काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने भएको छ । मंगलबार बिहान पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।
पार्टीले प्रधानमन्त्री दाहाललाई शर्तसहित विश्वासको मत दिन लागेको पार्टीका उपमहासचिव एवं पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले बताए । यद्यपि विश्वासको मत दिएपनि सरकारमा सहभागी भने नहुने उनले जानकारी दिए ।
‘राष्ट्रियता, सुशासन देशको बिग्रिँदै गएको अर्थतन्त्र र सुधारका लागि उपयुक्त राष्ट्रिय स्वाभिमान, सार्वभौम सत्ता, आदिका विषयमा अथवा विभिन्न राष्ट्रिय संवेदनशील विषयहरुमा सरकारले आवश्यक काम गर्नुपर्ने शर्त रहेको छ, पार्टीले राखेका एजेण्डा पूरा नगरे कुनैपनि बेलामा समर्थन फिर्ता लिनेगरी विश्वासको मत दिन्छौं,’ उनले भने ।
प्रवक्ता खतिवडाले दलका नेता एवं पार्टी अध्यक्ष माधवकुमार नेपालले संसदमा राखेका धारणाका आधारमा पार्टीले आफ्नो धारणा बनाउने पनि बताएका छन् ।