विकासन्युज

गर्मीबाट पशुपालकलाई राहत, ७ जिल्लामा सुरु भयो सूचकांकमा आधारित विशेष बीमालेख

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले प्लान्ट स्याटसँगको प्राविधिक सहकार्यमा सूचकांकमा आधारित दूध उत्पादन बीमालेख सञ्चालनमा ल्याएको छ । तापक्रममा हुने वृद्धिका कारणबाट गाई तथा भैंसीको दूध उत्पादनमा हुने कमीबाट कृषकलाई पर्न सक्ने सम्भावित क्षतिबाट सुरक्षण प्रदान गर्न यो बीमालेख सञ्चालनमा ल्याइएको हो । कम्पनीका अनुसार २०८३ वैशाख ७ देखि भदौ ३१ गतेसम्म कुल १५० दिन सम्म भएको दैनिक अधिकतम तापक्रमका आधारमा गणना गरिने बीमालेखमा निर्धारित तापक्रमको तहमा आधारित रही बीमालेख तयार गरिएको प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षेत्रीले जानकारी दिए । कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ, कपिलवस्तु र चितवन जिल्लाका गाई तथा भैंसीपालक कृषक, समूह तथा सहकारीलाई लक्षित गर्दै बीमालेख तयार पारिएको हो । हालसम्म विभिन्न सहकारी तथा समूहका कृषकहरू गरी कुल १ हजार ६२७ गाई तथा भैंसी यस बीमा योजनामा आबद्ध भइसकेका छन् । नेपाल बीमा प्राधिकरणबाट स्वीकृती प्राप्त यस बीमालेखको पुनर्बीमा नेपाल रि(इन्स्योरेन्स बाट गरिएको छ ।  यो बीमालेख तापक्रमका कारणबाट उत्पन्न गर्ने तनावमा आधारित छ भने तापक्रमका कारण गाई तथा भैंसीको दूध उत्पादनमा हुने ह्रासलाई मात्र रक्षावरण गर्नेछ ।  बीमालेखमा भएको तापक्रमको रेकर्डलाई आधार मानेर कायम गरिएको सीमा भन्दा वास्तविक तापक्रम माथि पुगेमा मात्रै क्षतिपूर्ति प्रदान गरिने र पूर्वनिर्धारित तहअनुसारको क्षतिपूर्ति निर्धारण हुने प्लान्ट स्याटका संस्थापक तथा सीईओ सुमन घिमिरेले जानकारी दिए । बीमालेखले सूचकांकमा आधारित ट्रिगर प्रणालीमार्फत कृषक दाबी योग्य भए/नभएको निर्धारण गर्ने भएकाले दाबी भुक्तानी प्रक्रिया पारदर्शी र छिटो हुने हुँदा कृषकले यसबाट लाभ उठाउन सक्ने सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड कृषि विभाग प्रमुख उमेश ढकाले जानकारी गराए ।  जल तथा मौसम विज्ञान विभागबाट प्राप्त आधिकारिक तापक्रम तथ्यांक प्रयोग गर्ने र दाबी ट्रिगर स्तरमा पुगेपछि बीमकले दाबी प्रक्रिया सुरु गर्नेछ । सम्बन्धित निकायबाट सूचकांक प्राप्त भएको ७ दिनभित्र भुक्तानी विद्युतीय माध्यमबाट सिधै लाभग्राही कृषकको बैंक खातामा पठाइने दाबी विभाग प्रमुख सुवाष दीक्षितले गरे ।

सुकुम्वासीका नेता बैंकिङ कसुरमा तानिए

काठमाडौं । सुकुम्वासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परियार (परिश्रमी) बैंकिङ कसुर मुद्दामा तानिएका छन् । एमाले नेता समेत रहेका उनीविरुद्ध बैंकिङ कसुरको उजुरी परेपछि उनी शुक्रबार पक्राउ परेका हुन् ।  काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार उनीविरुद्ध दर्ता भएको जाहेरीमाथि अनुसन्धानका लागि पक्राउ गरिएको हो ।  सरकारले बागमती किनारामा बसोबास गर्ने सुकुमबासीलाई शुक्रबार बेलुकीसम्म ठाउँ खाली गर्न अनुरोध गरेपछि अहिले सुकुम्वासीहरूले ठाउँ खाली गरिरहेका छन् । कतिपय सुकुम्वासी भने विरोधमा उत्रिएका छन् ।  यसअघिका विरोधमा परियार अग्रमार्चामा देखिन्थे । सुकुम्वासीले विरोध गरिरहेको बेला उनी पक्राउ परेका हुन्। 

