विकासन्युज

काठमाडौंमा अब साइकल र ठेलागाडामा व्यापार गर्न प्रतिबन्ध

काठमाडौं । काठमाडौं महानगरपालिकाले साइकल र ठेलागाडामा व्यापार गर्न प्रतिबन्ध लगाएको छ । मंगलबार एक सूचना जारी गर्दै महानगरपालिकाले ठेलागाडा वा साइकलमा सामान राखेर व्यापार व्यवसाय गर्न रोक लगाएको हो । महानगरले सडकपेटीमा अनधिकृत रुपमा व्यापार व्यवसाय गर्ने, निजी प्रयोगका सामग्रीहरु राख्ने, ठेलागाडा वा साइकलमा सामान राखी व्यापार व्यवसाय गर्ने लगायतको कार्यले सार्वजनिक आवागमनमा बाधा अवरोध पुगेको बताएकाे छ । ‘काठमाडौं महानगरपालिका क्षेत्रभित्रका सडकपेटी (फुटपाथ)वा अन्य सार्वजनिक स्थलमा जुनसुकै तरिकाले व्यापार व्यवसाय गरेमा वा फुटपाथलाई अनधिकृत रुपमा प्रयोग वा कब्जा गरेमा त्यस्तो मालसामान, अनुचित प्रयोग वा व्यापार प्रयोजनार्थ राखिएको अन्य संरचना, अन्य सामग्री वा मालसामान जफत गरिनेछ,’ सूचनामा भनिएको छ ।  

