विकासन्युज

यती एयर दुर्घटना अपेडट : अहिलेसम्म के–के थाहा पाइयो ?

काठमाडौं । पोखरामा यती एयरको विमान दुर्घटना भएको छ । काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको जहाज आइतबार बिहान पोखरा सेती नदीको खोंचमा दुर्घटनामा परेको हो । काठमाडौं विमानस्थलबाट बिहान १०ः३३ बजे उडेको जहाजमा ४ चालक दलका सदस्य र ६८ यात्रु रहेको बुझिएको छ । जहाज पाइलट कमल केसीले उडाएका थिए । उक्त जहाजमा कमल केसी र अन्जु खतिवडा पाइलट कोपाइलट र एस हुन्चु र ओए मगर एयरहोस्टेस रहेको यति एयरलाइन्स स्रोतले जनाएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार खोंचमा खसेको जहाजबाट ३० जनाको शव निकालिएको छ । जहाजको लगभग ८० प्रतिशत जलेकाले कोही जिवित भेटिने सम्भावना नरहेको उनले बताए । अहिलेसम्म आगो निभाउन सकिएको छैन ।

यी हुन् दुर्घटना भएको यती एयरलाइन्सको चालक दलका सदस्य

काठमाडाैं । दर्घटना भएकाे यती एयरलाइन्सको एटीआर–७२ विमानमा भएका ४ जना चालक दलका सदस्यकाे पहिचान खुलेकाे छ । काठमाडौंबाट विहान १०ः३३ बजे पोखराका लागि उडेको जहाजका दुई पाइलट र दुई जना एयर होस्टेसकाे पहिचान खुलेकाे हाे । उक्त जहाजमा कमल केसी र अन्जु खतिवडा पाइलट कोपाइलट र सृजना होङ्चुन र ओसीन आले मगर एयरहोस्टेस रहेको यति एयरलाइन्स स्रोतले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डले बोलाए आकस्मिक मन्त्रिपरिषद बैठक

काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन् । पोखरामा आइतबार बिहान यती एयरलाइन्सको विमान दुर्घटनामा परे सँगै उनले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । बिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको ९ एन–एसीएनसी विमानमा चालक दलका ४ जना सहित ६८ यात्रु सवार रहेको बताइएको छ ।

अपडेट : विमान दुर्घटनामा २० जनाको शव उद्दार

काठमाडौं । पोखरामा आइतबार बिहान दुर्घटनामा परेको यती एयरलाइन्सको विमानमा मृत्यु भएका २० जनाको शवको उद्दार गरिएको छ । ७२ जना सवार रहेको विमानबाट २० जनाको शव उद्दार भएको बुझिएको छ । विमानमा चालक दलसहित ७२ यात्रु सवार रहेको पाइएको छ । पोखरा अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा पुरानो एअरपोर्ट र नयाँ एयरपोर्टको बीचमा रहेको सेती किनारमा दुर्घटना भएको हो ।

