कम्बोडियासहित ४ देशका ‘स्क्यामिङ सेन्टर बाट ६१२ नेपालीको उद्धार, ५३ जना फर्किने तयारीमा
काठमाडौं । परराष्ट्र मन्त्रालयले दक्षिण पूर्वी एसियाली क्षेत्रमा सञ्चालित अनलाइन डिजिटल स्क्यामिङ सेन्टरहरूमा ठगीमा परेका नेपालीहरूको उद्धार कार्यलाई तीब्रता दिएको छ । मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार हालसम्म थाइल्याण्ड, म्यानमार, कम्बोडिया र लाओसबाट कुल ६१२ जना नेपालीको उद्धार गरी स्वदेश फर्काइएको छ । प्रवक्ताले उद्धार गरिएकामध्ये कम्बोडियाबाट ४ सय ८७ जना, म्यानमारबाट १ सय ११ जना, लाओसबाट ८ जना र थाइल्याण्डबाट ६ जना रहेका जानकारी दिए । उद्धार कार्यका लागि थाइल्याण्ड र म्यानमारस्थित नेपाली राजदूतावासहरूले स्थानीय निकायहरूसँग सक्रिय समन्वय र सहयोग गरिरहेका छन् । हाल थप ५३ जनाको ट्राभल डकुमेन्ट तयार भइसकेको र उनीहरूलाई छिट्टै स्वदेश फर्काइने तयारी भइरहेको मन्त्रालयले जनाएको छ । सन् २०२१ यता विभिन्न उद्देश्यले कम्बोडिया भ्रमणमा जाने नेपालीको सङ्ख्या २१ हजार पुगेको र त्यसमध्ये धेरैजना यस्ता शंकास्पद ठगी केन्द्रहरूमा संलग्न भएको हुनसक्ने अनुमान गरिएको छ । कम्बोडिया सरकारले हालै ९ जना नेपालीलाई विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेको आरोपमा पक्राउ गरेको छ । प्रवक्ता क्षेत्रीकाअनुसार पक्राउ परेकामध्ये ५ जनालाई सङ्गठित ठगी अपराध सम्बन्धी कसुरमा ‘सिम रिप प्रोभेन्सियल कोर्ट’मा पेस गरिनेछ । बाँकी ४ जनालाई शरीर बन्धक, यातना तथा हिंसात्मक क्रियाकलापमा संलग्न रहेको कसुरमा अनुसन्धानका लागि थुनामा राखिएको छ । योसँगै कम्बोडियामा पछिल्लो समय पक्राउ परेका नेपालीहरूको कुल सङ्ख्या १४ पुगेको छ । मन्त्रालयले गैरआवासीय नेपाली सम्बन्धी कानुनलाई संशोधन र एकीकृत गर्न बनेको विधेयकको मस्यौदामाथि सरोकारवालासँग छलफल तीव्रता दिएको छ । परराष्ट्रमन्त्री शिशिर खनालले संविधानको भावनाअनुसार गैरआवासीय नेपालीहरूको ज्ञान, सीप र पुँजीलाई नेपालको विकासमा प्रयोग गर्ने गरी छिट्टै मस्यौदा संसदमा पेश गरिने जानकारी दिए । हालसम्म ५ हजारभन्दा बढी गैरआवासीय नेपालीले नागरिकता लिइसकेका छन् । मन्त्रालयले ५ दिनभित्र विधेयकको मस्यौदालाई परिमार्जन गरी अगाडि बढाउने तयारी गरेको छ । वैदेशिक सम्बन्धलाई थप सुदृढ बनाउन मन्त्रालयले भौतिक पूर्वाधार र उद्योग वाणिज्य मन्त्रालयहरूसँग समेत अन्तर–निकाय समन्वय गरिरहेको छ ।
प्रहरीले वास्तविक सुकुम्बासीहरूलाई भन्यो– टाठाबाठाले तपाईंहरूको नाम र हक अधिकार दुरुपयोग गरे