सेञ्चुरी नाम राखेर १०० वर्ष पुरा गर्ने योजना बनाएको बैंक १२ वर्षमै विलय

काठमाडौं । बैंकिङ्ग क्षेत्रमा कान्छो बैंकका रुपमा स्थापित सेञ्चुरी कमर्सियल बैंक प्रभु बैंकसँग मर्ज भएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरी प्रभु र सेञ्चुरीबीच एकीकृत कारोबार सुरु भएको हो । बैंकको नाम सेञ्चुरी राखेर एक शताब्दी पुरा गर्ने लक्ष्य लिएको यो बैंक १२ वर्षको यात्रामै प्रभु बैंकमा समाहित हुन पुग्यो । सेञ्चुरी वि.सं. २०६७ माघ ९ गते ३१ औं वाणिज्य बैंकका रुपमा स्थापना भएको बैंक हो । बैंकिङ क्षेत्रमा सबैभन्दा कान्छो बैंक सेञ्चुरी हो । तर, आज प्रभु बैंकसँग गाभिएपछि सेञ्चुरी बैंकको इतिहास मेटिएको हो । सेञ्चुरीले आफ्नो १२ वर्षको इतिहासमा विभिन्न ५ वटा बैंक तथा वित्तीय संस्थालाई गाभेको छ । बैंकले अरनिको डेभलपमेन्ट बैंक र इन्नोभेटिभ डेभलपमेन्ट बैंकलाई वि.सं. २०७४ जेठ २८ गते गाभेको थियो । यस्तै, सगरमाथा फाइनान्सलाई प्राप्ति गरी वि.सं. २०७४ असार ३१ गतेर अल्पाईन डेभलपमेन्ट बैंक र सेती फाइनान्सलाई वि.सं. २०७४ मंसिर २४ गते गाभेको थियो । छोटो समयमा आधा दर्जन संस्थालाई आफूमा गाभेपछि अन्य बैंकलाई चुनौति दिने रणनीतिका साथ बैंकिङ बजारमा होमिएको सेञ्चुरीले एक शताब्दी अर्थात सय वर्ष आफ्नै नाम र आफ्नै ब्राण्डमा स्थापित हुने योजना बनाएको थियो । तर, १२ वर्षमै प्रभुसँग गाभिन बाध्य भयो । सेञ्चुरी बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठ सबैभन्दा कान्छो बैंकको हैसियत समाप्त भएपनि मर्जरपछि टप फाइभमा पुग्दा खुसी भएको बताउँछन् । तर, नाम नामेट हुँदा भने दुःख लागेको उनको भनाइ छ ।  बिदाई गर्नु जहिल्यै दुखद क्षण भएपनि त्यो विदाई सही कारणका लागि पनि हुने उनको धारणा छ । सेञ्चुरी बैंक सुरुमा ५६८ जना सेयरधनी मिलेर स्थापना भएको बैंक हो । अध्यक्ष श्रेष्ठले प्रभु र सेञ्चुरी बैंकको मर्जरले विकास निर्माणमा कोशेढुंगा सावित हुने बताए । ‘यसअघि ठूलो आयोजना निर्माणका लागि धेरै बैंकको सहयोग खाँचो पथ्र्याे, अब मर्जर पश्चात् एउटै बैंकले मेगा प्रोजेक्ट गर्न सक्छ, दीगो अर्थतन्त्र र विकासका लागि कोसेढुंगा सावित हुनेछ,’ उनले भने । २०७० सालमै मर्जरको प्रस्ताव प्रभु बैंक बन्नु अघि फाइनान्स कम्पनीका रुपमा कारोबार गथ्र्याे । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको संख्या घटाउन मर्जर नीति अघि सार्याे । प्रभु फाइनान्सले २०७० सालमा सेञ्चुरी बैंकलाई मर्जरका लागि प्रस्ताव गर्याे । तर, सेञ्चुरी बैंकले अस्वीकार गर्याे । प्रभु विकास बैंक, प्रभु फाइनान्स र वैभव फाइनान्स मर्ज भएर २०७० असार ३० गते एकीकृत कारोबार गरे । फाइनान्स कम्पनीबाट विकास बैंक बनेपछि वाणिज्य बैंक बन्ने इच्छा जाग्यो । तत्कालीन किस्ट बैंकका सञ्चालकले गैरकानुनी ढंगले बैंकको रकम हिनामिना गरेपछि बैंक डुब्यो । खारेजीको अवस्थामा रहेको किस्ट बैंकलाई प्रभु बैंकले गाभ्यो । प्रभुले किस्टसँगै जेनिथ फाइनान्स र गौरीशंकर डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेर २०७१ मंसिर ५ गतेदेखि वाणिज्य बैंकको रुपमा स्थापित भयो । बैंकले पुनः ग्राण्ड बैंक नेपालसँग मर्ज गरेर २०७३ माघ २ गते एकीकृत कारोबार गर्याे । प्रभु बैंकले मर्जर तथा गाभेका संस्थाहरु वित्तीय सूचकमा खासै बलिया थिएनन् । अन्य बैंक तथा वित्तीय संस्थाले मर्ज गर्न नमानेका संस्थालाई प्रभु बैंकले लिन थाल्यो । हाल सञ्चालमा रहेका बैंकहरुमा सेञ्चुरी बैंक पुच्छारमा रहेको बैंक थियो । कमजोर रहेका संस्थालाई गाभ्दै पाठ सिकेको प्रभुले सेञ्चुरीलाई गाभेपछि आगामी दिनमा थप शसक्त बैंकको रुपमा बजारमा उभिने प्रभु बैंकका पूर्व अध्यक्ष समेत रहेका प्रतिनिधि सभा सदस्य देवी प्रकाश भट्टचन बताउँछन् । सबल र सुदृढ बैंकका रुपमा सबै कर्मचारीलाई व्यवस्थापन गरे अघि बढ्नुपर्ने उनले बताए । ‘प्रभु बैंक विभिन्न समयमा फाइनान्स कम्पनीलाई एकीकृत गर्दै अहिले ठूलो बनेको छ, उनले भने, ‘पूर्व गभर्नर चिरञ्जीवि नेपाल छिटो–छिटो लभ गर्नुहोस्, मर्जरमा जानुस् भन्नु हुन्थ्यो, वैवाहिक जीवनमा सम्बन्ध बिग्रँदा फेरी छुट्टिएर बस्न सकिन्छ तर मर्जरमा छुट्टिने छुट कसैलाई हुँदैन, सेयरधनीहरु अब एक भएर काम गर्नुपर्छ ।’ प्रभु बैंक र सेञ्चुरी बैंकबीचस्वाप रेसियो १ः१ अनुपातमा एकीकृत कारोबार भएका हुन् । अर्थात् मर्जर पश्चात्सेञ्चरी बैंकको १ सय कित्ता सेयर हुने सेयरधनीहरूले प्रभु बैंकको पनि १कित्ता नै सेयर पाएका छन् । अध्यक्ष लिला प्रकाश सिटौला बनेका छन् । सञ्चालकहरुमा रमेश सिंह खड्का, शंकर प्रसाद कालिकोटा, रामेश्वर सापकोटा, मन बहादुर राई, अभिषेक बज्राचार्य र गीता प्रधान छन् । मर्जरपश्चात् प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन र मनोज न्यौपाने वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) बनेका छन् । सीईओ शेरचनले प्रभु र सेन्चुरी बैंकबीचको मर्जर नेपालको बैंकिङ्ग क्षेत्रमा ऐतिहासिक भएको बताए । उनले आजदेखि ग्राहकलाई नयाँ स्वाद दिने बताए । राष्ट्र बैंकको नीतिलाई जहिले पनि बैंकले पालना गर्ने गरेको र मर्जर पश्चात् ग्राहकलाई फरकपन महशुस हुने गरी सेवा प्रदान गर्ने उनको भनाइ छ । सेयरधनी लगायत ग्राहकले कुनै गुनासो नगर्ने गरी सेवामा सुधार गर्ने उनले बताए । मर्जर पश्चात् बैंकको कूल सम्पत्ति ३ खर्ब ४० अर्ब रुपैयाँ पुगेको छ । प्रभु बैंकको चुक्ता पूँजी २३ अर्ब ५२ करोड रुपैयाँ पुग्नेछ ।बैंकको निक्षेप २ खर्ब ८४ अर्ब रुपैयाँ रकूल कर्जा २ खर्ब ५३ अर्बरुपैयाँ पुगेको छ । बैंकको शाखा सञ्जाल ३६५ वटा र ३०९ वटा एटिएम मेसिन पुग्नेछन् । यस्तै, बैंकको ग्राहक संख्या ३० लाख बढी रहेका छन् भने एक्सटेन्सन काउण्टर ७२ वटा पुगेका छन् । मर्जर पश्चात् ३ हजार ५५५ जना कर्मचारी संख्या पुगेका छन् । प्रभु बैंकका ३ लाख ४६ हजार ९४० सेयरधनी छन् । बैंकमा ६२ प्रतिशत पुरुष र ३८ प्रतिशत कर्मचारी महिला काम गरिरहेका छन् । बैंकको केन्द्रिय कार्यालय प्रभु बैंकको हालको केन्द्रिय कार्यालयलाई तोकिएको छ ।