सार्क विकास प्रतिवेदनमा साझा सहमति

काठमाडौं । सार्क विकास प्रतिवेदनमा सदस्य राष्ट्रहरूले सहमति जनाएका छन् ।  दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को गरिबी निवारणसम्बन्धी अन्तरसरकारी विज्ञ समूहको बिहीबार मालद्विभ्सको राजधानी मालेमा सम्पन्न दोस्रो बैठकमा त्यस्तो सहमति भएको हो ।  माल्दिभ्सका वित्त तथा सार्वजनिक उद्यम राज्यमन्त्री हुसेन इमरान अब्दुल मुआइमिनले बैठकको उद्घाटन गर्दै क्षेत्रीय सहकार्य विस्तार र आर्थिक वृद्धिमा जोड दिएको सार्क सचिवालयले जनाएको छ ।  सार्क सचिवालयकी निर्देशक (सूचना तथा गरिबी निवारण) प्रथमा उप्रेतीले बैठक आयोजना गरेकामा माल्दिभ्स सरकारलाई धन्यवाद दिँदै क्षेत्रीय सहकार्य प्रवद्र्धनमा निरन्तर सहयोगका लागि एसियाली विकास बैंकप्रति आभार व्यक्त गरे । सार्क सचिवालयका अनुसार माल्दिभ्सका वित्त तथा सार्वजनिक उद्यम मन्त्रालयका उपमन्त्री अली रशीदले अध्यक्षता गरेको बैठकमा सदस्य राष्ट्रका विकाससम्बन्धी मन्त्रालय तथा निकायका वरिष्ठ अधिकारीका साथै परराष्ट्र मन्त्रालयका अधिकारीहरूको उपस्थिति  थियो ।      

राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियिरिङ हाउसबीच नेपाल पे कार्डसम्बन्धी सम्झौता

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल क्लियिरिङ हाउस लिमिटेडबीच एनपीएस–एनसीएस (NPS-NCS) अन्तर्गत नेपाल पे कार्डसम्बन्धी सम्झौता सम्पन्न भएको छ । बिहीबार राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सम्झौता–पत्र आदानप्रदान गरिएको हो । सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल र नेपाल क्लियिरिङ हाउस लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । सम्झौतापछि राष्ट्रिय वाणिज्य बैंक, नेपाल क्लियिरिङ हाउस लिमिटेडमार्फत उपलब्ध हुने एनपीएस नेसनल कार्ड स्विच (National Card Switch–NCS) तथा डोमेस्टिक कार्ड स्किम नेपालपे (Domestic Card Scheme–NepalPay Card) को प्रमुख सदस्य बनेको छ । यससँगै राष्ट्रिय वाणिज्य बैंकका ग्राहकहरूले निकट भविष्यमा नेपाल पे कार्डसम्बन्धी विभिन्न सेवा उपभोग गर्न सक्ने बैंकले जनाएको छ । सम्झौता–पत्र आदानप्रदान कार्यक्रममा नेपाल क्लियिरिङ हाउस लिमिटेडका तर्फबाट प्रमुख सञ्चालन अधिकृत मुन्नी राजभण्डारी, कार्ड बिजनेस प्रमुख पविन्द्र राजभण्डारी तथा कार्ड अपरेसन प्रमुख प्रविन आचार्यको उपस्थिति रहेको थियो । त्यसैगरी, राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सरस्वती अधिकारी, उपकार्यकारी अधिकृत पवन रेग्मी, डिजिटल बैंकिङ विभागका विभागीय प्रमुख गगन सिंह घिमिरे, विभागीय उपप्रमुख हेमन्त जिसी, प्रबन्धक राजेश कुमार मोक्तान, उपप्रबन्धक समिरा आचार्य लगायत कर्मचारीहरूको सहभागिता रहेको थियो । वि.सं. २०२२ साल माघ १० गते पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले हाल सातै प्रदेशका ७७ जिल्ला सदरमुकामसहित दुर्गम क्षेत्रसम्म ३१४ शाखा कार्यालय, ७१ एक्सटेन्सन काउन्टर, ३३२ एटीएम र ९९ शाखारहित बैंकिङ सेवामार्फत ४७ लाखभन्दा बढी ग्राहकलाई कर्जा, निक्षेप तथा आधुनिक डिजिटल बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।  

