विकासन्युज

महिला स्वास्थ्य स्वयंसेविकालाई १ लाख दिइने

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिकाले नगरका महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहनस्वरुप रु एक लाख रुपियाँसम्म रकम उपलब्ध गराउने भएको छ । साठी  वर्ष उमेर पुगेर अवकाश लिने तथा कम्तीमा पाँच वर्ष सेवा गरेका महिला स्वस्थ्य स्वयंसेविकालाई प्रोत्साहनस्वरुप रकम उपलब्ध गराउन लागिएको नगरप्रमुख मदनभक्त अधिकारीले जानकारी दिए । नगरका टोल–टोलमा सहज स्वास्थ्य सेवा पु¥याउन निःस्वार्थ भावले काम गर्दैआएका नगरका महिला स्वास्थ्य स्वयंसेविकाको कामको उच्च मूल्याङ्कन गर्दै उनीहरूलाई प्रोत्साहन रकम उपलब्ध गराउन लागिएको अधिकारीले बताए । ‘नगर कार्यपालिकाको बैठकले नगरपालिकामा कार्य गर्दैआएका कम्तीमा पाँच वर्ष सेवागरी ६० वर्ष उमेर पुगेर सेवाबाट अवकाश भएमा त्यस्ता महिला स्वास्थ्य स्वयंसेविकालाई रकम उपलब्ध गराउने निर्णय गरेको छ’, नगरप्रमुख अधिकारीले भने, ‘उनीहरूलाई प्रोत्साहनस्वरुप एक लाखसम्म रकम उपलब्ध गराउने निर्णय गरेका छौँ ।’ महिला स्वास्थ्य स्वयंसेविकाका रूपमा कम्तीमा पाँच वर्ष सेवा गर्नेलाई उनीहरूले सेवा गरेको प्रत्येक वर्षको रु पाँच हजारका दरले अधिकतम् एक लाखसम्म रकम उपलब्ध गराउने निर्णय भएको अधिकारीले जानकारी दिए । ‘स्वेच्छाले राजीनामा दिएमा, स्वास्थ्य स्वयंसेविकाको कार्यसम्पादनको कारणबाट जिम्मेवारीबाट हटाइएमा वा उमेरबाहेक अन्य कुनै कारणले सेवामा रहन नमिल्ने भएमा यस्तो सुविधा उपलब्ध गराउन नगरपालिका बाध्य हुनेछैन’, नगरप्रमुख अधिकारीले भने । त्यस्तै सेवामा बहाल रहँदाको अवस्थामा कुनै कारण मृत्यु भएमा त्यस्ता स्वयंसेविकाको परिवारलाई पनि रु एक लाख रकम उपलब्ध गराउने नगर कार्यपालिकाले निर्णय गरेको उनले बताए । गैँडाकोट नगरपालिकामा हाल ४१ महिला स्वास्थ्य स्वयंसेविका कार्यरत छन् । चालु आर्थिक वर्ष २०७९(८० मात्रै चार महिला स्वास्थ्य स्वयंसेविकाले उमेरहदका कारण अवकाश पाएका छन् । त्यस्तै एक जनाको मृत्यु भएको छ भने एक जना महिला स्वास्थ्य स्वयंसेविका वडा सदस्यमा निर्वाचित भएकी छिन् । रासस

दादुरा र रुबेलाविरुद्धको खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दादुराबाट जोगाउन आफ्ना नानीबाबुलाई दादुरा र रुबेलाविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले बालबालिकालाई दादुरा र रुबेलाबाट बचाउन ९ महिना पुगेपछि पहिलो मात्रा र १५ महिना पुगेपछि दोस्रो मात्रा खोप लगाउन आग्रह गरेको छ । नेपालगञ्जमा दादुरा तथा रुबेलाविरुद्धको खोप नलगाएकाहरूमा सङ्क्रमण देखिएपछि मन्त्रालयले आफ्ना बालबालिकालाई खोप नछुटाउन आग्रह गरेको हो । खोप शाखाका प्रमुख सागर दाहालले दादुराबाट जोगाउन ९ देखि १५ महिनासम्मका आफ्ना बालबालिकालाई दादुराविरुद्धको खोप लगाउन आग्रह गरे। दुई डोज खोप लगाएमा यसको प्रभावकारिता ९७ प्रतिशत हुने विज्ञको भनाइ छ । मिजल्स भाइरसका कारणबाट सर्ने दादुराले नेपालगञ्ज उपमहानगरपालिकामा सङ्क्रमण फैलिएको छ । नेपालगञ्जमा ९० जनालाई दादुरा पुष्टि भइसकेको छ भने एक जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ । सरकारले दादुरा देखिएको क्षेत्रमा खोप अभियान सञ्चालन गरेको छ । खोप अभियान सुरु भएको ठाउँमा अहिलेसम्म तीन हजार बालबालिकालाई खोप लगाइएको छ ।

