विकासन्युज

वुलिङ्ग एयर मिनी ‘टेष्टड्राइभ’: परिवारका लागि उत्कृष्ट गाडी

काठमाडौं । ईभि नेपाल मोर्टर्सले नेपाल भित्र्याएकाे विद्युतीय गाडी वुलिङ्ग एयर मिनीको टेष्ट ड्राइभ सम्पन्न गरेको छ । काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै वुलिङ्ग मिनी ईलेक्ट्रिक गाडीको आधिकारीक वितरक बज्र समुहले मिडिया टेष्ट ड्राइभ गराएको हो । कम मूल्यको सानो ईभी खोज्नेका लागि टार्गेट गर्दै कम्पनीले नेपालको शहरी क्षेत्रमा उपयुक्त हुने गरि ल्याएकाे यो गाडीले उत्कृष्ट पर्फमेन्स दिने पाइएको छ । सहरी क्षेत्रको सानो परिवारका लागि उपयुक्त यो गाडी इन्डोनेशियामा उत्पादन भएर नेपाल आएको हो । कम मुल्य,उत्कृष्ट पावर र कम्फर्टेबल रहेकै कारण सानो इभि खोज्नेका लागि उत्कृष्ट रहेको छ । यो गाडीको लम्बाई २९७२ एमएम,चौडाई १५०६ एमएम र उचाई १६३० एमएम रहेको छ । दुई मोटर र दुई ब्याट्री अप्सनमा रहेको यो गाडीले ३०० किलोमिटरसम्म माइलेज दिन्छ । कम्पनीका अनुसार ४ घण्टामै ब्याट्री फुल चार्ज गर्न सकिन्छ भने आठ बर्षे वारेन्टी समेत उपलब्ध गराएको छ । चार सिट अप्सनमा नेपाल भित्रिने गाडीमा विलिङ एआई फिचर,सुरक्षाको लागि एयर व्याग, एबीएस प्रणाली, रिभर्स पार्किङ सेन्सर, टायर प्रेसर मोनिटरलगायतका विभिन्न बिशेषता रहेका छन् ।  

वार्षिकोत्सवको अवसरमा मुक्तिनाथ विकास बैंकले सुरु गर्यो ‘आत्मनिर्भर ग्रिन प्रोजेक्ट’

काठमाडौं । मुक्तिनाथ विकास बैंक १७ औं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा बैंकले दिगो विकासमा टेवा पुग्ने सामाजिक उत्तरदायित्व अभियानलाई निरन्तरता दिँदै ‘मुक्तिनाथ आत्मनिर्भर ग्रिन प्रोजेक्ट’ अभियानको संचालन गरेको छ । यस अभियान अन्तर्गत बैंकले देशभरका विभिन्न अनाथालय तथा वृद्धाश्रमहरु छनौट गरी आवश्यकता अनुसार थोपा सिंचाई करेसा बारीको निर्माण, तरकारीहरुको बीउ तथा कुहिने फोहोर व्यवस्थापनका लागि चाहिने डिकम्पोजर हस्तानतरण गरेको छ । दैनिक रुपमा आवश्यक पर्ने तरकारी तथा मल थोरै परिमाणमा भएपनि आश्रम भित्रै उत्पादन गरी आत्मनिर्भर्ता र संलग्नताको लागि प्रोत्साहन गर्न बैंकले यो अभियानको सुरुवात गरेको जनाएकाे छ । यसबाट संस्थामा बस्ने सदस्यहरुमा कृषि र फोहोर व्यवस्थापनको बारे जागरुकता सिर्जना हुने समेत बैंकले विश्वास लिएको जनाएकाे छ । बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

