग्य जमिन घडेरी बन्दै बस्तीमा परिणत हुन थालेकोे स्थानीयवासी एवं स्कुल टोल विकास संस्थाका अध्यक्ष बलराम केसी बताउछन् । ‘फाँटमा कृषि उत्पादन बर्सेनि बढ्दै गएको छ नै त्योसँगै बढ्दो बस्ती विकासका कारण बर्सेनि घरहरू पनि थपिँदै गएका छन्’, उनि भन्छन्, ‘पछिल्ला केही वर्षदेखि यो फाँटमा १२ महिना खेती हुँदै आएको छ ।’ गगनगौँडा फाँटमा वर्षायाममा रोपिएको धान काटेसँगै आलु, फापर तथा तोरी लगाउने र आलु तथा तोरी भित्र्याएसँगै मकै लगाउने गरिएको छ । उत्पादन पनि अपेक्षित रुपमा राम्रो हुँदै जाँदा बर्सेनि कृषिप्रतिको आकर्षण बढिरहेको अध्यक्ष केसी उल्लेख गर्छन् । कृषि उत्पादन प्रतिको आकर्षणलाई दृष्टिगत गरी राज्यले पनि यस क्षेत्रमा चासो दिनुपर्ने उनको भनाइ छ । गगनगाँैडा फाँटमा विसं २०४५ अघिसम्म वर्षे धान मात्रै लगाउने गरिन्थ्यो । स्थानीयवासी एवम् बेगनास सिँचाइ उपभोक्ता समूह विटुका पूर्वअध्यक्ष घनश्याम खनालका अनुसार विगतमा एक बालीमात्रै उत्पादन हुने फाँटमा बेगनास सिँचाइ आयोजनाको नहर आएसँगै हिउँदमा पनि खेती गर्न थालिएको हो । बस्ती विकासका दृष्टिले गगनगाैडा पुरानै ठाउँ भए पनि बीचको समयमा औलोलगायत समस्याका कारण यहाँबाट अन्य स्थानमा बसाइँ सरेको पाइन्छ । औँलो उन्मुलनसँगै सिँचाइ उपलब्ध भएपछि विस्तारै यस क्षेत्रमा बसोबासको क्रम बढेको बताउँदै उहाँ प्राचीन बस्तीका रुपमा रहेका पुरानो गाउँ, ढकाल खोरलगायत स्थानमा अहिले भने बसोबास नरहेको उल्लेख गर्छन् । विशेष गरी गगनगौँडाको उपल्लो भागमा भरतपोखरी, निर्मलपोखरी, देउराली थुम्कीलगायत स्थानबाट धेरैजसो मानिस बसाइँ सरेर आएका छन् भने तल्लो भागमा सेराबेँसी, थप्रेक, नयाँगाउँ, चोयाबिसौना, दगामलगायत स्थानबाट बसाइँ सरेर आएका छन् । गगनगाैडाको बस्ती विकासमा बेगनास तालको पानी महत्वपूर्ण बनेको स्थानीयवासी बताउँछन् । लेखनाथ क्षेत्रको सबैभन्दा ठूलो यस तालबाट आएको पानीका कारण गगनगौँडासँगै खुदी, राजाचौतारा, मालमूललगायत स्थानमा सिँचाइ उपलब्ध भएको छ । कूल तीन दशमलव ७३ वर्ग किलोमिटर (३७३ हेक्टर) जमिन रहेको यस तालमा विसं २०४४मा बाँध बाधेपछि दुई सय २० हेक्टरबाट तीन सय ७३ हेक्टर क्षेत्रफल ओगटेको थियो । यही बाँधबाट निकालिएको नहरले गगनगौँडासँगै लेखनाथको खुदी, मालमूललगायत फाँटमा भएको सिँचाइले यस क्षेत्रको बस्ती विकासमा महत्वपूर्ण बनेको स्थानीयवासीको तर्क छ । सिँचाइको उपलब्धतासँगै यस क्षेत्रमा बर्सेनि कृषिप्रति आकर्षण बढ्दै गएको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरिया बताउछन् । गगनगौँडालगायत आसपासमा हिउँदे तोरी, आलु, फापर आदिको राम्रौ उत्पादन हुने गरेको उनको भनाइ छ । कृषिप्रतिको बढ्दो आकर्षणसँगै यस क्षेत्रमा कृषिको विकासलाई महानगरले प्राथमिकतामा राख्नका लागि पोखरा महानगरपालिका–३२ कै राजाचौतारा क्षेत्रमा केही दिन अघि मात्रै माटो परीक्षण गरिएको महाशाखा प्रमुख कडरिया बताउछन् । किसानबाट संस्थागतरुपमा प्रयास भएका अवस्थामा महानगरबाट सहयोग गर्न सहज हुने उल्लेख गर्दैै कडरिया त्यसका लागि उनीहरूको जागरुकताको आवश्यकता औँल्याउछन् । कृषियोग्य जमिनमा उत्पादन बढ्दो क्रममा रहेपनि बढ्दो बस्ती विकास भने चुनौतीका रुपमा रहेको उनको भनाइ छ । रासस  