तनहुँमा ४३७ अपराधका उजुरी

तनहुँ । तनहुँमा १ वर्षमा ४३७ अपराधका उजुरी दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार उक्त अवधिमा सबैभन्दा बढी घरेलु हिंसाका घटना छन् । घरेलु हिंसाका २१७ वटा घटनाको उजुरी दर्ता भएको प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए। त्यस्तै आत्महत्याका ९८, भवितव्य ज्यानका ७९ र अन्य सार्वजनिक अपराधका ४७ वटा घटनाको उजुरी दर्ता भएको प्रहरी निरीक्षक विष्टले बताए। उनका अनुसार अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा तनहुँमा चार सय १७ र आव २०७८/७८ मा ३९७ वटा अपराधका घटनामा उजुरी दर्ता भएको थियो । महिला तथा बालबालिकाविरुद्ध हुने अपराधका घटनामध्ये ८० प्रतिशत घरेलु हिंसाका घटना रहेका छन् । त्यसबाहेक जबर्जस्ती करणी, जबर्जस्ती करणी प्रयास, बहुविवाह, बालविवाह, मानव बेचबिखन र बोक्सीको आरोपका घटना रहेको प्रहरीले जनाएको छ । पछिल्लो समयमा चिनजानका व्यक्तिबाट महिला तथा बालबालिकाविरुद्धका अपराध भएका छन् । परिवारका सदस्य, आफन्त, शिक्षक, नातेदार तथा छिमेकी नै महिला तथा बालबालिकाविरुद्धको अपराधका घटनामा संलग्न भएको प्रहरीको तथ्याङ्क छ । प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल अपराध नियन्त्रणका लागि सबैको भूमिका महत्वपूर्ण हुने बताउँछन् । आपराधिक घटना तथा क्रियाकलापलाई न्यूनीकरण गरी समाजलाई शान्ति र सुव्यवस्थामा लैजान प्रहरी तथा स्थानीय प्रशासनलाई सबैले सहयोग गर्नुपर्ने उनले बताए।