अब हिमालयन बैंकमा लाइन नबसी पैसा डिपोजिट गर्न सकिने

काठमाडौं । हिमालयन बैंकले विभिन्न शाखाहरुमा क्यास रिसाइक्लर मेसिन संचालनमा ल्याएको छ । आफ्ना ग्राहकवर्गहरुको सहजता र सुविधालाई मध्यनजर गर्दै बैंकले उक्त सेवा संचालन ल्याएको जनाएको छ । हाल बैंकले सातवटा क्यास रिसाइक्लर मेसिन बैंकको केन्द्रीय कार्यालय कमलादी, ठमेल शाखा, महाराजगंज शाखा, न्यूरोड शाखा, पाटन शाखा, भरतपुर शाखा र भैरहवा शाखामा स्थानान्तरण गरी सेवा प्रदान गरिरहेको छ । बैंकले विस्तारै यसको संख्या बढाउँदै लैजाने जनाएको छ । क्यास रिसाइक्लर मेसिनबाट सेवाग्राहीहरुले कुनै पनि समयमा कुनै झंझट बिना नै खातामा रकम जम्मा तथा झिक्न सक्ने बैंकले जनाएको छ । बैंकको अनुसार सो मेसिनबाट रकम जम्मा गर्दा बिना एटिएम कार्ड नै सिधा खाता नम्बर प्रविष्ट गरी जम्मा गर्न सकिनेछ । मेसिनबाट जम्मा गरिएको सो रकम तत्कालै खातामा जम्मा हुनेछ जसले गर्दा खातावालाले तुरुन्तै कारोबार गर्न सक्नेछन् । हिमालयन बैंकले कूल ७४ शाखा, ६ विस्तारित काउन्टर, १६० एटिएम र ६,००० भन्दा बढी पिओएस टर्मिनल्स बाट सेवा प्रदान गर्दै आएको छ ।

सभामुखको निर्वाचन आगामी माघ ५ गते

काठमाडौं । प्रतिनिधिसभाको सभामुख पदको निर्वाचन आगामी माघ ५ गते हुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले सो जानकारी दिए । उनले सभामुखको निर्वाचनका लागि सङ्घीय संसद् सचिवालयका महासचिव भरतराज गौतमलाई निर्वाचन अधिकृत तोकेका छन् । नेपालको संविधानमा निर्वाचनपछि प्रतिनिधिसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने प्रावधान छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि प्रतिनिधिसभाको पहिलो बैठक यही पुस २५ गते बसेको थियो । प्रतिनिधिसभाको अर्को बैठक आगामी माघ ५ गते बिहान ११ बजे बस्नेछ ।

शिवमसँग उपहार टन्न योजनाको पहिलो चरणको विजेता घाेषणा

काठमाडाैं । शिवम् सिमेन्टले ‘शिवम्सँग उपहार टन्न’ उपहार योजनाको विजेता घाेषणा गरेकाे छ । कम्पनीले मासिक लक्की ड्र अन्तर्गत पहिलो महिनाको ७० (उपभोक्ता तर्फ ३० जना र विक्रेता तर्फ ४० जना) जना विजेताहरुको नाम घाेषणा गरेकाे हाे । मंगलबार सम्पन्न लक्की ड्र कार्यक्रममा उपभोक्ता तर्फ प्रथम पुरस्कार वापत बाग्मती–पोखरा क्षेत्रबाट राजकुमार घिसिङ र उपत्यका बाहिरबाट फेवा कन्स्ट्रकस्नका दुई भाग्यशाली जोडिले थाइल्यान्ड भ्रमण जितेका छन भने दोस्रो पुरस्कार अन्तर्गत सुदिप कार्की, कविता श्रेष्ठ, बाबुराम घिमिरे तथा समानन्तर निर्माण सेवाका ४ जोडी विजेताले हेलिटुर पुरस्कार जितेका छन । यस्तै, तेस्रो पुरस्कार अन्तर्गत वालकृष्ण मिश्र, पुरुषोत्तम रेग्मी, जेशना कोण्डा, रामधनु राई, जानुका कार्की तथा राजन गुप्ताले आधा केजी चाँदी उपहार प्राप्त गरेका छन् । चौथों पुरस्कार वापत ८ जनाले हिराको औंठी र १० जोडीलाई माउन्टेन फ्लाइट उपहार स्वरुप जितेका छन । शिवम् सिमेन्टले मंसिर १८ गते देखि ‘शिवम्सँग उपहार टन्न’ नामक नेपालकै सर्वाधिक धनराशिको उपहार योजना सार्वजनिक गरेको थियो ।  