गोरु जुधाइ : मनोरञ्जनको माध्यमदेखि विजयोत्सवको गाथा

त्रिशूली । माघे सङ्क्रान्ति पर्वका अवसरमा नुवाकोटसहित आसपासका जिल्लामा गोरु जुधाउन लागिएको छ । नुवाकोटको तारकेश्वर गाउँपालिका–३ तारुका चन्दनीमा २८ हल, विदुर नगरपालिका–१० रसुवासँगको सङ्गमस्थल बेत्रावतीमा नौ हल गोरु जुधाउन लागिएको हो । स्थानीय सरकार (गाँउपालिका)को सहयोगमा स्थानीय क्लब तथा समूहमार्फत जिल्लाको पञ्चकन्या गाउँपालिका–३ पिपलडाँडा, लिखु गाउँपालिका–३ कट्टीछापलगायतका स्थानमा गोरु जुधाई प्रतिस्पर्धा आयोजना गरिएको छ । नुवाकोटसहित यहाँसँग जोडिएका बस्ती धादिङको नीलकण्ठ नगरपालिका–५ खाल्टेको फ्याक्सेमा सात हल र नीलकण्ठ नपा–१४ धुवाँकोटस्थित भङ्गेरीमा १७ हल गोरु जुधाउन लागिएको छ । केही स्थानमा जुधाउने गोरुको यसअघि नै दर्ता गरेर ‘वान भर्सेज वान’ अनुसार जुधाइन्छ । नेपालको गोरु जुधाइलाई स्पेनको ‘बुल फाइट’सँग तुलना गरेर प्रत्यक्ष अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन यो मेला निकै प्रभावकारी बन्दै आएको जनाउँदै स्थानीय सरकारसहित सङ्घ र प्रदेश सरकार, पर्यटन प्रवद्र्धनको क्षेत्रमा क्रियाशील सङ्घसंस्थाको प्रथामिकतामा परेको पर्यटन व्यवसायी तथा जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख एवं हाल तादी गाउँपालिकाको अध्यक्षसमेत रहनुभएका पर्यटन व्यवसायी सन्तमान तामाङले बताए । तारुका दुई दिन जुधाइने माघे सङ्क्रान्ति पर्वका अवसरमा तारुकामा आयोजित गोरु जुधाइ ‘माघे सङ्क्रान्ति गोरु जुधाइ महोत्सव’ व्यवस्थापन समितिमार्फत गर्न लागेको समितिका अध्यक्ष मदन श्रेष्ठले जानकारी दिए । उनका अनुसार यो वर्ष विभिन्न सांस्कृतिक कार्यक्रमसहित गोरु जुधाइलाई महोत्सवका रूपमा आज र भोलि दुई दिन राखिएको छ । ‘अघिल्ला वर्ष मेलाका रूपमा मनाइने गरिएको भए पनि यो वर्ष महोत्सवका रूपमा दुई दिन मनाउन लागिएको छ’, उनले भने, ‘गोरुलाई समय निर्धारण नगरी जुधेसम्म जुधाइने छ भने राष्ट्रिय तथा स्थानीय कलाकारमार्फत लोकदोहोरीलगायतका अन्य मनोरञ्जनका गतिविधिसमेत समावेश गराइएको छ ।’ तारुकाको गोरु जुधाइलाई नेपालकै उद्गम थलोका रूपमा लिइन्छ । तत्कालीन बझाङ्गी राजा विक्रमबहादुर सिंहको छोरा जयपृथ्वीबहादुर सिंह नुवाकोटको तारुकास्थित मामाघरमा आएको समयमा विसंं १८८७ मा पहिलोपटक गोरु जुधाएर रमाइलो देखाइएको थियो भन्ने यहाँका बूढापाकाको भनाइमा गोरु जुधाइलाई निरन्तरता दिइएको गाउँपालिका अध्यक्ष शिव अधिकारी ‘अविरल’ले जानकारी दिए । गोरु जुधाइलाई अहिले धेरै स्थानमा अनुशरण गरिएको र आधुनिकता दिए पनि तारुकाको गोरु जुधाइमा मौलिकपन कायम राखेर परम्पराको निरन्तरता र माघे सङ्क्रान्ति पर्वको महत्वको गरिमालाई कायम राखेर सञ्चालन गरिँदै आएको गाउँपालिका अध्यक्ष अधिकारीको भनाइ छ । बेत्रावतीमा नेपाल-भोट सन्धिमा प्राप्त उपलब्धिमा सुरु बेत्रावतीको गोरु जुधाइको इतिहास भने फरक रहेको यहाँ गोरु जुधाउँदै आएको आयोजक गोसाइँकुण्ड युवा क्लबका अध्यक्ष सुवास डङ्गोलले बताए । नेपाल र भोटबीच भएको युद्धअन्तर्गत विसं १८४९ मा वेत्रगङ्गा (फलाखु) नदी किनारमा भएको