औद्योगिक क्षेत्रमा पुनः ९ घण्टा लोडसेडिङ, चिन्तामा उद्योगी व्यवसायी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले औद्योगिक क्षेत्रमा लोडसेडिङको शुरुवात गरेको छ । विद्युत उत्पादन घटेको र भारतबाट विद्युत आपूर्तिमा समस्या भएपछि प्राधिकरणले औद्योगिक क्षेत्रमा दैनिक ९ घण्टा लोडसेडिङ शुरुवात गरेको बताएकाे हाे । प्राधिकरणका प्रवक्ता सुरेश बहादुर भट्टराईका अनुसार प्राधिकरणले मंगलबारदेखि बिहान र साँझको समयमा औद्योगिक क्षेत्रमा ९ घण्टा लोडसेडिङ सुरु गरेकाे हाे । भारतको बिहारबाट आपूर्ति हुने विद्युत प्रणालीमा जोडिएको जेनेरटरमा समस्या भएको भन्दै आयात कम हुन पुगेको उनले बताएका छन् । ‘बिहारबाट नेपाल आयात हुने विद्युतमा १३३० मेगावाटको जेनेरेटरमा समस्या भएको भन्दै आपूर्ति कटौति भएपछि लोडसेडिङ गर्नुपरेको हो, बिहान र बेलुकाको समयमा औद्योगिक क्षेत्रमा प्रयाप्त विद्युत आउन नसक्ने जानकारी गराएका छौं’, उनले भने । प्रवक्ता भट्टराईका अनुसार नेपाललाई अहिले १० हजार २०० मेगावाट/प्रतिघण्टा (एमडब्लुएच) विद्युतको आवश्यकता पर्छ तर त्यसमध्ये २७ देखि २८ प्रतिशत आयातमा निर्भर रहेको छ । भारतमा हुने विद्युतको आयातमा समस्या देखिएपछि सोमबार १ हजार र आज मंगलबार २७ सय एमडब्लुएच विद्युत नपुगेको उनले बताए । आपुर्तिकर्ताले २/३ दिनमा नै बिग्रिएको जेनेरेटर मर्मतको काम सम्पन्न हुने र आपूर्तिमा समस्या नहुने जानकारी दिएको उनले बताएका छन् । भारतको स्वतन्त्र विद्युत बजारबाट प्रतिस्पर्धात्मक रुपमा उच्च मूल्यमा विद्युत खरिद गर्न खोज्दा पनि अभावका कारण पाउने अवस्था नरहेको उनले बताए । ‘भारतको स्वतन्त्र बजारमा विद्युतको क्याप मूल्य १२ रुपैयाँ रहेको छ, त्यो मूल्यमा खरिद गर्न खोज्दा पनि पाउन सकिएको छैन’, उनले भने । अचानक लोडसेडिङको शुरुवात भएपछि उद्योगीहरुले भने चिन्ता व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकाले बजारमा सुधार देखिन लागेको बेलामा विद्युत प्राधिकरणले औद्योगिक क्षेत्रमा ९ घण्टा लोडसेडिङ शुरुवात गरेकोप्रति चिन्ता व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘अलिकति मात्र भए पनि बजारमा सुधार देखिएको के थियो, नेपाल विद्युत प्राधिकरणले औद्योगिक क्षेत्रमा दैनिक ९ घण्टा लोडशेडिंग शुरू गरेको छ, औद्योगिक क्षेत्र कसरी उभो लाग्ने होला ? उनले भनेका छन् । यसअघि पनि प्राधिकरणले औद्योगिक क्षेत्रमा लोडसेडिङ गरेको थियो ।