चौथौं जेम एण्ड ज्वेलरी एक्स्पो हुँदै

काठमाडौं । नेपाल रत्न तथा आभुषण स‌घ ९नेग्जा० ले चौथौं जेम एण्ड ज्वेलरी एक्स्पो गर्ने भएको छ । नेग्जाले पुस २८ देखि माघ १ गतेसम्म काठमाडौंस्थित होटल याक एण्ड यतिमा जेम एण्ड ज्वेलरी एक्स्पो गर्ने भएको हो । संघले पुस २८ गते साँझ ६ बजेदेखि ज्वेलरी फेशन शो आयोजना गर्ने र पुस २९, ३० र माघ १ गते एक्स्पो संचालन गर्ने जानकारी दिएको छ । पुस २९ गते दिउँसो साढे १२ बजे विशेष समारोहबीच एक्स्पो समुदघाटन हुने एक्स्पो बिहान १० बजेदेखि साँझ ७ बजेसम्म चालु रहने आयोजकले जानकारी दिएको छ । कोभिडले शिथिल बनेको आभुषण व्यवसायमा नयाँ उर्जा प्रदान गर्न, नेपाली बहुमूल्य आभुषण व्यवसायको  अवस्था, क्षमता र सम्भावनालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा परिचित गराउन एक्स्पो आयोजना गरिएको संघले जनाएको छ । ३८ कम्पनी रहेको एक्स्पोमा करिब १५ हजार व्यक्तिले अवलोकन गर्ने अनुमान गरेको संघले जनाएको छ ।

सुपर हेवा पावरले साधारण शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

काठमाडौं । सुपर हेवा खोला कम्पनी लिमिटेडले साधारण शेयर निष्काशन गर्ने भएको छ । उक्त शेयर बिक्रि तथ वितरणका लागि कम्पनीले लक्ष्मी क्यापिटल मार्केट लिमिटेडसँग सम्झौता गरेको छ । कम्पनीले सर्वसाधारणमा बिक्री गरिने १०० अंकित दरका ११ करोड ५४ लाख ३६ हजार रकम बराबरको ११ ला ५४ हजार ३६० कित्ता साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धको जिम्मा लक्ष्मी क्यापिटलले पाएको हो । उक्त सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र सुपर हेवा पावर कम्पनी लिमिटेडको तर्फबाट अध्यक्ष हर्क बहादुर तामाङले हस्ताक्षर गरेका हुन् । सुपर हेवा पावर कम्पनीको संखुवासभा जिल्लाको चैनपुर नगरपालिकामा ६ मेगावाट क्षमताको जलबिद्युत आयोजना निर्माणाधिन अवस्थामा रहेको छ ।

प्रधानमन्त्री ‘प्रचण्ड’ को पक्षमा २६८ मत, विपक्षमा २ मत

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालकाे नेतृत्वकाे सरकारले विश्वासकाे मत पाएकाे छ । प्रधानमन्त्री प्रचण्डले २ सय ६८ सासदकाे समर्थन सहित विश्वासकाे मत प्राप्त गरेका छन् । प्रधानमन्त्रीको निर्वाचनमा २ सय ७० सांसद सहभागी भएकोमा २ जनाले भने विपक्षमा मतदान गरेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यही पुस १० गते सात दलका एक सय ६९ सांसदको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । नेपालको संविधानको धारा ७६ को उपधारा ४ को उपधारा २ बमोजिम नियुक्त प्रधानमन्त्रीले त्यसरी नियुक्त भएको मितिले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने प्रावधान छ । दाहाल नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी तथा केही स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए । प्रतिनिधिसभामा सरकारलाई समर्थन गरेका एमालेका ७८, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपाका १२, जनमत पार्टीका छ, नागरिक उन्मुक्ति पार्टीका चार सांसद छन् । तीन स्वतन्त्र सांसदले पनि सरकारलाई समर्थन गरेको छन् । प्रतिनिधिसभामा नेपाली कांग्रेसका ८९, नेकपा एकीकृत समाजवादीका १०, लोकतान्त्रिक समाजवादीका चार, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका एक/एक सांसद् छन् ।