विकासन्युज

तारकेश्वरमा ४४ करोडमा खानेपानी आयोजना सम्झौता

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा चार हजार ८७५ घरधुरी लाभान्वित हुने गरी खानेपानी आयोजनाको सम्झौता गरिएको छ । काठमाडौंको उत्तरी क्षेत्रमा रहेको तारकेश्वरमा स्थानीय तहको निर्वाचनपछि आएको नयाँ जनप्रतिनिधिको पहिलो बैठकले गरेको ‘एक घर, एक खानेपानी सहितको धारा’ निर्णयअनुसार चार हजार ८७५ घरधुरी लाभान्वित हुने गरी खानेपानी आयोजना सम्झौता गरिएको हो । चालू आर्थिक वर्षको मङ्सिर मसान्तसम्म सङ्घीय सरकार, तारकेश्वर नगरपालिका र गोलढुङ्गा वृहत खानेपानी उपभोक्ता समितिको साझेदारीमा ४४ करोडमा सम्झौता गरिएको तारकेश्वरका नगर प्रमुख कृष्णहरि महर्जनले जानकारी दिए । काठमाडौं महानगर र तारकेश्वर नगरपालिकाको सहलगानीमा निर्माण गरिने अधेरी खोला, अल्ले मुहान र भण्डारे मुहानबाट खानेपानी वितरणका लागि आवश्यक डिपिआर निर्माण कार्यान्वयनको क्रममा छ । तारकेश्वर नगरपालिकाले साहसिक पर्यटन पूर्वाधार विकास गर्न तारकेश्वर नगरपालिका वडा नं ५ मा रहेको भ्यू टावरमा जीपलाइन सेवा, वडा नं ३ मा रहेको कोटडाँडा बञ्जी जम्प र शिवपुरी राष्ट्रिय निकुञ्जमा रहेको तारकेश्वर महादेव मन्दिरसम्म निजी सरकारी साझेदारीमा केबलकार निर्माण गर्न प्रक्रिया अगाडि बढाएको नगरप्रमुख महर्जनले जानकारी दिए । नगरपालिकाले चालू आवमा शुद्ध खानेपानीसहितको एक घर, एक धारा, फोहोरमैला व्यवस्थापन, विपद् व्यवस्थापन, पर्यटन प्रवद्र्धन, सडक बत्ती जडान, सिसि क्यामेरा जडानलाई प्राथमिता दिएको छ । पूर्वाधार विकासअन्तर्गत नगरपालिकाले चालू आवको पुस २० सम्म चार किलोमिटर सडक कालोपत्रे, एक किलोमिटर ४७४ मिटर सडक ढलान, दुई किलोमिटर ६१३ मिटर सडक स्तरोन्नती, ३३४ मिटर ढल व्यवस्थापन, दुई किलोमिटर २३२ मिटर डिमार्केशन वाल निर्माण सम्पन्न गरिसकेको छ । यस्तै, नगर उज्यालो कार्यक्रमअन्तर्गत विभिन्न मुख्य सडक तथा भित्रि सडकमा तीन सय ४१ वटा सौर्य बत्ती जडान गरिएको नगरप्रमुख महर्जनको भनाइ छ । तारकेश्वरभित्रका सामुदायिक विद्यालयबाट गुणस्तरीय शिक्षा उपलब्ध गराउने नीति अनुरुप नगरपालिकाको अनुदानमा निर्माण तथा संरचना सुधार अन्तर्गत फुटुङ मावि, मनमैजु मावि, कालीदेवी मावि, सरस्वती आधारभूत मावि, कालिकाशरण मावि, ग्रामीण आदर्श बहुमुखी क्याम्पस र नेपाल राष्ट्रिय कलेजको भौतिक संरचना सुधार अन्तिम चरणमा पुगेको सो नगरपालिकाले जनाएको छ ।

बुटवल पावर कम्पनीको १२.५ प्रतिशत लाभांश पारित

काठमाडाैं । बुटवल पावर कम्पनीको लाभांश पारित भएकाे छ । कम्पनीकाे ३० औं वार्षिक साधारण सभाले संचालक समितिद्वारा प्रस्तावित १२.५ प्रतिशत लाभांश पारित गरेकाे हाे । समितिले गत वर्षकाे नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीकाे ७.५ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बाेनस सेयर वितरण वितरण गर्ने प्रस्ताव गरेकाे थियाे । बोनस सेयर जारी भएसंगै कम्पनीको चुक्ता पूँजी ३ अर्ब ४० कराेड ९० लाख ६४ हजार ६०० रुपैयाँ कायम हुनेछ । यस कम्पनीले संचालन गर्दै आएका ९.४ मेगावाटको आँधिखोला र १२ मेगावाटको झिमरुक जलविद्युत केन्द्रहरु नियमित रुपमा संचालन भइरहेका छन् । साथै, सहायक तथा सम्वद्ध कम्पनीहरु मार्फत सन्चालित ४ मे. वा. को खुदी जलविद्युत केन्द्र र ६० मे. वा. को खिम्ती प्रथम जलविद्युत केन्द्रको संचालन हुँदै आएको छ । खिम्ती प्रथम जलविद्युत केन्द्रको स्वामित्वको आधा हिस्सा जुलाई २०२० देखी नेपाल विद्युत प्राधिकरणमा गएको छ । यस्तै, लमजुड्ढ जिल्ला स्थित ३० मे.वा. को न्यादी जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न भई २०७९ वैशाख २७ देखि संचालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणवाट निर्माण हुनु पर्ने प्रसारण लाईन निर्माणमा ढिलाई भएका कारण आयोजनाले वैकल्पिक प्रसारण लाईन निर्माण गरी विद्युत आपूर्तिको व्यवस्था गरिरहेकाे छ । साथै, कम्पनीकले ३७.६ मे.वा.को कावेली ए जलविद्युत आयोजनाको स्थानीय रुपमा वित्तिय लगानी जुटाएर निर्माण कार्य पुनः सुचारु गर्नका लागि तयारी गरिरहेकाे जनाएकाे छ ।    

