सुनको मूल्यले तोड्यो अहिलेसम्मकै रेकर्ड, एक लाख ५ हजारमा कारोबार
काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । आज सनको मुल्य प्रतितोला ११ सय रुपैयाँले बढेको छ भने चाँदीको मुल्य २५ रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ लाख ५ हजार रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ भने आज चाँदीको मूल्य तोलामा १ हजार ३ सय ९० रुपैयाँमा कारोवार भइरहेको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।
महोत्सवले अर्थतन्त्रको आत्मबल बढाएको छ : सभापति खड्कासँगको कुराकानी
नेपाल उद्योग वाणिज्य महासंघका सदस्य तथा मेला सभापति हुन् नरेन्द्र खड्का । प्रदेश १ को उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष समेत रहेका खड्का दुई दशक अगाडि मेची उद्योग वाणिज्य संघको अध्यक्ष समेत भएर पनि काम गरिसकेका छन् । प्रदेश एकका चर्चित कृषि उद्योगीका रूपमा पनि खड्का परिचित छन् । महासंघ अन्तर्गतका जिल्ला नगर संघहरुले देशका विभिन्न ठाउँमा औद्योगिक व्यापार मेला आयोजना पनि गरिरहेका छन् । कतिपय ठाउँहरूमा महोत्सव सम्पन्न भइसकेका छन् भने कतिपय ठाउँमा तयारी गरिँदैछ । खड्कासँग महासंघ तथा नगर संघहरुले आयोजना गरेका महोत्सव पर्याप्त छ छैन, मेलाले अर्थतन्त्रको सुधारमा कस्तो प्रभाव पर्छ लगायत विषयमा विकासन्युजका लागि राजिव न्यौपानेले कुराकानी गरेका छन् । सुरुमा व्यापार मेलाको विषयमा कुरा गरौं, व्यापार तथा प्रदर्शनी मेला किन आवश्यक छ ? आजको दिनमा व्यापार तथा प्रदर्शनीको आवश्यकता निकै महत्वपुर्ण देखिन्छ । साना तथा मझौला उद्योगमार्फत् मौलिकतामा आधारित उत्पादन गर्ने जुन उद्यमीहरू छन्, उनीहरूले उत्पादन गरेको सामानको प्रदर्शनी गर्ने थलोको रूपमा मेला विकास छ । यसले उनीहरूलाई अवश्य सहयोग पुर्याएको छ । मध्य पहाडी क्षेत्रमा रुद्राक्ष ठूलो मात्रा उत्पादन भइरहेको छ । यस्तै, अलैँची, अदुवा, अंबिसो, जडीबुटी, अल्लो आदिका उद्योगहरूले बजार खोज्ने माध्यम पनि हो । मेलाले लामो समयदेखि साना तथा ठूला उद्यमीहरूको प्राथमिकतामा पर्दै आएको छ । पछिल्लो समय व्यापार तथा प्रदर्शनी मेला नाम मात्रैका भए, यसले अर्थतन्त्रमा कुनै योगदान दिन सकेन भन्ने बहस पनि छ नि ? बहस चल्नु राम्रो हो । तर, कुन तरीकाबाट बहस चल्छ भन्ने कुरा हो । सबैको बुझाइ आ–आफ्नो ढंगबाट हुन्छ । केही महिनापछि नेपाल उद्योग वणिज्य महासंघले ‘अन्तर्राष्ट्रिय व्यापार मेला’ आयोजना गर्दैछ । सो मेला चैत्र २ गतेदेखि ६ गतेसम्म हुने भनिएको छ । ग्रामीण क्षेत्रमा भएका साना मझौला उद्योगबाट उत्पादन भएका जस्तो कृषि उपहज, जडीबुटी, चिया लगायत उद्योगहरूले मेलामा आएर ग्राहकहरू खोजुन् मेलाले सक्नु पर्छ । उद्योगीहरूले उत्पादन गरेका सामाग्रीको प्रचार–प्रसार होस् र आम नागरिक बिचमा गुणस्तरीय सामान पुगोस् भन्ने हेतुले मेलाको आयोजना गरिएको हुन्छ । कतिपय कुरामा कोही असन्तुष्टी पनि होला । उहाँहरूले सोचे जस्तो मेलामा नहुन पनि सक्छ । प्राविधिक कारण केही कमि कमजोरी हुन सक्छ । त्यसको आधारमा टीका टिप्पणी गर्न स्वभाविक पनि हुन सक्छ । मेला स्वभाविक र आवश्यक छ । नेपालको अर्थतन्त्रलाई बलियो बनाउने आधार मेला पनि हो । उद्योग र व्यवसायीहरूको निम्ति यो एउटा बलियो प्लेटफर्म हो । मेलामा लाखौं मानिसले अवलोकन गरिरहेका हुन्छन् । जसले गर्दा उद्योगको उत्पादन गरेको वस्तु प्रत्यक्ष रूपमा नियाल्ने अवसर पाउँछन् । त्यसैले उद्योगीलाई प्रवद्र्धन, ग्राहकलाई गुणस्तर सामान मिल्ने ठाउँ हो । अहिले अर्थतन्त्र एक किसिमको सकसमा