ट्रम्पको ‘नरक’ पोस्टले भारत र अमेरिकाबीच चर्कियो कूटनीतिक विवाद

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा सामाजिक सञ्जालमा गरिएको एक विवादास्पद अभिव्यक्तिले भारत–अमेरिका सम्बन्धमा नयाँ तनाव सिर्जना गरेको छ । भारतले उक्त टिप्पणीलाई कडा शब्दमा अस्वीकार गर्दै अनुचित र वास्तविकतासँग असम्बन्धित भएको जनाएको छ ।      बुधबार राति ट्रम्पले सामाजिक सञ्जालमा साझा गरेको पोस्टमा अमेरिकामा जन्मिएका सबैलाई स्वतः नागरिकता दिने संवैधानिक व्यवस्थामाथि आलोचना गरिएको थियो । सो पोस्टमा विशेषगरी भारतीय आप्रवासीहरूलाई लक्षित गर्दै उनीहरूले अमेरिकी मूल निवासीहरूलाई रोजगारी नदिने र अङ्ग्रेजी भाषामा दक्षता नभएको आरोप लगाइएको थियो । त्यस्तै, भारतलाई ‘नरक’ भन्दै गरिएको टिप्पणीले थप विवाद निम्त्याएको छ ।      भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले ती अभिव्यक्तिहरूलाई ‘स्पष्ट रूपमा अज्ञात, अनुपयुक्त र खराब स्वादमा’ भएको प्रतिक्रिया दिए । उनले यस्ता भनाइहरूले भारत–अमेरिका सम्बन्धको वास्तविक स्वरूप झल्काउन नसक्ने बताउँदै दुई देशबीचको सम्बन्ध दीर्घकालीन आपसी सम्मान र साझा हितमा आधारित रहेको उल्लेख गरे ।      यसैबीच, भारतीय मूलका अमेरिकी डेमोक्रेट सांसद अमी बेराले पनि ट्रम्पको टिप्पणीको आलोचना गर्दै यसलाई ‘आपत्तिजनक, अज्ञानी र पदको गरिमाभन्दा तल’ रहेको बताए । उनले ट्रम्पले आप्रवासी परिवारहरूले भोग्ने सङ्घर्ष कहिल्यै अनुभव नगरेको टिप्पणी गरे ।      हिन्दू अमेरिकन फाउन्डेसनले समेत उक्त पोस्टप्रति आपत्ति जनाउँदै यसलाई ‘घृणित र जातिवादी अभिव्यक्ति’ को संज्ञा दिएको छ । संस्थाले यस्तो अभिव्यक्तिले समाजमा विद्यमान जेनोफोबिया र जातीय विभाजनलाई अझ बढावा दिने चेतावनी दिएको छ ।      अमेरिकामा आप्रवासन नीतिमा कडाइ ल्याउने आफ्नो प्रमुख एजेन्डाअन्तर्गत ट्रम्पले विशेषगरी भारतीय प्राविधिक कामदारहरूले प्रयोग गर्ने भिसा प्रणालीलाई लक्षित गर्दै आएका छन् । यसले दुई देशबीचको सम्बन्धमा थप जटिलता थपेको छ ।      यसअघि पनि भारत–पाकिस्तानबीचको तनावका क्रममा आफ्नो मध्यस्थतालाई पर्याप्त महत्त्व नदिएको भन्दै ट्रम्पले भारतप्रति असन्तुष्टि जनाउँदै व्यापारिक क्षेत्रमा समेत दबाब सिर्जना गर्न उच्च शुल्क लगाएका थिए । यसले दुई देशबीचको कूटनीतिक सम्बन्धमा चिसोपना ल्याएको विश्लेषण गरिएको छ ।      रोचक पक्ष के छ भने, विशेषगरी चीनसँगको रणनीतिक प्रतिस्पर्धालाई ध्यानमा राख्दै विगतका अमेरिकी प्रशासनहरूले विश्वको सबैभन्दा ठूलो लोकतन्त्र भारतसँग सुदृढ सम्बन्ध कायम राख्न निरन्तर प्रयास गर्दै आएका थिए । तर ट्रम्पको पछिल्लो अभिव्यक्तिले सो दीर्घकालीन रणनीतिमा प्रश्न उठाएको छ ।      अमेरिकी विदेशमन्त्री मार्को रुबियोको आसन्न भारत भ्रमणको तयारी भइरहेका बेला यस्तो विवाद सतहमा आउनु अर्थपूर्ण मानिएको छ । कूटनीतिक वृत्तमा यसलाई दुई देशबीचको सम्बन्ध सुधार्ने प्रयासका लागि चुनौतीका रूपमा हेरिएको छ । रासस         

सुकुम्बासी बस्ती : सीसीटीभीबाट हुनेछ निगरानी, होल्डिङ सेन्टरमा राखेर नागार्जुन पुर्याउने तयारी