म्याग्दीमा नयाँ प्रविधिको बीउ आलु भित्र्याइयो

म्याग्दी । जलजला गाउँपालिकाले नयाँ प्रविधिको बीउ आलु भित्र्याएको छ । राष्ट्रिय आलु बाली अनुसन्धान केन्द्रसँग समन्वय गरेर प्रगतिशील ताजा तरकारी तथा बीउ उत्पादक कृषक समूहमार्फत वडा नं ६ को लाम्पाटा बराहटोलमा सामूहिक पूर्व मूलबीउ रोपिएको हो । जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले आलुको गुणस्तरीय बीउ उत्पादन, उत्पादन क्षमता कम भएको पुरानो बीउ विस्थापित र बीउ आलुमा आत्मनिर्भर बनाउन पिविएम (पूर्व बीउ आलु)कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । ‘जलजलाको धेरै भूगोलमा आलुखेती भए पनि वर्षौँदेखि एउटै बीउको प्रयोग हुँदा उत्पादन, गुणस्तर र रोगकीराको समस्या देखियो’, उनले भने ‘गुणस्तरीय बीउ उत्पादन गरेर आलु उत्पादन र गुणस्तर सुधार गर्ने उद्देश्यले राष्ट्रिय कृषि अनुसन्धान परिषद् (नार्क)ले सिफारिस गरेको रोग प्रतिरोधात्मक क्षमताको पूर्व मूलबीउ भित्र्याइएको छ ।’ गाउँपालिकाका कृषि अधिकृत राजुप्रसाद गौतमले नौ रोपनी क्षेत्रफलमा खुमल सेतो १, खुमल उज्वल, जनकदेव, खुमल रातो र कार्डनल जातको आलुको ५३ हजार दुई सय दाना रोपिएको जानकारी दिए । अहिले लगाएको बीउ पाँच पुस्तापछि खायन (खानका लागि बीउ रोप्न)  योग्य हुन्छ । हाल यहाँका कृषकले करिब ५० वर्ष पुरानो बीउ प्रयोग गर्दै आएका थिए । बीउ आलुमा आत्मनिर्भर कार्यक्रमका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा १० लाख रुपैयाँ विनियोजन गरेको छ । चिहानकाटे, लाम्पाटा र रात्माटामा ८८ बोरा दोस्रो पुस्ताको बीउ आलु रोपिएको छ । दोस्रो पुस्ताको बीउ आलु कृषकलाई ५० प्रतिशत अनुदानमा वितरण गरिएको हो । कृषकहरूलाई लगाउने ज्याला उपलब्ध गराउने र प्रतिकिलो  २५ देखि ३० रुपैयाँका दरले खरिद गर्ने सम्झौता भएको छ । अहिले लगाएको पुर्व विउ आलु उत्पादन भएपछि कृषकहरुबाट गाउँपालिकाले खरिद गरेर चिस्यानगृहमा राख्ने र पहिलो पुस्ताको विउ उत्पादन गर्न कृषकहरुलाई उपलब्ध गराउने जनाएको छ । पुर्व विउ आलु रोप्न शनिबार गाउँपालिकाका अध्यक्ष आचार्य, कार्यपालिकाको कृषि संयोजक हरिविकास जिसीले कृषकहरुसँगै श्रमदान गरेका थिए । राष्ट्रिय आलु विकास कार्यक्रमका प्राविधिक रमेश खतिवडाले भाइरस र रोगमुक्त पुर्व विउ आलु रोपिएको बताए। ‘पुर्व विउ आलु पाँच सय दाना बराबर ७५ केजी उत्पादन हुन्छ,’ उनले भने  ‘कृषकले बजारबाट खरिद गरेको विउको गुणस्तर राम्रो नहुँदा रोग भित्रिएको, उत्पादन र गुणस्तर घटेको हो ।’ आलु विउ उत्पादनमा चासो देखाउने देशका सिमित स्थानिय तह मध्यमा जलजला रहेको प्राविधिक खतिवडाले बताए । प्रगतिशिल कृषक समूहका अध्यक्ष बाबुराम रेग्मीले धेरै वर्षदेखि एउटै विउ लगाउँदा उत्पादन र गुणस्तर घटेपछि आफै विउ उत्पादन गर्न गाउँपालिकासँग साझेदारी गरिएको बताए । उत्पादन भएको सबै बीउ गाउँपालिकाले खरिद गरिदिने सम्झौता भएकाले बीउ आलुलाई बजारको समस्या नहुने भएकाले उत्साही भएको प्रेमप्रसाद भुसालले बताए । २४ वर्षदेखि आलुखेती गर्दै आएका नारायणदत्त सापकोटाले धेरै वर्षपछि आलुको बीउ परिवर्तन गर्न लागिएको बताए । लुम्ले कृषि अनुसन्धान केन्द्रले धेरै वर्षअघि शालिजामा बीउ आलु भित्र्याएको थियो । वल्लोपल्लो गाउँका कृषकले साटेर सोही समयको बीउ र बजारबाट खरिद लगेर रोप्ने गरेका छन् ।