छ, यो समयमा देशभर हुने मेला महोत्सवले अर्थतन्त्र सुधार गर्न के कस्तो भूमीका खेल्न सक्छन् ? मेलाले अर्थतन्त्रको सुधारमा अवश्य सहयोग पुग्छ । अहिले अर्थतन्त्र संकुचित छ । बैंकको ब्याज दिन प्रतिदिन बढ्दो छ । तरलताको अभावले गर्दा व्यपार व्यवसाय कठिन अवस्थामा छ । उद्योग व्यवसाय पनि कठिन अवस्था छ भने जनमानस चरम महँगाईमा गुज्री रहेको छ । यस्तो अवथामा मेला महोत्सवले एउटा प्रभावकारी भूमिका खेलेको छ । साना तथा ठूला उद्योगीलाई यसले उत्साह थपिदिएको छ । मान्छेलाई उत्साह पनि जगाउने, त्यहाँको आर्थिक मुद्रालाई चलायमान बनाउने भएकाले वस्तुहरू जनमानसमा पुग्ने प्रतिस्पर्धाको एउटा माध्यम पनि हो । मेला महोत्सवले सहज रूपमा देशको अर्थतन्त्रलाई सहयोग पुग्छ । स्वदेशी उत्पादनलाई प्रवद्र्धधन गर्ने भन्दा पनि कतिपय मेला महोत्सवमा विदेशी सामान तथा वस्तुहरूको प्रदर्शनी गर्ने, विदेशी सामानका स्टलहरू राख्ने अभ्यास छ भन्ने सुनिन्छ नि ? हामी स्वदेशीलाई पहिलो प्राथमिकता दिएर हरेक औद्योगिक व्यापार मेलाको आयोजना गर्छौं । हामीले स्वदेशी उत्पादन के हो भनेर बुझ्नु पनि जरुरी छ । स्वदेशी उत्पादनको अवस्था निकै कमजोर छ । स्वदेशी उत्पादनलाई प्राथमिकतामा राखेर मेलाको आयोजना गर्न खोजिरहेका हुन्छौं । तर, मेलामा लागेको खर्च उठाउनलाई भए पनि बाहिरी उत्पादनलाई ठाउँ दिनुपर्ने बाध्यता आइलाग्छ । यो बाध्यता नेपाल सरकारले औद्योगिक व्यापार मेलालाई प्राथमिकतामा नराखेको कारण आइलागेको हो । स्वदेशी उत्पादनलाई प्रवद्र्धनमा बाहिरी सामान राख्न नदिनको लागि सरकारले सातै प्रदेशको केन्द्रमा बजेटको व्यवस्थापन गरी मेला तथा महोत्सव गर्ने हलहरूको व्यवस्था गर्नुपर्याे । काठमाडौं जस्तो ठाउँमा त आज औद्योगिक व्यापार मेला गर्न कठिन छ । खर्च बढी लाग्छ । तर, खर्च बढी भए पनि भृकुटीमण्डपमा प्रदर्शनीको आयोजना हुँदै आएको छ । त्यो भवनको अवस्था पनि जिर्ण छ । काम चलाऊ भइरहेको छ । जिल्ला वा प्रदेशमा महोत्सव गर्ने ठाउँहरू नहुँदा समस्या भइरहेको छ । त्यहाँ मेलाको आयोजना हामीले चौरमा तथा कसैको जग्गा भाडामा लिएर गर्नुपर्ने हुन्छ । त्यही अनुसारको खर्च छदैछ । स्वदेशी मेलामा विदेशीलाई समेट्नु पर्ने बाध्यता भयो । खर्च मेलाको आकार अवस्था हेरेर हुन्छ । एउटा राम्रो मेला आयोजना गर्नको लागि लगभग एकदेखि डेढ करोड रुपैयाँसम्म खर्च हुन्छ । मेला कुन स्तरको गर्ने भन्ने कुरामा पनि खर्चको आधार तय हुन्छ । केही समय अगाडि विराटनगरमा आयोजना भएको मेला एकदमै उत्कृष्ट थियो । त्यो मेलालाई एउटा उदाहरणको रूपमा राखेर त्यस्तै मेला हामीले सबै ठाउँमा गर्ने सोच बनाएका छौं । मेला महोत्सव गर्नको धेरै जसो ठाउँमा जग्गा अभाव भयो । यसको व्यवस्थापन गर्नुपर्याे भनेर सरकार समक्ष पनि आग्रह गर्दै आएका छौं । बेलैमा जग्गाको व्यवस्थामा गर्न सक्यौं भने भावी दिनहरूमा यस्तो समस्या आउँदैन भनेर भनिरहेका छौं । यो हाम्रो मात्र विषय हैन, सरकार, निजी क्षेत्र र राजनैतिक दल लगायतको सरोकारको विषय हो । महोत्सवमा राखिने वस्तु तथा उत्पादनको गुणस्तरको मापनमा तपाईंहरुले कत्तिको ध्यान दिन हुन्छ ? हामी महोत्सवमा राखिने वस्तु तथा उत्पादनको गुणस्तरको विषयमा लिएर निकै सजक छौं । सामानको गुणस्तर मापन गर्ने निकाय छन् । उनीहरूको पनि अनुगमन हुन्छ । प्रदर्शनी स्थलमा धेरै किसिमको उपभोक्ताहरू आउने गर्छन् । त्यसकारणले उद्योगीहरूले प्रदर्शनीमा देखाउन राखेको सामान गुणस्तर तथा उत्कृष्ट हुनु पर्छ । स्टलमा राखिएका सामान नेपाल सरकारको मान्यता विपरितको आउँदैनन् र आउनु पनि