झापामा बनाए पृथ्वीनारायणको सालिक

झापा । झापाको कनकाई नगरपालिका कार्यालय प्रवेश गर्दै छन् भने सबैभन्दा पहिला ‘मेरा साना दुःखले आज्र्याको मुलुक होइन’ भन्ने दिव्योपदेश दिने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकले तपाईँको ध्यान आकर्षित गर्नेछ । कनकाई–१ स्थित पूर्वपश्चिम राजमार्गबाट सय मिटर दक्षिणतिर प्रवेशद्वारमा स्थापित पूर्णकदको पृथ्वीनारायणको सालिकले नागरिकलाई एकीकरणकर्ताको योगदानहरूको सुखद् स्मरण गराउने राष्ट्रिय प्रजातन्त्र पार्टी झापाका अध्यक्ष केशव ओझा बताउँछन् । ‘कनकाई नगरपालिकामा धेरैपटक पुगेको छु, मलाई ढोकैमा नेपालको एकीकरणकर्ता पृथ्वीनारायणको सालिक देख्न पाउँदा गौरवबोध हुन्छ’, बिर्तामोडको हिमाली माध्यमिक विद्यालयको पूर्वप्रधानाध्यापकसमेत रहिसकेका ओझा भन्छन्, ‘सङ्घीय सरकारले भर्खर राष्ट्रिय बिदा दिनुपर्ने जनस्तरको मागलाई स्वीकार गर्दैछ । तर कनकाई नगरले आफ्नै विवेकले राष्ट्रनिर्माताको पहिल्यै यथोचित सम्मान ग–यो ।’ कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले राष्ट्रनिर्माता पृथ्वीनारायणलाई राजमार्गमा हिँड्ने हरेक यात्रीले देखुन् र सम्मान अर्पण गर्न सकुन् भनेर नगरपालिका जाने प्रवेशद्वारमै सालिक स्थापना गरिएको बताए । ‘कम्युनिस्ट आस्था बोकेका मेयरले किन राजाको सालिक ठड्याएको होला भनेर कतिपयले मलाई ठट्टामा उडाउन खोजे’, सालिक स्थापना गर्दाको कथा सुनाउँदै नगरप्रमुख पोखरेल भने, ‘दलीय आस्था हरेक व्यक्तिको फरक हुनसक्छ, तर यो देशको एकीकरणको नेतृत्व गर्ने महान् व्यक्तित्व पृथ्वीनारायण शाह सबै नेपालीका लागि उत्तिकै सम्मानित छन् ।’ पुस २७ गते राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जयन्ती पर्दछ भने सो दिनलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउने गरिन्छ । गत वर्ष यही दिवस पारेर कनकाई नगरपालिकाले सालिकको अनावरण गरेको थियो । नगरपालिकाको बोर्ड बैठकमा नगरप्रमुख पोखरेलले सालिक निर्माणको प्रस्ताव विसं २०७७ मै लगेका थिए । उनी यस पटक दोस्रो कार्यकालका लागि नगर प्रमुख निर्वाचित भएका हुन् । ‘मैले पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेको हुँदा उनको सम्मानमा एउटा सालिक बनाउनुपर्छ भनेर नगर बोर्डमा प्रस्ताव लैजाँदा सबैले समर्थन गरे’, उनले भने, ‘बोर्डका साथीहरूसँग बाहेक जनजाति सङ्गठन र नगरभित्रका राजनीतिक दलहरूसँग पनि सल्लाह गरेका थियौँ, सबै सकारात्मक थिए ।’ नगरपालिकाले पृथ्वीनारायण शाहको सालिक निर्माणका लागि रु सात लाख बजेट विनियोजन गरेको थियो । झापाका मूर्तिकार हिम्मत नेम्वाङले मोरङको मिक्लाजुङबाट ल्याइएको एउटै ढुङ्गामा पृथ्वीनारायण शाहको उक्त सालिक कुँदेका हुन् । नगरको यो सालिक अहिले पर्यटकीय आकर्षणको केन्द्र बनेको छ । नजिकैको जामुनखाडी, हेप्पील्यान्ड, धनुषकोटीधाम, कोटीहोम र दोमुखामा घुमघामका लागि आउने आन्तरिक पर्यटक सालिकमा रोकिएर सेल्फी फोटो खिचाउने गर्छन् । यसपालि कनकाई नगरपालिकाले ‘पृथ्वीनारायण शाह र आधुनिक नेपाल’ विषयक वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको नगरका प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार न्यौपानेले जानकारी दिए । नगरभित्रका विद्यालय प्रतियोगितामा सहभागी थिए । आफ्नै बजेटमा पृथ्वीनारायण शाहको सालिक बनाउने कनकाई नगरपालिका नेपालकै पहिलो पालिका भएको उनले दाबी गरे । झापाको कचनकबल गाउँपालिकाले समेत वडा नंं ५ पाठामारीमा पृथ्वीनारायण शाहको पूर्णकदको सालिक निर्माण गरेको छ । पूर्वअध्यक्ष अन्जार आलमले वडा कार्यालयले जग्गाको व्यवस्था मिलाएपछि पालिकको छ लाख बजेटबाट सालिक निर्माण गरिएको जानकारी दिए । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित पूर्वअध्यक्ष आलमले पार्टीले नै पृथ्वीनारायण शाहलाई राष्ट्रिय एकताको प्रतीक र राष्ट्र निर्माताको रूपमा सम्मान गर्ने नीति लिएको हुँदा सालिक बनाइएको बताए । आदिवासी राजवंशी र मुस्लिम धर्मावलम्बीको बाहुल्य रहेको कचनकबलमा निर्मित पृथ्वीनारायण शाहको सालिकमा हरेक वर्ष पुस २७ गते विशेष कार्यक्रमको आयोजना हुने गरेको छ । झापाको अर्को गाउँपालिका हल्दिबारीले नेपाल एकीकरणकर्ता पृथ्वीनारायण शाहको योगदानको सम्मानमा बर्सेनि स्थानीय बिदा दिँदै आएको छ । मुलुक सङ्घीयतामा प्रवेश गरेपछि नेपालमै पहिलोपटक हल्दिबारीले पृथ्वी जयन्तीमा बिदा दिने परम्पराको थालनी गरेको पालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनले बताए । विगत वर्षदेखिको यो बिदाको परम्परा यसपालि पनि कार्यान्वयन भइरहेको छ । पालिकाका अध्यक्ष लिङ्देनले आफ्नो कार्यकक्षमा विगत पाँच वर्ष अघिदेखि नै पृथ्वीनारायण शाहको तस्वीर राख्दै आएका छन् । पुस २७ गते स्थानीय बिदा दिने निर्णय उहाँले सुरुआत गरेपछि झापाको कचनकबल र गौरीगञ्जमा समेत स्थानीय बिदा दिने गरिएको थियो । कार्यकक्षमा राष्ट्रनिर्माताको फोटो राख्ने हल्दिबारी गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देन यसअघि र अहिले पनि राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधि छन् । नगरपालिकाको प्रवेशद्वारमा सालिक राख्ने कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल पनि दुवै कार्यकाल नेकपा (एमाले) बाट निर्वाचित जनप्रतिनिधि हुन् ।

