विकासन्युज

१३ प्रतिशत लाभांश दिने कृषि विकास बैंककाे घोषणा

काठमाडौं । कृषि विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको ११ प्रतिशत नगद (कर प्रयोजन) र २ प्रतिशत बोनस गरी कुल १३ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । साथै, बैठकले नेपाल सरकारको हाल कायम भएको फिर्ता नहुने अग्राधिकार सेयर पूँजीमा समेत वार्षिक ६ प्रतिशत हुने नगद लाभांश रकम समेत प्रदान गर्ने निर्णय गरेको छ ।

दिउँसो १ बजेलाई सर्‍यो प्रतिनिधिसभाको संसद बैठक

काठमाडौं । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेलाई सारिएको छ । बिहान ११ बजे निर्धारित बैठक दुई घण्टा पछि सारिएको हो । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिंदैछन् । नेपाली कांग्रेसको बैठक जारी रहेपछि बैठक सारिएको अनुमान छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा कांग्रेस पदाधिकारी बैठक लम्बिएकाले संसदीय दलको बैठकसमेत बस्न सकेको छैन । कांग्रेसले यो बैठकबाट प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने कि नदिने भन्नेबारे निर्णय गर्ने छ । आजै बिहान बसेको एकीकृत समाजवादीको बैठकले भने प्रधानमन्त्री प्रचण्डलाई   सर्तसहित विश्वासको मत दिने निर्णयगरेको छ ।

प्रभु बैंकले सेयरधनीलाई अधिकतम प्रतिफल दिने प्रयास गर्नेछ : सीइओ शेरचन

काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अशोक शेरचनले प्रभु र सेन्चुरी बैंकबीचको मर्जर नेपाली बैंकिङ क्षेत्रमा ऐतिहासिक भएको बताएका छन् । मंगलबार प्रभु र सेन्चुरी बैंकबीचको एकिकृत कारोबार सुरुवात गर्न गरिएको कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले मर्जरपछि सेयरधनीलाई अधिकतम प्रतिफल दिने प्रयास गर्ने बताए । ‘मेरो  नेतृत्वमा बैंकलाई थप उचाइमा पुर्याउने छु, अधिकतम प्रतिफल सेयरधनिलाई दिने प्रयास हुनेछ,’ उनले भने । दुई बैंक मर्जर भएपछि ३ हजार ५०० कर्मचारीको परिवार बनेको सीइओ सेरचनले जानकारी दिए । यस्तै, उनले आजदेखि ग्राहकले नयाँ स्वाद पाउने पनि बताए । ‘राष्ट्र बैंकको प्रतिस्पर्धात्मक निति अनुसार हामीहरु जहिले पनि अग्रसर रहेका छौं, ग्राहक, सेयरधनी लगायत सबैले कुनै प्रश्न नराख्ने गरि काम गर्ने छौ,’ उनले भने ।    