हुँदैन । मेला राम्रो वस्तुको प्रदर्शनी गर्ने ठाउँ हो । राम्रो वस्तुको प्रदर्शनी गर्न सकिएन भने उहाँहरूको उत्पादनले ग्राहक पाउँदैन । ग्राहकले त्यसलाई रिजेक्ट गर्दिन्छन् । त्यसो भए अबको दिनमा कस्ता मेला महोत्सवको आवश्यकता छ, हाम्रो लागि यति प्रदर्शनीहरू पर्याप्त छन् ? हामीले अहिलेसम्म गरेको जति पनि औद्योगिक व्यपार मेला छन् त्यो भन्दा माथि उठेर सोच्नु पर्ने अब बेला आएको छ । हामी परम्परागत तरीकाबाट मेला महोत्सवको आयोजना गर्दै आएका छौं । त्यो तरीकाले अब पुग्दैन । अन्तर्राष्ट्रिय मेला महोत्सव हरेर भएपनि हामीलाई अपडेट गर्नुपर्ने अवस्था छ । अपडेट गर्नको लागि नेपाल सरकारको सहयोग तथा सहकार्य बिना सम्भव छैन । सरकारले व्यापारिक मेला आयोजना सम्बन्धी एउटा कानुन बनाइ दिनुपर्ने ठम्याई गरेका छौं । कानुन बनिसकेपछि सरकार नीति नियम भित्र रहेर काम गर्न अझ सहज हुन्छ । मेला महोत्सव गर्नको लागि बजेटको आवश्यकता छ । बजेट बिना अन्तर्राष्ट्रिय स्तरको मेला गर्न गाह्रो छ । विगतका दिनमा तपाईंहरुले यस्ता मेला तथा महोत्सवको आयोजना धेरै गर्नु भएको छ, महोत्सव पश्चात् त्यस क्षेत्रमा कस्तो सुधार भएको पाउनु भयो ? धनगढीमा केही दिन अगाडि व्यापार मेला सम्पन्न भएको छ । मान्छेका उत्साह नभइरहेको अवस्थामा यस्तो किसिमको व्यापार मेलाले त्यहाँको जनमानसलाई विभिन्न ठंगबाट उत्साह थपिदिएको छ । आर्थिक रूपमा अवश्य सहयोग पुग्छ । प्रत्यक्ष नदेखिए पनि अप्रत्यक्ष रूपमा यसको प्रभाव अवश्य पर्छ । एकै चोटी परिवर्तन नदेखिए पनि यसले बिस्तारै प्रभाव पार्दै जान्छ । साना उद्यमीका लागि भन्दै महोत्सवको आयोजना गरिन्छ तर उनीहरूले उत्पादन गरेको सामानले नै बजार नपाइरहेको अवस्था छ नी ? उहाँहरूको निमित्त नै हामीले यस्ता मेला महोत्सव आयोजना गर्ने हो । साना खाल्का उद्यमी साथीहरूलाई मेलामा स्टल पनि निःशुल्क उपलब्ध गराइ रहेका हुन्छौं । उहाँहरूलाई ज्ञान तथा केही कुराको कमी छ भने अपडेट पनि गर्न खोजी रहेका छौं । सबैले देख्न पाउन् उहाँहरूले उत्पादन गरेका सामानको माग बढोस् भनेर नै यस्ता कार्यक्रमहरूको आयोजना गर्ने हो । हामी उहाँहरूको उत्पादनलाई कसरी प्रवद्र्धधन गर्न सकिन्छ, त्यो कुरामा पनि सचेत छौं । म पूर्वका साथीलाई पश्चिममा, पश्चिमका साथीहरूलाई पूर्वका मेलामा पुग्न पनि आग्रह गर्छु । किनभने त्यसले गर्दा औद्योगिक क्षेत्रको अवस्था तथा तरिका थाहा हुन्छ । त्यसको लागि उद्योग वाणिज्य संघले पनि सहयोग गरिरहेको छ । यो मेला व्यवसायिक मात्र हैन, हाम्रो उद्देश्य के भने हामीसँग भएका आबाद भएका सदस्य, उद्यमी साथीहरूलाई कसरी प्रवद्र्धन गर्ने पनि कोसिस हो । प्रदर्शनीका नाममा अनेकौं विकृति भएका कुरा तपाईंलाई भनिराख्नु पर्दैन होला, अबका दिनमा नेपालमा हुने प्रदर्शनी कस्तो हुन आवश्यक छ ? काम गर्दै गरेन भने विकृति थाहा हुँदैन । केही गर्दै जाँदा त्रुटी, समस्या तथा चुनौति आउँछ । हाम्रो तर्फबाट सक्ने कुराको समाधान गर्छौं । सरकारले गर्ने कुराहरू त्यही पुगेर छलफल गर्छौं । त्यसका लागि पनि कानुनको आवश्यक छ भनेर कुरा उठाइरहेका छौं । प्रत्येक उद्योग वाणिज्य संघले आज ४०/४२ वटा औद्योगिक मेला गरिरहेका छन् । त्यसले संकुचित भइरहेको अर्थतन्त्रलाई कम्तिमा पनि आत्मबल बढाउने गरेको छ । किनभने निजी क्षेत्रले यो काम गरेको छ । हामीले नयाँ सरकारबाट ठुलो अपेक्षा गरेका छौं । सरकार र निजी क्षेत्रको सहकार्यमा मात्रै आर्थिक सम्वृद्धिको सम्भव छ भन्ने बुझेको हाम्रो अर्थमा, हामी एकातिर सरकार अर्का तिर कुदेर सम्भव छैन । अर्थतन्त्र बलियो