काठमाडौं । नेपाल प्रहरीले वास्तविक सुकुम्वासी तथा भूमिहीनहरू एकजुट भएर राज्यले गर्न लागेको व्यवस्थापन कार्यमा सहयोग गर्न आग्रह गरेको छ । शुक्रबार (आज) सूचना जारी गर्दै सरोकार निकायलाई समयमै सही सूचना दिई सहयोग गरिदिन प्रहरीले अनुरोध गरेको छ । ‘नेपाल सरकारले सुरु गरेको सुकुम्वासी तथा भूमिहीन व्यवस्थापन प्रक्रिया तपाईंहरूकै उज्ज्वल भविष्य सुरक्षित बसोबास र सम्मानजनक जीवनयापन सुनिश्चित गर्न सञ्चालन गरिएको महत्त्वपूर्ण पहल हो,’ प्रहरीले भनेको छ, ‘यसको मुख्य उद्देश्य वास्तविक सुकुम्वासी, भूमिहीनहरू पहिचान गरी न्यायोचित आवास तथा अधिकार प्रदान गर्नु रहेको छ । तर, दुःख लाग्दो कुरा, केही स्वार्थी तथा टाठाबाठा व्यक्तिहरूले तपाईंहरूको नाम र हक–अधिकारको दुरुपयोग गर्दै अनुचित लाभ लिने प्रयास गरिरहेका छन् ।’ वास्तविक सुकुम्वासी तथा भूमिहीनहरू अवसरबाट वञ्चित हुने तथा राज्यबाट प्राप्त हुने सेवासुविधाबाट समेत टाढा रहनुपर्ने अवस्था सिर्जना भइरहेको प्रहरीले उल्लेख गरेको छ । वास्तविक सुकुम्वासी तथा भूमिहीनहरू सधैं अन्यायमा परिरहेको र यो समस्या जहिले पनि ज्यूँका त्यूँ रहेको प्रहरीले बताएको छ । आफै सजग भई आफ्नो हक मिच्ने त्यस्ता नक्कली सुकुम्वासी तथा भूमिहीन व्यक्तिहरुको पहिचान गर्न प्रहरीले आग्रहसमेत गरेको छ ।
प्रभु महालक्ष्मी लाइफको बुढानिलकण्ठ मोडल कम्युनिटि एकेडेमीलाई ८ लाख सहयोग
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बुढानिलकण्ठ मोडल कम्युनिटी एकेडेमीलाई विद्यालय सञ्चालनका लागि ८ लाख २१ हजार २ सय ५० रुपैयाँ सहयोग प्रदान गरेको छ । विद्यालयमा पठनपाठन कार्यलाई सहज बनाउन तथा विद्यार्थीहरूको अध्ययन वातावरण सुधार गर्न आवश्यक फर्निचर सामग्री खरिदका लागि उक्त रकम सहयोग गरिएको कम्पनीले जनाएको छ । शुक्रबार बुढानिलकण्ठ मोडल कम्युनिटी एकेडेमीको कार्यालयमा आयोजित कार्यक्रममा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका सञ्चालक समितिका अध्यक्ष सम्झना अर्यालले विद्यालयका प्रधानाध्यापक मोहनप्रसाद भट्टलाई ८ लाख २१ हजार २ सय ५० रुपैयाँको चेक हस्तान्तरण गरिन् । चेक हस्तान्तरणपछि कार्यक्रममा बोल्दै अध्यक्ष अर्यालले विशुद्ध सामाजिक कार्य गर्ने संस्थाहरूलाई सहयोग गर्न पाउँदा कम्पनीलाई खुसी लागेको बताइन् । उनले कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आवश्यक क्षेत्रको पहिचान गरी सहयोग तथा सामाजिक कार्य गर्दै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन् । त्यसैगरी, प्रधानाध्यापक मोहनप्रसाद भट्टले सामुदायिक विद्यालयका विद्यार्थीहरूको पठनपाठनलाई सहज र स्तरीय बनाउन प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले गरेको सहयोग उल्लेखनीय रहेको भन्दै धन्यवाद व्यक्त गरे । कार्यक्रममा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका सञ्चालक समिति सदस्यहरू भावना बलायर, वीरेन्द्रजंग पाण्डे, प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई, नायब प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछाने, ब्रान्डिङ विभाग प्रमुख विनोद घिमिरे तथा बुढानिलकण्ठ मोडल कम्युनिटी एकेडेमीका सहायक प्रधानाध्यापक अनिता लामा, शिक्षकहरू र विद्यालय व्यवस्थापन समितिका सदस्यहरूको उपस्थिति रहेको थियो ।
सीडीओ कार्यालयले भन्यो- बस्ती हटाउन बाधा गर्नेलाई कारवाही हुन्छ, सम्पत्तिको ख्याल गर्नुहोला
काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडाैंले सुकुम्बासी बस्ती हटाउन बाधा नगर्न आग्रह गरेको छ । प्रशासन कार्यालयले शुक्रबार (आज) एक सूचना जारी गर्दै बैशाख ११ गते साँझ ७ बजेभित्र बस्ती खाली गर्न आग्रह गरेको हो । यदि कसैले आफै सामान सार्न नसक्ने अवस्था भएमा महानगरीय प्रहरी, नेपाल प्रहरी वा सशस्त्र प्रहरीलाई खबर गर्न अनुरोध गरिएको छ । सुरक्षाकर्मीले आवश्यक ढुवानीको प्रबन्ध मिलाउने प्रशासनले जनाएको छ । घर टहरामा रहेका अपाङ्गता भएका व्यक्ति, बालबालिका, गर्भवती, सुत्केरी, वृद्धवृद्धा र बिरामीहरूलाई प्राथमिकताका साथ सुरक्षित स्थानमा सार्न आग्रह गरिएको छ । व्यक्तिगत सरसामान, लत्ताकपडा र घरपालुवा पशुपन्छीहरू तत्काल सुरक्षित स्थानमा सार्न पनि निर्देशन दिइएको छ । प्रशासनले तोकेको समय (वैशाख ११ साँझ ७ बजे) पछि पनि संरचना खाली नभएमा वैशाख १२ गते बिहान ६ बजेदेखि डोजर प्रयोग गरी संरचना भत्काउने र जग्गा पूर्ण रूपमा खाली गराउने कार्य सुरु हुने जनाइएको छ । यस कार्यमा बाधा पुर्याउने जोसुकैलाई कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी समेत दिइएको छ । संरचना हटाइएका व्यक्ति तथा परिवारलाई सरकारले तोकेको आधारभूत न्यूनतम सुविधा प्राप्त स्थानहरूमा राखिनेछ । स्थानान्तरण प्रक्रिया सकिएलगत्तै वास्तविक भूमिहीन सुकुम्वासीहरूको लगत संकलन र स्क्रिनिङ कार्य सुरु गरिनेछ । आगामी १० देखि १५ दिनभित्र वास्तविक भूमिहीनहरूको पहिचान गरी उचित बसोबासको प्रबन्ध मिलाउने तयारी भइरहेको प्रशासनले जनाएको छ । यदि कसैले यो सूचनाको अवज्ञा गरी बसिरहेमा, स्थानीय प्रशासन, प्रहरी र काठमाडौँ महानगरपालिकाको संयुक्त कारबाहीका क्रममा हुने संरचनाको क्षति वा व्यक्तिगत सम्पत्तिको क्षतिको जिम्मेवार व्यक्ति स्वयं हुनुपर्ने बेहोरासमेत सूचनामा उल्लेख छ ।
पार्टीमा पकड जोगाउन देउवा पक्षको कसरत, ४७ जिल्ला सभापति सहभागी हुने