पाँच वर्षभित्र ६० लाखलाई सामाजिक सुरक्षाको दायरामा ल्याइने

काठमाडौं । सरकारले आगामी पाँच वर्षभित्र ६० लाख नागरिकलाई सामाजिक सुरक्षा भत्ताको दायरामा ल्याउने लक्ष्य लिएको छ । ज्येष्ठ नागरिक, दलित, एकल महिला, अपाङ्गता भएका व्यक्ति, लोपोन्मुख जाति तथा लक्षित वर्ग र क्षेत्रका बालबालिकालाई सामाजिक सुरक्षामा समेट्ने योजना सरकारले बनाएको छ । स्वदेश तथा विदेशमा, ज्याला रोजगारी तथा स्वरोजगारीमा रहेका सबैलाई योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा विस्तार गर्ने, प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत पालिकामा रहेको रोजगार सूचना केन्द्रमार्फत श्रमिक पञ्जीकरणको प्रणाली सुरु गर्ने भएको छ । श्रमजीवीको तथ्याङ्क दुरुस्त राख्ने तथा आर्थिक वृद्धिका आधारमा सबै प्रकारका भत्ता वृद्धि गर्ने र पाँच वर्षको अवधिमा न्यूनतम ज्याला मासिक रु २५ हजार पुर्याउने योजना समावेश गरिएको छ । वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउने तथा विभिन्न देशमा कार्यरत श्रमिकका सेवाका शर्त र सुविधा नेपाली श्रमिकको हितअनुकूल हुनेगरी नवीकरण तथा परिमार्जन गर्न विशेष पहल गर्ने सरकारको न्यूनतम कार्यक्रममा समावेश गरिएको छ । अनौपचारिक रूपमा वैदेशिक रोजगारीमा गएकालाई मुलुकको कानुनसँग मेल नखाने गरी बसिरहेकालाई वैधानिक हैसियतमा रूपान्तरण गर्न पहल गर्ने लक्ष्य राखिएको छ । वैदेशिक रोजगारमा गएकाको समस्या सुनुवाइका लागि हटलाइन सेवासहितको सहयोग सेल गठन गर्ने तथा उनीको उद्धारलगायत आवश्यक अन्य सहयोग गर्ने यसका लागि वैदेशिक रोजगार कल्याणकारी कोष सञ्चालन नियमावलीमा समयानुकूल सुधार गर्ने न्यूनतम कार्यक्रममा समावेश छ । खाद्य, आवास र खानेपानी जनताको मौलिक हकको रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ । ‘कोही भोकैपर्दैन, भोकले कोही मर्दैन’ को अवधारणा लागू गर्न कृषि उत्पादन वृद्धि र आपूर्तिमा व्यापक सुधार गर्ने सत्ता साझेदार दलको कार्यक्रममा समावेश छ । त्यसका लागि सबै पालिकामा खाद्य भण्डार स्थापना गर्नेर सबै प्रदेशमा खाद्य गुणस्तर मापन तथा निर्धारण प्रयोगशाला स्थापना गर्ने, कामका लागि खाद्यान्न तथा नगद कार्यक्रमबाट प्रतिवर्ष एक लाख परिवार र प्रधानमन्त्री रोजगार कार्यक्रमबाट प्रतिवर्ष तीन लाख परिवारलाई खाद्य सुरक्षा प्रदान योजना अगाडि सारिएको छ । कुनै पनि नेपाली नागरिक सडक मानवको अवस्थामा रहन नपर्ने सुनिश्चित गर्ने तथा आवासविहीनलाई सुरक्षित आवास र मर्यादित जीवन उपलब्ध गराउने तथा जनता आवास तथा सुरक्षित आवासका कार्यक्रम सञ्चालन गर्ने विषयलाई महत्वका साथ न्यूनतम कार्यक्रममा उल्लेख गरिएको छ । ‘एक घर एक खानेपानीको धारा’ कार्यक्रम सञ्चालन गरी सबै नागरिकको घरमा स्वच्छ खानेपानी पुर्याउने एवं सबै परिवारलाई मासिक १० हजार लिटरसम्म पानी निःशुल्क उपलब्ध गराउने विषयलाई कार्यक्रममा उल्लेख गरिएको छ । लिफ्ट प्रविधिबाट सञ्चालित खानेपानीको विद्युत् डिमाण्ड शुल्क हटाउने कार्यक्रममा समेटिएको छ ।

अब पाल्पाबाटै सवारी लाइसेन्स पाइने, हट्यो बुटवल धाउनुपर्ने बाध्यता

पाल्पा । सवारी चालकको अनुमतिपत्र लिन बुटवल धाउनुपर्ने बाध्यता हटेको छ। दुईपाङ्ग्रे सवारीसाधनको चालक अनुमतिपत्र अब पाल्पाबाटै सेवा थालनी गरिएको छ। सोमबार लुम्बिनी प्रदेश सरकारका श्रम तथा यातायात व्यवस्थामन्त्री पुरमती ढेँगाले तानसेन नगरपालिका–७ ठाँटीमा सो सेवाको शुभारम्भ गरेका छन्। सो अवसरमा उनले सवारी चालक अनुमतिपत्र लिन बुटवल जानुपर्ने समस्यालाई मध्यनजर गर्दै पाल्पाबाटै सेवाको थालनी गरिएको बताए। पहाडी जिल्लामै पहिलोपटक यातायात व्यवस्था सेवा कार्यालयले पाल्पाबाट सवारी चालक अनुमतिपत्रसम्बन्धी सेवा सुरु गरेको हो। यातायात व्यवस्था सेवा कार्यालय बर्तुङ्गमा सञ्चालनमा छ भने तानसेनको बाँसटारी नजिकै सुरु भएको सवारी चालक अनुमतिपत्रका सबै काम हुने बताइएको छ। बुटवलमा सवारी चालक अनुमतिपत्र लिनेको भीड लाग्ने र अर्कोतर्फ पाल्पासहित आसपासका जिल्लाका स्थानीयवासीलाई बुटवल आउनजान समस्या हुने भएकाले यहीँबाटै सेवा थालिएको छ। साना सवारीसाधनका लागि निर्माण हुने सवारी चालक अनुमतिपत्र परीक्षण केन्द्रमा काम सुरुआत भएसँगै चालु आर्थिक वर्षमा भवन निर्माणलगायतका काम हुनेछ। तीन करोड ५० लाख बजेट आवश्यक भए पनि यस वर्ष मन्त्रालयबाट एक करोड बजेट विनियोजन गरिएको छ। जिल्लामा पहिलोपटक दुईपाङ्ग्रे सवारीसाधनको सवारी चालक अनुमतिपत्रको सेवाबाट पाल्पासहित गुल्मी, स्याङ्जा, अर्घाखाँचीलगायतका स्थानीयवासीलाई सेवा लिन सहज हुने तानसेन नगरपालिका–६ का वडाध्यक्ष सागरमान महर्जनले बताए।