एनआईसी एशिया बैंकमा अब लाइन नबसी सिधै खातामा रकम जम्मा गर्न सकिने

काठमाडाैं । एनआईसी एशिया बैंकले देशका विभिन्न स्थानमा १० वटा क्यास डिपोजिट मेसिन (सीडीएम) सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौंस्थित न्युरोड बिशाल बजार शाखा, कमलादी शाखा, खिचापोखरी शाखा, त्रिपुरेश्वर शाखा, रजिष्टर्ड अफिस (थापाथली) शाखा, रुपन्देही स्थित बुटबल शाखा, कास्की स्थित पोखरा महेन्द्रपुल शाखा, कैलाली स्थित धनगढी चौराहा शाखा, मोरङ्ग स्थित बिराटनगर शाखा र पर्सा स्थित वीरगञ्ज शाखामा क्यास डिपोजिट मेसिन (सीडीएम) सञ्चालनमा ल्याएको हो । क्यास डिपोजिट मेसिनबाट नगद जम्मा गर्न फारम नभरी केबल खाता र मोबाइल नम्बरका आधारमा सिधै आफ्नो तथा अन्य व्यक्तिको खातामा रकम जम्मा गर्न सकिने बैंकले जनाएकाे छ । बैंककाे अनुसार यो मेसिनबाट यस बैंकको खातामा बैंकिङ्ग समय भित्र नगद जम्मा गर्न सकिने व्यवस्था छ । खाता नम्बर र मोबाइल नम्बरको आधारमा नगद रकम जम्मा गर्न सकिने यस मेसिनमा ५०० र १ हजार दरका नोटहरू गरी एक पटकमा अधिकतम ९९ हजार ५०० रुपैयाँ र दैनिक अधिकतम ९ लाख ९९ हजार ५०० रुपैयाँसम्म नगद जम्मा गर्न सकिने बैंकले जानकारी दिएकाे छ । रकम जम्मा गर्ने प्रकृयालाई अझ बढी सुरक्षित बनाउने बैंकको उद्देश्यअनुसार बचतकर्ताले उक्त मेसिनमा आफ्नो मोबाइल नम्बर उल्लेख गरेपछि निजको मोबाइलमा अस्थायी पासवर्ड कोड प्राप्त हुनेछ । बचतकर्ताले उक्त कोड क्यास डिपोजिट मेसिनमा उल्लेख गरेपछि मात्र क्यास डिपोजिटको काम अगाडि बढ्नेछ । उक्त मेसिनमा आफूले जम्मा गर्न चाहेको नगद रकम राखेपछि मेसिनले सो रकम गनेर खातामा तत्काल जम्मा गरिदिन्छ र डिपोजिट भएको जानकारी एसएमएस र डिपोजिट स्लिप मार्फत प्राप्त हुने बैंकले जनाएकाे छ । बैंकका कुनै पनि प्रतिनिधि उपस्थित नभइ छिटोछरितो रकम डिपोजिट गर्न सकिने यो नवीन प्रविधिमा आधारित मेसिनले आफै रकम गन्ने र नक्कली नोटहरू देखिएमा सो नोट छुट्याउने समेत गर्दछ । देशका विभिन्न स्थानमा यी मेसिनहरू सञ्चालनमा ल्याएपछि नगद जम्मा गर्नकै लागि ग्राहकहरूलाई भौतिक फारम भरी बैंकको नगद काउन्टरमा लाइन लागेर लामो समय खर्च गर्नुपर्ने बाध्यताबाट मुक्ति मिल्ने विश्वास बैंकले लिएको जनाएकाे छ । एनआईसी एशिया बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०५ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।