महिलालाई आत्मनिर्भर बनाउँदै तिला गाउँपालिका

जुम्ला । जिल्लाको तिला गाउँपालिकाले पालिकाभित्रका महिलालाई सीपमूलक तालिम दिएर आत्मनिर्भर बनाउने अभियान थालेको छ । गाउँपालिका नौवटै वडाका महिलालाई च्याउखेती, खरायोको टोपी र सिलाइकटाइजस्ता सीपमूलक तालिम दिएको र अनुगमनलाई पनि विशेष जोड दिएको तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले जानकारी दिए । गत मङ्सिर २५ गतेदेखि सुरु भएको एकमहिने ढाका बुनाइसम्बन्धी पुनर्ताजकीय सीप विकास तालिम यहाँका महिलालाई दिएको पालिका उपाध्यक्ष गोरीकला बुढाले बताइन्। ‘आत्मनिर्भरका तालिमलाई महिला केन्द्रित गरेर सञ्चालन गरेका छौँ, पालिकाका नौवटै वडाका १६ महिलालाई ढाका बुनाइ तालिम दिएर पठाएका छौँ । उनीहरुले राम्रोसँग सीप सिकेर गएका छन्,’ उपाध्यक्ष बुढाले भनिन् । उद्योग तथा उपभोक्ता हित सरंक्षण कार्यालय जुम्ला र तिला गाउँपालिकाको साझेदारीमा तालिम दिएको उपाध्यक्ष बुढाको भनाइ छ । तिलाका महिलाई आत्मनिर्भर गर्नका लागि सो तालिम दिएको उद्योग तथा उपभोक्ता हित सरंक्षण कार्यालय जुम्लाका प्रमुख श्रीकृष्ण देवकोटाले जानकारी दिए। तालिमबाट सिकेका सीपलाई व्यवहारमा लागू गर्न अतिआवश्यक रहेको सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले बताइन्। तालिमका सहभागी शान्ति बुढाले पालिकाले दिएको सीपमूलक तालिमलाई कार्यान्वयन गर्ने हाम्रो जिम्मेवारी भएकाले अझै यहाँका महिलालाई विभिन्न प्रकारका आत्मनिर्भरका सीपमूलक तालिम दिन पालिकालाई आग्रह गरेकी छन् । तिलावासीका नागरिकसँग अध्यक्ष तथा उपाध्यक्ष कार्यक्रम सञ्चालन गर्नका लागि बजेट तथा कार्यक्रमबाट पारित भएकाले यहाँँका नागरिकको अपेक्षाअनुसार काम गरिने तिला गाउँपालिकाले जनाएको छ ।