किसानलाई तरुल खन्न र बिक्री गर्न भ्याइ नभ्याइ

त्रिवेणी । माघेसङ्क्रान्ति नजिकिँदै जाँदा यतिबेला तरुल खन्न र बिक्री गर्न किसान व्यस्त बनेका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रमा उत्पादन भएको तरुल खनेर बजारमा बिक्रीका लागि उनीलाई भ्याइनभ्याइ भएको हो । माघेसङ्क्रान्तिमा तरुलको माघ धेरै हुने हुँदा यतिबेला किसानले आफ्नो बारीमा लगाएको तरुल खनेर बजारसम्म लैजाने काम गरिरहेका छन् । माघेसङ्क्रान्तिमा तरुलको माग पनि हुने र सहजरूपमा बिक्री हुने भएपछि आफूले लगाएको तरुल खनेर बिक्रीका लागि बजार लगेको हुप्सेकोट गाउँपालिका–५ का मकरसिंह सारुमगरले बताए। ‘अहिले तरुलको माग धेरै हुन्छ, बिक्री गर्न पनि समस्या हुँदैन, यसैले अहिले लगाएको सबै तरुल खनेर बजार पु¥याइयो’, उनले भने । आफूले यस वर्ष करिब दुई क्विन्टल तरुल बेचेको उनले बताए। धौवादीका शेरबहादुर झेडीमगरले पनि आफूले लगाएको तरुल खनेर बजारसम्म पु¥याइसकेका छन्। माघेसङ्क्रान्तिका दिनमा यसको महत्व हुँदा अहिले समयमै बजार पु¥याउन आफूहरू लागेको उनले बताए । ‘आजभोलिमा बेच्यो भने बेच्यो, पछि कसैले त्यति खोज्दा पनि खोज्दैन, भाउ पनि हुन्न त्यसैले अहिले लगाएको तरुल खनेर बेच्न चटारो छ”’ उनले भने । एक दिनका लागि धेरै उपभोग हुने र अन्य समय खासै महत्व नहुने हुँदा धेरै लगाउनसमेत जोखिम रहेको उनले बताए । तर अहिले लगाएको जति बजारीकरणमा भने समस्या नभएको मगरको भनाइ छ । पहाडी क्षेत्रमा धेरैजसो किसानले तरुल लगाउने गरेको उनको भनाइ छ । किसानले अदुवा खेतीसँगै बीचमा तरुल लगाउने गरेका छन् । सबैजसो किसानले पञ्जे (हात्तीपाइले) तरुल लगाउने गरेको उनको भनाइ छ । यो तरुल स्वादिलो हुने हुँदा माग पनि धेरै हुने कारणले किसानले पञ्जे तरुल लगाउने गरेको उनको भनाइ छ । तरुल लगाउने किसानलाई तरुल बिक्रीबाट घर खर्च चलाउन र माघेसङ्क्रान्ति मनाउन सहयोग पुग्ने गरेको उनको भनाइ छ । ‘तरुल बिक्रीबाट सामान्य घर खर्च पनि चल्छ, सङ्क्रान्ति मनाउन खर्च पनि पुग्छ’, उनले बताए। केही वर्षयताबाट तरुल उत्पादनमा भने कमी हुँदै गएको किसान तिलक रानाले बताए । कीरा लाग्ने समस्याका कारण पछल्ला केही वर्षयता उत्पादनमा भने कमी हुँदै गएको उनले बताए । अदुवा खेतीमा पञ्जे तरुल लगाउँदा राम्रो हुने र बाहिर लगाउँदा राम्रो नहुने हुँदा अदुवा लगाउने सबैजसो किसानले तरुल लगाउने गरेको रानाले बताए । तर पछिल्ला वर्षमा तरुलमा कीराको समस्या देखिएपछि किसानले थोरै–थोरै क्षेत्रफलमा लगाउने गरेको उनको भनाइ छ । यसले उत्पादनमा समेत कमी हुँदै गएको रानाले बताए । नवलपुरको पहाडी क्षेत्रबाट अहिले दैनिकजसो करिब १० क्विन्टल तरुल कावासोतीमा मात्रै आउने गरेको कावासोतीमा तरुल थोक बिक्रेताका रूपमा काम गर्दै आएका व्यवसायी लालबहादुर सारुले बताए । कावासोतीसहित दलदले क्षेत्रमा समेत सोही मात्रामा तरुल पहाडी क्षेत्रबाट किसानले ल्याउने गरेको उनले बताए । नवलपुरमा उत्पादन भएको तरुल स्थानीय बजारसँगै पोखरा र काठमाडौँमा खपत हुने गरेको उनको भनाइ छ । आफूले अहिले पहाडी क्षेत्रमा उत्पादन भएको तरुल दैनिकरूपमा पोखरा र काठमाडौँमा पठाउने गरेको सारुले बताए । दैनिकजसो किसानले ल्याएको तरुल बिक्रीमा समस्या नभएको र सबै खपत हुँदै आएको उनले बताए । सारुका अनुसार किसानले अहिले प्रतिकेजी रु ४५ सम्म बुझ्ने गरेका छन् । आफूहरूले बाहिरी जिल्ला पठाउँदा भने ढुवानीसहित सबै लागत जोडेर मूल्य प्रतिकेजी  ७० देखि  ८० सम्म पर्ने गरेको सारुले बताए । नेपाली समुदायमा माघेसङ्क्रान्तिमा तरुल, सखरखण्डसँगै चाकु, सेलरोटीलगायतका परिकार खाने प्रचलन रहेको छ ।