प्रोग्रेशिभ फाइनान्सको शाखा विस्तार, मधेश प्रदेशमा फैलाउंदै संजाल

काठमाडौं । प्रोग्रेशिभ फाइनान्स वित्तीय सँस्था शाखा विस्तारमा आक्रामक देखिएको छ। फाइनान्सले देशब्यापी कारोबार विस्तार गर्ने लक्ष्य उदेश्यले देशभर शाखा विस्तार गरि शाखा संख्या २७ तथा ४ एक्सटेन्सन काउन्टर पुर्याएको छ। शाखा विस्तार गरि फाइनान्सले मधेश प्रदेशमा लालबन्दी, जलेश्वर, गोदार र यदुकुहा (शहिदनगर न.पा.) गरी जम्मा शाखा संजाल २७ स्थानमा पुर्याएर गुणस्तरीय सेवा दिईरहेको छ। हाल मधेश प्रदेशमा विरगंज, सिमरा, वरहथवा, मलंगवा, गौशाला, लालबन्दी, जलेश्वर, यदुकुहा, गोदार, सबैला ,क्षिरेश्वरनाथ र जनकपुर रहेकोमा अर्को वर्ष मधेश प्रदेशको अन्य स्थानहरुमा समेत शाखा संजाल गर्ने लक्ष्य रहेको फाइनान्सले जनाएको छ। फाइनान्सले बचत खातामा ८ देखि ९ प्रतिशत सम्म, मुद्घती खातामा १२.१० देखि १३ प्रतिशत सम्म तथा क्रमिक बचत खातामा ११.५० देखि १३ प्रतिशत व्याज उपलब्ध गराउदै आएको छ भने कर्जा तर्फ नेपाल राष्ट्र बैकबाट उल्लेखित शिर्षकमा व्याज सहुलियत कर्जाहरु, विना धितो पेशागत कर्जा, व्यक्तिगत कर्जा, व्यापार कर्जा, घर निर्माण कर्जा, जग्गा खरिद कर्जा, इन्सुरेन्स कर्जा, कृषि कर्जा लगायत विभिन्न शिर्षकमा कर्जा उपलव्ध गराउदै आएको छ। निक्षेप संकलनमा विभिन्न किसिमको सेवा सुविधा तथा आकर्षक व्याज प्रदान गरि विभिन्न शिर्षकमा विना झन्झट कर्जा प्रवाह गर्दै आएको फाइनान्सले रेमिटान्स सेवा, मोवाइल बैकिङ्घ , क्यू आर कोड, एटिम, ईसिसि, आईपिएस जस्ता सेवाहरु दिइरहेको छ। साथै फाइनान्सले विभिन्न व्यवसायीहरुसंग व्यापार सम्झौता गरी ग्राहकहरुलाई सुविधा सम्पन्न बनाएकोे जानकारी फाइनान्सका प्रदेश प्रमुख विनय कुमार साहले जानकारी गराएका छन् ।

७२ जना यात्रु बोकेको यती एयरलाइन्सको जहाज दुर्घटनामा

काठमाडौं । पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भएको छ । काठमाडौंबाट विहान १०ः३३ बजे पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर–७२ विमान दुर्घटना भएको हो । यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमानमा दुई पाइलट, दुई जना एयर होस्टेस र ६८ जना यात्रु सवार थिए । कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले सेती नदीको खोँचमा विमान दुर्घटना भएको सूचना प्राप्त भएपछि अस्पताल र एम्बुलेन्सलाई उच्च तयारीमा रहन निर्देशन दिएको जानकारी दिए ।

सुनको मूल्यले तोड्यो अहिलेसम्मकै रेकर्ड, एक लाख ५ हजारमा कारोबार

काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । आज सनको मुल्य प्रतितोला ११ सय रुपैयाँले बढेको छ भने चाँदीको मुल्य २५ रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ लाख ५ हजार रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ भने आज चाँदीको मूल्य तोलामा १ हजार ३ सय ९० रुपैयाँमा कारोवार भइरहेको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