र आर्थिक अवस्था सुधारको निमित्त सबैको साझेदारी सहकार्य गरी भएका समस्यालाई समाधान गरी अगाडि बढ्यो भने यो व्यापारिक मेला पनि अर्थतन्त्र सुधारको एउटा ठूलो माध्यम बन्न सक्छ । प्रदेश नम्बर एक एउटा औद्योगिक क्षेत्र पनि हो, अहिले प्रदेश १ मा उद्योग व्यवसायको अवस्था के छ ? विभिन्न ठाउँमा नीतिगत समस्या छ । भएका कलकारखानाबाट पनि पूर्ण रूपमा उत्पादन भइरहेको छैन । सञ्चालन भएका उद्योग पनि घाटा खादै चल्दै आएका छन् । उद्योगहरूले आफ्नो उत्पादन मासिक रूपमा घटाइ रहेका छन् । अहिले ३० प्रतिशत उद्योग मात्र सञ्चालन भइरहेको छ । कतिपय ठाउँमा नयाँ उद्योग आउने क्रममा छन् । नयाँ उद्योग पनि ल्याउनै पर्छ । किनभने नयाँ उद्योग जति धेरै सञ्चालन हुन सक्यो त्यति धेरै रोजगारी सिर्जना अर्थतन्त्र चलायमान हुने हो । त्यो अवस्थाको आशा गर्न सकिन्छ । भएका उद्योग जे छन् त्यसमा सन्तुष्ट त छैनन् । उद्योगहरूको अवस्था कस्तो छ, हामी सबैले बुझेका छौं । यस्ता विषयमा निवर्तमान अर्थमन्त्री तथा गभर्नरसँग पनि कुरा गरेका छौं । केही सुधारहरू पनि भएका छन् । महासंघले हामीले भने अनुसार भएन भन्ने खालका आशय पनि ब्यक्त गरिरहेका छौं । अहिले उद्योगी व्यवसायीले बैंकबाट ऋण पाएनौं भनेर पनि आवाज उठाइरहेका छन्, ब्याज कस्तो तिर्न परेको छ ? हिजो ८/९ प्रतिशत भएको ब्याज १४/१५ प्रतिशत पुगेको छ । त्यो तरलता अभावको कारणले पनि हो । भर्खरै केही निर्देशिका राष्ट्र बैंकले जारी गरेको छ । त्यस आधारमा मलाई लाग्छ अब बिस्तारै तरलता पनि बढ्ने र बैंकले ऋण पनि सहज हुन सक्छ । उद्योग वाणिज्य महासंघको निर्वाचन पनि नजिकिँदै छ, यो निवार्चनमा प्रदेश एकको प्रतिनिधित्व के मा हुन्छ, व्यक्तिगत रूपमा तपाईंको आकांक्षा के हो ? नेपाल उद्योगमा वाणिज्य महासंघसँग मैले लामो समयसम्म सेवा गर्ने मौका पाएँ । साथीहरूसँग परामर्श गरेर सबैको सल्लाहले नै अगाडि बढ्ने अपेक्षा छ । मेरो आकांक्षा उपाध्यक्षको हो । मेरो आकांक्षाप्रति हामीले छलफल पनि गरिरहेका छौं । सबै साथीहरूको कुरा अनुसार नै म अगाडि बढ्ने छु । अब चन्द्र ढकालको नेतृत्वमा नयाँ समिति बन्छ । उहाँ स्वतः अध्यक्ष बन्दै हुनुहुन्छ । वरिष्ठ उपाध्यक्षको आकांक्षीको रुपमा जिल्ला नगरका उपाध्यक्ष दिनेश श्रेष्ठ, वस्तु संघको उपाध्यक्ष अञ्जन श्रेष्ठ, एसोसिएट तर्फको उपाध्यक्ष रमचन्द्र सङघाई र पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठ हुनुहुन्छ । उहाँहरूले आफ्नो तयारी गरी राख्नु भएको छ । सातै प्रदेशको निर्वाचन उद्योग वाणिज्य महासंघको विधान अनुसार महासंघको निर्वाचन भएको एक महिना अगाडि गर्नुपर्ने व्यवस्था छ । त्यो व्यवस्थाको आधारमा कार्यसमितिको पूर्ण बहुमतको निर्णयले सातै प्रदेशको निर्वाचन गर्ने निणय गरेको छ । त्यसको जिम्मा पदाधिकारीहरुलाई दिइएको छ । महासंघको निर्वाचनको तयारी र चासो बढेको छ । यो कार्यसमितिको समीक्षा कसरी गर्नु भएको छ ? शेखर गोल्छाको नेतृत्वमा आएको कार्यसमितिले नेपाल उद्योग वाणिज्य महासंघको संस्थामा भएका अलमलका कुराहरूमा सुधार भएको छ । संघ संस्थामा सबै नेतृत्वले फरक तरिकाले काम गर्ने आफ्नो नेतृत्वको आधारमा रहेछ । शेखर गोल्छा आफैमा ठूलो औद्योगिक प्रतिष्ठानको नेतृत्व गरिराखेको भएका कारणले उहाँले सचिवालय भनौं आन्तरिक कुराहरूमा सुधार गर्नु भएको छ । विधान अन्तर्गत चल्ने व्यवस्थालाई निरन्तरता दिने कोसिस गर्नु भएको छ । र, कोभिडका कारणले उहाँको कार्यकाल छोटो पनि भयो । उहाँले अपेक्षा गरे अनुसारको चाहँदा चाहँदै पनि कतिपय काम गर्न सक्नु भएन होला । उहाँले महासंघको १० वर्षको गुरु योजना आर्थिक भिजन लिएर आउनु भएको छ । त्यसलाई कार्यान्वयन गर्नको निमित्त महासंघ सबै समितिहरूले अत्यन्तै क्रियाशील रूपमा आफ्नो भूमिका निर्वाह गरेका अवस्था देखिन्छ । र, उहाँ एउटा सफल अध्यक्ष पनि बन्नु भएको छ भन्ने मलाई लाग्छ । कार्यसमितिको सबै साथहरूको सहयोगले यो कार्यकाल अत्यन्तै राम्रो भएको मैले बुझेको छु । आउने कार्यकाल पनि चन्द्र ढकालको नेतृत्व पनि सफल हुन्छ भन्ने अपेक्षा गर्छौं ।