महिला लघुवित्तले गर्यो ५० प्रतिशत लाभांश घोषणा  

काठमाडौं । महिला लघुवित्तले ५० प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकको मंगलबार सम्पन्न संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो । गत वर्षको नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँज ४७.५ प्रतिशत नगद लाभांश र २.५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । लघुवित्तको हाल चुक्ता पूँजी १४ करोड ७५ लाख रुपैयाँ रहेको छ । प्रस्तावित लाभांश साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

सरकारलाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने कांग्रेसको निर्णय

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने नेपाली कांग्रेसको निर्णय गरेको छ । मंगलबार संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो । बैठकले प्रतिपक्षीमा रहने गरी विश्वासको मत दिने निर्णय गरेको बताइएको छ । उक्त निर्णयमा दुई महामन्त्रीसहित ४ जनाले लिखित असहमति जनाएका छन् ।महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मा तथा नेताहरु अर्जुननरसिंह केसी र बलबहादुर केसीले निर्णयमा लिखित असहमति जनाएका हुन् ।

दोधारा चाँदनीमा सुक्खा बन्दरगाहको डिपिआर बन्दै

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ स्थित प्रस्तावित सुक्खा बन्दरगाह निर्माणको काम अगाडि बढेको छ । लामो समयदेखि चर्चामा रहेको सुक्खा बन्दरगाह निर्माणका लागि भारतको राइट्स कन्सल्टेन्सीले बन्दरगाहको डिपिआर बनाउन सर्वे थालेको नेपाल इन्टर मोडल यातायात विकास समितिका इन्जिनियर अनिश केसीले जानकारी दिए । उनका अनुसार सुक्खा बन्दरगाह भारतले निर्माण गर्ने समझदारी भएपछि डिपिआरका लागि भारतीय कम्पनीले सर्वे गरेको हो । ‘सुक्खा बन्दरगाह भारतको पूर्ण लगानीमा बन्ने भएको छ’, उनले भने, ‘भारतले एसियन राजमार्गसँग जोड्न पहुँच मार्गको काम सुरु गरिसकेको छ ।’ सुक्खा बन्दरगाहस्थलसम्म जोड्नका लागि भारतको एसियन राजमार्गसम्म भारतीय पक्षले साढे तीन किलोमिटर सडक बनाउन सुरु गरिसकेको छ । बन्दरगाहदेखि एकीकृत जाँच चौकीसम्मका सबै संरचना भारत सरकारले नै तीन वर्षभित्र निर्माण गर्ने समझदारी भएको नेपाल इन्टर मोडल यातायात विकास समितिले जनाएको छ । समितिले आयोजना निर्माणस्थल मायापुरी र गौरीशङ्कर सामुदायिक वनको जमिन अधिग्रहणका लागि वन मन्त्रालयमा फाइल पठाइसकेको जनाएको छ । वन मन्त्रालयबाट स्वीकृत भएसँगै निर्माणस्थलमा पर्ने रूख कटानको काम सुरु हुनेछ । बन्दरगाह निमार्णका लागि मायापुरी र गौरीशङ्कर सामुदायिक वनको करिब दुई सय ८० बिघा जमिन प्रयोग हुनेछ । लामो समय चर्चामा रहेको बन्दरगाह निर्माणका लागि सर्वे सुरु गरिएको नगरप्रमुख किशोर लिम्बूले जानकारी दिए । ‘सुक्खा बन्दरगाह बन्ने आशा पलाएको छ, यसले यहाँ ठूलो मात्रामा रोजगारी सिर्जना गर्छ’, उनले भने, ‘सरकारले प्राथमिकताका साथ समयमै सम्पन्न गर्न तदारुकताका साथ लाग्नुपर्छ ।’ दोधारा चाँदनीमा बन्दरगाह निर्माण भए सुदूरपश्चिम प्रदेशको समृद्धिको ढोका खुल्ने कञ्चनपुर उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष दिनेश मल्लले बताए । ‘सुक्खा बन्दरगाह बनेपछि भारतका औद्योगिक सहरसँगको पहुँच सहज हुनेछ’, उनले भने, ‘बन्दरगाहसँगै दैजीछेला औद्योगिक क्षेत्र निर्माण भए सुदूरपश्चिमको समृद्धिको ढोका खुल्छ ।’ विसं २०६४ मा पहिलो पटक सरकारले सुक्खा बन्दरगाह निर्माणको प्रस्ताव गरेको थियो । त्यसपछि पटक पटक अध्ययनका लागि टोली आए पनि काम अगाडि बढ्न सकेको थिएन ।

चितवनमा ‘टाइम कार्ड’ सुरु, समयसीमामा सेवा नदिनेबाट क्षतिपूर्ति भरण गरिने

चितवन। जिल्ला प्रशासन कार्यालय चितवनले सेवाग्राहीका लागि ‘टाइम कार्ड’ लागू गरेको छ । सेवा लिन आएका सेवाग्राहीले लामो समय कुर्नु नपरोस् भनेर टाइम कार्ड लागू गरिएको हो । ‘टाइम कार्ड’ लागू भएपछि सेवाग्राहीलाई तोकिएको समयसीमाभित्र सेवा नदिने जिम्मेवार कर्मचारीबाट सेवाग्राहीलाई क्षतिपूर्ति भरण गराइने छ । कर्मचारीहरुलाई सेवा प्रवाह प्रति जिम्मेवार बनाउन ‘टाइम कार्ड’ लागू गरिएको हो । प्रमुख जिल्ला अधिकारी अश्मान तामाङ्का अनुसार कार्यालयबाट दिइने सेवामा सेवाग्राहीलाई ‘टाईम कार्ड’ को व्यवस्था गरिएको हो । उनका अनुसार राष्ट्रिय परिचय पत्र, राहदानी, नागरिकता र प्रतिलिपि शाखा, मुद्दा शाखा लगायतका शाखामा ‘टाइम कार्ड’ लागू गरिएको छ । सेवाग्राहीलाई सहज बनाउनका लागि कार्यालय परिसरमा ‘हेल्प डेस्क’ राखिएको छ । जहाँबाट आवश्यक कागजपत्र पूरा भए नभएको हेरेर सेवाग्राहीलाई सेवाका लागि पठाइने गरिन्छ । कागजपत्र पूरा भएका सेवाग्राहीलाई मात्र ‘टाइम कार्ड’ दिइनेछ । राष्ट्रिय परिचयपत्रका लागि प्रतिघण्टा ३० जना, राहदानीमा प्रतिघण्टा २० जना र नागरिकता एवं प्रतिलिपी सेवाग्राहीको कागजपत्रका आधारमा एक घण्टाभित्र उपलब्ध गराउने गरी ‘टाइम कार्ड’ दिने गरिएको छ । सेवा लिन आएका सेवाग्राहीहरुले टाइम कार्ड लागू भएपछि तोकिएको समयमा सेवा पाएका छन् । अहिले कार्यालयबाट दैनिक रुपमा राष्ट्रिय परिचय पत्र १९० जना, नागरिकता १५० जना, राहदानी १३० जनाले सेवा लिने गरेका छन् । नागरिकता नयाँ बनाउने ८० जना र प्रतिलिपी लिने ७० जना हुने गरेको उनले बताए ।

हजारबाट सुरु भएको अल्फाबिटा अर्बको पुग्यो, कन्सल्टेन्सीमा यसरी बन्यो सफल