व्यापारिक सन्धिपछि नेपाली पक्षको जितको उत्सवमा गोरु जुधाइ सुरु भएको उनको भनाइ छ । ‘नेपाल–भोट युद्धमा नेपालले के पायो भनेर प्रश्न पनि उठ्छ । तर यहीँ (बेत्रावती)मा भएको सन्धिमा नेपाल–तिब्ब्त मैत्रीपूर्ण सम्बन्ध रहने, उपहार साटासाट गर्ने, नेपालीलाई बाह्य शक्तिले आक्रमण गर्दा चीनले सघाउने, नेपालले लुटेको सम्पत्ति फिर्ता दिने, दुई पक्षबीचको विवादमा चिनियाँ आवासीय मन्त्रीसमक्ष पेस गर्नेलगायत सहमति भएको पाइन्छ’, अध्यक्ष डङ्गोलले भने, ‘नेपाल आक्रमण गर्न यही (बेत्रावती)सम्म आएको चिनियाँ सैनिक फौज फर्केर गएपछि नेपालको सीमा रसुवागढीसम्म कायम भयो । यसलाई यहाँ नेपालको जितको उत्सवमा गोरु जुधाएर विजयीको गाथा गाइएको हो ।’ नुवाकोट रसुवावासीको संयुक्त पहलमा बेत्रावतीमा विसं २०६७ देखि गोसाइँकुण्ड युवा क्लबको पहलमा व्यवस्थितरूपमा गोरु जुधाउन थालिएको क्लबका पूर्वअध्यक्ष सुरज लवटले जानकारी दिए । पञ्चकन्यामा घले राजाको मनोरञ्जन तथा विजयोत्सवमा     नुवाकोटको तारुका, बेत्रावतीभन्दा पञ्चकन्यामा गोरु जुधाइने परम्पराको इतिहास फरक छ । यहाँ घले र तामाङ समुदायको बासोबास रहेको स्थानमा गोरु जुधाइको इतिहास घले राजालाई मनोरञ्जन दिनदेखि तत्कालीन घले राज्यमा विजयोत्सव मनाइने गरिएकोसँग जोडिन्छ । पञ्चकन्यामा जुधाइने गोरु बाइसे÷चौबीसे राज्य सञ्चालनको समयमा घले राजाहरूले मनोरञ्जन लिन गोरुलगायतका पशु÷चौपाय जुधाउने गरेको इतिहासलाई निरन्तरता दिइएको गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङ (रमेश)ले जानकारी दिए । यहाँ विसं २०७२ देखि संस्थागतरूपमा गोरु जुधाउन थालिएको हो । गोरुधनी किसानको उल्लेख्य सहभागिता यहाँ जुधाइने गोरुलाई ‘वान भर्सेज वान’का आधारमा नछुट्टिएसम्म जुधाइने गरिएको छ भने विजेता गोरुको धनीलाई नगदसहित प्रशंसापत्रले सम्मान गर्ने गरिएको छ । प्रतिस्पर्धामा गोरु सहभागी गराउन गोरुधनी किसान उत्साहित हुने गरेका छन् भने उनीहरूलाई आकर्षण गर्न आयोजकले जुधाइने गोरुको बीमा, उत्कृष्ट तथा आकर्षण जुधाइलाई थप प्रोत्साहनको समेत व्यवस्था मिलाएको जनाएको छ । ‘खेती गर्नसमेत गोरु पाल्न छाडेका किसानले मकर सङ्क्रान्तिमा प्रतिस्पर्धा गराउनलाई भनेर व्यावसायिकरूपमा गोरु पालेर जुधाउन ल्याउने गरेका छन्,’ तारकेश्वर–३ नुवाकोटका वडाध्यक्ष सूर्यमान श्रेष्ठले भने, ‘उत्कृष्ट गोरुको धनी बन्न किसानले पौष्टिकयुक्त दाना, कुखुराको अण्डा, चना खुवाएर हिमालजस्तो जुरो बनाएर गोरु पाल्ने गरेका छन् ।’ गोरु जुधाइ भिडन्तलाई धार्मिक एवं सांस्कृतिक प्रतिस्पर्धा मात्र नभई पछिल्लो समय खेल पर्यटनको प्रवद्र्धनमा समेत टेवा पुग्दै आएको छ । गोरु जुधाइलाई आन्तरिक तथा बाह्य पर्यटन भित्र्याउन सम्बन्धित पालिकामार्फत आर्थिक सहयोग पुगेको छ भने नेपाल पर्यटन बोर्डले समेत प्रवद्र्धन गर्दै आइरहेको छ । मकर सङ्क्रान्ति पर्वका अवसरमा नुवाकोटको विभिन्न स्थानमा जस्तै नुवाकोटसँग सीमा जोडिएको धादिङको खाल्टे, भङ्गेरीलगायतमा स्थानमा गोरु जुधाइ प्रतिस्पर्धासहित कृषि प्रदर्शनीलगायतका माध्यमबाट परम्परालाई निरन्तरता दिइएको छ ।

