काठमाडौं । चितवन जिल्ला सहकारी सङ्घ चितवनले साझा विद्युतीय सवारी साधन (ईभी) चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ । पेट्रोलपम्प सञ्चालन गर्दै आएको सङ्घले ४ वटा चार्जिङ उपकरणबाट ८ वटा गाडी चार्ज गर्ने गरी स्टेसन सञ्चालनमा ल्याएको हो ।
भरतपुर महानगरपालिका-१० मा रहेको आफ्नै परिसरमा चार्जिङ स्टेसन स्थापना गरिएको हो । सङ्घका व्यवस्थापक विनोद खतिवडाका अनुसार १ करोड ५० लाख रुपैयाँको लागतमा ४ वटा सेन्टरमा ८ वटा गाडी एक पटकमा चार्ज गर्न सकिने गरि विद्युतीय चार्जिङ उपकरण जडान गरिएको हो । १२० किलोवाटको क्षमता भएका उपकरण जडान गरिएका छन् । यी सेन्टरबाट छिटो चार्ज गर्न सकिने उनले बताए ।
तोरीको तेल पेलेर बेच्दै आएको सङ्घले साझा पेट्रोलपम्प सञ्चालन गरेको थियो । डिजेल पेट्रोलमा दैनिक ४० लाख रुपैयाँको कारोबार हुने गरेको र तोरीको तेल मासिक ६ हजार लिटर खपत हुँदै आएको छ । यससँगै सेवाग्राहीलाई सुविधा दिने उद्देश्यले चार्जिङ स्टेसन स्थापना गरिएको उनको भनाइ छ । सङ्घले अहिले ३० जना कर्मचारीलाई प्रत्यक्ष रोजगार दिँदै आएको छ ।
विद्युतीय सवारी साधनको प्रयोगसँगै जिल्लामा चार्जिङ स्टेसन खुल्ने क्रम बढेको हो । नेपाल विद्युत् प्राधिकरणले भरतपुरको केन्द्रीय बसपार्कमा ४ सवारीसाधनले एकै पटक चार्ज गर्न सक्ने गरी चार्जिङ स्टेसन स्थापना गरेको थियो । त्यसलगत्तै प्राधिकरणले मुग्लिङमा अर्को चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको थियो ।
अहिले बसपार्कमा उपकरण थप गरी १२ पुर्याइएको छ । एउटाले काम गरेको छैन भने बाँकी ११ वटामा २२ वटा गाडी चार्ज गर्न सकिने प्राधिकरणले जनाएको छ । यसबाहेक निजी स्तरबाट व्यावसायिक रूपमा विभिन्न स्थानमा ३१ स्टेसन सञ्चालनमा आएका छन् ।
नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका इन्जिनियर मिलन सापकोटाका अनुसार प्राधिकरणका दुई स्थानमा र नीजि क्षेत्रका ३१ स्थानमा स्टेसन सञ्चालनमा ल्याइएको छ । यीबाहेक होटेल, रेष्टुरेन्टहरुमा आफ्ना ग्राहकलाई सेवा दिने गरी चार्जिङ स्टेसन राख्नेहरू धेरै छन् ।