काठमाडौैं । झापाका शिवप्रसाद शिवाकोटीलाई वि.सं. २०२८ सालमा राजद्रोह मुद्दा लाग्यो । एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्वमन्त्री सीपी मैनाली, राधाकृष्ण मैनालीसँगै शिवाकोटी पनि एउटै पार्टीका सहयात्री थिए । राजद्रोहको मुद्दा लागेपछि उनी स–परिवार भारत हानिए । सरकारले उनको सबै सम्पत्ति राष्ट्रियकरण गरिदियो । उनको परिवारको १८ वर्ष भारतमै बित्यो । वि.स २०४६ सालको आन्दोलनपछि देशमा परिवर्तन आयो । त्यसपछि उनको परिवार नेपाल फर्कियो । सरकारले शिवाकोटीविरुद्धको मुद्दा फिर्ता लियो । उनको परिवार स्वतन्त्र बन्यो । त्यसपछि वि.सं. २०४८ सालमा सुरु भयो अल्फाबिटा । त्यतिबेला खासै कन्सल्टेन्सी थिएनन् । कोचिङ, ट्युसन, ट्राभल्स् एण्ड टुर गाईड, टिकेटिङ, कम्प्यूटर ट्रेनिङ हुन्थ्यो । अल्फाबिटाका अध्यक्ष द्विराज शर्माका दाई (युवराज शर्मा)ले अल्फाबिटाको स्थापना गरेका हुन् । जतिबेला द्विराज अध्ययनको लागि सिंगापुरमा थिए । शर्माले सिंगापुरमा रहँदै नेपालमा कन्सल्टेन्सी व्यवसायको सम्भावना भएको अनुमान गरिसकेका थिए । ‘सिंगापुरमा अध्ययन गरेर फर्किएँ, त्यतिबेलासम्म नेपालबाट अध्ययनको लागि विदेश जाने सिलसिलामा व्यावसायिक परामर्श दिने संस्थाहरु खुलिसकेका थिएनन,’ स्थापनाका दिनहरु स्मरण गर्दै उनी भन्छन्, ‘मैले नेपालमा यो व्यवसायको सम्भावना छ भन्ने अनुमान गरेको थिएँ, भोलि नेपालको विकास हुन्छ, नेपालीहरु पनि धनी हुँदै जान्छन्, त्यो अवस्थामा अन्तर्राष्ट्रिय स्तरको शिक्षामा नेपालीहरु पनि विदेश जान्छन्, दाईसँग सल्लाह गरेर अल्फाबिटा कन्सल्टेन्सी खोलेका हौं ।’ उनले सिंगापुरमा रहँदा धेरै चिनियाँ र अरु देशका नागरिकहरु पनि विश्वका विभिन्न विश्वविद्यालयमा ठूलो संख्यामा अध्ययनको लागि गएको देखेका थिए । आफ्नो अनुभव र अनुमान अनुसार नै शर्मा सन् २००० तिरबाट दाईले शुरु गरेको इन्स्टिच्युटबाट नै कन्सल्टेन्सी सेवाको शुरुवात गर्नतर्फ लागे । उनी पूर्व डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले समेत अल्फाबिटामा नै कम्प्यूटर सिकेको स्मरण गर्छन् । अल्फाबिटाको नामकरणको विषय पनि गज्जबको छ । विज्ञानका विद्यार्थीलाई कोचिङ पढाउने  अल्फाबिटा योजना थियो । विज्ञानमा बढी जस्तो अल्फाबिटा लगायतका शब्दहरुको प्रयोग हुन्छ । त्यसपछि कन्सल्टेन्सीको नाम नै अल्फाबिटा राखेको अध्यक्ष शर्मा बताउँछन् । अल्फाबिटाको नाम जुराउने व्यक्ति हुन् पुरुषोत्तम विष्ट । जो त्यतिखेरका सोही कम्पनीका लगानीकर्ता थिए । अहिले शर्मा एक्लै छन् । पछिल्लो २ दशक यता नेपालको शिक्षा क्षेत्रमा शैक्षिक परामर्श व्यवसायले आफ्नो उपस्थितिलाई जर्बजस्त बढाउँदै लगेको छ । शैक्षिक परामर्श व्यवसायीहरुको सहजीकरणबाट लाखौंको संख्यामा नेपालीहरु विश्वको विभिन्न विश्वविद्यालयहरुमा अध्ययनको लागि पुगेका छन् । जसमध्ये अधिकांशको शैक्षिकस्तर र जीवनस्तर पनि बदलिएको छ, अर्थात सम्पन्नतातर्फ उन्मुख भएका छन् । त्यतिमात्रै भएको छैन राज्यको अर्थतन्त्र विकासमा पनि उनीहरुले निकै महत्वपूर्ण योगदान पुर्याएका छन् । अध्यक्ष शर्मा अल्फाबिटा एजुकेसन कन्सल्टेन्सी पछिल्लो समयमा नेपाली विद्यार्थीहरुमाझ थप स्थापित र विश्वासिलो बन्दै गएका