महोत्सवले अर्थतन्त्रको आत्मबल बढाएको छ : सभापति खड्कासँगको कुराकानी

नेपाल उद्योग वाणिज्य महासंघका सदस्य तथा मेला सभापति हुन् नरेन्द्र खड्का । प्रदेश १ को उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष समेत रहेका खड्का दुई दशक अगाडि मेची उद्योग वाणिज्य संघको अध्यक्ष समेत भएर पनि काम गरिसकेका छन् । प्रदेश एकका चर्चित कृषि उद्योगीका रूपमा पनि खड्का परिचित छन् । महासंघ अन्तर्गतका जिल्ला नगर संघहरुले देशका विभिन्न ठाउँमा औद्योगिक व्यापार मेला आयोजना पनि गरिरहेका छन् । कतिपय ठाउँहरूमा महोत्सव सम्पन्न भइसकेका छन् भने कतिपय ठाउँमा तयारी गरिँदैछ । खड्कासँग महासंघ तथा नगर संघहरुले आयोजना गरेका महोत्सव पर्याप्त छ छैन, मेलाले अर्थतन्त्रको सुधारमा कस्तो प्रभाव पर्छ लगायत विषयमा विकासन्युजका लागि राजिव न्यौपानेले कुराकानी गरेका छन् । सुरुमा व्यापार मेलाको विषयमा कुरा गरौं, व्यापार तथा प्रदर्शनी मेला किन आवश्यक छ ?  आजको दिनमा व्यापार तथा प्रदर्शनीको आवश्यकता निकै महत्वपुर्ण देखिन्छ । साना तथा मझौला उद्योगमार्फत् मौलिकतामा आधारित उत्पादन गर्ने जुन उद्यमीहरू छन्, उनीहरूले उत्पादन गरेको सामानको प्रदर्शनी गर्ने थलोको रूपमा मेला विकास छ । यसले उनीहरूलाई अवश्य सहयोग पुर्याएको छ । मध्य पहाडी क्षेत्रमा रुद्राक्ष ठूलो मात्रा उत्पादन भइरहेको छ । यस्तै, अलैँची, अदुवा, अंबिसो, जडीबुटी, अल्लो आदिका उद्योगहरूले बजार खोज्ने माध्यम पनि हो । मेलाले लामो समयदेखि साना तथा ठूला उद्यमीहरूको प्राथमिकतामा पर्दै आएको छ । पछिल्लो समय व्यापार तथा प्रदर्शनी मेला नाम मात्रैका भए, यसले अर्थतन्त्रमा कुनै योगदान दिन सकेन भन्ने बहस पनि छ नि ?  बहस चल्नु राम्रो हो । तर, कुन तरीकाबाट बहस चल्छ भन्ने कुरा हो । सबैको बुझाइ आ–आफ्नो ढंगबाट हुन्छ । केही महिनापछि नेपाल उद्योग वणिज्य महासंघले ‘अन्तर्राष्ट्रिय व्यापार मेला’ आयोजना गर्दैछ । सो मेला चैत्र २ गतेदेखि ६ गतेसम्म हुने भनिएको छ । ग्रामीण क्षेत्रमा भएका साना मझौला उद्योगबाट उत्पादन भएका जस्तो कृषि उपहज, जडीबुटी, चिया लगायत उद्योगहरूले मेलामा आएर ग्राहकहरू खोजुन् मेलाले सक्नु पर्छ । उद्योगीहरूले उत्पादन गरेका सामाग्रीको प्रचार–प्रसार होस् र आम नागरिक बिचमा गुणस्तरीय सामान पुगोस् भन्ने हेतुले मेलाको आयोजना गरिएको हुन्छ । कतिपय कुरामा कोही असन्तुष्टी पनि होला । उहाँहरूले सोचे जस्तो मेलामा नहुन पनि सक्छ । प्राविधिक कारण केही कमि कमजोरी हुन सक्छ । त्यसको आधारमा टीका टिप्पणी गर्न स्वभाविक पनि हुन सक्छ । मेला स्वभाविक र आवश्यक छ । नेपालको अर्थतन्त्रलाई बलियो बनाउने आधार मेला पनि हो । उद्योग र व्यवसायीहरूको निम्ति यो एउटा बलियो प्लेटफर्म हो । मेलामा लाखौं मानिसले अवलोकन गरिरहेका हुन्छन् । जसले गर्दा उद्योगको उत्पादन गरेको वस्तु प्रत्यक्ष रूपमा नियाल्ने अवसर पाउँछन् । त्यसैले उद्योगीलाई प्रवद्र्धन, ग्राहकलाई गुणस्तर सामान मिल्ने ठाउँ हो । अहिले अर्थतन्त्र एक किसिमको सकसमा छ, यो समयमा देशभर हुने मेला महोत्सवले अर्थतन्त्र सुधार गर्न के कस्तो भूमीका खेल्न सक्छन् ?  