सनराईज क्यापिटलको ३ दशक पुरा, ३० जनालाई नि:शुल्क डिम्याट
काठमाडौं । नेपालको पहिलो मर्चेन्ट बैंक सनराइज क्यापिटल ३० वर्ष पुरा गरी ३१ औं वर्षमा प्रवेश गरेको छ । ३ दशक लामो इतिहास बोकेको क्यापिटल माघ १ गतेदेखि ३० वुर्ष पुरा गरेको हो । नेपालको मर्चेण्ट बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले पहिलो कम्पनीका रुपमा वि.सं. २०४९ माघ १ गते सञ्चालनमा आएको थियो । एनआईडिसि. क्यापिटल मार्केट्सको नामबाट संचालनमा आएको थियो । वि.सं. २०६७ मा एनआईडिसि. क्यापिटल मार्केट्सको सहायक कम्पनीका रुपमा एनसिएम मर्चेण्ट बैकिङ्गको नाममा दर्ता कायम भई बैंकिङ्ग कारोवार गर्दै आएको छ । सनराईज बैंंकले वि.सं. २०७३ माघ २८ मा प्राप्ती गरेपश्चात् सनराईज क्यापिटलको नामबाट सेवा दिँदै आएको छ । नेपालको पुँजी बजारको विकास र विस्तारमा निरन्तर टेवा पुर्याउदै मर्चेण्ट बैंकिङ्ग सेवा प्रदान गर्दै आएकोमा आज ३० वर्ष पूरा गरेको हो । ३० वर्ष पूरा गरेको उपलक्ष्यमा माघ १ गतेदेखि विभिन्न सेवाहरुमा छुटका योजनाहरु ल्याएको छ : निःशुल्क डिम्याट खाता ३० दिनका लागि निःशुल्क मेरो शेयर खाता ३० दिनका लागि लगानी व्यवस्थापन सेवाको Entry Load शुल्कमा तीन वर्षका लागि ३० प्रतिशत छुट ३० लाख र सो माथिको लगानी व्यवस्थापनका लागि Entry Load ३० दिनका लागि निःशुल्क Custodial service को प्रशासनिक शुल्कमा ३० दिनका लागि ३० प्रतिशत छुट पहिलो ३० जना ग्राहकहरुलाई निःशुल्क Custodial service / Portfolio counseling संस्थागत परामर्श शुल्कमा ३० दिनका लागि ३० प्रतिशत छुट नेपालमा पहिलो सामुहिक लगानी कोषको शुरुवात गरेको इतिहासलाई कायम राख्दै कम्पनीले हाल २ वटा म्युचुअल फण्ड ‘सनराईज फस्र्ट म्युचुअल फण्ड’ र ‘सनराइज ब्लूचिप फण्ड’ को व्यवस्थापन गर्दै आईरहेको छ । नयाँ म्युचुअल फण्ड ‘सनराईज फोकष्ड ईक्विटी फण्ड’ निष्काशनको क्रममा रहेको छ । हाल कम्पनीले मर्चेण्ट बैंकिङ्ग कारोवार अन्तर्गत नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सेयर निष्काशन तथा बिक्री प्रबन्धक, कोष व्यवस्थापक, सेयर रजिष्ट्रार, सेयर प्रत्याभूती, निक्षेप सदस्य, लगानी व्यवस्थापन, लगानी परार्मश सेवाको कार्य गर्दै आईरहेको छ ।
रसुवाको थुमनमा पहिलोपटक बससेवा सञ्चालन
रसुवा । भौगोलिक हिसाबले विकट मानिएको उत्तरी रसुवाको थुमनमा पहिलोपटक बस सेवा सञ्चालनमा आएको छ । गोसाइँकुण्ड गाउँपालिका-१ को पहलमा नमस्ते पासाङल्हामु यातायात प्रालिले संघीय राजधानी काठमाडौँको गोङ्गबुदेखि रसुवाको थुमनसम्म करिब एक सय ५० किलोमिटर दूरीमा शनिबार नियमित बस सेवा सुरु गरेको हो । शनिबार बिहान ६ बजे काठमाडौँबाट छुटेको बस अपराह्न ३ बजे थुमन पुगेको थियो । बस सेवा सञ्चालनले थुमन गाउँका चार सयभन्दा बढी घरपरिवार र हिमाली दृश्यावलोकनका लागि नाकथली पुग्ने सयौँ पर्यटकलाई यातायातको सुविधा पुगेको छ । ना ३ ख ८९८४ नंको डिलक्स बस गुडाइ पहिलोपटक थुमन प्रवेश गर्ने चालक मुस्कान मगरलगायत बसका कर्मचारीलाई स्थानीय लामागुरु समेतका समूहले खादा लगाई भव्य स्वागत