काठमाडौं । सरकारले थापाथलीको सुकुमवासी बस्तीलाई हटाउनका लागि तीव्र तयारी गरेको छ । सरकारले शनिबार र आइतबार सुकुमवासी बस्ती खाली गर्नका लागि विभिन्न प्रक्रिया अगाडि बढाएको छ । त्यसका लागि प्रहरीले माइकिङ पनि गरिरहेको छ । शुक्रबार कतिपय सुकुमवासीले वासस्थान छोडिसकेका छन् भने केही विरोध गरिरहेका छन् । अहिले सो बस्तीमा नारावाजी पनि भइरहेको छ ।  यहीबीचमा सरकारले आफ्नो तयारी तीव्र पारेको छ । सो क्षेत्रको निगरानी बढाउनका लागि प्रहरीले सुकुमवासी बस्तीमा सीसीटीभी पनि जडान गरेको छ ।  प्रहरीले बस्ती नजिकको सडक किनारमा रहेका पोलमा सीसीटीभी जडान कार्य सुरु गरेको हो ।  काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईले नियमित कार्यक्रम अन्तर्गत सीसीटीभी जडान भइरहेको बताए ।  सरकारले सुकुमवासी बस्तीबाट हटाइएका नागरिकलाई नागार्जुनस्थित भवनमा राख्ने तयारी पनि गरेको छ । काठमाडौं महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले सुकुमवासी बस्तीबाट विस्थापित नागरिकलाई सुरुमा होल्डिङ सेन्टरमा लगिने र त्यहाँ वास्तविक पीडित पहिचान गरी नागार्जुनस्थित भवनमा व्यवस्थापन गरिने जानकारी दिए ।  सुकुमवासीलाई नै राख्न भनेर डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला २०६९ सालमा सरकारले नागार्जुन नगरपालिका (साविक इचंगुनारायण गाविस) मा १२ करोड रुपैयाँ लगानी गरेर सुविधा सम्पन्न दुई भवन (अपार्टमेन्ट) बनाएको थियो । ती भवनमा २२४ फ्ल्याट छन् । तर, अहिलेसम्म त्यहाँ सुकुमवासीलाई राख्न सकिएको छैन ।   

संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाका कार्यवाहक अध्यक्ष परिश्रमी पक्राउ

काठमाडौं । संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईले परिश्रमीलाई दुई घण्टाअघि प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए । प्रहरीले बिहीबार साँझमात्र बागमती किनार आसपास माइकिङ गरेर थापाथली, सिनामंगललगायत क्षेत्रमा रहेका सुकुम्बासी बस्ती खाली गर्न भनेको थियो । काठमाडौं महानगरपालिकाले यसअघि थापाथलीस्थित सुकुम्वासी बस्ती हटाउन खोज्दा परिश्रमीले प्रहरीमाथि पेट्रोल बम प्रहार गरेका परिसरले जनाएको छ । त्यति बेला पनि उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द

बागमती । लामो समयदेखि आर्थिक सङ्कट व्यहोर्दै आएको हेटौँडा सिमेन्ट उद्योग कच्चा पदार्थ अभावमा बन्द भएको छ । गत महिना क्लिङ्कर उत्पादन गरेको उद्योगले कच्चा पदार्थ नपाएपछि उत्पादन बन्द गरेको हो ।          'हामीसँग कोइला, ढुङ्गालगायत कच्चा पदार्थ छैनन् । तत्काल कच्चा पदार्थ आउने सम्भावना पनि छैन, कच्चा पदार्थका लागि सम्झौता भए पनि रकमको अभाव देखाउँदै ठेकेदारले कच्चा पदार्थ ढुवानी गर्न नसकेकाले उद्योग बन्द गर्नुपरेको छ',  उद्योगमा भएको कच्चा पदार्थबाट पाँच हजार टन क्लिङ्कर उत्पादन गरेर अहिले सिमेन्ट ‘प्याकेजिङ’ भइरहेको उद्योगका सहायक प्रबन्धक भक्तिराम श्रेष्ठले भने । दैनिक १६ हजार बोरा सिमेन्ट उत्पादन क्षमताको उद्योग सधैँ बन्दप्रायः छ ।       क्लिङ्कर उत्पादनका क्रममा उद्योगको मेसिनमा केही समस्या आएकोले मेसिनको मर्मतको भइरहेको छ । अर्थाभावमा कर्मचारीले  १० महिनादेखि तलब पाएका छैनन् । उद्योगमा १६६ जना स्थायी, १०० दैनिक ज्यालादारी र ५२ जना सुरक्षाकर्मी छन् ।      विसं २०३३ मा हेटौँडाको लामसुरेमा स्थापना भएको उक्त उद्योगले विसं २०४३ देखि सिमेन्ट उत्पादन सुरु गरेको थियो ।