मेलाले अर्थतन्त्रको सुधारमा अवश्य सहयोग पुग्छ । अहिले अर्थतन्त्र संकुचित छ । बैंकको ब्याज दिन प्रतिदिन बढ्दो छ । तरलताको अभावले गर्दा व्यपार व्यवसाय कठिन अवस्थामा छ । उद्योग व्यवसाय पनि कठिन अवस्था छ भने जनमानस चरम महँगाईमा गुज्री रहेको छ । यस्तो अवथामा मेला महोत्सवले एउटा प्रभावकारी भूमिका खेलेको छ । साना तथा ठूला उद्योगीलाई यसले उत्साह थपिदिएको छ । मान्छेलाई उत्साह पनि जगाउने, त्यहाँको आर्थिक मुद्रालाई चलायमान बनाउने भएकाले वस्तुहरू जनमानसमा पुग्ने प्रतिस्पर्धाको एउटा माध्यम पनि हो । मेला महोत्सवले सहज रूपमा देशको अर्थतन्त्रलाई सहयोग पुग्छ । स्वदेशी उत्पादनलाई प्रवद्र्धधन गर्ने भन्दा पनि कतिपय मेला महोत्सवमा विदेशी सामान तथा वस्तुहरूको प्रदर्शनी गर्ने, विदेशी सामानका स्टलहरू राख्ने अभ्यास छ भन्ने सुनिन्छ नि ? हामी स्वदेशीलाई पहिलो प्राथमिकता दिएर हरेक औद्योगिक व्यापार मेलाको आयोजना गर्छौं । हामीले स्वदेशी उत्पादन के हो भनेर बुझ्नु पनि जरुरी छ । स्वदेशी उत्पादनको अवस्था निकै कमजोर छ । स्वदेशी उत्पादनलाई प्राथमिकतामा राखेर मेलाको आयोजना गर्न खोजिरहेका हुन्छौं । तर, मेलामा लागेको खर्च उठाउनलाई भए पनि बाहिरी उत्पादनलाई ठाउँ दिनुपर्ने बाध्यता आइलाग्छ । यो बाध्यता नेपाल सरकारले औद्योगिक व्यापार मेलालाई प्राथमिकतामा नराखेको कारण आइलागेको हो । स्वदेशी उत्पादनलाई प्रवद्र्धनमा बाहिरी सामान राख्न नदिनको लागि सरकारले सातै प्रदेशको केन्द्रमा बजेटको व्यवस्थापन गरी मेला तथा महोत्सव गर्ने हलहरूको व्यवस्था गर्नुपर्याे । काठमाडौं जस्तो ठाउँमा त आज औद्योगिक व्यापार मेला गर्न कठिन छ । खर्च बढी लाग्छ । तर, खर्च बढी भए पनि भृकुटीमण्डपमा प्रदर्शनीको आयोजना हुँदै आएको छ । त्यो भवनको अवस्था पनि जिर्ण छ । काम चलाऊ भइरहेको छ । जिल्ला वा प्रदेशमा महोत्सव गर्ने ठाउँहरू नहुँदा समस्या भइरहेको छ । त्यहाँ मेलाको आयोजना हामीले चौरमा तथा कसैको जग्गा भाडामा लिएर गर्नुपर्ने हुन्छ । त्यही अनुसारको खर्च छदैछ । स्वदेशी मेलामा  विदेशीलाई समेट्नु पर्ने बाध्यता भयो । खर्च मेलाको आकार अवस्था हेरेर हुन्छ । एउटा राम्रो मेला आयोजना गर्नको लागि लगभग एकदेखि डेढ करोड रुपैयाँसम्म खर्च हुन्छ । मेला कुन स्तरको गर्ने भन्ने कुरामा पनि खर्चको आधार तय हुन्छ । केही समय अगाडि विराटनगरमा आयोजना भएको मेला एकदमै उत्कृष्ट थियो । त्यो मेलालाई एउटा उदाहरणको रूपमा राखेर त्यस्तै मेला हामीले सबै ठाउँमा गर्ने सोच बनाएका छौं । मेला महोत्सव गर्नको धेरै जसो ठाउँमा जग्गा अभाव भयो । यसको व्यवस्थापन गर्नुपर्याे भनेर सरकार समक्ष पनि आग्रह गर्दै आएका छौं । बेलैमा जग्गाको व्यवस्थामा गर्न सक्यौं भने भावी दिनहरूमा यस्तो समस्या आउँदैन भनेर भनिरहेका छौं । यो हाम्रो मात्र विषय हैन, सरकार, निजी क्षेत्र र राजनैतिक दल लगायतको सरोकारको विषय हो । महोत्सवमा राखिने वस्तु तथा उत्पादनको गुणस्तरको मापनमा तपाईंहरुले कत्तिको ध्यान दिन हुन्छ ?  हामी महोत्सवमा राखिने वस्तु तथा उत्पादनको गुणस्तरको विषयमा लिएर निकै सजक छौं । सामानको गुणस्तर मापन गर्ने निकाय छन् । उनीहरूको पनि अनुगमन हुन्छ । प्रदर्शनी स्थलमा धेरै किसिमको उपभोक्ताहरू आउने गर्छन् । त्यसकारणले उद्योगीहरूले प्रदर्शनीमा देखाउन राखेको सामान गुणस्तर तथा उत्कृष्ट हुनु पर्छ । स्टलमा राखिएका सामान नेपाल सरकारको मान्यता विपरितको आउँदैनन् र आउनु पनि हुँदैन । मेला राम्रो वस्तुको प्रदर्शनी गर्ने ठाउँ हो । राम्रो वस्तुको प्रदर्शनी गर्न सकिएन भने उहाँहरूको उत्पादनले ग्राहक पाउँदैन । ग्राहकले त्यसलाई रिजेक्ट गर्दिन्छन् । त्यसो भए अबको दिनमा कस्ता मेला महोत्सवको आवश्यकता छ, हाम्रो लागि यति प्रदर्शनीहरू पर्याप्त छन् ?  