गरेका थिए । चालक मगरले भने चार-पाँचवटा मोडबाहेक रसुवागढी राजमार्गको रोङ्गाबाट-थुमनसम्मको सडक राम्रो भएको पाइएको र लामागुरुको आशीर्वाद र स्थानीयवासीको स्वागतले सबै बस चालक थुमन जान उत्साहित बनाएको चालक मगरले बताए । बस सेवा सञ्चालन गर्ने क्षमताको सडक सुधार भएसँगै सहजरूपले एम्बुलेन्स गुडाउन, खाद्यान्न ढुवानी गराउन, गाउँवासीका सवारीसाधन घरगाउँमै पुर्याउन सहज भएको गोसाइँकुण्ड-१ का वडाध्यक्ष उर्केनछिरिङ तामाङले बताए । यातायातको साधनद्वारा थुमनवासीलाई नियमित यात्रा गर्न सहज भएको छ । स्थानीय वडा पदाधिकारी र बस व्यवसायीबीचको सहमतिबाट प्रतिव्यक्ति एक हजार दुई सय भाडा निर्धारण गरिएको बताउँदै नमस्ते पासाङल्हामु यातायात प्रालिका अध्यक्ष एवं प्रबन्ध निर्देशक रामहरि श्रेष्ठले सडकमार्गमा काबुभन्दा बाहिरको अवस्थाबाहेक थुमनमा बाह्रै महिना बस सञ्चालन गरिने बताए । तीस वर्ष अगाडिदेखि सञ्चालनमा आएको पुरानो र भरपर्दो विश्वासिलो एकमात्र उक्त यातायात समितिले रसुवा, नुवाकोट र धादिङका विकट गाउँमा बस सेवा सञ्चालन गरी आमयात्रुको मन जित्न सफल भएको छ । हाल नमस्ते पासाङल्हामु यातायातले तीन जिल्लाका आधार इलाकामा दुई सयभन्दा बढी बस सञ्चालन गरिरहेको जनाइएको छ । वडाध्यक्ष उर्केन तामाङले यातायात, स्वास्थ्य, शिक्षालगायत हरेक कुराबाट पछाडि परेको थुमन गाउँमा पहिलोपटक बस पुग्दा दूरदराजका बासिन्दा हर्षविभोर भएको र बाबुबाजेको पालामा जे-जति दुःख भएता पनि अबका दिनमा भावी पुस्तालाई पिठ्युमा थुञ्छे डोका र थाप्लोमा नाम्लो टुट्नेमा आफू आशावादी रहेको बताए । नियमित बस सेवा सञ्चालन भएपछि सोमबारबाट थुमनका किसानले आफ्ना बारीमा उत्पादित हिउँदे तरकारी बिक्रीका लागि काठमाडौँका बजारमा पुर्याउन सजिलो भएको स्थानीय बासिन्दाले बताएका छन् । नेपालकी चेली भृकुटी र तिब्बतका राजा श्रङ्चङ् गोम्बो बीच विवाह हुँदा थुमन क्षेत्र हुँदै भृकुटी तिब्बतै गएकी इतिहासमा उल्लेख गरिइएको छ । ऐतिहासिक थुमन क्षेत्रमा नियमित बस सेवा सञ्चालन भएको खबरले जिल्लावासी खुसी भएको जिल्लाका वरिष्ठ समाजसेवी दावाफिन्जो तामाङले बताए । सन् २०१३ बाट रसुवागढी जलविद्युत्को काम अगाडि बढेसँगै प्रभावित बासिन्दालाई इआइए प्रतिवेदनले औँल्याएकाबाहेक आयोजनाले आन्तरिकरूपमा थप कार्ययोजना बनाई मोटरबाटो निर्माण गरिदिएका कारण ढिलै भए पनि थुमनगाउँमा बस गुडाउन सहज भएको सामाजिक अभियन्ता बताउँछन् । चार-पाँच वर्ष अगाडि आफ्ना आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको सहयोगार्थ एक सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाले निर्माण गरेको सो ग्रामीण पहुँचमार्गको सदुपयोग गर्दै थुमनमा बस जाने वातावरण भएकाले रसुवागढी जलविद्युत् आयोजनाका प्राविधिकलाई नागरिक सम्मान गर्न सामाजिक अगुवाहरूले जोड दिएका छन् । बस सेवा सञ्चालनका लागि रसुवागढी जलविद्युत्कै डोजर तथा लोडर एवं स्थानीय बासिन्दाको जनश्रमदानबाट ग्रामीण सडक सतहका खाल्डाखुल्डी भर्ने र नपुग हुने घुम्ती मोड मर्मत-सुधार गराएपछि यातायात सञ्चालन गरेको हो । रोङ्गाबाट थुमनसम्म तार्सा र देसेगाङसमेत तीन गाउँका बासिन्दाले १३ किमी सडक सुधार गरेको वडासदस्य एवं तार्सा युवा क्लबका अध्यक्ष कैसाङ तामाङले जानकारी दिए। थुमनका लागि काठमाडौँबाट बिहान ६ बजे र थुमनबाट काठमाडौँका लागि बिहान ८.३० बजे छुट्ने समयसमेत निर्धारण गरिएको उक्त बस व्यवस्थापन समितिले जनाएको छ ।
एक करोड लागतमा बर्थिङ सेन्टर निर्माण हुँदै