गृहमन्त्रीको निर्देशनपछि मिटरब्याजी माथि कारबाही गर्दै प्रशासन

महोत्तरी । गृहमन्त्रीको निर्देशनपश्चात जिल्ला प्रशासन कार्यालय महोत्तरीले मिटरब्याजीउपर धमाधम कारबाही प्रक्रिया अगाडि बढाएको छ । कार्यालयमा हालसम्म दुई सय ३४ मिटरब्याजीसम्बन्धी उजुरी परेको र प्राप्त उजुरीउपरको कारबाही प्रक्रिया द्रुतगतिका साथ अगाडि बढाइएको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले बताए । उनले मिटरब्याजसम्बन्धी प्राप्त उजुरीसँग सम्बन्धित व्यक्तिलाई त्यस कार्यालयबाट पत्राचार गर्ने, बोलाउने तथा छलफल गराउने तथा छानबिन प्रक्रियाजस्ता काम–कारबाही अगाडि बढाइएको उनले जानकारी दिए । उनले कार्यालयबाट ४९ जनालाई पत्राचार गरिसकिएको र चारवटा मुद्दामा सहमति भएको बताए । त्यस्तै प्राप्त उजुरीमध्ये ३६ मुद्दा प्रक्रियामा अदालतमा गइसकेको र पाँच उजुरीको मुद्दा अदालतमा चलिरहेको अवस्थामा रहेको उनले बताए । बाँकी उजुरीउपर कार्यालयले दुवै पक्ष विपक्षलाई बोलाएर धमाधम काम अगाडि बढाइरहेको जनाइएको छ ।

आजको मौसम : हल्का हिमपातको सम्भावना

काठमाडौं । पश्चिम न्यून चापीय प्रणालीको प्रभावले देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्यबदली रही केही स्थानमा हल्का हिमपात हुने भएको छ । देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको प्रभावले देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रही देशको उच्च पहाडी र हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । हाल सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली तथा तराईका केही भू–भागमा हुस्सु–कुहिरो लागेको छ । राति देशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा भई उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम तीन दशमलव पाँच डिग्री र अधिकमत तापक्रम २० दशमलव दुई डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइन तीन दशमलव आठ डिग्री सेल्सियस र सबैभन्दा बढी विराटनगरको अधिकतम तापक्रम २४ दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।