हामीले अहिलेसम्म गरेको जति पनि औद्योगिक व्यपार मेला छन् त्यो भन्दा माथि उठेर सोच्नु पर्ने अब बेला आएको छ । हामी परम्परागत तरीकाबाट मेला महोत्सवको आयोजना गर्दै आएका छौं । त्यो तरीकाले अब पुग्दैन । अन्तर्राष्ट्रिय मेला महोत्सव हरेर भएपनि हामीलाई अपडेट गर्नुपर्ने अवस्था छ । अपडेट गर्नको लागि नेपाल सरकारको सहयोग तथा सहकार्य बिना सम्भव छैन । सरकारले व्यापारिक मेला आयोजना सम्बन्धी एउटा कानुन बनाइ दिनुपर्ने ठम्याई गरेका छौं । कानुन बनिसकेपछि सरकार नीति नियम भित्र रहेर काम गर्न अझ सहज हुन्छ । मेला महोत्सव गर्नको लागि बजेटको आवश्यकता छ । बजेट बिना अन्तर्राष्ट्रिय स्तरको मेला गर्न गाह्रो छ । विगतका दिनमा तपाईंहरुले यस्ता मेला तथा महोत्सवको आयोजना धेरै गर्नु भएको छ, महोत्सव पश्चात् त्यस क्षेत्रमा कस्तो सुधार भएको पाउनु भयो ?  धनगढीमा केही दिन अगाडि व्यापार मेला सम्पन्न भएको छ । मान्छेका उत्साह नभइरहेको अवस्थामा यस्तो किसिमको व्यापार मेलाले त्यहाँको जनमानसलाई विभिन्न ठंगबाट उत्साह थपिदिएको छ । आर्थिक रूपमा अवश्य सहयोग पुग्छ । प्रत्यक्ष नदेखिए पनि अप्रत्यक्ष रूपमा यसको प्रभाव अवश्य पर्छ । एकै चोटी परिवर्तन नदेखिए पनि यसले बिस्तारै प्रभाव पार्दै जान्छ । साना उद्यमीका लागि भन्दै महोत्सवको आयोजना गरिन्छ तर उनीहरूले उत्पादन गरेको सामानले नै बजार नपाइरहेको अवस्था छ नी ?  उहाँहरूको निमित्त नै हामीले यस्ता मेला महोत्सव आयोजना गर्ने हो । साना खाल्का उद्यमी साथीहरूलाई मेलामा स्टल पनि निःशुल्क उपलब्ध गराइ रहेका हुन्छौं । उहाँहरूलाई ज्ञान तथा केही कुराको कमी छ भने अपडेट पनि गर्न खोजी रहेका छौं । सबैले देख्न पाउन् उहाँहरूले उत्पादन गरेका सामानको माग बढोस् भनेर नै यस्ता कार्यक्रमहरूको आयोजना गर्ने हो । हामी उहाँहरूको उत्पादनलाई कसरी प्रवद्र्धधन गर्न सकिन्छ, त्यो कुरामा पनि सचेत छौं । म पूर्वका साथीलाई पश्चिममा, पश्चिमका साथीहरूलाई पूर्वका मेलामा पुग्न पनि आग्रह गर्छु । किनभने त्यसले गर्दा औद्योगिक क्षेत्रको अवस्था तथा तरिका थाहा हुन्छ ।  त्यसको लागि उद्योग वाणिज्य संघले पनि सहयोग गरिरहेको छ । यो मेला व्यवसायिक मात्र हैन, हाम्रो उद्देश्य के भने हामीसँग भएका आबाद भएका सदस्य, उद्यमी साथीहरूलाई कसरी प्रवद्र्धन गर्ने पनि कोसिस हो । प्रदर्शनीका नाममा अनेकौं विकृति भएका कुरा तपाईंलाई भनिराख्नु पर्दैन होला, अबका दिनमा नेपालमा हुने प्रदर्शनी कस्तो हुन आवश्यक छ ?  काम गर्दै गरेन भने विकृति थाहा हुँदैन । केही गर्दै जाँदा त्रुटी, समस्या तथा चुनौति आउँछ । हाम्रो तर्फबाट सक्ने कुराको समाधान गर्छौं । सरकारले गर्ने कुराहरू त्यही पुगेर छलफल गर्छौं । त्यसका लागि पनि कानुनको आवश्यक छ भनेर कुरा उठाइरहेका छौं । प्रत्येक उद्योग वाणिज्य संघले आज ४०/४२ वटा औद्योगिक मेला गरिरहेका छन् । त्यसले संकुचित भइरहेको अर्थतन्त्रलाई कम्तिमा पनि आत्मबल बढाउने गरेको छ । किनभने निजी क्षेत्रले यो काम गरेको छ । हामीले नयाँ सरकारबाट ठुलो अपेक्षा गरेका छौं । सरकार र निजी क्षेत्रको सहकार्यमा मात्रै आर्थिक सम्वृद्धिको सम्भव छ भन्ने बुझेको हाम्रो अर्थमा,  हामी एकातिर सरकार अर्का तिर कुदेर सम्भव छैन । अर्थतन्त्र बलियो र आर्थिक अवस्था सुधारको निमित्त सबैको साझेदारी सहकार्य गरी भएका समस्यालाई समाधान गरी अगाडि बढ्यो भने यो व्यापारिक मेला पनि अर्थतन्त्र सुधारको एउटा ठूलो माध्यम बन्न सक्छ । प्रदेश नम्बर एक एउटा औद्योगिक क्षेत्र पनि हो, अहिले प्रदेश १ मा उद्योग व्यवसायको अवस्था के छ ?  