बताउँछन् । नेपालमा कन्सल्टेन्सी क्षेत्र व्यवसायको रुपमा स्थापित भई नसकेको अवस्थामा शुरु भएको कन्सल्टेन्सीले ठूलो आरोह अवरोह भोगेको उनको भनाई छ । नेपाली विद्यार्थी विदेश पढ्न जान लागेको लामो इतिहास भएको छैन । शर्माले यो सेवाको शुरुवात गर्दा नेपालमा यस्तो सेवा सञ्चालन गर्ने धेरै व्यवसाय थिएनन् । उनका अनुसार एउटा इन्टरफेस भन्ने अस्ट्रेलियन कम्पनी थियो, नोवेल इन्स्टिच्युट, युनिभर्सल, लगायत थोरै मात्रै थिए । त्यस्तै भाषा शिक्षा दिने संस्थाहरु १/२ वटा मात्रै थिए । तर, धेरै नेपाली कन्सल्टेन्सीभन्दा बाहिरबाट पनि अमेरिका गइराखेका हुन्थे । शर्मा भन्छन्, ‘अमेरिकामा खासगरी उच्च घरानियाका छोराछोरी पढ्न गइराखेका हुन्थे, युएसइएफ भन्ने छ, उनीहरुले पनि परामर्श दिने काम गर्दथे’, उनले भने, ‘अमेरिकाका विश्वविद्यालयहरुले कमर्सियल एजेन्ट राख्दैनथे, खासगरी अमेरिकामा साइलेन्टली ५/६ हजार विद्यार्थी गइराखेका हुन्थे ।’ पहिलेदेखि नै बुढानिलकण्ठ, सेन्ट जेभियर्स र भारतमा राम्रो स्कुलमा पढेर आएकाहरु अमेरिका अध्ययन गर्न जाने गरेको अन्य धेरै व्यक्तिहरुले पनि बताउँछन् । नेपालमा परामर्श सेवाको व्यावसायिक सेवा शुरु भएको भने अस्ट्रेलिया, युके र क्यानडाको भिसाको कारणले भएको शर्माको भनाइ छ । उनीहरुले जुन संख्यामा विद्यार्थीको माग गर्न थाले त्यसले सो क्षेत्रमा व्यवसायको शुरुवात गर्ने वातावरण नै निर्माण भएको उनी बताउँछन् । वातावरण बनेपछि भने विदेश अध्ययन गर्न जाने विद्यार्थीको संख्यामा विस्तारै वृद्धि हुन थाल्यो । ‘हामीले इन्स्टिच्युटको शुरुवात गर्दा अध्ययनको लागि अहिले जस्तै आम मानिसहरु विदेश जान्थेनन्, प्रायः उच्च वर्गका मानिसहरु मात्रै अध्ययनको लागि विदेश जान्थे, अहिले धेरै विद्यार्थीहरु जान थालेका छन्, सबै वर्गका मानिसलाई विदेश पठाउने, उच्च शिक्षा हासिल गर्न मद्दत गर्न हामीले धेरै भूमिका खेलेका छौं’, शर्माले भने । विदेशी विश्वविद्यालयहरुसँग सम्बन्ध विस्तार गर्ने विषय सामान्य होइन । त्यसमा विशेष प्रकारको क्षमताको आवश्यकता पर्छ । भाषाको विषय त झनै महत्वपूर्ण हुन्छ । भारत र सिंगापुरमा अध्ययन गरेको र अंग्रेजी भाषामा राम्रो क्षमता भएकाले शर्मालाई विश्वविद्यालयहरुसँग सम्बन्ध विस्तार गर्न समस्या भएन । अर्को त उनले सिंगापुरमा अध्ययनकै क्रममा धेरै अन्तर्राष्ट्रिय स्तरका मानिसहरुसँग डिल गर्न सिकिसकेका थिए । उनी भन्छन्, ‘कामको शुरुवात गरेको वर्षबाट नै सफलता प्राप्त गर्न शुरु गर्यौं, मैले सिंगापुरमा पढेर आएको त्यहाँ मैले सम्बन्ध बनाएको थिएँ, त्यसैले पनि शुरुवातको वर्षमा थोरै मात्रै संख्यामा विद्यार्थी सिंगापुर, केही साइप्रस र थोरै विद्यार्थी युके पठाउन सफल भयौं ।’ शुरुवातदेखि अहिलेसम्म व्यावसायिक सम्बन्ध विस्तार गर्दै जाँदा शर्माले विश्वका ५० वटा भन्दा धेरै देशको भ्रमण गरिसकेका छन् । पछिल्लो २० वर्षमा ३० पटक अमेरिका मात्रै पुगेको उनी सुनाउँछन् । व्यवसायको शुरुवात गरिसकेपछि सम्बन्धित क्षेत्रसँग सम्बन्ध विस्तार हुँदै जाने उनको बुझाइ छ । ‘विदेशी विश्वविद्यालयहरुलाई पनि विद्यार्थीको आवश्यकता पर्छ, सोही अनुसार उनीहरुले पनि एक प्रकारको मार्केटिङ गर्छन्, मैले पनि धेरै देशहरुमा यसकै लागि यात्रा गरें,’ उनी भन्छन्, ‘अल्फाबिटाको अर्को उपलब्धि भनेको हामीलाई सबैलाई समेट्न सक्यौं ।’ अहिलेको जस्तो सन् २००० तिर सूचना प्रविधिको विकास भइसकेको अवस्था थिएन । जसले गर्दा आम सूचनाको पहुँच सबै विद्यार्थीहरुमा थिएन । विदेशी विश्वविद्यालयहरुमा पढ्न जान सकिन्छ भन्ने कतिपयमा ज्ञानको समेत अभाव थियो । त्यसैले शुरुवातको अवस्थामा विद्यार्थी खोज्ने विषय पनि असहज भएको शर्माको अनुभव छ । सूचना प्रविधिको विकासको कारणले भने पछिल्लो समयमा काम गर्न सजिलो हुँदै गएको छ । ‘विद्यार्थी खोज्नको लागि विज्ञापन गर्थ्यौं, अहिलेको जस्तो इमेल इन्टरनेटको अवस्था थिएन, विश्वविद्यालयमा डकुमेन्ट पठाउनको लागि फ्याक्स कुरियरको सहायता लिनुपर्दथ्यो, प्रकृया शुरु गरेर सम्पन्न गर्न नै महिनौं समय लाग्थ्यो’, शर्माले आफ्नो अनुभव सुनाए । थोरै विद्यार्थीलाई विदेशी विश्वविद्यालयमा पठाउनेबाट शुरु भएको शर्माको अल्फाबिटा अहिले देशकै स्थापित कन्सल्टेन्सी बनेको छ । अहिलेसम्म कन्सल्टेन्सीले १० हजारभन्दा धेरै विद्यार्थीलाई विदेश अध्ययन गर्न जानको लागि सहजिकरण गरिसकेको उनी बताउँछन् । ‘औसतमा हाम्रो सहजिकरणबाट वार्षिक रुपमा ४/५ सय विद्यार्थी अध्ययनको लागि जाने गरेको उनी बताउँछन् । यसरी हेर्दा अहिलेसम्म १० हजार भन्दा धेरै विद्यार्थी गएको उनी सुनाउँछन् । ‘नेपालको भन्दा बढी बजेट एउटा विश्वविद्यालयको हुन्छ, विश्वमा सबैभन्दा राम्रो अनुसन्धान उनीहरुले गर्ने गर्छन्, शिक्षा र ज्ञान पाइने ठाउँमा स्वाभाविक रुपमा सबैको आकर्षण हुन्छ’, शर्मा भन्छन्, ‘नपढीकन राम्रो युनिभर्सिटी नगईकन सिक्न सकिँदैन, त्यसैले राम्रो शिक्षा र सुन्दर भविष्यको लागि धेरैले राम्रो विश्वविद्यालय रोज्ने गर्छन् ।’ आफूहरुको इमान्दारिता र मिहिनेतले नै सो क्षेत्रमा सफल हुन सकेको उनी बताउँछन् । मिहिनेत गरेर पैसा कमाउने आदर्श आफूहरुलाई आमाबुवाले नै दिएको उनको तर्क छ । ‘हामीले यसको शुरुवातदेखि निरन्तर मिहिनेत ग¥यौं, नतिजालाई पछ्याउने भन्दापनि निरन्तर मिहिनेत गर्ने कामलाई छोडेनौं, यो पेशामा हामीले रमाएर पनि काम ग¥यौं, जीवनमा आफुले गरेको कामलाई सफल बनाउनु पर्छ भनेर लाग्यौं, ‘क्लिन मनी’ कमाउनको लागि मिहिनेत नै गर्नुपर्छ, यसको आदर्श हामीलाई आमाबुवाले नै दिनुभएको हो’, शर्माले भने । अल्फाबिटाले परामर्श व्यवसायको क्षेत्रमा सकारात्मक प्रभाव पारेको उनको दाबी छ । आफूहरुले सोही क्षेत्रबाट आर्जन गरेको पुँजी देशभित्र नै विभिन्न क्षेत्रमा लगानी गरेर कर्पोरेटको विकास गरेको र जसको अन्य लगानीकर्ताहरुमा पनि सकारात्मक प्रभाव परेको उनले बताए । ‘धेरै परामर्श व्यवसायीको लागि सायद अल्फाबिटाले सकारात्मक प्रभाव पारेको छ, ‘मानिसहरुले पैसा आर्जन गरिसकेपछि जग्गामा लगानी गर्छन् भने हामीले यो क्षेत्रमा पैसा आर्जन गरेर कर्पोरेटको रुपमा विकास गर्यौं, कम्प्लेक्स बनायौं, यो सँगै जोडेर  यहीँ अन्य व्यवसायको विस्तार गर्यौं’, उनले भने, ‘यसको प्रभावको कारणले हुनसक्छ अरुले पनि अहिले आफूलाई कर्पोरेट ढंगले विकास गर्न थालेका छन् ।’ अल्फाबिटाले परामर्श व्यवसायको क्षेत्रमा सकारात्मक प्रभाव पारेको उनको दाबी छ । आफूहरुले सोही क्षेत्रबाट आर्जन गरेको पुँजीभित्र नै विभिन्न क्षेत्रमा लगानी गरेर कर्पोरेटको विकास गरेको र जसको अन्य लगानीकर्ताहरुमा पनि सकारात्मक प्रभाव परेको उनले बताए । ‘धेरै परामर्श व्यवसायीको लागि सायद अल्फाबिटाले सकारात्मक प्रभाव पारेको छ, ‘मानिसहरुले पैसा आर्जन गरिसकेपछि जग्गामा लगानी गर्छन् भने हामीले यो क्षेत्रमा पैसा आर्जन गरेर कर्पोरेटको रुपमा विकास गर्यौं, कम्प्लेक्स बनायौं, यो सँगै जोडेर निजी शैक्षिक क्षेत्रको विकासमा आफूहरुको पनि राम्रो योगदान रहेको उनी बताउँछन् । ‘हामीले स्कुल कलेजको क्षेत्रमा डनबस्को र ह्वाइट हाउस कलेज लगायतको क्षेत्रमा लगानी गर्यौं, जसले शिक्षामा निजी क्षेत्रको लगानीलाई पनि शुरुवात गर्ने वातावरणको लागि सकारात्मक प्रभाव छाड्ने काम गरेको छ,’ शर्माले भने, ‘स्कुल कलेजहरुलाई आधुनिकीकरण र गुणस्तरीय बनाउनको लागि हामीले शुरुवाती योगदान गरेका छौं, अहिले एउटा सफल व्यावसायिक ग्रुपको रुपमा परिचित छौं ।’ अल्फाबिटासँग काम गरेका र साझेदारी गरेका धेरै व्यवसायीहरुले पछिल्लो समयसम्म व्यावसायिक क्षेत्रमा निकै विकास गरेका छन् । शर्माका अनुसार अल्फाबिटामा सिकेर व्यवसाय शुरुवात गर्नेहरुले अहिले विश्वस्तरको कम्पनी सञ्चालन गर्न सफल भएका छन् । आफू पनि नेपालभन्दा बाहिर बसेर काम गरेको भए यहाँको तुलनामा धेरै विकास गर्न सकिने शर्माको भनाइ छ । ‘मुलुकभित्रको अस्थीर राजनीतिक अवस्थाको कारणले सबै उद्यमीहरुलाई काम गर्न सहज भइरहेको छैन, अल्फाबिटाले पनि धेरै प्रकारको संघर्ष गर्नुपर्यो’, उनी भन्छन्, ‘यही मिहिनेत विदेशमा रहेर गरेको भए धेरै ठूलो स्तरको विकास हुन सक्थ्यो भन्ने कुरा आज अरु व्यवसायीहरुको उदाहरणले देखाएको छ ।’ नेपालमा शैक्षिक परामर्श क्षेत्रमा सकारात्मक वातावरण सिर्जना गर्नको लागि सक्दो प्रयास गरेको उनको भनाई छ । उनका अनुसार  अल्फाबिटाले इथिकल परामर्श, विश्वस्तरको संरचना, गुणस्तरीय शिक्षक, विश्वविद्यालयसँग विश्वसनियता र सेवाको गुणस्तरलाई विशेषताको रुपमा स्थापित गरेको छ । मुलुकको अर्थतन्त्रमा रेमिट्यान्सले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । वैदेशिक रोजगारीमा जानेभन्दा अध्ययनको लागि जानेहरुको मुलुकमा ठूलो योगदान हुन लागेको परामर्श व्यवसायीहरुले बताउँदै आएका छन् । सरकारले विदेशमा अध्ययन गर्न गएका नेपालीहरुको अवस्था र तिनले नेपालको अर्थतन्त्रमा पुर्याएको योगदानबारे सरकारले