पेट्रोल पम्पलाई रिफ्रेस्मेन्ट सेन्टर बनाउनुपर्छ : सचिव मरासिनी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मसासिनीले पेट्रोल पम्पलाई ‘रिफ्रेस्मेन्ट सेन्टर’का रुपमा स्थापित गर्न आग्रन गरेका छन् । नेपाल आयल निगम सञ्चालक समितिका अध्यक्ष समेत रहेका मरासिनीले भने, ‘विकसित देशमा पेट्रोल पम्प रिफ्रेसमेन्ट सेन्टरका रुपमा रहेको पाइन्छ, नेपालका पेट्रोल पम्पलाई सोही रुपमा विकास गर्न सक्नुपर्छ ।’ आज नेपाल आयल निगमले ५३औंँ वार्षिकोत्सवको अवसरमा यहाँ आयोजित कार्यक्रममा बोल्दै उनले पेट्रोल पम्पहरुलाई पूर्ण अटोमेटेड र व्यवस्थित बनाएर अन्तर्राष्ट्रियस्तरको सेवा दिन पनि सम्बद्ध व्यवसायीसँग आग्रह गरे । आफू समितिमा आएको छोटो समय मात्रै भए पनि बाहिर रहँदा समेत निगमसँग नजिक रहेर काम गरेको बताउँदै अध्यक्ष मरासिनीले निगममा रहँदा आफूले यो क्षेत्रको थप सुधारका लागि पहल गर्ने बताए । सबै गतिविधि पारदर्शी रुपमा गर्दा पनि निगममाथि प्रश्न उठ्ने गरेको भन्दै उनले यसप्रति सञ्चालक समिति, व्यवस्थापन र कर्मचारीले विशेष ध्यान दिनुपर्ने बताए । यद्यपि सुधारको विकल्प थप सुधारबाहेक अरु केही नभएको उनको भनाइ छ । उनले निगमको कारोबारलाई नगदमा आधारितभन्दा लगानीमा आधारित बनाउनुपर्नेमा समेत जोड दिए । यसका लागि सिर्जनशील सोचको जरुरत भएको भन्दै उनले आफू निगममा रहँदासम्म यसका लागि पहल गर्ने बताए । कार्यक्रममा कार्यकारी निर्देशक उमेशप्रसाद थानीले निगमले हाल पाइपलाइनबाट डिजेल मात्रै आइरहेकोमा पेट्रोललाई पनि पाइपलाइनबाटै ल्याउने प्रक्रिया अघि बढेको बताए । साथै पोखरालगायत देशका विभिन्न डिपोहरुमा निर्माणधीन भर्टिकल ट्याङ्कहरुको निर्माण अन्तिम चरणमा पुगेको र इन्टरप्राइजेज रिसोर्स प्लान ईआरपी सिस्टम पूर्ण कार्यान्वयनमा ल्याइएको जानकारी दिए । नायब कार्यकारी निर्देशक नागेन्द्र साहले निगमले एक वर्षमा करिब ५० अर्बको नोक्सानी व्यहोरेको भन्दै पछिल्लो समय मूल्य घट्दा केही राहत भए पनि अझै पनि भारतीय आयल कर्पोरेसनलाई ११ अर्ब तिर्न बाँकी रहेको र नेपाल सरकारको सात अर्ब ऋण अझै तिर्न बाँकी रहेको जानकारी दिनुभयो । नेपाल पेट्रोलियम डिलर्स एशोसिएशनका अध्यक्ष लिलेन्द्र प्रधानले राज्यले पेट्रोलियम पदार्थको मूल्यमा राजनीति गर्न नहुने बताए । ‘पेट्रोलियम पदार्थ राजनीतिक वस्तु हो कि आर्थिक वस्तु हो भनेर राज्यले छुट्याउनुपर्छ । राजनीतिक वस्तुको रुपमा प्रयोग गर्ने हो भने अनुदान दिनुपर्छ, आर्थिक वस्तुको रुपमा मान्ने हो भने यसमा राजनीतिकरण हुदैन’, उनले भने । पेट्रोलियम ढुवानी राष्ट्रिय महासङ्घका महासचिव विश्व अर्यालले पनि पेट्रोलियम पदार्थको मूल्यलाई राजनीतिक लाभहानीको विषयको रुपमा हेर्न नहुने बताए । उनले डिजेलको मूल्यवृद्धिको असर बहुआयामिक हुने भन्दै कम्तीमा यसलाई सरकारले कर उठाउने माध्यमको रुपमा प्रयोग नहुनेमा जोड दिए । त्यस्तै, नेपाल एलपी ग्यास उद्योग महासङ्घका अध्यक्ष कुशकुमार मल्लीले एलपी ग्यासको मूल्यजस्तै उद्योगि तथा ढुवानीकर्ताको कमिसनलाई समेत स्वचालित बनाउनुपर्ने बताए । निगमले सहमति गर्ने तर कार्यान्वयन नगर्ने गरेको उनको गुनासो थियो । उनले भारतबाट आइरहेको एलपी ग्यासको गुणस्तरमा प्रश्न उठाउँदै यसलाई नियन्त्रण गर्न समेत आग्रह गरे । ‘आईओसीले भरेर पठाउने ग्यास बुलेटमा कहिलेकाहिँ पानी भरिएर आएको देखियो । उद्योगहरुले रिफिल गर्दा यसको असर उपभोक्तासम्म पुग्यो,’ उनले भने, ‘यसमा निगम र गुणस्तर तथा नापतौल विभागको समेत ध्यान जाओस् ।’ वार्षिकोत्स आयोजित कार्यक्रममा निगमको वार्षिक प्रकाशन ‘प्रभात’ विमोचन गरिएको थियो । कार्यक्रममा ५१ हजार राशीको सुवर्णविक्रम स्मृति पुरस्कार तथा पाँच जनालाई २५र२५ हजार राशीको ‘निगम प्रोत्साहित पुरस्कार’ वितरण गरिएको थियो । कार्यक्रममा निगममा २० वर्षदेखि निरन्तर काम गर्दै आएका कर्मचारीलाई दीर्घसेवा पदक तथा विभिन्न खेलकुद प्रतियोगितामा विजयी भएका कर्मचारीलाई समेत पुरस्कार प्रदान गरिएको थियो ।