काठमाडौं । नेपाली कांग्रेसभित्र पूर्वसभापति शेरबहादुर देउवाको विचार समूहका नेताहरूको बैठक बैशाख १५ गते बस्ने भएको छ । समूहको आन्तरिक तयारी, संगठनमा उक्त समूहको पकड तथा आगामी राजनीतिक रणनीतिबारे छलफल गर्न बैठक आह्वान गरिएको हो । कांग्रेसका नेता डा. प्रकाशशरण महतका अनुसार देउवा समूहबाट चौधौं महाधिवेशनमा निर्वाचित केन्द्रीय सदस्यहरू तथा पार्टीका वरिष्ठ नेताहरूसमेत बैठकमा सहभागी हुनेछन् । बैठकमा देशभरका ४७ जिल्लाका सभापतिहरूको सहभागिता रहने अपेक्षा गरिएको अर्का नेता जितजंग बस्नेतले जानकारी दिए । उक्त बैठकमा स्थानीय तहदेखि केन्द्रसम्मको समूहको अवस्था, सदस्यता विस्तार, तथा पार्टीभित्र देखिएका गुटगत गतिविधिहरूलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा गम्भीर छलफल हुने बताइएको छ । देउवा समूहले पार्टीभित्र आफ्नो पकड बलियो बनाउने तथा आगामी महाधिवेशन र चुनावी तयारीलाई लक्षित गर्दै रणनीति तय गर्ने तयारी गरेको नेताहरूले बताएका छन् । चौधौ महाधिवेशनवाट निर्वाचित अधिकांश केन्द्रीय सदस्यहरू देउवा समूहमै रहेको उक्त समूहले बताएको छ ।
गर्मीबाट पशुपालकलाई राहत, ७ जिल्लामा सुरु भयो सूचकांकमा आधारित विशेष बीमालेख
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले प्लान्ट स्याटसँगको प्राविधिक सहकार्यमा सूचकांकमा आधारित दूध उत्पादन बीमालेख सञ्चालनमा ल्याएको छ । तापक्रममा हुने वृद्धिका कारणबाट गाई तथा भैंसीको दूध उत्पादनमा हुने कमीबाट कृषकलाई पर्न सक्ने सम्भावित क्षतिबाट सुरक्षण प्रदान गर्न यो बीमालेख सञ्चालनमा ल्याइएको हो । कम्पनीका अनुसार २०८३ वैशाख ७ देखि भदौ ३१ गतेसम्म कुल १५० दिन सम्म भएको दैनिक अधिकतम तापक्रमका आधारमा गणना गरिने बीमालेखमा निर्धारित तापक्रमको तहमा आधारित रही बीमालेख तयार गरिएको प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षेत्रीले जानकारी दिए । कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ, कपिलवस्तु र चितवन जिल्लाका गाई तथा भैंसीपालक कृषक, समूह तथा सहकारीलाई लक्षित गर्दै बीमालेख तयार पारिएको हो । हालसम्म विभिन्न सहकारी तथा समूहका कृषकहरू गरी कुल १ हजार ६२७ गाई तथा भैंसी यस बीमा योजनामा आबद्ध भइसकेका छन् । नेपाल बीमा प्राधिकरणबाट स्वीकृती प्राप्त यस बीमालेखको पुनर्बीमा नेपाल रि(इन्स्योरेन्स बाट गरिएको छ । यो बीमालेख तापक्रमका कारणबाट उत्पन्न गर्ने तनावमा आधारित छ भने तापक्रमका कारण गाई तथा भैंसीको दूध उत्पादनमा हुने ह्रासलाई मात्र रक्षावरण गर्नेछ । बीमालेखमा भएको तापक्रमको रेकर्डलाई आधार मानेर कायम गरिएको सीमा भन्दा वास्तविक तापक्रम माथि पुगेमा मात्रै क्षतिपूर्ति प्रदान गरिने र पूर्वनिर्धारित तहअनुसारको क्षतिपूर्ति निर्धारण हुने प्लान्ट स्याटका संस्थापक