आधिकारिक रुपमा लेखाजोखा गर्नुपर्ने शर्मा बताउँछन् । नेपालको राजनीतिक परिवर्तन र आर्थिक विकासमा विदेशमा रहेका शिक्षित नेपालीहरुले महत्वपूर्ण भुमिका खेल्ने गरेको उनको दाबी छ । शर्मा भन्छन्, ‘विदेशमा गएका नेपालीमध्ये ठूलो संख्यामा मजदुरीमा खाडी मुलुक गएकाहरु भन्दा विद्यार्थी भिसामा अन्य विकसित मुलुकमा गएका नेपालीहरुको आम्दानी पनि धेरै छ, नेपाल राष्ट्र बैंकले यो विषयमा लेखाजोखा के कति गरेको छ, तर यसको लेखाजोखा गर्न जरुरी छ ।’ शर्मा थप्छन्, ‘उनीहरुले मुलुकलाई आर्थिक, सामाजिक र सोचको हिसाबले कति योगदान पुर्याइरहेका छन भन्ने विषयको लेखाजोखा हुनुपर्छ, विदेश पढ्न गएका नेपालीले राज्यको अर्थतन्त्रको विकासमा कस्तो भूमिका निर्वाह गरिरहेका छन्, राजनीतिक परिवर्तनका लागि कस्तो भूमिका निर्वाह गरेका छन् भन्ने हेर्ने हो भने निकै राम्रो गरिरहेका छन् ।’ शर्माले अध्ययनको क्षेत्रमा गरिने लगानीलाई खर्च हिसाबले हेर्न नहुने बताउँछन् । विदेश अध्ययन गर्न जाने विद्यार्थीले अध्ययन, सीप र पैसा सबै ल्याउन सफल भएको उनको भनाइ छ । उनका अनुसार विदेशमा गएका विद्यार्थीहरु पछिल्लो समयमा हजारौं नेपालीलाई रोजगारी सिर्जना गर्ने तहमा पुगेका छन्, जसमा सूचना प्रविधि व्यवसाय थप सम्भावित भएर गएको छ । विदेश अध्ययन गर्न जाने नेपालीको लगानी सुरक्षित गर्नको लागि इन्स्योरेन्स सुरु गर्नुपर्ने जसले गर्दा भोलिको दिनमा कुनैपनि विद्यार्थीको लगानी डुब्ने अवस्था सिर्जना नहुने उनले बताए । ‘विदेश अध्ययनको लागि जाने विद्यार्थीले निश्चित शुल्क लिएर जान्छ, त्यसको लागि इन्स्योरेन्स गर्नुपर्ने आवश्यकता छ, त्यसो गर्न सकियो भने भोलिको दिनमा यदि कुनै विद्यार्थीको लगानी डुव्यो भने उसले राहत पाउने अवस्था सिर्जना हुनसक्छ’, उनले भने, ‘गलत डकुमेन्ट बनाएर काम गर्नेहरुको हकमा भने राज्यसँग कानूनी व्यवस्था छँदैछ ।’ कन्सल्टेन्सीहरुलाई शिक्षा मन्त्रालय मातहतमा राखेर गरिएको नियमन पनि स्वभाविक नभएको उनको भनाइ छ । ‘वास्तवमा यो सेवामूलक पेसालाई शिक्षा मन्त्रालय अन्तर्गत राख्न जरुरी होइन’, उनले भने, ‘किनकी हामीले विश्वविद्यालयको सूचना विद्यार्थीलाई दिने काम मात्रै गर्ने हो, त्यो पनि विश्वविद्यालयले काम दिन बन्द गर्दाको दिनबाट हाम्रो व्यवसाय बन्द हुन्छ ।’ ‘म काठमाडौं फर्कदा खल्तीमा ५०० डलर थियो, ५ सयमा लगानी सुरु गरेका हौं, केही समय सुरु गरेपछि पाँच लाखमा पनि नबिक्ने अवस्थामा थियो तर अहिले १० अंकभन्दा बढी भ्यालूको कम्पनी बनिसकेको छ, अझै विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दैछौं,’ उनी भन्छन्, ‘अल्फाबिटालाई यस क्षेत्रको अग्रणी र नमूना संस्था बनाउन चाहन्छौं, अहिलेसम्मको उपलब्धिमा हामी सन्तुष्ट छौं ।’ (देशविकास पत्रिकाको  वर्षअङ्क बाट) सम्बन्धित सामग्री :  सेयरबाट उद्यमी, ‘१० वर्षपछि अर्कै हुन्छ अम्बिका’ अर्बपति सन्यासी, पोल्ट्रीका फादर चम्किँदै चन्द्र, चौतर्फी प्रशंसा