विभिन्न ठाउँमा नीतिगत समस्या छ । भएका कलकारखानाबाट पनि पूर्ण रूपमा उत्पादन भइरहेको छैन । सञ्चालन भएका उद्योग पनि घाटा खादै चल्दै आएका छन् । उद्योगहरूले आफ्नो उत्पादन मासिक रूपमा घटाइ रहेका छन् । अहिले ३० प्रतिशत उद्योग मात्र सञ्चालन भइरहेको छ । कतिपय ठाउँमा नयाँ उद्योग आउने क्रममा छन् । नयाँ उद्योग पनि ल्याउनै पर्छ । किनभने नयाँ उद्योग जति धेरै सञ्चालन हुन सक्यो त्यति धेरै रोजगारी सिर्जना अर्थतन्त्र चलायमान हुने हो । त्यो अवस्थाको आशा गर्न सकिन्छ । भएका उद्योग जे छन् त्यसमा सन्तुष्ट त छैनन् । उद्योगहरूको अवस्था कस्तो छ, हामी सबैले बुझेका छौं । यस्ता विषयमा निवर्तमान अर्थमन्त्री तथा गभर्नरसँग पनि कुरा गरेका छौं । केही सुधारहरू पनि भएका  छन् । महासंघले हामीले भने अनुसार भएन भन्ने खालका आशय पनि ब्यक्त गरिरहेका छौं । अहिले उद्योगी व्यवसायीले बैंकबाट ऋण पाएनौं भनेर पनि आवाज उठाइरहेका छन्, ब्याज कस्तो तिर्न परेको छ ?  हिजो ८/९ प्रतिशत भएको ब्याज १४/१५ प्रतिशत पुगेको छ । त्यो तरलता अभावको कारणले पनि हो । भर्खरै केही निर्देशिका राष्ट्र बैंकले जारी गरेको छ । त्यस आधारमा मलाई लाग्छ अब बिस्तारै तरलता पनि बढ्ने र बैंकले ऋण पनि  सहज हुन सक्छ । उद्योग वाणिज्य महासंघको निर्वाचन पनि नजिकिँदै छ, यो निवार्चनमा प्रदेश एकको प्रतिनिधित्व के मा हुन्छ, व्यक्तिगत रूपमा तपाईंको आकांक्षा के हो ?  नेपाल उद्योगमा वाणिज्य महासंघसँग मैले लामो समयसम्म सेवा गर्ने मौका पाएँ । साथीहरूसँग परामर्श गरेर सबैको सल्लाहले नै अगाडि बढ्ने अपेक्षा छ । मेरो आकांक्षा उपाध्यक्षको हो । मेरो आकांक्षाप्रति हामीले छलफल पनि गरिरहेका छौं । सबै साथीहरूको कुरा अनुसार नै म अगाडि बढ्ने छु । अब चन्द्र ढकालको नेतृत्वमा नयाँ समिति बन्छ । उहाँ स्वतः अध्यक्ष बन्दै हुनुहुन्छ ।  वरिष्ठ उपाध्यक्षको आकांक्षीको रुपमा जिल्ला नगरका उपाध्यक्ष दिनेश श्रेष्ठ, वस्तु संघको उपाध्यक्ष अञ्जन श्रेष्ठ, एसोसिएट तर्फको उपाध्यक्ष रमचन्द्र सङघाई र पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठ हुनुहुन्छ । उहाँहरूले आफ्नो तयारी गरी राख्नु भएको छ । सातै प्रदेशको निर्वाचन उद्योग वाणिज्य महासंघको विधान अनुसार महासंघको निर्वाचन भएको एक महिना अगाडि गर्नुपर्ने व्यवस्था छ । त्यो व्यवस्थाको आधारमा कार्यसमितिको पूर्ण बहुमतको निर्णयले सातै प्रदेशको निर्वाचन गर्ने निणय गरेको छ । त्यसको जिम्मा पदाधिकारीहरुलाई दिइएको छ । महासंघको निर्वाचनको तयारी र चासो बढेको छ । यो कार्यसमितिको समीक्षा कसरी गर्नु भएको छ ?  शेखर गोल्छाको नेतृत्वमा आएको कार्यसमितिले नेपाल उद्योग वाणिज्य महासंघको संस्थामा भएका अलमलका कुराहरूमा सुधार भएको छ । संघ संस्थामा सबै नेतृत्वले फरक तरिकाले काम गर्ने आफ्नो नेतृत्वको आधारमा रहेछ । शेखर गोल्छा आफैमा ठूलो औद्योगिक प्रतिष्ठानको नेतृत्व गरिराखेको भएका कारणले उहाँले सचिवालय भनौं आन्तरिक कुराहरूमा सुधार गर्नु भएको छ । विधान अन्तर्गत चल्ने व्यवस्थालाई निरन्तरता दिने कोसिस गर्नु भएको छ । र, कोभिडका कारणले उहाँको कार्यकाल छोटो पनि भयो । उहाँले अपेक्षा गरे अनुसारको चाहँदा चाहँदै पनि कतिपय काम गर्न सक्नु भएन होला । उहाँले महासंघको १० वर्षको गुरु योजना आर्थिक भिजन लिएर आउनु भएको छ । त्यसलाई कार्यान्वयन गर्नको निमित्त महासंघ सबै समितिहरूले अत्यन्तै क्रियाशील रूपमा आफ्नो भूमिका निर्वाह गरेका अवस्था देखिन्छ । र, उहाँ एउटा सफल अध्यक्ष पनि बन्नु भएको छ भन्ने मलाई लाग्छ । कार्यसमितिको सबै साथहरूको सहयोगले यो कार्यकाल अत्यन्तै राम्रो भएको मैले बुझेको छु । आउने कार्यकाल पनि चन्द्र ढकालको नेतृत्व पनि सफल हुन्छ भन्ने अपेक्षा गर्छौं ।