कञ्चनपुर । लालझाडी गाउँपालिका–४ मा एक करोडको लागतमा बर्थिङ सेन्टर निर्माणकार्य थालिएको छ । सङ्घीय सरकारको विशेष अनुदान कार्यक्रमअन्तर्गत बर्थिङ सेन्टर निर्माण भइरहेको छ । निर्माण सुरु गरिएको बर्थिङ सेन्टर दुई तलाको हुने वडाध्यक्ष बहादुर रानाले जानकारी दिए । ‘तल्लो तलामा सुविधासम्पन्न बर्थिङ सेन्टर रहन्छ’, उनले भने, ‘दोस्रो तलामा स्वास्थ्यकर्मीका लागि आवास निर्माण हुन्छ ।’ चालु आर्थिक वर्षभित्रै बर्थिङ सेन्टर निर्माणकार्य पूरा हुने उनको भनाइ छ । ‘निर्वाचित भएर आएपछि आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा ल्यायौँ, केन्द्रमै बर्थिङ सेन्टर सञ्चालन गरेका छौँ, स्वास्थ्यकर्मीदेखि आवश्यक ठाउँ र सामग्रीको अभाव छ’, उनले भने , ‘सुविधासम्पन्न बर्थिङ सेन्टरका लागि भवन निर्माण भएपछि सहज हुन्छ ।’ विगतमा बर्थिङ सेन्टर नहुँदा सुत्केरी हुने महिलाले पाँच किलोमिटर टाढाको देखतभुली स्वास्थ्यचौकी पुग्नुपर्ने बाध्यता थियो । ‘प्रसूति हुने महिलालाई स्वास्थ्यचौकी पु-याउनै निकै समस्या थियो’, स्थानीय लक्ष्मण रानाले भने, ‘स्वास्थ्यचौकी नपुग्दै महिलाले बीच बाटोमै जोखिम मोल्दै सुत्केरी हुन्थे, गाउँमै बर्थिङ सेन्टर निर्माण भएपछि महिलाले बीच बाटोमै बच्चा पाउनुपर्ने बाध्यता हट्ने भएको छ ।’ देखतभुली स्वास्थ्यचौकी पुग्नका लागि गाउँको बीचमा नदी तर्नुपर्ने बाध्यता रहेको छ । ‘वर्षात्का बेला नदीमा बाढी आएका बेला सुत्केरी हुने महिलालाई काँधमा बोकेर लैजानुपर्ने अवस्था थियो’, रामकुमारी रानाले भने, ‘बाढीका कारण नदी तर्न नसकेर सुत्केरी हुने महिलालाई घरमै फर्काएर ल्याउने गरिएको थियो, निकै जोखिम थियो, बर्थिङ सेन्टर निर्माण हुन थालेपछि विगतका दुःखका दिनको अन्त्य हुने भएको छ ।’ बर्थिङ सेन्टर निर्माण भएपछि लालझाडी गाउँपालिका–४ का एक हजार घरघुरी र शुक्लाफाँटा नगरपालिका–१२ का चार सय घरघुरी लाभान्वित हुने भएका छन् । दुवै पालिकाका वडामा आदिवासी जनजाति थारू समुदायको बाहुल्यता रहेको छ ।
मिटरजडित ट्याक्सीमा स्वचालित भाडा लागू गर्नुपर्ने माग
काठमाडाैं । नेपाल मिटर ट्याक्सी व्यवसायी चालक समाजले आफ्ना १६ बुँदे माग सार्वजनिक गरेको छ । समाजले आफूहरूको व्यवसाय र लगानीको सुरक्षा नभएको भन्दै माग पूरा नभए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । चालक समाजले राज्यले ट्याक्सी व्यवसायीलाई बन्धक बनाएको भन्दै १६ बुँदे माग सार्वजनिक गरेको हो । मिटर जडित ट्याक्सीमा स्वचालित भाडा लागू गर्नुपर्ने चालक समाजले माग अघि सारेको छ । एकद्वार कर प्रणाली लागू गर्नपर्नेमा जोड दिँदै महानगर वा सरकारले एप बनाएर ट्याक्सी सञ्चालन गर्ने व्यवस्था मिलाउनुपर्ने उनीहरूको भनाइ छ । चालक समाजले पेशा व्यवसायका क्रममा विभिन्न मितिमा हत्या गरिएका र कुटपिट गरी घाइते बनाइएका ट्याक्सी व्यवसायीको न्यायका लागि सरकारले पहल गर्नुपर्नेमा जोड दिएको छ । चालकले लगाउनुपर्ने पहेँलो ज्याकेटलाई हटाउनुपर्ने इम्बोड नम्बरमा नेपाली भाषाको प्रयोग गरिनुपर्नेलगायत माग चालक समाजले राखेको छ । चालक समाजका संस्थापक अध्यक्ष सानु पूर्वछानेले इम्बोस्ड नम्बरमा राज्यले गरेको व्यवस्था आफूहरू मान्न तयार नरहेको स्पष्ट पारे । उनले विभिन्न समयमा ४३ ट्याक्सी चालकको हत्या भएको उल्लेख गर्दै हत्यारा पहिचान गरी तत्काल कारबाही गर्न पनि सम्बन्धित निकायलाई ध्यानाकर्षण गराए । ‘हामी पहेँलो प्लेटको नम्बर मान्दैनौँ । हामीलाई नेपालको संवत् र देवनागरीमा जिपिएस फिट गरिएको नम्बर चाहिन्छ’, उनले भने, ‘हाम्रो माग पूरा नभए सम्पूर्ण सवारीसाधन टुँडिखेलमा लगेर थुपारिदिनेछौँ ।’ वरिष्ठ अधिवक्ता ध्रुवलाल प्रधान, डा नन्दकाप्री, नेपाल मिटर ट्याक्सी व्यवसायी चालक समाजका अध्यक्ष प्रेमकुमार तमाङ, उपाध्यक्ष बाबुकाजी श्रेष्ठलगायतको उपस्थिति थियो ।