नारायणी नदीमा आजदेखि क्रुजसिप चलाइने

चितवन। नारायणी नदीमा आजदेखि ‘क्रुजसिप’ सञ्चालनमा आउने भएको छ। राइनो वाटर इन्टरटेन्मेन्ट कम्पनीले क्रुजसिप सञ्चालनमा आउने जनाएको हो। दुई वर्ष पहिले नै क्रुजसिपको परीक्षण गरिएको थियो। कोभिड माहामारी र केही नीतिगत व्यवधानका कारण क्रुजसिप सञ्चालनमा ल्याउन कठिन भएको कम्पनीले जनाएको छ। कम्पनीका कार्यकारी निर्देशक दीपक ढुङ्गेलका अनुसार सबै प्रक्रिया पूरा गरेर क्रुजसिप सञ्चालन गर्न लागिएको जानकारी दिए। उनका अनुसार आज दिउँसो १ बजे विशेष क्रुजिङको समय हुनेछ। तीन तलाको क्रुजसिपमा कुल एक सय ८० जना सवार गर्न सक्नेछन्। क्रुजसिपमा यात्रा गर्ने यात्रुहरुको १० लाख बराबरको बीमा गरिएको छ। क्रुजसिपमा सवार हुनका लागि टिकट सात सय, ब्रेकफास्ट क्रुजिङको एक हजार पाँच सय, लञ्च क्रुजिङ  दुई हजार र डिनर क्रुजिङ दुई हजार पाँच सय तेकिएको ढुङ्गेलले जानकारी दिए। भरतपुर महानगरपालिका वडा नम्बर १६ ज्ञानेश्वर सामुदायिक वन स्थित काभ्रेघाटमा क्रुजसिपको स्टेसन छ। एक पटकमा यात्रुले करिब एक घण्टा नारायणी नदीमा क्रुजको मज्जा लिन पाउनेछन्। क्रुजसिपमा विवाह, ब्रतबन्ध, पास्नी, जन्मोत्सव, वैवाहिक वर्षगाँठ लगायतका गतिविधिहरु गर्न पाइने कम्पनीका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले बताए। क्रुजसिप निर्माणमा १५ करोड बढी खर्च भएको कँडेलले जानकारी दिए। उनका अनुसार क्रुज सञ्चालनका लागि ४० किलोमिटरसम्मको अनुमति लिइएको छ। रुट पहिचान गरेर सोही अनुसार यात्रा गराइने उनले जानकारी दिए। क्रुजसिपभित्र रेष्टुराँ, कार्यक्रमका लागि स्टेज, बैठक सेमिनार गर्न मिल्ने हल, सेल्फी प्वाइन्ट पनि निर्माण गरिएको छ।