हिमालयन र सिभिल बैंकबीच आज अन्तिम मर्जर सम्झौता, माघ १८ गते एकीकृत कारोबार

काठमाडौं । हिमालयन बैंक र सिभिल बैंकबीच आज मर्जरको अन्तिम सम्झौता हुने भएको छ । हिमालयन बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ र सिभिल बैंकका अध्यक्ष प्रताप जङ्ग पाण्डेले मर्जरका लागि अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गर्ने भएका हुन् । अन्तिम सम्झौताका लागि दुवै बैंकको सञ्चालक समितिले स्वीकृति समेत प्रदान गरिसकेको सिभिल बैंकका सञ्चालक अम्बिर बोगटीले विकासन्युलाई जानकारी दिए । साथै, दुवै बैंकको एकीकृत कारोबारको मिति पनि तय भएको छ । सञ्चालक बोगटीले हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार माघको १८ गते गर्ने तयारी रहेको जानकारी दिए । दुवै बैंकले पुस २८ गते वार्षिक साधारणसभा बोलाएका छन् । वार्षिक साधारणसभाले पारित गरेपश्चात् एकीकृत कारोबार लागि प्रक्रिया अघि बढाइनेछ । ‘दुवै बैंकको पुस २८ गते वार्षिक साधारणसभाले मर्जर प्रस्ताव पारित गर्छन्, वार्षिक साधारणसभाले पारित गरेको ३ साता भित्र अर्थात् माघ १८ गते एकीकृत कारोबार गर्ने लक्ष्य लिएका छौं,’ उनले भने । किन ढिलाई भइरहेको छ हिमालयन-सिभिल बैंकको मर्जर ? हिमालयन बैंक र सिभिल बैंकबीच गत असार २९ गते प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । प्रारम्भिक सम्झौता हुँदा मर्जरपश्चात् पनि हिमालयन बैंकको सञ्चालक समिति कायम रहने सहमति भएको छ । मर्जरपश्चात् बन्ने बैंकको सञ्चालक समितिको अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठलाई बनाउने सहमति भएको छ । साथै फैशल एन लाल्टिन, सुनिल बहादुर थापा, जितेन्द्र धिताल, आशिष शर्मा, विजय बहादुर श्रेष्ठ र राधाकृष्ण पोटे सञ्चालक बन्नेछन् । साथै, मर्जर पश्चात् बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा हिमालयन बैंकका अशोक राणा रहनेछन् । सिभिल बैंकका सीईओ सुनिल पोख्रेल मर्जरपश्चात् बैंकको वरिष्ठ प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) बन्नेछन् । हिमालयन बैंक र सिभिल बैंक १००ः८०.२८ को स्वाप रेसिया अनुपातमा मर्ज हुने भएका हुन् । अर्थात् सिभिल बैंकको १०० कित्ता सेयर हुने सेयरधनीले हिमालयन बैंकमा ८०.२८ कित्ता सेयर हुनेछ ।

लुम्बिनी विकास बैंककाे १२ प्रतिशत लाभांश पारित

काठमाडौं । लुम्बिनी विकास बैंक लाभांश पारित भएकाे छ । बैंककाे १५ औं वार्षिक साधारण सभाले बैंककाे प्रस्तावित १२ प्रतिशत लाभांश पारित गरेकाे हाे । बैंककाे संचालक समितिले आ. व. २०७८/७९ को नाफाबाट सेयरधनीलाई ९ प्रतिशत नगद लाभांश र ३ प्रतिशत बोनस सेयर सहित कुल १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे । साथै, सभाले नयाँ सञ्चालक समितीको निर्विरोध चयन गरेको छ । जसमा, संस्थापक सेयरधनीहरु (समूह ‘क’) को तर्फबाट चिन्तामणी भट्टराई, रामचन्द्र सिग्देल र प्रविण कृष्ण श्रेष्ठ साथै सर्वसाधारण शेयरधनीहरु (समूह ‘ख’) को तर्फबाट गणेश राज रेग्मी, अर्जुन थापा र केशव खतिवडा निर्विरोध निर्वाचित भएका छन् । देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंकको बिभिन्न स्थानहरुमा गरी जम्मा ८८ वटा शाखा कार्यालयहरु र १ वटा एक्सटेन्सन काउण्टर स्थापना भएको छ ।