तथा सीईओ सुमन घिमिरेले जानकारी दिए । बीमालेखले सूचकांकमा आधारित ट्रिगर प्रणालीमार्फत कृषक दाबी योग्य भए/नभएको निर्धारण गर्ने भएकाले दाबी भुक्तानी प्रक्रिया पारदर्शी र छिटो हुने हुँदा कृषकले यसबाट लाभ उठाउन सक्ने सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड कृषि विभाग प्रमुख उमेश ढकाले जानकारी गराए । जल तथा मौसम विज्ञान विभागबाट प्राप्त आधिकारिक तापक्रम तथ्यांक प्रयोग गर्ने र दाबी ट्रिगर स्तरमा पुगेपछि बीमकले दाबी प्रक्रिया सुरु गर्नेछ । सम्बन्धित निकायबाट सूचकांक प्राप्त भएको ७ दिनभित्र भुक्तानी विद्युतीय माध्यमबाट सिधै लाभग्राही कृषकको बैंक खातामा पठाइने दाबी विभाग प्रमुख सुवाष दीक्षितले गरे ।
सुकुम्वासीका नेता बैंकिङ कसुरमा तानिए
काठमाडौं । सुकुम्वासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परियार (परिश्रमी) बैंकिङ कसुर मुद्दामा तानिएका छन् । एमाले नेता समेत रहेका उनीविरुद्ध बैंकिङ कसुरको उजुरी परेपछि उनी शुक्रबार पक्राउ परेका हुन् । काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार उनीविरुद्ध दर्ता भएको जाहेरीमाथि अनुसन्धानका लागि पक्राउ गरिएको हो । सरकारले बागमती किनारामा बसोबास गर्ने सुकुमबासीलाई शुक्रबार बेलुकीसम्म ठाउँ खाली गर्न अनुरोध गरेपछि अहिले सुकुम्वासीहरूले ठाउँ खाली गरिरहेका छन् । कतिपय सुकुम्वासी भने विरोधमा उत्रिएका छन् । यसअघिका विरोधमा परियार अग्रमार्चामा देखिन्थे । सुकुम्वासीले विरोध गरिरहेको बेला उनी पक्राउ परेका हुन्।
सार्क विकास प्रतिवेदनमा साझा सहमति
काठमाडौं । सार्क विकास प्रतिवेदनमा सदस्य राष्ट्रहरूले सहमति जनाएका छन् । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को गरिबी निवारणसम्बन्धी अन्तरसरकारी विज्ञ समूहको बिहीबार मालद्विभ्सको राजधानी मालेमा सम्पन्न दोस्रो बैठकमा त्यस्तो सहमति भएको हो । माल्दिभ्सका वित्त तथा सार्वजनिक उद्यम राज्यमन्त्री हुसेन इमरान अब्दुल मुआइमिनले बैठकको उद्घाटन गर्दै क्षेत्रीय सहकार्य विस्तार र आर्थिक वृद्धिमा जोड दिएको सार्क सचिवालयले जनाएको छ । सार्क सचिवालयकी निर्देशक (सूचना तथा गरिबी निवारण) प्रथमा उप्रेतीले बैठक आयोजना गरेकामा माल्दिभ्स सरकारलाई धन्यवाद दिँदै क्षेत्रीय सहकार्य प्रवद्र्धनमा निरन्तर सहयोगका लागि एसियाली विकास बैंकप्रति आभार व्यक्त गरे । सार्क सचिवालयका अनुसार माल्दिभ्सका वित्त तथा सार्वजनिक उद्यम मन्त्रालयका उपमन्त्री अली रशीदले अध्यक्षता गरेको बैठकमा सदस्य राष्ट्रका विकाससम्बन्धी मन्त्रालय तथा निकायका वरिष्ठ अधिकारीका साथै परराष्ट्र मन्त्रालयका अधिकारीहरूको उपस्थिति थियो ।