काठमाडौं । हिमालयन बैंकले विभिन्न शाखाहरुमा क्यास रिसाइक्लर मेसिन संचालनमा ल्याएको छ । आफ्ना ग्राहकवर्गहरुको सहजता र सुविधालाई मध्यनजर गर्दै बैंकले उक्त सेवा संचालन ल्याएको जनाएको छ ।
हाल बैंकले सातवटा क्यास रिसाइक्लर मेसिन बैंकको केन्द्रीय कार्यालय कमलादी, ठमेल शाखा, महाराजगंज शाखा, न्यूरोड शाखा, पाटन शाखा, भरतपुर शाखा र भैरहवा शाखामा स्थानान्तरण गरी सेवा प्रदान गरिरहेको छ । बैंकले विस्तारै यसको संख्या बढाउँदै लैजाने जनाएको छ ।
क्यास रिसाइक्लर मेसिनबाट सेवाग्राहीहरुले कुनै पनि समयमा कुनै झंझट बिना नै खातामा रकम जम्मा तथा झिक्न सक्ने बैंकले जनाएको छ । बैंकको अनुसार सो मेसिनबाट रकम जम्मा गर्दा बिना एटिएम कार्ड नै सिधा खाता नम्बर प्रविष्ट गरी जम्मा गर्न सकिनेछ ।
मेसिनबाट जम्मा गरिएको सो रकम तत्कालै खातामा जम्मा हुनेछ जसले गर्दा खातावालाले तुरुन्तै कारोबार गर्न सक्नेछन् ।
हिमालयन बैंकले कूल ७४ शाखा, ६ विस्तारित काउन्टर, १६० एटिएम र ६,००० भन्दा बढी पिओएस टर्मिनल्स बाट सेवा प्रदान गर्दै आएको छ ।