रोगका कारण अग्निखेतका बङ्गुर फार्म रित्तिए

बेनी। महामारीजन्य ‘अफ्रिकन स्वाइन फिवर’ का कारण बेनी नगरपालिका–७ अग्निखेतका बङ्गुर फार्म रित्तिएका छन् । पुस दोस्रो हप्तादेखि भित्रिएको महामारीका कारण अग्निखेतमा रहेका सबै फार्मका बङ्गुर मरेका हुन् । अग्निखेतको प्रकृति एन्ड प्रशंसा बङ्गुर फार्मका सञ्चालक कृष्ण विकले १२ फार्म अफ्रिकन स्वाइन फिवरको महामारीले रित्तिएको बताए । ‘दस वर्षदेखि बङ्गुर पाल्दै आएको थिए, यस्तो महामारी कहिल्यै आएको थिएन्’, उनले भने, ‘यसपालि मेरो फार्ममा मात्र  ३० लाख मूल्यका ६० बङ्गुर मरे, एउटा पनि बाँकी रहेन ।’ सबै फार्ममा रु दुई करोड मूल्य बराबरको क्षति भएको विकले बताए । जिल्ला सदरमुकाम बेनी बजारको नजिकै रहेको अग्निखेतमा एकै ठाउँमा धेरै बङ्गुर फार्म छन् । यहाँका कृष्ण विक, टीका रोका, पूर्वराज घर्ती, नरे रोका, देवेन्द्र कामी लगायतका कृषकले अग्निखेतमा बङ्गुर पालेका थिए । कृषक टीका रोकाले बङ्गुरपालन व्यवसायबाट विस्थापित हुने अवस्था आएको बताए । ‘तत्काल नयाँ बङ्गुर पाल्न सक्ने वातावरण र हैसियत छैन, पेसाबाट नै विस्थापित हुनुपर्ने भयो’, उनले भने, ‘घरव्यवहार चलाउन र छोराछोरी के गरेर पढाउने भन्ने चिन्ताले पिरोलिएका छौँ ।’ पोखराबाट बङ्गुर ल्याएपछि अग्नीखेतमा अफ्रिकन स्वाइन फिवर भित्रिएको हो । बेनी बजारका घर तथा होटलमा बढी भएर फाल्ने गरिएको खाना बङ्गुरलाई दानाका रुपमा खुवाउने गरिएको थियो । बङ्गुर फार्म लैजान छाडेपछि घर तथा होटलमा बढी भएको दाल, भात, तरकारीको व्यवस्थापन गर्न समस्या भएको बजारवासीले बताएका छन् । धमाधम बङ्गुर मर्न थालेपछि नमुना सङ्कलन गरेर परीक्षणका लागि प्रयोगशाला पठाइएको थियो । यही पुस ११ गते यहाँका बङ्गुर फार्ममा अफ्रिकन स्वाइन फिवर भित्रिएको पुष्टि भएको थियो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख जीवनप्रसाद आचार्यले बेनीको अग्निखेत र अन्नपूर्ण गाउँपालिकाको नौलीबगरमा अफ्रिकन स्वाइन फिवरबाट दुई सय ७५ बङ्गुर मरेका बताए । ‘रोग नियन्त्रणमा नआएसम्म बङ्गुर ओसार पसार गर्न रोकिएको छ’, उनले भने, ‘कृषकलाई सावधानी अपनाउन आग्रहका साथै नियन्त्रणका लागि पशु चिकित्सक र प्राविधिक परिचालन गरिएको छ ।’ जैविक सुरक्षा र सतर्कता अपनाइएकाले जिल्लाका अन्य फार्ममा महामारी फैलिन नपाएको प्रमुख आचार्यले बताए । रोगबाट मरेका बङ्गुरलाई व्यवस्थित तरिकाले जमिनमा गाडिएको छ । बिरामी बङ्गुरमा ज्वरो बढी आउने, बान्ता गर्ने, झोक्र्याउने र शरीरमा नीलो डाम देखिने लक्षण देखिएको छ । पशु सेवा विभागले यस रोगलाई उच्च मृत्युदर भएको ‘अति खतरनाक’ महामारीजन्य रोग भनेको छ । विभागका अनुसार यो रोग पशुबाट मानिसमा भने सर्दैन । सन् २०१८ मा भारत, चीन र भूटानमा देखिएको यो रोग नेपालमा गत वर्षको चैतमा काठमाडौँमा देखिएको थियो । रासस