देवघाट स्नानका लागि निःशुल्क र्याफ्टिङ
नवलपुर । नवलपुर, तनहुँ र चितवन तीन जिल्लाको सङ्गममा पर्ने पवित्र तीर्थस्थल देवघाटधाममा स्नान गर्न जानका लागि नवलपुरतर्फबाट निःशुल्क र्याफ्टिङ डुङ्गाको व्यवस्था गरिएको छ । जिल्लाको गैँडाकोट नगरपालिका–३ का वडाध्यक्ष शिवकान्त तिवारीले केलादीघाट हुँदै वेणीमा जानका लागि निःशुल्क र्याफ्टिङ डुङ्गाको व्यवस्था गरिएको बताए । ‘माघे सङ्क्रान्तिको दिन नवलपुर र चितवन जोड्ने नारायणी नदीको पुल तरेर नारायणगढ हुँदै देवघाटको वेणी पुग्न तीर्थालुलाई निकै कठिन र असहज हुने गरेको छ’, वडाध्यक्ष तिवारीले भने, ‘तीर्थालुहरूले माघे सङ्क्रान्ति स्नान सहजरूपमा गरुन् भन्ने उद्देश्यले हामीले केलादीघाटबाट निःशुल्क र्याफ्टिङ डुङ्गाको व्यवस्था गरेका हौँ ।’ नवलपुरसहित पश्चिमबाट आउने तीर्थालुहरू गैँडाकोटको केलादीघाट हुँदै देवघाट स्थान गर्न जाँदा सहज र छिटो हुने तिवारीको भनाइ छ । ‘हाम्रो वडाको प्रचारप्रसारसहित सहज बाटोबाट तीर्थालुहरू देवघाट पुगुन् भन्ने उद्देश्यले हामीले पहल गरेका हौँ’, वडाध्यक्ष तिवारीले भने, ‘डुङ्गा सञ्चालकसँग हामीले सम्झौता गरेका छौँ, उनीहरूलाई वडा कार्यालयले नै शुल्क भुक्तानी गर्छ, डुङ्गा चढ्ने तीर्थालुसँग कुनै पनि शुल्क लिदैनौँ ।’ गैँडाकोटको पुलचोकबाट करिब पाँच किलोमिटर उत्तरतर्फ लागेपछि केलादीघाट आउने भन्दै तिवारीले केलादीघाट तरेपछि देवघाटको वेणी सङ्गममा पुग्न सकिने बताए । ‘माघे सङ्क्रान्तिको बेला चितवनतर्फबाट देवघाट जान भीडभाड मात्रै होइन बाटो पनि लामो पर्छ’, वडाध्यक्ष तिवारीले भने, ‘नवलपुरबाट सिधै देवघाट पुग्नका लागि बाटो छोटो र सहज हुने पनि हुन्छ ।’ नवलपुरभन्दा पश्चिमबाट आउने सबै तीर्थयात्रीलाई गैँडाकोटको केलादीघाटको बाटो प्रयोग गर्न वडाध्यक्ष तिवारीले आग्रह गरे । मुक्तिनाथबाट बग्दै आएकी कालिगण्डकी नदी र दामोदर कुण्डबाट बग्दै आएकी त्रिशूली नदीको सङ्गमस्थल देवघाटधाममा माघे सङ्क्रान्ति पर्वको अवसरमा लाखौँ भक्तजन आउने गर्छन् । माघे सङ्क्रान्ति स्नानका लागि भक्तजन आउन सुरु गरेका देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्रीप्रसाद अधिकारीले बताए । देवघाट मेलालाई मध्यनगर गर्दै यहाँ यातायात, खानेपानी, शौचालय, बिजुलीबत्तीलगायतका सबै तयारी भएको अधिकारीको भनाइ छ । तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षाकर्मीको बैठकबाट सुरक्षा व्यवस्था कडा बनाउने निर्णयअनुसार काम भइरहेको अधिकारीले बताए ।
वायुसेवा निगमले कर्मचारी सञ्चय कोषलाई तिर्यो ३३ करोड
काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले कर्मचारी सञ्चयकोषलाई किस्ता वापतको रु ३३ करोड नौ लाख ५५ हजार दुई सय ८१ भुक्तानी गरेको छ । निगमले जहाज खरिद गरेबापत कोषलाई तिर्नुपर्ने ऋण दायित्वको किस्ता रकम बुझाएको विज्ञप्तिमार्फत जनाएको हो । ‘कोषबाट जहाज खरिदका निम्ति ऋण लिएकोमा न्यारोबडी जहाज खरिदको साँवा र ब्याजबापतको रकम पछिल्लो पटक पुस २९ गते भुक्तानी गरिएको छ’, विज्ञप्तिमा भनिएको छ । यसअघि निगमले गत असार ३० गते रु एक अर्ब ३५ करोड र कात्तिक १ गते रु ७३ करोड नौ लाख ५५ हजार दुई सय ८१ भुक्तानी गरेको थियो । विगतमा विविध कारणले सञ्चयकोष तथा नागरिक लगानीकोषको ऋण दायित्व भुक्तानी नभइरहेकोमा पछिल्ला दिनमा नियमितरूपमा किस्ता तिर्दै आएको निगमले उल्लेख गरेको छ ।