नयाँ प्रविधिको बढ्दो प्रयोगले परम्परागत खेलहरू बिर्सँदै बालबालिका

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–४ असैनाका मनिदत्त पन्त सानै छँदा घरआँगनमा साथीभाइसँग रमाइलो गर्दै खेलेका खेलको स्मरण गर्छन् । साथीभाइ मिलेर सामूहिकरूपमा परम्परागत खेल खेल्दाको मज्जा नै बेग्लै हुने गरेका पुराना स्मरणहरू उनी निकै रोचक ढङ्गले सुनाउछन् । ‘पुराना दिन सम्झिँदा अझै वचपनमै पुगेको महसुस गछु’, उनले भने, ‘पाँच दशकअघि साथीभाइसँग निकै रमाइलो गरेर पुस्तौँदेखि चल्दै आएका पुराना खेल खेल्थ्यौँ, त्यसमै रमाउथ्यौँ ।’ कबड्डी, गोला आकारका ढुङ्गालाई एकमाथि अर्को राख्दै मोजाको गोलो बलले हिर्काएर खेलिने टिपु, रुमाल लुकाउने, लुकामारी, चोर पुलिस, ठिणी (डण्डीबियो), गाई बाँध्ने, डोरी नाघ्ने, चुङ्गीलगायतका खेल त्यस बेला प्रचनमा रहेको उनी बताउछन् । गाई–गोरु चराउन जाँदा केटीहरूले रवरको गुच्छा बनाइ खेल्ने चुङ्गी, स–साना ढुङ्गालाई गोटीका रूपमा खेलिने गोट्टा, भिरालो क्षेत्रबाट काठको फल्याकमा चढेर टाढा पुग्ने घुसुडी, जमिनमा चार कुने रेखा बनाइ गोलो ढुङ्गा राखी एक खुट्टामाथि उचाल्दै अर्को खुट्टाले रेखा नछोइकन पार गर्ने अड्डुलगायतका खेल बढी खेलिने गरिथ्यो । बूढापाकाले गोरु चराउन जाँदा र घरमै पनि दुई–चार जना जम्मा भए बाघचाली खेल्ने चलन थियो । यी सबै पुराना खेल संरक्षण गर्न नसक्दा हाल हराउँदै गएका छन् । युवाहरूले आफैँ पैसाको जोहो गरी भलिबल नेट खरिद गरी भलिबल खेल्ने गर्दथे । एकअर्का गाउँका युवाबीच भलिबल र कबड्डीका प्रतियोगिता नै हुन्थे । ‘पुराना खेल खेल्दा चोटपटक लाग्ने जोखिम हुन्थ्यो’ करनबहादुर ऐरले भने, ‘शारीरिक व्यायाम निकै हुन्थ्यो, शारीरिक व्यायामकै कारणले रोगव्याधीको समस्या थिएन, घरकै पाकेको खाना खान्थ्यौँ, निकै तन्दुरुस्त हुन्थ्यौँ ।’ ‘साथीत्वको भावना निकै हुन्थ्यो, सामूहिक छलफल गर्ने, बहस गर्ने कार्यले पढाइमा बालबालिका अब्बल हुन्थे । अहिलेको जस्तो फेसबुक, टयुटर, इन्स्ट्राग्राम, युटयुवलगायतको चलन थिएन । कम्प्युटरमा, इन्टरनेटमा खेलिने खेल थिएन’, उनले भने । ‘आजभोलि घरभित्रै एकै परिवारमा बस्नेबीच पनि कुनै किसिमको छलफल हुँदैन’, शुक्लाफाँटा नगरपालिकाका निवर्तमान नगरप्रमुख दिलबहादुर ऐरले भने, ‘सबै जना आ–आफ्नै मोबाइलमा व्यस्त हुन्छन्, सहरबजारमा त एक छिमेकीले अर्को छिमेकीलाई नचिन्ने अवस्था आइसक्यो ।’ शारीरिक व्यायामको कमीका कारण बालबालिकमा विभिन्न किसिमका रोग देखापर्दै आएको उनले बताए । मोबाइल र कम्प्युटरमा एकहोरो हेर्ने र चलाउने भएकाले बालबालिकामा आँखाको दृष्टि कमजोर हुने समस्यासँगै एक ठाउँमा बसेर खेल्दा शारीरिक व्यायाम नहँुदा वचपनमै विभिन्न रोग लाग्ने गरेको उनले बताए । यस कार्यले बालबालिकामा स्मरण शक्तिसमेत कम हुँदै गएको उनको भनाइ छ । ‘पालिकाहरूले निर्माण गर्ने स्थानीय पाठयक्रममा पुराना खेललाई समेट्नुपर्छ, पाठयपुस्तममा अरु खेलझै पूरा खेल खेल्ने तरिका र विद्यालयमा खेलाउने गरिए पुराना खेल जोगिन्छन्’ उनले भने, ‘जोगाउने कार्य नगरिए बूढापाकासँगै पुराना खेल पनि सिद्धिन्छन् ।’ थारू समुदायका परम्परागत खेल ओझेलमा तराईमा बसोबास गर्ने थारू समुदायका परम्परागत खेलसमेत ओझेलमा पर्दै गएका छन् । थारू समुदायका अगुवा धनबहादुर कुश्मीका अनुसार थारू समुदायका किशोरी तथा युवतीले खेल्ने घोघो रानी, सिक्टी उस्टैना, अच्छी, कोइली दिदी, बुक्रीभारा, छटक भे¥वा र किशोर तथा युवाले खेल्ने छिल्ली, पूर्वा खैना, खोपी, बहान छोरी, मुर्गा लसन, गुल्ली दण्डा, लोची दण्डालगायत थुप्रै परम्परागत खेल लोपोन्मुख अवस्थामा पुगेका छन् । उनका अनुसार पुरुष–महिला मिलेर खेल खेल्ने भएकाले लैङ्गिक समानताको भावना हुन्थ्यो । बाघागोटी, टयुरालगायत खेल खेल्दा दिमाग लगाउनुपर्ने हुँदा बौद्धिक विकासमा मद्दत पुग्ने गर्दथ्यो । उनी भन्छन्, ‘परम्परागत खेलमा आफ्नैपन, आफनत्वको भावना र बेग्लै किसिमको नियममा बाँधिएर खेलिने हुँदा भरपूर मनोरञ्जन र शारीरिक व्यायाम हुन्थ्यो, हाल पुराना खेल ओझेल पर्दै गएका छन्, बचाउन सबैले लाग्नु पर्दछ ।’