सनराईज क्यापिटलको ३ दशक पुरा, ३० जनालाई नि:शुल्क डिम्याट

काठमाडौं । नेपालको पहिलो मर्चेन्ट बैंक सनराइज क्यापिटल ३० वर्ष पुरा गरी ३१ औं वर्षमा प्रवेश गरेको छ । ३ दशक लामो इतिहास बोकेको क्यापिटल माघ १ गतेदेखि ३० वुर्ष पुरा गरेको हो । नेपालको मर्चेण्ट बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले पहिलो कम्पनीका रुपमा वि.सं. २०४९ माघ १ गते सञ्चालनमा आएको थियो । एनआईडिसि. क्यापिटल मार्केट्सको नामबाट संचालनमा आएको थियो । वि.सं. २०६७ मा एनआईडिसि. क्यापिटल मार्केट्सको सहायक कम्पनीका रुपमा एनसिएम मर्चेण्ट बैकिङ्गको नाममा दर्ता कायम भई बैंकिङ्ग कारोवार गर्दै आएको छ । सनराईज बैंंकले वि.सं. २०७३ माघ २८ मा प्राप्ती गरेपश्चात् सनराईज क्यापिटलको नामबाट सेवा दिँदै आएको छ । नेपालको पुँजी बजारको विकास र विस्तारमा निरन्तर टेवा पुर्याउदै मर्चेण्ट बैंकिङ्ग सेवा प्रदान गर्दै आएकोमा आज ३० वर्ष पूरा गरेको हो । ३० वर्ष पूरा गरेको उपलक्ष्यमा माघ १ गतेदेखि विभिन्न सेवाहरुमा छुटका योजनाहरु ल्याएको छ : निःशुल्क डिम्याट खाता ३० दिनका लागि निःशुल्क मेरो शेयर खाता ३० दिनका लागि लगानी व्यवस्थापन सेवाको Entry Load शुल्कमा तीन वर्षका लागि ३० प्रतिशत छुट ३० लाख र सो माथिको लगानी व्यवस्थापनका लागि Entry Load ३० दिनका लागि निःशुल्क Custodial service को प्रशासनिक शुल्कमा ३० दिनका लागि ३० प्रतिशत छुट पहिलो ३० जना ग्राहकहरुलाई निःशुल्क Custodial service / Portfolio counseling संस्थागत परामर्श शुल्कमा ३० दिनका लागि ३० प्रतिशत छुट नेपालमा पहिलो सामुहिक लगानी कोषको शुरुवात गरेको इतिहासलाई कायम राख्दै कम्पनीले हाल २ वटा म्युचुअल फण्ड ‘सनराईज फस्र्ट म्युचुअल फण्ड’ र ‘सनराइज ब्लूचिप फण्ड’ को व्यवस्थापन गर्दै आईरहेको छ । नयाँ म्युचुअल फण्ड ‘सनराईज फोकष्ड ईक्विटी फण्ड’ निष्काशनको क्रममा रहेको छ । हाल कम्पनीले मर्चेण्ट बैंकिङ्ग कारोवार अन्तर्गत नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सेयर निष्काशन तथा बिक्री प्रबन्धक, कोष व्यवस्थापक, सेयर रजिष्ट्रार, सेयर प्रत्याभूती, निक्षेप सदस्य, लगानी व्यवस्थापन, लगानी परार्मश सेवाको कार्य गर्दै आईरहेको छ ।