तारकेश्वरमा ४४ करोडमा खानेपानी आयोजना सम्झौता

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा चार हजार ८७५ घरधुरी लाभान्वित हुने गरी खानेपानी आयोजनाको सम्झौता गरिएको छ । काठमाडौंको उत्तरी क्षेत्रमा रहेको तारकेश्वरमा स्थानीय तहको निर्वाचनपछि आएको नयाँ जनप्रतिनिधिको पहिलो बैठकले गरेको ‘एक घर, एक खानेपानी सहितको धारा’ निर्णयअनुसार चार हजार ८७५ घरधुरी लाभान्वित हुने गरी खानेपानी आयोजना सम्झौता गरिएको हो । चालू आर्थिक वर्षको मङ्सिर मसान्तसम्म सङ्घीय सरकार, तारकेश्वर नगरपालिका र गोलढुङ्गा वृहत खानेपानी उपभोक्ता समितिको साझेदारीमा ४४ करोडमा सम्झौता गरिएको तारकेश्वरका नगर प्रमुख कृष्णहरि महर्जनले जानकारी दिए । काठमाडौं महानगर र तारकेश्वर नगरपालिकाको सहलगानीमा निर्माण गरिने अधेरी खोला, अल्ले मुहान र भण्डारे मुहानबाट खानेपानी वितरणका लागि आवश्यक डिपिआर निर्माण कार्यान्वयनको क्रममा छ । तारकेश्वर नगरपालिकाले साहसिक पर्यटन पूर्वाधार विकास गर्न तारकेश्वर नगरपालिका वडा नं ५ मा रहेको भ्यू टावरमा जीपलाइन सेवा, वडा नं ३ मा रहेको कोटडाँडा बञ्जी जम्प र शिवपुरी राष्ट्रिय निकुञ्जमा रहेको तारकेश्वर महादेव मन्दिरसम्म निजी सरकारी साझेदारीमा केबलकार निर्माण गर्न प्रक्रिया अगाडि बढाएको नगरप्रमुख महर्जनले जानकारी दिए । नगरपालिकाले चालू आवमा शुद्ध खानेपानीसहितको एक घर, एक धारा, फोहोरमैला व्यवस्थापन, विपद् व्यवस्थापन, पर्यटन प्रवद्र्धन, सडक बत्ती जडान, सिसि क्यामेरा जडानलाई प्राथमिता दिएको छ । पूर्वाधार विकासअन्तर्गत नगरपालिकाले चालू आवको पुस २० सम्म चार किलोमिटर सडक कालोपत्रे, एक किलोमिटर ४७४ मिटर सडक ढलान, दुई किलोमिटर ६१३ मिटर सडक स्तरोन्नती, ३३४ मिटर ढल व्यवस्थापन, दुई किलोमिटर २३२ मिटर डिमार्केशन वाल निर्माण सम्पन्न गरिसकेको छ । यस्तै, नगर उज्यालो कार्यक्रमअन्तर्गत विभिन्न मुख्य सडक तथा भित्रि सडकमा तीन सय ४१ वटा सौर्य बत्ती जडान गरिएको नगरप्रमुख महर्जनको भनाइ छ । तारकेश्वरभित्रका सामुदायिक विद्यालयबाट गुणस्तरीय शिक्षा उपलब्ध गराउने नीति अनुरुप नगरपालिकाको अनुदानमा निर्माण तथा संरचना सुधार अन्तर्गत फुटुङ मावि, मनमैजु मावि, कालीदेवी मावि, सरस्वती आधारभूत मावि, कालिकाशरण मावि, ग्रामीण आदर्श बहुमुखी क्याम्पस र नेपाल राष्ट्रिय कलेजको भौतिक संरचना सुधार अन्तिम चरणमा पुगेको सो नगरपालिकाले जनाएको छ ।

बुटवल पावर कम्पनीको १२.५ प्रतिशत लाभांश पारित

काठमाडाैं । बुटवल पावर कम्पनीको लाभांश पारित भएकाे छ । कम्पनीकाे ३० औं वार्षिक साधारण सभाले संचालक समितिद्वारा प्रस्तावित १२.५ प्रतिशत लाभांश पारित गरेकाे हाे । समितिले गत वर्षकाे नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीकाे ७.५ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बाेनस सेयर वितरण वितरण गर्ने प्रस्ताव गरेकाे थियाे । बोनस सेयर जारी भएसंगै कम्पनीको चुक्ता पूँजी ३ अर्ब ४० कराेड ९० लाख ६४ हजार ६०० रुपैयाँ कायम हुनेछ । यस कम्पनीले संचालन गर्दै आएका ९.४ मेगावाटको आँधिखोला र १२ मेगावाटको झिमरुक जलविद्युत केन्द्रहरु नियमित रुपमा संचालन भइरहेका छन् । साथै, सहायक तथा सम्वद्ध कम्पनीहरु मार्फत सन्चालित ४ मे. वा. को खुदी जलविद्युत केन्द्र र ६० मे. वा. को खिम्ती प्रथम जलविद्युत केन्द्रको संचालन हुँदै आएको छ । खिम्ती प्रथम जलविद्युत केन्द्रको स्वामित्वको आधा हिस्सा जुलाई २०२० देखी नेपाल विद्युत प्राधिकरणमा गएको छ । यस्तै, लमजुड्ढ जिल्ला स्थित ३० मे.वा. को न्यादी जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न भई २०७९ वैशाख २७ देखि संचालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणवाट निर्माण हुनु पर्ने प्रसारण लाईन निर्माणमा ढिलाई भएका कारण आयोजनाले वैकल्पिक प्रसारण लाईन निर्माण गरी विद्युत आपूर्तिको व्यवस्था गरिरहेकाे छ । साथै, कम्पनीकले ३७.६ मे.वा.को कावेली ए जलविद्युत आयोजनाको स्थानीय रुपमा वित्तिय लगानी जुटाएर निर्माण कार्य पुनः सुचारु गर्नका लागि तयारी गरिरहेकाे जनाएकाे छ ।