आजको मौसम आंशिकदेखि सामान्य बदली हुने

काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशको सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सो प्रणालीको प्रभावले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावनासमेत छ । विभागले आगामी २४ घण्टा देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका केही भू–भागमा बाक्लो हुस्सु–कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्ने सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन अनुरोध गरेको छ । हाल पहाडी भू–भागमा आंशिक बदली रही मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराईका भू–भागमा हुस्सु–कुहिरो लागेको छ । महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम चार दशमलव शून्य डिग्री र अधिकमत तापक्रम १९ दशमलव चार डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस तीन दशमलव आठ डिग्री सेल्सियस र सबैभन्दा बढी विराटनगरको अधिकतम तापक्रम २४ दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।

सेबोनको एक्सन : गुरु न्यौपानेलाई कारबाही, ३ ब्रोकरलाई जरिवाना र केयर रेटिंगलाई स्पष्टिकरण

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले रिडी हाइड्रोपावरका अध्यक्षलाई कारबाही गरेको छ । आफू अध्यक्ष रहेकै बेला कम्पनीको सेयर किनबेच गरेको भन्दै नेपाल धितोपत्र बोर्डले रिडी हाइड्रोपावरका अध्यक्ष गुरूप्रसाद न्यौपानेलाई कारबाही गरेको हो । धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७९ अनुसार संगठित संस्थाको सञ्चालक, कार्यकारी प्रमुख, लेखापरीक्षक, कम्पनी सचिव वा संस्थाको व्यवस्थापन वा लेखासम्बन्धी कार्यमा प्रत्यक्ष संलग्न व्यक्तिले पदमा बहाल रहँदासम्म वा अवकाश लिएको एक वर्षसम्म उक्त संस्था वा सहायक कम्पनीको सेयर खरिदबिक्री गर्न नपाउने व्यवस्था रहेको छ । सोही व्यवस्थालाई उलङ्घन गर्दै न्यौपानेले रिडी हाइड्रोपावरमा अध्यक्ष रहेकै बेला २०७७ चैतदेखि २०७८ भदौ पहिलो सातासम्म कम्पनीको सेयर किनबेच गरेका थिए । उनलाई ७५ हजार रूपैयाँ जरिवाना र १० वर्षसम्म कुनै पनि पब्लिक कम्पनीको सञ्चालक, महाप्रबन्धक वा त्यस सरहको पदमा रहन नपाउने गरी कारबाही गरिएको बोर्डका अध्यक्ष रमेश हमालले जानकारी दिए । उनका अनुसार धितोपत्र बोर्डसम्बन्धी ऐन र नियम पालना नगर्नेलाई कारबाहीको सुरूआत गरिएको हो । त्यस्तै, केयर रेटिङ नेपालले क्रेडिट रेटिङ नियमावली २०६८ उल्लघंन गरी आफ्नो मुख्य सेयरधनीको क्रेडिट रेटिङ गराएको भन्दै कारबाही किन नगर्ने भनेर सफाइ पेस गर्न भनिएको छ । यस्तै बोर्डले तोकिएको वित्तीय प्रतिवेदन नबुझाउने र त्रैमासिक विवरण नदिने तीनवटा ब्रोकर कम्पनीलाई जरिबाना गरेको छ । सनी सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज र त्रिशूल सेक्युरिटिजले समयमा प्रतिवेदन पेस नगरेको भन्दै जरिवाना तिराएको बोर्डले जनाएको छ । सनीलाई १० हजार रुपैयाँ, इम्पेरियल र त्रिशूल सेक्युरिटिजलाई ७५/७५ हजार रूपैयाँ जरिवाना तोकिएको छ ।